विकासन्युज

२५ वर्षमा साना किसान विकास लघुवित्तको कृषि उत्पादनमा ७२ अर्बको योगदान

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले हाल देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा सेवा विस्तार गर्दै करिब १० लाख किसान परिवारसम्म लघुवित्त सेवा पुर्‍याएको जनाएको छ । संस्थाका अनुसार देशभर एक हजार ४८५ भन्दा बढी साना किसान सहकारी संस्थामार्फत वित्तीय सेवा प्रवाह भइरहेको छ । लाभग्राहीमध्ये महिलाको सहभागिता ८२ प्रतिशत रहेको छ भने दलित, जनजाति र अन्य समुदायका किसानसमेत सेवाबाट लाभान्वित भएका छन् । संस्थाले नेपाल सरकारको सहकार्यमा विगत १५ वर्षदेखि पशुपालन र पछिल्ला ६ वर्षदेखि तरकारी खेतीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसबाट हालसम्म करिब १७ लाख ७९ हजार पशुपालन तथा ११ हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती विस्तार भएको दाबी गरिएको छ । यी कार्यक्रमबाट वार्षिक करिब ४.८ अर्ब रुपैयाँ बराबरको उत्पादन तथा हालसम्म ७२ अर्ब रुपैयाँभन्दा बढी मूल्यको दूध, मासु र तरकारी उत्पादनमा योगदान पुगेको संस्थाले जनाएको छ । संस्थाले कृषि व्यवसायीकरण, उद्यमशीलता विकास, कृषि तालिम, पशुधन संरक्षण तथा वित्तीय साक्षरतालगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ । साथै युवा लक्षित आधुनिक कृषि तालिम कार्यक्रमअन्तर्गत हालसम्म ३६१ जनाले तालिम लिएको जानकारी दिएको छ । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको सहकार्यमा सञ्चालन गरिएको ग्रामीण उद्यम परियोजनामार्फत कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा आधारित २ हजार ५८० उद्यम स्थापना भएको तथा ती उद्यममा ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी भई १० हजार ७३७ जनाले रोजगारी पाएको संस्थाको दाबी छ । संस्थाले आगामी दिनमा पनि साना किसानको उत्पादन क्षमता वृद्धि, कृषि व्यवसायीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।  

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ । आममाफीको निर्णय मन्त्रालयको निर्देशनानुुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको हो ।  माफीप्राप्त नेपाली नागरिक, अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा, युएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन् ।  

आजै अभिषेक गिरीलाई सीआईबीले म्याद थप्न अदालत लैजाने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ठगी तथा अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अभिषेक गिरीलाई नियन्त्रणमा लिएको छ । सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार गिरीलाई अनुसन्धानको सिलसिलामा ब्युरोमा ल्याइएको हो ।  प्रवक्ता जवराले ठगी तथा अन्य आपराधिक कसुरमा अनुसन्धान भइरहेको विकासन्युजलाई जानकारी दिए । गिरीलाई कानुनी प्रक्रियाका लागि आजै अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको समेत सिआईबीले जनाएको छ ।  प्रवक्ता जवराले भने, ‘अनुसन्धानको सिलसिलामा गिरीलाई यहाँ ल्याइएको छ। ठगी तथा अपराध विषयको सम्बन्धमा अनुसन्धान भइरहेको छ र आजै म्याद थप्ने प्रक्रिया अगाडि बढ्छ ।’ सोमबार गिरीलाई मोरङ जिल्ला अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । केही दिनअघि मात्र उनलाई मोरङ जिल्ला कारागारका कैदीबन्दीसँग रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनले एक कैदीबन्दीसँग ५ सयदेखि १ हजार रूपैयाँ असुल्ने गरेका थिए । राज्यले कैदीबन्दीलाई भत्तास्वरूप दिएको पैसा उनले लिने गरेका थिए । कारागारले कैदीबन्दीलाई गर्मीका लागि पोशाक तथा रासनभत्ता उपलब्ध गराएको रकमसमेत उनले असुल्ने गरेका थिए ।  गिरी केही समयअघिसम्म सोही कारागारमा कैदीबन्दीका रूपमा पनि थिए । कारागारबाट छुटेपछि नेपाली कांग्रेससँग आवद्ध भएका थिए ।  त्यसैगरी, उनले गिरी फाउन्डेसनमार्फत मोरङका विभिन्न ठाउँमा पुगेर समाजसेवा गर्दै आएका थिए ।

बालेन र कान्डाको ‘वान टु वान’ वार्ता, थप ३६४ अर्ब रूपैयाँको प्रतिवद्धता

काठमाडौं । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय दातृ निकायसँग एक्लाएक्लै गरेको यो पहिलो भेटवार्ता हो । यसअघि उनले विभिन्न देशका राजदूतसँग संयुक्त रुपमा छलफल गरेका थिए ।  उक्त भेटमा अध्यक्ष कान्डाले प्रधानमन्त्री शाहलाई बलियो जनमत (स्ट्रङ म्यान्डेट) प्राप्त गरेकोमा बधाईसहित नेपाल सरकारसँग थप प्रभावकारी रुपमा समन्वय हुने प्रतिवद्धता गरेका छन् ।  भेटपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष कान्डाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानीका लागि प्रधानमन्त्री शाहले अघि सारेका महत्त्वाकांक्षी सुधारका कार्यहरूलाई एडीबीले दृढतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  नेपालको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा स्थापित हुँदै एडीबीले प्रधानमन्त्रीको ’भिजन’ लाई परिणाममा बदल्न सन् २०२९ सम्ममा थप २.४ बिलियन (हालको विनिमय दरमा ३ खर्ब ६४ अर्ब नेपाली रुपैयाँ) बराबरको थप सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।  विगत ६० वर्षदेखि नेपाल र एडीबीले संकट, पुनरुत्थान र प्रगतिका हरेक चरणमा सहकार्य गर्दै सुरक्षित विद्यालय, स्वच्छ ऊर्जा, मजबुत पूर्वाधार र उत्कृष्ट अवसरहरू सिर्जना गर्न योगदान पुर्याउँदै आएको विषय अध्यक्ष कान्डाले उल्लेख गरेका छन् ।  आगामी दिनमा पनि नेपाली जनताका लागि ठोस र दीर्घकालीन प्रगति हासिल गर्न प्रधानमन्त्री शाह र नेपाल सरकारसँग मिलेर नजिकबाट काम गर्न आफू उत्सुक रहेको अध्यक्ष कान्डाले बताएका छन् ।  प्रधानमन्त्री बालेनसँगको भेटबारे एडीबीले प्रेस विज्ञप्ति पनि जारी गरेको छ । भेटका क्रममा अध्यक्ष कान्डाले नेपाल अहिले एक निर्णायक मोडमा रहेको र यहाँ गतिशील एवं उत्थानशील अर्थतन्त्र निर्माण गर्ने ठूलो अवसर रहेको उल्लेख गरेको बताइएको छ । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारको रूपमा रहेको एडीबीले सन् २०२९ सम्म गर्ने २.४ अर्ब अमेरिकी डलर लगानीलाई रोजगारी सिर्जना, व्यवसायको सुदृढीकरण र नेपाली समुदायको जीवनस्तर सुधार गर्नमा प्रयोग हुने उल्लेख गरेको छ ।  सोमबार एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको दुईवटा ऋण सम्झौतामा हस्ताक्षर समेत गरेको छ । यस अन्तर्गत ८ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्याउन ११ करोड ५० लाख डलर र सीमापार व्यापार प्रणालीलाई डिजिटलाइजेसन एवं आधुनिकीकरण गरी व्यवसायको लागत घटाउन ५ करोड डलर विनियोजन गरिएको छ ।  साथै, अध्यक्ष कान्डाले एडीबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरूको स्थलगत निरीक्षण पनि गरेका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नर्वेकी राजदूत ड्याग्नी म्योजसँग मिलेर काठमाडौंको विद्युत आपूर्ति सुदृढ गर्ने दुईवटा सबस्टेशनहरूको भर्चुअल उद्घाटन गरेका छन् ।  यस्तै, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगै २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको र आधुनिक विज्ञान–प्रविधि सुविधाले सम्पन्न त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको अवलोकन समेत गरेका छन् ।  भ्रमणकै सिलसिलामा अध्यक्ष कान्डाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको आर्थिक सुधार, लगानी परिचालन र सरकारका विकास प्राथमिकताहरूका बारेमा गहन छलफल भएको बताएका छन् ।  उनले नेपालको निजी क्षेत्रका उद्योगी व्यवसायीसँग पनि भेटेर लगानीका अवसर र चुनौतीबारे विचार आदानप्रदान गरेका छन् । एडीबीले आफ्नो सन् २०२५–२०२९ को नेपाल साझेदारी रणनीति अन्तर्गत यो वर्ष वार्षिक कर्जा प्रवाह ६६ करोड डलरसम्म पुर्‍याउने योजना बनाएको छ ।  आगामी दिनमा दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण र महिला तथा पिछडिएका वर्गको सशक्तीकरणलाई प्राथमिकता दिँदै हरित बन्ड र स्थानीय मुद्रा बन्ड जस्ता नवीन वित्तीय उपकरणहरू मार्फत थप स्रोत परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ । It was an honor to meet Nepal’s Prime Minister @ShahBalen and congratulate him on the strong mandate he has received. I affirmed ADB’s strong commitment to supporting his ambitious reforms towards economic transformation, job creation, and investment. ADB is stepping up as… pic.twitter.com/GxWFAqgway — Masato Kanda (@ADBPresident) July 7, 2026

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन् । प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा सो धारणा राखेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउनेबारे पनि अध्यक्ष कान्डालाई जानकारी गराएका थिए ।    उनले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको विश्वास समेत व्यक्त गरे ।   उक्त भेटवार्तामा एडिबी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।      सो अवसरमा नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेको उल्लेख गर्दै एडिबीको ऊर्जा रणनीतिअन्तर्गत स्वच्छ ऊर्जा उत्पादनमा साझेदारलाई जोड दिइएको थियो ।   छलफलका क्रममा प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजना भएको र दीर्घकालीन ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । यसको वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र सुरु गरिदिन पनि प्रधानमन्त्रीले जोड दिएका थिए ।    भेटवार्ताका क्रममा एडिबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी’अन्तर्गत विशेषगरी ऊर्जा, कनेक्टिभिटी, सहरी विकास तथा डिजिटल पूर्वाधारका क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।           प्रधानमन्त्री शाहले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट विगत पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकास यात्रामा एडिबीले निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहयोगको अपेक्षा गरेका थिए ।        मुलुकको ठूलो विकास साझेदार रहेको एडिबीको हाल नेपालमा सक्रिय खुद ‘पोर्टफोलियो’ करिब चार अर्ब २० करोड अमेरिकी डलर बराबरको रहेको छ । यसबाट ३१ वटा परियोजना सञ्चालनमा रहेका छन् ।        एडिबीबाट ‘पोलिसी बेस्ड लेन्डिङ’ अन्तर्गत सन् २०२६ मा १५ करोड अमेरिकी डलरको सहायता कार्यक्रम रहेको छ ।       यसअन्तर्गत मुख्यतया खानेपानी, सरसफाइ, सहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्द्धन, विपद् जोखिम व्यवस्थापन, डिजिटल सुशासन र सहकार्यको प्राथमिकताका क्षेत्रमा पनि त्यस अवसरमा छलफल केन्द्रित रहेको थियो ।       प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार प्रधानमन्त्रीसँग भएको शिष्टाचार भेटवार्तामा एडिबीका अध्यक्ष कान्डाले नेपाललाई प्रदान गरिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । यसैगरी नेपालको डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि र रोजगारीको नयाँ आधारका रूपमा विकास भइरहेकामा सन्तोष व्यक्त गर्दै अध्यक्ष कान्डाले  डिजिटल पूर्वाधार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।    

राष्ट्र बैंकले आज ३:४० बजे मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार मौद्रिक नीति दिउँसो ३:४० बजे सार्वजनिक गरिनेछ । उनका अनुसार मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारणबाट सार्वजनिक गर्नेछन् । त्यसपछि मौद्रिक नीतिका अन्य विषयमा छलफल गरिनेछ । प्रवक्ता पौडेलले ४ बजेपछि राष्ट्र बैंकमा पत्रकार सम्मेलनकाे समेत आयोजना गरिने जानकारी दिए ।

बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई सिटिजन्स बैंकको शैक्षिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकका अनुसार बाँसगढी शाखामार्फत गरिएको सहयोगले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्य राखेको छ । उक्त विद्यालयमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गरिरहेका छन् । आवश्यक शैक्षिक सामग्रीको अभावका कारण उनीहरूको सिकाइमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको बैंकले जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकले ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, ई–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला तथा जेएडब्लूएस सफ्टवेयरसहित कम्प्युटरलगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारसँगै विभिन्न नवीन सेवा सञ्चालनमा ल्याउँदै आएको छ । हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।        बोर्डले मंगलबार पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।       यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकामा एक लाख २९ हजार ११४ जना परीक्षार्थी मात्रै सहभागी भएको उनले जानकारी दिए ।       परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्ने उनले जानकारी दिए ।       नतिजा हेर्न सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ । परीक्षार्थीको नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने उनले जानकारी दिए ।