विकासन्युज

राष्ट्र बैंकका दुई दर्जन नीति अन्योलमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दर्जन नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसकेको जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा घोषणा गरिएका दुई दर्जन नीतिगत व्यवस्था कार्यान्वयन हुन बाँकी रहेको राष्ट्र बैंकको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्थाहरूबीच गरिने अन्तरबैंक कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाई यथार्थ समयको कारोबार यस बैंकले प्रत्यक्ष अनुगमन गर्न सकिने गरी प्रणालीगत सुधार गरिने घोषणा गरेको थियो । तर, अन्तर-बैंकिङ कारोबारको प्रतिवेदन तथा मनिटरिङ प्रविधि खरिदको प्रक्रियामा रहेको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपश्चात् कार्यान्वयनमा ल्याइने घोषणा गरेको थियो । दोस्रो वित्तीय क्षेत्र रणनीति कार्यान्वयन कार्ययोजना तयार गरी वि.सं. २०८३ असार १ मा नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाइएको भएपनि कार्यान्वयनमा भने आइनसकेको राष्ट्र बैंकले जनाएको छ ।  विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिने, चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिने, बैंक तथा वित्तीय संस्थाहरूको तरलता जोखिम न्यूनीकरण गरी स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार लिब्विडिटी कभरेज रेसियो (एलसीआर) र नेट स्टेबल फण्डिङ रेसियो (एनएसएफआर) जस्ता व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भएपश्चात्कर्जा निक्षेप अनुपातसम्बन्धी नियामकीय व्यवस्थामा पुनरावलोकन गर्ने चालु आवको मौद्रिक नीतिमा घोषणा गरेको थियो । उक्त विषय अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूको तरलता जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन आन्तरिक तरलता पर्याप्तता मूल्याङ्कन प्रक्रिया सम्बन्धी मार्गदर्शन जारी गरिने उल्लेख थियो । तर, आन्तरिक तरलता पर्याप्तता मूल्याङ्कन प्रक्रिया सम्बन्धी मार्गदर्शनको मस्यौदा तयार मात्रै भएको राष्ट्र बैंकले जनाएको छ ।  हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्थामा फिट एण्ड पर्पर टेस्ट, कर्जाको ब्याजदर गणना, सेवा शुल्कलगायतका विषयहरूलाई समेटी उक्त नियामकीय व्यवस्थामा आवश्यक संशोधन गरिने, सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लिखित औपचारिक वित्तीय प्रणालीबाट विप्रेषण आय भित्र्याउन र उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने र सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने विषयमा आवश्यक सहजीकरण गरिने उल्लेख थियो । राष्ट्र बैंकका अनुसार औपचारिक वित्तीय प्रणालीबाट विप्रेषण आय भित्र्याउने कार्यलाई थप सहजीकरण गर्न विद्यमान व्यवस्थामा पुनरावलोकन गरिएको भएपनि सार्वजनिक निकायबाट हुने भुक्तानीलाई विद्युतीय प्रणालीमा आवद्ध गर्ने विषय भने अध्ययनकै चरणमा रहेको छ ।  सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेश गर्ने, शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली परिमार्जन गरिने विषयमा विनियमावली परिमार्जन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको आधार दर गणना विधिमा सुधार गरी बढी यथार्थपरक बनाइने घोषणा गरेको थियो । मस्यौदा तर्जुमा भइरहेको राष्ट्र बैंकले जनाएको छ ।  चालु आवको बजेटमा वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाइने उल्लेख थियो । राष्ट्र बैंकका अनुसार बैक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ संशोधन विधेयकमा प्रस्ताव गरिएको र नियो बैंकको स्थापना र सञ्चालनसम्बन्धी कानुनी, नीतिगत व्यवस्थाका बारेमा आवश्यक अध्ययन भइरहेको र डिजिटल बैंकसम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा समावेश गर्ने गरी नेपाल सरकार, अर्थ मन्त्रालयसमक्ष राय पेस भएको जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्न विस्तृत अध्ययन गरिने, लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने, मौद्रिक नीतिमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्थाको सम्बन्धमा अध्ययन गरिने, बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने, सबल र सुरक्षित भुक्तानी प्रणालीको विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिने मौद्रिक नीतिमा घोषणा गरिएको थियो । उक्त विषय अध्ययन भइरहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।  भुक्तानीसम्बन्धी कारोबार गर्ने संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण कार्य जोखिममा आधारित बनाइने आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उल्लेख थियो । तर, मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनमा जोखिममा आधारित निरीक्षण तथा सुपरिवेक्षण कार्यविधिको मस्यौदा तयार भएको र सुझाव लिने कार्य भइरहेको जनाएको छ । बैंक तथा वित्तीय संस्थामा निष्कृय खाताहरूको सङ्ख्या उल्लेख्य बढी रहेको सन्दर्भमा उच्च सङ्ख्या मा खाता निष्कृय रहने र अन्य व्यक्तिले समेत खाता सञ्चालन गर्ने प्रवृत्तिले सिर्जना गरेको जोखिमसमेतलाई दृष्टिगत गरी निष्कृय खातालाई न्यून गर्न कार्ययोजना बनाई लागु गरिने विषयमा निर्देशन जारी हुने क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । वित्तीय ग्राहक संरक्षण गर्न ‘वित्तीय ग्राहक संरक्षण मार्गदर्शन’ एवम् ‘वित्तीय बजार आचरण’ सम्बन्धी निर्देशन जारी गरिने विषयमा वित्तीय ग्राहक संरक्षण मार्गदर्शन मस्यौदा मात्रै तयार भएको जनाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षातर्फ भने अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि एन्टी ब्रिबेरी एण्ड करप्सन पोलीसी सम्बन्धी व्यवस्था गरिने उल्लेख थियो । जसमा एबीसी पोलिसीको मस्यौदा तयार भएको उल्लेख छ ।  यस्तै, मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा डेटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स प्रयोगशाला तथा कृत्रिम बुद्धिमत्ता लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गरिने र त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिने र विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहित गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने उल्लेख थियो । उक्त विषय पनि अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ ।  नेपाल सरकारबाट हालै स्वीकृत भएको दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३-८६/८७) मा उल्लिखित यस बैंकसँग सम्बन्धित कार्यहरू चरणवद्ध रूपमा कार्यान्वयन गरिने विषयमा रणनीतिको कार्यान्वयन तालिकाबमोजिम क्रमिक रूपमा कार्यान्वयन गर्दै लगिने जनाएको छ । 

प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, छलफल सुशासन र विकासमा केन्द्रीत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको सो भेटवार्तामा नेपालमा  सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए । सोमबार नै नेपाल सरकार र एडिबीबीच करिब २५ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।     

घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा  बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ । प्रतिवेदनका अनुसार आव २०८१/८२ को नौ महिनाको तुलनामा चालु आवको ११ महिनामा घरजग्गाको कुल कारोबारको सङ्ख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ ।   अघिल्लो आवको सोही अवधिमा यस्तो कारोबार सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो ।  प्रतिवेदनका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार सङ्ख्या ०.६२ प्रतिशतले बढेको छ ।  अघिल्लो आवको पहिलो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ६.७१ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या १२.१७ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ३.२६ प्रतिशतले घटेको छ । प्रतिवेदनका अनुसार चालु आवको नौ महिनामा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँबराबरको घरजग्गाको कारोबार भएको छ । जबकि अघिल्लो आवको सोही अवधिमा भने एक खर्ब सात करोड रुपैयाँ मूल्यबराबरको घरजग्गाको कारोबार भएको थियो । चालु आवको नौ महिनामा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो ।  

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार (आज) मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे । यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।

राष्ट्र बैंकले बैंकहरूको वर्गीकरण पुनरावलोकन गर्ने, नयाँ यी १२ काम गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्न विस्तृत अध्ययन भइरहेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै बैंकहरूको वर्गीकरण र कार्यदायरामा पुनरावलोकनका लागि अध्ययन भइरहेको बताएको हो ।  राष्ट्र बैंकले समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नका लागि अध्ययनको काम भइरहेको पनि बताएको छ ।  यस्तै, सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्नका लागि पनि अध्ययनको काम जारी नै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।  यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्नका लागि अध्ययनको काम भइरहेको र बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्नका लागि अध्ययन भइरहेको बताएको छ ।  नेपाल राष्ट्र बैंकले सबल र सुरक्षित भुक्तानी प्रणालीको विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गर्न पनि अध्ययन भइरहेको बताएको छ ।  यस्तै, हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्थामा फिट एण्ड प्रपर टेष्ट कर्जाको ब्याजदर गणना, सेवा शुल्कलगायतका विषयहरूलाई समेटी उक्त नियामकीय व्यवस्थामा आवश्यक संशोधन गर्नका लागि अध्ययनको काम भइरहेको पनि बताएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको तरलता जोखिम न्यूनीकरण गरी स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार लिक्विडिडी कभरेज रेसियो र खुद स्थिर फण्डिङ अनुपात जस्ता व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भएपश्चात्कर्जा निक्षेप अनुपातसम्बन्धी नियामकीय व्यवस्थामा पुनरावलोकन गर्नका लागि अध्ययनको काम भइरहेको जानकारी दिएको छ ।  यस्तै, चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गर्नका लागि र विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्नका लागि पनि अध्ययनको काम भइरहेको बताएको छ ।  राष्ट्र बैंकले डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबटिक ल्याब र एआई लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गर्नका साथै, त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गर्नका लागि अध्ययनको काम भइरहेको बताएको छ ।  

भक्तपुरको बालविनायक विद्यालयलाई एनआईसी एशिया बैंकले दियो कम्प्युटर

काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित श्री बालविनायक आधारभूत विद्यालयलाई सूचना–प्रविधि सामग्री सहयोग गरेको छ । बैंकले विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले एक थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का र काठमाडौं पूर्व सर्कल प्रमुख गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष जनार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीको पनि उपस्थिति रहेको थियो। बैंकले उपलब्ध गराएको सूचना–प्रविधि सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई थप सहज बनाउनुका साथै विद्यालयमा आधुनिक शैक्षिक वातावरण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, सूचना–प्रविधिमैत्री शिक्षाको विस्तारमा यस्ता सहकार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ ।  

ट्रम्पको दावी– भारत–पाकले एक-अर्काका ११/११ विमान खसालेका थिए, मैले युद्ध रोकेँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच भएको द्वन्द्वबारे फेरि टिप्पणी गरेका छन् । युक्रेनको राजधानी किएभमाथि रुसले गरेको आक्रमणबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले आफूले अहिलेसम्म आठवटा युद्ध रोक्न सफल भएको दाबी गरे । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले भारत र पाकिस्तानबीचको द्वन्द्व पनि रोकेँ । अन्य धेरै मामिलामा पनि त्यस्तै गरेको छु । भारत र पाकिस्तानको अवस्था अत्यन्त खतरनाक बन्न सक्थ्यो। परमाणु युद्धको जोखिम थियो । पाकिस्तानका प्रधानमन्त्रीका अनुसार त्यसबाट चार करोड मानिसको ज्यान जान सक्थ्यो । सम्भवतः पाँच करोड मानिससमेत मारिन सक्थे ।’ ‘दुवै देशले एकअर्काका ११ वटा विमान खसालेका थिए । अवस्था निरन्तर बिग्रँदै गएको थियो । चार दिनसम्म तनाव कायम रह्यो, त्यसपछि मैले त्यसलाई रोकेँ,’ उनले थपे । जुलाई ४ मा किएभमाथि भएको आक्रमणबारे ट्रम्पसँग प्रश्न सोधिएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पटक–पटक वार्ता भए पनि उनीमाथि कुनै दबाब परेको देखिएको छैन । सोही विषयमा ट्रम्प भन्छन्– ‘मलाई लाग्छ, पुटिनमाथि दबाब छ । उनी यो युद्ध अन्त्य गर्न चाहन्छन् र भोलोदिमिर जेलेन्स्की पनि युद्ध समाप्त गर्न चाहन्छन् । दुवै पक्षसँग हाम्रो निरन्तर संवाद भइरहेको छ । हामी यो युद्ध अन्त्य गराउन सफल हुन्छौं कि हुँदैन, हेर्न बाँकी छ । यो अत्यन्त दुःखद अवस्था हो ।’ उनले अन्त्यमा भनेका छन्, ‘मैले आठवटा युद्ध अन्त्य गराएको छु । मेरो विचारमा यो युद्ध त तुलनात्मक रूपमा अझ सजिलै अन्त्य हुनुपर्ने थियो, किनभने म दुवै नेतालाई चिन्छु । अन्य धेरै मामिलामा भने म सम्बन्धित नेताहरूलाई चिन्दिनथेँ ।