विकासन्युज

पेनाल्टी सुटआउटमा कोलोम्बिया पराजित, स्विट्जरल्यान्ड अन्तिम ८ मा

काठमाडौं । कोलोम्बियालाई हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टर फाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलोम्बियालाई ४-३ ले हराउँदै  क्वार्टर फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्विट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे । त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बाहिरियो । प्रतियोगितामा कोलोम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरियो । यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ ।

६ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा बर्डफ्लु, उपत्यका र काभ्रे अझै उच्च जोखिममा

काठमाडौं । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ । सोही आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा सङ्क्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।

इजिप्टलाई ३–२ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा रोमाञ्चक पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ ।  दुई गोलले पछि परेको अवस्थामा शानदार कमब्याक गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। अटलान्टास्थित रंगशालामा भएको खेलमा इजिप्टका यासेर इब्राहिमले १५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७औं मिनेटमा मोस्तफा जिकोले गोल थपेपछि अर्जेन्टिना २–० ले पछि परेको थियो । तर त्यसपछि अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन ग‍र्यो । ७९औं मिनेटमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अन्तर घटाए । त्यसको चार मिनेटपछि कप्तान लियोनेल मेस्सीले बराबरी गोल गरे । इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए । खेलमा इजिप्टले लामो समयसम्म उत्कृष्ट रक्षात्मक प्रदर्शन गरे पनि अन्तिम १५ मिनेटमा अर्जेन्टिनाको आक्रामक दबाब थेग्न सकेन। मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले लगातार तीन गोल गर्दै विश्वकप उपाधि रक्षा अभियानलाई जीवित राख्न सफल भयो। अर्जेन्टिनाले अब स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

दुई वर्षअघि ३० लाख तिरेर रिहा भएका पूर्वगृहमन्त्री खाँण दोषी ठहर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले मतियार ठहर गरेको छ ।  मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाउँदै खाणलाई संगठित अपराध र ठगी मुद्दामा मतियारको रूपमा दोषी ठहर गरेको हो ।  दुई वर्षअघि खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका थिए ।  उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका थिए ।

यी हुन् भुटानी शरणार्थी मुद्दामा सफाइ पाउने सात जना, सन्दीप र प्रतीक पनि मुक्त

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा ७ जनालाई सफाइ दिएको छ । मंगलबार (आज) न्यायाधीश तेजबहादुर खडकाको इजलासले ७ जनालाई सफाइ दिएको हो । सफाइ पाउनेहरुमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक रामबहादुर थापा बादलका छोरा हुन् । मंगलबारको फैसलासँगै कसुर ठहर र सफाइ पाउने प्रतिवादीहरूको टुंगो लागेको हो । दोषी ठहर भएकाहरूको सजाय निर्धारण भने आगामी सुनुवाइमार्फत गरिने जनाइएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलेको आरोपमा यो मुद्दा दायर भएको थियो । यो प्रकरण पछिल्ला वर्षहरूमा नेपालको सबैभन्दा चर्चित आपराधिक तथा राजनीतिक मुद्दामध्ये एक हो । भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर, सजाय अर्को पेशीमा

भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर, सजाय अर्को पेशीमा

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले प्रतिवादीहरूको कसुर ठहर गरेको छ । यद्यपि उनीहरूको सजाय भने मंगलबार (आज) निर्धारण भएको छैन । न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरूलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी तोक्ने आदेश गरेको हो ।  अदालतको पूर्ण फैसला भने आउन बाँकी रहेको छ । यस मुद्दामा गत २७ जेठदेखि जिल्ला अदालत काठमाडौंमा निरन्तर सुनुवाइ हुँदै आएकोमा लामो बहसपछि अदालतले कसुर ठहरको फैसला सुनाएको हो । मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी प्रतिवादी छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको आरोपमा यो प्रकरण सार्वजनिक भएको थियो । यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २०८० सालमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अब अदालतले अर्को पेशीमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गर्नेछ । 

मौद्रिक नीतिमा बैंकरको प्रतिक्रिया: भाषा अस्पष्ट, सुविधामा दुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति विगतको भन्दा भिन्न भएका बैंकरहरुले प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा उल्लेख गरिएका धेरै व्यवस्था कार्यान्वयनका सन्दर्भमा सर्कुलर र निर्देशन आएपछि मात्रै स्पष्ट हुने उनीहरूको भनाइ छ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले यसपटकको मौद्रिक नीति विगतको भन्दा फरक ढंगले आएको प्रतिक्रिया दिए । उनका अनुसार यसअघि नियामकीय व्यवस्थासमेत मौद्रिक नीतिमै समेट्ने चलन रहेकोमा यसपटक गभर्नर डा. विश्वनाथ पौडेलले त्यो अभ्यास हटाएर ‘प्योर’ मौद्रिक नीतिको रूपमा दस्तावेज ल्याएका छन् । कोइरालाले बैंकिङ क्षेत्रसँग सम्बन्धित धेरै विषय सर्कुलरमार्फत सम्बोधन हुने अपेक्षा व्यक्त गर्दै सरसर्ती हेर्दा मौद्रिक नीति राम्रो आएको बताए । विदेशी ऋणपत्रमा लगानी गर्न दिने व्यवस्था, बैंकहरूको वर्गीकरण गर्ने प्रस्ताव तथा कालोसूचीसम्बन्धी व्यवस्थालाई उनले सकारात्मक रूपमा लिए । उनका अनुसार वित्तीय स्थायित्वलाई ध्यानमा राखेर कुनै पनि दरमा परिवर्तन नगरिनु पनि नीति निर्माणको सन्तुलित पक्ष हो । उनले डिरेक्टिभ वा निर्देशनमार्फत सम्बोधन गर्न सकिने विषयलाई मौद्रिक नीतिमा नराख्ने अभ्यास पनि सकारात्मक रहेको बताए । यद्यपि, अन्य धेरै विषयमा थप प्रतिक्रिया दिन निर्देशन वा सर्कुलर पर्खिनुपर्ने उनको भनाइ छ । विशेषगरी व्यक्तिगत जमानीसम्बन्धी व्यवस्था कुन तहसम्म लागू हुन्छ भन्ने विषय अझै स्पष्ट भइनसकेको उनले बताए । ‘असीमित दायित्वबाट मुक्त गरिने भनिएको छ, तर त्यो सर्कुलरमा कसरी आउँछ भन्ने हेर्न बाँकी छ,’ कोइरालाले भने ।  माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका कोइरालाले ११ प्रतिशत कर्जा विस्तारको लक्ष्यलाई पनि अर्थतन्त्रको आवश्यकतासँग जोडेर हेरे । उनका अनुसार ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न करिब ११ प्रतिशत कर्जा विस्तार आवश्यक पर्ने भएकाले मौद्रिक नीति वित्त नीतिलाई सहयोग गर्ने ढंगले आएको देखिन्छ । लगानीकर्ताको मनोबल बढाउने विषयमा भने उनले सरकारको भूमिका बढी महत्वपूर्ण हुने बताए । ‘मनोबल बढाउन सरकारले लगानीको वातावरण बनाउनु आवश्यक छ, मौद्रिक नीतिले मात्रै त्यसमा ठूलो असर गर्ने देखिँदैन,’ उनले भने । यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले मौद्रिक नीतिले कुन दिशामा जाने र व्यवहारमा कसरी कार्यान्वयन हुने भन्ने विषय अझै स्पष्ट नभएको बताए । उनका अनुसार यसबारे वास्तविक चित्र सर्कुलर आएपछि मात्रै खुल्नेछ । खालिङले विदेशी मुद्रा व्यवस्थापनसम्बन्धी प्रावधानबारे पनि थप स्पष्टता आवश्यक रहेको बताए । उनले विदेशी मुद्रा खरिदपछिको व्यवस्थापन, विनिमय जोखिम नहुने गरी केन्द्रीय बैंकले जारी गर्ने उपकरणमा लगानी गर्न दिने व्यवस्था कुन देश वा कुन प्रकृतिका उपकरणका लागि हो भन्ने कुरा सर्कुलरबाट मात्रै स्पष्ट हुने बताए । उनका अनुसार लगानीको अवसर दिइएको उल्लेख भए पनि त्यो कत्तिको उपयोगी हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । उनले मौद्रिक नीतिमा सहजीकरणको कुरा धेरै उठाइए पनि त्यो कसका लागि हो भन्ने स्पष्ट नभएको बताए । ‘यो सहजीकरण कर्जा लिनेका लागि हो कि कर्जा दिने संस्थाका लागि हो भन्ने विषय अझै खुल्न बाँकी छ,’ खालिङले भने । व्यक्तिगत जमानीसम्बन्धी व्यवस्थामा पनि उनले व्यावहारिक प्रश्न उठाए । उनका अनुसार यदि पर्सनल ग्यारेन्टी नै नलिने दिशामा नीति जाने हो भने बैंकहरूले कर्जा प्रवाहमा थप सतर्कता अपनाउन सक्छन् । चेक अनादरसँग सम्बन्धित व्यवस्थामा खुकुलोपन आए चेकको विश्वसनीयतामै असर पर्न सक्ने उनको भनाइ छ । ‘कालोसूचीको डरले मानिसहरू जथाभावी चेक काट्न हिच्किचाउँथे । यदि त्यो नियन्त्रण कमजोर बनाइयो भने समस्या आउन सक्छ,’ उनले भने । खालिङले विगतका मौद्रिक नीतिमा केही हदसम्म स्पष्ट दिशा दिइने गरेको स्मरण गर्दै यसपटकका धेरै व्यवस्था व्याख्याको प्रतीक्षामा रहेको बताए । ‘पहिलेका मौद्रिक नीतिमा के गर्ने भन्ने केही संकेत हुन्थ्यो, यसपटक धेरै कुरा खुलाइएको छैन,’ उनले भने । 

मोरङका गुण्डा नाइके अभिषेक गिरीविरुद्ध तीन दिन म्याद थप

काठमाडौं । गुण्डा नाइके अभिषेक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।  सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले उनलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको जानकारी दिए ।   सीआईबीले सोमबार (हिजो) मोरङको विराटनगर महानगरपालिका ८, मधुमाराका गिरीलाई पक्राउ गरेको थियो।  यसकारण अदालतबाट रिहा हुनासाथ अभिषेक गिरी पक्राउ परे