शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान
काठमाडौं । आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर्ष जुन २० मा मनाउने गरिन्छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति–सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन् । सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यान्मार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोलगायत मुलुकमा जारी सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको छ । राष्ट्रसङ्घले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधारसमेत भएको जनाएको छ । शरणार्थीलाई संरक्षण नपाउँदा परिवारहरू थप जोखिमपूर्ण यात्रामा जान बाध्य हुने, बालबालिकाको शिक्षा प्रभावित हुने तथा महिला र बालिकाहरू थप जोखिममा पर्ने बताइएको छ । सन् १९५१ को शरणार्थी महासन्धि तथा सन् १९६७ को त्यससम्बन्धी प्रोटोकल शरणार्थी अधिकार संरक्षणका प्रमुख अन्तरराष्ट्रिय कानुनी आधार मानिन्छन् । ती व्यवस्थाअनुसार शरणार्थीलाई काम गर्ने, शिक्षा प्राप्त गर्ने, आवास पाउने, धार्मिक स्वतन्त्रता उपभोग गर्ने तथा पहिचान र यात्रा सम्बन्धी कागजात प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ । महासन्धिको मूल सिद्धान्त ‘नन–रिफाउलमेन्ट’ अनुसार कुनै पनि शरणार्थीलाई उसको जीवन वा स्वतन्त्रतामा गम्भीर खतरा रहेको स्थानमा फिर्ता पठाउन पाइँदैन । विश्व शरणार्थी दिवसले शरणार्थीहरूको साहस, धैर्य र जीवन पुनःनिर्माणका प्रयासप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने जनाउँदै उक्त विश्व संस्थाले विश्वका विभिन्न देशका सरकार, दातृ निकाय, स्थानीय समुदाय तथा विश्व समुदायलाई शरणार्थीको सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ । राष्ट्रसङ्का अनुसार युद्ध, हिंसा र उत्पीडनबाट भाग्न बाध्य भएका व्यक्तिलाई जोखिमयुक्त स्थानमा जबर्जस्ती फर्काउन नहुने तथा विस्थापनको अवस्थामा पनि उनीहरूले सम्मानपूर्वक जीवनयापन गर्न पाउनुपर्ने व्यवस्था अन्तरराष्ट्रिय समुदायको महत्वपूर्ण प्रतिबद्धता हो । यसैबीच, महासचिव एन्टोनियो गुटेरेसले यस अवसरमा जारी सन्देशमा शरण लिन बाध्य भएका सबै व्यक्ति तथा उनीहरूलाई आश्रय प्रदान गर्ने मुलुक र समुदायलाई थप बलियो समर्थन आवश्यक भएको बताएका छन् । महासचिव गुटेरेसले सन् १९५१ को शरणार्थीको अवस्थासम्बन्धी महासन्धि स्वीकृत भएको ७५ वर्ष पूरा भइरहँदा सुरक्षा र संरक्षणको प्रतिज्ञा विश्व समुदायका लागि उत्तिकै सान्दर्भिक भएको सन्देशमा उल्लेख गरेका छन् ।
अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य गरी स्थायी सम्झौता गर्ने उद्देश्यका साथ ६० दिने वार्ताको समयसीमा (काउन्टडाउन) शुरु भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार यस प्रक्रियाको औपचारिक शुरुवात भएको जानकारी दिएका हुन् । फ्रान्समा बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) सँगै वार्ताको ६० दिने अवधि तय भएको हो । उपराष्ट्रपति भान्सका अनुसार बिहिबारदेखि शुरु भएको यो वार्ताको समयसीमा आगामी अगस्ट १७ मा समाप्त हुनेछ । ह्वाइट हाउसमा आयोजित ब्रिफिङमा उपराष्ट्रपति भान्सले अन्तर्राष्ट्रिय जलमार्गहरूलाई विश्वव्यापी अर्थतन्त्रका लागि अवरोधका रूपमा प्रयोग गर्न नहुने र ती क्षेत्रहरू महसुलमुक्त हुनुपर्ने अमेरिकी अडान दोहोर्याए । यसैबीच, सम्झौताको प्रारम्भिक सकारात्मक संकेत स्वरूप अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी हटाएको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) काअनुसार अप्रिलको सुरुदेखि लगाइएको उक्त प्रतिबन्ध हटाएसँगै एक दर्जनभन्दा बढी जहाजहरूलाई इरानी बन्दरगाहमा प्रवेश गर्न अनुमति दिइएको छ । यद्यपि, सम्झौताका सर्तहरू पूर्ण रूपमा पालना भएको सुनिश्चित गर्न अमेरिकी युद्धपोतहरू सोही क्षेत्रमा तैनाथ रहने जानकारी दिइएको छ । जारी वार्ताको मुख्य र जटिल विषय इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने रहेको छ । १४ बुँदे समझदारी पत्रमा ट्रम्प प्रशासनले इरानको रोक्का वा प्रतिबन्धित कोष र सम्पत्तिहरू प्रयोगका लागि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । तर इरानको कति सम्पत्ति फुकुवा गरिनेछ र त्यसको समयतालिका एवं प्रक्रिया के हुनेछ भन्ने विषयमा अझै सहमति जुट्न बाँकी छ । उपराष्ट्रपति भान्सकाअनुसार आगामी वार्ताका क्रममा दुवै पक्षले यी कोषहरू फुकुवा गर्ने कार्यविधिमा ठोस सहमति कायम गर्नुपर्नेछ ।
आइएमईको सांगीतिक एम्बेसेडरमा प्रकाश सपुत नियुक्त
काठमाडौं । आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई सांगीतिक दूत (म्युजिकल एम्बेसेडर) नियुक्त गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा आइएमईले सपुतलाई सांगीतिक दूतका रूपमा सार्वजनिक गरेको हो । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा रेमिट्यान्स सेवाप्रति जनचेतना विस्तार गर्ने उद्देश्यले सपुतसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ । लोकगीत तथा सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण लोकप्रिय रहेका सपुतका गीतहरू देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै रुचाइने गरेका छन् । विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका भावना, संघर्ष र जीवन भोगाइलाई उनले आफ्ना गीतमार्फत निरन्तर उठाउँदै आएका छन् । आइएमईले रेमिट्यान्सले देशको अर्थतन्त्र र समाजमा पुर्याएको योगदानबारे आम नागरिकलाई थप जानकारी दिन सपुतको सहभागिताले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । सम्झौता कार्यक्रममा आइएमईका महाप्रबन्धक बद्री कटवालले सपुतका सिर्जनाले नेपाली समाजको यथार्थ चित्रण गर्ने भएकाले यो सहकार्यले कम्पनीको अभियानलाई थप प्रभावकारी बनाउने बताए । ‘उहाँका सिर्जनाले नेपालीको मन छुन्छन् । त्यसैले यो सहकार्यले हाम्रो अभियानमा छुट्टै अपनत्व थप्नेछ,’ उनले भने, ‘स्वदेश र विदेशको दूरी कम गर्न संगीत बलियो माध्यम बनेको छ, जसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको भूमिका निर्वाह गर्न सक्छ ।’ कार्यक्रममा गायक सपुतले आइएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले संगीतमार्फत विश्वभर छरिएका नेपालीलाई आफ्नो माटो र संस्कृतिसँग जोडिराख्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित रहेको बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।' उक्त स्थानबाट निज तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाइछिपाइ राखेका अवस्थामा स्रोत नखुलेको नेपाली नगद २२ लाख रुपैयाँ, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी, निज तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आज काठमाडौंं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी
काठमाडौं । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । यसअन्तर्गत काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । साथै काठमाडौं उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ । मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणीसहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ब्लु बस सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ । सेवा सञ्चालनका विभिन्न विकल्पसहित तयार पारिएको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ भने आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको छ । सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लु बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । ब्लु बस सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले सार्वजनिक यातायातमा हुने दुव्र्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । सार्वजनिक यातायातमा सिसीटिभी र ड्यासक्याम सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ । प्रगति विवरणअनुसार साझा यातायातका १११ बस, महागर यातायातका ४६ बस तथा पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ । अन्य सार्वजनिक यातायातका साधनमा पनि जडान विस्तारको काम भइरहेको मन्त्रालयले जनाएको छ । ट्राफिक प्रहरीमार्फत अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ ।
हाइटीलाई पाखा लगाउँदै विश्वकपमा ब्राजिलको पहिलो जित दर्ता
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको एकपक्षीय खेलमा ब्राजिलले हाइटीमाथि रोमाञ्चक र फराकिलो जित निकाल्दै प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको हो । पहिलो खेलमा मोरक्कोसँग १-१ को निराशाजनक बराबरीमा रोकिएको ब्राजिल यस खेलमा भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । खेलको सुरुवाती मिनेटदेखि नै हाइटीको रक्षापंक्तिलाई दबाबमा राखेको ब्राजिलका लागि २३औँ मिनेटमा म्याथ्युज कुन्हाले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उत्कृष्ट लयमा देखिएका कुन्हाले पुनः खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले गोल थपेपछि टोली पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुगेको थियो । दोस्रो हाफमा हाइटीले ब्राजिलको बलियो आक्रमणलाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेन। ब्राजिलले रक्षापंक्ति र मिडफिल्डमा पूर्ण नियन्त्रण राख्दै हाइटीलाई पुनरागमनको कुनै मौका दिएन । यो जितसँगै समूह ‘सी’मा ब्राजिलले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ भने पहिलो खेलको बराबरीको दबाबलाई समेत पन्छाएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका म्याथ्युज कुन्हा प्लेयर अफ दि म्याच चुनिए ।
रास्वपाको केन्द्रीय समितिको बैठक भरतपुरको सिएटी होटलमा बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । भरतपुर स्थित सिएटी होटलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए । बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उनले बताए । रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताए । चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान हुने, विदेशबाट पनि मिल्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेदवारहरूको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ । पहिलो चरणको मतदान गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ । केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ । केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए । असार ८ गते रातीसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ । उनले ३ हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताए । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाईंदै छ । विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरूले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए ।