विकासन्युज

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरू भरतपुर जाँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष तथा वरिष्ठ नेताहरू भरतपुर जाने भएका छन् । महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय भएपछि यसलाई रास्वपाको आन्तरिक कार्यक्रम मात्र नभई राष्ट्रिय राजनीतिक महत्त्वको जमघटका रूपमा पनि हेरिएको छ । रास्वपाले आफ्नो पहिलो महाधिवेशनमार्फत संगठनात्मक संरचना निर्माण, नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरिरहेका बेला प्रमुख दलहरूको सहभागिताले महाधिवेशनले थप महत्त्व पाएको छ । मुख्य विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट पार्टी सभापति गगनकुमार थापा महाधिवेशनमा सहभागी हुने भएका छन् ।  कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार रास्वपाले पठाएको औपचारिक निमन्त्रणाअनुसार सभापति थापाले उद्घाटन सत्रमा उपस्थित भई शुभकामना मन्तव्य दिने कार्यक्रम छ । कांग्रेसले रास्वपाको महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण प्रक्रियाका रूपमा लिँदै आफ्नो प्रतिनिधित्व उच्च तहबाट गराउन लागेको जनाएको छ । त्यसैगरी, संसदको तेस्रो ठूलो दल नेकपा एमालेका तर्फबाट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवाली महाधिवेशनमा सहभागी हुने भएका छन् । एमालेले ज्ञवालीलाई पार्टीको आधिकारिक प्रतिनिधिका रूपमा भरतपुर पठाउने निर्णय गरेको हो ।परराष्ट्रमन्त्रीसमेत भइसकेका ज्ञवालीलाई पार्टीका अनुभवी र वैचारिक नेताका रूपमा चिनिन्छ । यसअघि एमालेको एघारौं महाधिवेशनमा रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले खुला सत्रलाई सम्बाेधन गरेका थिए । संसदको चौथो ठूलो दल नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्व उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले महाधिवेशनमा पार्टीको प्रतिनिधित्व गर्ने भएका छन् । माओवादी केन्द्रले पनि रास्वपाको प्रथम महाधिवेशनलाई शुभकामना दिँदै उद्घाटन सत्रमा आफ्नो सहभागिता सुनिश्चित गरेको हो । त्यस्तै, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन जाने कार्यक्रम रहेको रहेको छ । यस्तै, संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूबाट समेत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने तयारी भइरहेको रास्वपाले जनाएको छ । विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले उद्घाटन सत्रलाई विशेष बनाउने अपेक्षा गरिएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । चितवनको भरतपुरमा सुरु हुन लागेको तीनदिने महाधिवेशनमा देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको विधान, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आगामी कार्यदिशामाथि व्यापक छलफल गर्ने कार्यक्रम रहेको छ ।

ट्युनिसियामाथि जापानको ४–० को सानदार जित, नकआउट यात्रा थप बलियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को दोस्रो चरणको खेलमा एसियाली पावरहाउस जापानले ट्युनिसियामाथि ४–० को शानदार जित दर्ता गरेको छ । मोन्टेरेस्थित एस्टाडियो बीबीभीएमा भएको विश्वकप इतिहासकै ऐतिहासिक १,००० औं खेलमा जापानले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै ट्युनिसियालाई पूर्ण दबाबमा राख्यो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापानले यस एकपक्षीय जितसँगै स्पष्ट ३ अंक जोडेर नकआउट चरणको यात्रा बलियो बनाएको छ ।  पहिलो खेलमा स्वेडेनसँग ५–१ को भारी अन्तरले पराजित भएको ट्युनिसियाका लागि यो लगातार दोस्रो हार हो, जसले उसको अघिल्लो चरण प्रवेशको सम्भावनालाई निकै कमजोर बनाएको छ । खेलको चौथो मिनेटमै मिडफिल्डर दाइची कामाडाले उत्कृष्ट गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि लगातार आक्रमण बुनेको जापानका लागि ३१औं मिनेटमा फरवार्ड अयासे उएडाले दोस्रो गोल थपे । दोस्रो हाफमा पनि ट्युनिसियाको डिफेन्स लाइनलाई व्यस्त राखेको जापानका लागि ६९औं मिनेटमा जुन्या इतोले काउन्टर अट्याकमा प्रहार गर्दै टोलीलाई ३९० को स्थितिमा पु‍र्याए । खेलको ८३औं मिनेटमा उएडाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि जापानले मैदानमा ४–० को शानदार जित सुनिश्चित ग‍र्यो ।

प्रतिनिधिबाट मात्रै उठ्यो २ करोड १० लाख शुल्क

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट प्रतिनिधि शुल्कमार्फत मात्रै २ करोड १० लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार महाधिवेशनका लागि कुल ४ हजार २ सय ११ प्रतिनिधि दर्ता भएका छन् । प्रत्येक प्रतिनिधिबाट ५ हजार रुपैयाँका दरले महाधिवेशन प्रवेश शुल्क लिइएको उनले जानकारी दिइन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशन सम्पन्न गर्न करिब ४ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए । प्रतिनिधि शुल्कबाट उठेको रकम कुल अनुमानित खर्चको झण्डै ४५ प्रतिशत बराबर रहेको पार्टी नेताहरूले बताएका छन् । चितवनको भरतपुरमा जारी प्रथम महाधिवेशनमार्फत रास्वपाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । पार्टीको विधानअनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचन हुने कार्यक्रम छ । यसैबीच, पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि लाग्ने मनोनयन शुल्क तथा आवश्यक प्रस्तावक–समर्थकको व्यवस्था सार्वजनिक गरेको छ । आयोगका अनुसार सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ ।  अन्य पदाधिकारी पदका उम्मेदवारका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । केन्द्रीय सदस्य र पदाधिकारीको एकल उम्मेदवारी पर्‍यो भने पनि उम्मेदवारी शुल्क मात्रै ४१ लाख ७ हजार रुपैयाँ उठ्ने निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।  ती सदस्यका अनुसार सभापति पदमा एकल उम्मेदवारी परेको खण्डमा ५१ हजार रुपैयाँ उठ्ने छ । यस्तै, अन्य पदाधिकारीका पनि सवै पदमा एकल उम्मेदवारी मात्रै आयो भने ७ लाख ३८ हजार रुपैयाँ उम्मेदवारी मनोनयन शुल्क उठ्ने आयोगका ति सदस्यले जानकारी दिए ।  ती सदस्यका अनुसार सदस्य पदमा पनि एकल उम्मेदवारी आयो भने पनि ३३ लाख १८ हजार रुपैयाँ मनोनयन शुल्क उठ्ने छ । आयोगका अनुसार पार्टीको केन्दीय समितिका सदस्यहरू १५८ जना रहने व्यवस्था गरिएको छ । यस्तै, पदाधिकारीमा एक सभापति सहित १९ जना रहने छन् । सभापति पदमा उम्मेदवारी दिन चाहनेले एक जना प्रस्तावकसहित कम्तीमा ५१ जना समर्थकको समर्थन जुटाउनुपर्ने व्यवस्था गरिएको छ ।  त्यस्तै, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   गत शुक्रबार मूल्यमा व्यापक गिरावट आउँदा सुनको भाउ २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको थियो । यसअघि बिहीबार सुनको भाउ तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । तोलाको ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ६ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।  गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । जुन नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो ।  

प्रधानमन्त्री बालेन भरतपुर पुगे, स्वागतमा पुगे आईजीपी कार्की

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन प्रस्थान गरेका छन्   उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत भरतपुरका लागि प्रस्थान गरेका हुन् ।  बालेन शाहको स्वागतका लागि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की भरतपुर विमानस्थल पुगेका छन् । रास्वपाको प्रथम महाधिवेशन चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा पार्टीका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहने कार्यक्रम रहेको छ । बालेन शाहले पनि महाधिवेशनका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । उनी भरतपुर विमानस्थलमा सहभागी हुनुअघि विमानस्थलमा सरसफाइ पनि गरिएको छ ।  

रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन लागे कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । कांग्रेसले उनी रास्वपाको महाधिवेशनमा सहभागी हुने जानकारी दिएको छ ।  नेपाली कांग्रेसले सुरुमा पार्टीकी उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरे पनि अन्ततः सभापति थापा नै सहभागी हुने भएका हुन् । उनी अहिले चितवन गइरहेको बुझिएको छ ।  आइतबार बिहान सभापति थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेलाई पत्र लेख्दै महाधिवेशनको शुभकामना पनि दिएका दिएका थिए ।  ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका थिए ।  यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उनको भनाइ छ ।  उनले लेखेका छन्, ‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु ।’

रास्वपा महाधिवेशन : ७ प्रदेश र प्रवासबाट छानिए ४ हजार २११ प्रतिनिधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति  ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना,  विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ । कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने  छन् ।  महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन् ।  यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको  प्रतिनिधित्व भएको   छ । प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन् ।  प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित  तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् ।  साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक  सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।

क्युरासाओ र इक्वेडर बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै प्रतिस्पर्धात्मक खेलमा इक्वेडर र क्युरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।  कान्सास सिटी स्टेडियममा भएको उक्त खेलमा क्युरासाओका गोलकिपर एलोय रुम नायक बन्दा बलियो टोली इक्वेडर स्तब्ध बनेको हो । पहिलो खेलमा आइभोरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडर र जर्मनीसँग ७–१ को भारी अन्तरले पराजित भएको क्युरासाओ दुवैका लागि नकआउट चरणको यात्रा जीवित राख्न यो खेल जित्नैपर्ने दबाब थियो । इक्वेडरले खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण जमाउँदै लगातार आक्रमण बुनेको थियो । कप्तान एनेर भ्यालेन्सिया, गोन्जालो प्लाटा र जोन येबोआको प्रहारलाई क्युरासाओको रक्षापंक्ति र गोलकिपरले असफल तुल्याइदिए । क्युरासाओका गोलकिपर एलाय रुमले खेलभरि कुल १२ वटा उत्कृष्ट बचाउ गर्दै इक्वेडरलाई गोल गर्नबाट पूर्ण रूपमा बञ्चित गरे।   इक्वेडरको अभागी प्रहारस् दोस्रो हाफको अन्तिम समयतिर मोइसेस काइसेडोलाई लक्षित गरी गरिएको एउटा क्रस गोलपोस्टको बारमा लागेर बाहिरिँदा इक्वेडर अग्रता लिनबाट चुकेको थियो । क्युरासाओको काउन्टर अट्याकस् रक्षात्मक रणनीति अपनाएको क्युरासाओले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । जुनिन्हो बाकुना र जुर्गेन लोकाडियाको प्रहारलाई इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले उत्कृष्ट बचाउ गरेका थिए । खेलभरि रेफ्रीले क्युरासाओका ५ जना खेलाडी (लेआन्द्रो बाकुना, जुनिन्हो बाकुना, लिभानो कोमेनेन्सिया, जुरिएन गारी र गेर्भाने कास्तानेर) लाई पहेँलो कार्ड देखाएका थिए भने इक्वेडरका जोर्डील्सिभारले पनि पहेँलो कार्ड पाएका थिए । यो बराबरीसँगै दुवै टोलीले विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोडेका छन् । यद्यपि, अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउन अब दुवै टोलीले समूह चरणको अन्तिम खेलमा गर या मरको अवस्थामा मैदान उत्रनुपर्नेछ ।