बागमती प्रदेशका १३ वटै जिल्लामा 'स्वस्थ सहर' घोषणा गरिँदै
काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका निकायलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको उनले बताए । अभिमुखीकरण अनुसार आवश्यक तयारी थाल्न उनले सरोकार भएका सबैलाई निर्देशन दिए। प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पुर्याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गरिएको मन्त्री थापामगरले उल्लेख गरे । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरको पहिचान गरी प्रत्येक जिल्लालाई स्वस्थ सहर निर्माण गरी स्वस्थ नागरिक बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको धारणा राखिन् । उनले बागमतीलाई स्वास्थ्य क्षेत्रमा नमूना प्रदेश बनाउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई व्यवहारिक, दिगो र परिणाममुखी बनाउनेगरी योजना तर्जुमा गरिएको जानकारी दिइन् । प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य सेवामा गुणस्तरीय बनाउने, पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोग गर्दै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । प्रत्येक नागरिकले उपचार आफ्नै जिल्लाका अस्पतालमा सहज रूपमा पाउने गरी व्यवस्था गर्दै अस्पताललाई उपकरण, प्रविधिमैत्री बनाउने गरी व्यवस्थापनको तयारी थालिएको स्वास्थ्य सचिव गौतमले जानकारी दिइन् । स्वस्थ्य सहर, स्वस्थ्य नागरिकका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालन गर्नेगरी प्रत्येक जिल्लामा तयारी गरिएको उनले बताइन् ।
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्या संकलन गरिने
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्यांक कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्यांक संकलनको काम गर्ने दिए । 'अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ', उनले भने, 'अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतालमा पठाउँछौँ ।' उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्यांक संकलन गरिनेछ । कार्यालयले प्रत्येक १०/१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको उनको भनाइ छ । सन् २०१३ मा भएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ उत्पादनमा एक प्रतिशतभन्दा कम योगदान रहेको कार्यालयका निर्देशक बरालले जानकारी दिए । त्यतिबेला एकसय वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो । यसपटक भने देशभरि दुई हजार ५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ । रासस
८ महिनामै भित्रिए करिब साढे ६ हजार ईभी, ९ अर्ब राजस्व
काठमाडौं । नेपाली सडकमा विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति उल्लेखनीय रूपमा बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउनदेखि फागुनसम्म) को तथ्यांकले नेपालमा ईभी प्रतिको आकर्षण लहरकै रूपमा देखिएको हो । भन्सार विभागले आइतबार (आज) सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फागुन मसान्तसम्म देशभर ६ हजार ३ सय ९८ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् । जसमा २ वटा अन–एसेम्बल (जडान नगरिएका) गाडी समेत समावेश छन् । विद्युतीय गाडीको आयात बढ्दै जाँदा राज्यको ढुकुटीमा पनि उल्लेख्य योगदान पुगेको छ । विभागका अनुसार फागुनसम्म १४ अर्ब ९६ करोड १ लाख २७ हजार रुपैयाँ बराबरका ईभी आयात भएका छन् । यसरी ठुलो मात्रामा गाडी भित्रिँदा सरकारले ९ अर्ब ११ करोड ९ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो महिना माघसम्म ५ हजार ८ सय ९६ वटा ईभी भित्रिएका थिए । फागुन महिनामा मात्र थप ५ सय २ वटा ईभी नेपाल भित्रिएका हुन्, जसले बजारमा ईभीको माग स्थिर र उच्च रहेको देखाउँछ । नेपाली बजारमा मध्यम क्षमताका विद्युतीय गाडीको माग सबैभन्दा बढी देखिएको छ । विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाली उपभोक्ताको पहिलो रोजाइमा परेका छन् । जसमा ५० किलोवाटसम्मका २ हजार १९८ वटा ईभी आयात भएका छन् भने ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ६७२ वटा अर्थात् सबैभन्दा धेरै आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ५१९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा तथा अन-एसेम्बल (५० किलोवाट) का २ वटा आयात भएका छन् । ठुला ईभीसँगै तीन पाङ्ग्रे विद्युतीय सवारीको आयात बढ्दै गएको छ । तथ्याङ्क अनुसार फागुन महिनासम्म ६ हजार १५ वटा तीन पाङ्ग्रे ईभी नेपाल भित्रिएका छन् । यसको आयात मूल्य ६५ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ । विशेषगरी तराईका क्षेत्रमा ई–रिक्सा र तीन पाङ्ग्रे ईभीको प्रयोग बढ्दो छ । वातावरणमैत्री, न्यून सञ्चालन खर्च र सरकारले भन्सार महसुलमा दिएको सहुलियतका कारण सर्वसाधारणदेखि व्यवसायीसम्मको रोजाइमा ईभी पर्न थालेको हुन् । चार्जिङ स्टेशनको विस्तार र बैंकहरूको सहज फाइनान्सिङ सुविधाले पनि ईभी आयात उकालोतिर लागेको अटो व्यवसायीहरू बताउँछन् ।
सेयर बजारमा हरियाली, २३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर २९३१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८३ कम्पनिको सेयर मूल्य बढ्दा ७३ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३६४ कम्पनिको ६ करोड कित्ता सेयर कारोबार हुँदा २३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेसनल हाइड्रोको ७७ करोड, शिवम् सिमेन्टको ७५ करोड, न्यादी गुप्रको ७२ करोड र हिमाल दोलखाको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा ६ वटा कम्पनिको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १३ वटा उपसूचक मध्ये १२ वटाकाे समूह बढेको छ भने व्यापार समूह घटेको छ ।
बेमौसमी वर्षाका कारण ९ करोड बराबरको काँचो इँटामा क्षति
नेपालगञ्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई आठ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले जानकारी दिए । उनले बेमौसमी वर्षाले एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको उल्लेख गरे । व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएकाले आठ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । एउटा काँचो इँटाको मूल्य २.५० पैसा रुपैयाँ पर्ने अधिकारीले बताए । व्यवसायीका अनुसार खुलाचौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटा पानीले भिजेर माटोमा परिणत भएका छन् । कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको बाँकेका व्यवसायीहरूको भनाइ छ । इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठूलो क्षति बेहोर्नु परेको बताए । उनले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गरे । रासस
विद्यार्थीमा वित्तीय साक्षरता बढाउन राष्ट्रिय वाणिज्य बैंक सक्रिय
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै आवश्यक रहेको बताएका छन् । उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगबारे सचेतना बढाउन सके प्रत्येक व्यक्तिले उपलब्ध स्रोतको सदुपयोग गर्दै अधिक लाभ लिन सक्ने उल्लेख गरे । उनले युवा तथा विद्यार्थीहरूले वित्तीय क्षेत्रसम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय वाणिज्य बैंकले वित्तीय साक्षरता अभियानलाई निरन्तर अघि बढाउँदै आएको बताए । बढ्दो सूचना प्रविधिको प्रयोगसँगै वित्तीय क्षेत्रमा चुनौती पनि थपिँदै गएको उल्लेख गर्दै उनले देशव्यापी रूपमा सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखे । प्रमुख कार्यकारी अधिकृत खनालले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत प्राप्त हुने शंकास्पद लिंक नखोल्न र ‘सित्तैमा पैसा’ दिने प्रलोभनमा नपर्न सबैलाई आग्रह गरे । सुरुवातमा सानो लाभ देखाएर पछि ठूलो रकम माग्ने ठगी प्रवृत्तिबाट सचेत रहन उनले सुझाव दिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले वित्तीय साक्षरताको सुरुवात विद्यालयबाट हुँदै घरघरमा विस्तार हुनुपर्ने आवश्यकता औँल्याए । बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र रामकुमार थापा तथा विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ र विभागीय उपप्रमुख उभार पाण्डे सहभागी थिए । राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी वीकका अवसरमा देशव्यापी रूपमा वित्तीय साक्षरता तथा सामाजिक–सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । ग्लोबल मनी वीक प्रत्येक वर्ष मार्च १६ देखि २२ तारिखसम्म विश्वभर मनाइन्छ ।
८ महिनामा झण्डै २ खर्बको निर्यात, आयातको तुलनामा बढ्यो
काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँबराबरको आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँबराबरको आयात भएको थियो । यो अवधिमा आयात १२.५४ प्रतिशतले बढेको छ । यो अवधिमा कुल १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन कुल व्यापारको २०.८३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । समीक्षा अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेको छ । यो अवधिमा कुल वस्तु व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख रुपैयाँ हुँदा वैदेशिक व्यापार घाटा भने १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा चैत्र ८ गते आयोजित एक समारोहबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी तथा कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन् । सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, विभिन्न पर्व तथा दिवस, पञ्चाङ्ग तिथि र तारिख समावेश गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्गनिर्देशन गर्ने सञ्चालक पदाधिकारी, कर्मचारी, ग्राहक, बीमा अभिकर्ता, सेयरधनी, नेपाल बीमा प्राधिकरणलगायत नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना दिएका थिए । उनले आगामी दिनमा कम्पनीलाई अझ सशक्त बनाउँदै नवीन प्रविधिको अधिकतम प्रयोगमार्फत ग्राहक सेवाको गुणस्तर थप प्रभावकारी बनाउने योजना ल्याइने बताए । साथै सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी प्रतिबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।