विकासन्युज

राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको  छ ।       ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।  राष्ट्र बैंकले न्यूनतम पाँच करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।   

प्रधानमन्त्रीको आश्वासन, उद्योगी उत्साहित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (आज) भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन् ।  सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।  उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।  छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गरेका थिए ।  प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताए । उनले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे ।  उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।   निजी क्षेत्रसम्बद्ध उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवर्द्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबीचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । बैठकको सुरुमै प्रधानमन्त्रीले व्यवसायीहरूलाई आफ्ना समस्या खुलस्त रूपमा राख्न आग्रह गर्दै गुनासो मात्र नभई समाधानका ठोस प्रस्ताव पनि ल्याउन अनुरोध गरेका थिए । सरकारबाट कुन–कुन निर्णय आवश्यक छन् भन्ने विषय स्पष्ट रूपमा प्रस्तुत भए कार्यान्वयनमा जान आफू तयार रहेको उनको भनाइ थियो ।  बैठकमा सडक, पुल तथा अन्य ठूला पूर्वाधार आयोजनामा निजी क्षेत्रको सहभागिता बढाउने विषय पनि उठेको थियो । प्रधानमन्त्रीले भारतमा अभ्यास भइरहेको हाइब्रिड एन्युइटी तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल नेपालमा लागू गर्न सकिने सम्भावनाबारे चासो राखेका थिए । त्यसको जवाफमा व्यवसायीहरूले सरकारले ‘भायबिलिटी ग्याप फन्डिङ’ जस्ता संयन्त्रमार्फत जोखिम साझेदारी गरे निजी क्षेत्र ठूलो लगानी गर्न तयार रहेको बताएका थिए । उद्योग सञ्चालनमा देखिएका प्रशासनिक र नीतिगत झन्झट हटाउने विषय पनि छलफलको प्राथमिकतामा रहेको सहभागी व्यवसायीले बताएका छन् । उद्योगका लागि जग्गा हदबन्दी, प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रक्रिया, बहुस्तरीय कर प्रणाली तथा लगानीलाई असर गरिरहेका कानुनी जटिलतामा सुधार आवश्यक रहेको निजी क्षेत्रले धारणा राखेको थियो । प्रधानमन्त्रीले यस्ता विषयलाई सम्बन्धित निकायसँग समन्वय गरेर समाधानतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।  व्यवसायीहरूले हालको मौद्रिक नीति, बैंकिङ नियमन तथा कर्जा प्रवाहसम्बन्धी कडा व्यवस्थाले उद्योग–व्यवसाय विस्तारमा कठिनाइ उत्पन्न गरेको गुनासो गरेका छन् ।  बैठकमा सरकार र निजी क्षेत्रबीच नियमित संवादको स्थायी संयन्त्र बनाउने सहमति पनि भएको बताइएको छ । प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत निजी क्षेत्रका प्रमुख संगठनसँग निरन्तर सम्पर्क र समन्वय हुने व्यवस्था मिलाउने संकेत दिएका छन् । यसबाट नीतिगत समस्या समयमै समाधान गर्ने र सरकार तथा निजी क्षेत्रबीचको विश्वास बढाउने अपेक्षा गरिएको छ ।

मौद्रिक नीतिमा सन्तुष्ट भएनन् लगानीकर्ता, ३० अंकले घट्यो सेयर बजार

काठमाडौं ।  मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेर २६२१ बिन्दुमा झरेको हो । बुधबार २४ कम्पनीको सेयर मूल्य बढ्दा २४८ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३६२ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ११ प्रतिशत केबीएल डिभेन्चरको ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ९.५ प्रतिशत एनसीसी डिभेन्चरको ४३ करोड, ८.५ प्रतिशत सानिमा डिभेन्चरको २१ करोड र आँखु खोलाको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति सार्वजनिक भएपछि यति ठूलो गिरावट आएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयरधितो कर्जाको सीमा कायम गर्ने घोषणा गरेको छ । तर, कति सीमा कायम गर्ने भन्नेबारे भने खुलाइएको छैन । लगानीकर्ताहरू मौद्रिक नीतिप्रति खुसी नभएर बजार घटेको टिप्पणी गरिरहेका छन् ।  

३१ अर्ब बढी घुस लिएको आरोपमा चीनका पूर्वअधिकारीलाई मृत्युदण्ड

काठमाडौं । पूर्वी चीनको एक अदालतले करिब ३० वर्षको अवधिमा २.२ अर्ब युआन (३१ अर्ब रुपैयाँ बढी) ने भन्दा बढी घुस लिएको आरोपमा एक पूर्व नगर अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् १९९३ देखि २०२३ सम्म याङ योलिनले नानजिङमा विभिन्न सरकारी पदमा कार्यरत रहँदा घुस लिएको, सरकारी सम्पत्ति हिनामिना गरेको, अधिकारको दुरुपयोग गरेको तथा अवैध रूपमा कमाएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको ठहर अदालतले गरेको छ ।  हालैका वर्षहरूमा उनको अवैध आम्दानी सबैभन्दा ठूलोमध्ये एक मानिएको छ । ६९ वर्षीय याङले आफ्नो पदको दुरुपयोग गर्दै अन्य व्यक्तिहरूलाई इन्जिनियरिङ ठेक्का, जग्गा हस्तान्तरण तथा वित्तीय सुविधा उपलब्ध गराउन सहयोग गरेबापत नगद र बहुमूल्य वस्तुहरू लिएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । याङमाथिको अनुसन्धान सी चिनफिङको नेतृत्वमा सञ्चालन भइरहेको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको हो । उक्त अभियानले सेना, बैंकिङ क्षेत्रलगायत विभिन्न उच्च तहका सरकारी निकायहरूमा व्यापक कारबाही गरेको छ । छाङझाउको अदालतले सोमबार जारी गरेको निर्णयमा याङले गरेका अपराधहरू ‘अत्यन्त गम्भीर प्रकृतिका’ रहेको र त्यसबाट ‘राज्य तथा जनताको हितमा अत्यधिक क्षति पुगेको’ उल्लेख गरेको छ । राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि चीनमा पटक–पटक भ्रष्टाचारविरोधी अभियान सञ्चालन भएका छन् । आलोचकहरूले भने ती अभियानलाई राजनीतिक प्रतिद्वन्द्वी हटाउने माध्यमका रूपमा पनि प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् । आर्थिक तथा भ्रष्टाचारसम्बन्धी अपराधमा मृत्युदण्ड दिने घटना भने चीनमा विरलै हुने गर्छ । तर, एक अर्ब युआनभन्दा बढी रकम जोडिएका अत्यन्त ठूला भ्रष्टाचारका मुद्दामा कहिलेकाहीँ यस्तो सजाय सुनाइने गरेको छ । यसअघि लाइ सियाओमिनलाई १० वर्षको अवधिमा १.८ अर्ब युआन घुस लिएको अभियोगमा सन् २०२१ मा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो । त्यस्तै, ली जियानपिङलाई ३ अर्ब युआनभन्दा बढी रकम घुस लिएको अभियोगमा सन् २०२४ मा मृत्युदण्ड दिइएको थियो । धेरै अन्य भ्रष्टाचारका मुद्दामा भने अदालतहरूले कैद सजाय वा स्थगित मृत्युदण्ड सुनाउने गरेका छन्। यस्तो अवस्थामा निश्चित अवधि पूरा भएपछि मृत्युदण्डलाई आजीवन कारावासमा रूपान्तरण गरिन्छ । कतिपय मुद्दामा दोषी ठहर भएका व्यक्तिले अन्य अपराधीबारे जानकारी दिएमा अदालतले सजाय पनि घटाउने गरेको छ । याङले पनि अनुसन्धानमा सहयोग गरेको भए पनि उनको अपराध अत्यन्त गम्भीर भएकाले त्यो सहयोग सजाय कम गर्न पर्याप्त नभएको छाङझाउ अदालतले जनाएको छ ।

घुससहित पक्राउ परे वन कार्यालयका प्रमुख राम केवल राय यादव

काठमाडौं । जिल्ला सिरहाको बन्दीपुरस्थित सव-डिभिजन वन कार्यालयका कार्यालय प्रमुख राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन् । उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार यादवले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउका क्रममा उनीसँग घुसबापत लिएको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ बरामद भएको छ । यससँगै उनको साथबाट एक थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ । उनीलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गमा बुधबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

भुजुङ हाइड्रोको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा सकिने

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ। कम्पनीका अनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि अवधि सेयर बाँडफाँट भएको मितिले ६ महिनापछि अर्थात् २०८३ साउन २६ गते समाप्त हुनेछ ।  

विश्वकपको उपाधि होड थप रोमाञ्चक

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको सन् २०२६ को फिफा विश्वकप फुटबल अन्तिम आठ टोलीमा सीमित भएको छ ।  राउन्ड अफ १६ का रोमाञ्चक खेलपछि साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, बेल्जियम, इङ्ग्ल्यान्ड, नर्वे, मोरक्को र स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । तस्बिर :  फिफा विश्वकप  साविक च्याम्पियन अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।  अब अर्जेन्टिनाले अन्तिम आठमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्डले भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।   यस्तै, स्पेनले छिमेकी राष्ट्र पोर्चुगललाई कठिन प्रतिस्पर्धामा १–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो भने फ्रान्सले पनि पाराग्वेलाई १–० ले हराउँदै आफ्नो यात्रा निरन्तर राखेको छ ।  बेल्जियम, मोरक्को, इङ्ग्ल्यान्ड र नर्वेले पनि नकआउट चरणमा प्रभावशाली जित निकाल्दै उपाधि होडलाई थप प्रतिस्पर्धात्मक बनाएका छन् । बेल्जियमले अमेरिकालाई ४–१ ले हराएको हो भने मोरक्कोले आयोजक राष्ट्र क्यानडालाई ३–० ले हराएको हो ।  त्यस्तै, इङ्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराउँदा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्यो। क्वार्टरफाइनलमा पहिलो खेल फ्रान्स र मोरक्कोबीच जुलाई ९ (नेपाली समयअनुसार पर्सि शुक्रबार बिहान पौने २ बजे) हुनेछ । त्यसपछि स्पेन र बेल्जियमबीच नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे अर्को रोमाञ्चक भिडन्त हुनेछ ।  जुलाई ११ मा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच (नेपाली समयअनुसार आगामी आइतबार बिहान पौने ७ बजे) खेल हुनेछ भने इङ्ग्ल्यान्ड र नर्वेबीच आइतबार बिहान पौने ३ बजे क्वार्टरफाइनल खेलिने तालिका छ ।  यी चार खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। गोल्डेनबुटको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित प्रतिस्पर्धामा अग्रस्थानमा छन् । त्यस्तै,  फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे र नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड ७ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन् । त्यस्तै, इङ्ग्ल्यान्डका ह्यारी केनले ६ गोल गरेका छन् । यस संस्करणको विश्वकपमा धेरै ठूला टोली बाहिरिँदा केही नयाँ टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । विशेषगरी मोरक्को र नर्वेको प्रभावशाली प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । अबको प्रत्येक खेल ‘गर वा मर’ को अवस्थामा हुने भएकाले सानो गल्तीले पनि उपाधि यात्रामा पूर्णविराम लाग्न सक्छ । विश्व फुटबलका समर्थकहरूको नजर अहिले क्वार्टरफाइनलतर्फ केन्द्रित छ । उपाधि दाबेदार टोलीबीच हुने कडा प्रतिस्पर्धाले यसपटकको विश्वकप झन् रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । सान्दर्भिक सामग्रीहरू : क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका गुन्जेश्वर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुन्जेश्वर मण्डलले नियुक्तिका क्रममा झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । अनुसन्धानका क्रममा मण्डलले भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट आईएससी तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै पेस गरेका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ । ती झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई ओहदा, तलब तथा अन्य सुविधा प्राप्त गरेको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।