नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका गुन्जेश्वर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुन्जेश्वर मण्डलले नियुक्तिका क्रममा झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

अनुसन्धानका क्रममा मण्डलले भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट आईएससी तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै पेस गरेका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।

ती झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई ओहदा, तलब तथा अन्य सुविधा प्राप्त गरेको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Share News