ऊनी गलैंचा तथा तयारी पोशाक निर्यातमा गिरावट
काठमाडौं, ३० मंसिर । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनीक गरेको नेपालको बैदेशिक व्यापार वस्तुस्थिति २०७३/७४ को चौमासिक विवरण अनुसार ऊनी गलैंचा तथा तयारी पोशाक निर्यातमा गिरावट आएको छ । पहिलो चौमासिक समिक्षा विवरणमा गत बर्ष भन्दा ऊनी गलैंचा र तयारी पोशाकमा क्रमशः ४.१ प्रतिशत र तयारी पोशाकमा १३.० प्रतिशतले निर्यातमा गिरावट आएको हो । चालु आर्थिक बर्षको पहिलो चौमासमा २ अर्ब ६९ करोड रुपैंयाँको ऊनी गलैंचा र १ अर्ब ९२ करोड रुपैंयाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । भूकम्प र नाकाबन्दीका बावजुद पनि गतबर्ष गलैंचा र तयारी पोशाक निर्यात सन्तोष जनक रहेको थियो । नेपालबाट निकासी हुने प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि रहेको विवरणमा उल्लेख गरिएको छ ।
२ अर्ब ८० करोड खर्चेर नेपाल टेलिकमले बनाउँदैछ धरहरा
काठमाडौं, ३० मंसिर । नेपाल टेलिकमले २ अर्ब ८० करोडको लागतमा धरहरा निर्माण गर्ने भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले नेपाल टेलिकमलाई धरहरा बनाउन दिने निर्णय गरेको थियो । टेलिकमले पुरातत्व विभागसँगको समन्वयमा धरहराको निर्माण गर्न लागेको हो । धरहरा निर्माणका क्रममा ‘मै बनाउँछु धरहरा’ अभियानमा संकलन भएको रकम खर्च गरिनेछ । ‘केपी अोली सरकारको निर्णय अनुसार मेरो धरहरा मैँ बनाउछु अभियानमा संकलन भएको रकममा नेपाल टेलिकमले पैसा थपेर धरहरा निर्माण गर्न लागिएको छ, हामी सम्झौताको अन्तिम चरणमा पुगिसकेका छौं’, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विकासन्युजसँग भने । ६ रोपानी क्षेत्रफलमा पहिले प्रस्तावित धरहराकाे स्केज उनले बुधबार मात्रै सञ्चार सचिव दिनेश थपलियासँग छलफल गरेको जानकारी समेत दिए । ‘बुधबार मात्रै मैले धरहरा बनाउने बारे सञ्चार सचिवसँग छलफल गरेको छु उहाँ पनि साह्रै उत्साहित हुनुहुन्छ, जनताको कम्पनी नेपाल टेलिकमले धरहरा बनाउने कुराले साह्रै राम्रो सन्देश जाने उहाँको बुझाई थियो’, दाहालले भने । केश कन्सल्टेन्टले थप गरिएको टक्सार र हुलाकको जमिनमाथी नयाँ डिजाइन बनाइनेछ । यस अघि धरहराले चर्चेको ६ रोपनी क्षेत्रमा नयाँ धरहरा बनाउने डिजाइन तयार पारिएको थियो । अब थपिएको २३ रोपनी ४ आना २ पैसा २ दामसमेत जोडेर २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा धरहराको नयाँ डिजाइन बन्ने छ । कम्पनीले ६ रोपनीमा धरहरा बनाउन पहिले १६ लाख ९५ हजार रुपैंयाँमा विस्तृत डिजाइन बनाएको थियो । अब थपिएएको जमिनमा नयाँ डिजाइन तयार पार्न पहिलको जमिनको लागत भन्दा ३५९ दशमलब २६ प्रतिशतले बढि अर्थात ७७ लाख ८४ हजार ४ सय ३६ रुपैैयाँ ७५ पैसा(कर समेत)मा सोही कम्पनीलाई डिजाइनको जिम्मेवारी दिइनेछ । नयाँ धरहरा नयाँ सुबिधा नयाँ निर्माण हुने धरहरामा दुइतले पार्किङ, म्युजियम, थियटर, गार्डेन लगायत संरचना रहने छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ । पुरानो धरहरा यथावत महानिर्देशक दाहालले भूकम्पले क्षति पुर्याएको पुरानो धरहराको भग्नावशेष भने यथातै छोडिने बताए ।‘भत्किएको धरहरा हाम्रो इतिहास हो, त्यसलाई जस्ताको त्यस्तै छोडेर त्यसको नजिक नयाँ धरहरा बनाउने हो, पुरानो ठुटोका यथोचिच संरक्षण गरिन्छ’, दाहालले भने । मै बनाउँछु धरहरामा कति पैसा ? सरकारले २०१६ को फेब्रुअरी १७ तारिख देखि मै बनाउँछु धरहरा नामको अभियान सञ्चालन गरेको छ । कोषमा अपेक्षाकृत रकम जुट्न भने सकिरहेको छैन् । कोषमा हालसम्म करिब तीन करोड रुपैंयाँ मात्रै जम्मा भएको छ ।
तीन कम्पनीले गरे साधारणसभाको घोषणा, कहिले कहिले हुँदै छ?
काठमाडौं, ३० मंसिर । बिहीबार मात्र तीन वटा कम्पनीले साधारणसभाको घोषणा गरेका छन् । हिमालय बैंकले आगामी पुस २२ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस ६ गतेदेखि पुस २२ गतेसम्म बैंकको बुक क्लोज हुने छ । त्यस्तै, गुह्ेश्वरी मर्चेन्ट बैंकको पनि १५औँ वार्षिक साधारणसभा पुस २२ गते नै हुने भएको छ । सो प्रयोजनको लागि आगामी पुस ७ गतेदेखि पुस २२ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय मंसिर १६ गते बसेको बैंकको १७१औँ सञ्चालक समितिको बैठकले गरेको हो । त्यसैगरि समीट माइक्रोफाइनान्सले आगामी पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ ।
राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान
काठमाडौं, ३० मंसिर । भिजी सुजुकी अटोमोबाइल्सद्धारा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित भएका छन् । किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कामीलाई भी.जी. अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले सम्मान गरेका छन् । उक्त प्रतियोगिता गत असोज ८ गतेदेखि असोज १७ गतेसम्म सम्म सञ्चालन भएको थियो । साथै, सिंहले त्रिपुरेश्वर स्थित भिजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजित एक कार्यक्रममा सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरेका छन् ।
नेप्से परिसूचक दोहोरो अंकले उकालो, तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, ३० मंसिर । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार सामान्य अंकले बढेको परिसूचक १३ दशमलब ९८ अंकले बढेर १५३० दशमलब ०६ अंकमा पुगेको छ । बिहीबार ४९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको ६६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबारको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समिट माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । सो दिन बैंकको ८ करोड रुपैयाँब बढीको सेयर किनबेच भएको छ । उत्पादनमूलक समूह बाहेक कारोबार भएका बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९२ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । अन्य समूह स्थिर रहेको छ भने उत्पादनमूलक समूहको परिसूचक ६ अंकले ओरालो लागेको छ ।
यूनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त
काठमाडौं, ३० मंसिर । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । पन्तको कार्यकाल मंसिर २८ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै पन्तले इन्स्योरेन्सको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् । कम्पनीले पूर्व सञ्चालक शिवजीरे यादवको पदमा रविन्द्रराज पन्तलाई नियुक्ति गरेको हो । पन्तले केहि समय अघि मात्रै एनआइडिसी डेभलपमेन्ट बैंकको निर्देशकबाट राजीनामा गरेका थिए ।
सार्वजनिक यातायातबाट थुक्नेलाई रु ५०० जरिवाना, सवारीमै डस्टविन राख्न आग्रह
काठमाडौं, ३० मंसिर । सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो । सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिए । “सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ, सवारी छुट्नुअघि चालकले डस्टविन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनुपर्छ” – उनले भने । यो नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम ५०० रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद गरिनेछ । मर्करीजस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था ऐनमा छ । सवारीबाट सार्वजनिकस्थल वा सडकमा फोहर फाल्नेको नामनामेसी सार्वजनिक गर्न केन्द्रले स्थानीय निकायलाई निर्देश गरेको छ । यो व्यवस्था कार्यान्वयनको अनुगमन स्थानीय निकायले गर्ने छन् । यो व्यवस्था लागू भएपछि सवारी साधनबाट सडकमा थुक्न पनि पाइने छैन । सवारीबाट सडकमा थुक्नेलाई समेत रु ५०० कारबाही हुने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । शुक्रबार बिहान ७ः३० देखि ८ बजेसम्म रत्नपार्कस्थित बसपार्क, गोङ्गबु नयाँबसपार्क र लगनखेल बसपार्कमा जनचेतनामूलक अभियान सञ्चालन गरिँदैछ । अभियानका क्रममा निःशुल्क डस्टविनसमेत वितरण गरिनेछ । पुसभर देशभरका सार्वजनिक यातायातमा जनचेतनामूलक अभियान सञ्चालन गरिने कार्यक्रम छ । रासस
समीट माइक्रोफाइनान्सले ४५% बोनस र शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं, ३० मंसिर । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंक ४५ प्रतिशत बोनस पश्चात शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।