विकासन्युज

आजदेखि ट्राफिक नियममा थप कडाइ, पीक आवरमा देखिको चाप न्युनिकरण गर्न खोजिदै

काठमाडौं १, पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो। गत मंसिर दुईमा भएको निर्णय अनुसार सरोकारवालासँगको छलफल पछि आजदेखि नियम कडाइका साथ लागू हुन लागेको हो। नयाँ प्रावधान अनुसार आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन् । तर पानी र इन्धन बोक्ने सवारीलाई भने रोकतोक हुनेछैन । पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले यो प्रावधान लागू गर्न लागेको हो । नयाँ प्रावधान अनुसार माइक्रोबसले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । साथै अनावश्यक सिट जोडिएको हुनुहुने छैन । त्यस्तै लामो दूरीका बसहरु अबदेखि बसपार्कबाटै छुट्नुपर्ने प्रावधान बनाइएको छ। यातायात व्यवस्था विभागले उपत्यकाका विद्यालय बसहरुलाई बिहान ९ बजेसम्म बिद्यालय पुगिसक्नुपर्ने र अपरान्ह चार बजे बिद्यार्थी छाडेर गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो । तर त्यो निर्णय व्यवहारिक नभएको भन्दै बिद्यालयले बिरोध गरेपछि यसलाई तत्कालका लागि कार्यान्वयनमा ल्याइने छैन। तर विद्यालयसँग छलफल भइरहेको बिभागले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट ।

उद्योगको कुल उत्पादन क्षमताको ४८.२ प्रतिशत मात्र उपयोग, औद्योगिक पूर्वाधार विकास नहुँदा उद्योगहरु क्षमताभन्दा न्यून उत्पादन गर्न बाध्य

काठमाडौं, ३० मंसिर । अार्थिक वर्ष २०७२/७३ मा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ४८.२ प्रतिशत मात्र उपयोग गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । नेपालको ४७ जिल्लामा भएका आर्थिक गतिविधि सम्बन्धि अध्ययनले आधाभन्दा कम क्षमता उद्योगहरु सञ्चालन भएको देखाएको हो । अघिल्लो वर्ष उद्योगहरुले ५२.७ प्रतिशत औसत क्षमता उपयोग रहेको थिए । समीक्षा अवधिमा पश्मिनाले सबैभन्दा बढी ८८ प्रतिशत क्षमता उपयोग गरेको छ । चाउचाउ ८३.३० र बिजुलीको तार उत्पादन गर्ने उद्योगले ७२.५६ प्रतिशत क्षमता उपयोग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा चामल उद्योगले सबैभन्दा कम १३.६ प्रतिशत क्षमता उपयोग गरेको छ । सिद्धार्थ सिमेन्ट उद्योग फलामको रड, पेय पदार्थ उद्योगले क्रमशः १९.८२ र २३.१६ प्रतिशत क्षमताको उपयोग गरेका छन् । गत वर्ष सीमा नाका बन्द तथा अवरोधका कारण उद्योग सञ्चालनको लागि आवश्यक इन्धन तथा कच्चा पदार्थको आपूर्ति नहुँदा उद्योगहरु पूर्ण क्षमता सञ्चालन हुन नपाएका हुन् । ऊर्जा समस्याको दीर्घकालीन समाधान, उद्योगहरुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि, व्यवसायी एवम् श्रमिकबीच सुमधुर श्रम सम्बन्ध तथा औद्योगिक पूर्वाधार विकास नहुँदा उद्योगहरु क्षमताभन्दा न्यून उत्पादन गर्न वाध्य भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्ता पक्षहरुमा अपेक्षित कार्य हुन नसक्दा उद्योग क्षेत्रले गति लिन नसकेको राष्ट्र बैंकको ठम्याई छ । तुलनात्मक लाभका वस्तुहरु भनि पहिचान गरिएका वस्तुहरुको समेत लागत प्रभावी उत्पादन गर्न नसकेको अध्ययनले देखाएको छ । अन्तराष्ट्रिय बजारमा यस्ता वस्तुहरुको निर्यात प्रवद्र्धन गरी अपेक्षित लाभ हासिल गर्ने कार्य चुनौतीको रुपमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले ४७ जिल्लामा गरेको आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७० ले कृषि क्षेत्रको समग्र अवस्थामा सामान्य गिरावट आएको तथ्याङ्क प्रस्तुत गरेको छ । कृषि तर्फ प्रमुख खाद्यान्न बाली धानको उत्पादन ८, गहुँको उत्पादन ६ प्रतिशतले ह्रास आएको छ । समीक्षा वर्षमा वनस्पती घ्यू तथा तेल, अन्य खाद्य पदार्थ, पेय पदार्थ, दुग्ध पदार्थ, सूर्तिजन्य वस्तु, कागज, प्रशोधित छाला, जुटका सामान, रंग, सावुन, सिमेन्ट, फलामको छड तथा पत्ति र घरेलु धातुका सामान आदिको उत्पादनमा ह्रास आएको छ । मकैको उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । तयारी कपडा, पश्मिना, औषधि र प्लाष्टिकजन्य वस्तुलगायतका उत्पादन बढेको छ । उद्योगको क्षमतामा ह्रास आएपनि उद्योगहरुले बैंक तथा वित्तीय संस्थाबाट लिने औद्योगिक कर्जामा भने १९.५ प्रीतशतले बृद्धि भएको छ । गएको आवसम्म ५ खर्ब २९ अर्ब २७ करोड रुपैयाा कृषि कर्जा पुगेकोे छ । गएको वर्ष धानको उत्पादन औसतमा प्रति हेक्टर ३ दशमलव ३ मेट्रिक टन, मकैको उत्पादन २.७ मेटन, गहुँको उत्पादन २.४ मेटन र आलुको उत्पादकत्व प्रति हेक्टर १३.२२ मेटन रहेको छ । क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी धान र आलु फलेको छ । विराटनगर र वीरगञ्जमा मकै र नेपालगञ्जमा गहुँ बढी फलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा दुधको उत्पादन ३.१ मासुको उत्पादन ४.७ र अण्डको उत्पादन १९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको प्रवाहित कृषि कर्जामा २७.५ प्रतिशतले वृद्धि भई ८४ अर्ब ९९ करोड पुगेको छ । समीक्षा अवधिमा घरजग्गाको रजिष्ट्रेशन बढेका कारण राजस्वमा उल्लेख्य वृद्धि भएको छ । गएको वर्ष काठमाडौंमा ४४.१, धनगढीमा १०.३, वीरगञ्जमा ८.१, पोखरामा ४.७, नेपालगञ्जमा २.२ प्रतिशतले घरजग्गाको जरिष्ट्रेशन बढेको छ । विराटनगरमा ८.८, जनकपुरमा १७.४र सिद्धार्थनगरमा शुन्य दशमलव ७ प्रतिशतले ह्रास आएको छ ।

तीन जनाबाट बच्चा बनाउन ब्रिटेनको स्वीकृति, दुई महिला र एक पुरुषको समिश्रणबाट बच्चा जन्माइने

काठमाडाैं, ३० मंसिर । ब्रिटेनको फर्टीलीटी रेगुलेटर अर्थात प्रजनन सम्बन्धी नियामक संस्थाले दुई महिला र एक पुरुषको समिश्रणबाट बन्ने बच्चा जन्माउन स्वीकृति दिएको छ। ऐतिहासिक र विवादास्पद रहेको यो निर्णय घातक आणुबंशिक रोग लाग्ने बच्चा नजन्मुन् भन्ने उद्देश्यले गरिएको हो। ब्रिटेनको न्युक्यासलका डाक्टरहरुले विकास गरेको उन्नत इन भीट्रो फर्टीलाइजेशन अर्थात कृत्रिम गर्भादान प्रविधिबाट अब त्यस्तो सुविधा दिन तयार भएको बताउँदै इच्छुक दाताहरुसँग डीम्बका लागि अपील गरिसकेका छन्। यस्तो पहिलो बच्चा छिटोमा सन २०१७को अन्त्यसम्ममा जन्मन सक्छ। प्रविधि कैयौं परिवारले समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण सञ्चो नहुने रोग लागेका थुप्रै बच्चाहरु गुमाइसकेका छन्। यस्ता रोगहरु आमाबाट बच्चामा पुग्ने हुनाले दाताको डीम्ब, आमाको डीम्ब र बाबुको शुक्रकीट मिलाएर प्रविधि अगाडि बढाइन्छ । बच्चामा दाताको डीएनए न्यून मात्रामा हुन्छ। प्रक्रिया कानुनी, नैतिक र बैज्ञानिक रुपमा तयार छ। ऐतिहासिक ह्युमन फर्टीलाइजेशन एण्ड इम्ब्रियोलोजी अथोरिटि (एचएफइए)की अध्यक्ष स्याली सेशायरले भनिन्, “यो ऐतिहासिक महत्वको निर्णय हो। यो ध्यानपूर्वक अगाडि बढ्नुपर्ने विषय हो र लामो बाटो हिँड्नुछ। हामीले आज गरेको निर्णयबाट मानिसहरु खुशी हुनेछन् भन्ने ठान्छु।” अब त्यस्तो प्रविधि अपनाउन चाहनेले एचएफइए मा अनुमतिपत्रका लागि निवेदन दिन सक्नेछन्। यसले एक वर्षमा २५ जोडीलाई सहयोग पुर्याउने लक्ष्य छ। तर केही बैज्ञानिकहरुले यो प्रविधिको नैतिकतामाथि प्रश्च उठाउँदै यसले आणुवंशिक डिजाइनर बच्चा जन्माउने ढोका खोल्नेछ भनेका छन्। मान्छेका हरेक जसो कोषमा हुने खाद्यान्नलाई उर्जामा बदल्ने अंश माटोकोन्ड्रियामध्ये समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण त्यस्तो रोग लाग्छ। हरेक ४३ सय जन्मने बच्चा मध्ये एकजना अन्धो, कमजोर मांशपेशी हुने, कान नसुन्ने, बेहोस हुने, सिकाइमा समस्या, मधुमेह, मुटु र कलेजो फेल भएका र कैयौंपटक बच्चा नबाँच्ने स्थिति जस्ता घातक लक्षणसहित जन्मिन्छन्। कसरी काम गर्छ ? यो मुख्यत दाताबाट स्वस्थ्य माइटोक्रोन्डिया लिने प्रविधि हो। तर माइटोक्रोन्डियाको आफ्नैपनि डीएनए हुने भएकाले जन्मने बच्चामा तीनजना मानिसको डीएनए हुनेछ। तर बच्चामा व्यक्तित्व र अरु कुराहरु भने बाबुआमाबाटै आउनेछ। यो प्रक्रियाबाट बच्चा जन्माउने ब्रिटेन पहिलो मुलुक भने हुनेछैन। जोर्डनका जोडी र न्यूयोर्कका डाक्टरहरुले यो प्रक्रिया मेक्सिकोमा अपनाएका थिए र त्यसबाट जन्मेको बालक स्वस्थ्य रहेको बताइएको छ। साभारः बीबीसी

हवाई भाडा ५४० देखि २४७५ रुपैयाँसम्म बढ्यो, पुस ४ गतेबाट लागू हुने

काठमाडौं ३०, मंसिर । आन्तरिक उडानका वायुसेवा कम्पनीले आगामी पुस ४ गते सोमबारबाट लागू हुने गरी हवाई भाडा बढाएका छन् । आन्तरिक वायुसेवाको भाडा ५४० रुपैयाँदेखि २४ सय ७५ रुपैयाँसम्मले बृद्धि भएको छ । वायुसेवा संचालक संघका अनुसार काठमाडौं विमानस्थललाई आधार मानेर तय गरिएको यस्तो भाडादर सबै वायुसेवा र विमानस्थलमा लागू हुने भएको छ । संघले काठमाडौं विमानस्थलाई आधार बनाएर एकतर्फ भाडादरको अधिकतम सीमा तय गरेको हो । यस्तो भाडादरलाई नर्मल अर्थात महंगो भाडादर भन्ने गरिएको संघको भनाइ छ । आन्तरिक वायुसेवाले हवाई भाडा र इन्धन शुल्क भनेर दुई प्रकारले यात्रुसँग लिने रकम हवाई भाडामा नै लिने गरेका छन् । इन्धनका मूल्य पाँच रुपैयाँसम्मले घटबढ हुँदा इन्धनको मूल्यकै अनुपातमा मूल्य समायोजन हुने गरेको छ । वायुसेवाले लिने हवाई भाडा भने विगत ६ वर्षदेखि नबढेकोले सरकारलेको अनुमतिले हवाई भाडा बृद्धि गरेको वायुसेवा संचालक संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलेश बर्माले जानकारी दिएका छन् उनका अनुसार २०६७ पुस २७ देखि वायुसेवा कम्पनीले हवाइ भाडा बढाएका थिएनन् । सरकारले हरेक २/२ वर्षमा बजारको महंगीको अनुपातमा हवाई भाडा बढाउन सहिने प्रावधान राखेको भएपनि यात्रुसँगको विश्वसनियताका लागि र वायुसेवा कम्पनीले सहुलियतमा उडान गराएका कारण भाडा बढेको थिएन् । हवाई इन्धनको मूल्य घटबढ हुँदा भने इन्धनकै शुल्क अनुसार भाडामै जोडेर शुल्क तलमाथि भने हुने गरेको वायुसेवा संचालक संघले दिएको छ । एक साता अगाडि मात्रै नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकोले हवाई भाडा पनि घटेको थियो । अहिले सरकारले नै हवाई भाडा बढाउन दिएको अनुमति अनुसार सबै आन्तरिक वायुसेवाले सबै गन्तव्यमा भाडा बढाएका हुन । संघले बढाएको भाडादरमा काठमाडौंबाट तय हुने सबैभन्दा महंगो भाडादरमा नयाँ भाडादर तय गरिएको छ । बर्माका अनुसार संघले तय गरेको भाडादर अधिकतमसम्म भएकोले वायुसेवा कम्पनीले त्यसो भन्दा कममा नै सेवा दिने गरेका छन् । संघले काठमाडौं विमानस्थलमा आउने र जाने गरी एकतर्फी रुपमा तोकिएको यस्तो भाडादरबाहेक काठमाडौंबाट लुक्ला, मेघौली र पोखराबाट जोमसोम जाने भाडादर भने टुरिष्ट भाडादर भनेको छ । टुरिष्ट भाडादर भने डलरकै मूल्य अनुसार बढाइएको र यसलाई आगामी अक्टोबर १ तारेखबाट लागू गर्ने जानकारी दिएको छ । कुन क्षेत्रमा कति पुग्यो विमानस्थल                             पुरानो भाडादर    बढेको भाडा            नयाँ भाडादर काठमाडौं—विराटनगर             ५५५५                      १४४५                 ७००० काठमाडौं—भैरहवा                    ४८३०                     ९७०                   ५८०० काठमाडौं—नेपालगन्ज             ७३७५                       १९२०              ९३०० काठमाडौं—भद्रपुर                    ६८३०                      १६७०                 ८५०० काठमाडौं—धनगढी                  ९९९०                      २०१०                १२००० काठमाडौं—पोखरा                   ८१०                        ६९०                     ४५०० काठमाडौं—तुम्लिङटार            ४५१५                       ९८५                    ५५०० काठमाडौं—माउन्टेन                ८३२५                    २४७५                 १०८०० काठमाडौं—जनकपुर              ३२००                        ६००                  ३८०० काठमाडौं—सिमरा                २३०५                        ५४०                   २८४५ काठमाडौं—भरतपुर              २७२०                        ५८०                    ३३०० विराटनगर–तुम्लिङटार        २६७०                     ७४०                       ३४१० काठमाडौं–लुक्ला                 ३४७०                  १२४५                        ४७१५ काठमाडौं–मेघौंली                २९९५                 १०००                          ३७९५ पोखरा–जोमसोम                 २२२५                ५२०                            २७५० स्रोतः वायुसेवा संचालक संघ ।

बैंक अफ काठमाण्डू लुम्बिनीले साढे २३ प्रतिशत बोनस सेयर दिने, चुक्ता पूँजी पाँच अर्ब ६३ करोड पुग्ने

काठमाडौं, ३० मंसिर। बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट  साढे २३ प्रतिशत बाेनस सेयर वितरणा गर्ने प्रस्ताव गरेको छ। बैंकको विहीबार बसेको सञ्चालक समितिको निर्णय बमोजिम बोनस सेयर वापत बैंकले एक अर्व पाँच करोड २६ लाख रुपैयाँ वितरण गर्नेछ।   बाेनस सेयर नेपाल राष्ट्र बैंकको सहमति र  बैंकको साधारण सभाको स्वीकृतिपछि वितरण हुनेछ। बाेनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी पाँच अर्ब ६३ करोड रुपैयाँ पुग्ने बैंकले जनाएकाे छ । गत आर्थिक वर्षको अन्तिमसम्म  बैंकको कुल निक्षेप  ६७ अर्व ८३  करोड छ भने कर्जा ६० अर्व ३१ करोड रुपैयाँ छ। हाल बैंकको ७४ शाखा, ६६ एटिएम, सात वटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएकोे छ।  बैंकले आगामी वर्षहरुमा दुर्गम, ग्रामीण क्षेत्र र नगरोन्मुख गाउँमा सेवा विस्तार गर्ने नीति लिएको विहिवार जारी प्रेस विज्ञप्तीमा छ ।

प्रधानमन्त्रीद्धारा चन्द्रागिरि केवलकारको उद्घाटन, पर्यटन क्षेत्रको लागि नयाँ र आकर्षक गन्तव्य निर्माण

काठमाडौं, ३० मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । गएको साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहीबार ताम्रपत्र अनावरण गरेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिले नेपाललाई धेरै उपहार दिएको भन्दै सोच र इच्छाशक्तिका साथ विज्ञान, प्रविधि र पूँजी प्रयोग गरी नेपालमा छिट्टै चामत्कारिक विकास हुने भन्दै ‘चन्द्रागिरि हिल्स’ त्यसैको उदाहरण भएको बताए । कार्यक्रममा बन तथा भू–संरक्षण मन्त्रीशंकर भण्डारीले विकास प्रति सकरात्मक चिन्तन हुनु पर्ने बताए । कार्यक्रमलाई सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र विज्ञान तथावातावरण मन्त्री जयदेव जोशीले सम्बोधन गरेका थिए । नेपाल उद्योग बाणिज्य महासंघकी कार्यबहाक अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका बरिष्ठ सकुमार मोरले पनि कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पर्यटन क्षेत्रमा नयाँ गन्तव्य निर्माण भएको विचार व्यक्त गरे । चन्द्रागिरि केवलकार निर्माता कम्पनी डोपल मेयरका प्रतिनिधि पिटर भोजलम्यानले चन्द्रागिरिको व्यावस्थापनले व्यवसायिक महत्व बुझेकै कारण समयमा काम सम्पन्न भएको बताए । कार्यक्रमका सभापति तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसादढकालले नेपालमा आउने विदेशी पर्यटकहरुको बसाई एक दिन लम्बाउन चन्द्रागिरि हिल्स सफल हुदै गएकोले निजी क्षेत्रबाट संचालित यस्ता परियोजनाहरुमा सरकारको पूर्ण सहयोग प्राप्त भएमा नेपालको पर्यटन क्षेत्रलाई नेपालको क्षमताअनुसार विस्तार गर्न त्यति कठिन नरहेको धारणा व्यक्त गरे । चन्द्रागिरि हिल्स संचालक हेमराज ढकालका अनुसार केबुलकार निर्माणमा विश्व विख्यात मानिने अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले चन्द्रागिरि केबलकार निर्माण गरेको हो । कूल २,४६० मिटरलम्बाई भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् । ५ देखि ३८ मिटरसम्मको उचाईंमा गाडिएका यी टावरहरु एक अर्कामा ३.३६ देखि ९२६.२७ मिटर दुरीको फरकमा छन् । यी लठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ । यात्रु बोक्ने ३८ र समान बोक्ने ३ गरी कूल ४१वटा यस्ता गोण्डला छन । एउटा केबुलकारले ८ जनासम्म यात्रु बोक्न सक्छ । प्रतिघण्टा एक हजार यात्रु क्षमता भएका केबुलकार चढेको ९देखि १४ मिनेटको अवधिमा माथिल्लो स्टेशनमा पुग्छन् । संचालक अम्बिकाप्रसाद पौडेलका अनुसार चन्द्रागिरि डाँडाको धार्मिक र ऐतिहासिक महत्व छ । उनका अनुसार दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भएको र त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत् खण्डमा उल्लेख गरिएको छ । समुद्री सतहबाट २ हजार ५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूरा भई अन्त्यमा शिवलोकमा वास हुने जनश्रुति रहेको उनले बताए । चन्द्रागिरि प्राचीनकालदेखिनै ऐतिहासिकरूपले महङ्खवपूर्ण स्थान हो । नेपालएकी करणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए । पृथ्वीनारायण शाहआफ्नो ससुरालीमकवानपुरबाट आफ्नो राज्यगोरखाफर्कँदा चन्द्रागिरि हुँदै फर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ । संचालक मिनबहादुर गुरुङले सफलताका लागि मेहनत आवश्यक पर्ने बताउदै ठूलो मेहनतले चन्द्रागिरि परियोजना यो अवस्थासम्म आइपुगेको बताए । परियोजन निर्माण गर्दा अहिलेसम्म करिव ४ अर्ब रुपैयाँ खर्च भएको र होटल, मनोरञ्जनस्थल लगायत पूर्वाधार निर्माणको काम अझै जारी रहेको उनले बताए ।

अब स्वेदेशी उद्योग ३० घण्टामा र वैदेशीक लागानी भएका उद्योग एक हप्तामा दर्ता हुने

काठमाडौं, ३० मंसिर । उद्योग विभागले ३० घण्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिने भएको छ। विहिवार उद्योगमन्त्री नवीन्द्रराज जोशीले विभागको निरिक्षण गर्दै सो कुरा वताएका हुन्। विहिवार मन्त्री जोशीले कुनै पनि कागजपत्र पुगेका उद्योगहरु बढिमा ३० घण्टाभित्र दर्ता गरिसक्न विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। कागजपत्र पुगेको अवस्थामा अधिकतम ३० घण्टाभित्र पनि उद्योग दर्ता नभए कार्वाहि गरिने मन्त्रीले बताए। कागज नपुगेर रहेछ भने के कारणले हो स्पस्ट खुलाएर सेवाग्राहिलाई दिनुपर्ने र सम्वान्धित अधिकारीलाई पनि जानकारी गराउनुपर्ने जोशीले बताए। त्यस्तै बैदेशीक लगानी भएका उद्योगहरु बढिमा एक हप्ताभित्र दर्ता गरिसक्न मन्त्रीले निर्देशन दिए। उद्योग विभाग चाँडै अटोमेसन प्रविधिमा जाने र ३० दिन वा एक हप्ताभन्दा पनि कम समयमा उद्योग दर्ता भइसक्ने मन्त्री जोशीले बताए। विभागले माघ एक गतेदेखि उद्योगका सवै कामहरु अनलाइनवाट नै गरिसक्नेगरी काम अगाडि बढिरहेको तथा त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाल राष्ट्र बैङ्कसँग अनलाइन पेमेन्ट गेटवेका लागि पनि छलफल भइरहेको मन्त्रीले जानकारी दिए।

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा, विश्वका ५० देशमा रोमिङ् डेटा प्याक चल्ने

काठमाडौंं, मंसिर ३० । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई नयाँ सेवा ल्याएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एमबिसम्मको शुल्कमा डेटाको मज्जालिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ । यी सेवाहरु यहि पुस १ गते शुक्रबारदेखि लागू हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १ जिबि डेटा खरिद गर्न सक्नेछन् । त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जालिन सक्छन् । यी सेवा अन्तर्गतका सबै शुल्क करसहित भएको एनसेलले जनाएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकभारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढी देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुने एनसेलले जनाएको छ । एनसेलकाप्रिपेड तथापोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलकाप्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ माएसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमागई वाआफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सातदिनको लागि मान्य हुने कम्पनीले जनाएको छ । रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलकाग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जालिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घण्टाको समयावधिपश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्क लाग्नेछ । ‘‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो ।यी सेवाहरुले रोमिङ्मा रहने हाम्राग्राहकलाई आफ्ना परिवार, प्रियजनतथाव्यवसायसँग सम्पर्कमा रहन योगदान पु¥याई थपमुल्यप्रदानगर्ने विश्वास छ,” एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । आफ्नो संचार आवश्यकताबमोजिमग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याकलिन सक्छन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकम ाकति डेटा बाँकी छ भनेर हेर्न सक्छन् । यो प्याकमा स्वतःनविकरण हुने व्यवस्था रहेको छैन ।