विकासन्युज

अब भक्तपुरवाट पनि सवारीको लाइसेन्स पाइने, पुष ३ गतेवाट काम सुरु हुने

काठमाडौं, २९ मंसिर। यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीबाट पनि सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यहाँबाट यहि पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्न लागिएको विभागले जनाएको छ ।   कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३ गतेबाट काम गुरु गर्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए। विभागले चाबहिल र कलङ्कीमा भने केही समयपछि मात्र कार्यालय सुरु गर्ने उनको भनाई छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकाका अरु तीन ठाउँमा पनि कार्यालय खोलेर सवारी चालक अनुमति पत्र वितरणको काम व्यवस्थित बनाउन निर्देशन दिएका थिए । लाइसेन्सको काम एकान्तकुनाबाट मात्रै हुने भएकाले नयाँ लाइसेन्स बनाउनका लागि सेवाग्राही अघिल्लो दिन देखि नै लाइन लाग्नुपर्ने अवस्था छ ।

अब नेपालमै मोवाइल उत्पादन हुने, लेमन ब्राण्डको मोवाइलको प्लान्ट चितवनमा राख्ने तयारी

काठमाडौं, २९ मंसिर। अब नेपालमै मोवाइस सेटको उत्पादन हुने भएको छ। भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसनले नेपाली व्यवसायीसँग सहकार्य गरेर मोबाइल सेट उत्पादन गर्ने भएको हो। फासट्रयाकले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिसँग चितवनमा प्लान्ट स्थापना गरेर मोवाइलउत्पादन गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका छन् । चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताए । काठमाडौँ वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको शर्माले बताए । सन् २००८ बाट भारतको उत्तरप्रदेश स्थित ग्रेटर नोयडाबाट कम्पनीले लेमन ब्राण्डको मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको चौगले बताए । नेपालीले नेपाली उत्पादन मन पराएको आफूले पाएको भन्दै उनले नेपालीकै रोजाइ अनुसार उद्योग स्थापना गर्न लागिएको बताए । लेमन मोबाइल नेपाली बजारमा अहिले मासिक ३० हजार वटा बिक्री वितरण भइरहेको भन्दै चौगले यहाँको कानुन अनुसार नेपाली लगानीकर्तालाई कम्पनीमा समावेश गर्ने बताए । प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमा पहिलो पटक फास्टट्रयाकसँग मिलेर मोबाइल सेट उत्पादन गर्न लागेको बताए। ‘लागत कति लाग्छ एकिन नभए पनि आवश्यक मात्रामा लगानी गर्न यो समूह तयार छ’ उनले भने । कम्पनीले पाँच वटा नयाँ मोबाइल सेट नेपाली बजारमा ल्याएको छ। लेमन कम्पनीको मोबाइलको मूल्य बजारमा आठ सयदेखि तीन हजार तीन सयसम्म पर्छ । नेपालमै यसको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने निर्देशक लामिछानेको भनाइ छ ।

लाङ्गटाङ्ग जलविद्युत आयोजनामा चार वाणिज्य बैंकले १ अर्ब ६० करोड लगानी गर्ने सहमति

काठमाडौं, २९ मंसिर । रसुवा जिल्लाको स्याफ्रुवेशी गाविसमा निमार्ण हुन लागेको १० मेगावाट क्षमताको लाङ्गटाङ्ग खोला जलबिद्युत आयोजनामा चार वटा वाणिज्य बैंकले १ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । सन् राइज बैंकको अगुवाइमा, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक नेपालले संयुक्त सहभागितामा सहवित्तियकरण कर्जा लगानी गर्ने गरी लाङ्गटाङ्ग खोला जलविद्युत आयोजनासँग सहमति गरेका छन् । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना उद्यमी कृष्ण आचार्य समूहले प्रवद्र्धन गरेको मल्टी इनर्जी प्रालिले गरेको हो । कुल लागत २ अर्व १७ करोड रुपैयाँ अनुमान गरिएको उक्त परियोजनामा बैकहरुले रु. १ अर्व ६० करोड रुपैयाँ कर्जा लगानी गर्ने छन् ।

नेपालको रेल वे सञ्जाल-चीन-यूरोप हुँदै भारतसम्म, बिरगञ्ज-रसुवागढी रेल वे भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्ग

काठमाडौं, २९ मंसिर । यतिबेला नेपालले आन्तरिक रेल वे नेटवर्कको विस्तारलाई महत्व दिएर तराईमा पूर्व–पश्चिम रेल मार्गको निर्माण गरिरहेको छ भने रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज जोड्ने रेल वेको सम्भाव्यता अध्ययन पनि अघि बढाइरहेको छ । झट्ट हेर्दा आन्तरिक रेल वे सञ्जाल विस्तार गर्न लागिएको जस्तो देखिए पनि यो नेटवर्कले नेपाललाई यूरोपसम्म पुर्याउँछ । नेपालले पूर्व काकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म निर्माण गर्ने ९४५ किलोमिटर लामो रेल मार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग तथा काठमाडौं हुँदै बिरगञ्ज जोडिने रेल मार्गको परिकल्पनाले सिंगो संसारसँग नेपालको रेल वे सञ्जाल जाेड्ने छ । काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल वेले नेपालाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ । यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । अर्कातिर नेपालले बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनको प्रारम्भिक सम्भाव्यता अध्ययनको तयारी गरिरहेको छ । यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ । यसरी दुई तिरबाट युरोपसम्म जोडिने रेल सञ्जालले नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रुपमा स्थापित गराउन सक्नेछ । नेपालमा औद्योगीकरण, पर्यटन प्रवद्र्धनका साथै कृषिमा आधुनिकीकरणको सम्भावनालाई पनि बढाउँछ । बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हर्ने गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय बताउँछन् । ‘बिरगञ्जबाट काठमाडौं हुँदै चीन भएर रसिया पुग्ने रेल लाइनले भारत र रसियालाई जोड्छ जसले नेपालमा लगानीको सम्भावनालाई पनि बढाउँछ’, उपाध्यायले भने । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने । ९ हजार २ सय ८९ किलोमिटर लामो ट्रान्स एसियन रेल वे लाइनले पनि नेपाललाई विकासको मार्गमा संसारसँगै कुदाउने उप महानिर्देशक उपाध्याय बताउँछन् । पानी जहाजबाट समान ढुवानी गर्दा दुई महिना लाग्ने दुरी रेल मार्गबाट एक हप्तामै पार गर्न सकिने उनले दावी गरे । उनका अनुसार नेपालले निर्माण सुरु गरेको पुर्व पश्चिम रेल वेको क्षमता प्रति घण्टा २०० किलोमिटरको हुनेछ । ‘हामीले सिंगल लेनको रेल वे निर्माण गरिरहेका छौं, त्यसमा प्रति घण्टा २०० किलोमिटर स्पिड कायम हुन्छ, जुन अन्तराष्ट्रिय स्तरकै हो’, उपाध्यायले भने । विभागले हाल बर्दिबास–बुटवल खण्डको २०० किलोमिटरमध्ये बर्दिबास–सिमराको १०८ किलोमिटर क्षेत्रमा २५ किलोमिटरको काम अघि बढाएको छ । सो रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर औसत लागत ४५ करोड लाग्ने प्रक्षेपण अनुसार काम भैरहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस र १९ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं, २९ मंसिर । सिद्धार्थ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले ३० प्रतिशत बोनस पश्चात १९ दशमलब २३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

सेलीव्रेटी मन्त्री गगन थापाको सम्पत्ति कत्ति ?

काठमाडौं, २९ मंसिर । सेलिव्रेटी मन्त्रीको उपमा पाएका स्वास्थमन्त्री गगनकुमार थापाको सम्पत्ति कत्ति होला, तपाईले अनुमान गर्न सक्नु हुन्छ ? सवैको केन्द्रविन्दुमा रहेका स्वास्थ मन्त्री गगन कुमार थापाको सम्पत्ति बुधबार सरकारले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा मन्त्री थापाको नाममा विभिन्न कम्पनीमा ६ लाख ८७ हजार कित्ता सेयर रहेको छ भने एभरेष्ट बैंकमा चार हजार मात्र नगद रुपैया रहेको छ । त्यस्तै उनको घरमा पाँच हजार रुपैयाँ मात्र नगद मौज्दात रहेको छ । बाँकी सम्पत्ति भने उनकी पत्नि डा.अन्जना केसी थापासँग रहको देखिन्छ । उनकी श्रीमतिसँग १६ तोला सुन, २०० तोला चादी र केही हिराका गहना रहेको छ । जुन उनकी श्रीमतिले पेवा, दाइजो र स्वआर्जनबाट कमाएकी हुन्, विवरणमा उल्लेख छ । त्यस्तै श्रीमतिको नाममा हिमालयन बैंक र नविल बैंकमा गरी २० लाख १७ हजार नगद रहेको छ । त्यस्तै श्रीमतिको नाममा विभिन्न कम्पनीको एक लाख १३ हजार ९ सय कित्ता सेयर छ जुन मन्त्री थापाले श्रीमतिले स्वआर्जन गरेको दावी गरेका छन् । उनकी छोरी गार्गी ए थापाको नाममा मेगा बैंकमा एक लाख ३१ हजार नगद र विभिन्न कम्पनीको सेयर ७ हजार एक सय कित्ता रहेको थापाले जनाएको छ । त्यस्तै छोरी गार्गीको नाममा थापाले चार लाख बराबरको नेपाल सरकारको बचत पत्रमा लगानी गरेका छन् । मन्त्री थापाले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा उनले अहिले भोगचलन गरेको सम्पत्ति वुवा, आमा, छोरी र पत्नीको नाममा रहेको बताएका छन् । उनको ऋण भने एक रुपैयाँ पनि देखिएको छैन । उनको पिता महेन्द्रकुमार थापाले बुद्धिबहादुर थापालाई पाँच वर्षमा फिर्ता गर्ने गरी १५ लाख रुपैयाँ सापटी लिएका छन् भने एक वर्षमा तिर्नेगरी घरखर्चका लागि पाँच लाख रुपैयाँ सापटी लिएका छन् ।

जनता बैंकको ३८औं शाखा झापा जिल्लाको दमकमा

काठमाडौं, २९ मंसिर । जनता बैंक नेपालले झापा जिल्लाको दमकमा ३८औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको दमक शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच बैंकको सञ्चालक केशवबहादुर रायमाझीले गरेका छन् । गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । हाल बैंकले ३८ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहक वर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपालका श्रम संगठनहरुसँग सहकार्य गर्न तयारः आईएलओ

काठमाडौं, २९ मंसिर । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले नेपालका ट्रेड युनियनहरुको छाता संस्था जेटीयुसीसीसँग अन्तर्राष्ट्रियस्तरमा सहकार्य गरेर अघि बढ्न सक्ने जनाएको छ । आगामि दिनमा नेपाली मजदुर संगठनहरु संयुक्त रुपमा अगाडि बढे अन्तर्राष्ट्रिय स्तरमै सहकार्य गरेर बढ्न सकिने जनाएको हो । नेपालका १० वटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद बैठकको उद्घाटन गर्दै आईएलओका महानिर्देशक गाई राईडरले आगामि दिनमा नेपाली मजदुर संगठनहरु संयुक्त रुपमा अगाडि बढे सहकार्य गरेर बढ्न सकिने धारण राखे । राईडरले आईएलओलाई साथीका रुपमा सहकार्य गर्न आग्रह गरे । उनले नेपाली मजदुर संगठनहरु मिलेर संयुक्त रुपमा अगाडि बढ्नु प्रशंसनीय कार्य भएको भन्दै अन्तर्राष्ट्रियस्तरमा अरुले नेपालबाट पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले सरकारले ल्याएको श्रमिकबिरोधी कानुनको बिरोध गर्दै विबिधतामा एकता भन्ने नारासहित श्रमिकका पक्षमा संधै एकताबद्ध भएर लागिपर्ने बताए । यस्तै जेटीयुसीसीका संस्थापक अध्यक्ष विष्णु रिमालले श्रमशक्ति विशेष शक्ति भनेर राज्यले बुझ्नुपर्ने भन्दै राज्यले आईएलओ अभिसन्धी नाघेर गरिएका कार्यहरुका विषयमा आफुहरुले आईएलओमा मुद्धा दायर गर्ने बताए । कार्यक्रममा जेटीयुसीसीका आगामि अध्यक्ष शालिकराम जम्कटेलले श्रमिकका सामाजिक सुरक्षाका विषयलाई विशेष महत्वमा राख्नुपर्ने भन्दै राजनीतिक विकाससँगै आर्थिक विकास र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अहिले मजदुरका अधिकारका पक्षमा आवाज बुलन्द पार्दै जानुपर्ने र यसमा सबैको साथ रहने उनको भनाई थियो । बैठकले आगामि एकवर्षे कार्यकालका लागि शालिकराम जम्कटेललाई जेटीयुसीसीको अध्यक्षमा चयन गरिएको छ । जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले लोगो हस्तान्तरण गर्दै जम्कटेललाई आगामि कार्यकालको अध्यक्ष घोषणा गरेका हुन् । आगामि जनावरी देखि नवनिर्वाचित अध्यक्ष जम्कटेलले कार्यभार सम्हाल्नेछन् ।