सर्वोच्चको आदेश पालना नभएको भन्दै धर्ना, आदेश बमोजिम मुआब्जाको माग
काठमाडौं, २५ पुस । सर्वोच्च अदालतले मुआब्जा नदिई सडक विस्तार नगर्नु भनी दिएको अन्तरिम आदेश पालना नभएको भन्दै आज धर्ना र र्याली प्रदर्शन गरिएको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा धर्ना दिई नयाँ बानेश्वरसम्म र्याली प्रदर्शन गरेको हो । सर्वोच्चको आदेशविरुद्ध स्थानीयवासीलाई सुकुम्बासी बनाउन लागिएकाले धर्ना र र्याली गर्नुपरेको समिति अध्यक्ष सुमन सायमीले बताए । समितिमा उपत्यकाका विभिन्न स्थानका गरी २४ सङ्घर्ष समिति आबद्ध छन् । समितिले यसअघि गत बुधबार उपत्यका बन्दको आयोजना गरेको थियो । शान्तिपूर्ण रुपमा माग राख्दा सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने पीडितको चेतावनी छ । रासस
सेयर बजारले अर्थतन्त्रमा पुर्याएको योगदान गणना गर्दै केन्द्रीय तथ्याङ्क विभाग, आर्थिक गणना गर्न बिजनेश डाइरेक्टरी बनाईदै
काठमाडौं, २५ पुस । केन्द्रीय तथ्याङ्क विभागले सेयर बजार र यसले अर्थतन्त्रमा परेको योगदानका बारेमा अध्ययन तथा गणना गर्ने भएको छ । राष्ट्र निर्माणमा सेयर बजार तथा ब्रोकरहरुको के कति योगदान रहेको छ भन्ने जानकारी पाउन विभागले गणना गर्न लागेको हो । अबको केही दिनमै उक्त गणना शुरु हुने विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए । ‘प्रश्नावली तयार भइसकेको छ, उनले भने ‘ अब विद्युतीय सिष्टम तयार हुने वित्तिकै हामी नेपाल स्टक एक्ञ्चेन्जमा प्रश्नावली पठाउँछौ ।’ यसमा सेयर ब्रोकर कम्पनीहरुले गर्ने कारोबार तथा उनीहरुले गर्ने खर्च तथा कमिशन, कर लगायतका विषयहरु समेत समेटिने छन्,’ उनले भने । हामीले सिष्टम बनाएर पठाउने वित्तिकै नेप्सेले केही थप्नु पर्ने विषय भएमा थप गरी सात दिन भित्र ब्रोकरहरुलाई आफूले गरेको कारोबार अपलोड गर्न लगाउने छ । विभागले आगामी आवमा गर्ने भनेको समष्टिगत आर्थिक गणनका आधारहरु तय गर्न सेयर बजार तथा ब्रोकरहरुको अध्ययन तथा गणना गर्न लागेको हो । यसअघि यस्तो गणना गरिएको थिएन । विभागले आर्थिक सर्वेक्षणको लागि विगत दुई वर्षदेखि यस्ता क्षेत्रको अध्ययन तथा अनुसन्धान एवम् पहिचान गर्दै गणना गरिरहेको छ । विभागले आगामी आर्थिक वर्षमा देशभित्रका सम्पूर्ण आर्थिक क्रियाकलापकाम क्षेत्रलाई समेटेर आर्थिक गणना गर्ने तयारी गरेको छ । विभागले सो गणना अर्थतन्त्रको आकार, स्वरूप तथा संरचनाको यथार्थ विवरण पत्ता लगाउन सो गणना गर्न लागेको हो । ‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना हुँदै आएका बाहेक अन्य क्षेत्रको समेत गणना गरिनेछ,’ उनले भने ‘गणनामा साना हुन् या ठूला सबै आर्थिक क्रियाकलापको पूर्ण गणना हुनेछ ।’ देशको अर्थतन्त्रको ‘बेञ्चमार्क’ गर्न समष्टिगत आर्थिक सर्वेक्षण गर्ने तयारी गरेको उनले बताए । आर्थिक गणनाको लागि प्रश्नावली तयार भइरसकेको उनले जानकारी दिए । विभिन्न चरणमा सरोकारवालहरुसँग छलफल भइसकेको छ भने कतिपयसँग छलफलको क्रममा रहेको छ । समष्टिगत तथ्याङ्क देश निर्माणको आधारशिला भएकाले यसबाट नेपालको वास्तविक अर्थतन्त्रबारे जानकारी विभागका उपमहानिर्देशक डा. रुद्र सुवाल बताउँछन् । यसबाट सबै क्षेत्रको कारोबारको अवस्थासमेत पत्ता लाग्ने उनले बताए । विभागले हालसम्म पालोपालो गर्दै गरेको टुक्रे सर्वेक्षणलाई आधार मानेर जीडीपीको गणना गर्दै आएको छ । यस्तो सर्वेक्षणले सबै क्षेत्रलाई समेट्न नसकेकाले समष्टिगत आर्थिक गणना बढी भरपर्दो हुने उनले बताए । जीडीपीमा समग्र आर्थिक क्षेत्रको योगदान के कति छ भनी वास्तविक तथ्याङ्क पत्ता लगाउन सो गणना गर्न लागेको सुवालले बताए । हाल जीडीपी गणनामा उत्पादनमूलक क्षेत्रमात्र समेटिएकाले यस्तो गणना आवश्यक भएको विभागको भनाइ छ । जीडीपी गणनाबारे उब्जिएका विवादहरूको समाधान गर्न विभागले यस्तो गणना गर्न लागेको सुवालले बताए । यस्तो गणनामा आर्थिक क्रियाकलाप हुने हरेक क्षेत्रलाई समेटिनेछ । विभागका अनुसार गणनाका लागि सर्वेयरहरू चियारनाङ्लो पसलदेखि ठूलो उत्पादन तथा व्यापारिक केन्द्र, वित्तीय संस्थान, कन्सल्टेन्सीलगायत क्षेत्रमा पुग्नेछन् । जीडीपीमा कृषि तथा वन भनी एउटा क्षेत्रलाई बुझाए पनि यसभित्र धेरै उपक्षेत्रहरूको पनि छुट्टाछुट्टै गणना गरिने बताइएको छ । आर्थिक गणनाबाट ती क्षेत्रको जीडीपीमा रहेको योगदानको स्पष्ट र वास्तविक तथ्याङ्क पत्ता लाग्ने उनले बताए । आर्थिक गणना गर्न बिजनेश डाइरेक्टरी आर्थिक सर्वेक्षणको तयारीका लागि विभागले पहिलो चरणमा ‘बिजनेश डाइरेक्टरी’ निकाल्ने भएको छ । उद्योग प्रतिष्ठानको नाम, ठेगाना, प्रतिष्ठान प्रमुख तथा कार्यालयको सम्पर्क नम्बर तथा प्रतिष्ठानले गर्ने कार्यलगायत सबै जानकारी त्यस्तो डाइरेक्टरीमा समेटिने र जसले गर्दा आर्थिक गणना गर्न सजिलो हुने सुवालले बताए । उनका अनुसार डाइरेक्टरीमा देशमा सञ्चालित सबै क्षेत्रका उद्योग व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क पनि समेटिनेछ ।
नेपथ्यको कन्सर्टसँगै ‘पल्सर डेयर भेन्चर’को दोस्रो संस्करण समापन
काठमाडौं, २५ पुस । बजाजले नेपथ्यको कन्सर्टसहित बजाज पल्सर डेयर भेन्चरको दोस्रो संस्करण समापन गरेको छ । समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः राम बिक्रम थापा, बिक्रम केसी र सुदिप श्रेष्ठलाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो । यस पटक पाँच जना राइडर फाइनलमा पुग्न सफल भएका थिए । पाँच जना राइडरहरुमा सपना गुरुङ, राम बिक्रम थापा, राम भण्डारी, बिक्रम केसी तथा निश्चल पोखरेल रहेका थिए । सहभागीहरु मध्ये बिजेता राम बिक्रम थापाले १० लाखका साथमा पल्सर एनएस, उपविजेता बिक्रम केसीले ५ लाखका साथमा पल्सर एनएस प्राप्त गरेका थिए भने तेस्रो बिजेता सुदिप श्रेष्ठले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । चर्चित ब्याण्ड नेपथ्यले विभिन्न उमेर समूहका लगभग १५ हजार दर्शहहरुको उपस्थितीमा स्टेज तताएको थियो । १० वटा एल्बमका साथमा यसका गायक अमृत गुरुङले एक्लै सन् १९९० को दशकमै चर्चित छेक्यो छेक्यो.. गीतदेखि जोमसोमै बजारमा लगायत, रेशम सहित सन् २०१५ को पछिल्लो एब्बम रामा रामा सम्मका गीत गाएका थिए । समापन समारोहको अवसर पारेर बजाजले पल्सरको ‘नाता विश्वासको’ नामक आफ्नो ब्राण्डको नीति झल्काउने नयाँ कर्पोरेट भिडियो पनि सार्वजनिक गरेको थियो । यसमा विभिन्न संस्कृति तथा भूभागका मानिसहरु सम्म पुगेर विभिन्न स्थानको संस्कृति झल्काउनुका साथै एड्रियन प्रधानले गाएको र जेम्स प्रधानले कम्पोस गरेको विशेष गीत ‘उकाली ओरालीहरुमा’ को भिडियो पनि समावेश गरिएको छ । पाँच मिनेटको भिडियोमा नेपालका विभिन्न भूभागहरुको झलक र बजाजले कसरी हरेकको जीवनलाई छोएको छ भन्ने कुरा समेत देखाइएको छ । गोल्छा अर्गनाइजेसन आबद्ध बहुराष्ट्रिय ब्राण्ड बजाजले आयोजना गरेको, पल्सर डेयर भेन्चर नेपालमा आयोजना भएको पहिलो रोमान्चक बाईक रियालिटी शो हो । डेयर भेन्चर निडर र साहसी १० जना बाइकरहरुकालागि आनन्द र अनुभव लिने अवसरको रुपमा आएको कम्पनीले जनाएको छ । पल्सर डेयर भेन्चरका सहभागीहरुले विभिन्न चरणका तालिमहरु लिँदै र आफ्नो साहसिकता प्रस्तुत गर्दै आएका हुन् । समापन समारोहमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘हामीले सबै जोशिला पल्सर राइडरहरुलाई सोलुखुम्बुको ताक्सिण्डुसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । नेपालको इतिहासमा नै पहिलो बाईक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ भने यो दोस्रोले पनि हजारौं दर्शकहरुको साथ र सहयोग प्राप्त गर्न सफल भयो ।’
कृषिको विकासका माध्यमबाट देशको आर्थिक समृद्धिः महामन्त्री कोइराला
पोखरा, २४ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कृषिको विकासका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने विषय काँग्रेसको प्राथमिकताको विषय भएको बताएका छन् । नेपाल किसान सङ्घ कास्कीको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले काँग्रेसले स्थापनाकालदेखि नै कृषिको विकासलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् । सरकारमा पार्टीको नेतृत्व रहेका अवस्थामा कृषिको लागि उल्लेख्य बजेट छुट्याउने गरेको उनको भनाइ थियो । बिपी कोइरालाले आफ्नो छोटो समयमा सरकारको नेतृत्व गर्दा कृषिको दीर्घकालीन विकासका विभिन्न योजना अघि सारेको बताउँदै उनले त्यसपछिका काँग्रेस नेतृत्वका सरकारले पनि कृषि क्षेत्रको विकासलाई सधैँ आफ्नो प्राथमिकतामा राख्दै आएको बताए । आधुनिकीकरणका माध्यमबाट व्यावसायिक कृषिमा जोड दिँदै युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नु अपरिहार्य भएकोमा कोइरालाले जोड दिएका छन् । संविधानको कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेअनुसारका तीन तहको निर्वाचन गराउनु काँग्रेसको दायित्व भएको तथा विद्यमान समस्याको समाधान गर्दै देशलाई दिगो शान्ति र विकासका मार्गमा लैजान पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए । नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देलले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कृषिको आधुनिकीकरण र विकासका लागि ल्याएको २० वर्षे कृषि रणनीति कार्यान्वयनमा जोड दिए । नेपाल किसान सङ्घका केन्द्रीय सदस्यद्वय गणेश तिमल्सिना र अमृत श्रेष्ठले नेपाली कृषकका पीडा व्यथालाई सम्बोधन गर्नु सरकार तथा नेपाली काँग्रेसको दायित्व भएको बताए। कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस रसुवाका पूर्वसभापति बालचन्द्र पौडेल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य वसन्ती घिमिरे, नेपाल किसान सङ्घ कास्कीका सभापति भेषराज पराजुली, नेपाल किसान सङ्घ कास्कीका पूर्वसभापति हीरामणि सुवेदी, सीता देवकोटा, ढकनाथ कँडेललगायतले कृषि क्षेत्रको सबलतामा नै काँग्रेस बलियो बन्न सक्ने कुरालाई पार्टीले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिएका थिए । । रासस
अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौंमा, २० देशको सहभागिता
काठमाडौं, २५ पुस । ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, कृषि विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्वविद्यालयलगायतको आयोजनामा यही पुस २६ गतेदेखि २८ गतेसम्म हुन लागेको उक्त सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तानलगायत २० देशको सहभागिता हुनेछ । यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम आयोजक समितिद्वारा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाह प्रजातिअन्तर्गतका विभिन्न वनमारा तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल गरिने जानकारी दिइएको छ । समितिका सचिव प्रा डा मोहन सिवाकोटीले सम्मेलनमा अन्तर्राष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३०० कार्यपत्र प्रस्तुत गरिने जानकारी दिएका छन् । कार्यक्रममा करिब २०० नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । रासस
आशा लघुवित्तको २ दिने अभिमुखिकरण तथा कार्यशाला गोष्ठी सम्पन्न
काठमाडौं, २५ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुलाई २ दिने अभिमुखिकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यशाला गोष्ठीमा उपस्थित शाखा प्रबन्धकहरुलाई शाखा व्यवस्थापन, कर्जा ब्यवस्थापन तथा स्वःक्षमता अभिबृद्धि सम्बन्धि अभिमुखिकरण संस्थाका विभागिय प्रमुख जीवन खनालले दिएका थिए । त्यस्तै, कार्य संचालन जोखिम ब्यवस्थापनका बारेमा नि. कार्यकारी प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा लघुवित्त विशेषज्ञ, आई. टि.,मनि ट्रान्सफर र इन्सुरेन्सका प्रतिनिधिहरुले प्रशिक्षण दिएका थिए । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमबाट घरदैलोमा लघुवित्त सेवा पुर्याउने जनाएको छ । सो कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डेले शाखा प्रबन्धकहरुलाई संस्थागत सुशासनको वारेमा, कार्य गर्न प्रेरित साथै कार्यक्रमको समापन गर्नु भयो । संस्थाले देश भरि छिटै ७ वटा शाखाहरु विस्तार गर्ने योजना रहेको जानकारी संस्थाका विभागिय प्रमुख खनालले जानकारी दिएका छन् ।
उल्टियो सेयर बजार ट्रेन, मर्जपछि खुलेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य घट्यो, क्रेता खोई ?
काठमाडौं, २५ पुस । गणितमा २ जोड २ बराबर ४ हुन्छ । तर मर्जमा २ प्लस २ बराबर ५ हुन्छ भनिन्छ । त्यो भनेको मर्जपछि कम्पनीको पुँजी र व्यापार जोड्ने मात्र होइन, मर्जले कम्पनीमा सिनर्जी इफेक्ट दिन्छ, नयाँ उर्जा दिन्छ । विगतमा यस्तो विचारलाई सेयर बजारले पनि समर्थन गरेको देखिन्थ्यो । मर्जपछि खुलेको बैंकको सेयर कारोबारमा शुरुका दिनमा दैनिक १० प्रतिशत वृद्धि देखिन्थ्यो । तर यतिबेला यस्तो दिन गए । समग्र सेयर बजारमा मन्दीसँगै मर्जपछि खुलेको सेयर किन्ने मान्छे नै नआएको पनि देखियो । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स मर्ज भई बनेको महालक्ष्मी विकास बैंकको सेयर सोमबार खुल्यो । कारोबार खुलेको डेढ घण्टामा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घट्यो । मर्ज प्रक्रिया शुरु हुनुपूर्व करिव १० महिनाअघि मालिका विकास बैंकको सेयर मूल्य ३५० रुपैयाँ भन्दा माथि थियो । महालक्ष्मी फाइनान्सको प्रतिकित्ता ३१५ मा र सिद्धार्थ फाइनान्सको सेयर प्रतिकित्ता २३० रुपैयाँमा कारोबार भएको थियो ।
सेती फाइनान्सले ९ प्रतिशत बोनस सेयर दिने, ५९४ को सेयर २२१ मा झर्यो
काठमाडौं, २५ पुस । सेती फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । पुस २२ गते कम्पनीको सञ्चालक समितिले ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको निर्णयमा नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको समर्थनपछि सेयरधनीले सो लाभांश पाउनेछन् । हाल यस फाइनान्सको सेयर पुँजी १५ करोड ८६ लाख रुपैयाँ छ । कम्पनीको सेयर आईतबार प्रतिकित्ता २२१ रुपैयाँमा कारोबार भएको छ । चार महिनाअघि यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको थियो ।