विकासन्युज

एनएमबि बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पूँजी ६ अर्ब रुपैयाँ नाघ्ने

काठमाडौं, २४ पुस । एनएमबि बैंक लिमिटेडको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१ औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकले ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल बङ्गलादेश बैंकको ४० औं शाखा चितवनको खैरहनीमा

काठमाडौं, २४ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ४० औँ शाखा चितवन जिल्लाको खैरहनीमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तारको क्रममा सो स्थानमा शाखा सञ्चालन गरेको हो । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा तथा खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठको सभापतित्वमा आइतबार संयुक्त रुपमा गरिएको थियो । सोहि अवसरका बैंकको एटिएमको उद्घाटन मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा संयुक्त रुपमा गरिएको थियो । साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका छन् । खैरहनी शाखा सहित बैंकले ४० शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैकिङ्ग सेवा तथा ३८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । बैंकको आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९ अर्ब ६० करोड रुपैयाँ र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

सगरमाथा इन्स्योरेन्सको ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २४ पुस । आइतबार मात्र सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्सको ८ लाख ४६ हजार ७ सय ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर ११४० रुपैयाँमा किनबेच भएको छ ।

बाहिरी चक्रपथमा २२ सालको नापी लफडा, तयारी अन्तिम चरणमा

काठमाडौं, २४ पुस । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने भनिएको चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरमा नापीको समस्या देखिएको छ । बि.स. २०२२ सालको नापी अनुसार स्थानियले जमिन भोगचलन गर्दै आएको र पछिल्लो नापी प्रणाली अनुसार नक्सा मिलान नभएपछि आयोजनाको काम अघि बढ्न नसकेको हो । ‘२२ सालको नापीले बनाएको नक्सालाई अहिलेको प्रबिधीले म्याच गरेन, कसैको जमिन कहाँ पुर्यो भने कसैको जमिनै घटेको पनि देखियो, त्यसको मिलान गर्ने काम भैरहेको छ’, बाहिरी चक्रपथ सडक आयोजनाका अधिकृत ध्रुबप्रसाद सापकोटाले भने । पुरानो नापीका कारण किर्तिपुर पाँगा, बालकुमारी, मच्छेगाउँ, बलम्बु ४ ख, मातातिर्थ ४ ग, थानकोट महादेवस्थान २ ग र तीनथाना १ ख को जमिन एकिन गर्न मुस्किल भएको हो । ‘जहाँ जहाँ नक्सा एकिन गर्न मुस्किल भएको हो, त्यहाँ काम भैरहेको छ, त्यो सुल्झिने वित्तिकै सूचना निकालेर जमिन रोक्का गर्छाै’, आयोजना प्रमुख दिकप श्रेष्ठले विकासन्युजसँग भने । निर्माणाधिन बाहिरी चक्रपथ सडकको चोभार सतुंगल खण्ड कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल क्षेत्रको निर्माण आरम्भ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आयोजनाले सो खण्डको डिपिआर स्विकृतीका लागि मन्त्रालयमा पठाईसकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ ।आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । ‘एक करोड बजेट बिनियोजन भएको छ, त्यसले काम सुरु गछौं, अर्थमन्त्रालयले २५ करोडसम्म दिन सक्छौं भनेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने । उता, सडक विभागले पनि सोही आयोजनाका लागि ४ करोड बजेट पाएको छ । विभागका उप महानिर्देशक दयाकान्त झाले जग्गा अधिग्रहणको काम सुरु हुने वित्तिकै आफुहरुले सडक निर्माण थाल्ने बताए । बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भुभागका रुपमा यो क्षेत्रबाट काम थाल्न लागिएको हो’, आयोजनाका शाखा अधिकृत सापकोटाले विकासन्युजसँग भने । कस्तो हुनेछ सडक ? बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०÷२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् ।

एभरेष्ट बैंकको नयाँ एटिएम सेवा सोह्रखुट्टेमा, बैंकको कर्पोरेट धुनको विमोचन

काठमाडौं, २४ पुस । एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा उद्घाटन गरेको छ । सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले सो स्थानमा उक्त सेवाको उद्घाटन गरेको हो । उक्त सेवाको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले गरेका हुन् । उक्त कार्यक्रममा कर्नल मनराज सिंह मान रक्षा सहचरी, भारतीय दुतावास, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सोहि दिन, बैंकको संचालकज्यूहरुको बैठकमा बैंकको कर्पाेरेट धुनको पनि विमोचन गरियो जसलाई बैंकले आफ्नो श्रव्य–दृष्य सामाग्रीहरुमा प्रयोग गर्ने बताएको छ । बैंकले हाल ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिदै आइरहेको छ ।

६ अंकले नेप्से घट्दा ४१ करोडको कारोबार, होटल बाहेक बाँकी समूहको परिसूचक राताम्मे

काठमाडौं, २४ पुस । आइतबार बजारमा उतार चढाव देखिएको छ । नेप्से परिसूचक ६ दशमलब ६९ अंकले घटेर १४४७ दशमलब ४५ अंकमा झरेको छ । बजारमा ४१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको १७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा होटल समूहको परिसूचक बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूहको परिसूचक ३३ दशमलब २२ अंकले बढेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११ दशमलब १७ अंकले घटेको छ । आइतबार सबैभन्दा बढी बैंक अफ काठमाण्डू लुम्बिनीको ९ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ रहेको छ ।

यामाहाको नयाँ शोरुम दमौलीमा, ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा

दमौली, २४ पुस । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर मोडर्न अटो वक्र्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले दमौलीमा यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि उद्योग वाणीज्य संघ तनहुँका कृष्णराज पण्डित र हाँस्य कलाकार सन्दिप क्षेत्रीले गरेका छन् । उद्घाटनअघि बजारमा यामाहा मोटरसाइकलहरुको र्याली आयोजना गरिनुका साथै सन्दिप क्षेत्रीले स्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए । सो अवसरमा मोटरसाइकल स्टन्ट पनि देखाइएको थियो । कम्पनीका अनुसार दमौलीको केन्द्रमा अवस्थित मोडर्न अटो वक्र्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । ‘विश्वमै परिचित ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ मोडर्न अटो वक्र्सका प्रबन्ध निर्देशक वसन्त गिरीले भने ‘यहाँ यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन हुनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’ नयाँ शोरुममा यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनेछ । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित रहेको कम्पनीले जनाएको छ । नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीले जानकारी दिएको छ ।

बुम रेमिट्यान्सको सातौँ बार्षिक साधारणसभा सम्पन्न, थप नौवटा देशबाट कारोवार शुरु गर्ने

काठमाडौं, २४ पुस । बुम रेमिट्यान्स प्रा लि को सातौँ बार्षिक साधारण सभा सल्टीमोडको ग्रान्ड होटलमा सम्पन्न भयो । उक्त साधारण सभामा प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सँस्थाले नेपाल र बिदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमानै राम्रो पहिचान बनाउन सफल भएको कुराको जानकारी गराएका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । बुम रेमिटले विदेशमा पनि आफ्नो संञ्जाललाई तीव रूपले विस्तार गर्दै जाने रणनिति राखेको छ । बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । कार्यक्रममा बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी पन्तले दिएका छन् । पन्तले “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताएका छन् ।