फरवार्ड कम्युनिटीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त
काठमाडौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालमा रहेको नबिल इन्भेष्टमेन्टलाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।
एचटिसीका बहुप्रतिक्षित स्मार्टफोनका तीन मोडलहरु नेपाली बजारमा
काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी यू प्ले, एचटिसी वान एक्स ९ तथा एचटिसी डिजायर ८२५ बजारमा सार्वजनिक गरेको छ । एचटिसी यू प्लेको मूल्य रु ४९,९९९, एचटिसी वान एक्स ९ को मूल्य रु २८,६०० तथा एचटिसी डिजाइर ८२५ को मूल्य रु. १८,९०० तोकिएको कम्पनीले जनाएको छ । एचटिसी यू प्ले ब्लू रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ गोल्ड र ग्रे रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी डिजाइर ८२५ ग्रे र ह्वाइट रंगको अप्सनमा उपलब्ध छ । एचटिसी यू प्ले एचटिसीको यू सिरिज सन् २०१७मा शुरु भएको हो, जसमा नयाँ डिजाइर र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीकाअनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ । यसमा ५.२ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ भने गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । यसमा २.० गीगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरेको छ । फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज छ जसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ । फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ जसले कम प्रकाशमा पनि चहकिलो फाटो खिच्न सक्दछ । यसको दुबै क्यामराले एचडी क्वालिटिको भिडियो रेकर्ड गर्न सकिन्छ । एचटिसी यू प्ले स्मार्टफोना २५०० एमएएचको ब्याट्री प्याक छ, जसले ८ घण्टासम्मको रेकर्ड गर्न सकिन्छ भने ४४ मिनेटसम्म निरन्तर एचडी भिडियोहरु हेर्न सकिन्छ । सामान्य प्रयोगका लागि भने दिनभर ब्याट्री ब्याकअप दिन्छ । फोनमा एचटिसी यू सोनिक, ड्यूल नानो सिम स्लट, ब्लूटूथ ४.२, ड्यूल ब्याण्ड वाईफाई, एनएफसी, ओटिजी, जीपीएस, ग्लोनासलगायतका सुविधा छन्। फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाईरोस्कोप, म्याग्नेटिक तथा फिंगरप्रिन्टलगायतका सेन्सर रहेको छ । एचटिसी वान एक्स ९ एचटिसी वान एक्स ९ कम्पनीको डिजाईर श्रेणीको उत्कृष्ट स्मार्टफोन हो । वान एक्स ९ मा पुरा मेटल फ्रेम प्रयोग गरिएको छ जसले फोनलाई निकै आकर्षक र प्रिमियम ह्याण्डसेट बनाएको छ । यसको अग्रभागमा ग्लास राखिएको छ जो केहि घुमाउदार र आकर्षक देखिन्छ । यसको डिस्प्ले भन्दा मुनी ब्याक, होम र रिसेन्ट बटनराखिएको छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्यूल स्पीकर ग्रिले प्रयोग गरिएको छ । एचटिसी वान एक्स ९ मा ५.५ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ, जसले घाम लागेको बेलामा पनि सहजरुपमा फोन हेर्न र चलाउन सकिन्छ । यो फोनमा भएको ड्यूल एचटिसी बूम साउण्ड स्पीकरले गर्दा फोनमा भिडियो र गेम खेल्न निकै आनन्द हुन्छ । एचटिसी वान एक्स ९ मा मिडिया टेकको अक्टाकोर हेलियो एक्स १० प्रोसेसर छ भने ३ जीबीको र्याम रहेको छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ। फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगपिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । वान एक्स ९ मा ब्लूटूथ ४.२, वाईफाई ,जीपीएस, ग्लोनास, मिराकास्ट तथा फोरजी एलटिईको सुविधा छ । फोनमा ३,००० एमएएचको ब्याट्री छ भने क्विक चार्जीङ सपोर्ट गर्दछ । एचटिसी डिजायर ८२५ यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रीन डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ७२०ह्१२८० पिक्सेल छ । फोनमा १.६ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर छ भने २ जीबीको र्याम राखिएको छ। फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ। क्यामराको बारेमा, एचटिसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ । एन्ड्रोयड ६.० भर्सनमा संचालन हुने फोनमा २७०० एमएएचको रिमुभेवल ब्याट्री छ । एचटिसी डिजायर ८२५ मा ड्यूल माइक्रो सिम सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, जीपीएस, ब्लूटूथ, यूएसबी ओटिजी, एफएम, थ्रीजी तथा फोरजी राखिएको छ । यसमा प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, एम्बिएन्ट लाइस सेन्सर तथा जाइरोस्कोप राखिएको छ ।
बैशाख २८ गतेदेखि मतदाता परिचय पत्र वितरण शुरु
काठमाडौं । निर्वाचन आयोगले बैशाख २८ गतेदेखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । आयोगले बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा २८, २९ र ३० गते उक्त परिचय पत्र बाड्न लागेको बताएको छ । सम्बन्धित मतदान केन्द्रमा गएर मतदाता नामावलीमा नाम भएका मतदाताले मात्र मतदाता परिचय पत्र प्राप्त गर्न सक्नेछन् । साथै, स्थानीय निर्वाचनमा भोट हाल्न नयाँ मतदाता परिचय पत्र अनिवार्य चाहिने र पुरानो मतदाता परिचय पत्र मान्य नहुने आयोगले बताएको छ ।
एनएलजी इन्स्योरेन्सको नाफा १२ करोड
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । एनएलजीले गत आवको नौ महिनाको भन्दा एक करोड ९१ लाखले बढि हो । कम्पनीले गत आवको तेश्रो त्रैमासिक अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो । एनएलजीको यो नाफा बिमांकिय मुल्यांकन अघिकै हो । कम्पनीले नौ महिनामा एक अर्ब १ करोड बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको बिमालेखको संख्या १ लाख ४७ लाख पुगेको छ । एनएलजीको प्रति सेयर आम्दानी ३३ रुपैंयाँ ७७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ २३० रुपैंयाँ २८ पैसा पुगेको छ ।
नेपालको आर्थिक तथा सामाजिक विकास हुन नसक्नुमा आर्थिक तथा कुटनीतिक पक्ष कमजोरी
काठमाडौं । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले देशको आर्थिक–सामाजिक विकास हुन नसक्नुमा देशको आर्थिक तथा कूटनीति क्षेत्र बलियो र स्पष्ट नहुनु रहेको उल्लेख गरेको छ । आयोगले आर्थिक कूटनीति अवस्था बलियो बनाउन सरकारले अन्तर मन्त्रालय तथा निकायबीच समन्वय र स्पष्ट नीतिगत व्यवस्था हुनुपर्ने बताएको छ । सरकारी निजी तथा सार्वजिनक तथा विकास साझेदारसँग समन्वय भएमा विकास गर्न सहज हुने आयोगको सुझाव छ । आयोगले देशको आर्थिक तथा सामाजिक विकास हुन नसक्नुको प्रमुख कारणमा भौतिक पूर्वाधार निर्माणमा देखिएको ढिला सुस्ती, व्यवस्थित सहरी विकास तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम अभाव तथा स्रोत परिचालनमा देखिएका समस्यालाई औल्याएको छ । अध्ययनले पहिल्याइएका अन्य कारणहरूमा कृषिप्रधान देशमा रासायनिक मलको कारखाना नहुनु र दोस्रो अन्तरराष्ट्रिय गौतम बुद्ध विमानस्थल निर्माण कार्यमा अन्योल कायम रहनु रहेका छन् । आयोगको अध्ययनमा युरिया मलको नियमित र भरपर्दो आपूर्तिका लागि स्वदेशभित्र उत्पादन कारखाना हुनुपर्ने बताइएको छ । रासायनिक मलको सयममा आपूर्ति नहुँदा त्यसको प्रत्यक्ष असर उत्पादकत्वमा परेको भन्दै वर्र्षेिन दोहोरिने युरिया मलको समस्या समाधान गर्न स्वदेशमै रासायनिक मलको कारखाना स्थापना गर्न सरकारले जति सक्दो छिटो पहल गर्नुपर्ने औंल्याइएको छ । विद्य्त् आपूर्तिका हिसावले हाललाई सो कारखाना स्थापना गर्न सम्भावना नदेखिए पनि प्राकृतिक ग्यास प्रयोग हुनेगरी वार्षिक ७ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्ने कारखाना स्थापनाका गर्न आगामी बजेटमा अनुमानित बजेट विनियोजन गर्न आयोगको सरकारलाई सुझाव छ । त्यसैगरी सरकारले निजगढमा बनाउने भनेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्योलमा परेको भन्दै विकासको क्रमलाई निरन्तरता दिन अलग किसिमको मोडालिटी तयार गरी काम गर्नुपर्नेमा जोड दिएको छ । फाष्ट ट्याक निर्माण कार्य छिटो सुरु गनुपर्नेलगायतका सुझाव आयोगको छ । काठमाडौं र अन्य सहरलाई व्यवस्थित सहरका रूपमा विकास निर्माण गर्न नसक्नुलगायत कारण अध्ययनले देखाएको छ । थप कारणहरूमा भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्नु पनि देखिएका छन् । विभिन्न सेवा प्रदायक निकायबाट घर–घरमा सेवा पु¥याउनका लागि जडान गरिएका तारहरूले शहरको सौन्दर्य विगारेको भन्दै आयोगले त्यस किसिमको सेवालाई सडकमुनिबाट व्यवस्थित गर्न पनि सुझाएको छ । हाल यस्ता सेवा प्रदायबाट काठमाडौं उपत्यका र अन्यत्रको व्यवस्थित सहरीकरणका लागि आवश्यक पर्ने दूरसञ्चार, विद्युत् आपूर्ति र अन्य सेवा दिन सडक माथिबाट प्रयोग हुँदै आएको छ । पटकपटक विभिन्न बहानामा सडक खन्ने कार्यबाट प्रदूषण बढ्नुका साथै आवागमनमा समेत समस्या सृजना भएको भन्दैै सडक व्यवस्थापनमा उल्लेख्य रूपमा काम गर्न बाँकी रहेको आयोगले ठहर गरेको छ । त्यसरीनै रोजगारीमूलक शिक्षामा समेत सरकारले उल्लेख्य रूपमा काम गर्नु पर्ने आयोगले औल्याएको छ । भूकम्पप्रभावित विभिन्न जिल्लामा पुनर्निर्माणको क्रममा रहेका स्वास्थ्य संस्था तथा विद्यालय भवन निर्माणका लागि जमिन नभएकाले पुनर्निर्माणको काम प्रभावित भएको भन्दै योजना आयोगले सरकारले उल्लिखित समस्या व्यवस्थापनमा समेत ध्यान दिन सुझाव दिएको छ । उत्पादन सम्भावना भएर पनि उल्लेख्य आयात भएका वस्तुको देशभित्रै उत्पादन गर्ने वातावरण तयार गर्न सरकार सचेत रहनुपर्ने आयोगको भनाइ छ । अध्ययनले खानेपानी, सिँचाइ, वन, कृषिजस्ता क्षेत्रमा विद्युत् शुल्क मिनाहा गर्ने वा अनुदान दिने विषयमा सरकारले नीतिगत व्यवस्था गर्न सु्ल्झाएको छ ।
नेपाल बैंकको नाफा ९ महिनामा २ अर्ब ५१ करोड
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा दुई अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा बैंकको नाफा एक अर्ब ६४ करोड रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी ७ अर्ब ४५ करोड छ । संचिज कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ । ८३ अर्ब ९५ करोड निक्षेप संकलन गरेको बैंकले ७४ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको लगानी ९ अर्ब ७२ करोड रुपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी दुई अर्ब ९० करोडबाट बढाएर चार अर्ब सात करोड रुपैयाँ पुर्याएको छ । आम्दानी ब्यापक रुपमा बृद्धि गरे पनि कर्मचारी खर्च पनि उत्तिकै बढेको छ । बैकले कर्मचारीका लागि गत वर्ष एक अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा यसपाली एक अर्ब ६८ करोड रुपैयाँ नाघेको छ । असाधारण आम्दानी १२ करोड रुपैयाँ गरेको बैंकले डुबेको ऋणमध्येबाट ३० करोड ४७ लाख रुपैयाँ राइटब्याक गरेको छ । बैंकको खराव कर्जा ३.६७ प्रतिशतबाट घटेर २.८५ प्रतिशतमा आएको छ । पूँजी कोष अनुपात ९.५५ प्रतिशतबाट बढेर १३.५२ प्रतिशत पुगेको छ । यो वर्षको नाफाबाट बैंकका सेयरधनीले बोनस सेयर पाउने भएका छन् । बैंकको प्रति सेयर आम्दानी ४५ रुपैयाँ छ ।
जनता बैंककाे ६० प्रतिशत हकप्रद सेयर निष्काशन सम्बन्धि निर्णय रद्द, साधारणसभाले गरेका निर्णयको विश्वसनियता गुम्दै
काठमाडौं । जनता बैंक नेपालले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने पुरानो निर्णय रद्द गरेको छ बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गते सम्पन्न ७ औं वार्षिक साधारणसभामा भएको हकप्रद सेयर निष्काशन सम्बन्धि निर्णय फिर्ता लिने र यसलाई अनुमोदन गर्न विशेष साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो । बैंकले आगामी जेठ १३ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभामा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, प्राप्तिको क्रममा दुई बैंकबीचको स्वाप रेसियो १ बराबर १ कामय गर्ने र हकप्रद सेयर निष्काशन प्रक्रिया रद्द गर्ने प्रस्ताव पेश गरिने भएको छ । सिद्धार्थ डेपभलमेन्ट बैंकलाई प्राप्ति गरेपछि २०७४ असार मसान्तभित्र नेपाल राष्ट्र बैंकको निर्देशन बामोजिम चुक्ता पुँजी पुग्ने भएकोले सातौं वार्षिक साधारणसभाबाट पारित हकप्रद सेयर निष्काशन सम्बन्धि निर्णय अगाडि नबढाउने निर्णय भएको बैंकले जनाएको छ । जनता बैंकले मात्र होइन, अरु पब्लिक कम्पनीहरुले पनि एउटा साधारणसभाबाट भएको निर्णय अर्को साधारणसभाले खारेज गर्ने अभ्यास गरिरहेका छन् । यसले पब्लिक कम्पनीका साधारणसभाले गरेका निर्णयहरुको विश्वसनियतामा गम्भिर प्रश्न उब्जिएका छन् । तर पुँजी वृद्धि गर्ने र बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नाममा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले पनि गम्भिर प्रकृतिको विकृतिमा मलजल गर्दै आएको जानकारहरु बताउँछन् । सम्बन्धीत अन्य समाचारहरु ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्दै जनता बैंक जनता बैंकले १२ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने, यस्तो आयो पूँजी वृद्धिको नयाँ योजना
निर्वाचनमा चन्दाको दबाब झेल्दै व्यवसायी, व्यवसायी उम्मेदवार भन्छन्-साथीहरुले स्वेच्छिक सहयोग गरे
काठमाडौं । मुलुकमा झन्डै दुई दशकपछि स्थानीय निर्वाचन हुँदैछ । संघीय संरचनाअनुसार पहिलोपटक स्थानीय तहको निर्वाचन हुँदैछ भने संविधान कार्यान्वयनका लागि यसै वर्ष प्रादेशिक र संसदीय निर्वाचनसमेत हुँदैछ । यसले मुलुकको राजनीतिक वृत्तमा उत्साहको सञ्चार गराए पनि आर्थिक क्षेत्रमा खुसीसँगै त्राससमेत उत्पन्न भएको छ । निर्वाचनले आर्थिक गतिविधि बढाउने भएकाले स्वभाविक रुपमा खुसी देखिएका व्यवसायी एकै वर्ष हुने तीन निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई दिनुपर्ने चन्दाका कारण सशंकित र त्रसित बनेका छन् । व्यवसायीहरूका अनुसार स्थानीय तहको निर्वाचनमा साना व्यवसायी बढी चन्दाको मारमा छन् भने प्रादेशिक निर्वाचनमा काठमाडौंबाहिरका ठूला सहरका व्यवसायीले चन्दाको दबाब सामना गर्नुपर्ने उनीहरूको आकलन छ । तर, संसदीय निर्वाचनमा भने ठूला व्यवसायीले ठूलै परिमाणमा चन्दा दिनुपर्ने भएकाले यसको प्रभाव थेग्न व्यवसायीलाई निकै गाह्रो भइरहेको छ । विगतमा चन्दालाई खर्चको रुपमा लेखेर करछुट पाउनुपर्ने माग गर्ने व्यवसायीहरू यस वर्ष के गर्ने भन्नेमै अन्योलमा छन् । हालको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले संस्थागत रुपमाभन्दा उम्मेदवारहरूले व्यक्तिगत रुपमा चन्दा मागिरहेको उनीहरूले जानकारी दिए । तर, चन्दा माग्ने र दिनेको नाम खुलाउन भने व्यवसायीहरू तयार छैनन् । “दुई दशकपछि हुन लागेको निर्वाचनमा सिंगो देश नै उत्साहित भएका बेला हामी खुसी नहुने त कुरै भएन,” नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा भन्छिन्, “हरेक निर्वाचनका बेला मुलुकको आर्थिक वृद्धिसमेत माथि उठ्ने भएकाले यो समग्र अर्थतन्त्रका लागि पनि उत्साहजनक अवसर हो तर निर्वाचनका बेला उद्योगी व्यवसायी चन्दा आतंकको त्रासमा रहनुपर्ने अवस्था भने बिडम्बनापूर्ण छ ।” राणाले अघिल्ला निर्वाचनभन्दा चन्दा आतंकमा केही कमी आए पनि भूकम्प र नाकाबन्दीपछि विस्तारै पुरानो अवस्थामा फर्कन थालेको निजी क्षेत्रलाई धरासायी हुने गरी चन्दा आतंक सिर्जना गरिए त्यो दुर्भाग्यपूर्ण हुने बताइन् । स्थानीय तहको निर्वाचनमा कतिपय व्यवसायीहरू नै उम्मेदवार रहेकाले पनि यस वर्ष चन्दाको विषय थप पेचिलो बनेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य र ललितपुर महानगरपालिकाको मेयरमा रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जन उम्मेदवार भएका छन् । महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्वयं म्याग्दीको बेनी नगरप्रमुखको उम्मेदवार छन् भने दोस्रो चरणमा निर्वाचन हुने वीरगन्ज नगरपालिकामा अधिकांश व्यवसायी दावेदार छन् । अधिकांश उम्मेदवारहरू चन्दा आतंक नभइ स्वेच्छिक रुपमा मागिएको बताउँछन् । नयाँ शक्ति नेपाल र संघिय समाजवादी फोरमको तालमेलमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार पवित्रमान बज्राचार्य साथीभाइबाट स्वेच्छाले सहयोग लिए पनि बाध्यात्मक रुपमा नलिएको दावी गर्छन् । “म आफैँ पनि व्यापारी हुँ, मेरो सबै सर्कल नै व्यापार क्षेत्रमा छ, चुनावका लागि साथीहरू नै आफैं जुटेका छन्, मैले माग्नु परेको छैन,” उनी भन्छन्, “मैलै काम गरेरै साथीभाइको मन जितेको छु, जनताको हितमा काम गरेकै परिणामस्वरुप सहयोग पाएको छु ।” उनी २०३९ सालमा तत्कालिन नगर सभासद्बाट प्रवेश गरी ३ पटकसम्म वडाध्यक्ष भएका थिए । महागनरका लागि निर्वाचन आयोगले तोकेको खर्चको सिलिङ पर्याप्त हुने उनी बताउँछन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि चिनेजानेका साथीहरूलाई स्वेच्छाले आर्थिक सहयोग दिएको बताए । चिठी नै काटेर पहिलेजस्तो जबरजस्ती माग्ने प्रचलन अलि कम भएको उनको अनुभव छ । अधिकांश आर्थिक सहयोग माग्नेहरूले चेकमा भन्दा नगद नै माग्ने गरेको उनले बताएका छन् । देशभरका ७ सय ४४ स्थानीय तहको निर्वाचन दुई चरणमा आइतबार र जेठ ३१ गते हुँदैछ । निर्वाचनका लागि महानगरपालिकाको प्रमुख र उपप्रमुखले ७ लाख ५० हजार, उपमहानगरको प्रमुख वा उपप्रमुखले ५ लाख ५० हजार, नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था छ । त्यस्तै वडा अध्यक्ष, बडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले महानगपालिमा ३ लाख, उपमहानगपालिकामा २ लाख ५० हजार र नगरपालिकामा २ लाख खर्च गर्न पाउँछन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार, बडा अध्यक्ष र वडा सदस्य महिला, दलित वा अल्पसंख्यक सदस्यले डेढ लाख र जिल्ला समन्वय समितिका प्रमुखले २ लाख ५० हजार र सदस्य, महिला र दलित वा अल्पसंख्यक सदस्यले १ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था छ । चन्दा स्वेच्छिक बनाऊ राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले उद्योगी व्यापारीमा चन्दा तथा आर्थिक सहयोगको दबाब बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । लामो समयदेखि चलेको द्वन्द्व, राजनीतिक अस्थिरता, लोकतन्त्र बलियो हुनका लागि भ्रष्टाचारको अन्त्य, आर्थिक पारदर्शिता, सुशासन र दिगो विकास आवश्यक रहेको भन्दै व्यावसायिक वातावरण निर्माणका लागि एनबीआईले अपिल गरेको छ । “आसन्न निर्वाचनमा स्वेच्छिक सहयोग र सद्भाववाहेक कुनै पनि किसिमले डर, त्रास, धम्कीको कारणले कुनै पक्षलाई पीडा दिनु हुँदैन र निष्पक्ष, स्वच्छ, पारदर्शी निर्वाचनको लागि यस किसिमको व्यवस्थापन अपरिहार्य छ,” एनबीआईले विज्ञप्तिमा भनेको छ । (काराेबार दैनिकबाट)