विकासन्युज

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा भुपेन्द्र पाण्डे नियुक्त, दुई सञ्चालकद्धारा राजीनामा

काठमाडौं । एनएलजी इन्स्योरेन्सको सञ्चालकमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैशाख २६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि सञ्चालकमा नियुक्त गरेको हो ।                            गौतम प्रसाद खनाल                                                                     राजेश उपाध्याय साथै, सोही बैठकले कम्पनीका दुई सञ्चालक गौतम प्रसाद खनाल र राजेश उपाध्यायको राजीनामा स्वीकृत गरेको हो । खनाल र उपाद्ध्याय दुबैले बैशाख २६ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।

निर्वाचनको समयमा निकुञ्जमा सुरक्षा सतर्कता उच्च बनाईंदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा निर्वाचनको समयलाई मध्यनजर गरी चोरी शिकारीका घटनाहरु हुन नदिन थप सुरक्षा सतर्कता अपनाईएको छ । गैंडा लगायतका वन्यजन्तुको तस्करी बढ्न सक्ने आशंकाले सेनाको विशेष टोलीले सुरक्षा सतर्कता अपनाएको हो । निर्वाचनको समयमा सुरक्षा खतरा बढ्ने र अघिल्लो महिना मात्रै गैंडाको मृत्यु भएको कारणले गर्दा निकुञ्जमा सुरक्षा सतर्कता थप मजबुत बनाईएको छ । अनधिकृत रुपमा जंगल प्रवेशमा कडाई, व्यापक पैदल गस्ती, मोबाइल गस्ती र विभिन्न स्थानहरुमा चेकिङ पोईन्टहरु खडा गरी शंकास्पद व्यक्तिहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम गरिएको निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । निर्वाचनको समयमा चोरी सिकारीहरुले मौका नपाउन भनेर स्थानीय समुदायसँग मिलेर संयुक्त गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ । समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानका सदस्यहरुलाई पनि थप सक्रिय बनाईएको छ । नेपाली सेनाले सुरक्षा बढाएका कारण पछिल्लो समय एक सिंगे गैंडाको चोरी शिकारी लगभग शुन्य अवस्थामा पुगेको छ । कुनै समय वर्षमा करिब २० वटा जति एक सिंगे गैंडालाई तस्करहरुले मार्ने गर्दथे । तर अहिले यो संख्या करिब शुन्य जस्तै भएको छ । गत तीन वर्षको अवधिलाई हेर्ने हो भने चितवन निकुञ्जमा एक वटा मात्रै गैंडा मरेको तथ्यांक छ । त्यो पनि गत चैत २५ गते तस्करहरुले राति असिना पानी परेको बेला मारेका थिए । निकुञ्जको सिंगो सुरक्षाको जिम्मेवारी सेनाले लिने गर्दछ । सेनाले २०६७ देखि २०७० सालसम्म जिरो पोचिङ अर्थात् गैंडाको शुन्य शिकारको अवधारणा ल्याएको थियो । यो दुई वर्षको अवधिमा एक वटा गैंडा म¥यो । २०६७ सालदेखि २०७४ सम्म ७ वर्षको अवधिमा आईपुग्दा ३ वटा मात्रै गैंडाहरु मारिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ । त्यस्तै २०७१ वैशाख २० गतेदेखि निकुञ्जको सुरक्षाको जिम्मेवारी सम्हाल्न आईपुगेको नेपाली सेनाको श्रीजंग गणले विशेष अपे्रशन चलाएका कारण यो अवधिमा एक वटा मात्र गैडा मरेको तथ्यांक छ । जब की सात वर्षअघि तस्करहरुले वर्षेनी २० वटा जति गैडाहरु मार्दथे । श्रीजंग जणले निकुञ्जको सुरक्षाको जिम्मेवारी लिएको करिब तीन वर्ष पुग्नै लाग्दा गत चैत २५ गते चितवनको जगतपुरमा तस्करहरुले मौकाको फाइदा उठाई एउटा गैडा मारे । विभिन्न प्रविधिहरुको प्रयोग गरी व्यापक रुपमा जनशक्तिहरुको परिचालन, सुरक्षाफौजको व्यापक अपरेशनका बाबजुद पनि गत चैत्र २५ गते राति करिब १० बजे एक सिंगे गैंडालाई चोरी शिकारीहरुले मारी खाग काटेर लैजान सफल भएका थिए । सुरक्षा अधिकारीका अनुसार यस घटनाबाट के कुरा पुष्टी हुन्छ भने, गैंडा चोरी शिकारीका घटनाहरु निर्मुल भएका छैनन् है भन्ने नै हो । ती अधिकारीले भने, “हामीले सुरक्षा दिंदा दिंदै दाउ कुरेर बसेका शिकारीहरुले झुक्याएर गैंडा मारी भागेका हुन्छन् । यसको मतलब शिकारी बलियो भयो तर सुरक्षाकर्मी कमजोर भयो भन्ने कुरा पटक्कै होईन । कुनै समय यति धेरै गैडा मारिन्थ्यो तर हामी आएपछि लगभग गैडा मारिने संख्या करिब करिब शुन्य जस्तै भएको छ ।” उक्त गणले एक हजार ७१ दिनसम्म विभिन्न अप्रेसन संचालन गरी चोरी सिकारीहरुको प्रयास विफल पारेको थियो । गैंडा मारिने क्रम विस्तारै रोकिंदै गएको भएपनि बेला बेला मौका छोपेर तस्करहरु सल्बलाउने गर्दछन् । विश्व सम्पदा सूचीमा सुचीकृत भएको चितवन राष्ट्रिय निकुञ्ज एक सिंगे गैंडाका कारण प्रख्यात मानिन्छ । २०७१ सालसम्म यस निकुञ्जमा करिब ६ सय ४५ वटा गैंडाहरु रहेको तथ्यांक छ । २०७१ देखि २०७४ सम्म आईपुग्दा यो अवधिमा दुई वटा मात्र गैंडा मरेको निकुञ्ज प्रशासनको भनाई छ । गैंडा बचाउने कार्यमा नेपाली सेना र निकुञ्ज प्रशासनको मुख्य भूमिका रहेको बताईन्छ । “हामीले शुन्य शिकार अवधारणाको कार्यक्रम ल्याएपछि यो बीचमा तस्करहरु त्यति धेरै सल्बलाउन पाएनन्, निकुञ्ज प्रशासनका एक अधिकारीले भने, गैडा बचाउने कार्यमा सेनाले विशेष भूमिका खेल्यो ।” ती अधिकारीका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५० भन्दा बढि सुरक्षा पोष्टहरुबाट विशेष फौज समेत तयार गरी सुरक्षा दिने काम भईरहेको छ । माघदेखि जेठसम्मको अवधि भनेको गैंडा बचाउनका लागि निकै चुनौतिपूर्ण मानिन्छ । श्रीजंग गणका एक अधिकारीले भने, “माघदेखि जेठ महिनासम्म जंगलमा हरियो पातहरु सुक्दै जाने, खोलानाला सुक्ने र सुख्खायाम भएकाले जंगलभित्रबाट गैडाहरु बाहिर निस्कन्छन् र तस्करहरुले दाउ हेरेर बस्छन् । त्यसैले यो समयमा सुरक्षा थे्रट निकै हुन्छ तर हामी निकै चनाखो भएर बस्छौं ।” चितवन निकुञ्ज बफर जोन क्षेत्रसहित १६ सय ८२ वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ । यो निकुञ्ज चितवन, मकवानपुर, पर्सा र नवलपरासी गरी चार वटा जिल्लामा फैलिएको छ । एक सिंगे गैंडाका कारण निकुञ्जको महत्व अझ धेरै छ । तर मौका छोपी बेला बेला तस्करहरुबाट हुने थ्रेटका कारण गैंडा जोगाउन निकै चुनौति रहेको सेनाका अधिकारीहरु बताउँछन् । निकुञ्जका सूचना अधिकृतले बताए अनुसार निकुञ्ज, नेपाली सेना र स्थानीय समुदायको सहकार्यले नै गैडाहरु मारिने क्रम रोकिएको हो । उनी भन्छन्, “हाम्रो एकल प्रयासले मात्र नभई सेना, निकुञ्ज प्रशासन र स्थानीय समुदायको ठूलो मेहनतले गैंडाको चोरी शिकारी नियन्त्रण हुन सकेको छ । गैंडा मारिने क्रम रोकिएको भने छैन तर हिजोको तुलनामा निकै कम भएको छ । हाम्रो मुख्य काम गैंडा बचाउनु थियो जुन हामीले तीन वर्षको अवधिमा करिब शुन्य जस्तै बनाएका छौं ।” सुरक्षा व्यवस्था राम्रो भएको कारण निकुञ्ज भन्दा बाहिर गएको गैंडालाई रौतहटबाट उद्दार गरी दुई पटकसम्म निकुञ्जमा लगिएको हो । चोरी सिकारका घटना हुन नदिनको लागि नेपाली सेनाले थप स्पेशल फोर्स परिचालन समेत गर्ने गरेको छ । सुरक्षा अधिकारी भन्छन्,  “गैंडा बचाउन र सिंगो निकुञ्जको संरक्षण गर्न हामीले निकुञ्ज प्रशासनसँग मिलेर स्थानीय समुदाय माझ जनचेतना कार्यक्रमहरु गर्यौँ, चोरी शिकारी नियन्त्रण अभियान चलायौं र रातभर गस्ती ग¥यौं । जसका कारण गैंडा मारिने क्रम निकै घटेको छ तर ढुक्क भएर बस्ने स्थिति भने छैन ।” गत चैत २५ गते जगतपुरमा एउटा गैंडा मरेपछि केही व्यक्ति तथा मिडियाले नेपाली सेना र निकुञ्ज प्रशासन भन्दा तस्करहरु बढी बलिया भन्ने समाचारहरु प्रकाशित गरेकोमा सुरक्षा अधिकारीहरु गुनासो गर्छन् । एकाध घटनाका कारण मुलुकको सिंगो सुरक्षा प्रशासन माथि नै चुनौति दिने गरी यसरी मिडियामा समाचारहरु आउनु र चार दशकभन्दा बढी समय प्रकृति संरक्षणमा बिताईसकेको नेपाली सेना जस्तो सशक्त संस्थाले सुरक्षा दिन सकेन भनेर बाहिर नकारात्मक प्रचार गरिनु पक्कै पनि दुखदायी भएको अधिकारीहरुको भनाई छ । नेपाली सेनाले प्रयोग गरिरहेको रियल टाईम पेट्रोल मोनिटरिङ सिस्टम भन्ने सफ्टवेयरका कारण सुरक्षा व्यवस्था मजबुत हुँदै गईरहेको छ । यो प्रविधि भनेको यस्तो ट्रयाकिङ पद्दति हो, जसबाट कुन सुरक्षा टिम कहाँ छ भन्ने कुरा निकुञ्ज प्रशासन र सेनाको अपरेशन रुमबाट लाईभ हेर्न सकिन्छ । यसैका कारण कुनैपनि फौजले डिउटीमा नगईकन डिउटी गरेको थिएँ भनेर झुटो बोल्न सक्दैन ।सेनाले बनाएको यो सफ्टवेयरको मद्दतले समेत वन्यजन्तुको संरक्षणमा सफलता मिलिरहेको सुरक्षा अधिकारीहरु बताउँछन् । अफ्रिकामा हरेक वर्ष १ हजारभन्दा बढी गैंडा तस्करहरुको निशानामा पर्ने गरेको तथ्यांक छ । छिमेकी मुलुक भारतमा यही वर्ष २० वटा भन्दा बढी गैंडाहरु तस्करहरुले मारिसकेको तथ्यांक छ । संकटकालको समयमा नेपालमा एकै वर्ष ३० वटा भन्दा बढी गैंडाहरु मारिएको थियो । तर अहिले नेपाली सेनाले प्रकृत्ति संरक्षण कार्यलाई आफ्नो प्रमुख जिम्मेवारीको रुपमा लिएपछि व्यापक सुराकी परिचालन, रातको समयमा समेत सैनिक गतिविधिहरु सञ्चालन र बफर जोनका स्थानीय समुदायका व्यक्तिहरुसँग नियमित अन्तक्र्रिया गरिएको कारण एक सिंगे गैंडा लगायत अन्य वन्यजन्तुको संरक्षणमा उल्लेख्य सफलता मिलेको सैनिक अधिकारीहरुको दाबी छ ।

फिदिममा भ्यू टावर बन्ने, पाथिभरा मन्दिरदेखि चीन र भारतको सिमाना हेर्न सकिने

पाँचथर । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो । भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३÷७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिए । यस वर्ष भ्यू टावर निर्माणका लागि १४ लाखसमेत विनियोजन भइसकेको उनले बताए । भ्यू टावर निर्माण हुनेभएपछि स्थानीयवासीले ६ रोपनी जग्गासमेत रजिस्ट्रेसन पास गरिदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भारत र चीनका सिमानासमेत दृश्यावलोकन गर्न सकिने स्थानीयवासी सुकपाल तुम्वापोले बताए । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वका विभिन्न ठाउँबाट तथा बाह्य पर्यटकसमेत आउने अर्का स्थानीयवासी सन्तोष श्रेष्ठले बताए । रासस

सांग्रिला डेभलपमेन्ट बैंकले १६ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर दिने, जेठ ४ गतेदेखि बुक क्लोज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १६.०७ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बोनस सेयर दुई विकास बैंक प्राप्तिअघि वितरण गरिने र हकप्रद सेयर प्राप्तिपछि निष्काशन गरिने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड ३४ लाख रुपैयाँ छ । यस बैंकले १० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ४ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कसमस डेभलपमेनट बैंक प्राप्ति गर्दैछ । दुबै बैंक प्राप्ति गर्न सेयर स्वाप रेसियो १ बराबर १ गरिएको सांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ । बोनस सेयर वितरण र दुई बैंक प्राप्ति पनि बैंकको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ हुन्छ । प्राप्तिपछि बैंकले १ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ बनाउने भएको छ । गत वर्षको नाफाबाट बोनस सेयर वितरण, दुई विकास बैंक प्राप्ति, त्यसको स्वाप रेसियो अनुमोदन र हकप्रद सेयर निष्काशन सम्बन्धि विशेष प्रस्तावसहित बैंकले जेठ १९ गते साधारणसभा बोलाएको छ । बोनस सेयर तथा हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बैंकले जेठ ४ देखि १९ गतेसम्म सेयर दर्ता किताव बन्द गर्ने भएको छ ।

खर्चिलो र भड्किलो बन्दै निर्वाचन

सिन्धुपाल्चोक । निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् । निर्वाचन आउन चार दिनमात्र बाँकी छँदा सिन्धुपाल्चोकका सबै गाउँपालिका र नगरपालिकामा चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारले व्यापक खर्च गरेका छन् । निर्वाचन आयोगले उम्मेदवारले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको सीमा नै तोकेको भए पनि त्यसलाई बेवास्ता गर्दै उनीहरूले दैनिक प्रचारप्रसारका लागि लाखौँ रुपैयाँ खर्च गर्ने गरेका पाइएको छ । “कार्यकर्ता परिचालन गर्नैप¥यो, गाडीभाडा, खाजाखाना खर्चलगायतमा दैनिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म त खर्च भइहाल्छ,” नगरप्रमुखका एक उम्मेदवारले भने । उम्मेदवारले दैनिक सदरमुकाम चौतारा, बाह्रबिसे, मेलम्ची, जलविरेलगायत ठाउँमा ¥यालीको नाममा लाखौँ रुपैयाँ खर्च गर्दै आएका छन् । उनीहरुले प्रत्येक दिन बजार क्षेत्रमा गाडी तथा मोटरसाइकल ¥याली गर्दै आएका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा नगरप्रमुखको उम्मेदवारैपिच्छे दैनिक सात वटादेखि १० वटासम्म गाडी प्रयोग गर्ने गरेको पाइएको छ । घरदैलो अभियान तीव्र निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोकका तीन वटा नगरपालिका तथा नौ वटा गाउँपालिकामा निर्वाचनको माहोल तात्दै गएको छ । अहिले निर्वाचनमा भाग लिएका सम्पूर्ण दलका उम्मेदवार मतदातासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गर्न पाउन लागेकोमा खुसी व्यक्त गर्दै बाह्रबिसे नगरपालिकाका २१ वर्षीय सन्तोष कार्कीले भने– “आफ्नालाई होइन राम्रा उम्मेदवारलाई भोट दिन्छु ।” जिल्लामा विभिन्न दलले उम्मेदवारी दिएपनि मुख्यगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रतिष्पर्धा हुने देखिएको छ । संविधानसभा निर्वाचनमा काँग्रेस, एमाले र माओवादी केन्द्रले एक एक सिटमा जित हासिल गरेको थियो । बाह्रबिसे नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले चुनावी तालमेल गरेका छन् । दुई पत्रकार उम्मेदवार स्थानीय तहको निर्वाचनमा जिल्लाबाट दुई जना पत्रकारले समेत उम्मेदवारी दिएका छन् । पत्रकार भक्तध्वज बोहोराले त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष तथा पत्रकार लक्ष्मी पौडेलले सुनकोशी गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिएका हुन । जिल्लामा १४४ वटा मतदान केन्द्र छन् ।

सिभिल बैंकको वित्तीय रिपोर्ट खराव, नाफा घट्यो, खराव कर्जा बढ्यो

काठमाडौं । सिभिल बैंकको वित्तीय रिपोर्ट खराव आएको छ । चैत मसान्तसम्ममा बैंकको नाफा घटेको छ भने खराव कर्जा बढेको छ । निक्षेप र कर्जा विस्तार अत्यान्तै न्यून छ भने कष्ट अफ फण्ड ह्वात्तै बढेको छ । चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको सिभिल बैंकले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको प्रथम ९ महिनामा बैंकले १९ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्ममा यस बैंकको सञ्चालन नाफा ३ करोड रुपैयाँ मात्र छ । प्रोभिजन राईट व्याकबाट २७ करोड ४४ लाख रुपैयाँ आउँदा बैंकको खुद नाफालाई सहयोग पुगेको छ । साथै चालु आर्थिक वर्षम ४७ करोड ८१ लाख रुपैयाँ प्रोभिजनमा गएको छ । बैंकको खराव कर्जा ४.६६ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा २.१७ प्रतिशत थियो । खराव कर्जा बढ्नु नै बैंकको नाफा घट्नुको मुख्य कारण हो । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५२ पैसामा झरेको छ । त्यस्तै बैंकको कष्ट अफ फण्ड उच्च भएको छ । चैत मसान्तसम्ममा कष्ट अफ फण्ड ६.३२ प्रतिशत छ । सामान्यतय वाणिज्य बैंकहरुको कष्ट अफ फण्ड ५ प्रतिशतभन्दा कम छ । ठूला र पुराना बैंकहरुको कष्ट अफ फण्ड २ देखि ३ प्रतिशतको बीमा देखिन्छ । यस बैंकको स्प्रेडदर २.५६ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार ५ प्रतिशतसम्म स्प्रेडदर राखेर काम गर्न पाईन्छ । स्प्रेडदर भनेको निक्षेप र कर्जाको औषत व्याजदर अन्तर हो । स्प्रेडदर जति बढी भए त्यति बैंकको खुद नाफा बृद्धिमा सहयोग गर्छ । एक वर्षमा बैंकको चुक्ता पुँजी १ अर्ब ५० करोडले थपिएको छ । तर व्यापार विस्तार कम छ । सिद्धान्तत बैकिङ क्षेत्रमा पुँजीको तुलनामा १० देखि ११ गुणा बढी व्यापार विस्तार हुनुपर्छ । यस आधारमा १ अर्ब ५० करोड पुँजी वृद्धि हुँदा निक्षेप र कर्जा १५ देखि १८ अर्बले वृद्धि हुनुपर्ने हो । तर एक वर्षमा बैंकको निक्षेप करिव ५ अर्ब बढेर ३३ अर्ब भएको छ । कर्जा सापटी पनि ५ अर्बले वृद्धि भई २९ अर्ब रुपैयाँ भएको छ । बैंकले ६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । लगानीकर्ताको लागि चिन्तको विषय के छ भने बैंकमा हालै मात्र अध्यक्ष इच्छाराज तामाङले पद छाडेका छन् । साथै, प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले पनि छाडेका छन् । संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले दुबैले एकै पटक छाड्दा बैंकका संस्थापक सेयरधनीमा केही निराशा देखिएको छ । साथै, विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनी गाभिएर आउँदा बैंकमा नयाँ लगानीकर्ता, कर्मचारी, ग्राहक भित्रिएकाले उनीहरुबीचको सम्बन्ध सन्तुलन बैंकका लागि निकै चुनौतिपूर्ण रहेको जानकारहरुहरु बताउँछन् ।

सेञ्चुरी बैंकको नाफा ३१ करोड, प्रति सेयर आम्दानी ११ रुपैंयाँ २४ पैसा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ३१ करोड ९ लाख नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा गरेको भन्दा ७ करोड ८५ लाखले बढि हो । गत आवको नौ महिनामा सेञ्चुरीले २३ करोड २४ लाख नाफा कमाएको थियो । ३ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको सेञ्चुरीको जगेडा कोषमा ९३ करोड रुपैंयाँ रहेको छ । ३३ अर्ब निक्षेप संकलन गरेर ३० अर्ब कर्जा तथा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी २ अर्ब ३ करोड छ भने ब्याज खर्च १ अर्ब २६ करोड रहेको छ । खराब कर्जा शुन्य दशमलब ५३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट ३ करोड प्राप्त गरेको देखिन्छ । सेञ्चुरीको प्रति सेयर आम्दानी ११ रुपैंयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैंयाँ २९ पैसा रहेको छ ।

२०७३ सालमा अपार्टमेण्ट दर्ता शून्य, डेभलपर्सले निर्माण गरेका घरमा बस्नेहरूको सङ्ख्या एकदमै न्यून

काठमाडौं । अर्बौं लगानीमा बनेका अपार्टमेण्टका फ्ल्याटको किनबेच भूकम्पयता ठप्प छ । उपत्यकाभित्रको जमीन घरहरूले भरिँदै गएपछि बढ्दो बसाइँसराइको चाप थेग्ने गरी पछिल्लो दशकमा विकसित हुन थालेको ‘अपार्टमेण्ट संस्कृति’ धराशयी हुने अवस्थामा पुग्दै छ । २०७१ देखि २०७३ सालसम्ममा एउटा अपार्टमेण्ट दर्ता भएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, काठमाडौंको तथ्याङ्कले देखाएको छ । २०७२ जेठमा दर्ता भएको भाटभटेनी अपार्टमेण्ट (दोस्रो) पनि पहिलेदेखि नै प्रक्रियामा रहेकाले दर्ता भएको बताइएको छ । त्यसबाहेक भूकम्पयता कसैले नयाँ अपार्टमेण्ट निर्माणको स्वीकृति लिएका छैनन् । पहिल्यै स्वीकृति लिएकाले पनि निर्माण कार्य शुरू गरेका छैनन् । कतिपयले स्वीकृत परियोजना नै रद्द गरेका छन् । २०६१ सालमा एउटा अपार्टमेण्टले निर्माण स्वीकृति लिएकोमा २०७२ को शुरुआतसम्ममा आइपुग्दा त्यो सङ्ख्या ७१ पुगेको थियो । तर, १२ वैशाख २०७२ को भूकम्प त्यो विन्दु बन्न पुग्यो, जहाँबाट ‘हाइराइज’ भवन निर्माणमा ब्रेक लाग्न पुग्यो । उपत्यकामा २०६४ सालपछि अपार्टमेण्ट निर्माणका लागि तीव्ररूपमा निवेदन दर्ता भएको थियो । निवेदन दर्ता गर्ने क्रम २०६९ सालपछि भने घट्दै गएको छ । २०६४ मा ७, २०६५ मा २३, २०६६ मा १२, २०६७ मा ७ तथा २०६८ मा ८ ओटा अपार्टमेण्ट निर्माणका लागि निवेदन दर्ता भएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजनल इञ्जिनीयर गणेश कर्माचार्यले जानकारी दिए । २०६९ र २०७० सालमा भने अपार्टमेण्ट निर्माणका लागि ४/४ ओटा निवेदन परेका छन् । त्यस्तै २०७२ सालमा पहिलेदेखिकै प्रक्रियामा रहेको एउटा अपार्टमेण्ट दर्ता भएको छ । उपत्यकामा हालसम्म ७१ ओटा कम्पनीले ६ हजार ८ सय ८ युनिट अपार्टमेण्ट निर्माणका लागि निवेदन दिएका छन् । त्यसमध्ये १९ ओटा अपार्टमेण्टको निर्माण पूरा भइसकेको छ भने ३९ ओटा निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै ६ ओटा कम्पनीले निर्माण शुरू नै गरेका छैनन् । पाँचओटा कम्पनीले प्रयोग परिवर्तन गरी व्यावसायिक भवन, अस्पताल लगायतको निर्माण गर्दै छन् ।   अहिले कुल मागको २ दशमलव २६ प्रतिशत घर डेभलपर्स र ९७ दशमलव ७४ प्रतिशत घर जग्गाधनी आफैले  निर्माण गरिरहेको नेपाल आवास तथा घरजग्गा व्यवसायी सङ्घका महासचिव मीनमान श्रेष्ठ बताउँछन् । यसबाट डेभलपर्सले निर्माण गरेका घर तथा फ्ल्याटमा बस्नेहरूको सङ्ख्या एकदमै न्यून रहेको देखिन्छ । उपत्यकामा अपार्टमेण्ट निर्माण शुरू भएको १ दशकमै यसप्रति आकर्षण बढ्दा शहरी जीवनको आवासीय चाप थेग्ने यो ‘संस्कृति’ बाहिर पनि विस्तार हुँदै थियो । वीरगञ्ज र विराटनगरमा अपार्टमेण्ट बन्न थालेका छन् । भरतपुर, बुटवल, भैरहवा, नेपालगञ्जजस्ता जनघनत्व बढिरहेका शहरहरू पनि आखिरमा ‘हाइराइज’ शैलीमै जानुपर्ने आवश्यकता छ । खाली जग्गा भेट्नै मुश्किल भइसकेको काठमाडौं उपत्यकामा त ‘हाइराइज’को विकल्प नै नभएको सङ्घ महासचिव मीनमान श्रेष्ठको भनाइ छ । एउटा अपार्टमेण्टमा सिङ्गै गाउँबराबरको जनसङ्ख्या अट्ने भएकाले व्यवस्थित शहर बसाउन र हरियाली जोगाउन पनि यो अत्यावश्यक भएको छ । त्यसबाहेक, ‘हाइराइज’ भवनहरू शहरका सुन्दरता पनि हुन् । भूकम्पमा केही क्षति सबैमा पुगे पनि धेरैजसो अपार्टमेण्ट राम्रैसँग जोगिएका थिए । एकाध अपार्टमेण्टले गर्दा व्यवसायलाई नै असर गरेको तथा अपार्टमेण्टप्रति नै अविश्वास पैदा भएको श्रेष्ठले बताए । कानून मिचेका एकाध अपार्टमेण्ट निर्माताहरूलाई कारबाहीको दायरामा नल्याउँदासम्म यस क्षेत्रमा चुलिएको आशङ्का–अविश्वास हट्ने देखिँदैन । (अभियान दैनिकबाट)