सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने
सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु छ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिए । निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा आयोजनास्थलको भ्रमणपछि निर्माण कार्य सुरु हुनेछ । “काम सुरु गरेको चार वर्षभित्र निर्माण कार्य सम्पन्न गछौँ,” पाठकले भने । आयोजना निर्माणका लागि ११ बैंकले रु आठ अर्ब ६५ अर्ब लगानी सम्झौता गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एआइडिसिएल), राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श(एनसिसी) बैंक, सेन्चुरी कमर्सियल बैंक, सानिमा बैंक, एनआइडिसिएल डेभलपमेन्ट बैंक, सनराइज बैंक, प्रभु बैंक र सिभिल बैंकले लगानीको सम्झौता गरेका हुन् । आयोजनाको लागत रु ११ अर्ब ८६ करोड रहेको छ । सत्ताइस प्रतिशत अर्थात् रु तीन अर्ब २१ करोड प्रवद्र्धकले स्वपुँजीका रुपमा लगानी गर्दैछन् भने बाँकी ७३ प्रतिशत बैंकको कर्जा लगानी हुने गरी सेयर संरचना तयार गरिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १३ करोड ७९ लाख रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड आठ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)भएको छ । ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स),कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ । आयोजना सोलुखुम्बुको तिङ्ला, कागेल र पञ्चन क्षेत्रमा पर्छ । रासस
ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न, बिजेतालाई निशुल्क छात्रवृती तथा प्रमाण पत्र
काठमाडौं । तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ । जस अन्तर्गत डान्स, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जस अनुसार गायन तर्फ संजिव श्रेष्ठ प्रथम , सरोज तामाङ्ग दृतिय र अर्मन चौधरी तृतिय भएका छन् । हाजिरजवाफ तर्फ रोशन बिष्ट प्रथम, राजबाबु चौधरी दृतिय, र शिशिर दाहाल तृतिय भएका छन् । त्यसै गरी डान्स बिद्या तर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का दृतिय र सुनिल सिंह तृतीय भएका छन् । बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले एक समारोहकाबिच सम्मान गरेका थिए । त्यसरी नै ट्रिटन ट्यालेन्ट हन्ट २०७४ को दोस्रो संकायका बिजेताले कलेजमा निशुल्क छात्रवृती पुरस्कार तथा प्रमाण पत्र पाएका छन् । स्मरण रहोस ट्रिटन कलेजले गतबर्ष देखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राचार्य प्रा. डा. बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथ प्रसाद शाह, सह प्राचार्य श्रीकृष्ण बिष्ट लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।
चितवनमा ५० करोडमा रङ्गशाला बन्ने
चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार दाता र सरकारी निकायबाट प्राप्त रकमले सुरुवाती काम भइरहेको छ । भरतपुर महानगरपालिका वडा नं २० को नयाँबजार नजिकै १० बिगाहा जग्गामा रङ्गशाला निर्माण थालिएको हो । रङ्गशालामा फुटबल र क्रिकेटका लागि छुट्टाछुट्टै मैदान निर्माण गरिनेछ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका सचिव टिएम गुरुङका अनुसार चार बिगाहा १० कट्ठा जग्गामा फुटबल खेल मैदान र पाँच बिगाहा १० कट्ठामा क्रिकेट मैदान बन्नेछ । साथै, रङ्गशालामा एथ्लेटिक्सका लागि ट्र्याक पनि निर्माण गरिने टिएमले बताए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त रु १० लाखले फुटबलको प्यारापिट बनाउने काम भइरहेको छ । रङ्गशालाका लागि अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली महासङ्घका सदस्य सोम सापकोटासहितले रु नौ लाख विभिन्न देशबाट सङ्कलन गरिसकेको बताए। श्री टिएमले क्लिनिक नेपालका हरि भण्डारीको पहलमा रु १० लाख रङ्गशालालाई प्राप्त हुने आश्वासन आएको बताए । चितवन सोसाइटी जापानबाट रु दुई लाख प्राप्त भइसकेको छ । रङ्गशालाको नक्साङ्कनको काम सम्पन्न भइसकेको बताउँदै उनले फुटबलको प्यारापिटमा १४ हजार दर्शक बसेर खेल हेर्न मिल्छ भने क्रिकेटको स्टेडियममा २० हजारभन्दा बढी बस्न मिल्ने बताए । रासस
गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०९९ रुपैयाँ
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०९९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७४६ रुपैयाँ रहने भएको छ ।
ओम डेभलपमेन्ट बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल नियुक्त
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । बैंकको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।
चुडामणि शर्मालाई छुटाउन दिल्लीका नेतालाई गुहारेर फर्किए पत्रकार ऋषि धमला
काठमाडौं । पत्रकार ऋषि धमला अचानक दिल्ली पुगेर नेपाल फर्किएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेपछि उनलाई छुटाउने दाैडदूपकाे क्रममा उनी भारतीय नेताहरुलाई भेट्न दिल्ली गएको श्रोतले बतायो । श्रोतका अनुसार धमलाले दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, भाजपाका नेता भगतसिंह कोशियारी लगायतलाई भेटेर चुडामणी शर्मालाई जोगाइ दिन आग्रह गरेका थिए । धमलाले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुडामणी शर्माका पक्षमा बोल्न लगाउन आग्रह गरेका हुन् । धमलाले सञ्चालन गर्न लागेको प्राइम टेलिभिजनमा शर्माको समेत लगानी रहेको दावी पनि श्रोतले गरेको छ । यसैबीच धमलाले भारत गएर शर्माका पक्षमा दबाव सृजना गरेको भन्दै अख्तियारमा उजुरी परेको पनि बताइएको छ । धमलाले आन्तरिक मामलामा विदेशीलाई दबाव दिन लगाएको भन्दै शुक्रबार अख्तियारमा उजुरी परेको पनि श्रोतले बतायो । सो उजुरीका बारेमा आयोगको बैठकमै छलफल भएको समेत बताइएको छ । बिहिबार दिल्ली उडेका धमला आइतबार साँझ काठमाडौं फर्किएका छन् । शुक्रबार बिशेष अदालत काठमाडौंले शर्मालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिदिएको थियो । पत्रकार धमला पटक पटक गैरकानुनी धन्धामा विवादमा मुछिदै आएका छन् । कहिले हतियार काण्ड, कहिले अपहरण काण्ड, कहिले यौन दुव्र्यवहार काण्ड, कहिले बलजफ्ती चन्दा असुली काण्डमा धमला विवादमा आउने गरेका छन् ।
एनबी इन्सुरेन्स कम्पनीको नयाँ शाखा ललितपुरको जावलाखेलमा संचालन
काठमाडौं । एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । शाखाको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिएका छन् । यस नयाँ शाखा सहित कम्पनीले १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । हालै १ शेयर बराबर १ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुग्ने कम्पनीले बताएको छ ।
देवःविकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने, पूँजी १ अर्ब ८० करोड रुपैयाँ नाघ्ने
काठमाडौं । देवः विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेड प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा देवः विकास बैंक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र सहारा विकास बैंक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष सुगन्धकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर गरिएको हो । यस अधि यस बैंकले युनियन फाइनान्स लि. र साझा विकास बैंक लि. प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइ सकेको छ भने निष्काशित हकप्रद शेयर बाँडफाँड सम्पन्न भइसकेको जनाएको छ । उक्त संस्थाहरु प्राप्ति पछि बैंकको कुल चुक्ता पूँजी १ अर्व ८० करोड रुपैयाँ पुग्नेछ । यस बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहितको कार्यलाई निरन्तरता प्रदान गरिरहेको छ । उक्त संस्थाहरु प्राप्ति पछि नेपालको सुदुर पश्चिम तथा मध्य तराई क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ५१ वटा शाखा सञ्जाल पुग्नेछ । साथै, बैंकको कुल निक्षेप ११ अर्ब ५१ करोड रुपैयाँ र कर्जा लगानी १० अर्ब ०८ करोड रुपैयाँ पुग्ने छ । साथै, संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंककै रहने समझदारी भएको बैंकले जनाएको छ ।