भड्कियो राजपा, दोस्रो चरणको निर्वाचन अनिश्चित, सरकार लचिलो राजपा कठोर
काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा समर्थन जनाएलगतै निरन्तरता पाएको सत्ता गठबन्धन र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को घनीभूत छलफल असफलतामा टुंगिएको छ ।सत्ता गठबन्धन र राजपा शीर्ष नेताबीच आइतबार भएको दुई घन्टा लामो छलफलपछि राजपाले ऊ निर्वाचनमा सहभागी नहुने मात्र होइन, निर्वाचन नै बिथोल्ने कार्यक्रम घोषणा गरेपछि स्थानीय तहको दोस्रो निर्वाचन अनिश्चित र सम्भावित द्वन्द्वको सिकार हुने देखिएको छ । राजपाले सोमबारदेखि असार १४ सम्मको १७ दिन लामो बन्द आमहडताल, लाठी जुलुस, निर्वाचन र निर्वाचन सम्बद्ध कार्यालय घेराउलगायत विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बसेको बैठकको प्रारम्भमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा सहभागी गराउन आफूले प्रयास गरेको जनाउनुभयो । ‘बैठकमा गृह, कानुन र निर्वाचन आयोगका सहसचिव समेतलाई ल्याएको छु । उहाँहरूले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका सम्बन्धमा जानकारी दिनुहुनेछ’ प्रधानमन्त्री देउवाले भन्नुभयो । दलसम्बन्धी ऐन संशोधनबारे प्रशासकहरूबाट जानकारी पाएपछि राजपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीजी जनताबीच हामीलाई मूर्ख बनाउने कार्य छाड्नुहोस् भन्दै कड्किनुभएको थियो । ठाकुरले बैठकमा भन्नुभएको थियो, ‘राजपाको माग दलसम्बन्धी कानुन संशोधन गरी चुनावमा जानेभन्दा पनि संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि, मधेस आन्दोलनका क्रममा ८७ जना मधेसीमाथि लागेको गम्भीर प्रकृतिका मुद्दाको फिर्ता एवं चुनावमा सहभागिताका लागि जनताबीच जान आवश्यक समय दिनुपर्यो भन्ने हो ।’ प्रधानमन्त्री देउवाले स्थानीय तहको संख्या वृद्धि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरे पनि सर्वोच्चको अन्तरिम आदेशबाट स्थगन भएकाले सबै विषय सरकारलाई मात्र दोषारोपण गरेर नहुने तर्क गर्नुभएको थियो ।संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन नसकेको धारणा व्यक्त गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि कुनै हालतमा संशोधन विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिँदै भने, ‘स्थानीय तह वृद्धि गर्न म तत्कालै सर्वोच्च अदालतका न्यायाधीसँग परामर्श गर्नेछु ।’राजपाका नेता अनिलकुमार झाले देउवाको भनाइको प्रतिवाद गर्दै भन्नुभयो, ‘संसद्का प्रमुख तीन दलका नेताको समस्यामा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई फास्ट ट्र्याकमा हिँड्न बाध्य गराउने, मधेसीको एजेन्डामा किन नहुने ? बैठकमा गृहमन्त्री जनार्दन शर्माले तपाईंहरूलाई असार १४ को चुनाव सार्नै पर्ने भए कति समय चाहिने हो भन्ने प्रश्न गर्नुभएको थियो । शर्माको जिज्ञासालगत्तै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तपार्इंले यस्तो कुरा किन राख्नुभयो भन्दै प्रश्न गर्नुभएको थियो । ठाकुरले माओवादी नेता श्रेष्ठलाई चुनावमा उम्मेदवार चयनका लागि त समय चाहिएला नि भन्ने प्रश्न गर्नुभएको थियो । ‘भन्नुहोस् न त कति सयम चाहिएको हो’, गृहमन्त्रीले ठाकुरलाई पुनः प्रश्न गर्दा उहाँले असार १४ गते हुन नसक्ने मात्र भन्नुभयो ।’चुनाव रोक्नुहोस् हामी भन्दैनौं, कम्तीमा पनि प्रनेश नं। २ र ५ लाई समय बढाउनै पर्ने हाम्रो माग हो’, ठाकुरले भन्नुभयो, ‘अन्यथा तपाईंहरू जे जसो गर्न सक्नुहुन्छ गर्नुहोस् । हामी पनि जेजे सक्छौ गर्नेछौं । हिजोसम्म मधेसविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली मात्र हुनुहुन्थ्यो । आजबाट देउवा र दाहाल पनि थपिनुभयो ।’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई प्राविधिक रूपमा निर्वाचनमा भाग लिने सहज वातावरण बनाउन केही कानुन संशोधन गर्ने सहमति भएको बताउनुभयो । तर, उहाँंहरूले आफ्ना पूर्ववर्ती माग नछाडेको जानकारी दिनुभयो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिल झाले सरकारले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या वृद्धि र तराई(मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता गर्ने स्पष्ट प्रतिबद्धता दिन नसकेकाले बैठक बिनानिष्कर्ष टुंगिएको बताउनुभयो । अनिश्चितकालीन आमहडताल सरकारले आफ्ना माग पूरा नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले निर्वाचन बिथोल्न अनिश्चितकालीन आमहडतालको आह्वान गरेको छ । काठमाडौंको बिजुलीबजारमा आइतबार अपराह्न बसेको गठबन्धनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले असार १० गतेदेखि अनिश्चितकालीन आमहडताल घोषणा गर्नुभएको हो । अध्यक्ष ठाकुरले भन्नुभयो, ‘हाम्रा माग पूरा हुने अवस्था देखिएन । मन्त्रिपरिषद्बाट भएका निर्णय पनि कार्यान्वयन भएन । यस्तो अवस्थामा चुनावमा जाने कुरै रहेन । आन्दोलन घोषणा गरेर सडकमा जानुभन्दा अर्को विकल्प रहेन ।’ राजपा नेपालको अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयनमा धोका दिएको आरोप लगाउनुभयो । ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म निर्वाचनमा जाने कुरा हुँदैन । आवश्यक पर्यो भने सरकारलाई दिएको समर्थन पनि आन्दोलनकै क्रममा फिर्ता हुनेछ ।’ राजपाले जेठ २९ मा तराईका जिल्लामा मसाल जुलुस प्रदर्शनको कार्यक्रम राखेको छ । जेठ ३० र ३१ तथा असार १ र २ गते मधेस, थरुहट र लिम्बुवान बन्द तथा आमहडतालको घोषणा गरेको छ । लाठी जुलुस प्रदर्शनका साथै संघीय गठबन्धनले असार १० गतेदेखि अनिश्चितकालीन आमहडताल घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । असार ५ गते सबै जिल्लामा लाठी जुलुस, ६ देखि १४ गतेसम्म निर्वाचनसम्बन्धी सबै कार्यक्रम र गतिविधिलाई अवरुद्ध गर्ने, असार ९ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस गर्नेलगायत रहेको छ । ‘ताजा जनादेशबाटै माग सम्बोधन’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा वा संघीय गठबन्धनलाई निर्वाचनविरोधी कार्यक्रम घोषणा फिर्ता लिन आग्रह गर्नुभएको छ ।’चुनावमा सहभागी हुँदा आफ्ना माग जनताबीच राख्ने र जनताबाट ताजा जनादेश लिएर संशोधनमा जानुपर्थ्यो । आमहडताल, बन्दलगायत कार्यले राम्रो नतिजा दिँदैन’, पौडेलले भन्नुभयो, ‘सत्ता र राजपाबीच पुनः वार्ता हुन सक्छ, आन्दोनल होइन, चुनावमा सहभागी भई चुनावपछि आफ्ना माग पूरा गर्ने कार्यमा उहाँहरू सहभागी हुनु प्रजातन्त्रका लागि सहयोगी मार्ग हुन्छ ।’ एमाले महासचिव ईश्वर पोखरेलले लोकतन्त्रको अभ्यासमा बाधा पुर्याउने काम गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विचार जनतामा पुर्याउने, उन्नत लोकतान्त्रिक अभ्यासको यो अवसर लत्याएर अर्को बाटो हिँड्न मिल्दैन । जनताको अभिमतबाट पनि आफ्नो मत राख्नुपर्छ ।”चुनाव टार्ने नीति लिनु भएन’, उहाँले भन्नुभयो, ‘जनताबाट निर्वाचित भएर आफ्नो मुद्दा उठाउँदा झन् वैधानिक र दबाबमूलक हुन सक्छ ।’ माओवादी केन्द्रका सचिवालय सदस्य गिरिराजमणि पोखरेलले आन्दोलन घोषणासाथ चुनावमा सहभागी हुने राजपाको रणनीति रहेको बताउनुभयो ।आन्दोनलबाटै चुनावमा जान्छु र आफ्ना मुद्दा उठाउँदै जनमतको फाइदा लिन्छु भन्ने नीति राजपामा रहनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । अन्नपूर्ण पोस्टबाट ।
नाफा कम भएपछि ६८ करोडको हकप्रद सेयर थप्दै सिद्धार्थ बैंक, आगामी वर्ष बोनस सेयर घट्ने
काठमाडौं । जेठ २५ गतेदेखि सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयरको आवेदन संकलन शुरु भएको थियो । सोही दिन बैंक सञ्चालक समितिको बैठकले थप १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । जुन समाचार बैंकका सेयरधनीको लागि अप्रत्याशित रह्यो । सिद्धार्थ बैंकले एक वर्षमा सेयर निष्काशन गर्न लागेको यो चौथो पटक हो । २०७३ असोज महिनामा ४ बराबर १ (२५ प्रतिशत) हकप्रद सेयर निष्काशन गरेको थियो । यसै वर्ष बैंकले ३९ प्रतिशत बोनस सेयर वितरण गर्यो । त्यसपछि १० बराबर ३ (३० प्रतिशत) हकप्रद सेयर निष्काशन गरेको हो । उक्त प्रक्रिया समाप्त नहुँदै फेरी बैंकले १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी असार १८ गतेको लागि विशेष साधारणसभा बोलाइसकेको छ । हाल आवेदन खुला गरिएको ३० प्रतिशत हकप्रद सेयर निष्काशन सम्पन्न हुँदा बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ पुग्छ । बैंकले यसअघि प्रक्षेपण गरे झै चालु वर्षको नाफाबाट आगामी वर्ष १८ प्रतिशत बोनस सेयर वितरण गरेको भए बैंकको चुक्ता पुँजी ८ अर्ब नाघ्ने थियो । तर बैंकले १० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर तत्काल ६८ करोड रुपैयाँ चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गर्यो । अब चालु आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत मात्र बोनस सेयर दिँदा यस बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । बैंकको सेयर आपूर्ति वृद्धि हुँदा मूल्य निरन्तर घटिरहेको छ । ११ महिनाअघि प्रतिकित्ता १४१५ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर अहिले प्रतिकित्ता ५०५ रुपैयाँमा झरेको छ । नेप्से परिसूचिक १५ प्रतिशतले घट्दा (१८८१ बाट १५९० झर्दा) यस बैंकको सेयर मूल्य ६४ प्रतिशतले घटेको देखिन्छ । फेरी किन हकप्रद सेयर निष्काशन गर्नु पर्यो ? किन एक आर्थिक वर्षमा तीन पटक हकप्रद सेयर निष्काशन गरिदै छ ? बैंकका साधारण सेयरधनीको मनमा खुल्दुली चलिरहेको छ । बैंक सम्बद्ध स्रोतका अनुसार चालु आर्थिक वर्षको नाफा सोचे अनुसार नहुने भयो । चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले सेयरधनीलाई कर बाहेक १ अर्ब १८ करोड रुपैयाँ बराबरको बोनस दिनु पर्ने थियो । त्यसको लागि खुद नाफा कम्तिमा १५० करोड रुपैयाँ हुनुपर्ने थियो । खुद नाफाको २० प्रतिशत संचित कोषमा बचत गर्नु पर्ने हुन्छ भने बोनसमा लाग्ने कर सेयरधनीबाट नउठाउने हो भने बैंकले करको लागि नाफाबाट अतिरिक्त रकम जोहो गर्नु पर्ने हुन्छ । बैंकले पुस मसान्तसम्ममा ७२ करोड ११ लाख खुद नाफा गरेको थियो । स्रोतका अनुसार पुस मसान्तसम्ममा पनि बैंकलाई विश्वास थियो कि असार मसान्तसम्ममा खुद नाफा १ अर्ब ५० करोड नघाउन सकिन्छ । तर चैत मसान्तसम्ममा ९५ करोड ७० लाख खुद नाफा भयो र बाँकी तीन महिनामा ५५ करोड नाफाको लक्ष्य पुरा हुन सक्दैन भन्ने बैंकको ठम्याई रह्यो । ‘तरलताको अभावले लगानी विस्तार सोचेजति गर्न सकिएन, निक्षेपको व्याजदर वृद्धिले लक्ष्य अनुसार नाफा आर्जन गर्न नसकिने देखियो’ बैंकका एक जना सञ्चालकले भने–‘असार मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब नपुगेको अवस्थामा राष्ट्र बैंकले कारवाही गर्न सक्ने जोखिम देख्यौं । त्यस्तो जोखिमको बाटोमा जानु भन्दा हकप्रद सेयर निष्काशन गरेर सहज ढंगले बैंकलाई अगाडि बढाउने निर्णय भएको हो ।’ जगेडा तथा संचित कोष बलियो बनाएर बैंकलाई स्मूथली अगाडि लैजाने सञ्चालक समितिको निष्कर्ष छ । ‘राष्ट्र बैंकले पुँजी वृद्धिको समय थपेन भने नयाँ निक्षेप लिन, नयाँ कर्जा प्रवाह गर्न, शाखा विस्तार गर्न रोक लगाउने जस्तो गम्भिर कारवाही गर्न सक्छ, त्यो अवस्थामा बैंकलाई ठूलो नोक्सानी हुनसक्छ । त्यस्तो जोखिम हामीले लिन चाहेनौ’ उनले भने ।
उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल जेनेभा प्रस्थान
काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ औँ महासभामा भाग लिन आइतबार जेनेभा गएका छन् । नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधि मूलक संस्था नेपाल उद्योग परिसंघबाट पहिलो पटक उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागी भएको छ । नेपाल उद्योग परिसंघलाई उपलब्ध गराइएको यस अवसरले एकातिर नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालउद्योग परिसंघ र मुलुकको निजी क्षेत्र बीचको सम्बन्ध थप सुमधुर रहेको देखाएको छ । साथै, अर्कातिर निजी क्षेत्रको ६० प्रतिशतभन्दा बढी औपचारिक रोजगारी प्रदान गर्दै आएको क्षेत्रको परिसंघका उद्योग प्रतिष्ठानहरु एवं ट्रेड युनियनहरु बीचको औद्योगिक सम्बन्ध विश्वासमा थप सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।
माछापुच्छ्रे बैंकको हिले शाखाद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार धनकुटाको हिलेमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटी धनकुटासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका छन् । माछापुच्छ्रे बैंक हिले शाखाका शाखा प्रबन्धक रमेश अधिकारीले उक्त कार्यक्रममा संकलन गरीएको ५२ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटीको धरान स्थित बल्ड बैंकलाई हस्तान्तरण गरेका छन् । ६ अर्व ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अबधिमा१ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको बैंकले बताएको छ । बैकले नेपालभर आफ्ना शाखाहरु स्थापना गरी ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
ट्राफिक कारवाहीमा संसारमै एक नम्बर काठमाडौं, बर्षेनी ६ लाख नागरिक फन्दामा
काठमाडौं । संसारमै धेरै संख्यामा ट्राफिक कारवाही हुने राजधानीहरुको सूचिमा काठमाडौं उपत्यका पहिलो नम्बरमा देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका पुर्व प्रमुख समेत रहेका नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालले व्यवस्थापिका संसदको विकास समितिमा शुक्रबार आयोजीत छलफलमा भने–काठमाडौं उपत्यका संसारमै सबैै भन्दा धेरै नागरिकलाई ट्राफिक नियम उल्लंघन गगरेकोमा कारवाही गर्ने राजधानीका रुपमा स्थापित छ, हामी बर्षेनी ६ लाख भन्दा बढि नागरिकलाई उपत्यकामा मात्रै कारवाही गरिरहेका छौं ।’ उनका अनसार चालु आर्थिक बर्षको जेठ २६ गतेसम्ममा ५ लाख ६९ हजार ८ सय १५ जनालाई राजधानी उपत्यका भित्रै कारवाही गरिसकिएको छ । जबकी गत आवमा पनि ५ लाख ४८ हजार ४ सय ७० जनालाई उपत्यकामा कारवाही गरिएको थियो । बैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिएकोमा हालसम्म ५५०७ जनलाई कारवाही गरिएको छ । महाशाखाले जेष्ठ १६ गते देखि जथभावी बाटो काट्ने सर्वसाधारणलाई पनि २ सय रुपैंयाँ जरिवाना असुल्न थालेको थियो । जेठ २६ गतेसम्ममा जथाभावी बाटो काट्ने १० हजार ६ सय ३९ जनाबाट प्रति व्यक्ति २ सय रुपैंयाँ जरिवाना असुलिसकेको छ । गत आवमै उपत्यकामा १६६ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो भने २७५ जना गम्भिर घाइते भएका थिए । त्यस्तै, ३ हजार ९ सय १ जना सामान्य घाइते भएका थिए । प्रहरी प्रमुख अर्यालले कारवाहीको मात्रा न्युन भएकाले धेरै नागरिकलाई कारवाही गरिएपनि नियम उल्लघंनका घट्नामा कमि नआएको दावी गरे ।‘हामीले धेरै संख्यामा कारवाही गरिरहेका छौं, तर कारवाहीको जोखिम कम भएकाले नियम उल्लंघन घटेको छैन बरु बढेको छ, त्यसैले अब कारवाहीको मात्रा बढाउनुपर्छ’, अर्यालले भने । उता, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले पनि जोखिमको मात्रा वृद्धि नगरि राजधानीको ट्राफिक व्यवस्थापन सहज नहुने बताए ।
कतार एयरवेजद्वारा ईफ्टर डिनर आयोजित
काठमाडौं । रमादानको अवसरमा कतार एयरवेज नेपालले नेपाल सरकारका विशिष्ट पाहुना, नेपाल हाजी कमिटी, तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरु तथा विभिन्न दूतावासका प्रतिनिधिहरुका लागि ईफ्टर डिनर आयोजना गरेको छ । सूर्य अस्ताएपछि दिनभरको उपवास तोड्न मुस्लिम समूदायले साँझपख खाइने परम्परागत खानालाई इफ्टर भनिन्छ । सेक्यूलर नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न धार्मिक समुदायका प्रतिस्थित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
नेपाल बङ्गलादेश बैंकको ४५ औं शाखा चाबहिलमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा काठमाडौँको मित्रपार्क, चाबहिलमा आफ्नो ४५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बैंकका सञ्चालक समितिका सदस्यहरुकोे उपस्थितिमा बैंकका अध्यक्ष जलाल अहमदले गरेका थिए । साथै, कार्यक्रममा उपस्थित काठमाडौं नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टिकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भुतपूर्व डेपुटी गर्भनर प्रफुल्लकुमार काफ्ले तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमारडङ्गोलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य राखेका थिए । चाबहिल शाखा सहित बैंकले ४५ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ ।
अपहरणमा परेका व्यवसायी श्रेष्ठको रिहाइको माग
दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ । सङ्घका अध्यक्ष विमल रिजालले यथाशक्य रिहाइका लागि अपिल एवम् सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ । साथै उनले व्यावसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसँग अनुरोध पनि गरेका छन् । अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलब्ध गराई सहयोग गरी दिनसमेत अनुरोध गरेका छन् । तुलसीपुरमा व्यवसायी एकाएक अपहरणमा पर्ने घटना पटक पटक दोहोरिएपछि यहाँ व्यवसायी चिन्तित बनेका छन् । शुक्रबार तुलसीपुरबाट राति ८ बजे अपहरणमा परेका व्यापारी श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । कल डिटेलका आधारमा गरिएको अनुसन्धानबाट अपराधीकोे नजिक पुगेको प्रहरीको दाबी छ । रासस