विकासन्युज

बाहिरी चक्रपथ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

काठमाडौँ । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ । चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरीले यसै साता निर्णय गरेका हुन्  । मन्त्रिपरिषद्ले निर्णय गरेपछि जग्गा प्राप्ति ऐनअनुसार जग्गा विकासको काम शुरु हुन्छ । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण गर्न सरकारले चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गतवर्ष चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न ठोस निर्णय गरेको थियो । जग्गा विकासका लागि त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । यसमा ९६ जनाले उजुरी दर्ता गरेका थिए । आयोजना रोकिन कम्तीमा पनि चार हजार असहमतिका उजुरी पर्नुपर्नेमा ९६ वटा मात्र उजुरी परेपछि काम शुरु भएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी िदए । “चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथको काम शुरु भएको हो”–उहाँले भने । बाहिरी चक्रपथको सडक ५० मिटरको हुनेछ । राजमार्ग जस्तै केन्द्रबाट दुवैतिर २५/२५ मिटर जग्गा लिएर चक्रपथ बनाइने प्राधिकरणले जनाएको छ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य तीन सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गनुपर्ने उनले बताए । “असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये पनि अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशत भन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको संख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको संख्या कम छ” – प्रवक्ता न्यौपानेले भने। बाहिरी चक्रपथ निर्माण प्रक्रियामा पाँचवर्ष अघि कीर्तिपुर नगरपालिकाका स्थानीयवासीले चर्को विरोध गरेका थिए । यसपटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ । यसबीचमा विसं २०७२ वैशाख १२ गते आएको भूकम्पले स्थानीयवासीको मन परिवर्तन भएको प्राधिकरणको बुझाइ छ । प्राधिकरणले जनचेतना जगाएकाले पनि स्थानीयवासी सकारात्मक बनेका हुन् । सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण कार्यअघि बढ्ने भएको छ । बाहिरी चक्रपथको यो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिने छ । यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । यही खण्ड निर्माणको सुनिश्चितता भएपछि बाहिरी चक्रपथ बन्ने पक्का भएको हो । रासस

शिखर शुज क्रेजिमेलाको म्याद दुई दिन थप, कात्तिक २८ गते सम्म हुने

काठमाडौं । शिखर शुजले भृकुटीमण्डपमा जारी गरेको शुज क्रेजिमेलाको म्याद दुई दिन थप भएको छ । २० दिनसम्म चल्ने भनिएको उक्त मेला अब कात्तिक २८ गते सम्म हुने भएकोे छ । कात्तिक ६ गतेदेखि शुरु भएको उक्त मेलामा मेलामा शिखर शुजले हरेक जुत्ता चप्पलको खदिमा १० देखि ७० प्रतिशत सम्मको छुट दिँदै आएको छ । जाडोयामको जुत्ता, छालाको जुत्ता र स्कुलका जुत्ता किन्न गा्रहक वर्गको दिनहुँ घुँइचो लागि रहेको कुरा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिएका छन् । ग्राहकहरुको आग्रहलाई ध्यानमा राखी यो मेला थप २ दिनसम्म लम्बाइएको उनले बताए । उक्त मेलामा हरेक शिखर जुत्ताका खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाउनुको साथ ५०० रुपैयाँमा छालाको, कपडाको जुत्ता छानी छानी पाइनेछ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

झापामा अर्बौको विकास कार्यक्रम पारेको नेता सिटौलाको दावी

झापा । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा विजय प्राप्त गरेपछिका चार बर्षमा क्षेत्र नं ३ मा १ अर्व बढीका विकास योजना ल्याएको दावी गरेका छन् । शुक्रवार भद्रपुरमा पत्रकारहरुसित अन्तर्क्रिया गर्दै नेता सिटौलाले पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्दा शान्ति प्रकृया पनि अलपत्र परेपछि दोस्रो संविधान सभा निर्वाचनमा जनतासित परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गएको बताए । उहाँले २०६२र०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तकामी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य भएको बताए । उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताउँदै दुवै पार्टीले २०४६ सालको जनआन्दोलनका पहिलो सहिद राम थापाको बलिदानलाई अवमूल्यन गरेको बताए । सिटौलाले आफू परिवर्तनको लडाँईमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै शान्ति र सम्बृद्धिको सपना पूरा गर्न नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको बताए । उनले अलपत्र हुलाकी सडक र मेची अञ्चल अस्पतालको स्तरीकरण आफ्नै कार्यकालमा भएको उल्लेख गरे । सिटौलाले खानेपानी, ग्रामीण सडक, सामुदायिक भवन, विद्यालय भवन जस्ता भौतिक संरचनाका काम तीव्र गतिमा भइरहेको बताएका छन् । नेता सिटौलाले प्रदेश नम्वर १ को सरकारी मेडिकल कलेजका रुपमा मेची अस्पताल विकसित हुने प्रकृयामा गइसकेको उल्लेख गर्दै मेची नदी नियन्त्रण र देउनिया खोला पूल निर्माण अगाडि बढिरहेको उल्लेख गरेका छन् । झापाको सदरमुकाम समेत रहेको झापा क्षेत्र नम्वर ३ नेपालको राजनीतिक परिवर्तनको उद्गम भएको उल्लेख गदैै सिटौलाले अग्रगमनका पक्षधर झापाली जनता राजनीतिक परिवर्तनलाई उल्ट्याउनेहरुको पक्षमा जान नसक्ने बताए । उनले सबै मतदातासंग नेपाली काँग्रेसलाई मतदान गर्न अनुरोध गरेका छन् । झापाको क्षेत्र नं ३ मा एमाले र माओवादीको गठवन्धनले उम्मेद्वार उठाएको छैन् । यसैगरी नेता सिटौलाले शुक्रबारै भद्रपुरमा संचारकर्मी, शिक्षक, उद्योपति, विभन्न धर्मका गुरुहरु, वौद्धिक वर्गसित छलफल गरेका छन्।

चिनियाँ टोलीको निष्कर्षः नेपालमा रेलमार्ग निर्माण गर्न सकिन्छ, केरुङ-काठमाडौं प्राथमिकतामा

काठमाडौं । चिनियाँ उपमन्त्री नेतृत्वको उच्चस्तरिय प्रतिनिधीमण्डलले नेपालमा रेलमार्ग निर्माणको सम्भावना रहेको निष्कर्ष निकालेको छ । नेपालमा रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आएको उपमन्त्री नेतृत्वको टोलीले नेपालमा रेल मार्ग निर्माणको सम्भावना रहेको निष्कर्ष निकालेको हो । टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीसँग मिटिंग माइन्युटमा हस्ताक्षर गर्दै रेल मार्ग निर्माणका लागि द्धिदेशिय सहकार्य गर्ने बताएको हो । ‘नेपालको भुबनोट, प्रशासनिक तथा कानुनी उल्झन र राजनीतिक कारणले केहि जटिलता भएपनि रेलमार्ग बनाउन सकिन्छ भन्ने निष्कर्ष चिनियाँ टोलीले निकालेको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेको थियो । अध्ययन टोलीमा रेल चिनियाँ रेलवे प्रशासनका प्राबिधि, वित्तिय व्यवस्थापक लगायतको सहभागीता रहेको थियो । चीनले नेपालमा रेलमार्ग निर्माणमा आफ्नो सहयोग रहने तर प्रशासनिकत जटिलता र नितिगत अस्पष्टता भने समयमै अन्त्य हुनुपर्ने बताएको छ । चिनले पहिलो चरणमा केरुङ हुँदै रसुवागढीबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणमा चासो देखाएको छ । रेल मार्ग निर्माणका लागि चिन संसारमै अब्बल मानिन्छ । चिनले उच्च पहाड र हिमाली भुखण्डमा पनि द्रुतगतिको रेलमार्गहरु निर्माण गरिरहेको छ । आफ्नो महत्वकांक्षी परियोजना ओबिओआरको विस्तारका क्रममा चिनले नेपाल हुँदै आफ्नो रेलमार्ग भारत र दक्षिण एसियासम्म विस्तार गर्न चाहेको छ ।

दुई कम्पनीको १३ करोडको बोनस सेयर सूचिकृत, क-कसको भयो?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एकैदिन दुई बीमा कम्पनीको १३ करोड ६४ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्र नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको हो । बोर्डमा नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत(एक लाख ४३ हजार ८०४ कित्ता) बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत(अर्थात १२ लाख २० हजार ०४० कित्ता) बोनस सेयर सूचिकृत भएको हो । बोर्डमा यी दुई कम्पनीको गरी जम्मा १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर थपिएको छ । यी दुई कम्पनी सहित धितोपत्र बोर्डमा हालसम्म १२ कम्पनीको एक अर्ब ३५ करोड ९७ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ ।  

२ अर्ब ३३ करोडको हकप्रद सेयर आउँदै, एकैदिन तीन कम्पनीले पाए बोर्डको अनुमति

काठमाडौं । बजारमा विभिन्न तीन कम्पनीका २ अर्ब ३३ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले एकैदिन(कात्तिक २३ गते) तीन कम्पनीलाई सो मात्राको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति सँगै सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र साङ्ग्रिला डेभलपमेन्ट बैंकले कुल २ करोड ३३ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् । सेन्ट्रल फाइनान्सले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ। बैंकलाई २ करोड ७ लाख कित्ता सेयर बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट मार्फत बिक्री गर्न बोर्डले अनुमति दिएको हो । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई (३० प्रतिशत) १२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत बिक्री गर्न अनुमति दिएको हो । त्यसैगरी, साङ्ग्रिला डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको छ । यस बैंकले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर १२ करोड ८३ लाख रुपैयाँमा बिक्री गर्ने भएको छ । बैंकलाई सो मात्राको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत निश्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण

काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले सेवा शुल्कका नाममा ठगी गरेको पाइएको छ । अस्पतालमा स्वास्थ्य सेवा कर बापत ५ प्रतिशत शुल्क उठाउने व्यवस्था छ । तर, अस्पतालले थप १३ प्रतिशत शुल्क जोडेर सेवा शुल्कका नाममा ठगी गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको छ । विभागका महानिर्देशक कुमार दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘कानुनी प्रावधान अनुसार ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउने व्यवस्था छ । अन्य शुल्क लिने व्यवस्था त कतै उल्लेख छैन ।’ अनुगमन टोलीले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न अस्पताललाई निर्देशन दिएको थियो ।  अस्पतालले उक्त शुल्क पनि सरकारलाई नतिरी आफैंले लिइरहेको उनले बताए । जिल्ला जन स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन भोलनाथ पौडेलका अनुसार अस्पतालले मनपरी ढंगले सेवा शुल्क लिन पाउने व्यवस्था छैन । उनले भने, ‘होटल, रेष्टुरेन्टहरुमा सर्भिस चार्ज (सेवा शुल्क) लिइएको थाहा छ । तर अस्पतालमा लिन पाउने व्यवस्था छैन ।’ स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. हेमन्तचन्द्र ओझाले अस्पतालले स्वास्थ्य सेवाका नाममा ५ प्रतिशत भन्दा फरक अन्य शुल्क पाउने व्यवस्था नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अन्य सेवा शूल्कको विषय हो भने त्यो अर्थ मन्त्रालयसँग सम्बन्धीत छ । तर जहाँसम्म स्वास्थ्य सेवाको कुरा छ- ५ प्रतिशत भन्दा बढी लिन पाइन्न ।’ स्वीकृती भन्दा बढी बेड सञ्चालनमा उक्त अनुगमनका क्रममा अस्पतालले स्वीकृती लिएको भन्दा बढी बेड सञ्चालन गरेको पाइएको छ । अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक निरोज घिमिरेले जानकारी दिए । ‘१ सय वटा बेड स्विकृती लिएको नर्भिक अस्पतालले १३० वटा बेड चलाइरहेको छ, ‘उनले भने, ‘उनीहरुले २ सय वटा बेडका लागि स्वीकृती  माग गरेको पत्र देखाएका छन् । तर निवदेन स्वीकृत नभई बेड सञ्चालन गर्न पाइन्न ।’ स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती निर्देशिका अनुसार अस्पतालले बेड सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागसँग स्वीकृती लिनूपर्ने व्यवस्था रहेको स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. ओझाले जानकारी दिए । उनले भने, ‘त्यस्तो पाइएका हामी अस्पताललाई सुरुमा सुध्रने मौका दिन्छौं । त्यसपछि पनि अटेर गरेको पाइएका उक्त अस्पताललाई आंशिक वा पूर्णरुपमा बन्द गर्छौं ।’ ‘सेवा शुल्क सर्वमान्य छ‘ अस्पताल सेवा शुल्क लिनु गलत नभएको नर्भीक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले दाबी गरेका छन् । उनले भने, ‘हामीले अस्पताल सेवा शुल्क लिन पाउदैनौं भन्ने कुन कानुनमा उल्लेख छ ? हामीले लिने सेवा शुल्क बिल्कुल जायज छ ।’ उनले स्विकृती नलिई बेड सञ्चालनमा ल्याएको भन्ने कुरा गलत भएको उनले बताए । उनले आक्रोशपूर्वक कुरा गर्दै भने, ‘कसले भन्यो स्वीकृती नलिई बेड सञ्चालन गर्‍यौं ?’

‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’

काठमाडौं । “पहिले पहिले हामी सुतिसक्दा बत्ती हुन्थेन, हामी उठ्दा बत्ती गइसक्थ्यो । अहिले त बत्ती बाल्न पनि पाइएको छ । छोराछोरीलाई पढ्न समस्या भएको छैन । हामी त असाध्यै खुसी छौँ । विद्युत्भार कटौतीको अन्त्यपछि त नयाँ जीवन पाए जस्तो भएको छ”, यो भनाइ हो तारकेश्वर नगरपालिका- ११ नेपालटारका राम मानन्धरको । गत वर्षदेखि मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्यसँगै नागरिकमा खुसियाली छाएको छ । जीवनमा आधारभूत परिवर्तन विद्युत्भार कटौतीको अन्त्यपछि आएकामा यहाँका बासिन्दाले राहतको अनुभव गरेका छन् । “आमा दमको रोगी हुनुहुन्छ, पहिले बिजुली नभएर पानी तताउन समस्या हुन्थ्यो, अहिले त्यस्तो छैन, जनताको यस्तै काम गर्नेलाई मेरो परिवारको मत पक्का”, टोखा नगरपालिका– ९ की शान्ति आचार्यले भने । प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नं ६ का वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले आफू र आफ्नो गठबन्धनलाई मत माग्दै घरदैलो अभियानमा पुगेका बेला स्थानीयवासीले विद्युत्भार कटौतीको अन्त्य जस्तै जनताको जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको थियो । काठमाडौँ महानगरभित्रका सडककोभन्दा महानगरसँग जोडिएका नगरपालिकाभित्रका सडकको अवस्था झनै खराब छ । तारकेश्वर नगरपालिका प्रवेश गर्ने अधिकांश सडक कच्ची छन् । नाम मात्रको कालोपत्र भए पनि नागरिकले दैनिकजसो धुवाँ र धुलोको समस्या भोग्नु परेको छ । वाम गठबन्धनका उम्मेदवार सुवेदीसँग नागरिकको आग्रह छ, “भत्किएका सडक कालोपत्र गरियोस् ।” “धुलोले व्यापार व्यवसाय गर्न समस्या भएको छ । रुघा खोकी कहिल्यै निको हुँदैन । बिहान लगाएको लुगा साँझसम्म मैलो भइसक्छ, म त धुले सडक कालोपत्र गर्नेलाई मत दिन्छु,” पहिलोपटक मतदानमा सहभागी हुन लाग्नुभएकी फुटुङकी नवीना पाण्डेले भने । मत माग्न पुगेका उम्मेदवारसँग अधिकांश नागरिकले जनजीवनसँग जोडिएको विषयमा जिज्ञासा राखेका छन् । उनीहरुले जिज्ञासासँगै व्यावहारिक कार्यान्वयन हुने उत्तरसमेत खोजेका छन् । केहीले विगतमा विजयी भएकाले जनतालाई फर्केर नहेरेको भन्दै गुनासो पनि गरेका छन् । चुनावको बेला मात्रै सम्झने कि अरु समयमा पनि जनताले आफ्नो प्रतिनिधि भेट्न पाउने हो रु मतदाताले अधिकांश उम्मेदवारसँग राख्ने जिज्ञासा यही यो । संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान विजयी भएका थिए । अहिले पनि सो क्षेत्रमा रक्षा मन्त्रीसमेत रहेका प्रधान नै उम्मेदवार छन् । उनले पनि निर्वाचन अभियान शुरु गरेका छन् । प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्दै छन् । गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा काँग्रेसले ११ हजार ३१५, नेकपा ९एमाले०ले १२ हजार ७९८, माओवादी केन्द्रले तीन हजार ६९३ र राप्रपाले ९५६ मत पाएको थियो । यस आधारमा सो क्षेत्रमा वाम गठबन्धनको १६ हजार ४९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २७१ मत छ । वाम गठबन्धन चार हजार २२० मतले अगाडि देखिएको छ । सो क्षेत्रको उम्मेदवार रहेका मन्त्री प्रधान काठमाडौँका स्थानीय बासिन्दा हुन् भने माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेका सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र नेता सुवेदीबीच नै सो क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । मतदातासँग भेटघाटमा रहेका सुवेदी जनताको चाहना जस्तै कालोपत्र सडक, विकास निर्माणको एजेण्डालाई साकार पार्न स्थिर सरकार निर्माण गर्ने लक्ष्यका साथ आफू उम्मेदवार भएको बताउँछन् । उनी आफू रोल्पाको भए पनि संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएको, पछिल्लो दिनमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्मको तयारीका कारण आफू र आफ्नो गठबन्धन विजयी हुने विश्वास व्यक्त गर्छन्। “केही मान्छेले म रोल्पाको भएको भन्दै गलत प्रचार गरेका छन्, तर मुलुकको जुनसुकै स्थान पनि मेरो लागि आफ्नै ठाउँ जत्तिकै महत्वपूर्ण छ,” सुवेदीले भने । काँग्रेस उम्मेदवार प्रधान आफूलाई विगतमा पनि काठमाडौँ क्षेत्र नं ६ का जनताले विजयी गराएको र यसपटक पनि आफू नै विजयी हुने बताउँछन् । निर्वाचन प्रचार अभियान शुरु भइसकेको जानकारी दिँदै उनी भन्छन्, “काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने योजना, नीति र कार्यक्रम मसँग मात्रै छ ।” सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११, टोखा नगरपालिकाको वडा नं ८, ९, १० र ११ रहेको छ । तीमध्ये गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका तीन वडामध्ये दुईवटामा काँग्रेस र एउटा वडामा एमाले विजयी भएको थियो । तारकेश्वर नगरपालिकाको आठवटा वडामध्ये सातमा एमाले र एउटामा काँग्रेस विजयी भएको थियो । सोही क्षेत्रमा काठमाडौं महानगरका पूर्व प्रमुख केशव स्थापित पनि प्रदेश सभाको उम्मेदवार छन् । स्थापित भन्छन्, “हामीले निर्वाचन अभियान शुरु गरिसकेका छौँ, हाम्रो गठबन्धन विजयी हुन्छ ।” रासस