सिभिल अस्पताल अर्थात् संकटको सारथी
काठमाडौं । नयाँ बानेस्वरस्थित संसद भवनबाट चार कदम हिँड्दा पुगिन्छ– सिभिल अस्पताल । यो अस्पताल जहिल्यै राजधानीको राजनीतिक गतिविधि मात्र नभई विपद र आन्दोलनको पहिलो आश्रयस्थल बन्छ । संसद भवन अगाडि हुने आत्मदाहका प्रयास होस् वा केही दिनअघिको जेनजीहरूको प्रदर्शनमा घाइते भएकाहरू हुन् सबैभन्दा पहिले सिभिल अस्पतालमै पुग्छन् । सकेको उपचार सिभिल आफैले गर्छ भने ट्रमाका केशहरू ट्रमा सेन्टरमा रिफर गरिदिन्छ । हालैको जेनजी आन्दोलनमा समेत सयौं घाइते एकै पटक सिभिल अस्पताल पुगे । अस्पतालको करिडोरदेखि आकस्मिक कक्षसम्म भीडभाड भयो, कल्पनाभन्दा बाहिरको घटना एक्कासि हुँदा अस्पतालका कर्मचारी र चिकित्सक पनि आत्तिए । ओपीडी सेवा बन्द गरी सबै कर्मचारी, चिकित्सक घाइतेको उपचारमा लागे । सामान्यदेखि विक्षिप्त अवस्थामा अस्पताल पुगेका ४ सय ६१ जनाको उपचार सिभिलले गर्यो भने ६ जनाका मृत्यु भयो । ५० जनाको शल्यक्रिया गरेको अस्पतालले जानकारी दिएको छ । ४ सय ४५ जना घर फर्किसकेका छन् भने एक जना अहिले पनि आईसीयूमा उपचाररत छन् । दुई जना वार्डमा उपचाररत छन् । कतिपय बिरामीहरू अहिले फलोअपमा छन् । हरेक आन्दोलनको साक्षी सन् २००९ सालदेखि सेवा दिँदै आएको अस्पतालको मुख्य उद्देश्य निजामती कर्मचारी र उनको परिवारलाई सेवा दिनु थियो । तर, अन्य बिरामी पनि अस्पतालमा आउँदा उनीहरूलाई फर्काउन सक्ने अवस्था थिएन । केही वर्षपछि यो अस्पतालले सर्वसाधारणलाई समेत सेवा दिन सुरु गरेको थियो । त्यसपछिका हरेक विपतमा सिभिल उपचारमा तल्लीन छ । योभन्दा अगाडि बानेश्वरमा भएका सामान्यदेखि ठूला घटनाका घाइतेलाई निको बनाएको रेकर्ड सिभिलसँग छ । त्यस्ता आन्दोलन र प्रदर्शनमा घाइते भएका कतिलाई उपचार गर्यो भन्ने यकिन रेकर्ड त छैन तर सिभिल हरेक आन्दोलन र प्रदर्शनको साक्षी बन्दै आएको छ । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मी भन्छन्, ‘अस्पताल बिरामीलाई सेवा दिन खोलिएको हुन्छ, को आन्दोलनकारी, को प्रदर्शनकारी, हाम्रा लागि सबै बिरामी एउटै हुन्, सेवामा हामीले तल-माथि गर्दैनौं ।’ गत चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनमा पनि धेरै जना घाइते भए । ती सबै घाइतेहरू सबैभन्दा पहिले सिभिल अस्पतालमा पु¥याइएको थियो । अस्पतालले सकेजति आफै उपचार गरेको थियो भने गम्भीरलाई ट्रमा सेन्टरमा पठाएको थियो । त्योभन्दा अगाडि बानेश्वरमै शिक्षक र प्रहरीबीच झडप भयो । त्यो बेला पनि सिभिल अस्पताल नै उपचार गर्ने पहिलो अस्पताल बन्यो । कर्मचारीको नजरमा भदाै २३ गत भदौ २३ गते सिंहदरबारमा संसदीय समितिको बैठक चलिरहेको थियो । सिभिल अस्पतालका निर्देशक एवं स्त्रीरोग विशेषज्ञ डा. चन्द्रमोहनलाई त्यो बैठकमा निम्तो थियो । पौने ११ बजेको थियो । सडकमा युवाहरूको जमात बाक्लो भइसकेको थियो । भीड हेर्दा मन दोधार भइरहेको थियो । यो आन्दोलनले कतै ठूलो रूप त लिँदैन ? यस्तो अवस्थामा जाने कि नजाने भन्नेमा मन दोधार थियो । तर, उनी निस्किए । बैठकमा स्वास्थ्य सचिव अस्पतालका निर्देशकहरू थिए । उनले बैठकमा सडकको अवस्थाबारे जानकारी गराए । सम्भावित जोखिम पनि सुनाए । उनी भन्छन्, ‘बाहिरको अवस्था हेर्दा डरलाग्दो छ, हामीलाई एम्बुलेन्स आवश्यक पर्न सक्छ, सबैले सक्दो सहयोग गर्नुपर्छ ।’ यति कुरा राखेर उनी निस्कँदासम्म प्रदर्शन सुरु भइसकेको थियो । बाटोभरि मानिस भएकाले गाडीमा आउन सम्भव थिएन । उनी एम्बुलेन्समार्फत अस्पताल पुगे । त्यो बेलासम्म बानेश्वर एरिया पुरै रणभूमिमा परिणत भइसकेको थियो, अस्पतालको प्रांगण घाइतेहरूले भरिएको थियो । सुरुमा डा. रेग्मी आफै अन्यौलमा परे, स्कुल ड्रेसमै विद्यार्थीहरू रगतले लतपतिरहेका थिए । कसैको टाउकोमा, कसैको छातीमा गोली लागेको थियो । तर, त्यो बेला हरेस खाएर भाग्ने अवस्था थिएन । उनले अस्पतालका सबै कर्मचारीलाई उपचारमा लाग्न निर्देशन दिए । सिभिलले ‘डिजास्टर म्यानेजमेन्ट प्लान’अन्तर्गत रिजर्भ जनशक्ति तुरुन्तै परिचालन गर्यो । अस्पतालमा भएका बिदामा बसेका कर्मचारी, चिकित्सकलाई बोलाइयो । घाइतेको संख्या ठूलो आउन थालेपछि सबै जनालाई इमर्जेन्सी उपचारमा केन्द्रित ग¥यो । डा. रेग्मी भन्छन्, ‘हामीले अस्पतालको जुन ठाउँ खाली छ, त्यसलाई प्रयोगमा ल्यायौं । बिरामीहरू रेस्ट गर्ने, बस्ने सबै ठाउँ तुरुन्त खाली गरेर इमर्जेन्सीमा कन्भर्ट ग¥यौं र उपचार सुरु ग¥यौं । सम्पूर्ण जनशक्ति नै उपचारमा केन्द्रित भयो ।’ यस्तो बेलामा सिभिलका कर्मचारीले मात्र काम गर्न सक्ने अवस्था थिएन । निर्देशक डा. रेग्मीले बैठकमै सम्भावित जोखिमको बारेमा भनिसकेका थिए । सिभिलका कर्मचारीले चार सय जनालाई हेर्न नसक्दा बाहिरका अन्य चिकित्सक नर्स र अन्य स्वास्थ्यकर्मीको टोली आयो । स्वास्थ्य मन्त्रालय र अन्य स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीको टोली आउँदा उपचार सम्भव भयो । निर्देशक रेग्मीले दुई वर्ष सिभिलमा एक डाक्टरका रूपमा काम गरे । ६ महिनादेखि अहिले निर्देशकको रूपमा काम गरिरहेका छन् । उनले आफूले २३ गतेको जस्तो दृश्य कहिल्यै देखेको अनुभव सुनाए । ‘यहाँ काम गर्दा मात्र होइन, यो क्षेत्रमा लागेको अहिलेसम्म पनि यस्तो देखेको थिइनँ । पहिलो पटक एक्कासि यस्तो हुँदा मेरो मानसपटलमा अहिले पनि असर परिरहेको छ,’ उनले भने । जहिल्यै पूर्वतयारी काठमाडौं उपत्यकामा कुनै राजनीतिक दल, समूह वा कुनै पीडितहरूले आन्दोलनको घोषणा गर्दा सिभिललाई छटपटी हुन्छ । अझ बढी छटपटी संसद भवन वरिपरि गरिने प्रदर्शनमा हुन्छ । संसद भवन, तीनकुने, माइतीघर हरेक नागरिकको न्याय माग्ने ठाउँ बनेको छ । सिंहदरबार र संसद भवन नजिकै हुँदाको प्रभाव अस्पताललाई पनि परेको डा. रेग्मी बताउँछन् । उनले विगतमा भएका केही घटनाले सिभिललाई तयारी गर्न सिकाएको जानकारी दिए । उनी भन्छन्, ‘काठमाडौंमा केही आन्दोलन वा प्रदर्शन हुँदैछ भने हामी अघिल्लो दिनबाटै तयारी सुरु गर्छौं, यो घटनामा पनि हामी अघिल्लो दिनबाट तयारीमा रहनुपर्छ भन्ने मानसिकतामा थियौं, तर यो हदसम्मको हुन्छ भन्ने कल्पना भने थिएन ।’ डा. मोहनचन्द्र रेग्मी अस्पतालभित्रै बुट र अश्रुग्यास भदौ २३ र २४ गते भएको आन्दोलनले ठूलो धनजनको क्षति भयो । प्रहरी अस्पतालभित्रै प्रवेश गर्यो । अस्पतालभित्रै प्रहरीका बुटहरु बजारिए । उपचारमा खटिएका चिकित्सक नर्सहरूलाई समेत केही समय उपचारमा समस्या भयो । अवस्था निकै जोखिमपूर्ण थियो । अस्पतालभित्र स्वास्थ्यकर्मी नै असुरक्षित भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘प्रदर्शनकारी साथीहरू वरिपरि हुनुहुन्थ्यो । हामीले पछाडिको गेट खुला गरेर धेरै ठूलो संख्यामा प्रदर्शनकारीहरूलाई पछाडिबाट बाहिर निस्किन लगायौं नत्र भने क्षति अझ धेरै ठूलो हुन्थ्यो,’ अस्पतालका निर्देशक डा. रेग्मी भन्छन्, ‘हामीले यसो नगरेको भए अवस्था अझै खराब हुन्थ्यो, त्यतिबेला हामी कसैसँग प्रश्न गर्ने अवस्थामा थिएनौं । जे भएपनि हामीले सयौंको जीवन बचायौं । तर म कामना गर्छु कि विद्यालय, अस्पताल जस्ता पवित्र संस्था चाहिँ द्वन्द्वको मारमा नपरेको भए हुन्थ्यो ।’ उनी अब फेरि यस्तो अवस्था नआओस् भनेर कामना समेत गर्छन् । अस्पताललाई धम्की अस्पतालमा कहिलेकाँही काम गर्दागर्दै पनि अप्ठ्यारो स्थिति आउने चिकित्सक बताउँछन् । कहिलेकाहीँ आन्दोलनरत पक्ष र सरकार पक्षबाट पनि दबाब भएको जस्तो महसुस सिभिल अस्पतालका चिकित्सकले गरेका छन् । बिरामीका गोली, छर्राहरू निकाल्न ढिलो भयो, ढिला ग¥यो भन्ने हल्ला फैलिन्छ । यस्तै बेला गलत सूचना प्रवाह हुने सम्भावना पनि उत्तिकै हुन्छ । निर्देशक डा. रेग्मी दिग्भ्रमित गर्न खोज्ने विषयवस्तुको गहिराइमा नपुगी सूचना दिँदा कहिलेकाहीँ काम गर्न अप्ठ्यारो हुने गरेको सुनाउँछन् । ‘प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा अस्पताल के बन्न सक्दो रहेछ भन्ने कुरा हामीले यो पटक देख्यौं,’ डा. रेग्मी भन्छन्,‘ धम्कीको पनि महसुस गर्यौं । यही अस्पताल भित्रै पनि आगजनी हुने स्थिति थियो, तर सम्झाई–बुझाई, गर्दा उहाँहरूले मान्नुभयो ।’ आपतकालीन स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने आन्दोलनमा मात्र होइन, अन्य समयमा पनि अस्पतालमा बिरामीको भीड लाग्छ । हरेक दिन ओपीडीमा ८÷९ सय बिरामी उपचारका लागि पुग्छन् । विपतमा बढी नागरिकको भरोसा हुने सिभिल अस्पताललाई अब राष्ट्रिय आपतकालीन स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने सोच निर्देशकको छ । उनी यो विषयमा कुरा गरिरहेको बताउँछन् । सिभिल अस्पतालमा रहेको इमर्जेन्सीको टिम सबै डब्लुएचओको प्रोटोकलअनुसार तालिमप्राप्त छ । बेलाबेला रिफ्रेसर ट्रेनिङहरू भइराखेको हुन्छ । अस्पतालले अबको केही दिनपछि यो घटनालाई प्राथमिकतामा राखेर तालिम र त्यसको रिफ्रेसर ट्रेनिङ दिने योजना बनाएको छ । चिकित्सक मानसिक रूपमा विक्षिप्त भदौ २३ र २४ गते भएको आन्दोलनले चिकित्सक मानसिक रूपमा विक्षिप्त भएका छन् । रक्ताम्य अवस्थामा घाइतेको उपचार गर्दा मानसिक रूपमा समेत असर परेको उनीहरूको भनाइ छ । जेनजी आन्दोलनमा घाइतेहरूको छाती, टाउकोमा बढी गोली लागेको थियो । कसैको टाउको हेर्नै नसिकने अवस्थामा थियो । विद्यालय पोशाकमा कलिला विद्यार्थीहरू कोही छटपटाइरहेका थिए भने कोही बेहोस अवस्थामा थिए । निर्देशक डा. रेग्मी अहिलेसम्म पनि स्वास्थ्यकर्मी र कर्मचारीमा मनोवैज्ञानिक असर परिरहेको बताउँछन् । ‘यत्रो आन्दोलन देख्यौं, आँखा अगाडि मान्छे मरिरहेका देख्यौं, भौतिक क्षति भएको पनि देख्यौं,’ डा. रेग्मी भन्छन्, ‘अहिले अवस्था सामान्य छ, जनजीवन पनि सरल भइसकेको छ तर त्यो दुश्य भुल्न अझै धेरै समय लाग्छ, सबै साथीहरूलाई त्यही भएको छ, मलाई पनि त्यो दृश्यले अहिले पनि सताइरहन्छ ।’ यसरी स्थापना भएको थियो सिभिल नेपालमा सेना, प्रहरी सबैका आ-आफ्ना अस्पताल थिए । तर, निजामती कर्मचारीहरूको लागि अस्पताल थिएन । आवश्यकता भए पनि अस्पताल नहुँदा सरकारले जनवादी गणतन्त्र चीन (पीआरसी)सँग अनुरोध गर्यो । सिभिल सर्भिस अस्पताल निर्माणका लागि चीन तयार भयो । चीनले १३२ शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरेर सन् २००८ मा नेपाल सरकारलाई हस्तान्तरण गर्यो । सिभिल अस्पताल सरकारी अस्पताल हो । यो नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्छ । यसको प्यारेन्ट मिनिस्ट्री संघीय मामिला मन्त्रालय हो । यसको समिति छ । समिति अन्तर्गत अस्पताल सञ्चालन हुन्छ । समितिमा मुख्यसचिव समितिको अध्यक्ष, अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सचिव समितिको सदस्य रहने व्यवस्था छ । कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । यो निजामती कर्मचारीको अस्पताल भनेर चिनिन्छ तर यसले बढी सेवा पब्लिकलाई नै दिँदै आएको छ । निर्देशक डा. रेग्मी भन्छन्, ‘कर्मचारीहरुलाई खास हामीले त्यति चाहेजति प्राथमिकता दिएर सेवा गर्न सक्या छैनौं । यहाँ पब्लिक ९० प्रतिशत र कर्मचारीहरू १० प्रतिशत उपचारका लागि आउँछन् ।’ अस्पताल सुचारु हुँदा कर्मचारीको भनिए पनि यसको स्थापनाकालको दुई÷तीन वर्षपछि नै यसले पब्लिकलाई सेवा दिन सुरु गरेको थियो । यो अस्पताल ७० रोपनी जग्गामा छ । यसले सबै किसिमको सेवा उपलब्ध गराउँछ । तर विशिष्टीकृत सेवा प्रदान गर्ने केही विधाहरूमा भने जनशक्तिको पनि अभाव छ । सिभिल अस्पताललाई अति विशिष्टीकृत सेवाको केन्द्र बनाउने योजना छ । यसका लागि हालसालै करिब २०० बेड थप्ने गरी डीपीआर तयार भएको छ । जसमा नेपालमै अन्यत्र उपलब्ध नहुने सेवा, क्यान्सर स्क्रिनिङ, जेनेटिक मेडिसिन, त्यस्तै अब यो मुटुको रोगको अपग्रेड गरेर मुटुको, फोक्सो र मुटुको ट्रान्सप्लान्टेसन गर्ने, त्यो लेभलको सेवा उपलब्ध गराउने गरी कार्ययोजना रहेको छ ।
आरजु नामको अफवाहले अर्बौंको निजी सम्पत्ति खरानी, यी हुन् आगजनी भएका संरचना
काठमाडौं । नेपालको राजनीतिमा परिचित पात्र हुन् आरजु देउवा राणा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी राणाकै वरिपरि कांग्रेसको राजनीति चल्ने गरेको कांग्रेसीहरू बताउँछन् । विभिन्न नियुक्ति तथा लेनदेनमा देउवाभन्दा आरजुको भूमिका बढी हुने गरेको नेपाली कांग्रेसभित्र चर्चा हुन्छ । अन्तरिम सरकार आउनुअघि परराष्ट्र मन्त्रीका जिम्मेवारीमा रहेकी आरजुले विभिन्न निजी कम्पनी तथा कलेजहरूमा लगानी गरेको बेखाबखत चर्चा हुन्छ । ठूला राजनीतिक दलप्रतिको युवाहरूको वितृष्णाको सिकार बन्दै तिनै देउवा दम्पत्ति जेनजीको आन्दोलनमा कुटिए । देउवा दम्पत्तिले बुढानीलकण्ठको निवासमात्रै गुमाएनन्, करोडौंमा खरिद गरेको धनगढीमा रहेको निवास पनि आगजनी भएर पूर्णरुपमा ध्वस्त भयो । अहिले तिनै निवासहरुमा ठूलो परिमाणको पैसा जलेको भन्दै युटुबहरूमा चर्चा पनि भइरहेको छ । त्यही वितृष्णाले कांग्रेसले आफ्नो पार्टी कार्यालय पनि गुमायो । देशका ठूल्ठूला संरचना ध्वस्त भए । संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत ठूल्ठूला सार्वजनिक भवनहरू जेनजीको टार्गेटमा पर्दै ध्वस्त भए । अर्बौंको क्षति राज्यले भोग्यो । आरजु देउवा राणाकै कारण केही निजी सम्पत्ति र व्यवसायमा पनि आगजनी भयो । यसअघि विभिन्न समयमा आरजु देउवा राणाको लगानी रहेको भनेर चर्चा हुने युलेन्स स्कुल जलेर नष्ट भयो । पुस्तक, पोसाक र परीक्षाबिना उत्कृष्ट शिक्षा दिँदै आइरहेको युलेन्स स्कुलका सबै संरचनामा आगजनी भयो । करिब १९ वर्षअघि सञ्चालनमा आएको यो स्कुलले प्रगतिशिल शिक्षालाई जोड दिइरहेको थियो । आन्दोलनकारीले विद्यालयका बसदेखि भौतिक संरचना डेस्क बेन्च, कागजात लगायत कुनै पनि चिज बाँकी राखेनन् । प्रदर्शनकारीले आगो लगाउनु अगाडि तोडफोड गरी कम्प्युटर, ल्यापटपसमेत बोकेर लिएको र आगजनी गरेको स्कुलमा सुरक्षार्थ खटिएकाहरूले जानकारी दिएका छन् । नाफा वितरण नगर्ने कम्पनीले यस विद्यालयको अहिले कुनै पनि संरचना बाँकी छैन । विद्यार्थीका प्रमाणपत्र, परिचयपत्रदेखि ल्याब, डेक्स बेन्च सबै खरानी भएका छन् । पार्किङमा राखिएका चिटिक्क परेका गाडी दनदनी जलिरहेको कारुणिक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो स्कुलमा आरजुको लगानी रहेको चर्चा हुँदै आएको थियो । उनको नाम जोडिनु नै यो स्कुलका लागि ठूलो क्षति बन्यो । आरजुको नाम र विद्यार्थीबाट लिने शुल्क यो स्कुल जल्नुको प्रमुख कारण रहेको शिक्षाका जानकारहरू बताउँछन् । आगजनीबाट कति क्षति भयो भन्ने विवरण आउन सकेको छैन । ललितपुरको खुमलटार रहेको यो स्कुल ‘युलेन्स एजुकेशन फाउण्डेशन ट्रस्ट’ ले सञ्चालन गरेको हो । युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछाने यो स्कुल आरजु राणाको निजी विद्यालय नभएको दाबी गर्छन् । ‘विद्यालयमा विद्यालय व्यवस्थापन समिति आवश्यक पर्छ, राजनीतिक र शैक्षिक दुवै हिसाबले सक्षम एउटा महिलालाई विद्यालयले अध्यक्ष बनाएको मात्रै हो, त्योभन्दा बाहेक उहाँको यो स्कुलमा कुनै लगानी र कारोबार छैन,’ प्राचार्य लामिछानेले विकासन्युजसँग भनेका थिए । उनका अनुसार यो स्कूल युलेन्स एजुकेशन फाउण्डेशन कम्पनीको हो । यसमा गाइ र मेरियमले आर्थिक रूपमा युलेन्स फाउण्डेशनलाई सहयोग गरेपछि विद्यालय निर्माण भएको हो । यो फाउण्डेशनमा ५ जनाको समिति छ । फाउण्डेशनले विद्यालय सुरुवात गरेपछि विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियाअनुसार आरजुलाई अध्यक्ष बनाइएको हो । आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएकाले धेरैले उनको मात्रै स्कुल भनेर गलत बुझेको उनको भनाइ छ । हरेक अभिभावक अध्यक्ष बन्न पाउने र सक्ने भएकाले विद्यालयलाई मात्र अध्यक्षको रुपमा राखिएको उनको भनाइ छ । आरजुकै नाम जोडिएर ध्वस्त भएको अर्को विद्यालय हो नामी इन्टरनेसनल स्कूल । जोरपाटीमा रहेको यो स्कुल पनि जलेर नष्ट भएको छ । विद्यालयको पार्किङमा राखिएका गाडीसहित विद्यालयका कागजात सबै जलेर नष्ट भएका छन् । विद्यालयका अनुसार क्षतिको विवरण भने आएको छैन । विद्यालयका एक कर्मचारी भन्छन्, ‘विद्यालयको संरचना पुरै जलेको छ, कति क्षति भयो भन्ने आइसकेको छैन, बोर्डले काम गरिरहेको छ ।’ ती कर्मचारीका अनुसार नामी पनि जलेर नष्ट भएका छ । अब पुन: निर्माण गर्न लामो समय लाग्नेछ । आरजु नाम जोडिर नष्ट भएको अर्को संरचना हो हिल्टन होटल । नक्सालमा रहेको हिल्टन होटल सञ्चालनमा आएको एक वर्षमै आगजनी भयो । आगजनीबाट हिल्टन पूर्णरुपमा क्षति भएको छ । होटलमा रहेका विदेशी पाहुनालाई सकुशल बाहिर निकाल्न सफल भए पनि होटल भने पुरै नष्ट भएको छ । हिल्टनमा पनि आरजुपुत्र जयवीर देउवाको लगानी रहेको अफवाह फैलिएपछि आन्दोलनकारीको निशानामा त्यो होटल पर्यो । केही युट्युबरहरूले हिल्टन होटलमा आरजुको छोराको लगानी रहेको भन्दै प्रचार गरेपछि आन्दोलनकारीले सो होटलमा आगजनी गरेको हुन सक्ने विश्लेषण अहिले भइरहेको छ । युट्युबहरूले बिनाप्रमाण हिल्टन होटलमा आरजुको छोराका लगानी रहेको भनेर समाचार सामग्री बनाउँदा अर्बौंको लगानी रहेको हिल्टन जलेर नष्ट भएको छ । हिल्टनका प्रमुख लगानीकर्ताहरूले हिल्टनमा देउवा परिवारको लगानी नरहेको दावी गर्दै आएका छन् । यो होटलमा आगजनी गर्दा अर्बौंको क्षति मात्रै भएको छैन, विदेशी लगानीकर्तामा पनि यसले ठूलो प्रभाव पारेको छ । यसको छवि अन्तर्राष्ट्रियस्तरमा राम्रो नपरेको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । शिक्षाविद् प्रा. डा विद्यानाथ कोइराला गलत समाचार सम्प्रेषणले यो नोक्सान बेहोर्नुपरेको टिप्पणी गर्छन् । प्रदर्शनकारीले आगजनी गर्दा आरजुको नाम लिँदै जलाएको भिडियो देखिएको बताउँदै सञ्चारकर्मी, राजनीतिज्ञ र विज्ञहरूले फैलाएका गलत समाचारको प्रभाव भएको उनको टिप्पणी छ । उनले युलेन्स र नामीलाई आरजुको नाममा र हिल्टन होटेललाई उनकै छोराको नाममा छापिएका, लेखिएका प्रमाणबिनाका समाचारले अर्बौंका व्यवसाय खरानी बनेको बताए । शिक्षा पत्रकार सुदर्शन घिमिरेले पनि हिल्टन मात्र नभई युलेन्स स्कुलको मामिलामा पनि गतल समाचार सम्प्रेषण हुँदा अर्बौंको लगानी ध्वस्त भएको टिप्पणी गरेका छन् । आरजु राणा युलेन्सको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको तर उनको लगानी भन्दै प्रचार भएकोले अहिले अर्बौंको लगानी गुमाउनु परेको धारणा राखेका छन्।
भग्नावशेष स्वास्थ्य मन्त्रालयमा तीन घण्टा बिताउँदा
काठमाडौं । सडकमा आवतजावत गर्नेहरूको आँखा स्वास्थ्य मन्त्रालयमा ठोक्किँदा उनीहरू टक्क उभिन्छन् । चासो राख्नेहरू भित्रैसम्म पुग्छन् । मन्त्रालय हेर्न आउनेहरू देशको स्वास्थ्य मन्त्रालयको हालत भन्दै भिडियो बनाउँछन्, फर्कन्छन् । सोमबार स्वास्थ्य मन्त्रालयको प्राङ्ग्रणमा तीन घण्टा बिताउँदा यस्तै दृश्य देखियो । बाटोमा हिँड्ने सयौं व्यक्ति कोही फोटो खिचेर जान्थे, कोही भिडियो बनाएर फर्कन्थे भने कतिपय आक्रोश पोखेर हिँड्थे । नेपालको स्वास्थ्य नीतिगत र प्रशासनिक काम गर्ने प्रमुख निकाय स्वास्थ्य मन्त्रालयको अहिले भग्नावशेष मात्र बाँकी छ । भाद्र २४ गते जेनजीहरूको प्रदर्शनमा प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा आगजनी गर्दा भवनभित्रको कुनै पनि कागजात, सामग्री बचेन । सबै जलेर खरानी बन्यो । अहिले स्वास्थ्य मन्त्रालयसँग न आफ्नो भवन छ न कुनै सामाग्री । कुनै पनि संकट वा विपद आउँदा सक्रिय रूपमा खटिनुपर्ने मन्त्रालय अहिले आफै संकटमा परेको छ । सिंहदरबारबाट करिब सय मिटरको दूरीमा र माइतीघरबाट ५०/६० मिटरको दूरीमा छ स्वास्थ्य मन्त्रालय । रामशाह पथ सडकको छेउमै रहेको मन्त्रालय बाहिरबाट हेर्दा जलेर कालो भएको देखिन्छ । गेटबाट भित्र पस्ने हो भने अवस्था कहालीलाग्दो छ । जलेर कवाडी बनेका गाडी, भवन वरिपरि रहेका फूल, बोटबिरुवा, समेत जलेर केही बाँकी छैन । गेटबाट प्रवेश गर्दा दायाँपट्टि रहेको स्वास्थ्य आपतकालीन केन्द्र (एचईओसी)सँगै जोडिएको सचिवालय, सचिवदेखि मन्त्रीका क्वाटर जलेर खरानी बनेका छन् । गाडी जलेर नष्ट भएका कतिपय चालक र मन्त्रालयको रेखदेख गर्ने पालेदेखि मन्त्रालयलाई सुरक्षा दिने प्रहरी मन्त्रालयको भग्नावशेष हेरिरहेका थिए । न खानेपानी न बत्ती केही नहुँदा दिनभर बस्न समस्या भएको उनीहरूको गुनासो छ । स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा प्रदर्शनकारीले गरेको गतिविधि कुनै हालतमा स्वीकार्य नहुने धेरैको प्रतिक्रिया थियो । जलेको भवनलाई हेर्न पुगेका डा. अबुल हुसेन अन्सारी हरेक नागरिकसँग जोडिएको मन्त्रालयलाई जलाउने कार्य निन्दनीय भएको बताउँछन् । उनी भन्छन्, ‘हरेक पालिका, जिल्ला प्रदेशमा स्वास्थ्य संस्थाहरू छन्, सबैको लगानी मन्त्रालयबाट हुन्छ , कतिपय ठाउँमा भवनहरू बनिरहेका छन्, त्यो भवनको लेखाजोखा यहाँ थियो, सबै कागजात जले, मृगौलादेखि मुटुका समस्या भएका बिरामीको फाइल मन्त्रालयमा थियो । ती फाइल जल्दा बिरामीलाई औषधी खान समस्या भएको छ यो काम जसले गर्यो निकै गलत गर्यो ।’ कागजात नहुँदा सबैभन्दा बढी असर दीर्घ रोगका बिरामी र सेवाग्राहीमा परेको डा. अन्सारी बताउँछन् । बाराका राजेश प्रसादयादव करिब १३ वर्षदेखि स्वास्थ्य मन्त्रालयमा कार्यालय सहयोगी र पालेको रुपमा काम गरिरहेका छन् । उनीसहित उनको परिवार मन्त्रालय भित्रको एउटा भवनमा बस्छन् । दिनरात मन्त्रालयको रेखदेखका लागि बसेका यादवले २४ गते मन्त्रालयलाई जोगाउन सकेनन् । ‘कहिले हाकिमसाब राति ९ बजे घर जानुहुन्थ्यो, कहिले ८ बजे काममा व्यस्त हुँदा रातिको मन्त्रालय रेखदेखको काम मेरो हुन्थ्यो,’ उनी भन्छन्, ‘१३ वर्षदेखि रातीको समयमा पनि रक्षा गरेको मन्त्रालयलाई २४ गते दिउँसोको समयमा रक्षा गर्न सकिनँ ।’ मन्त्रालयको रेखदेखका लागि पाले यादव मात्र होइनन्, सुरक्षागार्डका रूपमा नेपाल प्रहरी पनि थिए । कुनै पालकहरूले मन्त्रालयलाई जोगाउन सकेनन् । मन्त्रालयमा आगजनी हुने दिन सोमबार दिउँसोको चार बजेको थियो । देश अघिल्लै दिन २३ गतेदेखि नै अशान्त बनिसकेको थियो । २३ गते युवाहरूमाथि प्रहरी दमन भएको भन्दै २४ गते प्रदर्शनकारीले नेताको घरदेखि संसद भवनसम्म जलाइरहेका थिए । जब देशमा विपत्ति पर्छ, स्वास्थ्य मन्त्रालय तातिनुपर्छ । अघिल्लो दिन घाइते भएकाहरूले काठमाडौं उपत्यकादेखि देशभरका अस्पताल भरिएका थिए । आवश्यक जनशक्तिदेखि रगत र औषधीको चाँजोपाँजोका लागि मन्त्रालयका कर्मचारी देशभरका अस्पताल स्वास्थ्यकर्मीसँग समन्वय गरिरहेका थिए । उपत्यकाका सिभिल र ट्रमा अस्पताल घाइतेले भरिएका थिए । उपत्यका बाहिरका सरकारी अस्पतालको अवस्था पनि उस्तै थियो । कतै जनशक्ति अभाव, कतै औषधी अभावका कुरा आइरहेका थिए । अस्पतालमा रगत अभावको कुरा पनि आइरहेको थियो । सचिवसहितको टोली समन्वयमा व्यस्त थियो । मन्त्रालयले २३ गते दिनभर नै देशभरका बिरामीका लागि कमाण्डको काम गरिरहेको थियो । २३ गतेदेखि नै घाइतेको उपचारका लागि सबै कर्मचारी व्यस्त थिए । २४ गते पनि स्वास्थ्य सचिवसहितको टोली स्वास्थ्य आपतकालीन केन्द्रमा देशभरका अस्पतालसँग भर्चुअल छलफलमा थिए । दुई बजेसम्म सचिवसहितको टोली सिंहदरबारमा थियो । साढे दुई बजेतिर अचानक कसैको फोन आयो सिंहदरबार आगो लगाइसक्यो, सर्वोच्चमा पनि आगो लगाइसक्यो, अब त्यो आगो मन्त्रालयमा लाग्नेवाला छ भाग्नूस् । त्यो खबर आउँदा पनि मन्त्रालयका विभिन्न महाशाखा, शाखाका कर्मचारी मन्त्रालयमै थिए । भित्र कर्मचारी छलफलमा हुँदा सुरक्षागार्ड र पाले गेटमा थिए । सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मका सबै कार्यालय तोडफोड र आगजनी भइसकेको थियो । सिंहदरबारमा आगो सल्काएको एक हुल स्वास्थ्य मन्त्रालयतिर आयो । त्यहाँका कर्मचारीलाई मन्त्रालयमा आगजनी हुन सक्छ भन्ने एकरत्ति पीर थिएन । किनकि स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील र यस्तो अवस्थामा अझ बढी सक्रिय रहनुपर्ने क्षेत्र हो । ‘स्वास्थ्य मन्त्रालयमा आगजनी हुन्छ भन्ने लागेको थिएन, सिभिलमा स्वास्थ्यकर्मी अपुग भयो भन्ने खबर आएको थियो, हामी टेकुबाट स्वास्थ्यकर्मीलाई पठाउने योजना बनाइरहेका थियौं, केही गर्दैनन् होला भन्नेमा ढुक्क थियौं,’स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटाले घनाको फेहरिस्त सुनाउँदै भने, ‘फेरि सुरक्षाकर्मी नै आएर तपाईंहरू निस्कनूहोस् प्रदर्शनकारीले जे पनि गर्न सक्छन् भनिसकेपछि कोही साथी निस्कनुभयो, हामी केही जोगाउन सकिन्छ कि भनेर बस्यौं । तर हातमा खुकुरी, हतियार बोकेको जमातको अगाडि हामी चार पाँच जनाको केही लागेन, ज्यान जोगाउनु नै ठूलो लाग्यो, भाग्यौं त्यसपछि मन्त्रालय खरानी बन्यो ।’ डा. भीम प्रसाद सापकोटा । प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा आक्रमण गर्नुपर्ने कुनै कारण थिएन । तर, आगजनी गरे । कति क्षति भयो भन्ने लेखाजोखा अहिलेसम्म छैन । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनकारीका दुई समूहले मन्त्रालयमा आक्रमण गरेको थियो । पहिलो समूहले पार्किङ स्थलमा राखिएको गाडी जलाएको थियो भने दोस्रो पटक आएको समूहले भवनमा आगो लगाएको थियो । ‘देशमा ठूल्ठूला राजनीतिक आन्दोलन हुँदा पनि स्वास्थ्य मन्त्रालय कसैको चपेटामा परेन । तर, जेनजीले स्वास्थ्य क्षेत्रलाई पनि छोडेन, हामी स्तब्ध भएका छौं,’ डा. सापकोटा भन्छन् । के-के भयो नष्ट ? स्वास्थ्य मन्त्रालयका अनुसार पार्किङमा रहेको २४ गाडी १८ वटा मोटरसाइकल जले भने तीनवटा व्यक्तिगत गाडी जलेका छन् । भवन भित्रको कुनै पनि फर्निचरदेखि फाइल कागजपत्र, कम्प्युटर, प्रिन्टिङलगायत सरकारी कामकाजमा आउने अभिलेख बाँकी छैन । २४ गते लगाइएको आगो २५ गते बिहान नियन्त्रणमा लिने प्रयासका लागि केही कर्मचारी मन्त्रालय पुगेका थिए । ‘आगोको ज्वालामा उनीहरूको केही चलेन । केही साथीहरू आएका थियौं, केही जोगाउन सकिन्छ कि भनेर तर मन्त्रालयमा आगो दन्किरहेको थियो, रापले भित्र पस्नै सकिएन,’ डा. सापकोटाले भने । दमकलका लागि काठमाडौं महानगरपालिकामा फोन गर्दा सकिने अवस्था छैन भन्ने जवाफ आयो त्यसपछि कर्मचारी निरीह भएर बसे । उनी भन्छन्, ‘एक/दुई बाल्टिन पानी हालेर नियन्त्रणमा लिन सकिने अवस्था थिएन, दमकल आएन हामीले टुलुटुल हेरेर बस्नुको विकल्प भएन ।’ तेस्रो दिनमा आगो आफै निभ्न लागिसकेको थियो । त्यतिञ्जेलसम्म मन्त्रालय खरानी बनिसकेको थियो । डा. सापकोटा भन्छन्, ‘भवन फेरि बनाउन सकिएला, गाडी फेरि किन्न सकिएला तर, हाम्रो लागि ठूलो क्षति भनेको ५०औं वर्षदेखिका अभिलेख, कर्मचारी व्यवस्थापन, वैदेशिक सहायताका सम्झौता, कागजात किन्न मिल्दैन निकै ठूलो क्षति भएको छ ।’ मन्त्रालय खरानीमा परिणत भएको परिणामले कस्तो असर पर्छ भन्ने कुरा अहिले कल्पना समेत गर्न सकिँदैन । काम गर्दै जाँदा जतिबेला त्यो अभिलेखको आवश्यकता पर्छ त्यो बेला यहाँ असर पर्यो भन्न सकिन्छ । अहिले जलेको मन्त्रालयमा पाँचवटा महाशाखा र २० वटा शाखा सञ्चालनमा थिए भने बाहिरको स्वास्थ्य आपतकालीन केन्द्र सबै जलेका छन् । एनएचआरसीको शरणमा मन्त्रालय मन्त्रालय जलेर खरानी भएपछि स्वास्थ्य मन्त्रालयले नजिकै रहेको स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)को नयाँ भवनमा सरेको छ । यो भवनको डिजाइन, बनावट मन्त्रालयको कामका लागि उपभोग्य छैन । यो भवनमा मन्त्रालयको स्थायित्व हुँदैन । नयाँ भवन नबन्दासम्म भने यही भवनबाट सेवा दिने मन्त्रालयको तयारी छ । स्वास्थ्य मन्त्रालयमा आगो लागेको पछिल्लो दिनमै सेवाग्राही पुगेका थिए । यस्तो अवस्थामा मन्त्रालयले कसै न कसैको शरणमा गएर सेवा दिनुपर्ने बाध्यता आयो । यही बाध्यताका कारण मन्त्रालय अहिले स्वास्थ्य अनुसन्धान परिषदको शरणमा पुगेको हो । डा. देवकोटा भन्छन्, ‘यो भवन नभएको भए हामीले जलेको भवनको प्राङ्गणमा टेन्ट लगाएर भएपनि सेवा सुचारु गर्नुपर्ने हुन्थ्यो, अब तत्कालै मन्त्रीको बहाली भएपछि कहाँ लिएर राख्ने भन्ने समस्या हुँदा मन्त्रीकै लागि भएपनि यो भवनमा सर्नु परेको हो ।’ स्वास्थ्य मन्त्रालय केही समयका लागि सरेको भवनमा कुनै पनि सामान छैन । बाहिरबाट हेर्दा चिटिक्क परेको नयाँ भवन भए पनि भित्र न टेबल छन् नत कुर्सी । केही गरी नयाँ मन्त्री तुरुन्त आइहालेमा पदभारका लागि भन्दै भवनको चौथो तलामा तयारी हुँदैछ । ‘सचिव र मन्त्रीको लागि कोठा तयार गरेका छौं, अस्थायी रुपमा आकस्मिक रुपमा यो भवनमा सरे पनि मन्त्रालयको आफ्नै भवन आवश्यक छ,’ उनले भने । सिंहदरबार भित्र छिर्ने प्रयासमा मन्त्रालय राज्यका सबै संघीय मन्त्रालय सिंहदरबार भित्र छन् । स्वास्थ्य मन्त्रालयमात्र सिंहदरबार बाहिर छ । सुरक्षाको घेरमा रहेको सिंहदरबार समेत प्रदर्शनकारीको आक्रमणबाट नबचेको बेला स्वास्थ्य मन्त्रालयका कर्मचारी भने मन्त्रालय सिंहदरबार भित्र रहेको भए यो सम्मको क्षति हुन् नसक्ने बताउँछन् । सिंहदरबार बाहिर रहेर काम गर्दा यो भन्दा अगाडि पनि केही अभाव खड्केको बताउँदै ती कर्मचारी बाहिर हुँदा धेरै क्षति भोग्नु परेको बताउँछन् । अब स्वास्थ्य मन्त्रालय पनि सिंहदरबारभित्रै हुनुपर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीको एकमत छ । अस्थायी रूपमा अरूको भवनमा बसेर सेवा दिए पनि अबको स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र हुनुपर्ने मन्त्रालयको माग छ । ‘मन्त्रालयको उत्कृष्ट प्रयास भनेको सिंहदरबार भित्रै जाऔं भन्ने हो । मन्त्रालयलाई पूर्ण रूपमा प्रयोग गर्न यो भवनमा स्पेस छैन ५० प्रतिशतभन्दा कम छ स्थायित्वका लागि अब हामी सिंहदरबारभित्र सर्नैपर्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालय किन बाहिर ? अहिले जलेर नष्ट भएको स्वास्थ्य मन्त्रालयको भवन कसरी बाहिर हुन पुग्यो धेरैलाई थाहा छैन । जब विसं २०३१ सालमा सिंहदरबारमा आगलागी भयो त्यो बेला सिंहदरबारका मन्त्रालय बाहिर छरिए । त्यो बेला प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए । १ हजार ८ सय कोठा रहेको सिंहदरबारमा कसरी आगो लागेको थियो अहिलेसम्म पत्ता लागेको छैन । सिंहदरबारमा आगो लागेपछि स्वास्थ्य मन्त्रालय टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रको भवनमा सरेको थियो । अहिले जलेर नष्ट भएको स्वास्थ्य मन्त्रालयको भवनमा परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको थियो । वरिष्ठ जनस्वास्थ्यविद् डा . बाबुराम मरासिनीका अनुसार टेकुमा रहेको स्वास्थ्य मन्त्रालय रामशाह पथमा सरेको थियो । पछि अन्य मन्त्रालय सिंहदरबारभित्र पसे पनि स्वास्थ्य मन्त्रालय भने २०३१ सालदेखि बाहिर रहेको छ । डा. मरासिनीका अनुसार अहिले जलेको स्वास्थ्य मन्त्रालय संसारकै नामी आर्किटेक्ट इन्जिनियर लुइ कानको शैलीमा बनाइएको थियो । युएसएआईडीको सहयोगमा विश्व प्रसिद्ध इन्जिनियरको युनिक डिजाइनमा भवन तयार पारिएको थियो । जुन भवनको एउटा पनि पिल्लर थिएन । २०२३ सालमा निर्माण भएको भवनको २०३२ सालमा उद्घाटन गरिएको थियो । जुन भवन हेर्न विश्वका नर्वे, डेनमार्क, स्वीटजरल्याड लगायत देशका आर्किटेक्टका विद्यार्थी नेपाल आउँथे । लुइ कानले दक्षिण एसियामा तीन ठाउँमा मात्र लुइ कान शैलीका भवन बनाएका थिए । शैली उनकै भए पनि डिजाइन भने तीनवटै देशको फरक थियो । एउटा श्रीलंका, अर्को पाकिस्तान र एउटा नेपालमा यो भवनहरू थिए। डा. मरासिनी भन्छन्, ‘यो सामान्य मन्त्रालयमात्र थिएन, नेपालको आर्किटेक्ट इन्जिनियरको इतिहास र वास्तुशिल्पलाई विश्वभर अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो, भवन जलेर नष्ट हुँदा यो वास्तुशिल्प पनि जल्यो । डा. मरासिनी अब पनि त्यही संरचनामा भवन बनाउनुपर्ने बताउँछन् ।
शिक्षामन्त्रीलाई केशरमहलमा पदभार ग्रहण गराउने तयारी, यी हुन् गर्नैपर्ने ६ काम
काठमाडौं । अन्तरिम सरकारको मन्त्रीहरूले धमाधम पदभार ग्रहण गरिरहँदा शिक्षामन्त्री को बन्छ भन्ने विषयमा धेरैको चासो बढेको छ । धेरैजसोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी सुमना श्रेष्ठ फेरि शिक्षामन्त्री बन्छन् कि भन्ने चर्चा गरिरहे पनि उनले भने आफू शिक्षामन्त्री नबन्ने घोषणा गरिसकेकी छन् । अहिले अधिकांश मन्त्रालय तथा सरकारी कार्यालयहरू जलेर नष्ट भएका छन् । यो संकटबाट शिक्षा मन्त्रालय पनि बच्न सकेन । सिंहदरबार भित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएको छ । मन्त्रालयका केही काम सिंहदरबारभित्रका हालको भवनबाट सुरु भइरहेको छ भने अब आउने नयाँ मन्त्रीलाई केशर महलमा पदभार ग्रहण गराउने तयारी शिक्षा मन्त्रालयले गरेको छ । यस्तो अवस्था नयाँ शिक्षामन्त्रीलाई चुनौतीमात्र नभई काम गरेर देखाउने अवसर पनि रहेको कतिपयको तर्क छ । भलै समयावधि ६ महिनाका लागि मात्र भए पनि यो ६ महिनामा धेरै काम गर्न सकिने शिक्षा क्षेत्रका विज्ञहरू बताउँछन् । शिक्षामन्त्रीले गर्नुपर्ने गर्नुपर्ने काम शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला अब बन्ने शिक्षा मन्त्रीले ६ महिनामा ६ काम गरिसक्नुपर्ने बताउँछन् । उनी धेरै काम गर्न नसके पनि ६ काम गर्नै पर्ने काम रहेको बताउँछन् । उनका अनुसार अबको शिक्षामन्त्रीले सबैभन्दा पहिले पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले सुरु गरेको तीनवटा ऐन कार्यान्वयन गर्नुपर्ने छ । उनी भन्छन्, ‘अब आउने मन्त्रीले सबैभन्दा पहिले विद्यालय शिक्षा, उच्च शिक्षा, व्यावसायिक शिक्षा यी तीन कुरालाई अहिलेको सन्दर्भमा जोडेर र अहिलेका कुरालाई पनि समावेश गरेर व्यवहारिक ढंगले काम गर्नुपर्छ ।’ प्रा.डा. कोइराला अबको मन्त्रीले गर्न सक्ने र गर्नैपर्ने अर्को काम विद्यार्थीको लागि अनिवार्य बचत प्रणाली सुरु गर्नुपर्ने बताउँछन् । ‘यसको लागि बैंक, पालिका र अभिभावकसँग सहकार्य गरेर विद्यार्थीलाई नै कमाऊ भन्न सक्ने मान्छे चाहियो,’ उनी भन्छन्,‘ विद्यार्थीलाई आफै काम पनि गर्न सक्ने र बचत पनि गर्न सक्नेगरी अबको मन्त्रीले काम गर्नुपर्छ ।’ उनका अनुसार अबको मन्त्रीले गाउँघरका जति पनि खाली जमिनहरू छन् ती जमिन पालिकाले लिजमा लिएर, केही विद्यार्थीलाई, केही घरधनीलाई दिने र त्यहाँ के खेती गर्न सकिन्छ बाँदरले नखाने, दुम्सीले नखाने खेती गर्न लगाउने र त्यसलाई उद्यमसँग जोड्न सक्नुपर्छ । कोइराला अबको मन्त्रीले गर्नसक्ने अर्को काम गाउँमा खाली भएका घरहरूलाई संग्राहलयको रूपमा राख्नसक्नुपर्ने बताउँछन् । ‘जुन ठाउँ जेका लागि प्रख्यात छ वा पाइन्छ त्यसैको संग्राहलयका रूपमा बनाउन सकियो भने यसले पर्यटन पनि बढाउँछ, गाउँ खाली पनि हुँदैन तर, गाउँको स्वरूप फेरिन्छ । यी तीन/चारवटा काम गर्न सक्यो भने देश बन्थ्यो,’ उनी भन्छन् । ‘गर्छन् भन्ने पत्यार त लाग्दैन तर यति गर्न सक्ने मान्छेचाहिँ अहिलको आवश्यकता हो,’ कोइराला भन्छन्, ‘अब विद्यार्थीलाई पढाउने भन्दा पढाउने कला सिकाउनुपर्छ । केटाकेटी अब जान्ने भइसकेका कुरा यही जेनजी आन्दोलनले पनि देखाएको छ । अबको विद्यार्थीलाई पढ्ने कला सिकाउने व्यवस्था यी ६ महिनामा ६ वटा काम मात्र गर्न सक्यो भने धेरै हुन्छ ।’ शिक्षाविद् डा. विष्णु कार्की शिक्षा विधेयक पास गराउन भूमिका खेल्नुपर्ने बताउँछन् । सामुदायिक विद्यालयका शिक्षक कर्मचारी र निजी विद्यालय सञ्चालकहरू विभिन्न माग राख्दै सडकमा आइरहेको अवस्थाका बाबजुत पनि विधेयक पास हुने अन्तिम अवस्थामा पुगेको थियो । अब आउने मन्त्रीलाई भने यो विधेयक पास गर्ने मौका छ । ‘अबको विद्यालय शिक्षा कस्तो हुनुपर्छ, कसरी जानुपर्छ भन्ने कुरा अबको मन्त्रीले विचार गर्न सक्नुपर्छ,’ डा. कार्की भन्छन्,‘अबको मन्त्रीले विद्यालय शिक्षा विश्वविद्यालय शिक्षा र प्राविधिक शिक्षालाई जोड दिएर काम गर्न सक्नुपर्छ।’ शिक्षामन्त्रीले सबैभन्दा पहिले तीन तहको शिक्षालाई गम्भीर ढंगले अगाडि लान सक्नुपर्छ । अहिलेको सामुदायिक विद्यालयको अवस्था त्यहाँभित्रको राजनीति र निजी विद्यालयको मनोमानीले विद्यालय शिक्षा कहिल्यै राम्रो हुन नसकेको भन्दै डा. कार्की व्यक्तिगत स्वार्थका कारण डुबेको शिक्षालाई अबको सार्वजनिक शिक्षा कस्तो हुन्छ भनेर सबैलाई बुझाउन सक्ने किसिमको नेतृत्व शिक्षा क्षेत्रलाई आवश्यक रहेको बताउँछन् । नेपालमा शिक्षकको भूमिका के हुने, राजनीति कतिसम्म गर्न पाउने भन्ने कुरा स्पष्ट सिकाउने पर्ने देखिन्छ । यो खाका अबको शिक्षामन्त्रीले गर्न सकेन भने फेरि उही ताल हुने, विद्यालय बन्द गर्ने, सडकमा आउने कुरा दोहोरिने बताउँदै डा. कार्की पहिले विद्यालय शिक्षा त्यसमा पनि निजी र सामुदायिक शिक्षा र शिक्षकहरूको व्यवस्थापन गर्नुपर्ने काम सबैभन्दा पहिले गर्न आवश्यक रहेको बताउँछन् । उनी अबको मन्त्रीले निजी विद्यालयको हकमा पनि स्पष्ट भन्न सक्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘व्यापार गर्न दिने हो भने गर्न दिऔं, हैन शिक्षा सरकारको सरोकारको विषय हो भने शिक्षामा व्यापार गर्न पाइँदैन, यो विषयमा स्पष्ट काम गर्न सक्ने र नेतृत्व लिन सक्ने मान्छे अब चाहिन्छ ।’ नेपालको विश्वविद्यालय शिक्षा अझ बिग्रेको छ । प्राध्यापक र विद्यार्थीको राजनीतिले विश्वविद्यालय शिक्षा ध्वस्त भएको बताउँदै कार्की अबको मन्त्रीले यसका यसमा पनि स्पष्ट खाका बनाउनुपर्ने बताउँछन् । ‘विश्वविद्यालयमा पढ्ने विद्यार्थीमा धेरै ज्ञान हुन्छ, उसले देश, समाज, विश्व सबै बुझेको हुन्छ,’ डा. कार्की भन्छन्, ‘अब उहाँहरूलाई विश्वविद्यालयमा राजनीति होइन शिक्षाको गुणस्तरका कुरा गर्नुपर्छ भन्न सक्नुपर्छ ।’ उनका अनुसार राजनीति गर्नेलाई पढाइ छोडेर राजनीति गर्न लगाउने र पढ्ने विद्यार्थीलाई भोलिको रेक्टर–भिसी सबै तपाईंहरू नै हो भनेर पढाइमा केन्द्रित गराउनेगरी अबको नेतृत्वले काम गर्नुपर्छ । विश्वविद्यालय भोलिका लागि वैज्ञानिक, अनुसन्धानकर्ता राजनीतिज्ञ उत्पादन गर्ने थलो भएको बताउँदै यहाँ राजनीति नभई कसरी काम गर्ने भन्ने कुरा सिकाउनुपर्ने उनी बताउँछन् । व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)मा पनि ठूलो राजनीति छ । अबको नेतृत्वले यहाँ पनि धेरै काम गर्नुपर्ने छ । अब प्रविधि, सीप र सिर्जनशीलताबिनाको शिक्षाको काम छैन । यो बाटोमा नेपालको शिक्षा जानै पर्ने छ । विश्वका विकसित मुलुकमा हेर्ने हो भने प्रविधि युक्त र प्राविधिक भइसकेको छ । विज्ञहरू अबको शिक्षामन्त्री अहिलेको ६ महिनाका लागि मात्र मन्त्री हुने भएकाले ऐन नीति नियमको जानकार भन्दा शिक्षा क्षेत्रका विषयमा बुझेको व्यक्ति हुनुपर्ने बताउँछन् । ‘अहिले जुन भत्किएका, बिग्रिएको कुरा छ, यसलाई सुधार गर्न ६ महिना लाग्छ,’ उनीहरू भन्छन्, ‘ऐन नियम कानुनको काम गर्ने हो भने त्यही अनुसारको विज्ञता भएको हुनुपर्छ ।’ यो ६ महिनामा अहिलेकै विद्यमान ऐनमा बसेर सुधार गर्नुपर्छ । गर्न सकिने कामहरू प्रशस्त छन् । प्रशासनिकभन्दा प्राविधिक विषयमा गर्नुपर्ने भएकाले अलि बढी विज्ञता भएको, विश्वमा शिक्षा कसरी भइरहेको छ नेपालमा हामी कसरी लान सक्छौं भन्ने विषयमा अलि बढी जानकार राख्ने र नेतृत्व गर्न सक्ने व्यक्ति मन्त्री हुनुपर्छ,’ प्रा.डा. कोइरालाले भने ।
स्वास्थ्यमन्त्री बन्ने चर्चामा छन् भेट्रान चिकित्सकहरू
काठमाडौं । अन्तरिम सरकार गठन भएसँगै अब कुन मन्त्रालय कुन व्यक्तिले पाउँछ भन्ने विषय निकै चासोका रूपमा हेरिएको छ । ६ महिने अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै कुन मन्त्रालय कसले पाउँछ भन्ने कौतुहलता धेरैमा छ । नागरिक सरकार भएकोले पनि विभिन्न विधामा उत्कृष्ट काम गर्दै आएका व्यक्ति मन्त्री बन्नुपर्ने धारणा आइरहेको छ । जेनजी आन्दोलनअघि प्रदीप पौडेलले सम्हालेको स्वास्थ्य मन्त्रालय अब कसले पाउँछन् र को उपयुक्त पात्र हो भनेर चर्चा भइरहेको हो । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेर चर्चामा रहेका विज्ञहरूको नाम चर्चामा आएको छ । कुनै पनि दलमा आवद्ध नभएको, स्वास्थ्य क्षेत्रका बारेमा जानकार भएका नेपालीलाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने जेनजीहरूको धारणासँगै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको नाम चर्चामा आउन थालेको छ । डा. सन्दुक रुइत स्वास्थ्यमन्त्रीमा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नाम चर्चामा छ । जेन जी आन्दोलनलाई खुला रूपमा समर्थन जनाउँदै आएका डा.रुइतको नाम स्वास्थ्य मन्त्रीको रुपमा सामाजिक सञ्जालमा चर्चामा आएको हो । उनले आन्दोलन भइरहेको बेला सामाजिक सञ्जाल मार्फत पटक–पटक जेनजीहरूलाई सम्बोधन गर्दै स्टाटस लेखिरहेका थिए । अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्त खोजिरहेको र अबको परिवर्तनबाट रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुने अपेक्षा रहेको बताउँदै जेनजी आन्दोलनमा समर्थन जनाएका थिए । नेपालका मात्र नभई विश्वका विभिन्न देशका दृष्टिविहीनलाई संसार देखाउँदै आएका डा. रुइतले अहिले पनि दृष्टिविहीनलाई कसरी संसार देखाउने भन्ने कार्यमा व्यस्त छन् । तीलगङ्गा आँखा अस्पताल सञ्चालनमा ल्याएका उनले लाखौं नागरिकको अन्धकार चिर्दै उज्यालो ज्योती दिइरहेका छन् । नेपालका ग्रामीण क्षेत्रमा पुगेर हजारौं नेपालीलाई संसार दिन सफल डा. रुइतको नाम मन्त्रीका लागि यतिबेला सामाजिक सञ्जालमा चर्चा छ । मन्त्रीमा उनको चर्चा आएसँगै विकासन्युजले उनलाई जिज्ञासा राख्दा उनले अहिले आफ्नो ध्यान बिरामीको उपचारमा रहेको सुनाए । ‘यो विषयमा अहिले कुरा नगर्दा होला, अहिले पनि म बिरामीको अप्रेसन गरिरहेको छु, बाहिर तपाईंले जे चर्चा सुन्नुभयो त्यो मलाई थाहा छैन, मलाई कसैले प्रस्ताव पनि गरेको छैन ।’ डा. भोला रिजाल स्त्रीरोग विषेशज्ञ डा. भोला रिजालको नाम पनि स्वास्थ्य मन्त्री बन्न सक्ने चर्चामा छ । नेपालमा प्रजनन स्वास्थ्य परिवार नियोजन, सुरक्षित मातृत्व लगायतका विषयमा लामो समयदेखि काम गर्दै आएका डा. रिजाल हाल ह्याम्स अस्पतालमा कार्यरत छन् । डा. रिजाललाई प्रत्यक्षरूपमा नभए पनि अप्रत्यक्ष रुपमा मन्त्रीको लागि प्रस्ताव आएको बुझिएको छ । तपाईं स्वास्थ्यमन्त्रीका लागि तयार हुनुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्, ‘देश अहिले संकटमा छ, यस्तो अवस्थामा हामी सबै मिलेर बनाउनुपर्छ ।’ यस्तै, उनले आफूलाई औपचारिक रुपमा प्रस्ताव नआएको बताए । ‘मलाई स्वास्थ्य मन्त्रीका लागि औपचारिक रूपमा प्रस्ताव आएको छैन । तर, बाहिर सबैले अब स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भनिरहनुभएको छ,’ डा. रिजाल भन्छन्, ‘यो जिम्मेवारी लिन देशले मलाई उचित ठान्यो भने म जिम्मेवारी लिन तयार छु, जहिले नेपालको स्वास्थ्य क्षेत्रको भलोका लागि लागिरहेको मान्छे हुँ, यो अवसर पाएँ भने पछाडि हट्दिनँ ।’ डा. पुकार श्रेष्ठ केही दिनभित्रै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकबाट अवकाश हुन लागेका डा. पुकार श्रेष्ठको नाम पनि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ वर्षमा १ हजार पाँच सय बढी मृगौला प्रत्यारोपण र ३५ जना भन्दा बढीको कलेजो प्रत्यारोपण गर्न सफल डा. पुकारको नाम पनि सामाजिक सञ्जालमा मन्त्रीको रुपमा चर्चामा आएको छ । उनीसँग भने विकासन्युजको सम्पर्क हुन सकेन । डा. भगवान कोइराला मुटुरोग विशषेज्ञ डा. भगवान कोइरालाको नाम पनि स्वास्थ्यमन्त्री बन्न सक्ने चर्चामा छ । हजारौं व्यक्तिको मुटु जोगाएर जीवन दिएका कोइरालालाई बिरामीले साँच्चिकै भगवानको रूपमा हेर्छन् । जन्मेदेखि नै बच्चाको मुटुमा समस्या बढ्दै गइरहेको अवस्थामा बालबालिकाको मुटु जोगाउने अभियानमा लागेका डा. कोइराला मन्त्रीका नाममा आएको आफ्नो नामका विषयमा कुनै प्रतिक्रिया दिन उचित नभएको बताउँछन् । ‘अबको मन्त्री को बन्नेभन्दा पनि देश कसरी बनाउने भन्नेतिर सबैले चर्चा गर्न जरुरी छ,’ उनी भन्छन्, ‘म आफ्नो काममा व्यस्त छु, देशलाई स्वास्थ्य क्षेत्रमा सम्वृद्ध बनाउनु छ, कसरी बनाउन सकिन्छ भन्नेतिर प्रयत्न छु, अरू थाहा छैन ।’ डा. जगदीशप्रसाद अग्रवाल नेपालको चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि काम गर्दै व्यक्ति हुन् प्रा.डा जगदीश अग्रवाल । न्युरोलोजिष्ट समेत रहेका प्रा. डा. अग्रवाल त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडिन हुन् । अब बन्ने स्वास्थ्यमन्त्रीको रूपमा उनको नाम पनि चर्चाका छ । मन्त्री बन्ने चर्चामा रहेका डा. अग्रवाल भने आफू मन्त्रीका लागि तयार नरहेको बताउँछन् । ‘नाम आउनु स्वाभाविक हो । तर म यसमा तयार छैन,’ उनी भन्छन्, ‘म चिकित्सा क्षेत्रको शिक्षालाई कसरी गुणस्तर बनाउने भन्नेमा छु, यहाँ शिक्षामा प्रश्न उठिरहेको छ यो क्षेत्रमा अझ धेरै काम गर्न जरुरी छ, मेरै क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् म यसैमा व्यस्त छु ।’ उनी आफू मन्त्रीका लागि तयार नभए पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै कामका लागि तयार रहेको बताउँछन् । स्वास्थ्य मन्त्रीका लागि डा. गोविन्द केसी र डा.अर्जुन कार्की लगायतको नाम पनि अहिले चर्चामा छ । अनलाइन भोटिङमार्फत मन्त्री चयन जेनजीहरूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई समर्थन गरेजस्तै अब बन्ने मन्त्रीहरूलाई पनि सबैको समर्थनमा नियुक्त गर्नुपर्ने बताइरहेका छन् । यसमा सर्वसाधारणबाटै मन्त्रीको नाम माग्ने र उनीहरूको विज्ञता, पृष्ठभूमिको अध्ययन गरिनेछ । जेनजीहरूले कुनै पनि दलमा आवद्ध नभएको, देश बनाउने सपना भएको र विषय विज्ञता भएको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् । उनीहरूले नागरिकले रोजेका नामहरूलाई अनलाइन भोटिङ गर्ने र जसले सबैभन्दा बढी मत पाउँछ, उसैलाई मन्त्रीको रुपमा स्वीकार्ने बताएका छन् । ‘सरकारी संयन्त्र बुझेको व्यक्ति स्वास्थ्य मन्त्री हुनुपर्छ’ विज्ञहरू कुनै पनि मन्त्री विषय विज्ञता भन्दा सरकारी संयन्त्र बुझेको हुनुपर्ने बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी अब बन्ने स्वास्थ्यमन्त्री व्यवस्थापनमा राम्रो दख्खल भएको, नीति नियम र ऐन बुझेको हुनुपर्ने बताउँछन् । अहिले स्वास्थ्य मन्त्रालयमा समस्याका चाङ रहेको बताउँदै उनी यो समस्यालाई समाधान गर्नसक्ने गरी स्वास्थ्यका विषयमात्र नभई सरकारी संयन्त्रमा कसरी काम हुन्छ भन्ने बुझेको व्यक्ति मन्त्री बन्न आवश्यक रहेको बताउँछन् । ‘स्वास्थ्य मन्त्रालय समस्याका चाङले गिजोलिएको छ, यो क्षेत्रको नेतृत्व गर्नेले थुप्रै चुनौती खेप्नुपर्छ,’ डा. मरासिनी भन्छन्, ‘मन्त्रालय जलेर खरानी बाँकी छ, मन्त्रालय बनाउनुपर्ने छ, स्वास्थ्यका थुप्रै फाइलहरू थन्किएर बसेका छन्, ती फाइल अगाडि बढाउनु छ, यस्ता थुप्रै काम अबको स्वास्थ्यमन्त्रीले गर्नुर्ने हुँदा यी विषय बुझ्न सकेको व्यक्ति भए छिटो र सजिलो हुन सक्छ ।’ डा. मरासिनी अब बन्ने स्वास्थ्यमन्त्री यी समस्या समाधान गर्नसक्ने हुनुपर्ने सुझाव दिन्छन् । ‘अगाडिका मन्त्रीले सचिवले मन पर्ने काम हो भने गरेका छन्, मन नपरेका काम अहिले पनि थुपारी राखेका छन्, गर्नुपर्ने धेरै काम भएकाले मन्त्रालय अहिले अप्ठ्यारो अवस्थामा छ,’ उनले भने । नेपाली स्वास्थ्य क्षेत्रलाई मलेरिया, कालाजार हात्तीपाइले जस्ता रोगहरू निर्मूल गर्नुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतिर स्वास्थ्य क्षेत्रमा घटिरहेको वैदेशिक सहायतालाई बढाउनु पर्ने चुनौती रहेको विज्ञहरू बताउँछन् । नेपालले सन् २०३० सम्म गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नुपर्ने थुप्रै जिम्मा पनि स्वास्थ्य मन्त्रालयलाई छ भने संयुक्त राष्ट्रसंघले घोषणा गरेका, डब्लूएचओले भनेका थुप्रै काम समयमै गरिसक्नुपर्ने ठूलो जिम्मेवारी छ । डा. मरासिनी यस्ता काम समयमै गर्न नसके अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश जानुका साथै थप अन्तर्राष्ट्रिय स्तरबाट पाउने स्रोत झन घट्न सक्ने बताउँछन् । स्वास्थ्य बीमाका विषयमा पनि थुप्रै काम गर्न बाँकी रहेकाले बीमा, वैदेशिक सहायता र अन्तर्राष्ट्रिय मञ्चमा गरेका बाचा पूरा गर्ने व्यक्ति अबको स्वास्थ्यमन्त्री बन्नुपर्ने विज्ञहरूको सल्लाह छ । नेपालमा स्वास्थ्य क्षेत्रमा राम्रो ज्ञान नभएको व्यक्ति नै मन्त्री हुँदा समस्या हुने गरेको छ । ‘हाम्रा मन्त्रीहरूले सरकारी संयन्त्र बुझेनन्, सरकारमा कसरी काम हुन्छ भन्ने बुझ्न नै समय लाग्छ, जब बुझेर काम सुरु गर्न खोज्छन्, बुझिसक्दासम्म बाहिरनुपर्ने बेला भइसक्छ,’ डा. मरासिनीले भने ।
जेनजी प्रदर्शनमा मृत्यु हुने ३० जनाको पहिचान, कुन अस्पतालमा कति ?
काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको जेनजीको प्रदर्शनबाट ठूलो धनजनको क्षति भएको छ । राजनीतिक नेतृत्वको गलत कार्यशैली र देशमा व्याप्त भ्रष्टाचार अन्त्यको एजेण्डा बोकेर सडकमा उत्रिएको दोस्रो दिनमै देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो । यो प्रदर्शनले हिंसात्मक रुपमा लिँदा देशभर ३० जनाको मृत्यु भएको छ भने ९ सय ६० जना घाइते भएको विवरण प्राप्त भएको छ । केही व्यक्ति भने सामान्य उपचारपछि घर फर्किएका छन् । काठमाडौं उपत्यकाका सातवटा अस्पताल र उपत्यका बाहिरका केही अस्पतालमा उपचारका लागि पुगेका ३० जनाको मृत्यु भएको ती अस्पतालले जानकारी दिएका छन् । विकासन्युजले देशभरका ११ वटा अस्पतालबाट पाएको सूचना अनुसार हालसम्म ३० जनाको मात्रै मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनमा १ सय ७१ जनालाई उपचारको लागि ल्याइएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने पाँच जनाको आइसीयूमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार २७ जनाको अहिले पनि उपचार भइरहेको छ । मृतक ८ जनामध्ये अहिलेसम्म दुई जनाको ठेगाना खुल्न सकेको छैन । अस्पतालका अनुसार मृत्यु हुनेमध्ये ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीयाम चौलागाई, बाँकेको धुम्वुजी गाउँपालिका २ का २५ वर्षिय शुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षका बुद्धि तामाङ, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका ६ का २९ वर्षका योग बहादुर श्रेष्ठ, काठमाडाैंको बनस्थलीका २६ वर्षका ईश्वत बहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका ४ बेलकका २९ वर्षका सन्तोष बिक, काठमाडौंको टोखा नगरपालिका ८ का १९ वर्षका आयुष थापा र ठेगाना नखुलेका करिब २९ वर्षका गौरब जोशी रहेका छन् । मृतक ८ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याएको अस्पतालले जनाएको छ । सिभिल अस्पताल प्रर्दशन भएको ठाउँबाट सबैभन्दा नजिकको अस्पतालमा पर्छ निजामती कर्मचारी अस्पताल (सिभिल) । काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा उपचारका लागि पुगेका ६ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ३ सय ५४ जना सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ४८ जना अस्पतालमा भर्ना भएका छन् । अस्पतालले ४१ जनाको शल्यक्रिया गरेको छ भर्ना भएका घाइतेमध्ये १५ जनालाई डिस्चार्ज गरेको छ । अस्पतालले चार जना घाइतेको फेरि शल्यक्रिया गर्नुपरेको र ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको बताएको छ । सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा अर्घाखाँचीका १८ वर्षका मिशल सारु मगर, गोरखाका २२ वर्षिय विमल भट्ट, ठेगाना नखुलेका २४ वर्षका काशीआलम ठाकुर, सिराहका ३२ वर्षका विजय चौधरी रहेका छन् । यस्तै, दोलखाका २१ वर्षीय अभिषेक चौलागाईं र धनकुटाका ६० वर्षका छत्रमान कुथुमीको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरू सबैको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताएका छन् । फ्रन्टलाइन हस्पिटल पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालले जेनजी प्रदर्शनमा घाइते १७ जनाको उपचार गरेको जनाएको छ । जसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ भने १३ जनाको उपचारपछि डिस्चार्ज गरेको जानकारी दिएको छ । घाइते एक जना भने अहिले पनि उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार उपचारको क्रममा मृत्यु भएका तीन जनामा संखुवासभाका २१ वर्षका प्रविन कुलुङ, चावहिलका २१ वर्षका उमेश महत र गौशालाका १७ वर्षीया निकिता गौतम रहेका छन् । मृतकको शवलाई भने पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको अस्पतालले जनाएको छ । केएमसी अस्पताल सिनामंगलमा रहेको केएमसी अस्पतालले ७३ जनाको उपचार गरेको जानकारी दिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी नारायण दाहालले बताए । अस्पतालमा अहिले पनि ३५ जना उपचाररत छन् भने ३३ जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । दाहालका अनुसार उपचारको क्रममा ठेगाना नखुलेका सुभाष बोहोरा र सौरम किशोर श्रेष्ठको रहेका छन् । बयोधा अस्पताल बल्खुमा रहेको बयोधा अस्पतालले पनि जेनजीहरूले गरेको आन्दोलनमा घाइते भएका २१ जना उपचार गरेको बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै २१ जनाको उपचार गरेको जनाएको छ । जसमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइतेहरू उपचारपछि घर फर्किएका छन् । ९ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने अस्पतालले रिफर गरेको छ । मृत्यु हुनेमा २८ वर्षका अर्जुन भट्ट र २३ वर्षका देवकुमार सुवेदी रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार २४ वर्षका दीपक साउँदको भने रिफर गरिएको छ । एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ललितपुरका २४ वर्षिय योगेन्द्र न्यौपाने, ललितपुर महानरपालिका ७ का ३४ वर्षका विनोद महर्जन र काभ्रेको तेमाल गाउँपालिका ७ का ४३ वर्षीय दिलनारायण तामाङको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालले १ सय २१ जना घाइते उपचारका लागि अस्पतालमा आएका मध्ये तीनजनाको मृत्यु भएको र गम्भीर घाइते ८ जनाको उपचार भइरहेको जानकारी दिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान देशको पूर्वी भेगमा भएको जेनजी प्रदर्शनमा घाइते दुई जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उपचारका लागि पुगेका चार जनामध्ये दुई जनालाई मृत अवस्थामा अस्पताल पुर्याएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार अस्पतालमा ल्याइएका चार जनामध्ये दुई जना मृत अवस्थामा पुर्याएको र दुई जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा २० वर्षका अभिषेक श्रेष्ठ र अर्को ठेगाना नखुलेका अन्दाजी ३० वर्षका पुरुष रहेको प्रधानले जानकारी दिइन् । घाइते गुमन सिंह शासंकको डेन्टल वार्ड र भूपेन्द्र खड्काको न्यूरो सर्जरी वार्डमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा पनि एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका अनुसार मृतकको अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन । अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्यारा भन्छन्, ‘एक जनाको उपचारकै क्रममा मृत्यु भयो । तर, उनको पहिचान खुल्न सकेको छैन, आफन्त पनि नआउँदा मृतक को हुन् भन्ने यकिन हुन सकेको छैन ।’ उनले २४ जना घाइतेको उपचार गर्दा एक जनाको मृत्यु भएको र अन्यको उपचार पछि डिस्चार्ज गरिएको बताए । भेरी अस्पताल, बाँके बाँकेमा रहेको भेरी अस्पतालले भने २१ जना घाइतेको उपचारपछि रिफर गरेको जानकारी दिएको छ । अस्पतालका मेडिकल सुपरिडेन्ट निराजन सुवेदीले प्रदर्शनकारी पाँच जनाको मृत्यु भएको भनिए पनि जेनजी प्रदर्शनकारी नरहेको बताए । उनले बाल सुधारगृहको प्रदर्शनमा पाँच जनाको मृत्यु भए पनि जेनजी प्रदर्शनका घाइतेको भने मृत्यु नभएको जानकारी दिए । ‘भेरी अस्पतालमा पाँच जना प्रदर्शनकारीको मृत्यु भन्ने हल्ला भएको रहेछ,’ उनी भन्छन्,‘ तर, ती प्रदर्शनकारी जेनजी आन्दोलनका होइनन् । उनीहरू बालसुधार गृहभित्रका प्रदर्शनकारी हुन् ।’ बीएनसी अस्पताल झापाको बीएनसी अस्पतालमा पनि ३ जनाको मृत्यु भएको छ । पोष्टमार्टममा समस्या जेनजी आन्दोलनमा मृत्यु भएका शवको पोष्टमार्टममा समस्या भएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालले क्षमता भन्दा बढी शव पोष्टमार्टम गर्नुपर्ने अवस्था आउँदा समस्या भएको बताएको हो । अस्पतालमा पोष्टमार्टमको लागि सय जनाको क्षमता भएपनि क्षमता भन्दा बढी शव हुँदा समस्या भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा ८०/९० वटा शव पुरानै भएको अवस्थामा थप आन्दोलनका क्रममा मृत्यु भएको शव आउँदा पोष्टमार्टममा समस्या भएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए । उनी भन्छन्, ‘हामीकहाँ बेवारिसे शवदेखि अन्य देशबाहिरका शव पनि पोष्टमार्टमको लागि आउँछन् अहिले आन्दोलनका शवदेखि अन्य गरेर ४९ वटा शव थप आउँदा क्षमताभन्दा बाहिर गइसकेको अवस्था छ ।’ रोस्याराका अनुसार जेनजी आन्दोलनमा मृत्यु भएका केही शवको पहिचान नै नखुल्दा पनि समस्या देखिएको छ । ‘शव पोष्टमार्टमका लागि प्रहरीको रिपोर्ट र मृतकको परिचय खुल्नुपर्छ तर यहाँ न प्रहरीको रिपोर्ट छ न त व्यक्तिको परिचय खुलेको छ, जसका कारण शव त्यत्तिकै राखिएको छ,’ उनले भने । यी हुन् मृतक :
महँगा भनिएका कलेजमाथि आक्रमण, अर्बौंको क्षति
काठमाडौं । देशमा मौलाएको भ्रष्टचार बेथितीविरुद्ध सडकमा आएका जेनजीहरूले उपत्यकामा रहेका निजी शैक्षिक संस्थामा आगजनी गरेका छन् । उपत्यकामा महँगा भनिएका कलेज र नेताहरूको लगानीमा निर्माण भएका भनिएका स्कुलहरूमा नै उनीहरुले आगजनी गरेका हुन् । अहिलेसम्म हामीलाई प्राप्त तथ्यांकअनुसार युलेन्स, नामी, ग्लोबल र जेभिएर इन्टरनेश्नल कलेजमा तोडफोड तथा आगजनी भएको छ । हामीले तोडफोड तथा आगजी भएका स्कूल÷कलेजमा भएको क्षतिको विषयमा यो सामग्री तयार गरेका छौं । युलेन्सको भवन र गाडी जले अन्तर्राष्ट्रिय स्तरको विद्यालय शिक्षा नेपालमा दिँदै आएको युलेन्स स्कुल जलेर खरानी भएको छ । ललितपुरको सातदोबाटोस्थित खुमलटारमा रहेको युलेन्स स्कूलको भौतिक संरचनादेखि विद्यालयभित्र रहेका गाडीहरू प्रदर्शनकारीले लगाएको आगोबाट नष्ट भएका छन् । प्रदर्शनकारीले सामाजिक सञ्जालमा लाइभ गरेरै विद्यालय र गाडीमा आगजनी गरेका थिए । परराष्ट्र मन्त्री समेत रहेकी आरजु राणा देउवाको लागनी रहेको भनिएको युलेन्स स्कूलले महँगो शुल्क लिइरहेको भन्दै आक्रोशमा मंगलबार प्रदर्शनकारीले आगो लगाएका थिए । युलेन्स स्कूलका प्रधानाध्यापक मेदिन लामिछानेले आगजनीबाट ठूलो क्षति भएको जानकारी दिए । उनका अनुसार क्षतिको एकिन विवरण आउन सकेको छैन । ‘आगजनीबाट भवन जलेको छ, अरु क्षति पनि धेरै भएको छ । तर, अहिले यति नै क्षति भयो भन्न सकिने अवस्था छैन,’ उनले भने । नामी स्कुलमा पनि आगजनी जोरपाटीमा रहेको नामी इन्टरनेश्नल स्कुलमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो विद्यालयको प्रांगणमा रहेका बस, कमर्चारीका गाडीदेखि विद्यालय भवनमा प्रदर्शनकारी आगो लगाएका थिए । यो स्कुलमा पनि देउवाकी पत्नी आरजु राणाको लगानी रहेको भन्दै प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेको भीडीओमा सुन्न सकिन्छ । तर, आरजु राणाको लगानीको विषयमा भने अहिलेसम्म प्रमाणित हुन सकेको छैन । यो स्कुललाई पनि प्रदर्शनकारीले चर्को शुल्क लिइरहेको राणाको स्कुल भन्दै तोडफोड र आगजनी गरेको भीडीओमा सुनिन्छ । आगजनीपछि विद्यालयको भौतिक संरचना जलेर नष्ट भएको छ । यो स्कुलमा पनि कति क्षति भयो भन्ने विवरण आएको छैन । ग्लोबलका दुवै भवन जले नेताका छोराछोरी अध्ययन गर्ने कलेज भन्दै काठमाडौंको मध्येबानेश्वरमा रहेको ग्लोबल इन्टरनेश्नल कलेजमा प्रर्दशनकारीले आगजनी गरेका छन् । आगलागीबाट साइन्स र म्यानेजमेन्टको दुवै भवन जलेको कलेजले जानकारी दिएको छ । कलेजका अनुसार आगजनीबाट भुइँतलामा रहेको रिसेप्सन, कार्यालय जलेर नष्ट भएको छ भने गाडी र मोटरसाइकल समेत जलाइएका छन् । कलेज र कर्मचारीका आठ वटा गाडी र चारवटा मोटरसाइकल जलाइएका छन् भने कलेजभित्र रहेका ल्यापटप टेबुल लगायतका सामग्रीहरू लुटपाट भएको कलेजले जानकारी दिएको छ । कलेज प्रशासनका अनुसार करिब ७० करोड लागतमा निर्माण गरिएका भवन जलेर नष्ट भएका छन् । कलेजका सञ्चालक तथा अध्यक्ष खगेन्द्र ओझाले आगजनीबाट कति नोक्सान भयो भन्ने कुरा एकिन हुन नसकेको जानकारी दिए । ‘कलेज बीमा र बैंकको सम्पत्ति हो, उहाँहरुले सर्वे नगरी हामीले यति क्षति भयो भन्न सकिने अवस्था छैन,’ ओझाले भने, ‘हामीलाई पनि भित्र छिर्न दिइएको छैन, अहिले नै यति क्षति भयो भन्न मिल्दैन ।’ उनले छिट्टै क्षतिको विवरण मूल्यांकन गर्नका लागि बीमा कम्पनीलाई आग्रह गरेको बताए । कलेजले सिद्धार्थ इन्स्योरेन्समा बीमा गरेको छ । प्रदर्शनकारीले टेबल कुर्सीसँगै ल्यापटप पनि लुटपाट भएको जानकारी दिए । जेभिएरमा पनि कराडौंको क्षति कालोपुलमा रहेको जेभिएर कलेजमा पनि तोडफोड भएको छ । प्रदर्शनकारीले जेभिएर इन्टरनेश्नल कलेजका दुई भवनमा क्षति पुगेको छ । कलेजका सञ्चालक लोक बहादुर भण्डारीले प्रदर्शनकारीको तोडफोडले ठूलो क्षति बेहार्नुपरेको बताए । उनले बन्द गरेको कलेजमा ढुङ्गामुढा प्रहार गरी सिसा फोडर भित्रका सबै सामान नष्ट भएको बताए । कलेजका सेक्युरेटी गार्ड इञ्चार्ज सुनिल भण्डारीका अनुसार कलेज बन्द रहेको अवस्थामा गेट फोडेर भवनभित्रका सामग्री नष्ट गरिएको छ । उनले कलेजको गेटबाट भित्र पसेका आन्दोलनकारीले ल्याबका सामग्रीदेखि अन्य सामानहरु पनि लुटपाट तथा तोडफोड गरेको बताए । ‘यो आन्दोलन भन्दा पनि एक किसमिको लुटपाट जस्तै देखियो, कम्प्युटर र ल्यापटप सबै बोकेर हिँडे, कोही झ्यालबाट फालेर हिँडे,’ उनी भन्छन्, ‘शैक्षिक संस्था हो, यसरी गर्न हुँदैन्थ्यो ।’ एकिन तथ्यांक छैन निजी विद्यालय सञ्चालकहरूका संस्थाहरुले भने कति शैक्षिक संस्थामा आगजनी भयो भन्नेबारे एकिन जानकारी नभएको बताएका छन् । विभिन्न विद्यालयमा आगो लगाएको दृश्य सामाजिक सञ्जालमा देखिए पनि अहिलेसम्म कति शैक्षिक संस्था जले भन्नेबारे जानकारी नभएको प्याब्सनका महासचिव आरबी कटुवालले बताए । उनी भन्छन्, ‘हामी यो विषयमा अब छलफल गर्दैछौं, अहिलेसम्म कहाँ कति क्षति भयो भन्ने विवरण हामीले संकलन गर्न सकेका छैनौं ।’ अहिले युवाहरू तातिरहेको बेलामा यस्ता गतिविधि विरुद्ध थप जवाफ दिन आफूहरू तयार नभएको उनको भनाइ छ । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले पनि यो विषयमा अहिले तत्काल प्रतिक्रिया दिन उचित नभएको बताए । उनले सबै शैक्षिक संस्थाको अवस्था हेरेरमात्र प्रतिक्रिया दिने बताए । ग्लोबल कलेजका अध्यक्ष खगेन्द्र ओझा देश नै आउटअफ कन्ट्रोलमा गइरहेको बेला मान्छे नै आगो भइरहेको अवस्थामा टुलुटुलु हेर बस्नुको विकल्प नभएको बताउँछन् । ‘अब देश राम्रो बाटो तिर जावस्, भोलि राम्रो व्यवस्था आवस, भ्रष्टाचारमुक्त समाज होस्, यसो भयो भने ठिक हो राम्रो गर्यो भन्न सकिन्छ फेरि अवस्था उस्तै भयो भन्ने अवस्था नआवस,’ उनले भने । अग्रजले सिकाएको पाठको परिणाम युवाहरूले मंगलबार गरेको शैक्षिक संस्थादेखि सरकारी कार्यालय तोडफोडमा विज्ञहरू भने अग्रजले सिकाएको पाठको परिणाम भएको बताउँछन् । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला अग्रजले लुटपाट र आगजनी गरेर सत्ता सम्हालेको बताउँदै अहिले जेनजीले पनि त्यही बाटो पछ्याएको बताउँछन् । उनी भन्छन्, ‘२०४६ सालको आन्दोलनमा पनि यस्तै गरिएको थियो, २०६२/०६३ सालको आन्दोलनमा पनि यस्तै गरेर सफल भएको थियो, माओवादीले पनि १० वर्षमा यही गरेको हो, अनि युवाहरूले पनि यही सिके यही गरे ।’ ‘सिर्जनशिल कुरा सिकेको भए उनीहरूले पनि त्यही गर्थे, उनी थप्छन्, ‘यहाँ नेताहरूले हतियार बनाए, त्यही हतियार उनीहरूको टाउकोमा बज्रियो, स्कुल चलाएका व्यक्ति पनि तिनै व्यक्ति हुँदाको यो आका्रेश हो ।’ कोइराला हाम्रो नेतृत्वले सिकाएको असर हाम्रा शैक्षिक संस्थामा पनि परेको बताउँछन् । प्रदर्शनकारीले शैक्षिक संस्थामा आगजनी गर्नुको मुख्य कारण महँगो शुल्क भएको उनको तर्क छ । शिक्षामै विभेद भएको युवाको आक्रोश पनि शैक्षिक संस्थामा पोखिएको हुनसक्ने शिक्षाका जानकारहरू बताउँछन् । ‘देशले बरबादी भोग्यो, युवाहरूले सिर्जनशिल क्षमतालाई गुमाएर रोष्ट व्यक्त गरे, कोइराला भन्छन्, ‘भवनमा आगो लगाउनुको साटो सञ्चालकहरूलाई समातेर तिमीले यो–यो गल्ती गर्यांै भन्नु पथ्र्यो तर यहाँ संरचना ध्वस्त बनाइदियो ।’ ‘सरकार र जेनजीले जिम्मा लिनुपर्छ’ हिसानका अध्यक्ष रमेश सिलावालले शैक्षिक संस्थामा गरिएको आक्रमणको विरोध गरेका छन् । शिक्षा दिने ठाउँ सरस्वतीको मन्दिर हो यसमा सबै पक्ष संयमित भएर शान्ति क्षेत्रको रुपमा हेर्नुपर्ने बताउँदै जानाजान आगो लगाउनेलाई कारवाही हुनुपर्ने उनको भनाइ छ । ‘अहिले शैक्षिक संस्थामाथि आक्रमण भएको छ, यसको जिम्मेवारी आन्दोलनको नेतृत्वकर्ता र अब बन्ने सरकारले लिनुपर्छ,’ उनी भन्छन्, ‘अहिले सरकार छैन तर केही दिनमा नयाँ सरकार आउँछ अबको नेतृत्व गर्ने सरकारले यसको जिम्मा लिनुपर्छ ।’ शान्तिपूर्ण आन्दोलन गर्ने भनेकाहरूले शैक्षिक संस्था तोक्दै आगजनी गर्नु नै ठूलो गल्ती भएको उनको भनाइ छ । भुलबस् आन्दोलनमा कहिलेकाँहि यस्तो घटना हुनसक्ने बताउँदै सिलवालले जानाजान कलेजमा आगजनी गर्नु दुःखदायी भएको बताए । नेपालमा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिएको छ । जस्तोसुकै द्धन्द्ध हुँदा पनि विद्यालययमा कुनै किसिमको आन्दोलन वा अराजकता गर्न पाइँदैन । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने अभियान माओवादी द्धन्द्धकालबाटै सुरु भएको थियो । जनआन्दोलनमा विद्यार्थीलाई विद्यालयबाटै अपहरण गर्ने ¥यालीमा सहभागी गराउँदा उनीहरूको मृत्यु हुन थालेपछि विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिएको थियो । वि.सं २०६३ सालको जनआन्दोलनमा विद्यालयमै बालबालिका मारिन थालेपछि सरकार, माओवादी, नागरिक समाज, शिक्षक संगठन, बालअधिकारकर्मी र अन्तर्राष्ट्रिय निकायहरूको साझा पहलबाट विद्यालय शान्ति क्षेत्र अभियान सुरु भएको थियो । जसको परिणाम विद्यालय भित्र कुनै पनि सभा सम्मेलन, आन्दोलन गर्न नपाउने गरी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको थियो । तर, जेनजीहरूले उपत्यकाका शैक्षिक संस्थामा खोजीखोजी आगजनी गरेका छन् ।
नेपाललाई शिक्षामा ‘ग्लोबल हब’ बनाउन सकिन्छ, सडकमा गरिने प्रदर्शन समस्या समाधान होइन
नेपालको शिक्षा प्रणालीका विषयमा अहिले विभिन्न व्यक्तिका विभिन्न किसिमका धारणाहरू आइरहेका छन् । एकले शिक्षा प्रणाली नै ध्वस्त छ भनिरहेका छन् भने अर्को पक्षले सुधारको प्रयासमा गइरहेको बताइरहेका छन् । केही व्यक्तिहरू भने अब नेपालको शिक्षालाई विकास गरी नेपाललाई विश्वकै शैक्षिक हब बनाउनुपर्ने धारणा राखिरहेका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ भन्नेहरुमध्ये एक पात्र हुन् कर्णबहादुर शाही । सान इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक एवं नेशनल प्याब्सनका पूर्वअध्यक्ष कर्णबहादुर शाहीसँग नेपाललाई कसरी शैक्षिक हब बनाउन सकिन्छ ? विद्यालय शिक्षा विधेयकप्रति शिक्षकहरूको असन्तुष्टि किन हो ? भन्ने लगायत विषयमा विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू विरोध गरिरहेका छन्, यस विषयमा यहाँको धारणा के हो ? विद्यालय शिक्षा विधेयक ५४ वर्षपछि नयाँ आउँदैछ । यतिका वर्षपछि आउँदै गरेको विधेयकले अबको ५४ वर्षपछि नेपालको शिक्षा प्रणालीलाई गाइड गर्न सक्ने हुनुपर्छ । यो बलियो र सबै कुरा समेटिएको हुनुपर्छ । निजी क्षेत्रमात्र होइन, नेपाल शिक्षक महासंघ पनि यतिबेला आन्दोलनमा छ । निजी विद्यालयको हकमा जुन विषयमा हामीले असन्तुष्टि जनाइरहेका छौं सबै कुराहरू राज्यले सुन्नुपर्छ । राज्य कहिल्यै पनि निजी क्षेत्रलाई स्वीकार गर्न चाहँदैन । मुखले भन्ने र व्यवहारले गर्ने काम जहिले फरक रहन्छ । यो कुरा प्रष्ट विद्यालय शिक्षा ऐनले पनि देखाएको छ । नेपाल शिक्षक महासंघ र निजी क्षेत्रका शिक्षक पनि सडकमा छन्, सडक नै समाधानको बाटो हो ? पक्कै होइन । हामी सडक होइन, संवाद र छलफलमार्फत समाधान खोज्न सक्छौं । छलफल र सहकार्यको माध्यमबाट यस्ता कुरा मिलाउन सकिन्छ । मानव विकासको इतिहासलाई पल्टाएर हेर्यौं भने मान्छेले आफ्नो अधिकारको लागि संगठन बनाउँदै आएका छन् । तर हामी त्यसमा अड्को थापेर बस्न हुँदैन । सहमति, सहकार्य र समझदारी गर्दै अगाडि बढ्नुपर्छ । विद्यालय शान्ति क्षेत्र भनेर हिजोको द्वन्द्वको बेलामा आवाज उठाउने व्यक्ति हामी नै हौं । अहिले हामी नै सडकमा जान उचित हुँदैन । हामी बौद्धिक वर्ग हौं । ऐनमा चित्त नबुझेका विषय के हुन् ? शिक्षा विधेयकमा निजी क्षेत्रका विषयमा दोहोरो मापदण्ड छ । निजी क्षेत्रमा अहिले ३४ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । यो भनेको धेरै ठूलो संख्या हो । आज शिक्षामा सरकारको ढुकुटीबाट २ सय अरबभन्दा बढी खर्च हुन्छ । त्यसले ६६ प्रतिशतलाई मात्रै ओगट्न सकेको छ । राज्यको संविधानकै कुरा गर्ने हो भने अनिवार्य र निःशुल्क शिक्षा भनेर भनेर घोषणा गरिएको छ । तर सबैलाई दिन सकेको छैन । आज निजी क्षेत्रले जुन विज्ञता अथवा दक्षता हासिल गरेको छ, एउटा पूर्वाधार बनेको छ, यो त मुलुककै पूर्वाधार हो । मैले इंगित गर्न खोजेको कुरा के हो भने निजी क्षेत्रको सहभागिताले राज्यलाई नै सहज बनाएको छ । तर हाम्रो राज्यले यस्तो कुरा देख्दैन । नेपाललाई शैक्षिक हब बनाउनु पर्छ भनेर आवाज उठाउँदै आउनुभएको छ, के–कस्तो सम्भावना देख्नु भएको छ ? यहाँ धेरै कुरामा सम्भावना छन् । धेरै कमी कमजोरी हुँदै गर्दा पनि शिक्षा, सूचना र प्रविधिको क्षेत्रबाट हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउन सक्छौं । विश्वका कतिपय मरुभूमि देशहरू कृषिको हब बनेका छन् । हाम्रो त जियोग्राफी हेर्ने हो भने ४० डिग्री सेल्सियसमा बसेको मान्छे २०/२५ किलोमिटर माथि जाँदा २० डिग्री सेल्सियसमा पुगिन्छ । शिक्षामा नेपाललाई ग्लोबल हब बनाउन सक्छौं भन्ने मेरो विश्वास छ । नेपाली विश्वविद्यालयमा विदेशका विद्यार्थीहरू आउनेमा आशावादी हुनुहुन्छ ? सीमा क्षेत्रका धेरैजसो विद्यालयमा अहिले विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् । पाल्पाको रेसिडेन्सियल स्कुलमा बिहारका बच्चाहरू पढ्छन् । बर्मा र चिनियाँ नागरिकले नेपालका अंग्रेजी राम्रो पढाइ हुन्छ भनेर बच्चाहरूलाई नेपाल पढाइरहेको पनि भेटेको छु । विस्तारै अन्य देशका विद्यार्थीहरू पनि आउँछन् तर यसका लागि राज्य र निजी क्षेत्र दुवैको उत्तिकै सक्रियता चाहिन्छ । विद्यालय शिक्षामा मात्र किन ? विद्यालय शिक्षा भनेको जग हो । जग बलियो भयो भने माथि सहज हुन्छ । शिक्षामा जग भनेको विद्यालय शिक्षा हो । पहिले विद्यालय शिक्षाका केन्द्रित रहेर काम सुरु गरौं त्यसपछि उच्च शिक्षाको कुरा पनि विस्तारै गर्न सकिन्छ । ग्लोबल शिक्षा दिन कस्तो पाठ्यक्रम कस्तो हुनुपर्छ ? हामीसँग यो संसारलाई नै गाइड गर्न सक्ने ‘वसुदैव कुटुम्बकम’ भन्ने दर्शन छ । यो दर्शनअन्तर्गत जीवनसँंग काम लाग्ने विषयवस्तु दिन सक्छौं । जस्तो तपाईंले संस्कृत भाषाका स्लोकहरू कण्ठ गर्नुभयो भने जिब्रो फड्कारर बोल्न सकिन्छ । यसले स्वरमा शुद्धता ल्याउँँछ । त्यो भोइस थेरापी हो । त्यस्तै, भागवत गीताको प्रत्यक श्लोकको बारेमा शिक्षा दिन सक्छौं । हामीले सोध्नुपर्ने जान्नुपर्ने सबै कुरा सबै एआइले भनिदिन्छ । तर यहाँ जान्नुपर्ने कुरा भनेको एट्टिच्युड हो, बानी व्यवहार हो, बोलीचाली र संस्कार हो । यो कुरा हाम्रो पूर्वीय दर्शनले दिएको छ । आहार/विहार योगको कुरा छ । यी सबै कुरालाई जोडेर पूर्वीय दर्शन अ फ्युजन अफ इस्टर्न एण्ड वेस्टर्न फिलासफी अफ लाइफ हामीले दिन सक्छौं । अहिलेको एक्काइसौं शताब्दी लर्निङ एआई र यताको पूर्वीय दर्शनको संस्कार यो दुईटालाई तपार्इंले जोड्न सक्नु भयो भने त इन्टरनेशनल स्लेबल करिकुलम हुन्छ । त्यो करिकुलम भनेको त संसारको कुनै पनि मान्छेले नेपाली विदेशमा बस्नेले मात्रै होइन, संसारका सबै मान्छेले सिक्न चाहन्छन् । विभिन्न देशमा संस्कृतको कुरामा भागवत गीताको कुरामा योगेको विषयमा हामी शिक्षा दिन सक्छौं । यस्तो कुरालाई हामीले जोड्दा हामीले चाहिँ भौगोलिक हिसाबले पनि हामीसँग ग्लोबल हब बन्ने सम्भावना भो हामीले गरिराख केही इन्टरनेसनल प्राक्टिसेसहरु छन् त्यसलाई पनि हामीले चाहिँ जोड्न सक्छौं । नाफालाई हामीले नकारात्मक रूपमा हे¥यौं । अब यसलाई सकारात्मक रुपमा हेरौं । लगानी वृद्धि विकासका कुरा गरौं । पाठ्यक्रमको विषयमा व्यापक चर्चा गरौं । आगामी पाँच वर्षमा नेपालको शिक्षामा ठूलो सुधार ल्याउन सकिन्छ । यसको सुरुवात तपाईंले गरिसक्नु भएको छ, कसरी सुरु गर्नुभयो ? हो, मैले यो काम सुरु पनि गरिसकेको छु । क्लासरुम रिफर्म गरौं भनेर अहिले कुराहरू उठ्ने गरेको छ । म आफै प्रोग्रेसिभ लर्निङ सेन्टर बनाउनु पर्छ भनेर लागिरहेको छु । चन्द्रागिरिमा मैले इन्टरनेशनल लेभलको एउटा स्कुल सेटअप गर्दै छु । त्यहाँको नगरपालिकाको मेयरसाब आफै शिक्षा बुझ्ने हुनुहुन्छ । हामी त एउटा अभियानमै छौं । हामीले काठमाडौं विश्वविद्यालयसँग मिलेर दुइटा करिकुलम अगाडि बढाइसकेका छौं । यसका लागि कति जति लगानी लाग्ला ? पैसा पनि चाहिन्छ । म केही नाफा गर्दिनँ, म एकदम परोपकारी बन्छु, सबै गर्छु भनेर हुँदैन । तपाईंले कुनै संस्था बनाउँदै हुनुहुन्छ भने यसको विकास पनि गर्न आवश्यक हुन्छ । त्यहाँ काम गर्ने कर्मचारीलाई तलब दिनु पर्यो । आर्थिक अनुशासन कायम गर्नु पर्यो । कुनै पनि संस्थाले मुनाफा गर्न सक्यो भने समाज र राष्ट्रलाई केही दिन सक्छ । मुनाफालाई हामीले अहिलेसम्म नकरात्मक रूपमा हेर्यौं । अब यसलाई हामीले सकारात्मक रुपमा हेरौं । लगानीका, वृद्धि विकासका कुरा र अन्तर्राष्ट्रिय हिसाबमा सेलेबल कुरामा हामीले छलफल गर्यौं भने हाम्रो गन्तव्य आउने पाँच वर्षमा नेपालको शिक्षामा रिफर्म ल्याउन सकिन्छ । अहिले हामीले एउटा अभियान ‘टिचर एज अ करिकुलम’ भनेर सुरु गरेका छौं । यो पाठ्यक्रमलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ ? अर्गानिक करिकुलम हुनुपर्छ । हिजोसम्म हामीले एउटा कठिन कौशलका बारेमा अर्को नरम कौशलको कुरा गर्यौं । मान्छेको कम्युनिकेसन स्किल्स, उसको प्रस्तुति, उसको संस्कार, मान्छेको पोजेटिभ भाइब्रेसन यी सबै कुराको जसरी हामीले पढाएको विषयमा तीन घण्टाको परीक्षा लिएर पास/फेल गरायौं । अहिलेको जमाना एआई र आईटीको हो । यो हाम्रो जीवनसँग जोडिएको विषय हो । स्कुलबाटै उद्यमशीलता सिक्नु र सिकाउन आवश्यक छ । हामीले परम्परागत ढंगले जुन लेभल लगाएर यो ग्रेड त्यो ग्रेड भन्छौं । चार जीपीए ल्याउने विद्यार्थी साँच्चिकै सबै कुरामा ऊ प्रकाण्ड हो त ? अथवा फोर भन्दा कम ल्याउने कमजोर हो त ? सिकाइ हरेक व्यक्तिमा फरक हुन्छ । कसैले केही कुरा भन्ने बित्तिकै टिप्छन् कसैलाई दुई/तीन पटकसम्म प्रयास गर्दा पनि गाह्रो हुन्छ । हाम्रो पाठ्यक्रम, हाम्रो शिक्षाको पद्धतिले संसारलाई हामीले लोभ्याउन सक्ने अवस्था छ । यसका लागि कसले के गर्नुपर्छ ? यसमा दुई/तीनवटा पाटो छ । एउटा त अभियान नै हुनु पर्यो । यो धेरै ठुलो कुरा हो। राजनीतिक इच्छा शक्ति पनि चाहिन्छ । यो अभियानमा सरकारी निजी भन्ने हुनु भएन । राष्ट्रले निर्धारण गर्नुपर्छ । यसमा आमसहमति हुनुपर्यो । नेपाल एजुकेसनल हब बन्यो भने यहाँका सबैभन्दा समृद्ध सम्मानित हुने भनेको शिक्षक हो । हामीले सुरु गरेको ‘अभियान टिचर एज अ करिकुलम’ भनेका छौं । यसको मतलब पनि शिक्षक समृद्ध नभइकन क्लासरुम रिफर्म हुदैन । यो कुराले शिक्षा क्षेत्र नै माथि उठ्ने हो । यसैको आधारमा देश अगाडि बढ्ने हो भनिसकेपछि यहाँ हामीले आमसहमति गरौं । यस्ता कुरालाई मनन गरेर हामीले पाठ्यक्रम फेरिनुपर्छ । सयौं नेपाली दिनहुँ परदेश पुगिरहेका छन्, कसरी विदेशी विद्यार्थीहरूलाई ल्याउन सक्नुहुन्छ ? शिक्षालाई हामीले आइसोलेसनको रूपमा हेर्नु हुँदैन । यो समग्र मुलुकको उद्यमशीलता र रोजगारी सबै कुरासँग जोडिएको हुन्छ । सबै कुरा शिक्षाले चलाउने पनि होइन । एउटा पाठ्यक्रम निर्माणदेखि लिएर कक्षाकोठाभित्र पाठ्यक्रमका उद्देश्यहरू निर्धारण भएको हुन्छ । त्यो अनुसारको रिफर्म गरेर अगाडि बढाउने हो । जनताले यसलाई साथ दिए, प्राइभेट र सरकारको लगानीको बीचमा हाम्रो तालमेल मिल्यो भने सम्भव छ । हामीले विद्यार्थीलाई दक्ष बनाउन सक्यौं भने सीपअनुसारको काम गर्दा जमिन आसमानको फरक हुन्छ । त्यो कुरा त शिक्षाले दिने कुरा हो । शिक्षाको नाममा अथवा स्वास्थ्यको नाममा निजी क्षेत्रलाई दुरुत्साहित गरेर होइन, हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी सकारात्मक कुरा सोचौं । शिक्षालाई हड्तालको विषय नबनाऔं । विद्यालय शान्ति क्षेत्रलाई अशान्ति क्षेत्र नबनाऔं । विद्यार्थीको कस्टमा हामीले अधिकार पनि नखोजौं । हाम्रा माननीयहरुले पनि हामीलाई कन्ट्राडिक्सनमा पारेर हातखुट्टा बाँधेर स्विमिङ गर पनि नभनौं । सकारात्मक रूपमा अगाडि बढौं ।