इन्द्रसरा खड्का

जेनजी प्रदर्शनमा मृत्यु हुने ३० जनाको पहिचान, कुन अस्पतालमा कति ?

काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको जेनजीको प्रदर्शनबाट ठूलो धनजनको क्षति भएको छ । राजनीतिक नेतृत्वको गलत कार्यशैली र देशमा व्याप्त भ्रष्टाचार अन्त्यको एजेण्डा बोकेर सडकमा उत्रिएको दोस्रो दिनमै देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो ।  यो प्रदर्शनले हिंसात्मक रुपमा लिँदा देशभर ३० जनाको मृत्यु भएको छ भने ९ सय ६० जना घाइते भएको विवरण प्राप्त भएको छ । केही व्यक्ति भने सामान्य उपचारपछि घर फर्किएका छन् ।  काठमाडौं उपत्यकाका सातवटा अस्पताल र उपत्यका बाहिरका केही अस्पतालमा उपचारका लागि पुगेका ३० जनाको मृत्यु भएको ती अस्पतालले जानकारी दिएका छन् । विकासन्युजले देशभरका ११ वटा अस्पतालबाट पाएको सूचना अनुसार हालसम्म ३० जनाको मात्रै मृत्यु भएको छ ।  राष्ट्रिय ट्रमा सेन्टर  काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनमा १ सय ७१ जनालाई उपचारको लागि ल्याइएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने पाँच जनाको आइसीयूमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।  अस्पतालका अनुसार २७ जनाको अहिले पनि उपचार भइरहेको छ । मृतक ८ जनामध्ये अहिलेसम्म दुई जनाको ठेगाना खुल्न सकेको छैन । अस्पतालका अनुसार मृत्यु हुनेमध्ये  ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीयाम चौलागाई, बाँकेको धुम्वुजी गाउँपालिका २ का २५ वर्षिय शुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षका बुद्धि तामाङ, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका ६ का २९ वर्षका योग बहादुर श्रेष्ठ, काठमाडाैंको बनस्थलीका २६ वर्षका ईश्वत बहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका ४ बेलकका २९ वर्षका सन्तोष बिक, काठमाडौंको टोखा नगरपालिका ८ का १९ वर्षका आयुष थापा र ठेगाना नखुलेका करिब २९ वर्षका गौरब जोशी रहेका छन् । मृतक ८ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याएको अस्पतालले जनाएको छ ।  सिभिल अस्पताल प्रर्दशन भएको ठाउँबाट सबैभन्दा नजिकको अस्पतालमा पर्छ निजामती कर्मचारी अस्पताल (सिभिल) । काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा उपचारका लागि पुगेका ६ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ३ सय ५४ जना सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ४८ जना अस्पतालमा भर्ना भएका छन् ।  अस्पतालले ४१ जनाको शल्यक्रिया गरेको छ भर्ना भएका घाइतेमध्ये १५ जनालाई डिस्चार्ज गरेको छ ।  अस्पतालले चार  जना घाइतेको फेरि शल्यक्रिया गर्नुपरेको र ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको बताएको छ ।  सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा अर्घाखाँचीका १८ वर्षका मिशल सारु मगर, गोरखाका २२ वर्षिय विमल भट्ट, ठेगाना नखुलेका २४ वर्षका काशीआलम ठाकुर, सिराहका ३२ वर्षका विजय चौधरी रहेका छन् ।  यस्तै, दोलखाका २१ वर्षीय अभिषेक चौलागाईं र धनकुटाका ६० वर्षका छत्रमान कुथुमीको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरू सबैको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताएका छन् ।  फ्रन्टलाइन हस्पिटल  पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालले जेनजी प्रदर्शनमा घाइते १७ जनाको उपचार गरेको जनाएको छ । जसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ भने १३ जनाको उपचारपछि डिस्चार्ज गरेको जानकारी दिएको छ ।  घाइते एक जना भने अहिले पनि उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।    अस्पतालका अनुसार उपचारको क्रममा मृत्यु भएका तीन जनामा  संखुवासभाका २१ वर्षका प्रविन कुलुङ, चावहिलका २१ वर्षका उमेश महत र गौशालाका १७ वर्षीया निकिता गौतम रहेका छन् । मृतकको शवलाई भने पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको अस्पतालले जनाएको छ ।   केएमसी अस्पताल सिनामंगलमा रहेको केएमसी अस्पतालले ७३ जनाको उपचार गरेको जानकारी दिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी नारायण दाहालले बताए ।  अस्पतालमा अहिले पनि ३५ जना उपचाररत छन् भने ३३ जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । दाहालका अनुसार उपचारको क्रममा ठेगाना नखुलेका सुभाष बोहोरा र सौरम किशोर श्रेष्ठको रहेका छन् । बयोधा अस्पताल बल्खुमा रहेको बयोधा अस्पतालले पनि जेनजीहरूले गरेको आन्दोलनमा घाइते भएका २१ जना उपचार गरेको बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै २१ जनाको उपचार गरेको जनाएको छ ।  जसमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइतेहरू उपचारपछि घर फर्किएका छन् ।  ९ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने अस्पतालले रिफर गरेको छ । मृत्यु हुनेमा २८ वर्षका अर्जुन भट्ट र २३ वर्षका देवकुमार सुवेदी रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार २४ वर्षका दीपक साउँदको भने रिफर गरिएको छ ।  एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ललितपुरका २४ वर्षिय योगेन्द्र न्यौपाने, ललितपुर महानरपालिका ७ का ३४ वर्षका विनोद महर्जन र काभ्रेको तेमाल गाउँपालिका ७ का ४३ वर्षीय दिलनारायण तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।  अस्पतालले १ सय २१ जना घाइते उपचारका लागि अस्पतालमा आएका मध्ये तीनजनाको मृत्यु भएको र गम्भीर घाइते ८ जनाको उपचार भइरहेको जानकारी दिएको छ ।  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान  देशको पूर्वी भेगमा भएको जेनजी प्रदर्शनमा घाइते दुई जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उपचारका लागि पुगेका चार जनामध्ये दुई जनालाई मृत अवस्थामा अस्पताल पुर्याएको अस्पतालले जानकारी दिएको छ ।  अस्पतालका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार अस्पतालमा ल्याइएका चार जनामध्ये दुई जना मृत अवस्थामा पुर्याएको र दुई जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा २० वर्षका अभिषेक श्रेष्ठ र अर्को ठेगाना नखुलेका अन्दाजी ३० वर्षका पुरुष रहेको प्रधानले जानकारी दिइन् । घाइते गुमन सिंह शासंकको डेन्टल वार्ड र भूपेन्द्र खड्काको न्यूरो सर्जरी वार्डमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा पनि एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका अनुसार मृतकको अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन । अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्यारा भन्छन्, ‘एक जनाको उपचारकै क्रममा मृत्यु भयो । तर, उनको पहिचान खुल्न सकेको छैन, आफन्त पनि नआउँदा मृतक को हुन् भन्ने यकिन हुन सकेको छैन ।’  उनले २४ जना घाइतेको उपचार गर्दा एक जनाको मृत्यु भएको र अन्यको उपचार पछि डिस्चार्ज गरिएको बताए । भेरी अस्पताल, बाँके  बाँकेमा रहेको भेरी अस्पतालले भने २१ जना घाइतेको उपचारपछि रिफर गरेको जानकारी दिएको छ । अस्पतालका मेडिकल सुपरिडेन्ट निराजन सुवेदीले प्रदर्शनकारी पाँच जनाको मृत्यु भएको भनिए पनि जेनजी प्रदर्शनकारी नरहेको बताए ।  उनले बाल सुधारगृहको प्रदर्शनमा पाँच जनाको मृत्यु भए पनि जेनजी प्रदर्शनका घाइतेको भने मृत्यु नभएको जानकारी दिए । ‘भेरी अस्पतालमा पाँच जना प्रदर्शनकारीको मृत्यु भन्ने हल्ला भएको रहेछ,’ उनी भन्छन्,‘ तर, ती प्रदर्शनकारी जेनजी आन्दोलनका होइनन् । उनीहरू बालसुधार गृहभित्रका प्रदर्शनकारी हुन् ।’ बीएनसी अस्पताल झापाको बीएनसी अस्पतालमा पनि ३ जनाको मृत्यु भएको छ ।  पोष्टमार्टममा समस्या  जेनजी आन्दोलनमा मृत्यु भएका शवको पोष्टमार्टममा समस्या भएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालले क्षमता भन्दा बढी शव पोष्टमार्टम गर्नुपर्ने अवस्था आउँदा समस्या भएको बताएको हो ।  अस्पतालमा पोष्टमार्टमको लागि सय जनाको क्षमता भएपनि क्षमता भन्दा बढी शव हुँदा समस्या भएको अस्पतालले जानकारी दिएको छ ।   अस्पतालमा ८०/९० वटा शव पुरानै भएको अवस्थामा थप आन्दोलनका क्रममा मृत्यु भएको शव आउँदा पोष्टमार्टममा समस्या भएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए ।  उनी भन्छन्, ‘हामीकहाँ बेवारिसे शवदेखि अन्य देशबाहिरका शव पनि पोष्टमार्टमको लागि आउँछन् अहिले आन्दोलनका शवदेखि अन्य गरेर ४९ वटा शव थप आउँदा क्षमताभन्दा बाहिर गइसकेको अवस्था छ ।’  रोस्याराका अनुसार जेनजी आन्दोलनमा मृत्यु भएका केही शवको पहिचान नै नखुल्दा पनि समस्या देखिएको छ । ‘शव पोष्टमार्टमका लागि प्रहरीको रिपोर्ट र मृतकको परिचय खुल्नुपर्छ तर यहाँ न प्रहरीको रिपोर्ट छ न त व्यक्तिको परिचय खुलेको छ, जसका कारण शव त्यत्तिकै राखिएको छ,’ उनले भने । यी हुन् मृतक :

महँगा भनिएका कलेजमाथि आक्रमण, अर्बौंको क्षति

काठमाडौं । देशमा मौलाएको भ्रष्टचार बेथितीविरुद्ध सडकमा आएका जेनजीहरूले उपत्यकामा रहेका निजी शैक्षिक संस्थामा आगजनी गरेका छन् । उपत्यकामा महँगा भनिएका कलेज र नेताहरूको लगानीमा निर्माण भएका भनिएका स्कुलहरूमा नै उनीहरुले आगजनी गरेका हुन् । अहिलेसम्म हामीलाई प्राप्त तथ्यांकअनुसार युलेन्स, नामी, ग्लोबल र जेभिएर इन्टरनेश्नल कलेजमा तोडफोड तथा आगजनी भएको छ । हामीले तोडफोड तथा आगजी भएका स्कूल÷कलेजमा भएको क्षतिको विषयमा यो सामग्री तयार गरेका छौं ।  युलेन्सको भवन र गाडी जले  अन्तर्राष्ट्रिय स्तरको विद्यालय शिक्षा नेपालमा दिँदै आएको युलेन्स स्कुल जलेर खरानी भएको छ । ललितपुरको सातदोबाटोस्थित खुमलटारमा रहेको युलेन्स स्कूलको भौतिक संरचनादेखि विद्यालयभित्र रहेका गाडीहरू प्रदर्शनकारीले लगाएको आगोबाट नष्ट भएका छन् ।  प्रदर्शनकारीले सामाजिक सञ्जालमा लाइभ गरेरै विद्यालय र गाडीमा आगजनी गरेका थिए । परराष्ट्र मन्त्री समेत रहेकी आरजु राणा देउवाको लागनी रहेको भनिएको युलेन्स स्कूलले महँगो शुल्क लिइरहेको भन्दै आक्रोशमा मंगलबार प्रदर्शनकारीले आगो लगाएका थिए ।  युलेन्स स्कूलका प्रधानाध्यापक मेदिन लामिछानेले आगजनीबाट ठूलो क्षति भएको जानकारी दिए । उनका अनुसार क्षतिको एकिन विवरण आउन सकेको छैन ।  ‘आगजनीबाट भवन जलेको छ, अरु क्षति पनि धेरै भएको छ । तर, अहिले यति नै क्षति भयो भन्न सकिने अवस्था छैन,’ उनले भने ।   नामी स्कुलमा पनि आगजनी  जोरपाटीमा रहेको नामी इन्टरनेश्नल स्कुलमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो विद्यालयको प्रांगणमा रहेका बस, कमर्चारीका गाडीदेखि विद्यालय भवनमा प्रदर्शनकारी आगो लगाएका थिए ।  यो स्कुलमा पनि देउवाकी पत्नी आरजु राणाको लगानी रहेको भन्दै प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेको भीडीओमा सुन्न सकिन्छ । तर, आरजु राणाको लगानीको विषयमा भने अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।  यो स्कुललाई पनि प्रदर्शनकारीले चर्को शुल्क लिइरहेको राणाको स्कुल भन्दै तोडफोड र आगजनी गरेको भीडीओमा सुनिन्छ ।  आगजनीपछि विद्यालयको भौतिक संरचना जलेर नष्ट भएको छ । यो स्कुलमा पनि कति क्षति भयो भन्ने विवरण आएको छैन ।  ग्लोबलका दुवै भवन जले  नेताका छोराछोरी अध्ययन गर्ने कलेज भन्दै काठमाडौंको मध्येबानेश्वरमा रहेको ग्लोबल इन्टरनेश्नल कलेजमा प्रर्दशनकारीले आगजनी गरेका छन् । आगलागीबाट साइन्स र म्यानेजमेन्टको दुवै भवन जलेको कलेजले जानकारी दिएको छ ।  कलेजका अनुसार आगजनीबाट भुइँतलामा रहेको रिसेप्सन, कार्यालय जलेर नष्ट भएको छ भने गाडी र मोटरसाइकल समेत जलाइएका छन् । कलेज र कर्मचारीका आठ वटा गाडी र चारवटा मोटरसाइकल जलाइएका छन् भने कलेजभित्र रहेका ल्यापटप टेबुल लगायतका सामग्रीहरू लुटपाट भएको कलेजले जानकारी दिएको छ । कलेज प्रशासनका अनुसार करिब ७० करोड लागतमा निर्माण गरिएका भवन  जलेर नष्ट भएका छन् । कलेजका सञ्चालक तथा अध्यक्ष खगेन्द्र ओझाले आगजनीबाट कति नोक्सान भयो भन्ने कुरा एकिन हुन नसकेको जानकारी दिए ।  ‘कलेज बीमा र बैंकको सम्पत्ति हो, उहाँहरुले सर्वे नगरी हामीले यति क्षति भयो भन्न सकिने अवस्था छैन,’ ओझाले भने, ‘हामीलाई पनि भित्र छिर्न दिइएको छैन, अहिले नै यति क्षति भयो भन्न मिल्दैन ।’  उनले छिट्टै क्षतिको विवरण मूल्यांकन गर्नका लागि बीमा कम्पनीलाई आग्रह गरेको बताए । कलेजले सिद्धार्थ इन्स्योरेन्समा बीमा गरेको छ । प्रदर्शनकारीले टेबल कुर्सीसँगै ल्यापटप पनि लुटपाट भएको जानकारी दिए ।  जेभिएरमा पनि कराडौंको क्षति कालोपुलमा रहेको जेभिएर कलेजमा पनि तोडफोड भएको छ । प्रदर्शनकारीले जेभिएर इन्टरनेश्नल कलेजका दुई भवनमा क्षति पुगेको छ ।  कलेजका सञ्चालक लोक बहादुर भण्डारीले प्रदर्शनकारीको तोडफोडले ठूलो क्षति बेहार्नुपरेको बताए । उनले बन्द गरेको कलेजमा ढुङ्गामुढा प्रहार गरी सिसा फोडर भित्रका सबै सामान नष्ट भएको बताए ।  कलेजका सेक्युरेटी गार्ड इञ्चार्ज सुनिल भण्डारीका अनुसार कलेज बन्द रहेको अवस्थामा गेट फोडेर भवनभित्रका सामग्री नष्ट गरिएको छ । उनले  कलेजको गेटबाट भित्र पसेका आन्दोलनकारीले ल्याबका सामग्रीदेखि अन्य सामानहरु पनि लुटपाट तथा तोडफोड गरेको बताए ।  ‘यो आन्दोलन भन्दा पनि एक किसमिको लुटपाट जस्तै देखियो, कम्प्युटर र ल्यापटप सबै बोकेर हिँडे, कोही झ्यालबाट फालेर हिँडे,’ उनी भन्छन्, ‘शैक्षिक संस्था हो, यसरी गर्न हुँदैन्थ्यो ।’ एकिन तथ्यांक छैन निजी विद्यालय सञ्चालकहरूका संस्थाहरुले भने कति शैक्षिक संस्थामा आगजनी भयो भन्नेबारे एकिन जानकारी नभएको बताएका छन् । विभिन्न विद्यालयमा आगो लगाएको दृश्य सामाजिक सञ्जालमा देखिए पनि अहिलेसम्म कति शैक्षिक संस्था जले भन्नेबारे जानकारी नभएको प्याब्सनका महासचिव आरबी कटुवालले बताए ।  उनी भन्छन्, ‘हामी यो विषयमा अब छलफल गर्दैछौं, अहिलेसम्म कहाँ कति क्षति भयो भन्ने विवरण हामीले संकलन गर्न सकेका छैनौं ।’ अहिले युवाहरू तातिरहेको बेलामा यस्ता गतिविधि विरुद्ध थप जवाफ दिन आफूहरू तयार नभएको उनको भनाइ छ ।  प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले पनि यो विषयमा अहिले तत्काल प्रतिक्रिया दिन उचित नभएको बताए । उनले सबै शैक्षिक संस्थाको अवस्था हेरेरमात्र प्रतिक्रिया दिने बताए ।  ग्लोबल कलेजका अध्यक्ष खगेन्द्र ओझा देश नै आउटअफ कन्ट्रोलमा गइरहेको बेला मान्छे नै आगो भइरहेको अवस्थामा टुलुटुलु हेर बस्नुको विकल्प नभएको बताउँछन् ।  ‘अब देश राम्रो बाटो तिर जावस्, भोलि राम्रो व्यवस्था आवस, भ्रष्टाचारमुक्त समाज होस्, यसो भयो भने ठिक हो राम्रो गर्यो भन्न सकिन्छ फेरि अवस्था उस्तै भयो भन्ने अवस्था नआवस,’ उनले भने । अग्रजले सिकाएको पाठको परिणाम युवाहरूले मंगलबार गरेको शैक्षिक संस्थादेखि सरकारी कार्यालय तोडफोडमा विज्ञहरू भने अग्रजले सिकाएको पाठको परिणाम भएको बताउँछन् । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला अग्रजले  लुटपाट र आगजनी गरेर सत्ता सम्हालेको बताउँदै अहिले जेनजीले पनि त्यही बाटो पछ्याएको बताउँछन् ।  उनी भन्छन्, ‘२०४६ सालको आन्दोलनमा पनि यस्तै गरिएको थियो, २०६२/०६३ सालको आन्दोलनमा पनि यस्तै गरेर सफल भएको थियो, माओवादीले पनि १० वर्षमा यही गरेको हो, अनि युवाहरूले पनि यही सिके यही गरे ।’  ‘सिर्जनशिल कुरा सिकेको भए उनीहरूले पनि त्यही गर्थे, उनी थप्छन्, ‘यहाँ नेताहरूले हतियार बनाए, त्यही हतियार उनीहरूको टाउकोमा बज्रियो, स्कुल चलाएका व्यक्ति पनि तिनै व्यक्ति हुँदाको यो आका्रेश हो ।’ कोइराला हाम्रो नेतृत्वले सिकाएको असर हाम्रा शैक्षिक संस्थामा पनि परेको बताउँछन् ।   प्रदर्शनकारीले शैक्षिक संस्थामा आगजनी गर्नुको मुख्य कारण महँगो शुल्क भएको उनको तर्क छ । शिक्षामै विभेद भएको युवाको आक्रोश पनि शैक्षिक संस्थामा पोखिएको हुनसक्ने शिक्षाका जानकारहरू बताउँछन् ।  ‘देशले बरबादी भोग्यो, युवाहरूले सिर्जनशिल क्षमतालाई गुमाएर रोष्ट व्यक्त गरे, कोइराला भन्छन्, ‘भवनमा आगो लगाउनुको साटो सञ्चालकहरूलाई समातेर तिमीले यो–यो गल्ती गर्यांै भन्नु पथ्र्यो तर यहाँ संरचना ध्वस्त बनाइदियो ।’ ‘सरकार र जेनजीले जिम्मा लिनुपर्छ’ हिसानका अध्यक्ष रमेश सिलावालले शैक्षिक संस्थामा गरिएको आक्रमणको विरोध गरेका छन् । शिक्षा दिने ठाउँ सरस्वतीको मन्दिर हो यसमा सबै पक्ष संयमित भएर शान्ति क्षेत्रको रुपमा हेर्नुपर्ने बताउँदै जानाजान आगो लगाउनेलाई कारवाही हुनुपर्ने उनको भनाइ छ ।   ‘अहिले शैक्षिक संस्थामाथि आक्रमण भएको छ, यसको जिम्मेवारी आन्दोलनको नेतृत्वकर्ता र अब बन्ने सरकारले लिनुपर्छ,’ उनी भन्छन्, ‘अहिले सरकार छैन तर केही दिनमा नयाँ सरकार आउँछ अबको नेतृत्व गर्ने सरकारले यसको जिम्मा लिनुपर्छ ।’  शान्तिपूर्ण आन्दोलन गर्ने भनेकाहरूले शैक्षिक संस्था तोक्दै आगजनी गर्नु नै ठूलो गल्ती भएको उनको भनाइ छ । भुलबस् आन्दोलनमा कहिलेकाँहि यस्तो घटना हुनसक्ने बताउँदै सिलवालले जानाजान कलेजमा आगजनी गर्नु दुःखदायी भएको बताए ।  नेपालमा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिएको छ । जस्तोसुकै द्धन्द्ध हुँदा पनि विद्यालययमा कुनै किसिमको आन्दोलन वा अराजकता गर्न पाइँदैन । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने अभियान माओवादी द्धन्द्धकालबाटै सुरु भएको थियो । जनआन्दोलनमा विद्यार्थीलाई विद्यालयबाटै अपहरण गर्ने ¥यालीमा सहभागी गराउँदा उनीहरूको मृत्यु हुन थालेपछि विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिएको थियो । वि.सं २०६३ सालको जनआन्दोलनमा विद्यालयमै बालबालिका मारिन थालेपछि सरकार, माओवादी, नागरिक समाज, शिक्षक संगठन, बालअधिकारकर्मी र अन्तर्राष्ट्रिय निकायहरूको साझा पहलबाट विद्यालय शान्ति क्षेत्र अभियान सुरु भएको थियो ।  जसको परिणाम विद्यालय भित्र कुनै पनि सभा सम्मेलन, आन्दोलन गर्न नपाउने गरी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको थियो । तर, जेनजीहरूले उपत्यकाका शैक्षिक संस्थामा खोजीखोजी आगजनी गरेका छन् ।

नेपाललाई शिक्षामा ‘ग्लोबल हब’ बनाउन सकिन्छ, सडकमा गरिने प्रदर्शन समस्या समाधान होइन

नेपालको शिक्षा प्रणालीका विषयमा अहिले विभिन्न व्यक्तिका विभिन्न किसिमका धारणाहरू आइरहेका छन् । एकले शिक्षा प्रणाली नै ध्वस्त छ भनिरहेका छन् भने अर्को पक्षले सुधारको प्रयासमा गइरहेको बताइरहेका छन् । केही व्यक्तिहरू भने अब नेपालको शिक्षालाई विकास गरी नेपाललाई विश्वकै शैक्षिक हब बनाउनुपर्ने धारणा राखिरहेका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ भन्नेहरुमध्ये एक पात्र हुन् कर्णबहादुर शाही । सान इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक एवं नेशनल प्याब्सनका पूर्वअध्यक्ष कर्णबहादुर शाहीसँग नेपाललाई कसरी शैक्षिक हब बनाउन सकिन्छ ? विद्यालय शिक्षा विधेयकप्रति शिक्षकहरूको असन्तुष्टि किन हो ? भन्ने लगायत विषयमा विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् ।  विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू विरोध गरिरहेका छन्, यस विषयमा यहाँको धारणा के हो ? विद्यालय शिक्षा विधेयक ५४ वर्षपछि नयाँ आउँदैछ । यतिका वर्षपछि आउँदै गरेको विधेयकले अबको ५४ वर्षपछि नेपालको शिक्षा प्रणालीलाई गाइड गर्न सक्ने हुनुपर्छ । यो बलियो र सबै कुरा समेटिएको हुनुपर्छ । निजी क्षेत्रमात्र होइन, नेपाल शिक्षक महासंघ पनि यतिबेला आन्दोलनमा छ । निजी विद्यालयको हकमा जुन विषयमा हामीले असन्तुष्टि जनाइरहेका छौं सबै कुराहरू राज्यले सुन्नुपर्छ । राज्य कहिल्यै पनि निजी क्षेत्रलाई स्वीकार गर्न चाहँदैन । मुखले भन्ने र व्यवहारले गर्ने काम जहिले फरक रहन्छ । यो कुरा प्रष्ट विद्यालय शिक्षा ऐनले पनि देखाएको छ । नेपाल शिक्षक महासंघ र निजी क्षेत्रका शिक्षक पनि सडकमा छन्, सडक नै समाधानको बाटो हो ?  पक्कै होइन । हामी सडक होइन, संवाद र छलफलमार्फत समाधान खोज्न सक्छौं । छलफल र सहकार्यको माध्यमबाट यस्ता कुरा मिलाउन सकिन्छ । मानव विकासको इतिहासलाई पल्टाएर हेर्यौं भने मान्छेले आफ्नो अधिकारको लागि संगठन बनाउँदै आएका छन् । तर हामी त्यसमा अड्को थापेर बस्न हुँदैन । सहमति, सहकार्य र समझदारी गर्दै अगाडि बढ्नुपर्छ । विद्यालय शान्ति क्षेत्र भनेर हिजोको द्वन्द्वको बेलामा आवाज उठाउने व्यक्ति हामी नै हौं । अहिले हामी नै सडकमा जान उचित हुँदैन । हामी बौद्धिक वर्ग हौं ।  ऐनमा चित्त नबुझेका विषय के हुन् ? शिक्षा विधेयकमा निजी क्षेत्रका विषयमा दोहोरो मापदण्ड छ । निजी क्षेत्रमा अहिले ३४ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।  यो भनेको धेरै ठूलो संख्या हो । आज शिक्षामा सरकारको ढुकुटीबाट २ सय अरबभन्दा बढी खर्च हुन्छ । त्यसले ६६ प्रतिशतलाई मात्रै ओगट्न सकेको छ । राज्यको संविधानकै कुरा गर्ने हो भने अनिवार्य र निःशुल्क शिक्षा भनेर भनेर घोषणा गरिएको छ । तर सबैलाई दिन सकेको छैन । आज निजी क्षेत्रले जुन विज्ञता अथवा दक्षता हासिल गरेको छ, एउटा पूर्वाधार बनेको छ, यो त मुलुककै पूर्वाधार हो । मैले इंगित गर्न खोजेको कुरा के हो भने निजी क्षेत्रको सहभागिताले राज्यलाई नै सहज बनाएको छ । तर हाम्रो राज्यले यस्तो कुरा देख्दैन ।  नेपाललाई शैक्षिक हब बनाउनु पर्छ भनेर आवाज उठाउँदै आउनुभएको छ, के–कस्तो सम्भावना देख्नु भएको छ ? यहाँ धेरै कुरामा सम्भावना छन् । धेरै कमी कमजोरी हुँदै गर्दा पनि शिक्षा, सूचना र प्रविधिको क्षेत्रबाट हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउन सक्छौं । विश्वका कतिपय मरुभूमि देशहरू कृषिको हब बनेका छन् । हाम्रो त जियोग्राफी हेर्ने हो भने ४० डिग्री सेल्सियसमा बसेको मान्छे २०/२५ किलोमिटर माथि जाँदा २० डिग्री सेल्सियसमा पुगिन्छ । शिक्षामा नेपाललाई ग्लोबल हब बनाउन सक्छौं भन्ने मेरो विश्वास छ ।  नेपाली विश्वविद्यालयमा विदेशका विद्यार्थीहरू आउनेमा आशावादी हुनुहुन्छ ? सीमा क्षेत्रका धेरैजसो विद्यालयमा अहिले विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् । पाल्पाको रेसिडेन्सियल स्कुलमा बिहारका बच्चाहरू पढ्छन् । बर्मा र चिनियाँ नागरिकले नेपालका अंग्रेजी राम्रो पढाइ हुन्छ भनेर बच्चाहरूलाई नेपाल पढाइरहेको पनि भेटेको छु । विस्तारै अन्य देशका विद्यार्थीहरू पनि आउँछन् तर यसका लागि राज्य र निजी क्षेत्र दुवैको उत्तिकै सक्रियता चाहिन्छ । विद्यालय शिक्षामा मात्र किन ? विद्यालय शिक्षा भनेको जग हो । जग बलियो भयो भने माथि सहज हुन्छ । शिक्षामा जग भनेको विद्यालय शिक्षा हो । पहिले विद्यालय शिक्षाका केन्द्रित रहेर काम सुरु गरौं त्यसपछि उच्च शिक्षाको कुरा पनि विस्तारै गर्न सकिन्छ ।  ग्लोबल शिक्षा दिन कस्तो पाठ्यक्रम कस्तो हुनुपर्छ ? हामीसँग यो संसारलाई नै गाइड गर्न सक्ने ‘वसुदैव कुटुम्बकम’ भन्ने दर्शन छ । यो दर्शनअन्तर्गत जीवनसँंग काम लाग्ने विषयवस्तु दिन सक्छौं । जस्तो तपाईंले संस्कृत भाषाका स्लोकहरू कण्ठ गर्नुभयो भने जिब्रो फड्कारर बोल्न सकिन्छ । यसले स्वरमा शुद्धता ल्याउँँछ । त्यो भोइस थेरापी हो । त्यस्तै, भागवत गीताको प्रत्यक श्लोकको बारेमा शिक्षा दिन सक्छौं । हामीले सोध्नुपर्ने जान्नुपर्ने सबै कुरा सबै एआइले भनिदिन्छ । तर यहाँ जान्नुपर्ने कुरा भनेको एट्टिच्युड हो, बानी व्यवहार हो, बोलीचाली र संस्कार हो । यो कुरा हाम्रो पूर्वीय दर्शनले दिएको छ । आहार/विहार योगको कुरा छ । यी सबै कुरालाई जोडेर पूर्वीय दर्शन अ फ्युजन अफ इस्टर्न एण्ड वेस्टर्न फिलासफी अफ लाइफ हामीले दिन सक्छौं ।  अहिलेको एक्काइसौं शताब्दी लर्निङ एआई र यताको  पूर्वीय दर्शनको संस्कार यो दुईटालाई तपार्इंले जोड्न सक्नु भयो भने त इन्टरनेशनल स्लेबल करिकुलम हुन्छ । त्यो करिकुलम भनेको त संसारको कुनै पनि मान्छेले नेपाली विदेशमा बस्नेले मात्रै होइन, संसारका सबै मान्छेले सिक्न चाहन्छन् । विभिन्न देशमा संस्कृतको कुरामा भागवत गीताको कुरामा योगेको विषयमा हामी शिक्षा दिन सक्छौं । यस्तो कुरालाई हामीले जोड्दा हामीले चाहिँ भौगोलिक हिसाबले पनि हामीसँग ग्लोबल हब बन्ने सम्भावना भो हामीले गरिराख केही इन्टरनेसनल प्राक्टिसेसहरु छन् त्यसलाई पनि हामीले चाहिँ जोड्न सक्छौं । नाफालाई हामीले नकारात्मक रूपमा हे¥यौं । अब यसलाई सकारात्मक रुपमा हेरौं । लगानी वृद्धि विकासका कुरा गरौं । पाठ्यक्रमको विषयमा व्यापक चर्चा गरौं । आगामी पाँच वर्षमा नेपालको शिक्षामा ठूलो सुधार ल्याउन सकिन्छ ।  यसको सुरुवात तपाईंले गरिसक्नु भएको छ, कसरी सुरु गर्नुभयो ? हो, मैले यो काम सुरु पनि गरिसकेको छु । क्लासरुम रिफर्म गरौं भनेर अहिले कुराहरू  उठ्ने गरेको छ । म आफै प्रोग्रेसिभ लर्निङ सेन्टर बनाउनु पर्छ भनेर लागिरहेको छु । चन्द्रागिरिमा मैले इन्टरनेशनल लेभलको एउटा स्कुल सेटअप गर्दै छु । त्यहाँको नगरपालिकाको मेयरसाब आफै शिक्षा बुझ्ने हुनुहुन्छ । हामी त एउटा अभियानमै छौं । हामीले काठमाडौं विश्वविद्यालयसँग मिलेर दुइटा करिकुलम अगाडि बढाइसकेका छौं ।  यसका लागि कति जति लगानी लाग्ला ? पैसा पनि चाहिन्छ । म केही नाफा गर्दिनँ, म एकदम परोपकारी बन्छु, सबै गर्छु भनेर हुँदैन । तपाईंले कुनै संस्था बनाउँदै हुनुहुन्छ भने यसको विकास पनि गर्न आवश्यक हुन्छ । त्यहाँ काम गर्ने कर्मचारीलाई तलब दिनु पर्यो । आर्थिक अनुशासन कायम गर्नु पर्यो । कुनै पनि  संस्थाले मुनाफा गर्न सक्यो भने समाज र राष्ट्रलाई केही दिन सक्छ । मुनाफालाई हामीले अहिलेसम्म नकरात्मक रूपमा हेर्यौं । अब यसलाई हामीले सकारात्मक रुपमा हेरौं । लगानीका, वृद्धि विकासका कुरा र अन्तर्राष्ट्रिय हिसाबमा सेलेबल कुरामा हामीले छलफल गर्यौं भने हाम्रो गन्तव्य आउने पाँच वर्षमा नेपालको शिक्षामा रिफर्म ल्याउन सकिन्छ । अहिले हामीले एउटा अभियान ‘टिचर एज अ करिकुलम’ भनेर सुरु गरेका छौं । यो पाठ्यक्रमलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ ? अर्गानिक करिकुलम हुनुपर्छ । हिजोसम्म हामीले एउटा कठिन कौशलका बारेमा अर्को नरम कौशलको कुरा गर्यौं । मान्छेको कम्युनिकेसन स्किल्स, उसको प्रस्तुति, उसको संस्कार, मान्छेको पोजेटिभ भाइब्रेसन यी सबै कुराको जसरी हामीले पढाएको विषयमा तीन घण्टाको परीक्षा लिएर पास/फेल गरायौं । अहिलेको जमाना एआई र आईटीको हो । यो हाम्रो जीवनसँग जोडिएको विषय हो । स्कुलबाटै उद्यमशीलता सिक्नु र सिकाउन आवश्यक छ । हामीले परम्परागत ढंगले जुन लेभल लगाएर यो ग्रेड त्यो ग्रेड भन्छौं । चार जीपीए ल्याउने विद्यार्थी साँच्चिकै सबै कुरामा ऊ प्रकाण्ड हो त ? अथवा फोर भन्दा कम ल्याउने कमजोर हो त ? सिकाइ हरेक व्यक्तिमा फरक हुन्छ । कसैले केही कुरा भन्ने बित्तिकै टिप्छन् कसैलाई दुई/तीन पटकसम्म प्रयास गर्दा पनि गाह्रो हुन्छ । हाम्रो पाठ्यक्रम, हाम्रो शिक्षाको पद्धतिले संसारलाई हामीले लोभ्याउन सक्ने अवस्था छ ।  यसका लागि कसले के गर्नुपर्छ ? यसमा दुई/तीनवटा पाटो छ । एउटा त अभियान नै हुनु पर्यो । यो धेरै ठुलो कुरा हो। राजनीतिक इच्छा शक्ति पनि चाहिन्छ । यो अभियानमा सरकारी निजी भन्ने हुनु भएन । राष्ट्रले निर्धारण गर्नुपर्छ । यसमा आमसहमति हुनुपर्यो । नेपाल एजुकेसनल हब बन्यो भने यहाँका सबैभन्दा समृद्ध सम्मानित हुने भनेको शिक्षक हो ।  हामीले सुरु गरेको ‘अभियान टिचर एज अ करिकुलम’ भनेका छौं । यसको मतलब पनि शिक्षक समृद्ध नभइकन क्लासरुम रिफर्म हुदैन । यो कुराले शिक्षा क्षेत्र नै माथि उठ्ने हो । यसैको आधारमा देश अगाडि बढ्ने हो भनिसकेपछि यहाँ हामीले आमसहमति गरौं । यस्ता कुरालाई मनन गरेर हामीले पाठ्यक्रम फेरिनुपर्छ । सयौं नेपाली दिनहुँ परदेश पुगिरहेका छन्, कसरी विदेशी विद्यार्थीहरूलाई ल्याउन सक्नुहुन्छ ? शिक्षालाई हामीले आइसोलेसनको रूपमा हेर्नु हुँदैन । यो समग्र मुलुकको उद्यमशीलता र रोजगारी सबै कुरासँग जोडिएको हुन्छ । सबै कुरा शिक्षाले चलाउने पनि होइन । एउटा पाठ्यक्रम निर्माणदेखि लिएर कक्षाकोठाभित्र पाठ्यक्रमका उद्देश्यहरू निर्धारण भएको हुन्छ । त्यो अनुसारको रिफर्म गरेर अगाडि बढाउने  हो । जनताले यसलाई साथ दिए,  प्राइभेट र सरकारको लगानीको बीचमा हाम्रो तालमेल मिल्यो भने सम्भव छ । हामीले विद्यार्थीलाई दक्ष बनाउन सक्यौं भने सीपअनुसारको काम गर्दा जमिन आसमानको फरक हुन्छ । त्यो कुरा त शिक्षाले दिने कुरा हो । शिक्षाको नाममा अथवा स्वास्थ्यको नाममा निजी क्षेत्रलाई दुरुत्साहित गरेर होइन, हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी सकारात्मक कुरा सोचौं ।  शिक्षालाई हड्तालको विषय नबनाऔं ।  विद्यालय शान्ति क्षेत्रलाई अशान्ति क्षेत्र नबनाऔं । विद्यार्थीको कस्टमा हामीले अधिकार पनि नखोजौं । हाम्रा माननीयहरुले पनि हामीलाई कन्ट्राडिक्सनमा पारेर हातखुट्टा बाँधेर स्विमिङ गर पनि नभनौं । सकारात्मक रूपमा अगाडि बढौं ।

अब ४ लाख ५० हजार विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने, निजी विद्यालयलाई ५६ अर्ब व्ययभार

काठमाडौं । निजी शिक्षा क्षेत्र अहिले ठूलो दबाबमा परेको छ । प्रतिनिधिसभामा छलफलरत विद्यालय शिक्षा विधेयकले ल्याएको नयाँ प्रावधान पूर्ण छात्रवृत्ति र निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने व्यवस्था निजी विद्यालयका सञ्चालकका लागि टाउको दुखाइको विषय बनेको छ । एकातिर शिक्षा सबै नागरिकको अधिकार हो भन्ने संवैधानिक मूल्य पूरा गर्न यो विधेयकले महत्त्वपूर्ण कदम चालेको दाबी गरिँदैछ भने अर्कातिर निजी विद्यालय सञ्चालकहरू यसलाई अव्यावहारिक र लगानीविरोधी भन्दै आन्दोलनरत छन् ।  साउन २९ गतेदेखि सुरु भएको आन्दोलनले निजी विद्यालय सञ्चालकहरूको दैनिकी नै बदलिएको छ । बिहान विद्यालय सञ्चालन गर्ने, दिउँसो सडकमा नाराबाजी गर्ने, बेलुकी सरकारी निकायमा ज्ञापनपत्र बुझाउने उनीहरूको जीवनशैली यही गतिमा अगाडि बढिरहेको छ । उनीहरूको साझा आवाज छ, ‘राज्यले शिक्षा अधिकारलाई सुनिश्चित गर्नुपर्ने हो, तर त्यसको सम्पूर्ण बोझ निजी विद्यालयमा थोपर्नु अन्याय हो ।’ विवादको मूल कारण विगतमा, अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धी ऐन २०७५ ले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको थियो । त्यसै आधारमा करिब तीन लाख विद्यार्थीले हालसम्म छात्रवृत्तिमा अध्ययन गर्दै आएका छन् । तर, नयाँ विधेयकले यो दायरा बढाएर १५ प्रतिशतसम्म अनिवार्य पुर्याउने प्रस्ताव राखेको छ । ८ हजार बढी निजी विद्यालयका ३० लाख विद्यार्थीमध्ये १५ प्रतिशतको हिसाबले करिब चार लाख ५० हजारले छात्रवृत्तिमा पढ्ने अवसर आउँछ ।  यससँगै खर्चको हिसाब गर्दा ठूलो अन्तर आउँछ । हाल वार्षिक करिब ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको छात्रवृत्ति निजी विद्यालयले दिइरहेको अनुमान निजी विद्यालयका सञ्चालकहरूको छ । नयाँ प्रावधान लागू भएमा यो रकम ५६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । प्याब्सनका महासचिव आरबी कटुवाल भन्छन्, ‘हामीले औसत एक विद्यार्थीलाई वार्षिक १ लाख २५ हजार रुपैयाँ खर्च हुन्छ भन्ने हिसाब गरेका छौं, यो हिसाबले १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिन हामीलाई वार्षिक ५६ अर्बभन्दा बढी खर्च हुन्छ, यसबाहेक, तीन प्रतिशत अति विपन्न विद्यार्थीलाई होस्टेलसहित बस्ने, खाने, लगाउने सुविधा दिनुपर्ने बाध्यता थपिन्छ ।’ सञ्चालकहरूको असन्तुष्टि छात्रवृत्तिको नयाँ व्यवस्थासँगै विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने व्यवस्था लगानीकर्ताको मनोबल घटाउने उनीहरूको ठहर छ । एन प्याब्सनका अध्यक्ष सुवास न्यौपाने भन्छन्, ‘हामीले पनि घर–जग्गा बेचेर विद्यालय खोलेका छौं, नाफा नहुने भएपछि लगानी कसरी सम्भव हुन्छ ? लगानी नभए गुणस्तरीय शिक्षा कसरी दिन सक्छौं ?’ महासचिव कटुवाल पनि भन्छन्, ‘राज्यले शिक्षा सबैलाई निःशुल्क दिन सक्छ भने स्वागत छ, तर निजी विद्यालयलाई मात्र बाध्य पार्नु सरासर गलत हो । हामी अहिले दिँदै आएका छात्रवृत्तिभन्दा बढी दिन सक्दैनौं ।’  शुल्क संरचना र खर्च नेपालका निजी विद्यालयहरूको शुल्क फरक–फरक छ। कतिपय विद्यालयले वार्षिक १२ हजार रुपैयाँ लिन्छन् भने कतिपयले २४ लाखसम्म शुल्क असुल्छन् । यसले गर्दा एक विद्यार्थीको औसत वार्षिक खर्च पनि व्यापक दायरामा पर्छ । तर, औसत रूपमा १ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान उनीहरुको छ ।  यस आधारमा अहिले कुल ३० लाख विद्यार्थीमा तीन लाख विद्यार्थीका लागि निजी विद्यालयले ३७ अर्ब खर्च गर्ने गरेका छन् । नयाँ व्यवस्था लागु भएपछि करिब १८ अर्ब ७५ करोड रुपैयाँ थप आर्थिक भार पर्ने देखिन्छ ।  नयाँ विधेयकले छात्रवृत्ति पाउनेलाई तीन वर्गमा विभाजन गरेको छ । ५० प्रतिशत जेहेन्दार विद्यार्थी, ४७ प्रतिशत विपन्न वर्गका विद्यार्थी र ३ प्रतिशत अति विपन्न विद्यार्थी जसलाई होस्टेलसहित पूर्ण सुविधा दिनुपर्नेछ । यसले निजी विद्यालयको खर्च मात्र बढाउँदैन, व्यवस्थापनमा पनि जटिलता थप्छ । अभिभावकहरूबीच पनि असमानता बढ्ने खतरा रहेको शिक्षाविद्को टिप्पणी छ । कानुनी प्रावधान र नयाँ व्यवस्थाको स्वरूप विद्यालय शिक्षा विधेयकले निजी विद्यालयलाई पनि लोककल्याणकारी संस्थाका रूपमा परिभाषित गरेको छ । यसले विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने उल्लेख गरेको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्ने प्रावधान पनि राखिएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ मा विद्यालयले विद्यार्थी संख्याअनुसार न्यूनतम १० देखि अधिकतम १५ प्रतिशतसम्म छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । पाँच सयसम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, पाँच सयदेखि ८ सय विद्यार्थी भएका विद्यालयले १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ । छात्रवृत्ति भन्नाले केवल पढाइ शुल्क मात्र नभई पोसाक, स्टेशनरी, यातायात, खाना र होस्टेलसम्मका सबै सुविधा समेटिने उल्लेख छ । यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई सम्पूर्ण शैक्षिक र जीवन-सुविधा विद्यालयले नै बेहोर्नुपर्ने अवस्था आउँछ ।

जनकपुरमा भारतीय विश्वविद्यालयको अवैध नर्सिङ धन्दा, सीटीईभीटीको नाममा ठगी

काठमाडौं । भारतीय विश्वविद्यालयले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाट मान्यता लिएको भन्दै अवैध रूपमा नर्सिङ पढाइरहेको पाइएको छ । जनकपुरको मालपोत मार्गमा विगतमा मिथिला नर्सिङ क्याम्पस सञ्चालन भइरहेको भवनमा गुपचुप रुपमा नर्सिङ कार्यक्रम सुरु भएको खबर नेपाल नर्सिङ परिषदमा आएपछि यो घटना बाहिर आएको हो ।  परिषदले गोप्य सूचना पाएपछि सामाजिक सञ्जालमा थुप्रै भ्रामक विज्ञापन समेत फेला परेको नर्सिङ परिषदले जनाएको छ । विज्ञापनमा सीटीईभीटी जस्तै देखिने ड्रेस र त्यहाँ विद्यार्थीलाई दोस्रो वर्षमा अध्ययनरत भन्दै गरेको विज्ञापन देखिएपछि विगतका वर्षहरूदेखि यो अवैध गतिविधि सुरु भएको हुनसक्ने अनुमान परिषदले गरेको छ ।  गोप्य सूचना र विज्ञापन पछि यो विषयमा थप अनुसन्धान गर्न परिषदले सीटीईभीटीलाई जानकारी गराएको जनाएको छ ।  यस्ता गलत गतिविधिबाट जोगिन भन्दै परिषदले सूचनासमेत जारी गरेको परिषदका अध्यक्ष प्राध्यापक सरला केसीले बताइन् ।  उनका अनुसार एसियन इन्टरनेश्नल युनिभर्सिटी मणिपुर विश्वविद्यालयले सीटीईभीटीको सम्बन्धन जोडेर जनकपुरमा तीन वर्षको डिप्लोमा नर्सिङ कोर्ष सुरु गरिरहेको छ । जहाँ ‘करिअर केयर कन्सलटेन्सी’ नामक संस्थाले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गरी तीन वर्षे कोर्स सुरु गरेको छ ।  नेपालको सीटीईभीटीको मान्यता प्राप्त गरेको भन्दै भारतीय विश्वविद्यालयले अवैध रुपमा नर्सिङ कोर्स सञ्चालन गरिरहेको संकेत परिषद्ले पाएपछि उसले सार्वजनिक सूचना नै जारी गरेको छ । सूचनामा भनिएको छ, ‘हाल विभिन्न सामाजिक सञ्जालमा डिप्लोमा इन नर्सिङ असिस्टेन्ट कोर्स लगायतका कार्यक्रमहरूमा नेपाल बाहिर अध्ययन गराउने भनि विज्ञापन गरेको पाइएको सम्बन्धमा परिषदको ध्यानाकर्षण गराएको पाइएको छ ।’ परिदषका अनुसार भारतको एसियन इन्टरनेशनल युनिभर्सीटी मणिपुरले नेपालको सीटीईभीटीको नाम जोडेर तीन वर्षे डिप्लोमा इन नर्सिङ असिस्टेन्ट कोर्स गराइरहेको पाइएको छ ।  टिकटकमा प्रचार सामाजिक सञ्जालमा सञ्जिव कुमार शाह नामक टिकटक आइडीमा अनेक प्रचार गरिएका छन् । के तपाईं नर्सिङ गर्ने सोचमा हुनुहुन्छ र सिट पाउनुभएको छैन ? नेपाल सीटीईभीटीबाट सम्बन्धन प्राप्त संघम युनिभर्सिटी राजस्थानी र एसियन इनटरनेश्नल युनिभर्सिटी मणिपुर, सन्दीप युनिभर्सिटी, महाराष्टलाई सम्झनुहोस भनिएको छ ।  जहाँ सम्पर्कको लागि करिअर केयर कन्सलटेन्सी जनकपुरधाम मुरली चोक भनिएको छ र सम्पर्कको लागि नम्बर पनि राखिएको छ । नर्सिङ कोर्समात्र नभई एचए, बिटेक इन्जिनियरिङ लगायतका अन्य कोर्सबारे पनि त्यहाँ प्रचार गरिएको छ । विज्ञापनमा बोल्नेहरूलाई नै कोर्सको शुद्ध उच्चारण गर्नसमेत आउँदैन ।  प्रचारमात्र होइन त्यहाँ हुबहु सीटीईभीटीसँग मेल खाने ड्रेसमा पढिरहेका विद्यार्थीहरू पनि देखिन्छन् । परिषदका रजिष्ट्रार सकुन्तला प्रजापति विभिन्न भारतीय विश्वविद्यालय र सीटीईभीटीको नामबाट धेरै विद्यार्थीको जीवन बर्बाद भएको हुन सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘सामाजिक सञ्जालमै म दोस्रो वर्षमा अध्ययनरत भनेका बहिनीहरूको आवाज पनि सुनिन्छ, अब उनीहरूको भविष्य के हुन्छ ?’ ठगीको उजुरी अवैध रुपमा नर्सिङ कोर्स सुरु भइरहेको यकिन भएपनि त्यो कहिलेबाट सुरु भएको हो, हाल कति विद्यार्थी अध्ययनरत छन् भन्ने विषयमा भने एकिन जानकारी भएको छैन । बरु यो संस्था अवैध हो भन्ने थाहा पाएपछि विद्यार्थी र अभिभावक मानसिक तनावमा परेका छन् । कतिपयले ठगीको मुद्दा दर्ता गराउने तयारी पनि गरिरहेका छन् । अध्यक्ष केसीका अनुसार त्यो संस्थालाई इण्डियन नर्सिङ काउन्सिलले पनि मान्यता दिएको छैन। उनी भन्छिन्, ‘यसले त विद्यार्थीलाई नराम्ररी ठग्यो कतिको भविष्य बर्वाद बनायो एकिन छैन, किन कि न त्यो संस्था दर्ता छ न त्यहाँ पढेका विद्यार्थीले नाम दर्ता नै गर्न पाउँछन्, त्यहाँ ‘डिप्लोमा नर्सिङ असिस्टेन भन्ने कोर्स सुरु गरेको रहेछ जो हामी परिषदमा दर्ता हुँदैन ।’ ‘भारतमा प्लस टु नगरी नर्सिङको पढाइ हुँदैन । नेपाली सीटीईभीटीको सम्बन्धन भनेको छ । नेपाली सीटीईभीटीले विदेशी विश्वविद्यालयलाई सम्बन्धन दिँदैन, उनी भन्छिन्, ‘यो सबै झुट हो । तर, कक्षा चाहिँ सुरु  भइरहेको छ । भन्ने जानकारी आएको छ । यो केसमा हामी भन्दा पनि विशेष सीटीईभीटी जोडिएको छ, हामी नाम दर्ता गर्ने बेलामा मात्र जोडिन्छौ । सीटीईभीटीलाई जानकारी गराएका छौं । यो विषयमा छानबिन हुँदैछ ।’  केसीका अनुसार जुन विषय अहिले पढाइ भइरहेको छ भन्नमा आएको छ यो विषयको कोर्समा नाम दर्ता लाइसेन्स नै दिँदैन । परिषदले एसईईपछि तीन विषयमा मात्र नाम दर्ता गर्छ । एउटा एसईईपछि पढाइ हुने डेढ वर्षको एएनएम कोर्स जुन अहिले बन्द भइसकेको छ । अर्को एसईईपछि तीन वर्ष पढ्ने पीसिएल नर्सिङ  र अर्को प्लसटु गरेर चार वर्ष पढेका बिएस्सी गरेका नर्स र अर्को मिडवाइफ गरेकाहरूको मात्र परिषदमा नाम दर्ता हुन्छ । अहिले त्यहाँ पढाइ भइरहेको भनिएको विषयमा नेपालमा नाम दर्ता नै नहुने केसी बताउँछिन् ।  सीटीईभीटीको टोली जनकपुरमा सीटीईभीटीबाट मान्यता प्राप्त कोर्स भन्दै भारतीय विश्वविद्यालयले नर्सिङ पढाइ सुरु गरेको विषयमा अध्ययन गर्न सीटीईभीटीको टोली जनकपुर गएको छ । सीटीईभीटीका सचिव महेश भट्टराईले यो विषयमा अध्ययन गर्न टोली जनकपुर गएकाले अध्ययन गरेपछि मात्र एकिन जानकारी दिन सकिने बताए ।  उनले सीटीईभीटीले विदेशी विश्वविद्यालयलाई मान्यता दिने प्रावधान नभएकाले मान्यता दिने अवस्था नभएको बताए । ‘हामीलाई पनि जानकारी आएको छ, खास कुरो के हो अध्ययन हुन्छ, टोली गइसकेको छ, खासमा कुरोको चुरो केहो टोली फर्केपछि भन्न सकिन्छ,’ भट्टराईले भने ।  उनले अवैध रुपमा गतिविधि सञ्चालन भएको पाइए कारवाही गर्ने बताए । उनी थप्छन्, ‘हामीले  विदेशी शैक्षिक संस्थालाई सम्बन्धन दिनै मिल्दैन र दिँदैनौं पनि, सीटीईभीटीको नाममा गलत धन्दा गर्नेलाई त्यत्तिकै छोडिँदैन, कारवाही गर्छौं ।’ यो विषमा भने स्थानीय सरकारलाई कुनै जानकारी छैन । अवैध नर्सिङ कोर्स सञ्चालन गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार शाह बताउँछन् ।  ‘हामीलाई यो विषयमा कुनै जानकारी पनि छैन, कसैले भनेको पनि छैन, बरु संस्थाको नाम भन्नुहोस् हामी त्यो ठाउँमा तुरुन्तै छापा मार्छौं ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले पनि यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालयले पनि कुनै जानकारी नभएको जनाएको छ ।  परिषदका अध्यक्ष केसी भन्छिन्, ‘सबैलाई नर्सिङ पढ्ने हुटहुटी छ, यो बच्चाहरूको बिजोग हुन्छ एउटा तीन वर्ष समय जान्छ, अर्को पैसा जान्छ सँगै मानसिक तनाव पनि हुने भयो । यत्रो लगानी गरिसकेपछि त्यो लगानीको अर्थ नहुने भएपछि  त विद्यार्थीमात्र होइन अभिभावकलाई पनि मानसिक तनाव हुने भयो । अहिले अभिभावक बच्चा सबैलाई भर्ना नगर्न नगराउन सुसूचित गराएका छौं ।’ 

पढाइसँगै कमाइ : कक्षाकोठा र कार्यस्थलको खाडल पुर्दै इम्बार्क कलेज

काठमाडौं । स्याङ्जाका एक युवक प्लस टु पास गरेपछि काठमाडौं आए । उनले काठमाडौंमै स्नातक तह र स्नातकोत्तर गरे । स्नातकोत्तर सकेर बसिरहेका उनी कामको खोजीमा छन् । एक वर्षदेखि कामको खोजीमा रहेका उनले अझै पढाइअनुसारको जागिर पाउन सकेका छैनन् । व्यवस्थापनबाट स्नातकोत्तर गरेका उनी स्नातकोत्तर गर्दैदेखि लोकसेवाको तयारीमा लागे । तर, पटक–पटक परीक्षामा सफल हुन सकेनन् । अहिले उनी आयोगको तयारीसँगै कामको खोजीमा छन् । हातमा सर्टिफिकेट छ, मार्केटमा काम पनि छ तर उनले काम पाएका छैनन् । कारण पढाइ अनुसारको सीप नहुनु । ‘कलेजमा पढ्दा किताबको कुरा मात्र पढाइयो, कामको कुरा सिकाइएन, अहिले काम खोज्न जाँदा कम्तीमा यति वर्षको अनुभव हुनुपर्छ भन्ने आवेदनमै उल्लेख गरिएको हुन्छ,’ उनी भन्छन्, ‘काम गर्ने अवसर पाए पो अनुभव हुन्छ, कामै गर्न नपाए कसरी अनुभव हुन्छ ?’ आयोगको परीक्षामा समेत नाम निकाल्न नसकेपछि अब उनको योजना विदेश जाने छ । उनी पढाइ अनुसारको सीप नहुँदा काम पाउन नसकेको बताउँछन्  । अधिकांश नेपाली विद्यार्थीको हालत यी युवाको जस्तै हो । किताब भित्रका कुरा पढे पनि कसरी त्यही कुरा व्यवहारमा लागू गर्ने भन्ने सिकाइ नहुँदा विद्यार्थी सर्टिफिकेट भएपनि काम पाउन सक्दैनन् ।  पढाइसकेपछि मात्र जागिर गर्नुपर्छ भन्ने सोचले जीवनको २५/२६ वर्ष उमेर पढाइमै बित्छ । त्यसपछि बजारमा काम खोज्न जाँदा अहिलेको बजारको मागअनुसार फिट नहुँदा काम नपाएका युवाहरूको ठूलो जमात छ । कतिपय जमात खाडीतिर पसे पनि अझै नेपालमा कामको खोजीमा रहेका युवाहरूको समूह पनि ठूलो छ ।  विद्यार्थीले काम नपाउनु र कम्पनीले आवश्यक कामदार नपाउनु नेपालको ठूलो समस्याका रूपमा देखिएको छ । नेपालको शिक्षा र बजारमा गहिरो खाडल छ । यही समस्यालाई मध्यनजर गर्दै पछिल्लो समय केही कलेजहरूले रणनीति नै परिवर्तन गरेका छन् । विशेषगरी उपत्यकामा रहेको विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका नयाँ र केही पुरानै कलेजहरूले पुरानो तौरतरिका फेरेका छन् ।  यो शैलीलाई फेरेर नयाँ शैलीका साथ अर्थात् पढाइलाई रोजगारसँग जोडेर सञ्चालनमा आएको एउटा कलेज हो इम्बार्क कलेज । यो कलेजले सञ्चालनको आठ महिनामै विद्यार्थीलाई शिक्षासँगै सीप र रोजगारी दिइरहेको छ ।  ८ महिनामा दुइटा कार्यक्रम थप ललितपुरको पुल्चोकमा रहेको इम्बार्क कलेजले नेपाली विद्यार्थीलाई नेपालकै उद्यमशीलता जोड्ने प्रयास गरिरहेको छ । गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानमा सञ्चालित कलेजले रोहेम्पटन विश्वविद्यालय लण्डन (युके) सँग सहकार्य गर्दै  शिक्षामा फरक उद्देश्यका साथ अध्यापन सुरु गरेको हो । बिजनेस म्यानेजमेन्ट, बीएसस्सी, एमबीए, एशोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए)का कार्षहरू सुरु गरिरहेको यो कलेज सञ्चालनमा आएको ८ महिना भयो  । कलेज विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सीपसँगै रोजगारी दिने ग्यारेन्टी गरेको छ । यही उद्देश्यले इम्बार्कले दुइटा नयाँ कार्यक्रम सुरु गरेको छ ।  जसमा इम्बार्क कलेजले ‘अप्रेन्टिससिप कार्यक्रम’र ‘स्टार्टअप क्षमता विकास’ कार्यक्रम छन् । अप्रेन्टिससिप कार्यक्रम’ ले उद्योगका लागि दक्ष जनशक्ति र विद्यार्थीका लागि रोजगारी सुनिश्चित गर्ने उद्देश्य राखेको छ भने स्टार्टअप कार्यक्रमले आयातमा निर्भरता घटाएर स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास गर्ने उद्देश्य राखेको छ ।  व्यावसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउने उद्देश्यले यी दुइटा कार्यक्रम सुरु गरेको कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष ठाकुरले बताए ।  व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रमले भविष्यमा व्यावसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्ने ठाकुरको दाबी छ ।  उनी भन्छन्, ‘यो कार्यक्रमले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ । हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं ।’ यी कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै नेपाली उद्योग र उद्यम क्षेत्रका कम्पनीसँग काम गर्न पाउने अवसर पाउने छन् ।  कम्पनीसँग सम्झौता इम्बार्क कलेजले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका र वार्षिक १५ करोडभन्दा कम कारोबार गरिरहेका नवप्रवर्तन कम्पनीहरूसँग सहकार्य गरेको छ । युवा व्यवसायीले सञ्चालनमा ल्याएका यस्ता कम्पनीमा पढ्दै गरेका विद्यार्थीलाई आवद्ध हुन सहज हुने भएकाले यस्ता कम्पनी छनोट गरेको कलेजले बताएको छ ।  स्टार्टअप क्षमता विकास कार्यक्रमले सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई छनोट गरेको हो । यस्ता व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्टअपहरू पर्छन् ।  सीईओ ठाकुर भन्छन्, ‘नेपालमा उद्यमशीलताको सम्भावना अपार छ । तर, रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ । हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ ।’ के भन्छन् कम्पनी ?  विद्यार्थीहरूले रोजगारी नपाएको गुनासो गरिरहेको बेला यता कम्पनीहरू भने कामदार पाउन नै गाह्रो भइरहेको बताउँछन् । अटो क्षेत्रदेखि प्रविधिका क्षेत्रमा काम गर्ने कम्पनीहरू दक्ष कामदार खोज्न भन्दै अहिले कलेजहरूसँगै सहकार्य गरिरहेका छन् ।  विशेषगरी आईटी र व्यवस्थापनका विषय पढाइ हुने कलेजहरूमा नेपालकै नाम चलेका कम्पनीहरू सहकार्य गरिरहेका छन् । उनीहरूले आफ्नो कम्पनीलाई आवश्यक पर्ने कामदार विद्यालयबाटै छनोट गर्दा आवश्यकता अनुसारको कामदार पाउन सकिने बताइरहेका छन् । डिजिटल क्षेत्रमा काम गर्दै आइरहेको लोन ट्री कम्पनीका मार्केटिङ म्यानेजर आकृति बस्नेत संस्थालाई आवश्यक जनशक्ति पाउन गाह्रो हुने बताउँछिन् । डिजिटल क्षेत्रमा काम गरिरहेका संस्थालाई अहिलेको प्रविधि र परिवेशसँग पोख्त जनशक्ति आवश्यक पर्ने तर त्यो अनुसारको जनशक्ति पाउन गाह्रो हुने गरेको उनी बताउँछिन्। उनी नेपालको शिक्षा क्षेत्र र बजार क्षेत्रमा रहेको अन्तर कम गर्न इम्बार्क जस्ता कलेजहरूले सहयोग गरिरहेको बताउँछिन् । बस्नेत भन्छिन्, ‘म पनि पढ्दै काम गर्दै गरेको विद्यार्थी हुँ, इम्बार्क कलेजमा अहिले पढ्दै पनि छु र काम पनि गरिरहेकी छु, यस्तै अवसर र सिकाइको सुरुवात देशभरका शैक्षिक संस्थामा हुने हो भने विद्यार्थी र उद्यम क्षेत्रमा देखिएको खाडल कम हुन्छ ।’ बस्नेत डिजिटल क्षेत्रमा त्यो पनि स्टार्टअप क्षेत्रमा काम गरिरहेको संस्था र विद्यार्थीलाई पढाइसँगै कामको अवसर खोजिरहेको इम्बार्कको उद्देश्य उस्तै र एकै प्रकारका हुँदा सहकार्य गरेको बताउँछिन् । कलेजसँग समन्वय गर्दा कम्पनीलाई आवश्यक पर्ने कामदार खोज्न अब बाहिर जानुपर्ने अवस्था नहुने उनको अपेक्षा छ । बस्नेतको जस्तै अपेक्षा इम्बार्कसँग समन्वय गरेका अन्य कम्पनीहरूको पनि छ । कलेजका सीईओ ठाकुर विद्यार्थीलाई पढाउनुभन्दा पनि सिकाउन जरुरी रहेको बताउँदै सिकाइ जे पढिन्छ र त्यहीबाट हुने बताउँछन् । यसैलाई मध्येनजर गर्दै इम्बार्कले विभिन्न कम्पनीलाई कलेजभित्र ल्याउने प्रयास भइरहेको बताउँछन् । उनी कम्पनीलाई कलेजमा ल्याउँदा विद्यार्थीलाई जागिरको लागि सहज हुने र कम्पनीलाई पनि आवश्यकता अनुसारको कामदार छनोट गर्न सहज हुने विश्वास गर्छन् । व्यवस्थापनका कोर्षहरू पढाउँदा विद्यार्थीलाई व्यवहारिक ज्ञान बढी दिनुपर्ने हुन्छ । उनी भन्छन्, ‘इम्बार्क कलेजको पढाइमा विद्यार्थीले के ज्ञान प्राप्त गरे र कस्तो काम सिके भन्ने जान्नु पहिलो प्राथमिकता हो ।’ 

एआई कोर्षमा विद्यार्थीको आकर्षण, कति लाग्छ खर्च ?

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) मानव जीवनको एक अभिन्न अंगजस्तै भइसकेको छ । कुनै पनि विषयमा जिज्ञासा भयो वा त्यसको कुनै चित्त बुझ्दो जवाफ आएन भने सबैभन्दा पहिले एआईलाई सोध्ने अभ्यास बढिरहेको छ ।  ओपनएआईको च्याटजीपीटी, एक्सएआईको ग्रोक, गुगलको जेमिनाई, क्लाउडी एआई र चिनियाँ एआई डीपसीक लगायतका एआईले जिज्ञासुको जिज्ञासा सजिलै मेटाइदिन्छन् ।  सूचना र प्रविधि क्षेत्रमा एआईको विकास तीव्र भएसँगै नेपालमा पनि विद्यालय तथा कलेजहरूले एआई विषय पढाउन सुरु गरेका छन् । जसमा विद्यार्थीको आकर्षण निकै बढिरहेको बुझिएको छ । आज हामीले एआई पढाउने विद्यालय तथा कलेजको बारेमा चर्चा गर्दैछौं ।  सनवे कलेज  सूचना प्रविधि क्षेत्रमा १५ वर्षदेखि जनशक्ति उत्पादन गर्दै आइरहेको कलेज हो सनवे कलेज । काठमाडौंको मैतीदेवीमा रहेको यो कलेजले पछिल्लो समय एआईसँगै कम्प्युटर साइन्सकाे कक्षा  सञ्चालन गरिरहेको छ । स्नातक तहमा एआई विषयमा दक्ष एक सयभन्दा बढी विद्यार्थी बर्सेनि बजारमा पठाउँदै आएको दावी कलेजको छ। २०२२ सालदेखि एआई विषय पढाउन सुरु गरेको कलेजले गत वष ११२ विद्यार्थी भर्ना गरेको थियो । अहिले पनि ब्याचलरमा भर्ना कार्यक्रम जारी रहेको कलेजले जनाएको छ ।  ‘यहाँ यति सिटमात्र विद्यार्थी लिन पाइन्छ भन्ने छैन, कम्तीमा एक सय बढीमा जति विद्यार्थी पढ्न आउनुहुन्छ, उहाँहरू सबैलाई हामी पढाउँछौं,’ एडमिसन शाखामा कार्यरत निशा गौतम भन्छिन्, ‘यो वर्षको लागि अहिले भर्ना जारी छ, विद्यार्थीहरू भर्नाको लागि आइरहनुभएको छ ।’  यो कलेजले अब छिट्टै स्नातकोत्तरका पनि एआई कोर्ष सुरु गर्ने योजना बनाएको छ । कलेजका अनुसार यो विषयमा विद्यार्थीको आकर्षण बढेसँगै स्नातकोत्तरमा पनि कार्यक्रम सुरु हुन लागेको छ ।  कलेजले विद्यार्थीलाई पढाउनेमात्र नभई जब प्लेसमेन्ट सुविधा पनि दिइरहेको छ । विभिन्न ६० बढी कम्पनीसँग साझेदारी गर्दै काम सुरु गरेको छ । यो कोर्ष पूरा गर्न एउटा विद्यार्थीले करिब १० लाख रुपैयाँ तिनुपर्ने हुन्छ ।  सफ्टवेरिका कलेज डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेज पनि एआई पढाउँदै आइरहेको छ  । यो कलेजले सन् २०२१ सालदेखि स्नातक तहमा एआई पढाउन सुरु गरेको थियो । बदलिँदो विश्वको परिवेश र नागरिकको जीवनलाई मध्यनजर गर्दै एआई पढाउन सुरु गरेको विषयमा अहिले थप विद्यार्थीको आकर्षण बढेको कलेजले जनाएको छ ।  २.४ जीपीए ल्याएको विद्यार्थीले पनि सफ्टवेरिकामा एआई पढ्न पाउँछन् । कलेजले कुनै सीमित विषय पढेका विद्यार्थीलाई मात्र यो विषय पढ्न पाइने भन्ने नरहेको कलेजका बजार रणनीति म्यानेजर सुमन बस्यालले बताए । सफ्टवेरिकामा तीन वर्षीय स्नातक कोर्स छ । यो कोर्स पुरा गर्न एक जना विद्यार्थी १३ लाख रुपैयाँ खर्च गर्नुपर्छ । कलेजले विभिन्न किसिमका छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।  लुम्बिनी प्राविधिक विश्वविद्यालय आईटी क्षेत्रमा शिक्षा दिँदै आइरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले तीन वर्ष अगाडिदेखि एआई पढाउन सुरु गरेको छ । विश्वविद्यालयमा ४८ जनाको सिट निर्धारण गरिएको छ । पहिलो वर्ष १६ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो वर्ष बढेर २० पुगेको थियो ।  यो वर्ष भर्ना खुलेको दुई सातामै ४० जना विद्यार्थी आइसकेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले जनाएको छ । ‘हामीसँग अझै केही सिट बाँकी छ, भर्ना जारी राखेका छौं । अरू विद्यार्थी पनि आउनुहुन्छ भन्ने अपेक्षा छ,’ विश्वविद्यालयका कम्प्युटर अपरेटर प्रकाश चौधरीले भने । लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यो कोर्ष चार वर्षमा पुरा हुन्छ । चार वर्षमा पूर्ण शुल्क तिरेर पढ्ने विद्यार्थीले पाँच लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।  तर प्रायः सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको विश्वविद्यालयको दाबी छ ।  चौधरीका अनुसार १२ जना विद्यार्थीलाई ७५ प्रतिशत छुट दिइएको छ भने १३ देखि २० सम्म र्याङ्किङ भएका विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिदाँ धेरै खर्च नलाग्ने उनको भनाइ छ ।  इस्लिङटन कलेज सूचना तथा प्रविधि क्षेमा विद्यार्थी उत्पादन गर्दै आइरहेको इस्लिङटन कलेजले एआई विषय पढाउन थालेको चार वर्ष भयो । अहिले १ सय ६० जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष १ सय ३० जना विद्यार्थी भर्ना भएका थिए भने पहिलो वर्ष ३० जना विद्यार्थी भर्ना भएका थिए ।  यो कलेजमा कोर्ष पुरा गर्न तीन वर्ष लाग्छ । यो कोर्ष पढ्ने विद्यार्थीमध्ये ६० प्रतिशत ग्राजुएट हुनेबित्तिकै जागिर सुरु गर्ने भएकाले पनि यसमा रुचि बढेको हुनसक्ने एआई कोर्ष लिडर दिपेश्वर सिलवाल बताउँछन् ।  यो कलेजले तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कसरी काम खोज्ने, कस्तो कम्पनीमा इन्टर्न गर्ने भन्ने विषयमा सिकाउँछ । यसका लागि केही कम्पनीसँग साझेदारी पनि गरेको छ । यसमा विद्यार्थीले इन्टर्नसिप गर्छन् भने यसैबाट जागिर पनि उनीहरूले पाउने गर्छन् ।  काठमाडौं विश्वविद्यालय एआई विषयमा विद्यार्थीको रुचि बढेसँगै काठमाडौं विश्वविद्यालयले अहिले सिट संख्या समेत बढाएको छ । पहिले काभ्रेको पाँचखालमा ३० जनालाई अध्ययन गराउँदै आएको केयुले अहिले धुलिखेलमा सारेर ६० जना विद्यार्थी पढाउन थालेको छ ।  केयुले विद्यार्थीको संख्या अझै बढे पहिले अध्ययन भइरहेको ठाउँमा पनि विद्यार्थी पढाउन मिल्ने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको डिपार्टमेन्ट अफ एआई प्रमुख डा. मनोज शाक्यले बताए । उनका अनुसार केयुमा एआई विषय पढ्ने विद्यार्थीले प्लस टुमा फिजिक्स, केमेस्ट्री र म्याथ लिएर पढेको हुनुपर्छ । अथवा कम्प्युटर साइन्स गरे पनि हुन्छ ।  द ब्रिटिस कलेज ब्रिटिस कलेजले स्नातक तहको बिएस्सी कम्प्युटर साइन्सअन्तर्गत एआई अध्ययन गराउँदै आएको छ । युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डको सहकार्यमा कलेजले कार्यक्रम सुरु गरेको हो ।  कलेज प्रशासनका अनुसार यो कलेजमा पनि एआई पढ्ने विद्यार्थीको संख्या अहिले बढ्दै गएको छ । चार वर्षे यो कोर्स पुरा गर्न विद्यार्थीले करिब २० लाख रुपैयाँसम्म तिर्जुपर्ने हुन्छ ।  मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालय एआईप्रति विद्यार्थीको रुचि बढेपछि मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालयले स्नातक तहमा पनि कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । स्नातकोत्तर र पीएचडीमा एआई विषय पढाउँदै आएको विश्वविद्यालयले ब्याचलरका कार्यक्रम सुरु गर्ने योजना बनाएको छ ।  स्नातकोत्तरको पहिलो ब्याचमा ९ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो ब्याचमा संख्या बढेर १२ जना अध्ययन गरिरहेका छन् भने पीएचडीमा दुईजना विद्यार्थी अध्ययन गरिरहेका छन् ।  विश्वविद्यालयले बढीमा १६ जना विद्यार्थीलाई मात्र भर्ना गर्न सक्छ । एआई विभाग प्रमुख राजीब सुब्बा भन्छन्, ‘हामीले धेरै विद्यार्थी लिनुभन्दा पनि कम र क्वालिफाइड विद्यार्थीलाई मात्र भर्ना गर्छौं, हामी अनुसन्धान बेसमा काम गर्ने भएकाले अरूभन्दा फरक छौं ।’ यहाँ अध्ययन गर्ने विद्यार्थीले दुई वर्षको कोर्ष पुरा गर्न डेढ लाख खर्च गर्नुपर्छ ।  एआईमा विद्यार्थीको आकर्षण बढ्दै  एआई विषय पढाइरहेका सबै कलेजले विद्यार्थीको सिट संख्या बढाएका छन् । यो विषयमा विद्यार्थीको रुचि बढेसँगै सिट संख्या पनि बढाएको कलेजहरू बताउँछन् । विश्वमा एआई हाबी भइरहेको बेला नेपाली शिक्षा पनि यहीअनुसार अघि बढ्न सक्नुपर्ने कलेजहरूको टिप्पणी छ । विश्व परिवेशलाई मध्यनजर गर्दै सञ्चालन गरिएका कोर्षमा विद्यार्थीको रुचि बढ्दै गइरहेको हो । विभिन्न कलेजले सञ्चालन गरिरहेका एआई कोर्षहरू फरकफरक छन् । कतिपय कलेज, विश्वविद्यालयले तीन वर्षे र कतिपयले चार वर्षे कोर्सहरू सञ्चालन गरिरहेका छन् ।  एआई विषय पढ्न म्याथम्याटिक्स, स्टाटिस्टीक, प्रोग्रामिङ र डाटा स्ट्रक्चर्स, आर्टिफिसिएल इन्टेलिजेन्स फन्डामेन्टल, मेसिन लर्निङ, एआई एपिल्केसन कम्प्युटर भिजन लगायत एआईसँग सम्बन्धित सबै विषयहरू पढ्नुपर्छ भने साथै रिसर्च मेथड पनि पढ्नुपर्छ ।  विद्यार्थीहरू उद्यमी बनून, आफ्नो काम आफै गरून्, जागिरभन्दा पनि आफ्नै बिजनेस गरून् भन्ने हिसाबले उद्यमशीलता पनि पढाउने गरेको कलेजहरूको प्रतिक्रया छ । एआई कोर्सभित्र २० वटा विषय पढाइ हुने गरेको सफ्टवेरिका कलेजका मार्केट स्टाटेजी म्यानेजर सुमन बस्यालले बताए ।  नेपालमै अवसर अहिले सूचना प्रविधिको बजार ठूलो छ । हरेक कम्पनीमा प्रविधिको विकास बढ्दो छ । सफ्टवेयर डेभलप गर्न, डेटा एनालाइज गर्न र सफ्टवेयर इन्जिनियरिङको काम पनि एआई पढेका विद्यार्थीले गर्न सक्छन् । एआई पढेका विद्यार्थीलाई अहिले नेपालमा पनि थुप्रै अवसर रहेको केयुको एआई विभागका प्रमुख डा. शाक्य बताउँछन् ।  नेपालमा पनि एआईको कम्पनी छ । एआई रिसर्चरदेखि लिएर डेटा साइन्स डेभलपर, डेटा साइन्स इन्जिनियर, विभिन्न काम नेपालमै भइरहेका छन् । यस्ता विद्यार्थीले यो क्षेत्रमा काम गर्न पाउँछन् । 

शिक्षासँगै सीप सिकाउने ग्लोबल कलेज

काठमाडौं । के तपाईं प्लस टु पास हुनुभयो ? यदि स्नातक तह नेपालमै पढ्ने योजना बनाउनुभएको छ भने पक्कै राम्रो कलेजको खोजीमा हुनुहुन्छ होला । अहिले नेपालमा स्वदेशी विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट मान्यताप्राप्त थुप्रै कलेजहरू छन् ।  जसले  स्वदेशमै विद्यार्थीलाई गुणस्तरीय शिक्षा मात्र दिइरहेका छैनन् उद्यमी बन्न पनि सिकाइरहेका छन् । यसै मध्येको एउटा कलेज हो– ग्लोबल कलेज ।  काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेजले प्लस टु पास गरिसकेका विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय सेवा दिँदै आएको छ । यो कलेजको उद्देश्य विद्यार्थीलाई पढाएर जागिर खाने बनाउनुमात्र होइन, बरु उनीहरूलाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नु पनि हो  ।   सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक शिक्षाको आवश्यकता औंल्याउँदै सञ्चालनमा आएको यो कलेजले विद्यार्थीको आवश्यकताअनुसार शिक्षा दिइरहेको दाबी कलेजको छ । यसले पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ग्लोबल कलेज र उसको नेटवर्किङमा सञ्चालन भएका कलेजमा विभिन्न विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । ग्लोबल कलेजको त्रिभुवन विश्वविद्यालयअन्तर्गत कार्यक्रमका प्रमुख डा. देवराज पनेरु ग्लोबल कलेजअन्तर्गत विभिन्न चार कलेजले ब्याचरलमा फरक फरक विषयको अध्ययन गराइरहेको बताए । विषयअनुसार कलेज रोज्न सकिने उनको भनाइ छ । जसमध्ये तीनवटा कलेज मध्यबानेश्वरमै छन् र एउटा लिबर्टी कलेज अनामनगरमा छ ।  कुनमा के हुन्छ पढाइ ? पनेरुका अनुसार चारवटै कलेज विद्यार्थीको आवश्यकता र रुचिका आधारमा खोलिएका हुन् । जसमा फरकफरक कार्यक्रमहरू सञ्चालन छन् । उनले प्लसटु पास गरिसकेका विद्यार्थीले लिबर्टी कलेजमा ब्याचलर अफ कम्प्यूटर सिस्टम एण्ड इन्फर्मेसन टेक्नोलोजी (बीसीएसआइटी), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र बीबीए फाइनान्स अध्ययन गर्न सकिने बताए । विद्यार्थीले आफ्नो रुचि र कक्षा ११ र १२ मा अध्ययन गरेका विषयका आधारमा विषय रोज्न सक्ने उनी बताउँछन् ।   ग्लोबल कलेज इनटरनेशनल ग्लोबल कलेज इन्टरनेशनल काठमाडौंको मध्यबानेश्वरमा छ । कलेजले व्यापारिक केन्द्र र कर्पोरेट संस्थाहरूको सहकार्यमा विद्यार्थीलाई अध्ययन अवधिभर इन्टर्नसीपको अवसर प्रदान गर्दै आइरहेको छ । यहाँ स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजले स्नातक तहअन्तर्गत  बीबीए, बीएचएम, बीटीटीएम कार्यक्रम सञ्चालन गरिरहेको छ  । स्नातकोत्तरमा एमबीए कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।  त्यस्तै, ग्लोबल कलेजले ग्लोबल कलेज अफ सोसल साइन्स एण्ड टेक्नोलोजी बीटेक इन एआई यो वर्षदेखि सञ्चालनमा ल्याएको छ  । प्लस टुमा विज्ञान विषयअन्तर्गत केमेस्ट्री र म्याथम्याटिक्स विषय लिएर अध्ययन गरेका विद्यार्थीले मात्रै यो विषय पढ्न पाउने छन् । यही कलेजमा बीए एलएलबी पाँच वर्षको कोर्स पनि सञ्चालन भएको छ । यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टमा  त्रिभुवन विश्वविद्यालयको कार्यक्रम बीबीएस पनि पढाइ हुने पनेरु बताउँछन् ।   नवप्रवर्तनमा विद्यार्थी केन्द्रित शैक्षिक संस्था सेवासँगै नाफा कमाउने उद्देश्यले सञ्चालन हुन्छन् । तर ग्लोबल कलेज विद्यार्थी थुपार्नुमात्र आफ्नो उद्देश्य नरहेको दाबी गर्छ । कलेजले विद्यार्थी भर्ना भएपछि चार वर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका सूचना अधिकारी धर्म ओझा बताउँछन् ।  ‘यो कलेज अरू कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो । यसले पाठ्यक्रमकेन्द्रित मात्र गर्दैन, बाहिरको सीपलाई पनि उत्तिकै जोड दिन्छ । विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक हप्ता अघिल्लो साताभरि अध्ययन/अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रूपमा सञ्चालन गरिन्छ,’ उनले भने ।  यस्तो गर्दा विद्यार्थीको पढाइमा ध्यान जाने उनको भनाइ छ । ओझाका अनुसार यस्तो अभ्यासबाट विद्यार्थीहरूको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था हुन्छ । विद्यार्थीले स्कूलपछि ब्याचलर गर्दा चार वर्षको कोर्स गरिसकेपछि लाइफ स्किल, करिअर स्किल पुरा गरेर जानुपर्ने हुन्छ । ब्याचलरको चार वर्षको कोर्सले उसको ४० वर्षको रिटर्निङ गर्छ । पढ्दाखेरि ज्ञानसँगै सीप दिने गरी कार्यक्रमहरू चारवटै कलेजमा सञ्चालन गरेको पनेरु बताउँछन् ।  उनी भन्छन्, ‘ग्लोबल कलेजले अहिलेसम्म विद्यार्थीलाई दिन सकेको भनेको करिअर स्किलको ग्यारेन्टी हो ।’  यहाँका विद्यार्थीले आफ्नो तेस्रो वर्षको कोर्स पूरा गरिसकेपछि चौंथौ वर्षमा इन्टर्नसीपको अवसर पाउँदै आएका छन् । कक्षाकोठा भित्रको सिकाइ र पाठ्यक्रम मात्र नभई कक्षा बाहिरको सिकाइ र विशेषगरी व्यवहारिक सिकाइमा  कलेजले जोड दिँदै आएको छ ।    प्राचार्य देवराज पनेरु ‘ज्ञान र सीप एट्टिटुयुडबाट आउँछ,’ प्राचार्य पनेरु भन्छन्, ‘हाम्रो उद्देश्य हाम्रा विद्यार्थी ग्राजुएट हुँदा सर्टिफिकेटमात्र होइन, सीपको सर्टिफिकेट पनि उनीहरूसँगै जानुपर्छ भन्ने हो ।’  ग्लोबल कलेजले विद्यार्थीलाई काम गर्ने ठाउँको खोजी गरेर सीप क्षमता अनुसारको काम पनि दिइरहेको छ ।  ख्यातिप्राप्त शिक्षक ग्लोबल कलेज र त्यसको नेटवर्किङमा सञ्चालन आएका सबै कलेजमा क्षमतावान विशेषविज्ञ शिक्षकहरू छन् । उनीहरूले विद्यार्थीलाई आफूसँग भएको सबै ज्ञानहरू सिकाउँछन् ।  प्राचार्य पनेरु ब्याचलरमा सञ्चालन भएका हरेक कार्यक्रममा अध्याापन गराइरहेका शिक्षक ख्यातिप्राप्त शिक्षक रहेको दावी गर्छन् । ‘हाम्रो कलेजमा पढाउने जति पनि शिक्षक हुनुहुन्छ उहाँहरू काठमाडौंको सबैभन्दा बेस्ट शिक्षक हुनुहुन्छ, म यो दाबीका साथ भन्छु । हाम्रो क्राइट एरिया नै फराकिलो छ, विभिन्न प्रक्रिया पार गरेर आएपछि मात्र बल्ल यहाँको शिक्षक बन्न पाइन्छ, ’ उनले भने ।  ब्याचलरमा जीपीए हेरिँदैन  कुनै पनि विद्यार्थी कमजोर हुँदैनन् । सबै विद्यार्थी क्षमतावान हुन्छन् । जो विद्यार्थीलाई राम्रोसँग गाइड गर्ने शिक्षक वा शैक्षिक संस्था हुँदैन तब मात्र विद्यार्थी अदक्ष हुन्छन् । प्राचार्य पनेरु स्नातक तहमा अध्ययन गर्न कुनै पनि विद्यार्थीको जीपीए नहेरिने बताउँछन् ।  ‘ग्लोबल कलेज र नेटवर्ककको २५ वर्षको यात्रामा के थाहा भयो भने विद्यार्थीलाई राम्रो वातावरण दिइयो भने सबैले राम्रो गर्न सक्छन् । करिकुलम र कर्पोरेटलाई हामीले सँगै लैजानुपर्ने हुन्छ । यसले गर्दा पछि कुनै पनि समस्या आउँदैन,’उनले भने। कति छन् विद्यार्थी ? कलेजले क्षमताअनुसार विद्यार्थीको सिट संख्या छुट्याएको छ । जुनसकै कार्यक्रममा पनि एउटा सेक्सनमा ४६ जना विद्यार्थी राखेर अध्ययन गराइन्छ । बीबीएमा दुईवटा सेक्सन बनाएर ९६ जना भर्ना गर्न मिल्छ भने फाइनान्समा ४५, बीएचएममा ४८ विद्यार्थीलाई भर्ना लिइन्छ । ग्लोबल कलेजले पनि बीटीटीएममा ९६ जना विद्यार्थी भर्ना गर्छ । यस्तै, बीएएलएलबीमा ६० जना विद्यार्थीका लागि सिट छुट्याइएको छ । पूर्वाञ्चाल विश्वविद्यालयका कार्यक्रममा भने अनलिमिटेड कोटा हुँदा क्षमताअनुसार भर्ना लिन सकिने पनेरु बताउँछन् ।  सुविधासम्पन्न संरचना  ग्लोबल कलेजको भवन बाहिरमात्रै भव्य नभई भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ । यहाँको ल्याबमा एकै पटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाइ क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् । पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैं खुला हुन्छ । शनिबार पनि पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । हरेक कक्षामा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरूलाई तत्कालै स्मार्टबोर्डबाट देखाइन्छ । हरेक विद्यार्थीले यहाँ अनिवार्य रूपमा प्रिजेन्टेसन गर्नुपर्छ । यसले विद्यार्थीको लेखनसँगै, वाककला, सीप र भाषागत ज्ञान समेत बढ्नसक्छ । यसका साथै विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण समेत गराउने गरिएको छ । जसबाट विद्यार्थीहरुलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ ।  ‘विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ ।  खेललाई पनि प्राथमिकता विद्यार्थीलाई पढ्न मात्र होइन, खेलकुदजन्य क्रियाकलाप पनि उत्तिकै आवश्यक हुन्छ । ग्लोबलले पढासँगै खेललाई पनि उत्तिकै जोड दिइरहेको छ । विद्यार्थीलाई दैनिक रूपमा ब्रेक समयमा खेल्न कलेजभित्रै बास्केटबल, फुटसल ब्याडमेन्ट खेल्ने ठाउँ पर्याप्त छ ।  कलेजले हप्तामा एक पटक कलेजभित्रै विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराउँछ भने वर्षमा एक पटक खेल प्रतियोगिता नै आयोजना गर्छ । क्रिकेट, फुटबल लगायतका खेल खेलाउन कलेजमा स्पेस नहुँदा बाहिर लिएर खेलाउने गरिन्छ । विद्यार्थीलाई पढाइसँग खेलको लागि कलेजले विशेष व्यवस्था गरेको छ ।  स्नातक नेपालमै गर्दा फाइदा  कक्षा १२ पास गर्नेबित्तिकै नेपाली विद्यार्थी  अध्ययनका लागि विभिन्न देशमा जान्छन् । उनीहरू पढाइसँगै काम पनि गरिरहेका हुन्छन् । कतिपय विद्यार्थी कामकै लागि पनि विद्यार्थी भिषामा विदेश गइरहेका हुन्छन् । प्राचार्य पनेरु कक्षा १२ पास गरेर विद्यार्थीहरूलाई विदेश नजान सल्लाह दिन्छन् । उनी विदेश जाने विद्यार्थीले नेपालमै ब्याचलर गरेर बाहिर जाँदा केही सहज हुने बताउँछन् ।  भन्छन्, ‘म पनि युरोपमा पीएचडी गरेर आएको हुँ, पाँच वर्ष त्यहाँका विश्वविद्यालयमा पढाउने मौका पनि पाएँ, आफै विद्यार्थी पनि भएर रिसर्च गर्ने मौका पनि पाएँ । आफै भुक्तभोगी भएकाले म विद्यार्थीलाई ब्याचलर नेपालमै गरेर जान सल्लाह दिन्छु ।’  आर्थिक अवस्था राम्रो भएका अभिभावकले भने विदेशका राम्रा विश्वविद्यालयमा पढाउँदा राम्रो हुने उनको भनाइ छ ।  ‘तपाईंको आर्थिक अवस्था राम्रो छ, पढ्नैका लागि मात्र विदेश जाने हो भने राम्रै हुन्छ, तर पढाइसँगै काम गर्ने सोचमा जानुहुन्छ वा छात्रवृत्ति दिने भन्ने हिसाबले जानुहुन्छ भने तपाईंहरू नजाँदा नै राम्रो हुन्छ,’ उनी भन्छन् ।