इन्द्रसरा खड्का

खरानी टकटक्याएर ट्राफिकको कमाण्ड

काठमाडौं । काठमाडौंको बग्गीखाना । जहाँ कहिल्यै नअल्झिने ट्राफिकका सिठीहरूले बिहानको सन्नाटालाई चिर्थे, अहिले त्यही ठाउँमा धुलो, खरानी र पुन:निर्माणको गन्ध आइरहेको छ ।  जलेको पर्खालमा हात राख्दा अझै कालो धुलो लाग्छ, तर त्यही कालो धुलोभित्र नवराज अधिकारीका आँखामा चमक देखिन्छ, मुहारमा आत्मबल देखिन्छ- ‘यो संरचना जलेको हो, हाम्रो सेवाभाव होइन ।’ टेन्टभित्र बनाइएको सानो कार्यकक्षमा एउटा कुर्सी, एउटा डेस्क र वरिपरि चार/पाँच जनाको बस्ने ठाउँ । यही सानो संसारबाट काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी अहिले सम्पूर्ण उपत्यकाको ट्राफिक व्यवस्थापन सम्हालिरहेका छन् ।  कार्यालयमा हाकिमको कुर्सी छैन, वातानुकूलित कोठा छैन । तर, जिम्मेवारीको भार र नागरिकप्रतिको संवेदनशीलता उनको दैनिक आहारजस्तै बनेको छ । ‘ट्राफिक व्यवस्थापनकै लागि कहिले मन्त्रालय, भीआईपी बैठकहरू धाउनुपर्छ,’ उनी भन्छन्, ‘तर जब यहाँ आउँछु, मलाई यो खरानीको गन्धले स्मरण गराउँछ, प्रहरी संस्था जल्दैन, यसलाई फेरि उठाउने आत्मबल बढ्छ ।’ भदौ २३ र २४ गते, कालो धुवाँ र गडगडाहटले काठमाडौंको आकाश ढाकेको थियो । जेनजी आन्दोलनकारीहरूको भीडले सिंहदरबार नजिकैको बग्गीखानास्थित काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा आगो लगायो । भवन, सवारी साधन, कागजात, ट्राफिक उपकरण सबै क्षणभरमा खरानी बने ।  आन्दोलनपछि अधिकारी घटनास्थल पुग्दा उनले देखे- प्रहरीका जवानहरूको अनुहारमा त्रास र निराशा । उनले त्रसित, निराश र बेचैन भएका ट्राफिक प्रहरीलाई सम्हाल्दै भने, ‘हामी भत्केका होइनौं, हामी परीक्षित भएका हौं, हाम्रा भवन र साधनहरु जलेका हुन्, हाम्रो मन जलेका होइन ।’ उनले जेनजी आन्दोलनको दोस्रो दिनदेखि नै ट्राफिक प्रहरीलाई आत्मबल भरेर सडकमा पठाए । खरानी टकटक्याउँदै ट्राफिक प्रहरी नागरिकको सेवामा सडकमा निस्कियो । आफ्नो बस्ने बासस्थान र चढ्ने सवारी भुलेर ट्राफिक प्रहरी नागरिकको जीवन रक्षामा लाग्यो ।  ‘जब यहाँ आउँछु, मलाई यो खरानीको गन्धले स्मरण गराउँछ, प्रहरी संस्था जल्दैन, यसलाई फेरि उठाउने आत्मबल बढ्छ ।’ खरानीबाट उठेर पुन:निर्माण  आज त्यही बग्गीखानामा पुनः रंगरोगन भइरहेको  छ। जलेको चमेना गृहमा नयाँ पेन्टको गन्ध छ, सडकपाटीमा ट्राफिक जवानहरू फेरि सीटी बजाइरहेका छन् । काठमाडौं महानगरपालिका, एनआरएनए, नेपाल प्रहरी मुख्यालय, विभिन्न संघसंस्था, उद्योगी व्यवसायी र नागरिक सबैले सहयोगी हात बढाएका छन् ।  ‘कतिपयले कन्ट्रोल रुम बनाइदिएका छन्, कतिपयले मोटरसाइकल दिएका छन्, कतिपयले भवन निर्माणमै हात हालेका छन्,’ अधिकारी मुस्कुराउँदै भन्छन्, कतिपयले सहयोग गर्ने प्रतिवद्धता गरेका छन्, यो जनसहयोगले प्रहरीको मनोबल बलियो बनाएको छ ।’ सहयोगका लहरहरूमध्ये एक खास दृश्य अधिकारीले कहिल्यै बिर्सन सक्दैनन् । त्यो दिन उनी दरबारमार्ग ट्राफिक वृत्त पुगेका थिए । केही स्कुले बालबालिकाले हातमा प्रेसर कुकर र खाना खाने थालहरू ल्याएर प्रहरीलाई दिइरहेका थिए । त्यो दृश्य देख्दा अधिकारीका आँखामा चमक र आवाजमा भावुकता निस्कियो । उनलाई थप काम गर्न प्रोत्साहन मिल्यो ।  नवराज अधिकारी  कति भयो क्षति ?  जेनजी आन्दोलनबाट काठमाडौं उपत्यका ट्राफिक कार्यालय ठूलो क्षति बहोर्नुपर्यो । ट्राफिक भवनदेखि सवारीसाधनको ठूलो क्षति भयो । क्षतिमा नागरिकका सवारीसाधनसँगै कागजात पनि जले । ट्राफिक प्रहरीले क्षतिको आर्थिक हिसाब ननिकाले पनि भौतिक विवरण भने संकलन गरेको छ ।  आन्दोलनमा क्षति भएका ७८ भवनमध्ये ३७ वटा भवनमा पूर्ण क्षति  भएको छ भने २१ वटा भवनमा आंशिक क्षति पुगेको छ । २० वटा भवन भने बस्न मिल्ने खालका छन् । यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी तथा त्यस मातहतका ८१ वटा दुई पाँग्रे सवारीसाधन र ३२ वटा चार पाँग्रे सवारी सधनहरूमा क्षति पुगेको छ ।  कारबाहीका लागि प्रहरीले ल्याएका ४ सय २७  मध्ये ३ सय ४० वटा दुई पाँग्रे सवारी पनि आन्दोलनकारीले जलाएका छन् भने २५ वटा चार पाँग्रे सवारी साधनमा १६ वटा पूर्ण क्षति ७ वटामा आंशिक क्षति र एउटा चार पाँग्रे चोरी भएको छ । यस्तै ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवानका ९३ दुई पाँग्रे सवारी र दुइटा चारपाँग्रे सवारी साधन पनि आन्दोलनकारीले जलाइदिएका छन् ।  यस्तै, उपत्यकाका ७२ ठाउँमा रहेका ट्राफिक लाईटमध्ये ६३ वटा क्षति पुगेको छ भने ५३ वटा ट्राफिक आइल्याण्डमा आजगनी र तोडफोड गरिएको छ । ४ हजार ७ सय २७ ट्राफिक कोण, १ सय ४८ ट्राफिक डिभाइडरमा तोडफोड र आगजनी गरिएको छ ।  ट्राफिक कोन, आईल्याण्ड र वाटर ट्रीटमेन्ट प्लान्ट पनि पूर्णरुपमा ध्यवस्त भएका छन् । ७८ वटा प्रहरीका युनिफर्म तत्काल नोक्सान हुँदा हेडक्वाटरबाट तत्काल व्यवस्थापन भए पनि अन्य संरचनाको अभाव भने झेल्नु परिरहेको छ । सडकमा खटिएका प्रहरीका पोषाक समेत खोसिएको अवस्थामा  बिस्तारै बस्ने खाने व्यवस्था हुँदै अब बिस्तारै सुधारको चरणमा आइसकेको अधिकारी बताउँछन् । अहिले पनि ट्राफिक उपकरण छैनन् । ट्राफिक लाइट र सीसीटीभी फुटेजहरू तोडफोड भएका छन् ।  प्रहरीको काम सुरक्षा दिनु हो । प्रहरीले एउटा घरभित्रको श्रीमानश्रीमतीको झगडादेखि अपराधिक पृष्ठभूमि र हिंसा, आर्थिक अपराध तथा राजनीतिक रुपमा आउने विभिन्न आन्दोलननको सामना गर्नुपर्ने हुन्छ । प्रहरी समाज सँगसँगै हुन्छ । समाजका हरेक क्रियाकलापसँगसँगै प्रहरी चलिरहेको हुन्छ । एउटा समाजसँगै काम गर्नु  सहज विषय नभएको अधिकारी बताउँछन् । प्रहरीले हरेक व्यक्ति विशेषका पछाडि रहेर काम गर्नुपर्ने हुन्छ । उनी भन्छन्,‘हामीले जतिसुकै आदर्शका कुरा गरे पनि समाजमा गएर साँच्चिकै काम गर्न निकै चुनौती छ, कहिलेकाँही ज्यानकै बाजी लगाउनुपर्ने अवस्था आउँछ ।’ आगजनी भएको बग्गीखाना प्रहरी धर्म : सेवाभाव र समर्पण प्रहरी भनेको के हो ? नवराज अधिकारीको भाषामा प्रहरी भनेको समाजको ऐना हो, जुन हरेक चोट र आँसुको प्रतिबिम्ब हो ।’ उनको २३ वर्षको सेवायात्रा हलो जोत्नेदेखि हेडक्वाटरसम्म फैलिएको छ । कञ्चनपुर पुनर्वासमा जन्मेका उनले गाउँमा गोठाला गर्दै अध्ययन गरे । धनगढीको कैलाली बहुमुखदी क्याम्पसबाट स्नातक सकेपछि काठमाडौं आए र प्रहरी निरीक्षक बने ।  ‘पहिले जागिरका लागि आएको थिएँ, उनी भन्छन्, ‘तर अहिले यो सेवा मेरो धर्म बनेको छ ।’ १० वर्षे जनयुद्ध, त्यसपछिका आन्दोलन र अहिलेको जेनजी । हरेक संकटमा उनले फ्रन्टलाइनमा उभिए । जस र अपजस दुवै भोगे । उनी भन्छन्, ‘प्रहरीको काम भनेको नागरिकलाई सुरक्षा दिनु हो, अपराधीको विरोधमा, नागरिकको पक्षमा ।’ आन्दोलन र सामाजिक सञ्जालको छायाँ जेनजी आन्दोलनको बेला सामाजिक सञ्जालमा प्रहरीमाथि भएका आक्रमणका भिडियोहरू भाइरल भए । कोही नदीतिर लखेटिए, कोहीको पोसाक खोसियो, कोही रक्ताम्मे भए । केहीको मृत्युसम्म भयो । त्यो दृश्य अधिकारीका आँखामा अझै ताजा छ ।  ‘त्यो हामीले भोग्यौं,’ उनी भन्छन्, ‘तर यस्ता दृश्यले हामीलाई थकाइ दिँदैन, जिम्मेवारी सम्झाइदिन्छ, हामी पनि मान्छे हौं, हाम्रो पनि परिवार छ, भावना छ । तर हामी यो देशका सुरक्षाकर्मी हौं, डरले होइन, धर्मले चल्छौं ।’ त्यसैले पनि आन्दोलनको दुई दिनमै ट्राफिक प्रहरी सडकमा फर्कियो । जलेको युनिफर्म, धुवाँ लागेको हेल्मेट, टेन्टभित्र बनाइएको अफिस । तर, सीटी भने नयाँ ऊर्जामा बजिरहेको छ ।  सडकमा अहिले फेरि ट्राफिक प्रहरीहरू उभिएका छन् । घाममा पसिना बगाउँदै, भीडमा आदेश दिँदै, उनीहरू नागरिकलाई सुरक्षित पारिरहेका छन् । ‘व्यवस्थापनको पक्ष विस्तारै सुध्रिन्छ, तर हाम्रो जिम्मेवारी कहिल्यै सुस्त हुँदैन,’ उनी प्रश्न गर्छन्, ‘प्रहरीले सडक छोडेको दिन नेपालमा कस्तो अवस्था आउँछ होला ?’ उनको स्वरमा दृढता छ- ‘युद्धकालमा गोली खाएर पनि प्रहरी पछि हटेन, अहिले त झन् उठ्ने बेला हो ।’ अहिलेको बग्गीखाना किन ट्राफिक नै निशानामा ? हरेक आन्दोलनमा प्रहरी निशानामा पर्छ, तर यो पटक खासगरी ट्राफिक प्रहरी बढी प्रभावित भयो । यसलाई अधिकारीले पृथक रुपमा बुझेका छन् । उनी भन्छन्, ‘सडक प्रयोग गर्ने हरेक नागरिकसँग ट्राफिकको ठक्कर नै हुन्छ । कसैलाई चिट काट्दा मन नपर्ने, मापसेमा कारवाही गर्दा रिस उठ्ने । यही रिसले आक्रोश बन्यो र ट्राफिक प्रहरीलाई नै टार्गेटमा राखियो ।’ काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अहिले चुनौतीपूर्ण छ । सवारी चालकले नियम तोड्छन्, पैदल यात्रु पनि नियम तोड्छ । ‘जहाँ पनि चढ्ने, जहाँ पनि झर्ने, हर्न बजाउने’ आम संस्कृति छ । राइडर सेवा (राइडसेयरिङ) ले झन् ट्राफिक व्यवस्थापनमा जटिलता थपेको अधिकारी बताउँछन् ।  उनी भन्छन्, ‘सचेतता सबैमा छ, तर व्यवहारमा पालना कम छ ।’ उनी सडक व्यवस्थापन केवल प्रहरीको मात्रै जिम्मेवारी नभई सबै नागरिकको नैतिकता पनि भएको बताउँछन् ।  आगामी योजना  अधिकारीको सपना छ- डिजिटाइज्ड ट्राफिक व्यवस्थापन । ‘एउटा कन्ट्रोल रुमबाट ट्राफिक नियमन होस्, नियम उल्लंघन गरेकै प्रमाण स्वचालित प्रणालीले देखाओस्,’ उनी भन्छन्, ‘राज्यका सीमा छन्, स्रोत सीमित छ, हामीले हाम्रो अर्थतन्त्रको यथार्थ पनि बुझ्नुपर्छ ।’ उनी ट्राफिक, सडक विभाग र स्थानीय सरकारबीच सहकार्य आवश्यक ठान्छन् । हरेक दिन बिहानै बग्गीखानाको प्रांगणमा पुग्दा उनी जलेका पर्खाल छाम्छन्, र मुस्कुराउँछन् र मनमनै भन्छन्, ‘हाम्रा संरचना जलेका हुन्, हाम्रो मन जलेको छैन । र, दौडिन्छन् सहयोगी हातहरूलाई सहयोग अपील गर्न ।  उनको बोलीमा दृढता, अनुहारमा शान्ति र शब्दमा आत्मविश्वास छ । उनी भन्छन्, ‘भवन जल्न सक्छ, तर सेवाभाव कहिल्यै खरानी हुँदैन ।’ बग्गीखानाको नयाँ भवनमा अहिले पुनर्निर्माणको आवाज गुन्जिएको छ । ट्राफिक सीटी फेरि थप  जोडले बज्न थालेको छ । जलेको राखमाथि ठूलो आशा पलाएको छ । त्यसको कमाण्ड उनै नवराज अधिकारीले सम्हालिरहेका छन् । 

संकटमा पर्दैछ डाक्टर, नर्स र फार्मेसी शिक्षा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए । एमबीबीएस र बीडीएस कोर्ष उत्तीर्ण गरी लाइसेन्सको लागि परीक्षा दिएका १ हजार ७७ जना मध्ये  ४ सय २१ जना अर्थात ३९.०९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए  । यस्तै,  डेन्टल (बीडीएस) तर्फको नतिजा अझ ध्वस्त छ । बीडीएस तर्फ  १ सय ८३ जना सहभागी भएकोमा जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै पास भए । काउन्सिलले अघिल्लो बुधबार र बिहीबार लिएको ७३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले चिकित्सातर्फको शिक्षामा ठूलो प्रश्न खडा गरेको छ । काउन्सिल भने यो भन्दा अगाडिको परीक्षामा अनुत्तीर्ण भएकाहरू संख्या बढी भएकाले नतिजा कमजोर आएको प्रतिक्रिया दिन्छ । यो पटकको नतिजामा मात्र होइन काउन्सिलले लिने हरेक पटकको लाइसेन्स परीक्षाको नतिजा कमजोर आउने गर्छ । चिकित्सकमा नेपालमा पढ्ने भन्दा विदेशबाट पढेर आएको संख्या अनुत्तीर्ण हुनेमा उच्च रहेको काउन्सिलको भनाइ छ ।  चिकित्सक दर्ता प्रमाणपत्रमात्र जस्तै नेपाल फार्मेसी परिषदले लिने लाइसेन्स परीक्षाको नतिजा पनि उस्तै निराशाजनक छ । गत असारमा  लिएको फर्मासिष्ट (ब्याच्लर इन फार्मेसी) तर्फको नाम दर्ता (लाईसेन्स) परीक्षामा २६.४७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भए । परीक्षामा सहभागी ९ सय ३३ जना मध्ये २ सय ४७ जना अर्थात प्रतिशतको हिसाबमा भन्दा २६.४७ परिक्षार्थी मात्र नाम दर्ता गराउन सफल भए । बाँकी सबै अनुत्तीर्ण भए।  केही समयअघि लिइएको फर्मासिष्ट असिस्टेन्टमा पनि ४८ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए । त्यो भन्दा अगाडि लिइएका फर्मासिष्ट नाम दर्ताको नतिजा हेर्ने हेर्दा पनि पासदर प्रतिशत निकै कम देखिन्छ । कहिले ११.७५ प्रतिशत, कहिले  १०.२० विद्यार्थी मात्र फर्मासिष्ट नामदर्ता परीक्षामा सफल भएको पाइन्छ । २०८० सालपछिको नतिजा हेर्ने हो भने फार्मेसी पढेका विद्यार्थीको नाम दर्ता परीक्षा ६० प्रतिशत विद्यार्थी पनि पास भएको पाँइदैन । आखिर किन अहिले चिकित्सा क्षेत्रमा प्रश्न खडा भएको छ ।   गत असारमै लिएको नर्सिङ लाइसेन्स परीक्षामाको नतिजा हेर्ने हो भने अवस्था अझ नाजुक छ । सार्वजनिक नतिजा अनुसार नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत विद्यार्थीमात्र पास भए । प्रवीणता प्रमाणपत्र तह (पिसिएल) तहको नाम दर्ता लाइसेन्स परीक्षामा ९ सय ११ जना सहभागी भएकोमा १ सय ७७ जना अर्थात् १९.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको पाइएको छ । प्रवीणता तहको नाम दर्ता परीक्षामा ८१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा बिएस्सी नर्सिङमा भने ६२ प्रतिशत पास भएका थिए ।  ् परीक्षामा सहभागी ३ सय २७ जना मध्ये २ सय तीन जना नाम निकाल्न सफल भएका थिए । विगतमा नर्सिङ परीषदले लिँदै आएको नाम दर्ता परीक्षामा पनि नतिजा सोचे जस्तो राम्रो आएको पाइँदैन ।  नर्सिङ नाम दर्ताको नतिजाले पनि नर्सिङ शिक्षाको गुणस्तर नै खस्किएको हो भन्ने आशंका सिर्जना भएको छ । किन भइरहेको छ यस्तो ? आजभोलि चिकित्सा क्षेत्रका हरेक विषय नेपालमा पढाइ हुन थालेका छन् भने चिकित्सा शिक्षामा विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । विद्यार्थीको आकर्षणको मौका छोप्दै शैक्षिक व्यवसायीहरू जुरमुराउन थाले । धमाधम सीटीईभीटी वा चिकित्सा शिक्षा आयोगबाट दर्ता गर्दै शैक्षिक व्यवसाय सुरु गरिरहेका छन्  । दक्ष जनशक्ति र आवश्यक मापदण्डबिना सञ्चालनमा आएका शैक्षिक संस्थाले चिकित्सा क्षेत्रको शिक्षा प्रणाली ध्वस्त भएको जानकारहरू बताउँछन् ।  पहिले शैक्षिक संस्था पनि कम थिए, शैक्षिक संस्थाले मापदण्ड पनि पुरा गरेका थिए, अहिले धमाधम संस्था खुलेका छन्, न दक्ष शिक्षक न आवश्यक पूर्वाधार, यसो हुँदा विद्यार्थी धेरै भए तर परिणाम राम्रो आउन नसकेको विज्ञहरुको भनाइ छ ।    ‘पढाइको गुणस्तरमा अध्यापन गराउने शिक्षकको ज्ञान गुणस्तर, पठाउने शैली तथा मौजुद स्रोत साधनहरूको भूमिका महत्त्वपूर्ण हुन्छ,’ फर्मासिसष्ट डा.मोहम्मदसफि उल्लाह भन्छन्, ‘इन्स्टिच्युट छन् व्यवहारिक गर्ने डिभाइस छैन, भने कसरी हुन्छ ? । शिक्षक छन्, उनीहरू पढाउनमा पनि राम्रा छन् तर विद्यार्थीलाई व्यवहारिक गराउन सक्ने अवस्था छैन । यस्ता कुराले पनि शिक्षाको गुणस्तरमा असर गर्छ ।’ उनका अनुसार गुणस्तरलाई प्रभाव पार्ने अर्को मुख्य विषय भनेको शिक्षा प्रणाली र त्यसको मापदण्ड को व्यवस्था पनि हो ।  तर नेपालमा मापदण्डको अनुगमन नै हुँदैन ।  नेपाल फार्मेसी परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डे फार्मेसी पढाइ हुने कलेजमा दक्ष जनशक्ति नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको बताउँछन् । उनी भन्छन्, ‘कानुन अनुसार एउटा बीफार्मेसीमा ३० देखि ४० वटा सिट भएको कलेजमा ६ जना पूर्ण समय र एक जना कोर्डिनेटर हुनुपर्छ, अहिले हेर्ने हो भने कागजमा होला नहोला थाहा छैन, तर कुनै कलेजमा तीन जना त कुनैमा दुईजना अनि कुनैमा चारजना  छन् । यस्तो अवस्थामा गुणस्तरीय शिक्षा दिने मान्छे नै छैन भने फार्मेसीमा गुणस्तरीय शिक्षामा ती विद्यार्थीले पाउँछन् भन्ने कुरा स्वीकार्न सकिँदैन ।’ नेपाल नर्सिङ परिषदका अध्यक्ष प्राध्यापक सरला केसी अहिले पनि अस्पताल नभएका कलेजहरूले शिक्षा दिइरहेको बताउँदै शैक्षिक संस्थाले नै पढाइ कमजोर बनाउँदै लगेको बताउँछिन् ।  ‘थाहा छैन, कुन दलका नेताले च्यापेका छन् । यस्ता कलेजले व्यवहारिक भन्दा सैद्धान्तिकमा जोड दिन्छन्,’ उनी भन्छिन्, ‘हामीले लिने लाइसेन्सको परीक्षा भनेको सैद्धान्तिक भए पनि प्राक्टिकल बेस कुरा धेरै आउँछ । किनभने लाइसेन्स लिएको भोलिपल्ट नर्सले प्राक्टिकल गर्नुपर्छ । त्यो बेला सिद्धान्त भनेर त हुँदैन । जो मापदण्ड नपुगेका कलेजहरू छन् उनीहरूले उत्पादन गरिरहेका नर्सहरूमा बढी समस्या देखिएको छ ।’ नसिर्ङ कलेज सञ्चालन गर्न सय बेडको अस्पताल अनिवार्य गरिए पनि नियम अनुसार कलेज सञ्चालन नहुँदा यो समस्या आएको उनको भनाइ छ ।  उनी बीएस्सी पढाउने काठमाडौं उपत्यका भित्रकै कलेजहरूमा पनि अस्पतालमा नटेकाइकन बच्चाहरुलाई नर्सिङ पढाइरहेको बताउँछिन् । अवस्था नर्सिङ कलेजहरूमा पनि उस्तै छ ।  नर्सिङ पढाइ हुने शैक्षिक संस्थाको संख्या पनि बढ्दै गएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त ६७ वटा शैक्षिक संस्थाले प्रविणता तहको पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्तै बिएनएस पढाइ ५१ वटा कलेजमा भइरहेको छ भने बिएससी नर्सिङ कार्यक्रम ६१ वटा शैक्षिक संस्थामा पढाइ भइरहेको छ । यस्तै पाँच वटा कलेजमा मास्टरका कार्यक्रम पढाइ भइरहेका छन् । नर्सिङ शिक्षामा पाठ्यक्रमको पढाइ भन्दा पनि व्यवहारिक कार्यक्रम बढी नहुँदा अवस्था कमजोर भइरहेको नर्सिङ क्षेत्रका जानकारहरू बताउँछन् ।  एक सय शैया बेडको अस्पताल भएकाहरूले मात्र नर्सिङ कलेज सञ्चालन गर्नुपर्ने भनिए पनि अस्पताल नभएकाहरूले समेत कलेज सञ्चालन गर्दा नर्सिङ पढ्ने विद्यार्थीले प्रयाक्टीकल गर्न नपाउँदा अवस्था यस्तो भएको हो ।  कति छन् कलेज ?  कुनै समय चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी भारत, बंगलादेश लगायतका विभिन्न देशमा जानुपर्ने अवस्था थियो । नेपालमा शिक्षालयको संख्या निकै कम थियो । शैक्षिक संस्थाको अवस्था फेरिए पनि विद्यार्थी विदेश पढ्न जानुपर्ने अवस्था भने अहिले पनि उस्तै छ । नेपालमा अहिले २७ वटा कलेजमा एमबीबीएस र १५ कलेजमा बिडीएस पढाइ हुने गरेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार ४२ वटा शैक्षिक संस्थाले अनुमतीपत्र लिएका छन् ।  नर्सिङ कलेजको संख्या पनि बढ्दो छ । हाल नेपालमा आंगिक, साझेदारी र निजी गरी ६२ १ सय ७२ बढी छन्  । फार्मेसी शिक्षाको कुरा गर्ने हो भने नेपालमा अहिले १ सय १६ शैक्षिक संस्थाले सिटिइभिटीबाट मान्यता लिएर डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमा कोशी प्रदेशमा २०, मधेसप्रदेशमा २३, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ८ वटा शैक्षिक संस्थाले डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।  यस्तै, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १० वटा शैक्षिक  डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन भइरहेको छ । यस्तै २७ वटा कलेजमा ब्याचलर्स अफ फार्मेसी कार्यक्रम सञ्चालन भइरहेको छ भने चार वटा कलेजमा मास्टर अफ फार्मेसी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । बढ्दो शैक्षिक संस्था र त्यसमा प्रयोग हुने जनशक्ति कमजोर हुँदा फार्मेसी शिक्षाको गुणस्तरमा कमी आएको फर्मासिष्टहरू बताउँछन् ।   

महावीर पुन : पहिरन फेरियो, पहिचान फेरिएन

काठमाडौं । सेतो दौरा सुरुवाल, खरानी कलरको कोट, घाँटीमा रातो गलबन्दी, खुट्टामा कालो जुत्ता, कपालमा भादगाउँले टोपी । सायद महावीर पुनको यो नयाँ रूप थियो । योभन्दा अगाडि सायदै उनलाई यस्तो पहिरनमा नागरिकले देखेनन् । सादा जीवन उच्च विचारलाई आत्मसात गर्दै सामान्य चप्पल र हाफ पाइन्टमा सडकमा भेटिने उनी सोमबार फरक पहिरनमा देखिए । झट्ट हेर्दा महावीर पुन नै हुन् र भन्ने अड्कल गर्न गाह्रो । तर, उनै महावीर हुन् जो खुट्टामा चप्पल पड्काउँदै विभिन्न चोकमा भेटिन्थे । पुनका लागि जसरी शिक्षामन्त्रीको पद र अब निभाउनुपर्ने भूमिका फरक छ, त्यसैगरी उनले लगाउने पहिरनमा पनि फरक भएको छ ।  महावीर को हुन्, उनी कस्तो बोल्छन्, के काम गर्छन्, कसरी हिँड्छन्, कसरी बोल्छन् धेरैलाई थाहा छ । उनको बारेमा त कक्षा ४ मा विद्यार्थीले नेपाली किताबमै पढ्नुपर्छ ।  म्याग्दी जिल्लामा जन्मेका महावीर पुन वैज्ञानिक हुन् । समाजसेवाका रूपमा परिचित उनको जीवनशैली निकै सरल छ । एउटा सामान्य परिवारको नागरिक जस्तै सामान्य पहिरनमा देखिने उनको सोमबारको पहिरन धेरैका लागि पृथक लाग्यो । मुखमा आएको फ्याट्ट बोली हाल्ने उनको व्यवहार हो । सामान्य जीवनशैली उनको पहिचान हो । औपचारिकतामा धेरै विश्वास नगर्ने उनी शिक्षामन्त्री बनेपछि पनि त्यस्तै देखिए ।  सोमबार शितलनिवासमा शपथ ग्रहणपछि पदभार ग्रहणका लागि नारायणहिटी नजिकै रहेको केशर महल पुग्नुअघि धेरैले शिक्षामन्त्री पुनको बारेमा यस्तै खासखुस गरे । उनी पदभार ग्रहणका लागि मन्त्रालयमा पुग्नुअघि शिक्षा बिटमा कलम चलाउने पत्रकार र शिक्षा मन्त्रालयका विभिन्न विभागका प्रमुख र कर्मचारी केशर महलमा मन्त्रीको प्रतीक्षामा थिए । उनीहरू सबै एकअर्कामा गफिँदै शिक्षामन्त्री पुनको पहिरनको चर्चा गरिरहेका थिए । ‘हाफ पाइन्टमा शपथ लिनुहुन्छ कि भन्ने पीर थियो, धन्न दौरा सुरुवाल लगाउनु भएछ’, कोही भन्थे- ‘कवाडी मन्त्रीले अब कस्तो काम गर्ने होलान् ? कसैले भनिरहेका थिए- ‘६ महिनामा के नै गर्न सकिन्छ र ?’ यस्तै खासखुस चल्दै गर्दा मन्त्रीको सवारी भयो ।  दुइटा गाडी सर्र केशर महलको अगाडि आएर रोकिए । पहिलो गाडीमा सुरक्षाकर्मी थिए भने दोस्रो गाडीमा नवनियुक्त शिक्षामन्त्री महावीर पुनसँगै सचिव थिए ।  गाडीबाट झर्नेबित्तिकै मन्त्रालयका कर्मचारीले उनलाई फूल दिएर स्वागत गरे । उनले खादामाला  लगाएनन् ।  पहिलो निर्णयमै प्रष्टिकरण सोमबार केशर महलमा आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका पुनले पहिलो निर्णयमै सचिवलाई प्रष्टिकरण सोधे । जब मन्त्री कुर्सीमा बसेका थिए तब शिक्षा सचिवले पहिलो निर्णय सुनाए ।  निर्णय थियो– विज्ञान प्रविधिको क्षेत्रमा स्टेक होल्डर सरोकारवालाहरूको पर्याप्त सल्लाह सुझावमा विज्ञान प्रविधिलाई अगाडि बढाउन सल्लाहकार समिति बनाउने ।  तत्काल अन्तरिक्ष तथा एरोनेटिकल सल्लाहकार समिति, राष्ट्रिय सूचना प्रविधि तथा कृतिम बौद्धिकता सम्बन्धी सल्लाहकार समिति, राष्ट्रिय प्रमाण विज्ञान प्रविधि सल्लाहकार समिति, राष्ट्रिय जैविक प्रविधि सल्लाहकार समिति गरी चारवटा सल्लाहकार समिति बनाउने भन्दै सचिवले निर्णय सुनाइ मन्त्रीलाई हस्ताक्षर गर्न लगाउँदा मन्त्री पुनले भने, ‘हस्ताक्षर गर्नै पर्ने हो ? यो समिति बनाउन आर्थिक स्रोत के हो ? कहाँबाट आउँछ, समिति धेरै बन्छ, बनाउँदै गरौंला तर समिति बनाएर मात्र भएन, आर्थिक स्रोत खोइ ?’ मन्त्री पुनले विगतमा पनि आर्थिक अभावमा गरिएका निर्णय कार्यान्वयन नभएको भन्दै आर्थिक स्रोतको खोजी गरे । मन्त्रीले वार्षिक बजेटमै यो काम गर्न मिल्ने भन्दै जवाफ दिए ।  मन्त्री पुनले स्वंय आफू पनि यस्ता धेरै समितिमा बसेको तर काम हुन नसकेको भन्दै कुनै समिति बनाउनुभन्दा पहिले आर्थिक स्रोत खोजेर कार्यान्वयन गर्नेगरी बनाउनुपर्ने बताए ।  सचिवहरूले त्यसमा प्रष्टिकरण गरेपछि मन्त्री पुनले निर्णयमा हस्ताक्षर गरे । उनले भने, ‘मन्त्रालयबाट जे काम हुन्छ ठोस रूपमा हुन्छ, गर्ने भन्ने नगर्ने मेरो पालामा हुँदैन ।’ उनले मान्छे छानेर काम गर्ने समिति बनाउने बताए । ‘कवाडी मन्त्री भन्नू’ मन्त्रीमा नियुक्त भइसकेपछि पुनले आफूलाई बधाइ नदिन र खादामाला लिएर नआउन भनेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई मन्त्री नभन्न र भन्ने नै मन भए कवाडीमन्त्री भन्न  भनेका थिए ।  पदभार ग्रहणमा पत्रकारले अब तपाईंलाई शिक्षामन्त्री भन्ने कि कवाडीमन्त्री भन्ने प्रश्नमा उनले भने, ‘मलाई मन्त्री नै भन्नु पर्दैन, कवाडीमन्त्री नै भन्दा हुन्छ । त्यो पनि मेरो मन्त्रालय भित्र तर मन्त्रालय बाहिर भेट्नुभयो भने मन्त्री भन्नु पर्दैन ।’ मन्त्रालयमै बस्ने  मन्त्री पुन आफू अब २४ घण्टा नै मन्त्रालयमै हुने बताउँछन् । कहिलेकाँही काम विशेषले बाहिर जानुपरे पनि अघिपछिको समय मन्त्रालयमै हुने भएको आफ्नो काममा कुनै शंका नगर्न र कमी नहुने बताए  । उनी भन्छन्, ‘मलाई कुनै क्वार्टर चाहिँदैन । यही मन्त्रालयमा मेरै कार्यकक्षमा एउटा बेड अनि टेबुल कुर्सी भए पुग्छ । मेरो जहाँ काम गर्यो त्यही बस्ने बानी छ– राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा त्यही बस्थे, यहाँ पनि  त्यस्तै हुन्छ ।’  उनले खाना पकाउन एउटा किचन भए खाना आफै पकाएर खाने पनि बताए ।  सेवासुविधा के गर्नुहुन्छ भन्ने प्रश्नमा पुन भन्छन्, ‘म शितलनिवासबाट आउँदा एक जना प्रहरी र र अर्को एक जना आर्मी दुईजना भाइहरू थिए, छन् । मैले उहाँहरूलाई भनिसकेँ– मन्त्रालयमा हुँदा मसँगै बसौं तर म बाहिर निस्केपछि मेरो पछि पछि आउन पर्दैन ।’ उनले गाडी भने कार्यालयको कामका लागि प्रयोग गर्ने बताए । ‘मेरो आफ्नो गाडी छैन, आफ्नो भए प्रयोगर्ने थिएन, कार्यालयको काम गर्दा कहाँकहाँ जानुपर्ने हुन्छ गाडकिो प्रयोग भने गर्छु,’ उनले भने । शिक्षा ऐनमा धारणा भदौ २६ गते विद्यालय शिक्षा ऐन, २०८० पारित हुने दिन थियो । तर २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक परिवर्तन हुँदा शिक्षा ऐन पनि धरापमा पर्यो । ५२ वर्षपछि आउन लागेको ऐन फेरि निष्कृय भएको छ । अब यो ऐन कहिले आउँछ भन्ने बारेमा अन्यौलता छाएको छ । नवनियुक्त मन्त्री पुन शिक्षा ऐनका विषयमा अहिले केही भन्न नसकिने बताउँछन् ।  ऐनबारे आफू अनविज्ञ रहेकाले अध्ययन गरेर मात्र काम गर्ने उनको भनाइ छ । ‘कस्तो ऐन बनेको छ, के–के  कुराहरू उल्लेख छ मलाई थाहा छैन , अब विज्ञहरूको टोली बनाएर छलफल गरिसकेपछि मात्र शिक्षा ऐनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने ।  पुनले सबै कुरा आफूले भनेकै हुनुपर्छ भन्ने पक्षमा नरहेकाले विज्ञहरूको सल्लाह र सुझाव अनुसार काम अगाडि बढाउने बताए । निःशुल्क शिक्षा असम्भव मन्त्री पुन अहिलेकै अवस्थामा तत्काल निःशुल्क दिन नसकिने बताउँछन् । उनी यसका लागि सबैभन्दा पहिले पैसा हुनुपर्ने बताउँछन् ।  ‘नेपालको शिक्षा मन्त्रालय विदेशीहरूको सहयोगमा चलेको छ,’ उनी भन्छन्, ‘कति प्रतिशत अनुदान भन्ने मलाई थाहा छैन । तर, मन्त्रालय विदेशी अनुदानमा चलेको छ यस्तो अवस्थामा निःशुल्क शिक्षा दिन समस्या हुन्छ ।’ जब देशको अर्थतन्त्र सुधारेर बलियो हुन्छ, त्यो बेलामात्र शिक्षा निःशुल्क गराउन सकिने पुन बताउँछन् । उनले सबैभन्दा पहिले नेपालको अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्ने बताए ।  उनी भन्छन्, ‘मैले निःशुल्क गराउँछु भनेर हुँदैन, पैसा कहाँबाट ल्याउने, हिमालको हिउँ खनेर पैसा बनाउन सकिँदैन, माटोलाई पेलेर पनि पैसा हुँदैन ।’ मन्त्री बन्न आग्रह  शिक्षा मन्त्री पुनलाई नेपालमा सत्ता परिर्वतन हुन्छ, आफू पनि मन्त्री बन्छु भन्ने लागेको थिएन । काठमाडौंमा जेनजी आन्दोलन हुँदा उनी इलाममा थिए । दिनभरि आफ्नो काममा व्यस्त उनलाई काठमाडौंमा भएको प्रदर्शनबारे २३ गते बेलुका मात्र थाहा भयो । उनले थाहा पाउँदा देशको अवस्था सोचेभन्दा पर पुगिसकेको थियो । २४ गते भएको सत्ता पलटले झन् अचम्मित पार्यो ।  पुन इलाममै हुँदा मन्त्री बन्नुपर्छ भन्दै फोन आउन थालिसकेको थियो । तर, उनलाई मजाकजस्तै लाग्थ्यो । सबैले मन्त्री बन्नुपर्छ भनेर फोन, एसएमएस आउन थाल्यो । यतिसम्मकि उनलाई काम गर्नसमेत समस्या भयो । उनले ठट्टा गर्दै फेसबुकमा स्टाटस लेखे, ‘मलाई प्रधानमन्त्री बनाउने हो भने तयार छु,  होइन भने मन्त्री बन्दिनँ ।’ पुन आफू जेनजी मुख बन्द गर्न पनि मन्त्री बन्न बाध्य भएको बताउँछन् । ‘मन्त्री हुन्छु भन्ने सोच्नुभएको थियो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘जिन्दगीमा कति खेर यस्तो मोड आउँछ भन्ने थाहा नहुने रहेछ, मलाई पनि मन्त्री हुन्छु भन्ने थाहै थिएन । यो देशमा भएको राजनीतिक परिवर्तनले दिएको अवसर हो ।’  ६ महिना काम गरेर उनले ६ महिनापछि राजनीतिबाट फर्केर आफ्नै काममा लाग्ने पुनको भनाइ छ । ‘जेनजीको परिवर्तनले मन्त्री बन्ने अवसर मिल्यो अब जेनजीलाई कसरी सम्बोधन गर्नुहुन्छ’ भन्ने प्रश्नमा मन्त्री पुन भन्छन्, ‘म पनि जेनजी पुस्ता नै हो, धेरै भए जेनजी भन्दा दुई वर्षमात्र बढी हो, उमेरले म ७१ वर्ष लागेँ तर म आफूलाई जहिले ३० वर्षको भन्छु, किनकि मैले अहिलेसम्म जुन ठाउँमा काम गरेको छु, मसँग १६ देखि बढीमा ३० वर्षका युवाहरू हुन्छन् । त्योभन्दा बढीको हुँदैनन्, त्यसैले पनि म आफूलाई जेनजीको भर्खरको दाई भन्छु ।’ पुन जेनजीको मुख्य माग भ्रष्टाचार हटाउने भएकाले आफू यही विषयमा काम गर्ने बताउँछन् ।  ‘मलाई थाहा छैन शिक्षा मन्त्रालयमा भ्रष्टाचार कसले कसरी गरिरहेको छ तर अब म हुँदासम्म कसैले यस्तो गर्न पाउँदैनन्,’ उनी भन्छन्, ‘मलाई युवाहरूले विश्वास गरेका छन्, यसले भ्रष्टाचार गर्न पनि गर्दैन, गर्न पनि दिँदैन भन्ने उनीहरूको विश्वास डगमगाउन दिने छैन ।’

सिभिल अस्पताल अर्थात् संकटको सारथी

काठमाडौं । नयाँ बानेस्वरस्थित संसद भवनबाट चार कदम हिँड्दा पुगिन्छ– सिभिल अस्पताल ।  यो अस्पताल जहिल्यै राजधानीको राजनीतिक गतिविधि मात्र नभई विपद र आन्दोलनको पहिलो आश्रयस्थल बन्छ ।  संसद भवन अगाडि हुने आत्मदाहका प्रयास होस् वा केही दिनअघिको जेनजीहरूको प्रदर्शनमा घाइते भएकाहरू हुन् सबैभन्दा पहिले सिभिल अस्पतालमै पुग्छन् ।  सकेको उपचार सिभिल आफैले गर्छ भने ट्रमाका केशहरू ट्रमा सेन्टरमा रिफर गरिदिन्छ । हालैको जेनजी आन्दोलनमा समेत सयौं घाइते एकै पटक सिभिल अस्पताल पुगे । अस्पतालको करिडोरदेखि आकस्मिक कक्षसम्म भीडभाड भयो, कल्पनाभन्दा बाहिरको घटना एक्कासि हुँदा अस्पतालका कर्मचारी र चिकित्सक पनि आत्तिए  । ओपीडी सेवा बन्द गरी सबै कर्मचारी, चिकित्सक घाइतेको उपचारमा लागे ।  सामान्यदेखि विक्षिप्त अवस्थामा अस्पताल पुगेका ४ सय ६१ जनाको उपचार सिभिलले गर्यो भने ६ जनाका मृत्यु भयो । ५० जनाको शल्यक्रिया गरेको अस्पतालले जानकारी दिएको छ । ४ सय ४५ जना घर फर्किसकेका छन् भने एक जना अहिले पनि आईसीयूमा उपचाररत छन् । दुई जना वार्डमा उपचाररत छन् । कतिपय बिरामीहरू अहिले फलोअपमा छन् ।  हरेक आन्दोलनको साक्षी  सन् २००९ सालदेखि सेवा दिँदै आएको अस्पतालको मुख्य उद्देश्य निजामती कर्मचारी र उनको परिवारलाई सेवा दिनु थियो । तर, अन्य बिरामी पनि अस्पतालमा आउँदा उनीहरूलाई फर्काउन सक्ने अवस्था थिएन । केही वर्षपछि यो अस्पतालले सर्वसाधारणलाई समेत सेवा दिन सुरु गरेको थियो ।  त्यसपछिका हरेक विपतमा सिभिल उपचारमा तल्लीन छ । योभन्दा अगाडि बानेश्वरमा भएका सामान्यदेखि ठूला घटनाका घाइतेलाई निको बनाएको रेकर्ड सिभिलसँग छ । त्यस्ता आन्दोलन र प्रदर्शनमा घाइते भएका कतिलाई उपचार गर्यो भन्ने यकिन रेकर्ड त छैन तर सिभिल हरेक आन्दोलन र प्रदर्शनको साक्षी बन्दै आएको छ ।  अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मी भन्छन्, ‘अस्पताल बिरामीलाई सेवा दिन खोलिएको हुन्छ, को आन्दोलनकारी, को प्रदर्शनकारी, हाम्रा लागि सबै बिरामी एउटै हुन्, सेवामा हामीले तल-माथि गर्दैनौं ।’   गत चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनमा पनि धेरै जना घाइते भए । ती सबै घाइतेहरू सबैभन्दा पहिले सिभिल अस्पतालमा पु¥याइएको थियो । अस्पतालले सकेजति आफै उपचार गरेको थियो भने गम्भीरलाई ट्रमा सेन्टरमा पठाएको थियो ।  त्योभन्दा अगाडि बानेश्वरमै शिक्षक र प्रहरीबीच झडप भयो । त्यो बेला पनि सिभिल अस्पताल नै उपचार गर्ने पहिलो अस्पताल बन्यो ।  कर्मचारीको नजरमा भदाै २३  गत भदौ २३ गते सिंहदरबारमा संसदीय समितिको बैठक चलिरहेको थियो । सिभिल अस्पतालका निर्देशक एवं स्त्रीरोग विशेषज्ञ डा. चन्द्रमोहनलाई त्यो बैठकमा निम्तो थियो । पौने ११ बजेको थियो । सडकमा युवाहरूको जमात बाक्लो भइसकेको थियो ।  भीड हेर्दा मन दोधार भइरहेको थियो । यो आन्दोलनले कतै ठूलो रूप त लिँदैन ? यस्तो अवस्थामा जाने कि नजाने भन्नेमा मन दोधार थियो । तर, उनी निस्किए । बैठकमा स्वास्थ्य सचिव अस्पतालका निर्देशकहरू थिए । उनले बैठकमा सडकको अवस्थाबारे जानकारी गराए । सम्भावित जोखिम पनि सुनाए ।   उनी भन्छन्, ‘बाहिरको अवस्था हेर्दा डरलाग्दो छ, हामीलाई एम्बुलेन्स आवश्यक पर्न सक्छ, सबैले सक्दो सहयोग गर्नुपर्छ ।’ यति कुरा राखेर उनी  निस्कँदासम्म  प्रदर्शन सुरु भइसकेको थियो ।  बाटोभरि मानिस भएकाले गाडीमा आउन सम्भव थिएन । उनी एम्बुलेन्समार्फत अस्पताल पुगे । त्यो बेलासम्म बानेश्वर एरिया पुरै रणभूमिमा परिणत भइसकेको थियो, अस्पतालको प्रांगण घाइतेहरूले भरिएको थियो । सुरुमा डा. रेग्मी आफै अन्यौलमा परे, स्कुल ड्रेसमै विद्यार्थीहरू रगतले लतपतिरहेका थिए । कसैको टाउकोमा, कसैको छातीमा गोली लागेको थियो । तर, त्यो बेला हरेस खाएर भाग्ने अवस्था थिएन । उनले अस्पतालका सबै कर्मचारीलाई उपचारमा लाग्न निर्देशन दिए ।  सिभिलले ‘डिजास्टर म्यानेजमेन्ट प्लान’अन्तर्गत रिजर्भ जनशक्ति तुरुन्तै परिचालन गर्यो । अस्पतालमा भएका बिदामा बसेका कर्मचारी, चिकित्सकलाई बोलाइयो । घाइतेको संख्या ठूलो आउन थालेपछि सबै जनालाई इमर्जेन्सी उपचारमा केन्द्रित ग¥यो ।  डा. रेग्मी भन्छन्, ‘हामीले अस्पतालको जुन ठाउँ खाली छ, त्यसलाई प्रयोगमा ल्यायौं । बिरामीहरू रेस्ट गर्ने, बस्ने सबै ठाउँ तुरुन्त खाली गरेर इमर्जेन्सीमा कन्भर्ट ग¥यौं र उपचार सुरु ग¥यौं । सम्पूर्ण जनशक्ति नै उपचारमा केन्द्रित भयो ।’ यस्तो बेलामा सिभिलका कर्मचारीले मात्र काम गर्न सक्ने अवस्था थिएन । निर्देशक डा. रेग्मीले बैठकमै सम्भावित जोखिमको बारेमा भनिसकेका थिए । सिभिलका कर्मचारीले चार सय जनालाई हेर्न नसक्दा बाहिरका अन्य चिकित्सक नर्स र अन्य स्वास्थ्यकर्मीको टोली आयो । स्वास्थ्य मन्त्रालय र अन्य स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीको टोली आउँदा उपचार सम्भव भयो ।  निर्देशक रेग्मीले दुई वर्ष सिभिलमा एक डाक्टरका रूपमा काम गरे । ६ महिनादेखि अहिले निर्देशकको रूपमा काम गरिरहेका छन् । उनले आफूले २३ गतेको जस्तो दृश्य कहिल्यै देखेको अनुभव सुनाए ।  ‘यहाँ काम गर्दा मात्र होइन, यो क्षेत्रमा लागेको अहिलेसम्म पनि यस्तो देखेको थिइनँ । पहिलो पटक एक्कासि यस्तो हुँदा मेरो मानसपटलमा अहिले पनि असर परिरहेको छ,’ उनले भने ।  जहिल्यै पूर्वतयारी काठमाडौं उपत्यकामा कुनै राजनीतिक दल, समूह वा कुनै पीडितहरूले आन्दोलनको घोषणा गर्दा सिभिललाई छटपटी हुन्छ । अझ बढी छटपटी संसद भवन वरिपरि गरिने प्रदर्शनमा हुन्छ । संसद भवन, तीनकुने, माइतीघर हरेक नागरिकको न्याय माग्ने ठाउँ बनेको छ ।  सिंहदरबार र संसद भवन नजिकै हुँदाको प्रभाव अस्पताललाई पनि परेको डा. रेग्मी बताउँछन् । उनले विगतमा भएका केही घटनाले सिभिललाई तयारी गर्न सिकाएको जानकारी दिए ।  उनी भन्छन्, ‘काठमाडौंमा केही आन्दोलन वा प्रदर्शन हुँदैछ भने हामी अघिल्लो दिनबाटै तयारी सुरु गर्छौं, यो घटनामा पनि हामी अघिल्लो दिनबाट तयारीमा रहनुपर्छ भन्ने मानसिकतामा थियौं, तर यो हदसम्मको हुन्छ भन्ने कल्पना भने थिएन ।’ डा. मोहनचन्द्र रेग्मी अस्पतालभित्रै बुट र अश्रुग्यास  भदौ २३ र २४ गते भएको आन्दोलनले ठूलो धनजनको क्षति भयो ।  प्रहरी अस्पतालभित्रै प्रवेश गर्यो । अस्पतालभित्रै प्रहरीका बुटहरु बजारिए । उपचारमा खटिएका चिकित्सक नर्सहरूलाई समेत केही समय उपचारमा समस्या भयो । अवस्था निकै जोखिमपूर्ण थियो । अस्पतालभित्र स्वास्थ्यकर्मी नै असुरक्षित भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘प्रदर्शनकारी साथीहरू वरिपरि हुनुहुन्थ्यो । हामीले पछाडिको गेट खुला गरेर धेरै ठूलो संख्यामा प्रदर्शनकारीहरूलाई पछाडिबाट बाहिर निस्किन लगायौं नत्र भने क्षति अझ धेरै ठूलो हुन्थ्यो,’ अस्पतालका निर्देशक डा. रेग्मी भन्छन्, ‘हामीले यसो नगरेको भए अवस्था अझै खराब हुन्थ्यो, त्यतिबेला हामी कसैसँग प्रश्न गर्ने अवस्थामा थिएनौं । जे भएपनि हामीले सयौंको जीवन बचायौं । तर म कामना गर्छु कि विद्यालय, अस्पताल जस्ता पवित्र संस्था चाहिँ द्वन्द्वको मारमा नपरेको भए हुन्थ्यो ।’  उनी अब फेरि यस्तो अवस्था नआओस् भनेर कामना समेत गर्छन् । अस्पताललाई धम्की  अस्पतालमा कहिलेकाँही काम गर्दागर्दै पनि अप्ठ्यारो स्थिति आउने चिकित्सक बताउँछन् । कहिलेकाहीँ आन्दोलनरत पक्ष र सरकार पक्षबाट पनि दबाब भएको जस्तो महसुस सिभिल अस्पतालका चिकित्सकले गरेका छन् ।  बिरामीका गोली, छर्राहरू निकाल्न ढिलो भयो, ढिला ग¥यो भन्ने हल्ला फैलिन्छ । यस्तै बेला  गलत सूचना प्रवाह हुने सम्भावना पनि उत्तिकै हुन्छ । निर्देशक डा. रेग्मी दिग्भ्रमित गर्न खोज्ने विषयवस्तुको गहिराइमा नपुगी सूचना दिँदा कहिलेकाहीँ काम गर्न अप्ठ्यारो हुने गरेको सुनाउँछन् । ‘प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा अस्पताल के बन्न सक्दो रहेछ भन्ने कुरा हामीले यो पटक देख्यौं,’ डा. रेग्मी भन्छन्,‘ धम्कीको पनि महसुस गर्यौं । यही अस्पताल भित्रै पनि आगजनी हुने स्थिति थियो, तर सम्झाई–बुझाई, गर्दा उहाँहरूले मान्नुभयो ।’ आपतकालीन स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने  आन्दोलनमा मात्र होइन, अन्य समयमा पनि अस्पतालमा बिरामीको भीड लाग्छ । हरेक दिन ओपीडीमा ८÷९ सय बिरामी उपचारका लागि पुग्छन् । विपतमा बढी नागरिकको भरोसा हुने सिभिल अस्पताललाई अब राष्ट्रिय आपतकालीन स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने सोच निर्देशकको छ । उनी यो विषयमा कुरा गरिरहेको बताउँछन्  । सिभिल अस्पतालमा रहेको इमर्जेन्सीको टिम सबै डब्लुएचओको प्रोटोकलअनुसार तालिमप्राप्त छ । बेलाबेला रिफ्रेसर ट्रेनिङहरू भइराखेको हुन्छ । अस्पतालले अबको केही दिनपछि यो घटनालाई प्राथमिकतामा राखेर तालिम र त्यसको रिफ्रेसर ट्रेनिङ दिने योजना बनाएको छ ।  चिकित्सक मानसिक रूपमा विक्षिप्त भदौ २३ र २४ गते भएको आन्दोलनले चिकित्सक मानसिक रूपमा विक्षिप्त भएका छन् । रक्ताम्य अवस्थामा घाइतेको उपचार गर्दा मानसिक रूपमा समेत असर परेको उनीहरूको भनाइ छ । जेनजी आन्दोलनमा घाइतेहरूको छाती, टाउकोमा बढी गोली लागेको थियो । कसैको टाउको हेर्नै नसिकने अवस्थामा थियो । विद्यालय पोशाकमा कलिला विद्यार्थीहरू कोही छटपटाइरहेका थिए भने कोही बेहोस अवस्थामा थिए ।  निर्देशक डा. रेग्मी अहिलेसम्म पनि स्वास्थ्यकर्मी र कर्मचारीमा मनोवैज्ञानिक असर परिरहेको बताउँछन् ।  ‘यत्रो आन्दोलन देख्यौं, आँखा अगाडि मान्छे मरिरहेका देख्यौं, भौतिक क्षति भएको पनि देख्यौं,’ डा. रेग्मी भन्छन्, ‘अहिले अवस्था सामान्य छ, जनजीवन पनि सरल भइसकेको छ तर त्यो दुश्य भुल्न अझै धेरै समय लाग्छ, सबै साथीहरूलाई त्यही भएको छ, मलाई पनि त्यो दृश्यले अहिले पनि सताइरहन्छ ।’ यसरी स्थापना भएको थियो सिभिल नेपालमा सेना, प्रहरी सबैका आ-आफ्ना अस्पताल थिए । तर, निजामती कर्मचारीहरूको लागि अस्पताल थिएन । आवश्यकता भए पनि अस्पताल नहुँदा सरकारले जनवादी गणतन्त्र चीन (पीआरसी)सँग अनुरोध गर्यो । सिभिल सर्भिस अस्पताल निर्माणका लागि चीन तयार भयो । चीनले १३२ शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरेर सन् २००८ मा नेपाल सरकारलाई हस्तान्तरण गर्यो ।  सिभिल अस्पताल सरकारी अस्पताल हो । यो नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्छ ।  यसको प्यारेन्ट मिनिस्ट्री संघीय मामिला मन्त्रालय हो । यसको समिति छ । समिति अन्तर्गत अस्पताल सञ्चालन हुन्छ । समितिमा मुख्यसचिव समितिको अध्यक्ष, अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सचिव समितिको सदस्य रहने व्यवस्था छ । कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।   यो निजामती कर्मचारीको अस्पताल भनेर चिनिन्छ तर यसले बढी सेवा पब्लिकलाई नै दिँदै आएको छ । निर्देशक डा. रेग्मी भन्छन्, ‘कर्मचारीहरुलाई खास हामीले त्यति चाहेजति प्राथमिकता दिएर सेवा गर्न सक्या छैनौं । यहाँ पब्लिक ९० प्रतिशत र कर्मचारीहरू १० प्रतिशत उपचारका लागि आउँछन् ।’  अस्पताल सुचारु हुँदा कर्मचारीको भनिए पनि यसको स्थापनाकालको दुई÷तीन वर्षपछि नै यसले पब्लिकलाई सेवा दिन सुरु गरेको थियो । यो अस्पताल ७० रोपनी जग्गामा छ । यसले सबै किसिमको सेवा उपलब्ध गराउँछ । तर विशिष्टीकृत सेवा प्रदान गर्ने केही विधाहरूमा भने जनशक्तिको पनि अभाव छ ।  सिभिल अस्पताललाई अति विशिष्टीकृत सेवाको केन्द्र बनाउने योजना छ । यसका लागि हालसालै करिब २०० बेड थप्ने गरी डीपीआर तयार भएको छ । जसमा नेपालमै अन्यत्र उपलब्ध नहुने सेवा, क्यान्सर स्क्रिनिङ, जेनेटिक मेडिसिन, त्यस्तै अब यो मुटुको रोगको अपग्रेड गरेर मुटुको, फोक्सो र मुटुको ट्रान्सप्लान्टेसन गर्ने, त्यो लेभलको सेवा उपलब्ध गराउने गरी कार्ययोजना रहेको छ ।    

आरजु नामको अफवाहले अर्बौंको निजी सम्पत्ति खरानी, यी हुन् आगजनी भएका संरचना

काठमाडौं । नेपालको राजनीतिमा परिचित पात्र हुन् आरजु देउवा राणा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी राणाकै वरिपरि कांग्रेसको राजनीति चल्ने गरेको कांग्रेसीहरू बताउँछन् । विभिन्न नियुक्ति तथा लेनदेनमा देउवाभन्दा आरजुको भूमिका बढी हुने गरेको नेपाली कांग्रेसभित्र चर्चा हुन्छ । अन्तरिम सरकार आउनुअघि परराष्ट्र मन्त्रीका जिम्मेवारीमा रहेकी आरजुले विभिन्न निजी कम्पनी तथा कलेजहरूमा लगानी गरेको बेखाबखत चर्चा हुन्छ । ठूला राजनीतिक दलप्रतिको युवाहरूको वितृष्णाको सिकार बन्दै तिनै देउवा दम्पत्ति जेनजीको आन्दोलनमा कुटिए ।  देउवा दम्पत्तिले बुढानीलकण्ठको निवासमात्रै गुमाएनन्, करोडौंमा खरिद गरेको धनगढीमा रहेको निवास पनि आगजनी भएर पूर्णरुपमा ध्वस्त भयो । अहिले तिनै निवासहरुमा ठूलो परिमाणको पैसा जलेको भन्दै युटुबहरूमा चर्चा पनि भइरहेको छ । त्यही वितृष्णाले कांग्रेसले आफ्नो पार्टी कार्यालय पनि गुमायो ।  देशका ठूल्ठूला संरचना ध्वस्त भए । संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत ठूल्ठूला सार्वजनिक भवनहरू जेनजीको टार्गेटमा पर्दै ध्वस्त भए । अर्बौंको क्षति राज्यले भोग्यो ।  आरजु देउवा राणाकै कारण केही निजी सम्पत्ति र व्यवसायमा पनि आगजनी भयो । यसअघि विभिन्न समयमा आरजु देउवा राणाको लगानी रहेको भनेर चर्चा हुने युलेन्स स्कुल जलेर नष्ट भयो ।  पुस्तक, पोसाक र परीक्षाबिना उत्कृष्ट शिक्षा दिँदै आइरहेको युलेन्स स्कुलका सबै संरचनामा आगजनी भयो । करिब १९ वर्षअघि सञ्चालनमा आएको यो स्कुलले प्रगतिशिल शिक्षालाई जोड दिइरहेको थियो ।  आन्दोलनकारीले विद्यालयका बसदेखि भौतिक संरचना डेस्क बेन्च, कागजात  लगायत कुनै पनि चिज बाँकी राखेनन् । प्रदर्शनकारीले आगो लगाउनु अगाडि तोडफोड गरी कम्प्युटर, ल्यापटपसमेत बोकेर लिएको र आगजनी गरेको स्कुलमा सुरक्षार्थ खटिएकाहरूले जानकारी दिएका छन् ।  नाफा वितरण नगर्ने कम्पनीले यस विद्यालयको अहिले कुनै पनि संरचना बाँकी छैन । विद्यार्थीका प्रमाणपत्र, परिचयपत्रदेखि ल्याब, डेक्स बेन्च सबै खरानी भएका छन् । पार्किङमा राखिएका चिटिक्क परेका गाडी दनदनी जलिरहेको कारुणिक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।  यो स्कुलमा आरजुको लगानी रहेको चर्चा हुँदै आएको थियो । उनको नाम जोडिनु नै यो स्कुलका लागि ठूलो क्षति बन्यो । आरजुको नाम र विद्यार्थीबाट लिने शुल्क यो स्कुल जल्नुको प्रमुख कारण रहेको शिक्षाका जानकारहरू बताउँछन् । आगजनीबाट कति क्षति भयो भन्ने विवरण आउन सकेको छैन । ललितपुरको खुमलटार रहेको यो स्कुल ‘युलेन्स एजुकेशन फाउण्डेशन ट्रस्ट’ ले सञ्चालन गरेको हो ।  युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछाने यो स्कुल आरजु राणाको निजी विद्यालय नभएको दाबी गर्छन् । ‘विद्यालयमा विद्यालय व्यवस्थापन समिति आवश्यक पर्छ, राजनीतिक र शैक्षिक दुवै हिसाबले सक्षम एउटा महिलालाई विद्यालयले अध्यक्ष बनाएको मात्रै हो, त्योभन्दा बाहेक उहाँको यो स्कुलमा कुनै लगानी र कारोबार छैन,’ प्राचार्य लामिछानेले विकासन्युजसँग भनेका थिए ।  उनका अनुसार यो स्कूल युलेन्स एजुकेशन फाउण्डेशन कम्पनीको हो । यसमा गाइ र मेरियमले आर्थिक रूपमा युलेन्स फाउण्डेशनलाई सहयोग गरेपछि विद्यालय निर्माण भएको हो । यो फाउण्डेशनमा ५ जनाको समिति छ । फाउण्डेशनले विद्यालय सुरुवात गरेपछि विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियाअनुसार आरजुलाई अध्यक्ष बनाइएको हो । आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएकाले धेरैले उनको मात्रै स्कुल भनेर गलत बुझेको उनको भनाइ छ । हरेक अभिभावक अध्यक्ष बन्न पाउने र सक्ने भएकाले विद्यालयलाई मात्र अध्यक्षको रुपमा राखिएको उनको भनाइ छ ।  आरजुकै नाम जोडिएर ध्वस्त भएको अर्को विद्यालय हो नामी इन्टरनेसनल स्कूल । जोरपाटीमा रहेको यो स्कुल पनि जलेर नष्ट भएको छ । विद्यालयको  पार्किङमा राखिएका गाडीसहित विद्यालयका कागजात सबै जलेर नष्ट भएका छन् ।  विद्यालयका अनुसार क्षतिको विवरण भने आएको छैन । विद्यालयका एक कर्मचारी भन्छन्, ‘विद्यालयको संरचना पुरै जलेको छ,  कति क्षति भयो भन्ने आइसकेको छैन, बोर्डले काम गरिरहेको छ ।’ ती कर्मचारीका अनुसार नामी पनि जलेर नष्ट भएका छ । अब पुन: निर्माण गर्न लामो समय लाग्नेछ ।  आरजु नाम जोडिर नष्ट भएको अर्को संरचना हो हिल्टन होटल । नक्सालमा रहेको हिल्टन होटल सञ्चालनमा आएको एक वर्षमै आगजनी भयो । आगजनीबाट हिल्टन पूर्णरुपमा क्षति भएको छ । होटलमा रहेका विदेशी पाहुनालाई सकुशल बाहिर निकाल्न सफल भए पनि होटल भने पुरै नष्ट भएको छ । हिल्टनमा पनि आरजुपुत्र जयवीर देउवाको लगानी रहेको अफवाह फैलिएपछि आन्दोलनकारीको निशानामा त्यो होटल पर्‍यो । केही युट्युबरहरूले हिल्टन होटलमा आरजुको छोराको लगानी रहेको भन्दै प्रचार गरेपछि आन्दोलनकारीले सो होटलमा आगजनी गरेको हुन सक्ने विश्लेषण अहिले भइरहेको छ ।  युट्युबहरूले बिनाप्रमाण हिल्टन होटलमा आरजुको छोराका लगानी रहेको भनेर समाचार सामग्री बनाउँदा अर्बौंको लगानी रहेको हिल्टन जलेर नष्ट भएको छ । हिल्टनका प्रमुख लगानीकर्ताहरूले हिल्टनमा देउवा परिवारको लगानी नरहेको दावी गर्दै आएका छन् ।  यो होटलमा आगजनी गर्दा अर्बौंको क्षति मात्रै भएको छैन, विदेशी लगानीकर्तामा पनि यसले ठूलो प्रभाव पारेको छ । यसको छवि अन्तर्राष्ट्रियस्तरमा राम्रो नपरेको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।   शिक्षाविद् प्रा. डा विद्यानाथ कोइराला गलत समाचार सम्प्रेषणले यो नोक्सान बेहोर्नुपरेको टिप्पणी गर्छन् । प्रदर्शनकारीले आगजनी गर्दा आरजुको नाम लिँदै जलाएको भिडियो देखिएको बताउँदै सञ्चारकर्मी, राजनीतिज्ञ र विज्ञहरूले फैलाएका गलत समाचारको प्रभाव भएको उनको टिप्पणी छ ।  उनले युलेन्स र नामीलाई आरजुको नाममा र हिल्टन होटेललाई उनकै छोराको नाममा छापिएका, लेखिएका प्रमाणबिनाका समाचारले अर्बौंका व्यवसाय खरानी बनेको बताए ।  शिक्षा पत्रकार सुदर्शन घिमिरेले पनि हिल्टन मात्र नभई युलेन्स स्कुलको मामिलामा पनि गतल समाचार सम्प्रेषण हुँदा अर्बौंको लगानी ध्वस्त भएको टिप्पणी गरेका छन् । आरजु राणा युलेन्सको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको तर उनको लगानी भन्दै प्रचार भएकोले अहिले अर्बौंको लगानी गुमाउनु परेको धारणा राखेका छन्।

भग्नावशेष स्वास्थ्य मन्त्रालयमा तीन घण्टा बिताउँदा

काठमाडौं । सडकमा आवतजावत गर्नेहरूको आँखा स्वास्थ्य मन्त्रालयमा ठोक्किँदा उनीहरू टक्क उभिन्छन् । चासो राख्नेहरू भित्रैसम्म पुग्छन् । मन्त्रालय हेर्न आउनेहरू देशको स्वास्थ्य मन्त्रालयको हालत भन्दै भिडियो बनाउँछन्, फर्कन्छन् । सोमबार स्वास्थ्य मन्त्रालयको प्राङ्ग्रणमा तीन घण्टा बिताउँदा यस्तै दृश्य देखियो । बाटोमा हिँड्ने सयौं व्यक्ति कोही फोटो खिचेर जान्थे, कोही भिडियो बनाएर फर्कन्थे भने कतिपय आक्रोश पोखेर हिँड्थे ।  नेपालको स्वास्थ्य नीतिगत र प्रशासनिक काम गर्ने  प्रमुख निकाय स्वास्थ्य मन्त्रालयको अहिले भग्नावशेष मात्र बाँकी छ । भाद्र २४ गते जेनजीहरूको प्रदर्शनमा प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा आगजनी गर्दा भवनभित्रको कुनै पनि कागजात, सामग्री बचेन । सबै जलेर खरानी बन्यो । अहिले स्वास्थ्य मन्त्रालयसँग न आफ्नो भवन छ न कुनै सामाग्री । कुनै पनि संकट वा विपद आउँदा सक्रिय रूपमा खटिनुपर्ने मन्त्रालय अहिले आफै संकटमा परेको छ । सिंहदरबारबाट करिब सय मिटरको दूरीमा र माइतीघरबाट ५०/६० मिटरको दूरीमा छ स्वास्थ्य मन्त्रालय । रामशाह पथ सडकको छेउमै रहेको मन्त्रालय बाहिरबाट हेर्दा जलेर कालो भएको देखिन्छ ।  गेटबाट भित्र पस्ने हो भने अवस्था कहालीलाग्दो छ ।  जलेर कवाडी बनेका गाडी, भवन वरिपरि रहेका फूल, बोटबिरुवा, समेत जलेर केही बाँकी छैन । गेटबाट प्रवेश गर्दा दायाँपट्टि रहेको स्वास्थ्य आपतकालीन केन्द्र (एचईओसी)सँगै जोडिएको सचिवालय, सचिवदेखि मन्त्रीका क्वाटर जलेर खरानी बनेका छन् ।  गाडी जलेर नष्ट भएका कतिपय चालक र मन्त्रालयको रेखदेख गर्ने पालेदेखि मन्त्रालयलाई सुरक्षा दिने प्रहरी मन्त्रालयको भग्नावशेष हेरिरहेका थिए । न खानेपानी न बत्ती केही नहुँदा दिनभर बस्न समस्या भएको उनीहरूको गुनासो छ । स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा प्रदर्शनकारीले गरेको गतिविधि कुनै हालतमा स्वीकार्य नहुने धेरैको प्रतिक्रिया थियो । जलेको भवनलाई हेर्न पुगेका डा. अबुल हुसेन अन्सारी हरेक नागरिकसँग जोडिएको मन्त्रालयलाई जलाउने कार्य निन्दनीय भएको बताउँछन् ।  उनी भन्छन्, ‘हरेक पालिका, जिल्ला प्रदेशमा स्वास्थ्य संस्थाहरू छन्, सबैको लगानी मन्त्रालयबाट हुन्छ , कतिपय ठाउँमा भवनहरू बनिरहेका छन्, त्यो भवनको लेखाजोखा यहाँ थियो, सबै कागजात जले, मृगौलादेखि मुटुका समस्या भएका बिरामीको फाइल मन्त्रालयमा थियो  । ती फाइल जल्दा बिरामीलाई औषधी खान समस्या भएको छ यो काम जसले गर्यो निकै गलत गर्यो ।’ कागजात नहुँदा सबैभन्दा बढी असर दीर्घ रोगका बिरामी र सेवाग्राहीमा परेको डा. अन्सारी बताउँछन् । बाराका राजेश प्रसादयादव करिब १३ वर्षदेखि स्वास्थ्य मन्त्रालयमा कार्यालय सहयोगी र पालेको रुपमा काम गरिरहेका छन् । उनीसहित उनको परिवार मन्त्रालय भित्रको एउटा भवनमा बस्छन् । दिनरात मन्त्रालयको रेखदेखका लागि बसेका यादवले २४ गते मन्त्रालयलाई जोगाउन सकेनन् ।  ‘कहिले हाकिमसाब राति ९ बजे घर जानुहुन्थ्यो, कहिले ८ बजे काममा व्यस्त हुँदा रातिको मन्त्रालय रेखदेखको काम मेरो हुन्थ्यो,’ उनी भन्छन्, ‘१३ वर्षदेखि रातीको समयमा पनि रक्षा गरेको मन्त्रालयलाई २४ गते दिउँसोको समयमा रक्षा गर्न सकिनँ ।’  मन्त्रालयको रेखदेखका लागि पाले यादव मात्र होइनन्, सुरक्षागार्डका रूपमा नेपाल प्रहरी पनि थिए । कुनै पालकहरूले मन्त्रालयलाई जोगाउन सकेनन् ।  मन्त्रालयमा आगजनी हुने दिन सोमबार दिउँसोको चार बजेको थियो । देश अघिल्लै दिन २३ गतेदेखि नै अशान्त बनिसकेको थियो । २३ गते युवाहरूमाथि प्रहरी दमन भएको भन्दै २४ गते प्रदर्शनकारीले नेताको घरदेखि संसद भवनसम्म जलाइरहेका थिए । जब देशमा विपत्ति पर्छ, स्वास्थ्य मन्त्रालय तातिनुपर्छ । अघिल्लो दिन घाइते भएकाहरूले काठमाडौं उपत्यकादेखि देशभरका अस्पताल भरिएका थिए । आवश्यक जनशक्तिदेखि रगत र औषधीको चाँजोपाँजोका लागि मन्त्रालयका कर्मचारी देशभरका अस्पताल स्वास्थ्यकर्मीसँग समन्वय गरिरहेका थिए ।  उपत्यकाका सिभिल र ट्रमा अस्पताल घाइतेले भरिएका थिए । उपत्यका बाहिरका सरकारी अस्पतालको अवस्था पनि उस्तै थियो । कतै जनशक्ति अभाव, कतै औषधी अभावका कुरा आइरहेका थिए । अस्पतालमा रगत अभावको कुरा पनि आइरहेको थियो । सचिवसहितको टोली समन्वयमा व्यस्त थियो ।  मन्त्रालयले २३ गते दिनभर नै देशभरका बिरामीका लागि कमाण्डको काम  गरिरहेको थियो । २३ गतेदेखि नै घाइतेको उपचारका लागि सबै कर्मचारी व्यस्त थिए । २४ गते पनि स्वास्थ्य सचिवसहितको टोली स्वास्थ्य आपतकालीन केन्द्रमा देशभरका अस्पतालसँग भर्चुअल छलफलमा थिए । दुई बजेसम्म सचिवसहितको टोली सिंहदरबारमा थियो । साढे दुई बजेतिर अचानक कसैको फोन आयो सिंहदरबार आगो लगाइसक्यो, सर्वोच्चमा पनि आगो लगाइसक्यो, अब त्यो आगो मन्त्रालयमा लाग्नेवाला छ भाग्नूस् । त्यो खबर आउँदा पनि मन्त्रालयका विभिन्न महाशाखा, शाखाका कर्मचारी मन्त्रालयमै थिए ।   भित्र कर्मचारी छलफलमा हुँदा सुरक्षागार्ड र पाले गेटमा थिए । सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मका सबै कार्यालय तोडफोड र आगजनी भइसकेको थियो । सिंहदरबारमा आगो सल्काएको एक हुल स्वास्थ्य मन्त्रालयतिर आयो । त्यहाँका कर्मचारीलाई मन्त्रालयमा आगजनी हुन सक्छ भन्ने एकरत्ति पीर थिएन । किनकि स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील र यस्तो अवस्थामा अझ बढी सक्रिय रहनुपर्ने क्षेत्र हो ।  ‘स्वास्थ्य मन्त्रालयमा आगजनी हुन्छ भन्ने लागेको थिएन, सिभिलमा स्वास्थ्यकर्मी अपुग भयो भन्ने खबर आएको थियो, हामी टेकुबाट स्वास्थ्यकर्मीलाई पठाउने योजना बनाइरहेका थियौं, केही गर्दैनन् होला भन्नेमा ढुक्क थियौं,’स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटाले घनाको फेहरिस्त सुनाउँदै भने, ‘फेरि सुरक्षाकर्मी नै आएर तपाईंहरू निस्कनूहोस् प्रदर्शनकारीले जे पनि गर्न सक्छन् भनिसकेपछि कोही साथी निस्कनुभयो, हामी केही जोगाउन सकिन्छ कि भनेर बस्यौं । तर हातमा खुकुरी, हतियार बोकेको जमातको अगाडि हामी चार पाँच जनाको केही लागेन, ज्यान जोगाउनु नै ठूलो लाग्यो, भाग्यौं त्यसपछि मन्त्रालय खरानी बन्यो ।’ डा. भीम प्रसाद सापकोटा ।  प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा आक्रमण गर्नुपर्ने कुनै कारण थिएन । तर, आगजनी गरे । कति क्षति भयो भन्ने लेखाजोखा अहिलेसम्म छैन । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनकारीका दुई समूहले मन्त्रालयमा आक्रमण गरेको थियो । पहिलो समूहले पार्किङ स्थलमा राखिएको गाडी जलाएको थियो भने दोस्रो पटक आएको समूहले भवनमा आगो लगाएको थियो ।  ‘देशमा ठूल्ठूला राजनीतिक आन्दोलन हुँदा पनि स्वास्थ्य मन्त्रालय कसैको चपेटामा परेन । तर, जेनजीले स्वास्थ्य क्षेत्रलाई पनि छोडेन, हामी स्तब्ध भएका छौं,’ डा. सापकोटा भन्छन् ।  के-के भयो नष्ट ? स्वास्थ्य मन्त्रालयका अनुसार पार्किङमा रहेको २४ गाडी १८ वटा मोटरसाइकल जले भने तीनवटा व्यक्तिगत गाडी जलेका छन् ।  भवन भित्रको कुनै पनि फर्निचरदेखि फाइल कागजपत्र, कम्प्युटर, प्रिन्टिङलगायत सरकारी कामकाजमा आउने अभिलेख बाँकी छैन । २४ गते लगाइएको आगो २५ गते बिहान नियन्त्रणमा लिने प्रयासका लागि केही कर्मचारी मन्त्रालय पुगेका थिए । ‘आगोको ज्वालामा उनीहरूको केही चलेन । केही साथीहरू आएका थियौं,  केही जोगाउन सकिन्छ कि भनेर तर मन्त्रालयमा आगो दन्किरहेको थियो, रापले भित्र पस्नै सकिएन,’ डा. सापकोटाले भने ।  दमकलका लागि काठमाडौं महानगरपालिकामा फोन गर्दा सकिने अवस्था छैन भन्ने जवाफ आयो त्यसपछि कर्मचारी निरीह भएर बसे । उनी भन्छन्, ‘एक/दुई बाल्टिन पानी हालेर नियन्त्रणमा लिन सकिने अवस्था थिएन, दमकल आएन हामीले टुलुटुल हेरेर बस्नुको विकल्प भएन ।’ तेस्रो दिनमा आगो आफै निभ्न लागिसकेको थियो । त्यतिञ्जेलसम्म मन्त्रालय खरानी बनिसकेको थियो । डा. सापकोटा भन्छन्, ‘भवन फेरि बनाउन सकिएला, गाडी फेरि किन्न सकिएला तर, हाम्रो लागि ठूलो क्षति भनेको ५०औं वर्षदेखिका अभिलेख, कर्मचारी व्यवस्थापन, वैदेशिक सहायताका सम्झौता, कागजात किन्न मिल्दैन निकै ठूलो क्षति भएको छ ।’ मन्त्रालय खरानीमा परिणत भएको परिणामले कस्तो असर पर्छ भन्ने कुरा अहिले कल्पना समेत गर्न सकिँदैन । काम गर्दै जाँदा जतिबेला त्यो अभिलेखको आवश्यकता पर्छ त्यो बेला यहाँ असर पर्यो भन्न सकिन्छ । अहिले जलेको मन्त्रालयमा पाँचवटा महाशाखा र २० वटा शाखा सञ्चालनमा थिए भने बाहिरको स्वास्थ्य आपतकालीन केन्द्र सबै जलेका  छन् ।  एनएचआरसीको शरणमा मन्त्रालय  मन्त्रालय जलेर खरानी भएपछि स्वास्थ्य मन्त्रालयले नजिकै रहेको स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)को नयाँ भवनमा सरेको छ । यो भवनको डिजाइन, बनावट मन्त्रालयको कामका लागि उपभोग्य छैन । यो भवनमा मन्त्रालयको स्थायित्व हुँदैन । नयाँ भवन नबन्दासम्म भने यही भवनबाट सेवा दिने मन्त्रालयको तयारी छ ।  स्वास्थ्य मन्त्रालयमा आगो लागेको पछिल्लो दिनमै सेवाग्राही पुगेका थिए । यस्तो अवस्थामा मन्त्रालयले कसै न कसैको शरणमा गएर सेवा दिनुपर्ने बाध्यता आयो । यही बाध्यताका कारण मन्त्रालय अहिले स्वास्थ्य अनुसन्धान परिषदको शरणमा पुगेको हो ।  डा. देवकोटा भन्छन्, ‘यो भवन नभएको भए हामीले जलेको भवनको प्राङ्गणमा टेन्ट लगाएर भएपनि सेवा सुचारु गर्नुपर्ने हुन्थ्यो, अब  तत्कालै मन्त्रीको बहाली भएपछि कहाँ लिएर राख्ने भन्ने समस्या हुँदा मन्त्रीकै लागि भएपनि यो भवनमा सर्नु परेको हो ।’ स्वास्थ्य मन्त्रालय केही समयका लागि सरेको भवनमा कुनै पनि सामान छैन । बाहिरबाट हेर्दा चिटिक्क परेको नयाँ भवन भए पनि भित्र न टेबल छन् नत कुर्सी । केही गरी नयाँ मन्त्री तुरुन्त आइहालेमा पदभारका लागि भन्दै भवनको चौथो तलामा तयारी हुँदैछ ।  ‘सचिव र मन्त्रीको लागि कोठा तयार गरेका छौं, अस्थायी रुपमा आकस्मिक रुपमा यो भवनमा सरे पनि मन्त्रालयको आफ्नै भवन आवश्यक छ,’ उनले भने । सिंहदरबार भित्र छिर्ने प्रयासमा मन्त्रालय राज्यका सबै संघीय मन्त्रालय सिंहदरबार भित्र छन् । स्वास्थ्य मन्त्रालयमात्र सिंहदरबार बाहिर छ । सुरक्षाको घेरमा रहेको सिंहदरबार समेत प्रदर्शनकारीको आक्रमणबाट नबचेको बेला स्वास्थ्य मन्त्रालयका कर्मचारी भने मन्त्रालय सिंहदरबार भित्र रहेको भए यो सम्मको क्षति हुन् नसक्ने बताउँछन् ।  सिंहदरबार बाहिर रहेर काम गर्दा यो भन्दा अगाडि पनि केही अभाव खड्केको बताउँदै ती कर्मचारी बाहिर हुँदा धेरै क्षति भोग्नु परेको बताउँछन् । अब स्वास्थ्य मन्त्रालय पनि सिंहदरबारभित्रै हुनुपर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीको एकमत छ ।  अस्थायी रूपमा अरूको भवनमा बसेर सेवा दिए पनि अबको स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र हुनुपर्ने मन्त्रालयको माग छ । ‘मन्त्रालयको उत्कृष्ट प्रयास भनेको सिंहदरबार भित्रै जा‍औं भन्ने हो । मन्त्रालयलाई पूर्ण रूपमा प्रयोग गर्न यो भवनमा स्पेस छैन ५० प्रतिशतभन्दा कम छ स्थायित्वका लागि अब हामी सिंहदरबारभित्र सर्नैपर्छ,’ उनले भने ।  स्वास्थ्य मन्त्रालय किन बाहिर ?  अहिले जलेर नष्ट भएको स्वास्थ्य मन्त्रालयको भवन कसरी बाहिर हुन पुग्यो धेरैलाई थाहा छैन । जब विसं २०३१ सालमा सिंहदरबारमा आगलागी भयो त्यो बेला सिंहदरबारका मन्त्रालय बाहिर छरिए । त्यो बेला प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए । १ हजार ८ सय कोठा रहेको सिंहदरबारमा कसरी आगो लागेको थियो अहिलेसम्म पत्ता लागेको छैन । सिंहदरबारमा आगो लागेपछि स्वास्थ्य मन्त्रालय टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रको भवनमा सरेको थियो । अहिले जलेर नष्ट भएको स्वास्थ्य मन्त्रालयको भवनमा परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको थियो ।  वरिष्ठ जनस्वास्थ्यविद् डा . बाबुराम मरासिनीका अनुसार टेकुमा रहेको स्वास्थ्य मन्त्रालय रामशाह पथमा सरेको थियो । पछि अन्य मन्त्रालय सिंहदरबारभित्र पसे पनि स्वास्थ्य मन्त्रालय भने २०३१ सालदेखि बाहिर रहेको छ ।  डा. मरासिनीका अनुसार अहिले जलेको स्वास्थ्य मन्त्रालय संसारकै नामी आर्किटेक्ट इन्जिनियर लुइ कानको शैलीमा बनाइएको थियो । युएसएआईडीको सहयोगमा विश्व प्रसिद्ध इन्जिनियरको युनिक डिजाइनमा भवन तयार पारिएको थियो ।  जुन भवनको एउटा पनि पिल्लर थिएन ।  २०२३ सालमा निर्माण भएको भवनको २०३२ सालमा उद्घाटन गरिएको थियो । जुन भवन हेर्न विश्वका नर्वे, डेनमार्क, स्वीटजरल्याड लगायत देशका आर्किटेक्टका विद्यार्थी नेपाल आउँथे ।  लुइ कानले दक्षिण एसियामा तीन ठाउँमा मात्र लुइ कान शैलीका भवन बनाएका थिए । शैली उनकै भए पनि डिजाइन भने तीनवटै देशको फरक थियो ।  एउटा श्रीलंका, अर्को पाकिस्तान र एउटा नेपालमा यो भवनहरू थिए।  डा. मरासिनी भन्छन्, ‘यो सामान्य मन्त्रालयमात्र थिएन, नेपालको आर्किटेक्ट इन्जिनियरको इतिहास र वास्तुशिल्पलाई विश्वभर अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो, भवन जलेर नष्ट हुँदा यो वास्तुशिल्प पनि जल्यो । डा. मरासिनी अब पनि त्यही संरचनामा भवन बनाउनुपर्ने बताउँछन् । 

शिक्षामन्त्रीलाई केशरमहलमा पदभार ग्रहण गराउने तयारी, यी हुन् गर्नैपर्ने ६ काम

काठमाडौं । अन्तरिम सरकारको मन्त्रीहरूले धमाधम पदभार ग्रहण गरिरहँदा शिक्षामन्त्री को बन्छ भन्ने विषयमा धेरैको चासो बढेको छ । धेरैजसोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी सुमना श्रेष्ठ फेरि शिक्षामन्त्री बन्छन् कि भन्ने चर्चा गरिरहे पनि उनले भने आफू शिक्षामन्त्री नबन्ने घोषणा गरिसकेकी छन् ।  अहिले अधिकांश मन्त्रालय तथा सरकारी कार्यालयहरू जलेर नष्ट भएका  छन् । यो संकटबाट शिक्षा मन्त्रालय पनि बच्न सकेन । सिंहदरबार भित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएको छ । मन्त्रालयका केही काम सिंहदरबारभित्रका हालको भवनबाट सुरु भइरहेको छ भने अब आउने नयाँ मन्त्रीलाई केशर महलमा पदभार ग्रहण गराउने तयारी शिक्षा मन्त्रालयले गरेको छ ।  यस्तो अवस्था नयाँ शिक्षामन्त्रीलाई चुनौतीमात्र नभई काम गरेर देखाउने अवसर पनि रहेको कतिपयको तर्क छ । भलै समयावधि ६ महिनाका लागि मात्र भए पनि  यो ६ महिनामा धेरै काम गर्न सकिने शिक्षा क्षेत्रका विज्ञहरू बताउँछन् ।  शिक्षामन्त्रीले गर्नुपर्ने गर्नुपर्ने काम शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला अब बन्ने शिक्षा मन्त्रीले ६ महिनामा ६ काम गरिसक्नुपर्ने बताउँछन् । उनी धेरै काम गर्न नसके पनि ६ काम गर्नै पर्ने काम रहेको बताउँछन् ।  उनका अनुसार अबको शिक्षामन्त्रीले सबैभन्दा पहिले पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले सुरु गरेको तीनवटा ऐन कार्यान्वयन गर्नुपर्ने छ । उनी भन्छन्, ‘अब आउने मन्त्रीले सबैभन्दा पहिले विद्यालय शिक्षा, उच्च शिक्षा, व्यावसायिक शिक्षा यी तीन कुरालाई अहिलेको सन्दर्भमा जोडेर र अहिलेका कुरालाई पनि समावेश गरेर व्यवहारिक ढंगले काम गर्नुपर्छ ।’  प्रा.डा. कोइराला अबको मन्त्रीले गर्न सक्ने र गर्नैपर्ने अर्को काम विद्यार्थीको लागि अनिवार्य बचत प्रणाली सुरु गर्नुपर्ने बताउँछन् । ‘यसको लागि बैंक, पालिका र अभिभावकसँग सहकार्य गरेर विद्यार्थीलाई नै कमाऊ भन्न सक्ने मान्छे चाहियो,’ उनी भन्छन्,‘ विद्यार्थीलाई आफै काम पनि गर्न सक्ने र बचत पनि गर्न सक्नेगरी अबको मन्त्रीले काम गर्नुपर्छ ।’ उनका अनुसार अबको मन्त्रीले गाउँघरका जति पनि खाली जमिनहरू छन् ती जमिन पालिकाले लिजमा लिएर, केही विद्यार्थीलाई, केही घरधनीलाई दिने र त्यहाँ के खेती गर्न सकिन्छ बाँदरले नखाने, दुम्सीले नखाने खेती गर्न लगाउने र त्यसलाई उद्यमसँग जोड्न सक्नुपर्छ ।  कोइराला अबको मन्त्रीले गर्नसक्ने अर्को काम गाउँमा खाली भएका घरहरूलाई संग्राहलयको रूपमा राख्नसक्नुपर्ने बताउँछन् । ‘जुन ठाउँ जेका लागि प्रख्यात छ वा पाइन्छ त्यसैको संग्राहलयका रूपमा बनाउन सकियो भने यसले पर्यटन पनि बढाउँछ, गाउँ खाली पनि हुँदैन तर, गाउँको स्वरूप फेरिन्छ । यी तीन/चारवटा काम गर्न सक्यो भने देश बन्थ्यो,’ उनी भन्छन् ।  ‘गर्छन् भन्ने पत्यार त लाग्दैन तर यति गर्न सक्ने मान्छेचाहिँ अहिलको आवश्यकता हो,’ कोइराला भन्छन्, ‘अब विद्यार्थीलाई पढाउने भन्दा पढाउने कला सिकाउनुपर्छ । केटाकेटी अब जान्ने भइसकेका कुरा यही जेनजी आन्दोलनले पनि देखाएको छ । अबको विद्यार्थीलाई पढ्ने कला सिकाउने व्यवस्था  यी ६ महिनामा ६ वटा काम मात्र गर्न सक्यो भने धेरै हुन्छ ।’  शिक्षाविद् डा. विष्णु कार्की शिक्षा विधेयक पास गराउन भूमिका खेल्नुपर्ने बताउँछन् । सामुदायिक विद्यालयका शिक्षक कर्मचारी र निजी विद्यालय सञ्चालकहरू विभिन्न माग राख्दै सडकमा आइरहेको अवस्थाका बाबजुत पनि विधेयक पास हुने अन्तिम अवस्थामा पुगेको थियो । अब आउने मन्त्रीलाई भने यो विधेयक पास गर्ने मौका छ ।  ‘अबको विद्यालय शिक्षा कस्तो हुनुपर्छ, कसरी जानुपर्छ भन्ने कुरा अबको मन्त्रीले विचार गर्न सक्नुपर्छ,’ डा. कार्की भन्छन्,‘अबको मन्त्रीले विद्यालय शिक्षा विश्वविद्यालय शिक्षा र  प्राविधिक शिक्षालाई जोड दिएर काम गर्न सक्नुपर्छ।’ शिक्षामन्त्रीले सबैभन्दा पहिले तीन तहको शिक्षालाई गम्भीर ढंगले अगाडि लान सक्नुपर्छ । अहिलेको सामुदायिक विद्यालयको अवस्था त्यहाँभित्रको राजनीति र निजी विद्यालयको मनोमानीले विद्यालय शिक्षा कहिल्यै राम्रो हुन नसकेको भन्दै डा. कार्की व्यक्तिगत स्वार्थका कारण डुबेको शिक्षालाई अबको सार्वजनिक शिक्षा कस्तो हुन्छ भनेर सबैलाई बुझाउन सक्ने किसिमको नेतृत्व शिक्षा क्षेत्रलाई आवश्यक रहेको बताउँछन् ।  नेपालमा शिक्षकको भूमिका के हुने, राजनीति कतिसम्म गर्न पाउने भन्ने कुरा स्पष्ट सिकाउने पर्ने देखिन्छ । यो खाका अबको शिक्षामन्त्रीले गर्न सकेन भने फेरि उही ताल हुने, विद्यालय बन्द गर्ने, सडकमा आउने कुरा  दोहोरिने बताउँदै डा. कार्की पहिले विद्यालय शिक्षा त्यसमा पनि निजी र सामुदायिक शिक्षा र शिक्षकहरूको व्यवस्थापन गर्नुपर्ने काम सबैभन्दा पहिले गर्न आवश्यक रहेको बताउँछन् ।  उनी अबको मन्त्रीले निजी विद्यालयको हकमा पनि स्पष्ट भन्न सक्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘व्यापार गर्न दिने हो भने गर्न दि‍औं, हैन शिक्षा सरकारको सरोकारको विषय हो भने शिक्षामा व्यापार गर्न पाइँदैन, यो विषयमा स्पष्ट काम गर्न सक्ने र नेतृत्व लिन सक्ने मान्छे अब चाहिन्छ ।’  नेपालको विश्वविद्यालय शिक्षा अझ बिग्रेको छ । प्राध्यापक र विद्यार्थीको राजनीतिले विश्वविद्यालय शिक्षा ध्वस्त भएको बताउँदै कार्की अबको मन्त्रीले यसका  यसमा पनि स्पष्ट खाका बनाउनुपर्ने बताउँछन् ।  ‘विश्वविद्यालयमा पढ्ने विद्यार्थीमा धेरै ज्ञान हुन्छ, उसले देश, समाज, विश्व सबै बुझेको हुन्छ,’ डा. कार्की  भन्छन्, ‘अब उहाँहरूलाई विश्वविद्यालयमा राजनीति होइन शिक्षाको गुणस्तरका कुरा गर्नुपर्छ भन्न सक्नुपर्छ ।’ उनका अनुसार राजनीति गर्नेलाई पढाइ छोडेर राजनीति गर्न लगाउने र पढ्ने विद्यार्थीलाई भोलिको रेक्टर–भिसी सबै तपाईंहरू नै हो भनेर पढाइमा केन्द्रित गराउनेगरी अबको नेतृत्वले काम गर्नुपर्छ । विश्वविद्यालय भोलिका लागि वैज्ञानिक, अनुसन्धानकर्ता राजनीतिज्ञ उत्पादन गर्ने थलो भएको बताउँदै यहाँ राजनीति नभई कसरी काम गर्ने भन्ने कुरा सिकाउनुपर्ने उनी बताउँछन् ।   व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)मा पनि ठूलो राजनीति छ । अबको नेतृत्वले यहाँ पनि धेरै काम गर्नुपर्ने छ । अब प्रविधि, सीप र सिर्जनश‍ीलताबिनाको शिक्षाको काम छैन । यो बाटोमा नेपालको शिक्षा जानै पर्ने छ । विश्वका विकसित मुलुकमा हेर्ने हो भने प्रविधि युक्त र प्राविधिक भइसकेको छ । विज्ञहरू अबको शिक्षामन्त्री अहिलेको ६ महिनाका लागि मात्र मन्त्री हुने भएकाले ऐन नीति नियमको जानकार भन्दा शिक्षा क्षेत्रका विषयमा बुझेको व्यक्ति हुनुपर्ने बताउँछन् । ‘अहिले जुन भत्किएका, बिग्रिएको कुरा छ, यसलाई सुधार गर्न ६ महिना लाग्छ,’ उनीहरू भन्छन्, ‘ऐन नियम कानुनको काम गर्ने हो भने त्यही अनुसारको विज्ञता भएको हुनुपर्छ  ।’  यो ६ महिनामा अहिलेकै विद्यमान ऐनमा बसेर सुधार गर्नुपर्छ । गर्न सकिने कामहरू प्रशस्त छन् । प्रशासनिकभन्दा प्राविधिक विषयमा गर्नुपर्ने भएकाले अलि बढी विज्ञता भएको, विश्वमा शिक्षा कसरी भइरहेको छ नेपालमा हामी कसरी लान सक्छौं भन्ने विषयमा अलि बढी जानकार राख्ने र नेतृत्व गर्न सक्ने व्यक्ति मन्त्री हुनुपर्छ,’ प्रा.डा. कोइरालाले भने ।   

स्वास्थ्यमन्त्री बन्ने चर्चामा छन् भेट्रान चिकित्सकहरू

काठमाडौं । अन्तरिम सरकार गठन भएसँगै अब कुन मन्त्रालय कुन व्यक्तिले पाउँछ भन्ने विषय निकै चासोका रूपमा हेरिएको छ । ६ महिने अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै कुन मन्त्रालय कसले पाउँछ भन्ने कौतुहलता धेरैमा छ ।  नागरिक सरकार भएकोले पनि विभिन्न विधामा उत्कृष्ट काम गर्दै आएका व्यक्ति मन्त्री बन्नुपर्ने धारणा आइरहेको छ । जेनजी आन्दोलनअघि प्रदीप पौडेलले सम्हालेको स्वास्थ्य मन्त्रालय अब कसले पाउँछन् र को उपयुक्त पात्र हो भनेर चर्चा भइरहेको हो ।  स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेर चर्चामा रहेका विज्ञहरूको नाम चर्चामा आएको छ । कुनै पनि दलमा आवद्ध नभएको, स्वास्थ्य क्षेत्रका बारेमा जानकार भएका नेपालीलाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने जेनजीहरूको धारणासँगै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको नाम चर्चामा आउन थालेको छ ।  डा. सन्दुक रुइत स्वास्थ्यमन्त्रीमा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नाम चर्चामा छ । जेन जी आन्दोलनलाई खुला रूपमा समर्थन जनाउँदै आएका डा.रुइतको नाम स्वास्थ्य मन्त्रीको रुपमा सामाजिक सञ्जालमा चर्चामा आएको हो । उनले आन्दोलन भइरहेको बेला सामाजिक सञ्जाल मार्फत पटक–पटक जेनजीहरूलाई सम्बोधन गर्दै स्टाटस लेखिरहेका थिए ।  अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्त खोजिरहेको र अबको परिवर्तनबाट रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुने अपेक्षा रहेको बताउँदै जेनजी आन्दोलनमा समर्थन जनाएका थिए । नेपालका मात्र नभई विश्वका विभिन्न देशका दृष्टिविहीनलाई संसार देखाउँदै आएका डा. रुइतले अहिले पनि दृष्टिविहीनलाई कसरी संसार देखाउने भन्ने कार्यमा व्यस्त छन् । तीलगङ्गा आँखा अस्पताल सञ्चालनमा ल्याएका उनले लाखौं नागरिकको अन्धकार चिर्दै उज्यालो ज्योती दिइरहेका छन् ।  नेपालका ग्रामीण क्षेत्रमा पुगेर हजारौं नेपालीलाई संसार दिन सफल डा. रुइतको नाम मन्त्रीका लागि यतिबेला सामाजिक सञ्जालमा चर्चा छ ।  मन्त्रीमा उनको चर्चा आएसँगै विकासन्युजले उनलाई जिज्ञासा राख्दा उनले अहिले आफ्नो ध्यान बिरामीको उपचारमा रहेको सुनाए । ‘यो विषयमा अहिले कुरा नगर्दा होला, अहिले पनि म बिरामीको अप्रेसन गरिरहेको छु, बाहिर तपाईंले जे चर्चा सुन्नुभयो त्यो मलाई थाहा छैन, मलाई कसैले प्रस्ताव पनि गरेको छैन ।’ डा. भोला रिजाल स्त्रीरोग विषेशज्ञ डा. भोला रिजालको नाम पनि स्वास्थ्य मन्त्री बन्न सक्ने चर्चामा छ । नेपालमा प्रजनन स्वास्थ्य परिवार नियोजन, सुरक्षित मातृत्व लगायतका विषयमा लामो समयदेखि काम गर्दै आएका डा. रिजाल हाल ह्याम्स अस्पतालमा कार्यरत छन् । डा. रिजाललाई प्रत्यक्षरूपमा नभए पनि अप्रत्यक्ष रुपमा मन्त्रीको लागि प्रस्ताव आएको बुझिएको छ । तपाईं स्वास्थ्यमन्त्रीका लागि तयार हुनुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्, ‘देश अहिले संकटमा छ, यस्तो अवस्थामा हामी सबै मिलेर बनाउनुपर्छ ।’ यस्तै, उनले आफूलाई औपचारिक रुपमा प्रस्ताव नआएको बताए । ‘मलाई स्वास्थ्य मन्त्रीका लागि औपचारिक रूपमा प्रस्ताव आएको छैन । तर, बाहिर सबैले अब स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भनिरहनुभएको छ,’ डा. रिजाल भन्छन्, ‘यो जिम्मेवारी लिन देशले मलाई उचित ठान्यो भने म जिम्मेवारी लिन तयार छु, जहिले नेपालको स्वास्थ्य क्षेत्रको भलोका लागि लागिरहेको मान्छे हुँ, यो अवसर पाएँ भने पछाडि हट्दिनँ ।’  डा. पुकार श्रेष्ठ  केही दिनभित्रै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकबाट अवकाश हुन लागेका डा. पुकार श्रेष्ठको नाम पनि स्वास्थ्यमन्त्री बन्ने  चर्चामा रहेको  छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ वर्षमा १ हजार पाँच सय बढी मृगौला प्रत्यारोपण र ३५ जना भन्दा बढीको कलेजो प्रत्यारोपण गर्न सफल डा. पुकारको नाम पनि सामाजिक सञ्जालमा मन्त्रीको रुपमा चर्चामा आएको छ । उनीसँग भने विकासन्युजको सम्पर्क हुन सकेन ।  डा. भगवान कोइराला मुटुरोग विशषेज्ञ डा. भगवान कोइरालाको नाम पनि स्वास्थ्यमन्त्री बन्न सक्ने चर्चामा छ । हजारौं व्यक्तिको मुटु जोगाएर जीवन दिएका कोइरालालाई बिरामीले साँच्चिकै भगवानको रूपमा हेर्छन् ।  जन्मेदेखि नै बच्चाको मुटुमा समस्या बढ्दै गइरहेको अवस्थामा बालबालिकाको मुटु जोगाउने अभियानमा लागेका डा. कोइराला मन्त्रीका नाममा आएको आफ्नो नामका विषयमा कुनै प्रतिक्रिया दिन उचित नभएको बताउँछन् ।  ‘अबको मन्त्री को बन्नेभन्दा पनि देश कसरी बनाउने भन्नेतिर सबैले चर्चा गर्न जरुरी छ,’ उनी भन्छन्, ‘म आफ्नो काममा व्यस्त छु, देशलाई स्वास्थ्य क्षेत्रमा सम्वृद्ध बनाउनु छ, कसरी बनाउन सकिन्छ भन्नेतिर प्रयत्न छु, अरू थाहा छैन ।’ डा. जगद‍ीशप्रसाद अग्रवाल नेपालको चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि काम गर्दै व्यक्ति हुन् प्रा.डा जगदीश अग्रवाल । न्युरोलोजिष्ट समेत रहेका प्रा. डा. अग्रवाल त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडिन हुन् । अब बन्ने स्वास्थ्यमन्त्रीको रूपमा उनको नाम पनि चर्चाका छ ।  मन्त्री बन्ने चर्चामा रहेका डा. अग्रवाल भने आफू मन्त्रीका लागि तयार नरहेको बताउँछन् । ‘नाम आउनु स्वाभाविक हो । तर म यसमा तयार छैन,’ उनी भन्छन्, ‘म चिकित्सा क्षेत्रको शिक्षालाई कसरी गुणस्तर बनाउने भन्नेमा छु, यहाँ शिक्षामा प्रश्न उठिरहेको छ यो क्षेत्रमा अझ धेरै काम गर्न जरुरी छ, मेरै क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् म यसैमा व्यस्त छु ।’  उनी आफू मन्त्रीका लागि तयार नभए पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै कामका लागि तयार रहेको बताउँछन् ।  स्वास्थ्य मन्त्रीका लागि डा. गोविन्द केसी र डा.अर्जुन कार्की लगायतको नाम पनि अहिले चर्चामा छ । अनलाइन भोटिङमार्फत मन्त्री चयन  जेनजीहरूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई समर्थन गरेजस्तै अब बन्ने मन्त्रीहरूलाई पनि सबैको समर्थनमा नियुक्त गर्नुपर्ने बताइरहेका छन् । यसमा सर्वसाधारणबाटै मन्त्रीको नाम माग्ने र उनीहरूको विज्ञता, पृष्ठभूमिको अध्ययन गरिनेछ ।  जेनजीहरूले कुनै पनि दलमा आवद्ध नभएको, देश बनाउने सपना भएको र विषय विज्ञता भएको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् । उनीहरूले नागरिकले रोजेका नामहरूलाई अनलाइन भोटिङ गर्ने र जसले सबैभन्दा बढी मत पाउँछ, उसैलाई मन्त्रीको रुपमा स्वीकार्ने बताएका छन् ।  ‘सरकारी संयन्त्र बुझेको व्यक्ति स्वास्थ्य मन्त्री हुनुपर्छ’ विज्ञहरू कुनै पनि मन्त्री विषय विज्ञता भन्दा सरकारी संयन्त्र बुझेको हुनुपर्ने बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी अब बन्ने स्वास्थ्यमन्त्री व्यवस्थापनमा राम्रो दख्खल भएको, नीति नियम र ऐन बुझेको हुनुपर्ने बताउँछन् ।  अहिले स्वास्थ्य मन्त्रालयमा समस्याका चाङ रहेको बताउँदै उनी यो समस्यालाई समाधान गर्नसक्ने गरी स्वास्थ्यका विषयमात्र नभई सरकारी संयन्त्रमा कसरी काम हुन्छ भन्ने बुझेको  व्यक्ति  मन्त्री बन्न आवश्यक रहेको बताउँछन् ।  ‘स्वास्थ्य मन्त्रालय समस्याका चाङले गिजोलिएको छ, यो क्षेत्रको नेतृत्व गर्नेले थुप्रै चुनौती खेप्नुपर्छ,’ डा. मरासिनी भन्छन्, ‘मन्त्रालय जलेर खरानी बाँकी छ, मन्त्रालय बनाउनुपर्ने छ, स्वास्थ्यका थुप्रै फाइलहरू थन्किएर बसेका छन्, ती फाइल अगाडि बढाउनु छ, यस्ता थुप्रै काम अबको स्वास्थ्यमन्त्रीले गर्नुर्ने हुँदा यी विषय बुझ्न सकेको व्यक्ति भए छिटो र सजिलो हुन सक्छ ।’ डा. मरासिनी अब बन्ने स्वास्थ्यमन्त्री यी समस्या समाधान गर्नसक्ने हुनुपर्ने सुझाव दिन्छन् । ‘अगाडिका मन्त्रीले सचिवले मन पर्ने काम हो भने गरेका छन्, मन नपरेका काम अहिले पनि थुपारी राखेका छन्, गर्नुपर्ने धेरै काम भएकाले मन्त्रालय अहिले अप्ठ्यारो अवस्थामा छ,’ उनले भने । नेपाली स्वास्थ्य क्षेत्रलाई मलेरिया, कालाजार हात्तीपाइले जस्ता रोगहरू निर्मूल गर्नुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतिर स्वास्थ्य क्षेत्रमा घटिरहेको वैदेशिक सहायतालाई बढाउनु पर्ने चुनौती रहेको विज्ञहरू बताउँछन् ।  नेपालले सन् २०३० सम्म गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नुपर्ने थुप्रै जिम्मा पनि स्वास्थ्य मन्त्रालयलाई छ भने संयुक्त राष्ट्रसंघले घोषणा गरेका, डब्लूएचओले भनेका थुप्रै काम समयमै गरिसक्नुपर्ने ठूलो जिम्मेवारी छ । डा. मरासिनी यस्ता काम समयमै गर्न नसके अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश जानुका साथै थप अन्तर्राष्ट्रिय स्तरबाट पाउने स्रोत झन घट्न सक्ने बताउँछन् ।  स्वास्थ्य बीमाका विषयमा पनि थुप्रै काम गर्न बाँकी रहेकाले बीमा, वैदेशिक सहायता र अन्तर्राष्ट्रिय मञ्चमा गरेका बाचा पूरा गर्ने व्यक्ति अबको स्वास्थ्यमन्त्री बन्नुपर्ने विज्ञहरूको सल्लाह छ ।  नेपालमा स्वास्थ्य क्षेत्रमा राम्रो ज्ञान नभएको व्यक्ति नै मन्त्री हुँदा समस्या हुने गरेको छ । ‘हाम्रा मन्त्रीहरूले सरकारी संयन्त्र बुझेनन्, सरकारमा कसरी काम हुन्छ भन्ने बुझ्न नै समय लाग्छ, जब बुझेर काम सुरु गर्न खोज्छन्, बुझिसक्दासम्म बाहिरनुपर्ने बेला भइसक्छ,’ डा. मरासिनीले भने  ।