कक्षा ८ को परीक्षामा अधिकांश विद्यालय निल, किन खस्कियो पढाइ ?
काठमाडौं । देशकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँचीको शितगंगा नगरपालिकाभित्र रहेका २९ विद्यालयका ५८३ विद्यार्थमध्ये १०५ जना अर्थात् १८.०१ प्रतिशत विद्यार्थी मात्र कक्षा ८ मा पास भए । यो नतिजाले विद्यालय तहको पढाइ र गुणस्तर छताछुल्ल भएको छ । अझ डरलाग्दो अवस्था त के भने पालिका भित्रका चार विद्यालयका एकजना विद्यार्थी पनि कक्षा ८ को परीक्षामा पास हुने सकेनन् । यसरी शून्य नतिजा ल्याउनेमा वडा नम्बर १ मा रहेको महेन्द्र मावि सुवर्णखाल, वडा नम्बर ११ मा रहेको धर्मोदय मावि सिद्धारा, वडा नम्बर १२ मा रहेको शान्ति आधारभूत विद्यालय टिकरी र वडा नम्बर १४ मा रहेको पार्वती आधारभूत सिमलपानी रहेका छन् । महेन्द्र मावि सुवर्णखालका ९ जना विद्यार्थीले परीक्षा दिएकोमा सबैजना फेल भएका छन् भने धर्मोदय मावि सिद्धाराका १४ जना विद्यार्थी सबै फेल भए । यस्तै, शान्ति आधारभूतका ७ जना र पार्वती आधारभूत सिमलपानीका ९ जना विद्यार्थी सबै फेल भएका छन् । यस्तै, पालिकाका विभिन्न वडामा रहेका पाँचवटा विद्यालयमा एक, एकजना विद्यार्थीमात्रै पास भएका छन् भने चार वटा विद्यालयमा २/२ जना विद्यार्थी मात्र पास भएका छन् । यो नतिजाले विद्यालय तहको पढाइ, सिकाइ र गुणस्तरमाथि प्रश्न उठाएको छ । नतिजा सार्वजनिकपछि पालिकाको शिक्षा विभागले विद्यार्थीको सिकाइको वास्तविकता बाहिर आएको प्रतिक्रिया दिएको छ । शीतगंगा नगरपालिका सहायक शिक्षा अधिकृत रामकुमार सिञ्जालीले यो नतिजाले विद्यार्थीहरूको वास्तविकता उजागर गरेको जानकारी दिए । कोरोना संक्रमणपछि बिग्रँदै गएको विद्यालय तहको सिकाइको गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको अवस्थामा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत शिक्षा समितिका व्यक्तिको निर्णयमा परीक्षा गरिएको थियो । ‘शिक्षाको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने उद्देश्यले परीक्षा सञ्चालन गरिएको थियो,’ सिञ्जालीले भने, ‘अहिलेको नतिजाले वास्तविकता देखाएको छ । विद्यालय आफैंमा संस्था हो, विभिन्न विषयमा शिक्षक हुन्छन् । पढाइलाई कसरी कुन तरिकाले अगाडि बढाउने भन्ने योजना बनाएका हुन्छन् । पालिकाको काम त्यसलाई सहजीकरण गरिदिने हो । अब नतिजाले कसरी विद्यालय शिक्षा सुधार्ने भन्ने गम्भीर प्रश्न देखाएको छ, हामी यो विषयमा छलफल गर्छौं ।’ व्यापक समीक्षा गरेर सुधारमा लाग्ने योजना पालिकाको छ । यसका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्ने योजना रहेको उनले जानकारी दिए । ९० विद्यार्थीमा १२ जना पास समस्या कुनै एक वा दुई पालिकामा मात्र छैन । प्रायः देशैभरिको कक्षा ८ को नतिजाले विद्यालय शिक्षाको गुणस्तर कति कमजोर छ भन्ने प्रस्ट देखिएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ६ वटा विद्यालयका १२ जना विद्यार्थीमात्रै ९ कक्षा भर्ना हुन योग्य भएका छन् । जबकि परीक्षामा ९० जना विद्यार्थी सहभागी थिए । पालिकाले त्यहाँका १३.३ प्रतिशत विद्यार्थीमात्र विद्यार्थी पास भएको जनाएको छ । एउटा विद्यालयमा एक जना विद्यार्थी पनि पास हुन सकेनन् । पालिकाको वडा नम्बर ५ मा रहेको बुडाकुञ्जा आधारभूत विद्यालयका १० जना विद्यार्थीमध्ये एक जना विद्यार्थी पनि कक्षा ८ मा पास हुन नसकेको पालिकाले जनाएको छ । पालिकाको वडा नम्बर ३ मा रहेको हिमगङ्गा माविमा भने एकजना विद्यार्थी पास भएका छन् । परीक्षा दिएका १८ जना विद्यार्थीमध्ये एक जना विद्यार्थीमात्र माथिल्लो कक्षा चढ्न सफल भएका छन् । यस्तै, वडा नम्बर ५ मा रहेको चन्द्रज्योति माविका २३ जना विद्यार्थीले परीक्षा लिएकोमा २ जना मात्र पास भएका छन् । बाँकी अन्य विद्यालयबाट पनि तीन/तीन जना विद्यार्थी पास भएका छन् । लिखुपिके गाउँपालिकाका शिक्षा अधिकृत लछुमण विक पालिकामा रहेका तीन वटा माविमा दुई वटा प्रस्तावित र आधारभूत विद्यालय पनि सबै प्रस्तावित मात्र हुँदाको समस्या भएको बताउँछन् । ‘राज्यले प्रस्तावित भनेर चलाइरहने, दरबन्दी पनि नदिने अनि तल्लो तहको शिक्षकले माथिल्लो तहसम्म पढाउनुपर्ने अनि शिक्षक समायोजन गर्न नसक्ने अवस्थाको परिणाम हो यो,’ उनले भने । यो पालिकामा भौगोलिक समस्या पनि उस्तै छ । विक विभिन्न समस्याका बावजुत शिक्षा दिइरहनुपर्ने र लिइरहनुपर्ने वास्तविकता यो नतिजाले देखाएको बताउँछन् । उनी भन्छन्, ‘केही पालिकाले राम्रो नतिजा देखाउन पनि विद्यार्थी पास गर्ने गरेको पाइन्छ । तर, हामीले ०.५ नम्बर पनि नथपेर वास्तविकता देखाएका छौं । सुधार्ने उद्देश्यले यस्तो नतिजा आएको हो ।’ राज्यले विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएको छ । आफ्नो क्षेत्रभित्रका शिक्षा कसरी सुधार्ने, राम्रो कसरी बनाउने भन्ने विषयमा पालिकाले ध्यान दिनुपर्ने हुन्छ । तर, विक राज्यले दिएको यो अधिकारलाई हतियारै नदिएर युद्धमा पठाएजस्तो भएको बताउँछन् । राज्यले अधिकार दिने तर दरबन्दी नदिने हुँदा विद्यालयमा निकै समस्या हुने गरेको उनले गुनासो पोखे । शिक्षक अभावमा कतिपय विद्यालयले नेपाली पढाउने शिक्षकलाई गणित र विज्ञानजस्ता विषय पढाउन लगाउँदा राम्रो नतिजाको अपेक्षा गर्न नसकिने जानकारी दिए । विक यस्तो नतिजा आउनु पछाडिको अर्को कारण अहिलेका शिक्षकहरू समयअनुसार परिवर्तन हुन नसक्नु रहेको पनि औंल्याउँछन् । ५५८ विद्यार्थी मध्ये १०४ जना पास अछामको मेल्लेख गाउँपालिका भित्रका ५५८ विद्यार्थीमध्ये १०४ जना विद्यार्थीमात्र कक्षा ९ मा भर्ना हुन योग्य बनेका छन् । पालिकामा रहेका १५ विद्यालयका अधिकांश विद्यार्थी फेल हुँदा पालिकाभित्र रहेका शिक्षकको आलोचना भइरहेको छ । पालिका भित्रका धेरैजसो नागरिकले सामाजिक सञ्जाल फेसबुक मार्फत नतिजा सार्वजनिक गर्दै शिक्षकको गुणस्तरमाथि नै प्रश्न गरिरहेका छन् । १५ विद्यालयमध्ये वडा नम्बर ४ मा रहेको सरस्वती आधारभूत विद्यालय राँफामा एक जना विद्यार्थीमात्र माथिल्लो कक्षा पढ्न योग्य बनेका छन् । जहाँ अध्ययनरत २१ विद्यार्थी परीक्षामा सहभागी हुँदा मात्र एक जना विद्यार्थी माथिल्लो कक्षा पढ्न योग्य बनेका हुन् । यस्तै, बासुकी माविमा ३५ जना विद्यार्थीमध्ये एक जना पास भएका छन् । यस्तै, जानकी आधारभूत विद्यालयका २८ विद्यार्थीले परीक्षा दिएकोमा ३ जना, जनता मावि ८० जना विद्यार्थीमध्ये तीन जना, पीपलचौर सामुदायिक विद्यालय २८ विद्यार्थीमध्ये ४ जना, मालिका आधारभूत विद्यालयमा २० जनामध्ये ४ जना र कालिका माविमा ३६ विद्यार्थीमध्ये ४ जना विद्यार्थीमात्र पास भएका छन् । सरस्वती आधारभूत विद्यालय राँफाका प्रधानाध्यापक मनोज साउँद नतिजा सुधार्ने योजना बनाइ कार्यान्वयन गर्दा समेत नतिजा राम्रो ल्याउन नसकेको भन्दै यसको सबै दोष स्वीकार्छन् । अघिल्लो वर्षको नतिजाले लज्जित भएको अवस्थामा यो वर्ष नतिजा सुधार्न विद्यालयकै लगानीमा मंसिर महिनादेखि शिक्षक, विद्यार्थीलाई विद्यालयमै बस्नखान मिल्नेगरी व्यवस्था गरेर थप कोचिङको पनि व्यवस्था गरिएको जानकारी दिए । तर, अहिलेको नतिजाले यो-यो गरेका थियौं भन्न मिल्ने अवस्था नआएको उनको भनाइ छ । उनी भन्छन्, ‘जे-जस्तो भए पनि विद्यार्थी फेल भइसके, कमजोरी भइहाल्यो यो जिम्मेवारीबाट हट्न मिल्दैन । अब थप कसरी सुधार्ने भन्ने विषयमा सबैसँग बसेर छलफल गर्ने योजनामा छु ।’ प्रधानाध्यापक साउँदका अनुसार अघिल्लो वर्ष गणित र अंग्रेजीमा विद्यार्थी निकै कमजोर देखिएका थिए । त्यो कमजोरीलाई मध्यनजर गर्दै विद्यालयले यी विषयमा ध्यान दिएको थियो । परिणामस्वरूप ७० प्रतिशत विद्यार्थीको नतिजा यो वर्ष गणित र अंग्रेजीमा राम्रो देखियो । कक्षा ८ को परीक्षाको नतिजा देशभरिका पालिकाले धमाधम सार्वजनिक गरिरहेका छन् । तर अधिकांश पालिकाको नतिजा निकै कमजोर देखिएको छ । देशैभरिको तथ्यांक भने तत्काल पाउन सकिने अवस्था छैन । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यो परीक्षाको सबै जिम्मा स्थानीय सरकारलाई हुने भएकाले तत्काल तथ्यांक उपलब्ध गर्न सकिने अवस्था छैन । विकास केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुली कक्षा ८ मा कति विद्यार्थी पास भए, कति फेल भए भन्ने तथ्यांक बैशाखपछि मात्र उपलब्ध गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘अहिले सबै अधिकार पालिकालाई छ । कतिपय पालिकाले नतिजा नै निकाल्न सकेका छैनन्, यस्तो अवस्थामा तत्काल के कति भन्ने संख्या उपलब्ध गराउन मुस्किल छ ।’ अभिभावक र विद्यार्थी पनि दोषी शिक्षा सम्बन्धी सरोकार राख्नेहरू भने यो नतिजाको मुख्य दोषी शिक्षकहरू भएको बताउँछन् । पुरातनवादी शिक्षण प्रवृत्तिले अब काम नगर्ने उनीहरूको भनाइ छ । शिक्षविद् विद्यानाथ कोइराला अभिभावक, विद्यार्थी राज्य यो विषयमा चुकिरहेको अवस्थामा सबैभन्दा ठूलो कमजोरी शिक्षकहरूको रहेको बताउँछन् । ‘राज्यले एकातिर विद्यार्थी फेल नगर्ने नीति ल्याउने, अर्कोतिर विद्यार्थीको मनोदशा यस्तो छ,’ उनी भन्छन्, ‘यसमा राज्य शिक्षक अभिभावक सबैको दोष उत्तिकै देखिन्छ । तर, शिक्षकहरू भने अभिभावक र विद्यार्थीका कारण परीक्षाको नतिजा यति कमजोर आएको बताउँछन् । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मनोज साउँद आफ्नो विद्यायमा कक्षा ७ मा रहेका आधाभन्दा बढी विद्यार्थीको उपस्थिति ७० प्रतिशतभन्दा कम रहेको बताउँछन् । सरस्वती आधारभूतमा कक्षा ८ मा विद्यार्थी २३ जना विद्यार्थी भर्ना भएका थिए । तीमध्ये एक जनाको बिहे भयो भने अर्का एक जना भारत गए । २१ जना विद्यार्थी बाँकी रहे । तीमध्ये आधा बढी विद्यार्थी विद्यालयमा हाजिर नै भएनन् । यो विषयमा विद्यालयले समयसमयमा अभिभावक भेला आयोजना गर्यो । तर धेरै विद्यार्थीका अभिभावक घरमा भेटिएनन् । ‘अधिकांश विद्यार्थीका आमाबुबा सबै भारत छन्, छोराछोरीलाई हातमा मोबाइल दिएका छन्, यता छोराछोरीको ध्यान पढाइभन्दा बढी मोबाइलमा हुन्छ । यस्तो अवस्थामा कसरी विद्यार्थीले राम्रो पढ्छन् अनि विद्यालयले राम्रो नतिजा ल्याउन सक्छ ?,’ साउँदले भने । अभिभावक पनि छोराछोरीको पढाइप्रति जिम्मेवार नहुँदा पनि समस्या भएको शिक्षकहरू बताउँछन् ।
कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?
काठमाडौं । विद्यार्थीलाई कोरिया पठाउने नाममा आवश्यक शुल्कभन्दा बढी रकम लिने कन्सलटेन्सीविरुद्ध विद्यार्थीले उजुरी दिएका छन् । कोरियास्थित नेपाली राजदूतावास मार्फत विद्यार्थीले आफूहरूलाई कोरिया पठाउने कन्सल्टेन्सीविरुद्ध उजुरी दिएका हुन् । राजदूतावासमार्फत ४ सय ४५ विद्यार्थीले दिएको उजुरी परराष्ट्र मन्त्रालय मार्फत शिक्षा मन्त्रालयमा पुगेपछि मन्त्रालयले आवश्यक छलफल गरिरहेको जानकारी दिएको छ । शिक्षा मन्त्रालयका उपसचिव सेमन्त कोइरालाका अनुसार कन्सल्टेन्सीका पदाधिकारीलाई बोलाई आवश्यक छानबिन गर्ने काम भइरहेको छ । उजुरी परेका मध्ये १४ वटा कन्सलटेन्सी शिक्षा मन्त्रालय अन्तर्गत दर्ता रहेका र बाँकी विभिन्न प्रदेशमा दर्ता भई सञ्चालनमा आएको पाइएको कोइरालाले बताए । यी हुन् उजुरी परेका कन्सल्टेन्सी कोरिया पुगेका विद्यार्थीले दिएको उजुरी अनुसार नेपालमा रहेका करिब ७९ कन्सल्टेन्सीको नाम उल्लेख छ । कोरियामा पुगेर विभिन्न विश्वविद्यालयमा अध्ययनरत ४ सय ४५ जना विद्यार्थीले ७९ कन्सल्टेन्सीले आफूहरू मार्फत विभिन्न शीर्षकमा लाग्ने भन्दा बढी शुल्क लिएको भन्दै उजुरी दिएका हुन् । उनीहरूले आवश्यक लागतभन्दा १० लाखसम्म बढी शुल्क लिएको उल्लेख गरेका छन् । उनीहरुले पुतली सडकमा रहेको एव्रोडहव, जिनियस कन्सलटेन्सी, गुडलाइक, इनोभा, आया एजुकेसन, स्टडी हब, युनिभा, बागबजारमा रहेको एड्भान्स, ब्ल्युवाटर, ब्राइट बेब, कन्क्वेस्ट, एडुनेस्ट, एकता, इङिलसेरर्स, भ्रेष्ट, एभ्रेष्ट लिंक, एक्स्ट्रा सोलुसन, फिस्टेल, फ्युचर पाठवे, ग्लोबल कनेक्ट, ग्लोबल स्टार, ग्लोबल स्टार एकेडेमी, ग्लोबल एमिनेन्ट, आइ ग्लोबल, केबी एजुकेशन, खुसी, खुसी बिजीइसी र खुसी एकता विरुद्ध उजुरी दिएका छन् । यस्तै, लेकहेड, लासो, लक्ष्मी कन्सलटेन्सी, लिड नटवर्क, मास्टर सोलुसन, माइक्रोसफ्ट, एनएसईआर मल्टि कन्सल्ट,एसनसिइआर, ओरियन्ट, रेभुलेसन एजुकेशन, एसवाइ कन्सलटेन्सी, एसडी, एसडीमेरिकल, सिजल, सेल्भर, सम्राट स्टडी, एसवाइ, एसवाई कन्सलटेन्सीले विद्यार्थीबाट बढी रकम असुल गरेको उजुरी परेको छ । यस्तै, बौद्धको सफल एजुकेशन, जोरपाटीमा रहेको जोयुन, चावहिलमा रहेको न्युटन, सम्राट, स्टेपवान, पाथिभरा, ओवाइईए एजुकेश्नल, शंखमुलमा रहेको नेक्सस कन्सलटेन्सी, चितवन ग्लोबल एमिनेन्ट डिल्लीबजारमा रहेको प्युचर पाठ, प्युचर पाठववे, आइएमआइसी, लेकहेड, लेकहेड एजुकेशन, सिलिकन कन्सलटेन्सीमाथि पनि विद्यार्थीले ठगी गरेको आरोप लगाएका छन् । सोह्रखुट्टेमा रहेको लिड कन्सलटेन्सी, लिड एजुकेशन,ठूलोभर्याङमा रहेको प्रुभ, प्रुभ एजुकेशन, दाङमा रहेको एड्भान्स एकेडेमी, एड्भान्स एकेडेमी, बागबजारमा रहेको बीजीइसी, उर्लावारीमा रहेको बिन्दा एजुकेशन, मोरङको प्रान्सा, कपिलबस्तुमा रहेको ब्राइट लुम्बिनी, काठमाडौं चक्रपथमा रहेको ब्राइट माइण्ड, कुमारीपाटीमा रहेको बृहस्पती, बालाजुमा रहेको क्याम्ब्रीज, इटहरीमा रहेको सेल्टा, बनेपामा रहेको डिस्कोभरी, सक्सेस एव्रोड स्टडी, सक्सेस बिसीएसी, स्काइवे, क्रिप्टन फ्युचरमाइन्ड्स, नयाँबानेश्वरमा रहेको एकता, ओलिभिया, जीबीएस,ग्लोबल अपरच्युनिटी बानेश्वरमा रहेको एकता ग्लोबल, दमौलीमा रहेको इरुट, एनसिएस, दमकमा रहेको फुजिसियन,पोखरामा रहेको ग्लोबल आइ,इटहरीमा रहेको प्रेस्टीजेस,स्टेपवान कन्सलटेन्सीले विद्यार्थीबाट आवश्यकभन्दा बढी रकम लिइएको भन्दै उजुरी परेको छ । एउटै कन्सलटेन्सीले विद्यार्थी मार्फत फरक-फरक शुल्क लिएको पाइएपछि विद्यार्थीले आफूहरू आर्थिक ठगीमा परेको महसुस गरेको उजुरीमा उल्लेख गरेका छन् । पौने एक अर्ब ठगी शिक्षा मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार विभिन्न कन्सल्टेन्सीले पौने एक अर्ब रुपैयाँ ठगी गरेको आरोप छ । विभिन्न कन्सलटेन्सीले विद्यार्थीबाट ७५ करोड ४१ लाख रकम ठगी गरेको पाइएको उजुरीमा उल्लेख छ । विद्यार्थी भिसा डी २ र डी ४ मा गएका विद्यार्थीबाट कन्सल्टेन्सीले मनलाग्दी रकम लिएको विद्यार्थीले उजुरीमा उल्लेख गरेका छन् । तीन वर्षदेखि कोरियामा अध्ययन गरिरहेका बझाङका भोजराज भट्टले नेपाली कन्सल्टेन्सीले कल्पना गरेभन्दा बढी पैसा विद्यार्थीबाट लुटिरहेको बताए । उनले आफूले यो विषयमा कुरा उठाउँदा कन्सल्टेन्सी सञ्चालकबाटै धम्की आउने गरेको बताए । उनले आफूले विद्यार्थी नेपालको कन्सल्टेन्सीबाटै ठगिएको आवाज बारम्बार उठाउँदा पनि राजदूतावासले समेत वेवास्ता गरेको सुनाए । ‘हामीले पटक पटक दबाब दिँदा अहिले बल्ल उजुरी संकलन गरी यहाँको दुतावासले नेपाल पठाएको भन्ने कुरा थाहा पायौं, अब कारबाही के कस्तो हुन्छ त्यसको प्रतीक्षामा हामी छौं,’ भट्टले भने । कोरियामा हाल स्नातकतहमा अध्ययनरत एक छात्रा आफूलाई बागबजारमा रहेको कन्सल्टेन्सीले आवश्यक भन्दा ८ लाख बढी शुल्क लिएको दाबी गरेकी छन् । उनले कन्सल्टेन्सीले आफूबाट विभिन्न नाममा लिएको शुल्क सप्रमाण रहेकाले ठगिएको बताउँछिन् । कोरियाबाट विकासन्युजसँग कुरा गर्दै ती छात्राले पहिले १ देखि १२ लाखसम्ममा कोरिया पढाउने भने पनि बिचमा एजेन्ट शुल्क र भिसा कार्डका नाममा चाहिने भन्दा बढी शुल्क लिएर ठगी गर्ने गरेको बताइन् ।
अब विद्यार्थीले वर्षभर ८६ दिनमात्रै पढ्न पाउने, आइतबारको बिदाले पढाइ प्रभावित हुने
काठमाडौं । सरकारले विद्यालयमा पनि थप आइतबार बिदा दिने निर्णय गरेसँगै अब विद्यालयमा ८६ दिनमात्र पठनपाठन हुने भएको छ । विभिन्न बिदाको समय काटेर १ सय ८० दिनमा पठाइसक्नुपर्ने पाठ्यक्रम अब ८६ दिनमा सक्नुपर्ने दबाब सामुदायिक विद्यालयमाथि थपिएको छ । वर्षभरी हुने सार्वजनिक बिदाको समय बाहेक २ सय ५ दिनमा सामुदायिक विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम पठाइसक्नुपर्ने हुन्छ । तर, सरकारले दिने अनावश्यक बिदाले पाठ्यक्रम पढाइ सक्न विद्यालयलाई चुनौती थियो । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले थप आइतबार बिदा दिने निर्णयले ५२ दिन थप बिदा हुँदा ३ सय ६५ दिनमा जम्मा विद्यालय पढाई हुने दिन ८६ मात्र हुन्छ । यसले सामुदायिक विद्यालयको पढाइ र गुणस्तरमाथि थप दबाब पर्ने शिक्षकहरू बताउँछन् । एक वर्षमा ३ सय ६५ दिन हुन्छन् । जसमा एक वर्षमा शनिबार बिदा ५२ दिन हुन्छ भने थप आइतबार बिदा हुँदा १ सय ४ दिन शनिबार र आइतबार बिदा हुन्छ । यस्तै अन्य सार्वजनिक ४२ दिन, दशैं बिदा ८ दिन गरी ५० दिन बिदा हुन्छ । प्रदेशमा सार्वजनिक बिदा ६ दिन, वर्षे बिदा ४५ दिन, स्थानीय बिदा ५ दिन, परीक्षा तयारी बिदा ३ दिन हुँदा ३ सय ६५ दिनमध्ये २ सय १३ दिनमा बिद्यालयको बिदामात्र हुन्छ । यि बिदा कटाएर हेर्दा वर्षमा १ सय ५२ दिनमात्र विद्यालय खुल्छ । यस्तै, विद्यालयले लिने तीन पटक परीक्षाको २१ दिन बिदा दिन्छ भने १५ दिन भर्ना अभियान, नतिजा तयारीमा १५ दिन सरस्वती पूजा, तयारी र विसर्जनमा ३ दिन पठनपाठन हुँदैन । यो हिसाब गर्ने हो भने ९८ दिनमात्र बाँकी हुन्छ । यो ९८ दिनमा पनि शिक्षकहरूले वर्षभरी १२ दिन क्यावी बिदा लिंदा विद्यालय पढाइ हुने दिन ८६ दिन बाँकी रहन्छ । सरकारले विकल्प दिनुपर्छ कलंकीको बाफलमा रहेको ज्ञानोदय माविका प्रधानाध्यापक विष्णु घिमिरे रिमाल सरकारले विद्यालयमा आइतबार थप बिदा दिने गरेको यो निर्णयले चुनौती थपिएको बताउँछिन् । उनी यो बिदाले विद्यार्थीको पढाइमा कति प्रभाव पर्छ भन्ने विषयमा पाठ्यक्रम र सरकारसँग कत्तिको समन्वय छ भन्ने कुरामा भर पर्ने बताउँछिन् । ‘शुक्रबार पनि हाम्रो पाठ्यक्रम पढाइ हुँदैन, बुक फ्रि फ्राइडे हुन्छ त्यसैमाथि आइतबार थप बिदा हुने हो भने, पढाइमा ठूलो असर पर्छ,’ उनी भन्छिन् । उनी यसको लागि पाठ्यक्रम नै फेरबदल गर्नुपर्ने बताउँछिन् । सरकारले यसको विकल्प बिनानै बिदा थपेको हो भने पाठ्यक्रमले तोकेको उद्देश्य पुरा गर्न गाह्रो हुने उनको भनाइ छ । शिक्षकहरू विद्यालयमा पढाइ हुने समय कम हुँदा विद्यालयको नतिजा नै बिग्रने हो कि भन्ने तनावमा छन् । कालिमाटीको निलबराही माविका प्रधानाध्याप जानुका नेपाल ५२ दिनको थप बिदाले पाठ्यक्रमले निर्दिष्ट गरेका कार्य पुरा हुन समस्या हुने बताउँछिन् । ‘एक त अन्य बिदाको दिन नै धेरै छ, अहिले शैक्षिकसत्र नै १५ गतेबाट भन्ने कुरा आएको छ यसैमाथि थप आइतबार पनि बिदा दिँदा विद्यालय शिक्षामा विद्यार्थीलाई दिनुपर्ने शिक्षा दिन सकिँदैन की भन्ने लाग्छ,’ नेपालले भनिन् । उनी यसका लागि पाठ्यक्रम नै परिवर्तन गर्न आवश्यक रहेको तर्क गर्छिन् । ‘विद्यालयमा बिदा दिनु उचित कि अनुचित भन्ने कुरामा दुइटा कुरा छ,’ उनी थप्छिन्, अन्य निजामती कर्मचारीलाई आइतबार पनि बिदा दिँदा हामीलाई किन दिइएन भन्ने शिक्षकलाई पनि लाग्न सक्छ, बिदा दिँदा पाठ्यक्रम अनुसारका कार्यक्रम पुरा गर्न सकिँदैन । गुल्मीको हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारी विदेशको अभ्यास अनुसार विद्यार्थीलाई पनि बढी प्रेसर नदिने, लोड नदिने भन्ने हिसाबले राम्रो भएको तर यसो गर्दा हाम्रो पाठ्यक्रम र पढाउने दिन कम हुने बताउँछन् । नेपालमा धेरै बिदा छन्, शिक्षकका पनि बिदा छन्, यसो हुँदा पढाउने दिन कम हुँदा समस्या हुने बताउँछन् । उनी पनि पाठ्यभारलाई कम गराउँदामात्र आइतबारको बिदा थप्न उचित हुने बताउँछन् । ‘सरकारले या अन्य सार्वजनिक बिदा घटाउनुपर्छ, या पाठ्भार कम गराउनुपर्छ कुनै बिकल्पबिना बिदामात्र दिने हो भने राम्रो गर्दैन,’भण्डारीले भने । उनी भन्छन्, ‘अझै पनि विद्यार्थी गणित, विज्ञान, अंग्रेजीमा कमजोर हुँदा थप कोचिङ कक्षा पढाउनुपर्ने अवस्था छ, यस्तो अवस्थामा सरकारले कोचिङ कक्षा पनि बन्द गर्ने, आइतबार पनि बिदा दिने हो भने परिणाम अझ डरलाग्दो हुन्छ ।’ अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी बिदाको सयम थप्नु नथप्नुभन्दा विद्यार्थी पढाउने स्वायत्तता विद्यालयलाई छोडिदिनुपर्ने बताउँछन् । उनी अन्य दिन जे जति बिदा दिए पनि १ सय ८० दिन अनिवार्य विद्यालयले विद्यार्थीलाई पढाएको हुनुपर्ने बताउँछन् । ‘यो १ सय ८० दिन कसरी पुर्याउने भन्ने विषयको निर्णय स्वयम् विद्यालयले गर्नुपर्छ, उनी भन्छन्,‘यसको मतलब विद्यार्थीलाई भार दिएर समय बढाएर पढाउने होइन, समय व्यवस्थापन गर्ने काम विद्यालयको हो, त्यो विद्यालयले गर्नुपर्छ ।’ उनी यो कुरामा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउँछन् । सरकारले शैक्षिकसत्र तोक्नु राम्रो हो तर कतिबेला पढाउने कुन बेला विदा दिने भन्ने अधिकार विद्यालयलाई छोडिदिनुपर्छ । उनी १ सय ८० दिन पढाइ भयो कि भएन भन्ने विषयमा चाहिँ सरकारले पनि निगरानी गर्नुपर्ने बताउँछन् । भण्डारी यो कुरामा कुनै कम्प्रमाइज गर्न नहुने बताउँछन् । शिक्षकलाई पढाउने कला पनि सिकाउनुपर्छ शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला बिदाको विषयलाई सकरात्मक, नकरात्मक दुवै ढंगले लिन सकिने बताउँछन् । सकारात्मक ढंगबाट लग्ने हो भने बच्चालाई शनिबार र आइतबार कसरी व्यस्त राख्ने भन्ने विषयमा सोच्नुपर्छ । यसका लागि सरकारले बिदाको दिन विद्यार्थीलाई कुनै गरिखाने सीप सिकाउनु पर्ने कोइरालको सुझाव छ । शनिबार एक दिन आमाबुवालाई छोराछोरी घरमा राख्न गाह्रो भइरहेको अवस्थामा थप अर्को दिनको बिदाले समस्या निम्त्याउने बताउँदै कोइराला बीदाको दिन केटाकेटीलाई व्यस्त गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । सरकारले आइतबार बिदा दिएर विद्यार्थी भुलाउने विकल्प दिन बिर्सेको बताउँदै बिकल्प बिनाको बिदाले बर्वाद हुने बताउँछन् । १ सय ८० दिनमा पढाइ सक्नुपर्ने पाठ्यक्रम ८६ दिनभित्र पढाउन कत्तिको सम्भव भन्ने प्रसंगमा कोइराला भन्छन्, ‘यो शिक्षणकलामा भर पर्ने विषय हो, पाठ्यक्रम सकिएन वा पुरा भएन भन्ने गुनासो वाइयात हो, यो शिक्षकहरूले कसरी पढाउँछन् भन्नेमा भर पर्छ ।’ उनी बिदाले पाठ्यक्रम सकिँदैन भन्ने मान्छेका लागि कसरी छिटो सक्काउने भन्ने कला सिकाउनुपर्ने बताउँछन् ।
ब्रिज कोर्स बन्द : राहत कि अवरोध ?
काठमाडौं । कैलालीको लम्कीका बिक्की क्षेत्री एसईई दिएर काठमाडौं आउने तयारीमा थिए । काठमाडौंमा बसेर अध्ययन गरिरहेका दाइसँग उनले एसईईपछि तयारी कक्षा लिन काठमाडौं आउने कुरा गरिसकेका थिए । एसईईपछि राम्रो जिपिए ल्याए विज्ञान विषय लिएर पढ्ने योजना अनुसार उनी तयारी कक्षाकै लागि काठमाडौं आउने योजनामा थिए । तर, सरकारले कक्षा १२ सम्म तयारी कक्षा सञ्चालनमा रोक लगाउने भनेपछि उनी दोधारमा परेका छन् । अछामको मेल्लेख गाउँपालिकाकी सविना खड्का चैत्र १० गते हुने एसईईको तयारीमा छिन् । विद्यालयमा विज्ञान गणित विषय पुरा पढ्न नपाएकी उनी एसईईपछि नर्सिङ पढ्ने तयारीमा छिन् । यसका लागि उनी परीक्षा सकिने वित्तिकै नर्सिङका लागि तयारी कक्षा लिन काठमाडौं आउने योजनामा थिइन् । सरकारले तयारी कक्षा नै बन्द गर्ने भनेपछि नर्सिङ पढ्ने सपना पुरा नहुने होकि भन्ने पिरमा छिन् । उनी भन्छिन्, ‘न विद्यालयमा विषय अनुसारका शिक्षक, न सबै विषय राम्रोसँग पढ्न पाइयो, एक महिनाको समयमा पनि कक्षा लिएर मिहिनेत गर्छु भन्ने सोचेकी थिएँ, त्यो पनि नहुने भयो, कसरी म नर्सिङ पढ्न सक्छु ।’ बाजुराको बुढीगङ्गा नगरपालिकाकी कोपिला थापा बहिनीलाई काठमाडौं ल्याएर पढाउन चाहन्छिन् । कक्षा १ देखि १० सम्म काम गर्दै पढेकी बहिनीको पढाइ राम्रो छ । अझ तयारी गरेर समय दिएर पढ्न पाउने हो भने उनी आफूले रोजेको विषयमा सजिलै नाम निकाल्न सक्छिन् । एमबीबीएस पढ्ने बहिनीको रुचि अनुसार उनी बहिनीलाई प्लसटु विज्ञान विषय लिएर पढाउने योजनामा छिन् । परीक्षापछिको समयमा काठमाडौंमै बोलाएर तयारी कक्षामा भर्ना गरिदिने उनको योजना सरकारको निर्णयले पुरा नहुने अवस्थामा पुग्यो । उनी अब कसरी बहिनीको पढाइमा सहयोग गर्ने भन्ने दोधारमा छिन् । सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका तयारी कक्षा तथा ‘ब्रिज कोर्स’ कार्यक्रम बन्द गर्ने निर्णय गरेपछि बिक्की, सलिना र कोपिला जस्ता धेरै विद्यार्थी अन्योलमा परेका छन् । विशेषगरी एकदेखि १० कक्षासम्म पढाइमा ध्यान नदिई एसईईपछि राम्रो विषय पढ्न लगाउने अभिभावक र पढ्न चाहने विद्यार्थीलाई सरकारको यो कदमले ठूलो धक्का पर्नेछ भने अर्कोतिर शिक्षा क्षेत्रमा नयाँ बहस सुरु भएको छ । सरकारी पक्षले यसलाई विद्यार्थीमाथि पर्ने अतिरिक्त दबाब कम गर्ने कदम भनेको छ भने ब्रिज कोर्स सञ्चालकहरूले भने यसले विद्यार्थीको शैक्षिक तयारीमा असर पर्ने बताएका छन् । सरकारले यो निर्णय किन गर्यो ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न तहका परीक्षा लक्षित सञ्चालन गरिँदै आएका ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाएको छ । यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामुलक पहुँचमा नकरात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ परेको भन्दै सरकारले ब्रिज कोर्समा रोक लगाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा ब्रिज कोर्सका नाममा आर्थिक विकृति भइरहेको भन्दै यसलाई रोक्न सरकारले यो निर्णय गरेको बताँछन् । विद्यार्थीलाई आकर्षक नारा दिएर तयारी गराउने भन्दै ठूलो रकम लिइरहेकाले यस्ता गतिविधि रोक्नु परेको मन्त्रालयले जनाएको छ । कक्षा कोठामै समेत विद्यालयमा नपढाउने र कोर्स पुरा गर्न भन्दै थप विद्यार्थीबाट पैसा असुल्न तयारी कक्षा सञ्चालन गर्ने गरेको पाइन्छ । सरकारीदेखि निजी विद्यालयले कक्षामै टिउसनका नाममा पैसा माग्ने गरेको पाइन्छ । काठमाडौं उपत्कामै हेर्ने हो भने बागबजारदेखि नयाँ बानेश्वरमा ब्रिज कोर्स सञ्चालन गर्ने थुप्रै इन्सिच्युटहरू छन् । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा ११ को भर्नाका लागि विभिन्न कोचिङ सेन्टरहरू, ब्रिज कोर्सहरूले विद्यार्थीलाई तानातान गर्ने भएकाले १० सकेर एसईई दिएर ११ को तयारीका लागि लिइने जुन ब्रिज कोर्स लिनेकाम तत्कालै रोक्ने निर्णय भएको बताए । सरकारसँग बैशाख १ गतेदेखि ब्रिज कक्षा सञ्चालनमा रोक लगाउने भने पनि विद्यार्थीहरू लक्षित यस्ता कक्षा सञ्चालन गर्ने संस्थाहरू कति छन् भन्ने एकिन तथ्यांक छैन । काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरहरू यस्ता संस्था सञ्चालनमा भए पनि तथ्यांक नहुनुले कत्तिको कार्यान्वयन हुन्छ भन्ने स्पष्ट देखिँदैन । तर, सरकारमा दर्ता भएका शैक्षिक परामर्शदता संस्थाहरू भने करिब ८ सय हाराहारी रहेको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यार्थीलाई नै समस्या सरकारको यो निर्णयले विद्यार्थीलाई नै समस्या हुने विद्यार्थीहरू बताउँछन् । उनीहरू खाली समयमा आफूले नजानेको कुरा सिक्न पाउने र आफूले पढ्न चाहेको विषयमा थप बुझ्न चाहने अवसरबाट बञ्चित गराउन खोजेको बताउँछन् । काठमाडौंमा अध्ययन गरिरहेका एक जना विद्यार्थी अभिशेक यादव भन्छन्, ‘धेरैजसो विद्यार्थीले एसईईपछि पढ्ने विषयमा बढी जोड दिन्छन्, यसका लागि मिहिनेत पनि गर्छन्, ब्रिज कोर्स सञ्चालन गर्ने यस्ता संस्थाहरूले यस्ता विद्यार्थीलाई धेरै सहयोग पुर्याउँछ ।’ उनी तीन वर्ष अगाडि आफूले पनि विज्ञान विषय पढ्दा दुई महिना तयारी कक्षा लिएको बताउँदै यो तयारीले आफूलाई कक्षा ११ मा लिने प्रवेश परीक्षामा धेरै सहज भएको बताउँछन् । ‘कतिपय कुरा हामीले ९÷१० कक्षामा पढिसकेका हुन्छौं, कतिपय नयाँ कुरा सिकिन्छ, यो तयारी विद्यार्थीका लागि राम्रो हो । सरकारले किन बन्द गर्न खोज्दैछ, अचम्म लाग्यो,’ उनले भने । नयाँ बानेश्वर चोकमा रहेको एसईआई ब्रिज कोर्सका सञ्चालक नारायण पौडेल सरकारको यो निर्णयले विद्यार्थीलाई ठूलो असर पर्ने बताउँछन् । ३४ वर्षदेखि एसईई दिएर विभिन्न विषय पढ्ने रुचि भएका विद्यार्थीलाई ब्रिज कार्स, तयारी कक्षा कक्षाहरू सञ्चालन गर्दै आइरहेका उनी यस्ता संस्थाले विद्यार्थीलाई राम्रो बाटो देखाउने काम गरिरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘हामीले पुलको रुपमा काम गर्ने हो, कतिपय विद्यार्थीको पढ्ने रुचि एउटा हुन्छ, क्षमता अर्कै हुन्छ, यस्ता विद्यार्थीको क्षमता बुझी उनीहरूको क्षमता अनुसार बाटो देखाउने काम हामीले गर्दै आएका छौं, मलाई लाग्छ धेरै विद्यार्थीलाई यस्तो बाटो देखाउने मान्छेको आवश्यकता पर्नेछ ।’ ‘कतिपय विद्यार्थी साइन्स पढ्ने, नर्स पढ्ने भनेर आउँथे तर त्यसका लागि कस्ता विषय पढ्ने तयारी के गर्नुपर्छ भन्ने थाहा हुँदैन, हामीले यो सब काम गर्थ्यौं । अब त्यो गाइडेन्स विद्यार्थीले नपाउने भए,’ पौडेलले भने । ‘सरकारले यो विषयमा केही बैकल्पिक सोचेको छ भने राम्रै होला यसमा स्पष्ट छैन । नभए पठन पाठनको विषयलाई रोक्नै पर्ने आवश्यक देख्दैन,’ उनले थपे । कमजोर विद्यार्थीहरूका लागि यस्ता कोर्सहरू निकै आवश्यक पर्छन् । राज्यले सबै विद्यार्थीलाई समान अवसर प्रदान गर्छ भने यसमा हाम्रो कुनै अवरोध छैन । तर, त्यो अवसर विद्यार्थी आफै खोज्छु भन्दा तयारी कक्षा निकै आवश्यक रहने सरोकारवालाहरू बताउँछन् । विज्ञहरु भन्छन् : ब्रिज कोर्स आवश्यक छ विज्ञहरू भने नेपालको परिप्रेक्षमा ब्रिज कोर्स विद्यार्थीका लागि निकै आवश्यक रहेको बताउँछन् । बरु यस्ता कक्षहरूलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने भन्नेमा बहस केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ छ । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला ब्रिज कोर्स केटाकेटीको क्षमता भन्दा माथि रहेकोले निकै आवश्यक रहेको बताउँछन् । यस्ता कक्षाहरू के को लागि बन्द र के को लागि खुला भन्ने भन्दा ब्रिज कोर्सले के गर्छन् भन्ने कुरा ठूलो रहेको उनको भनाइ छ । अबको बहस यस्ता कक्षाहरू डिजिटलमोडमा जाने कि ट्युटोरियल मोडमा जाने भन्नेतिर हुनुपर्ने बताउँछन् । ‘तयारी कक्षाका विभिन्न इन्स्च्यिुटहरूलाई बन्द गर्न लगाउने हो भने डिजिटल ट्युटोरियल बनाउनपर्यो होइन यो गर्देनौं भन्ने हो भने अर्को कुनै तरिकाबाट विद्यार्थीलाई गरिखाने सिप सिकाउनुपर्यो,’कोइरालाले भने । उनी चैत्रमा विद्यार्थीको एसईई परीक्षा सकिँदा पाँच लाख विद्यार्थीको समय फोकटमा जाने भएकाले यो खालि रहेका समयमा विद्यार्थीलाई कुनै न कुनै ठाउँबाट आवद्ध गराउन सक्नुपर्छ । ‘यदि यसो गर्न सकिदैन भने ति विद्यार्थीले फुर्सदको समयमा भद्रगोल मच्चाउछन्,’उनी भन्छन्, ‘यो भनेको भोलाटाइल ग्रुप हो । यो समूहलाई कुनै काममा आवद्ध गराउन, नलेज एक्सपोजरमा कसरी लाने, नेपालमै सम्भावना गरेर खान कहाँ कहाँ हो , व्यापर कसरी गर्न सकिन्छ, गानी गर्न चाहनेका लागि बाटो कहाँ हो भन्ने सम्भावनाको कुरा पनि देखाइदिनुपर्यो ।’ यस्ता विषयमा छलफल बहसै नभइ सरकारले गरेको निर्णयले राम्रो परिणाम नदिने उनको भनाइ छ । पढाइको गुणस्तर नसुधारी बन्द अर्का शिक्षाविद् डा. विष्णु कार्की सरकारले विद्यालय तहको पढाइको गुणस्तर नसुधारी तयारी कक्षा बन्द गरिनु उचित निर्णय नभएको बताउँछन् । अहिले पनि विद्यार्थी चोरेर पास भइरहेको अवस्थामा तयारी कक्षा नै बन्द गर्ने हो भने अझ पास हुने विद्यार्थी निकै कम हुने देखिन्छ । तल्लो तहका कक्षामा विद्यार्थीहरू खरु खरु जवरजस्ती पास भइरहेका छन् । तर, कक्षा १० मा पुगिसकेपछि राष्ट्रियस्तरको परीक्षा दिनुपर्छ जहाँ सबै विद्यार्थीका लागि एउटै स्तरको परीक्षा हुन्छ र अधिकांश विद्यार्थीलाई गाह्रो हुन्छ । जसका कारण विद्यार्थीले यस्ता ट्युसन सेन्टर र ब्रिज कोर्स खोज्दै दगर्नुपर्छ । उनी नेपालको सामुदायिक विद्यालयमा पढाइको स्तर नपुगिरहेको अवस्थामा सुधारका कार्यक्रमबिना यस्ता कक्षाहरू पनि बन्द गरिनु अन्याय हुने बताउँछन् । निजी विद्यालय पढ्ने विद्यार्थीलाई आवश्यक नभए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई यस्ता कक्षा निकै आवश्यक छन् । उनी यसको उदाहरण नेपालमा हुने गरेको एसईईको नतिजालाई नै हेर्न सकिने बतउँछन् । ‘एसईईमा पनि घोकी–घोकी पास गरेकाहरूलाई सबैभन्दा ठूलो बज्रपात तब पर्छ, जब कक्षा ११ मा भर्ना हुन, राम्रा कलेजमा पढ्न फेरि प्रवेश परीक्षा दिनुपर्छ, सकिन्छ भने एसईई परीक्षा नै बन्द गरौं, यसको औचित्य छैन, अर्को कुरा एउटै तहमा अध्ययन गर्न किन फेरि प्रवेश परीक्षाको आवश्यकता ?,’ उनले प्रश्न गरे । उनी यी दुवै काम रोक्न सकेमात्र ब्रिज कोर्स बन्द गर्न मिल्ने बताउँछन् । उनी पहिलो गुणस्तर बढाउन तर्फ सरकार र मन्त्री लाग्नुपर्ने सुझाव दिँदै यसका लागि आधारभूत तहदेखि नै कार्यक्रम गर्नुपर्ने र त्यही कार्यक्रम देखाएर कक्षा १२ सम्म पढ्न सक्षम हुन्छन् भन्ने देखाएर यस्ता कार्यक्रम बन्द गर्नुपर्ने बताउँछन् ।
अब ५ कक्षासम्म ‘फेल’ गर्ने प्रणाली अन्त्य
काठमाडौं । अछामको षोडशा प्राथमिक विद्यालयका शिक्षक हिरासिंह खड्का कक्षा १ देखि ३ का विद्यार्थीलाई पढाउन कक्षाकोठामा पुग्दा हातमा मूल्याङ्कन कपी बोकेर जान्छन् । हरेक दिन, हरेक विषयको पढाइमा उनले विद्यार्थीको मूल्याङ्कन गर्नुपर्छ । उनले सिकाएका कुरा विद्यार्थीले कति बुझे, कतिले बुझेनन् भन्ने कुराको मूल्यांकन तत्काल कपिमा टिपोर्ट गरिहाल्नुपर्छ । विद्यार्थीलाई पढेको कुरा परीक्षासम्म कण्ठ नहुने भएकाले विद्यार्थीको हरेक दिनको मूल्याङ्कन गर्ने गरिएको उनी बताउँछन् । उनी भन्छन्, ‘कक्षा १ देखि ३ सम्म विद्यार्थीको हरेक दिनको मूल्यांकन शिक्षकले गर्नुपर्छ । कमजोर विद्यार्थीलाई जान्ने विद्यार्थी बनाउन शिक्षकले पनि त्यत्तिकै मिहिनेत गर्नुपर्ने हुन्छ । यसको उद्देश्य भनेको ‘ग’ स्थानमा रहेको विद्यार्थी ‘ख’ हुँदै ‘क’ स्थानमा ल्याउनु हो ।’ गणित विषय पढाउँदा १० बाट ५ घटाउँदा कति हुन्छ भन्ने प्रश्नको जवाफका लागि शिक्षकले हरेक उदाहरण दिएर बुझाउँछन् । अझ यो विषयमा जान्ने बनाउनका लागि शिक्षकले विद्यार्थीलाई १० रुपैयाँ दिएर पाँच रुपैयाँको कुनै सामान किनेर ल्याउने भन्छन् र बाँकी पैसा फिर्ता ल्याउन भनिन्छ । यसरी बचेको पैसा कति रह्यो भने सोध्दा विद्यार्थीले सही जवाफ दिन सक्यो भने उसले बुझेको मानिन्छ । यदि उसले बुझ्न सकेन भने त्यस्ता विद्यार्थीलाई थप बुझ्ने तरिकाले पढाइन्छ । यसरी बुझाएर जान्ने विद्यार्थीलाई एक श्रेणीमा राखिन्छ भने नजान्ने विद्यार्थीलाई अर्को श्रेणीमा राख्ने गरिन्छ । विद्यार्थीको मूल्याङ्कनका लागि निर्माणात्मक र निर्णयात्मक दुवै तरिका प्रयोग गर्नुपर्छ । विषयवस्तुको स्वरूपअनुसार सैद्धान्तिक र प्रयोगात्मक पक्षको मूल्याङ्कन गरिन्छ । यसरी शिक्षण सिकाइका क्रममा गरिने नियमित र निरन्तर मूल्याङ्कनलाई विद्यालय स्तरीय परीक्षाका आधारमा विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण प्रमाणीकरण गरिन्छ । यो प्रणाली नेपाल पाठ्यक्रम २०७६ ले आधारभूत तह कक्षा १ देखि ३ तीनको पाठ्यक्रममा समावेश गरेपछि लागू भएको हो । योभन्दा पहिले आन्तरिक मूल्याङ्कन प्रणाली थिएन । कक्षा १ देखि ३ का विद्यार्थीले वैशाखमा पढेको कुरा अर्को चैत महिनासम्म याद हुन गर्न नसक्ने भन्दै पाठ्यक्रम विकास केन्द्रले २०७६ सालदेखि यो प्रणाली लागू गरेको हो । पास/फेल परम्परा कायमै १ देखि ३ कक्षासम्मको विद्यार्थी सिकाइ प्रणाली फेरिए पनि पास÷फेल प्रणाली भने कायमै छ । अछामका शिक्षक कुल बहादुर बुढ्थापा भन्छन्, ‘कक्षा कोठामा दिनहुँ विद्यार्थीको सिकाइ मूल्याङ्कन गरिए पनि वर्षको अन्तिममा लिने परीक्षामा पास/फेल गराइन्छ ।’ प्रधानाध्यापक बुढ्थापा विद्यार्थीहरूलाई विद्यालयमा मात्र पठनपाठन गराएर नहुने बताउँछन् । उनी भन्छन्, ‘अझै पनि अभिभावकलाई छोराछोरीलाई घरमा सिकाउनुपर्छ भन्ने चेत छैन । अर्को चेत भएकालाई सिकाउने समय नै हुँदैन । कमजोर विद्यार्थीलाई कक्षा चढाएर के गर्नु भन्ने हुन्छ, जान्नेलाई पास र नजान्नेलाई फेल गराउने चलन अहिले पनि छ ।’ ‘अहिले फेल गराउन पाइँदैन भन्ने कुरा उठिरहेको छ । तर, हामीले पास/फेल गराउँदै आएका छौं । अब सरकारले यो नियम हटाउनुपर्छ भन्छ भने हामी पनि त्यसै गर्छौं,’ उनले थपे । कक्षा पाँचसम्म विद्यार्थीलाई फेल गर्न नपाइने विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई फेल गराउने परम्पराको अब अन्त्य हुँदैछ । विद्यार्थी फेल हुँदा उसको मनोविज्ञानमा असर पर्ने भएकाले आगामी आर्थिक वर्षदेखि कुनै पनि विद्यार्थीलाई फेल नगराइने नीति ल्याउन ल्याइएको हो । २०७६ सालपछि १ देखि ३ सम्मको सिकाइ प्रणाली फेरिए पनि पास/फेल गराइने परम्परा अझै छ भने कक्षा चार र पाँचका विद्यार्थीलाई झन बर्षभरि पढाएर तीन घण्टाको परीक्षामा मूल्यांकन गरी पास फेल गराइने प्रवृत्ति छ । यस्ता गतिविधिले विद्यार्थीको मनोवलमा असर पर्ने भन्दै सरकारले अब कक्षा पाँच सम्म विद्यार्थीलाई फेल गराउन नपाउने नीति ल्याउन लागेको हो । भर्खरै बनेको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय दिनमा गरिने सूचीमा कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई पास फेल गराउने प्रणाली बन्द गर्ने भनेको छ । यसले कस्तो असर पार्छ ? सरकारले आगामी आर्थिक वर्षदेखि लागू गर्ने प्रणालीले विद्यार्थीलाई सकारात्मक र नकारात्मक दुवै असर गर्ने विज्ञहरू बताउँछन् । फेल नगराउने नीतिले कतिपय विद्यार्थीमा नपढे पनि पास भइन्छ भन्ने मानसिकताले मिहिनेत गर्न छोड्न सक्ने हुन्छन् भने परिवारले र शिक्षकले पनि वेवास्ता गर्नसक्ने उनीहरूको तर्क छ । प्रधानाध्यापक बुढ्थापाले यो प्रणालीले ग्रामीण स्तरका विद्यार्थी अझ कमजोर हुन सक्ने बताउँछन् । ‘अभिभावकले छोराछोरीको पढाइप्रति ध्यान नदिने प्रचलन पहिले नै छ, अब फेलै नहुने भए विद्यार्थीले पनि मिहिनेत गर्न छोडछन्, अभिभावकले पनि ध्यान दिँदैनन्,’ उनले भने । पाठ्यक्रम विकास केन्द्रले २०७६ सालपछि ल्याएको मूल्यांकन प्रणालीले विद्यार्थीको सिकाइमा भने धेरै सकारात्मक प्रभाव पारेको छ । दैनिक कक्षाकोठामा गरिने आन्तरिक मूल्यांकनले शिक्षकले पढाएको वा भनेको कुरा विद्यार्थीले तुरुन्त जाने वा जानेन भन्ने थाहा हुन्छ भने विद्यार्थीको कमजोरी मूल्यांकन गरी सुधार गर्न सकिन्छ । स-साना गतिविधि, चित्र, खेल जस्ता गतिविधिले विद्यार्थीको पढाइमा रुचि बढ्छ । यस्तै, हरेक दिनको सिकाइले विद्यार्थीमा अध्ययन गर्ने बानी पर्छ भने कसरी पढाउँदा विद्यार्थीलाई सिकाउन सजिलो हुन्छ र उनीहरूले छिटो बुझछन् भन्ने विषयमा प्रष्ट हुँदा शिक्षकलाई शिक्षण सुधार्न मद्दत पुग्छ । अब सरकारले चार र पाँच कक्षाका विद्यार्थीको हकमा पनि मूल्यांकन प्रणाली लागू गर्न सके सहज हुने शिक्षकहरू बताउँछन् । स्पष्ट मापदण्ड बनाइनुपर्छ शिक्षाविद् विद्यानाथ कोइराला भने सरकारले सार्वजनिक गरेको सूचीमा शिक्षाको आवश्यकता एकातिर काम अर्कोतिर भएको बताउँछन् । उनका अनुसार सरकारले सबैभन्दा पहिले ल्याउने पर्ने आवश्यक विषय शिक्षा ऐन हो । निःशुल्क आधारभूत शिक्षाका विषयमा नबोल्नु आश्चर्यजनक रहेको उनको भनाइ छ । कक्षा ५ सम्मको पढाइमा फेल गर्न नपाइने विषय आवश्यक भए पनि विद्यार्थी फेल नगर्न कसको भूमिका के रहने भन्ने स्पष्ट नभएको कोइराला बताउँछन् । विद्यार्थी फेल नगराउन उनीहरूको परीक्षा नै नलिने हो कि, विद्यार्थी आफैले आफैंलाई मूल्यांकन गर्ने हो कि, अभिभावकले आफै मूल्यांकन गर्ने हो, त्यसमा आवश्यक मापदण्ड बनाइनुपर्नेमा उनको जोड छ । विश्वका धेरैजसो देशहरूले १ देखि ५ सम्मका विद्यार्थीलाई पास/फेल गराउँदैनन् । युरोप अमेरिकातिर हेर्ने हो भने नर्सरी, केजीका विद्यार्थीको परीक्षा लिन पाइँदैन । तर नेपाल मात्र यस्तो देश हो, जहाँ नर्सरी केजीका बच्चाहरूको पनि परीक्षा लिइन्छ । ‘स-सना बालबालिकालाई तिमी फेल भयौ भन्दै मनोबल कमजोर पार्नु हुँदैन भन्ने हो,’ कोइराला भन्छन्, ‘यो तरिकाले हेर्ने हो भने अहिले सरकारले गर्ने भनेको काम ठीकै हो । तर प्रश्न के आउँछ, जाँच नलिएपछि यी केटाकेटीको जिम्मेवारी कसले कसरी लिने भन्ने कुरामा भने स्पष्ट हुनुपर्छ ।’ अहिले पाठ्यक्रममा बालविकास पास गरेको, पाँच कक्षा पास गरेको, आठ कक्षा पास गरेको वा दश कक्षा पास गरेका विद्यार्थीको कति क्षमता हुनुपर्छ भन्ने उल्लेख छ । यो क्षमता नपुगेको जिम्मेवारी कसको थाप्लोमा थुपार्ने भन्ने कुरा पनि प्रष्ट पारिदिनुपर्ने कोइराला बताउँछन् । केही वर्ष पहिले कक्षा दशमा लिइने एसएलसीलाई निरन्तर मूल्यांकन प्रणालीमा राखिसकेपछि एसईईको रिजल्ट खत्तम भयो, विद्यार्थीले पढेनन् भन्ने कुरा आएको थियो । राम्रो मापदण्डबिना परीक्षा हटाउँदा सानो कक्षाबाटै यो समस्या आउने हुँदा डरलाग्दो अवस्था सिर्जना हुनसक्छ । यसलाई गुणस्तरको मानक बनाएर विद्यार्थीले आफूले आफैंलाई जाँच्ने तरिका ल्याउनुपर्ने कोइरालाको बुझाइ छ । विद्यार्थीले आफूले आफैंलाई जाँच्ने र नजानेको कुरा शिक्षकलाई सोध्ने अनि त्यो कुरा शिक्षकले पुरा गरिदिनुपर्छ । तर यहाँ शिक्षकले कक्षामा पनि नपढाउने तर पालिकाले ट्युसन सर्पोट भनेर पैसा दिइरहेको पाइन्छ । कोइराला गुणस्तरको ग्यारेन्टी गर्ने काम पनि शिक्षक हो भनिदिने हो भने कक्षा पाँचसम्म मात्र नभई दश कक्षाको पनि परीक्षा नलिए फरक नपर्ने बताउँछन् । कोइराला आफ्ना केटाकेटीको मूल्यांकन अभिभावकले नै गर्नुपर्ने बताउँछन् । ‘मेरो बच्चा पढाइ, लेखाइ र बुझाइमा कत्तिको सक्षम छ भनेर अभिभावक आफैले फाराम मूल्यांकन गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘यस्तो गर्दा अभिभावक आफैले कुन विषयमा कति कमजोर छ, त्यसलाई कसरी ठिक गर्ने भन्ने तरिकाले अगाडि बढायो भने राम्रो हुन्छ, नभए पढाइको गुणस्तर जिरोबाटै बिग्रन्छ ।’ उनका अनुसार शिक्षक, अभिभावक, विद्यार्थी स्वयंको भूमिका के हुने भन्ने मापदण्ड पनि अनिवार्य हुनुपर्छ । ‘मापदण्ड पनि चाहिन्छ, जिम्मेवार मान्छे पनि चाहिन्छ, विद्यार्थीको क्षमता भएन भने अर्थात् जति हुनुपर्ने हो त्यो सक्षमता विद्यार्थीमा भएन भने त्यसको जिम्मेवार को हुने भन्ने कुरा पनि तोकिनुपर्छ, ’कोइरालाले भने । पाठ्यक्रममा कति कक्षाका विद्यार्थीको न्यूनतम् सिकाइ कति हुनुपर्छ भन्ने कुरा पाठ्यक्रममै लेखिएको हुन्छ । यसका लागि जिम्मेवार व्यक्ति तोकेर मात्र अघि बढ्दा राम्रो हुने उनको सुझाव छ ।
विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार
काठमाडौं । काठमाडौंकी सीमा लामा (परिवर्तित नाम) कोरिया पढ्न गएको ६ महिना भयो । अहिले उनले एउटा सेमेस्टर सकेर दोस्रो समेस्टर सुरु गरिन् । स्तानक तहमा ग्लोबल बिजनेस लिएर अध्ययन गरिरहेकी उनी नेपाली कन्सल्टेन्सीले विद्यार्थीबाट चाहिनेभन्दा बढी रकम असुलिरहेको तबमात्रै थाहा पाइन्, जब उनी कोरिया पुगिन् । नेपाल हुँदा आफू ठगिएको थाहा नभएकी उनी कोरीया पुगेपछिमात्र यो महसुस भएको बताउँछिन् । सीमाले काठमाडौंको चावहिलमा रहेको रिलायन्स इनटरनेश्नल एकेडेमीमा प्लस टु गरिन् । स्नातक तहमा अध्ययनका लागि बाहिर जाने भन्ने योजना उनको अगाडि नै थियो । तर, कुन देश जाने भन्ने एकिन थिएन । उनी कुन देश जाँदा कति राम्रो भन्ने विषयमा साथीभाइसँग बुझिरहेकी थिइन् । केही साथीहरू दक्षिण कोरियामा अध्ययन गरिरहेका थिए । उनले त्यहाँको बारेमा बुझिन् । अन्य देशभन्दा कम पैसा लाग्ने र पढ्दै काम गर्न पनि सकिने थाह हुँदा उनी कोरिया जाने सोचमा पुगिन् । यसका लागि उनलाई गाइड गर्ने राम्रो कन्सल्टेन्सी आवश्यक पर्यो । उनले वेस्ट कन्सल्टेन्सी फर कोरिया भन्दै इन्टरनेटमा सर्च गरिन् । दुई÷तीन वटा कन्सलल्टेन्सीको नाम आयो । ती मध्ये दुईवटा कन्सल्टेन्सीमा बुझन् गइन् । सीमालाई काठमाडौंको बागबजारमा रहेको केटीएम एजुकेसन कन्सल्टेन्सी राम्रो लाग्यो । ‘त्यहाँको काउन्सिलिङ गर्ने तरिका निकै मन पर्यो, राम्रो गाइड गर्ने कन्सल्टेन्सी जस्तै लाग्यो र मैले त्यही रोजें,’ उनले भनिन् । त्यो कन्सल्टेन्सीले सीमाको जिपिए हेरेर डि २ कोड भिसामा जान मिल्छ भन्ने सल्लाह दियो । त्यसका लागि १० देखि १२ लाखसम्म पैसा लाग्ने कन्सल्टेन्सीले बतायो । उनले यो विषयमा घरमा अभिभावकसँग पनि सल्लाह लिइन् । यो खर्चमा कोरिया पठाउन परिवार पनि तयार भयो । उनले त्यही कन्सल्टेन्सीबाट प्रक्रिया सुरु गरिन् । सुरुमा १० देखि बढीमा १२ लाखसम्म पैसा लाग्ने बताएको कन्सल्टेन्सीले कोरिया पुगुन्जेलसम्म सीमाले करिब २० लाख रुपैयाँ तिर्नुप¥यो । ‘सुरुमा हामीलाई जति भनिएको थियो त्यही पैसाले प्रक्रिया सुरु भइसकेको थियो, आज यति भोलि उति पैसा ल्याउन भन्थे हामी पनि हाम्रै लागि हो भन्दै ल्याउँदै दिँदै गयौं, उनी भन्छिन्, ‘जब सबै प्रक्रिया सकेर भिजा कोड आउने बेलामा दुई हप्ता अगाडि कलेज शुल्क तिर्नुपर्छ भन्दै बिल समेत पठाइदियो त्यसको पनि पैसा दियौं तर पछि एजेन्ट चार्ज र भिसा कोड चार्ज भनेर झण्डै साढे ७ लाख पैसा थप माग्यो कलेज शुल्क भन्दा पनि दुई गुणा नै महँगो हुँदा म छक्क परें ।’ उनलाई यसमा आशंका लाग्यो । जुन शुल्क पहिले न काउन्सिलङको बेला भनियो न अघिपछि । एक्कासि यत्रो पैसा माग्दा किन यति धेरै भन्दा पहिले कलेजको शुल्क, त्यसपछि एजेण्ट र भिसा कोडको पैसा लाग्छ भन्दै कन्सल्टेन्सीले तोडमोड गरि कुरा गर्यो । ‘त्यसपछि यस्तो अवस्था आयो कि थप पैसा दिउँ भने यत्रो धेरै रकम, नदिउँ भने १०÷१२ लाख खर्च अगाडि नै भइसक्यो छ, त्यसपछि बाध्य भएर पनि कन्सल्टेन्सीले भनेजती पैसा बुझाएर म कोरिया पुगें,’ उनले भनिन् । जब उनी कन्सल्टेन्सीले भनेजति पैसा खर्च गरेर कोरिया पुगिन्, कलेजका अरु साथीहरू भेटिन् र उनीहरू आएको शुल्कबारे थाहा पाइन् त्यसपछि उनले आफूलाई कन्सल्टेन्सीले आर्थिक रुपमा ठगी गरेको थाहा पाइन् । उनी भन्छिन्, ‘म मात्र होइन म जस्तै ठगिएका धेरै साथीहरू छौं, जसले २० लाखभन्दा अझ धेरै रकम कन्सल्टेन्सीलाई बुझाएका छन् ।’ उनी नेपाली कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई अनावश्यक बाहनामा ठगी गरिरहेको बताउँछिन् । नेपाली विद्यार्थी कोरिया अध्ययनका लागि जान कति रकम लाग्छ ? यसको यकिन जवाफ छैन । विश्वविद्यालय, त्यहाँ शुल्क, उसले अध्ययन गर्ने विषय अनुसार खर्च तलमाथि हुन्छ । तर, स्नाताक र स्नातकोत्तर तहमा अध्ययन गर्न जाने विद्यार्थीले कन्सल्टेन्सीको लागत, विश्वविद्यालयको शुल्क, होस्टेलको शुल्कदेखि सबै कुरा जोड्दा पनि १० लाखभन्दा माथि नलाग्ने विद्यार्थीहरू बताउँछन् । तर, नेपाली विद्यार्थी ३० लाखसम्म कन्सल्टेन्सीलाई बुझाएर आइरहेको कोरियामा अध्ययनरत बझाङका भोजराज भट्ट बताउँछन् । उनी आनावश्यक शीर्षकमा कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई आर्थिक रुपमा ठगिरहेको बताउँछन् । उनी भन्छन्, ‘म यहाँ आएर अध्ययन गर्न लागेको तीन वर्ष बढी भयो, धेरै विश्वविद्यालयका भाइबहिनीहरूसँग भेट भइरहन्छ । तर, एउटै विषय, एउटै विश्वविद्यालयमा पढ्ने, एउटै होस्टेलमा बस्ने बिद्यार्थीहरू फरक–फरक शुल्क तिरेका छन् ।’ उनी ७ देखि १० लाखसम्म विद्यार्थी पढ्न आउनसक्ने हुँदा पनि कन्सटेन्सीले झण्डै दोब्बर बढी शुल्क लिइरहेको पाएको बताउँछन् । उनले धेरै विद्यार्थीसँग बुझ्दा फरक/फरक शुल्कमा विद्यार्थीहरू कोरिया पुगिरहेको बताए । राम्रा कन्सल्टेन्सीले विद्यार्थीबाट दुई÷तीन लाख ठगे पनि कुनै कन्सल्टेन्सीले १०/१२ लाख रुपैयाँ बढी ठगेको उनी बताउँछन् । ‘कन्सल्टेन्सी बतिसम्म बाठा भइसके भने बिलमार्फत लिएको पैसामा विद्यार्थी उजुरी दिन सक्ने भन्दै अहिले नगदमा पैसा लिने गरेका रहेछन्,’ उनी भन्छन्, ‘नगदमा पैसा लिएर ठगीमा परेको विद्यार्थी पनि मेरो सम्पर्कमा धेरै छन् ।’ उनी अहिले कोरियामा समस्यामा परेका विद्यार्थीको गुनासो सुन्दै राजदुतावाससम्म पुग्ने गरेका छन् । ‘मैले धेरै विद्यार्थीको गुनासो यहाँस्थित नेपाली राजदुतावाससम्म पनि पुर्याएको छु, तर जति अवाज उठाए पनि सुनुवाइ हुँदैन,’ उनले भने । एजेन्ट शुल्क र भिसा कोडका नाममा ठगी नेपाली विद्यार्थी कुनै पनि देशमा अध्ययनका लागि जाँदा राम्रो विश्वविद्यालय खोज्ने, आवेदन गर्ने आवश्यक कागजात तयार पार्ने भिसा प्रक्रियामा सहयोग गर्ने काम सबै कन्सल्टेन्सीले गर्छन् । यसका लागि कन्सल्टेन्सीले पैसा लिन्छन् । जुन स्वाभाविक हो । तर, चाहिने भन्दा बढी रकम माग्नु, स्पष्ट कागज वा बिल दिइँदैन वा विदेश पुगिसकेपछि पनि पैसा माग्नु कन्सल्टेन्सीको बद्मासी हो । कोरिया अध्ययनका लागि जाने विद्यार्थीलाई भिसा लगाउन कोड आवश्यक पर्छ । कोड नम्बरका आधारमा विद्यार्थीले दूतावासमा भिसा अवेदन दिन सक्छन् । यो काम नेपालमा रहेको कोरिया एम्बीसीले गरिदिँदैन । तर त्यहाँ जान कोड आवश्यक पर्छ । यो काम नेपालका कन्सल्टेन्सीले एजेन्ट मार्फत कोरियाबाट कोड नम्बर उपलब्ध गराइदिन्छन् । यो गरे बापत कन्सल्टेन्सीले मनलाग्दी शुल्क विद्यार्थीबाट लिइरहेको पाइन्छ । नेपालका कन्सल्टेन्सीले यिनै दुई शीर्षकमा मनलाग्दी शुल्क लिने गरेको विद्यार्थीहरूले बताएका छन् । दूतावास मार्फत उजुरी कोरिया पुगेका विद्यार्थीले नेपाली कन्सल्टेन्सी विरुद्ध उजुरी दिएका छन् । कोरियामा अध्ययनरत ८ सय बढी विद्यार्थीले नेपालका करिब डेढ सय कन्सल्टेन्सी विरुद्ध त्यहाँ रहेको नेपाली दूतावास मार्फत उजुरी दिएको हो । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा उजुरी पठाइसकेको छ । यो विषयमा शिक्षा मन्त्रालयले छलफल पनि गरिरहेको छ । मन्त्रालयको विद्यालय उच्च शिक्षा शाखाका उपसचिव सेमन्त कोइरालाले यो विषयमा आइतबार छलफल भएको बताउँदै विद्यार्थीले दिएका कन्सटेन्सीसँग सोधपुछ गरिने बताए । कोइरालाका अनुसार शिक्षा मन्त्रालयमा दर्ता भएका १४ वटा कन्सल्टेन्सी र प्रदेश अन्तर्गत दर्ता भएका करिब १ सय ६ कन्सल्टेन्सी विरुद्ध विद्यार्थीले आर्थिक ठगी गरेको उजुरी दिएका छन् । विकासन्युजसँग कुरा गर्दै कोइराला भन्छन्, ‘एउटै कन्सल्टेन्सी विरुद्ध धेरै विद्यार्थीले ठगिएको उजुरी दिएका छन्, उपत्यकामा रहेका कन्सल्टेन्सीलाई छलफलका लागि बोलाइएको र प्रदेशका कन्सल्टेन्सीलाई बोलाउने योजना मन्त्रालयको छ ।’ उनले विद्यार्थीले चाहिनेभन्दा बढी शुल्क कन्सल्टेन्सी विद्यार्थीबाट लिइरहेको भन्दै यसलाई रोक्न र आफ्नो ठगिएको रकम फिर्ता पाउनुपर्ने बताएका छन् । नेपालका कन्सल्टेन्सीहरूले विद्यार्थीलाई पटक–पटक ठगेको गुनासो आए पनि कन्सल्टेन्सीलाई कारवाही गरिएको कुरा भने कहिल्यै बाहिर आउँदैन । यसअगाडि पनि अध्ययनका लागि युएई पुगेका विद्यार्थीले नेपालका कन्सल्टेन्सीले विश्वविद्यालयमा पठाइदिने भन्दै इन्स्टिच्युट पठाएको उजुरी शिक्षा मन्त्रालयमा आएको थियो । एनओसी नै रोक्नुपर्ने अवस्था गत जेठ महिनामा मात्र नेपाली कन्सल्टेन्सीले कोरियामा अध्ययनका लागि पठाएका विद्यार्थीलाई कालोसूचीमा परेका कोरियाली विश्वविद्यालयमा पठाएको खुलेको थियो । यो खबर सार्वजनिक भएपछि शिक्षा मन्त्रलयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नै रोक्नुपरेको थियो । कोरियामा डी–२ र डी–४ भिसामा अन्डर ग्राजुएट अध्ययन गर्न जाने विद्यार्थीको (एनओसी) जारी गर्ने कार्य दुई महिनालाई स्थगित गरिएको थियो । डी-४ भिसामा कोरिया गएका विद्यार्थीले भाषा पढिसकेपछि विश्वविद्यालयमा आवेदन दिँदा कोरियाले नै कालोसूचीमा राखेको विश्वविद्यालयमा दिन लगाउने गरेको उजुरी यसअघि कोरियास्थित नेपाली दूतावासमै परेको थियो । दूतावासले यो उजुरी नेपाल पठाउँदा सरकारले एनओसी रोकेको थियो । डी-४ भिसाका नाममा नेपाली कन्सल्टेन्सीले अत्याधिक पैसा असुल गर्नेदेखि लिएर एउटै कामका लागि पटक-पटक पैसा असुल्ने गरेको गुनासो अहिलेको होइन । पटक-पटक विद्यार्थीले गुनासो गर्दा पनि कन्सल्टेन्सीमाथि कारवाही नगरेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् । नेपाली विद्यार्थी डी-२ र डी-४ भिसामार्फत अध्ययनका लागि कोरिया पुग्छन् । डी-२ भिसा भनेको कोरियाको विश्वविद्यालयमा डिग्री पढ्न जाने विद्यार्थीहरूका लागि दिइने भिसा हो । यसमा स्नातक तह, स्नातोकोत्तर र पीएचडी गर्न जाने विद्यार्थीहरू जान्छन् भने यो भिसामा जान विश्वविद्यालयको एडमिसन लेटर आवश्यक पर्छ । यस्तै, कोरिया भाषा परीक्षा (टोपिक) पास गरेको प्रमाणपत्र चहिन्छ भने यी विद्यार्थी सिधै विश्वविद्यालयमा गएर अध्ययन गर्न सक्छन् । डी-४ भिसा भनेको भाषा सिक्न जाने विद्यार्थीहरूका लागि दिइने भिसा हो । यो भिषामा जाने विद्यार्थीले कोरियन भाषा, अंग्रेजी भाषा ६ महिनादेखि एक वर्षसम्म सिकेर पछि डी-२ भिसाामा परिवर्तन गरी विश्वविद्यालयमा भर्ना हुन सकिन्छ ।
सामूहिक अनुगमनबिनाको फरक एसईई
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आउन अब ९ दिन मात्र बाँकी छ । एसईई दिने विद्यार्थीहरू यतिबेला परीक्षाको तयारीमा छन् भने एसईई परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्नो तयारी पुरा गरिसकेको जनाएको छ । बोर्डका अनुसार सबै विषयका प्रश्नपत्र र उत्तरपुस्तिका ७७ वटै जिल्लाको परीक्षा केन्द्रमा पुगिसकेका छन् । परीक्षाका लागि बोर्डले सबै तयारी पुरा गरिसकेको र अब परीक्षा सञ्चालन गर्ने दिन कुरेको बोर्डका परीक्षा उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । उनले काठमाडौं उपत्यका केही ठाउँमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउने कार्य भइरहेको र अन्य सबै जिल्लाका केन्द्रमा यस अगाडि नै पुर्याइसकेको उल्लेख गर्दै तयारी सबै पुरा गरिसकेको बताए । परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बोर्डले कुनै कसुर बाँकी नराख्ने ज्ञवालीको भनाइ छ । ५ लाख ९ हजार ९ सय ६१ विद्यार्थी यो वर्षको एसईई परीक्षामा सहभागी हुन पाँच लाख ९ हजार ९ सय ६१ जना विद्यार्थीले फाराम भरेका छन् । जसमा नियमिततर्फ ४ लाख ४६ हजार ५ सय ७६ विद्यार्थी छन् भने पूरकतर्फ ६३ हजार ४ सय ८५ विद्यार्थी रहेका छन् । फारम भर्नेमा २ लाख ५७ हजार ५ सय २७ छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र रहेका छन् । १ हजार ९ सय ९१ परीक्षा केन्द्र परीक्षा बोर्डले एसईई परीक्षाका लागि जापानमा एकसहित देशभर १ हजार ९ सय ९१ परीक्षा केन्द्र तय गरेको बताएको छ । परीक्षा उपनियन्त्रक ज्ञवालीका अनुसार परीक्षा केन्द्रका लागि अधिकांश सामुदायिक विद्यालय तोकिएका छन् भने विद्यार्थी धेरै भएका र भौतिक संरचना राम्रा भएका निजी विद्यालयलाई पनि राखिएको छ । परीक्षाका लागि केन्द्राध्यक्ष पनि विद्यालयका प्रधानाध्यापकलाई नै तोकिएको बोर्डले जनाएको छ । यो वर्ष देशभरका ११ हजार तीन सय ५९ विद्यालयका विद्यार्थीले परीक्षा दिँदैछन् । परीक्षालाई शान्तिपूर्ण बनाउन देशभर १२ हजारबढी सुरक्षाकर्मी खटाइने जनाइएको छ । जापानबाट एसईई दिने २३ जना विद्यार्थी यो वर्षको एसईईका लागि बोर्डले जापानमा पनि परीक्षाकेन्द्र राखेको छ । उक्त परीक्षा केन्द्रबाट २३ जना विद्यार्थी परीक्षा दिने तयारीमा रहेका छन् । जापानमा रही त्यही अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई एसईईमा सहभागि गराइने सहमति भएसँगै नेपाली विद्यार्थीले जापानबाटै एसईई दिन पाउने भएका हुन् । जापानमा रहेका गैरआवासीय नेपालीहरूले जापानमा खोलेको एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालन गरिसकेपछि नेपालले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई त्यहीबाटै परीक्षा दिन पाउने सुविधा दिएको हो । यसका लागि बोर्डले अनलाइनबाटै प्रश्नपत्र पठाउने र त्यहाँको परीक्षाको जिम्मा जापानमा रहेको नेपाली राजदूतावासका राजदूत र कर्मचारीबाट अनुगमन र निरीक्षण गर्ने जनाइएको छ । परीक्षा सकिएपछि त्यहाँको उत्तरपुस्तिका नेपालमै ल्याउने र नेपालमै जाँच गरिने गरेको बोर्डले जनाएको छ । अनुगमन गर्न नपाइने यो वर्षको परीक्षामा अनुगमन र निरीक्षणमा गएको टोलीले सामूहिक अनुगमन गर्न नपाइने भएको छ । परीक्षाका क्रममा विद्यार्थी त्यत्तिकै त्रासमा हुने भएकाले समूहमै टोली जाँदा झन त्रसित हुने बताउँदै बोर्डले यो वर्ष सामूहिक रूपमा अनुगमन गर्न नपाउने नियम बनाएको हो । ‘विभिन्न संघ/संगठनका प्रतिनिधि समूहमा जाँदा विद्यार्थीको लेखन कार्यमा अवरोध हुने र त्रासको वातावरण सिर्जना हुने भएकाले हामीले यस्तो निर्णय गरेका हौं,’ परीक्षा उपनियन्त्रक ज्ञवालीले भने । बोर्डका अनुसार अब प्रत्येक जिल्लामा जिल्ला प्रमुखको संयोजकत्वमा गठन हुने जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिरबाट मात्र अनुगमन गर्न पाउने छन् । परीक्षा हल भित्र भने केन्द्राध्यक्ष र त्यो दिन खटिएका सम्बन्धीत व्यक्तिले मात्र निगरानी राख्न सक्नेछन् । पत्रकारलाई पनि परीक्षाहलभित्र प्रवेश गर्न नदिने र बाहिरबाट मात्र फोटो भिडियो गर्न दिने निर्णय बोर्डले यस अघि नै गरिसकेको थियो । कुन दिन कुन विषय ? एसईई परीक्षा चैत्र १९ गते सुरु भई २९ गते सम्पन्न हुनेछ । जसमा पहिलो दिन चैत्र १९ गते अनिवार्य अंग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते संस्कृति तथा वेदविद्याश्रमतर्फका विषयको परीक्षा हुनेछ । त्यस्तै २४, २५, २६, २७, २८ र २९ मा प्राविधिक धारतर्फका विषयको परीक्षा हुने छ । एसईई सकिएलगत्तै उत्तरपुस्तिका जाँच्न सुरु हुने र असार तेस्रो सातासम्म नतिजा निकाल्ने योजनापनि बोर्डले जनाएको छ । ढुक्क भएर परीक्षा दिन आग्रह एसईई भन्नेबित्तिकै धेरै विद्यार्थीहरू आत्तिन्छन् । जसकारण धेरैजसो विद्यार्थीले आफूले जानेको प्रश्नको उत्तर पनि लेख्न सक्दैनन् । कुनै समय फलामेगेट भनेर चिनिने कक्षा १० को परीक्षालाई अन्य परीक्षाभन्दा फरक तरिकाले हेर्ने गरिन्छ । जसका कारण पनि विद्यार्थीहरू डराउने गर्छन् । अहिले कक्षा १० लाई अन्य कक्षाजस्तै मात्र फरक एउटा बोर्ड परीक्षा भनिएपनि विद्यार्थी र अभिभावकको सोच अहिले पनि पुरानै रहेको शिक्षाका जानकारहरू बताउँछन् । परीक्षा उपनियन्त्रक ज्ञवाली यो वर्षको परीक्षा पनि विगतका वर्ष जस्तै हुने र यसमा कुनै नयाँ कुराहरू नथपिएकाले सहज रूपमा लिन विद्यार्थीलाई आग्रह गर्छन् । उनी भन्छन्, ‘हाम्रो पालामा एसएलसी भन्ने बित्तिकै ओहो भन्ने गरिन्थ्यो, जसरी हामी त्यो बेलाको फलामेगेट भन्थ्यौं । अधिकांश अभिभावकको मस्तिष्कमा पनि त्यस्तै छ र विद्यार्थीको सोच पनि त्यस्तै छ । परीक्षामा आत्तिएर भन्दा पनि सुझबुझ तरिकाले आफूले जानेको प्रश्नको उत्तर सहजै विद्यार्थीले लेख्न सक्नेछन् ।’ ज्ञवाली पहिलेको भन्दा केही विद्यार्थी सोच परिवर्तन भइसकेकाले विस्तारै सहज हुने अवस्था आउने बताउँछन् । उनी विद्यार्थीलाई कुनै त्रास नरहोस् र ढुक्क तरिकाले लेख्न सकून् भनेर यो वर्ष सामूहिक रूपमा गरिने अनुगमन पनि रोकेको बताउँछन् । ‘यो परीक्षामा विद्यार्थी त्रसित हुने, आत्तिने गर्दा आएको प्रश्नको उत्तर पनि लेख्न नसकेको भेटियो,’ उनी भन्छन्, ‘यो डरलाई हटाउन पनि बोर्डले परीक्षा हलभित्र केन्द्राध्यक्ष र खटिएका कर्मचारीबाहेक अरूको अनुगमनलाई रोकेका छौं ।’
लिपुलेक व्यापार विवाद : बालेन सरकार कुर्दै ब्यूरोक्रेसी
काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै सीमा व्यापार खुला गर्ने घोषणा गरेसँगै यो विषयलाई चासोका रूपमा हेरिएको छ । दुई ठूला देशले नेपाललाई वेवास्ता गर्दै नेपालको भूमिमार्फत वैदेशिक व्यापार सुरु गर्ने निर्णय गरेका हुन् । ६ वर्षअघि घोषणा गरेको सीमा व्यापार यो वर्षदेखि सुरु गर्ने तयारी दुई देशको छ । सीमा व्यापारका लागि नेपाली भूमि प्रयोग हुने भए पनि भारत र चीनले यो विषयमा नेपालसँग छलफल समेत गर्न उचित ठानेन । बरु दुवै देशले निर्धक्क आफ्नो भूमिजस्तो प्रयोग गरी यस वर्षको जुन महिनादेखि व्यापार सुरु गर्दैछन् । जबकि नेपालले यो जग्गा आफ्नो भूमि भएको दाबी गर्दै नेपालको नक्सामा समावेश गरिसकेको छ । लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार सुरु गर्ने तयारी गरे पनि नक्सामा लिपुलेक लिम्पियाधुरा नेपाली भूमि भनेर दाबी गर्दै आएको नेपाल सरकार भने यो विषयमा मौन छ । यो विषयमा विदेशी मामिला हेर्ने परराष्ट्र मन्त्रालय पनि खुल्न चाहँदैन । यस बारेमा बुझ्न खोज्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरू अहिले कुनै प्रतिक्रिया नदिने बताउँछन् । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी यो विषयमा अहिले कुरा गर्न सकिने अवस्था नरहेको बताउँछन् । ‘यो कुरा अहिलेको नयाँ होइन, पहिले नै आइसकेको विषय हो,’ नाम उल्लेख नगर्ने सर्तमा उनले विकासन्युजसँग भने, ‘अहिले केही भन्न सकिने अवस्था छैन, परराष्ट्रले केही गरेको छ पनि भन्न सकिँदैन, केही गरेको छैन पनि भन्न सकिँदैन ।’ परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू वर्तमान अन्तरिम सरकारले यो विषयमा कुनै चासो नदेखाएको बताउँछन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दुई-तिहाई नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार आएपछि आधिकारिक धारणा सार्वजनिक हुन सक्ने उनीहरूको धारणा छ । अब सरकारको नेतृत्व रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गर्दैछन् । उनी नेतृत्वको सरकारले यस विषयमा कुटनीतिक नोट पठाउने वा अन्य धारणाहरू सार्वजनिक गर्ने अपेक्षामा कर्मचारीहरू छन् । शाह काठमाडौं महानगरको प्रमुख हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए भने काठमाडौं महानगर भित्र पर्ने सिनेहलहरूमा भारतीय सिनेमाको प्रदर्शनीमा रोक लगाएका थिए । भारतीय चलचित्र आदिपुरुषमा जनकपुरकी छोरी जानकी भारतकी छोरी हुन् भन्ने भ्रम फैलाएको भन्दै यो शब्द परिवर्तन गर्नुपर्ने मागसहित उनले चलचित्र प्रदर्शनमा रोके लगाएका थिए । शाहले नेपालको स्वतन्त्रता, स्वाधीनता, स्वभिमानमाथि आँच आउने गरी भारतीय फिल्मले गलत सन्देश दिएको आपत्ति जनाएपछि आदिपुरुष फिल्मले सो शब्द सच्याएको थियो । यसरी देशको हित विपरीतका गतिविधिमा कडा आवाज उठाउने बालेनले सरकारको नेतृत्व गरेसँगै यस विषयमा पनि एक्सन लिने अपेक्षा धेरैको छ । नेपालको पश्चिमोत्तर क्षेत्रको अन्तिम सीमाविन्दु लिम्पियाधुराबाट निस्कने कालीनदी हो, जहाँ नेपाल र भारत छुट्याउने काम यो नदीले गरेको छ । उक्त क्षेत्र महाकाली नदीको सबैभन्दा ठूलो जलाधार हो । कालीनदीलाई स्थानीय भाषामा (कुटीयाङ्दी) भनिन्छ । सुगौलीसन्धिबाट काली नदीलाई सीमा मानि छुट्याएका लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई भारतले अझै आफ्नो भूमि भन्दै दाबी गर्न छोडेको छैन । सीमाविद्हरूका अनुसार भारतले कालापानी छेउमा नक्कली कुलो बनाई त्यसैलाई कालीनदी भन्दै नेपाली भूमिलाई आफ्नो भन्दै दाबी गरिरहेको छ । विवादित यो क्षेत्रलाई नेपाली भूमिमा राख्दै विसं २०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ चुच्चे नक्सा जारी भएको थियो । नेपाली जान रोक दार्चुलाको व्यास गाउँपालिकाअन्तर्गत गर्ने उक्त क्षेत्रमा नेपालीहरूलाई जान निषेध छ । गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी आफ्नो पालिका भित्र परे पनि आफूहरूलाई त्यहाँ जान निषेध गरिएको बताउँछन् । उनी भन्छन्, ‘नेपालीले हाम्रो भूमि हो भन्न छोड्दैनन्, हामी त्यहाँका स्थानीयले त्यही भूमिमा शान्त भएर ओहोरदोहोर गर्न पाउँदैनौं, तपाईंहरूलाई काठमाडौं बसेर हाम्रो भूमि भन्न सहज छ, हामीलाई हाम्रो भूमिमै निषेध छ ।’ धामी अहिले पनि त्यहाँका शौका समूदायलाई वेशी र लेक गर्न भारतीय भूमि प्रयोग गर्नु परिरहेको बताउँदै आफ्नै घर जान पनि भारतीयले कडा चेकजाँच गरिरहेको दुखेसो पोखे । शौका समुदाय हिउँ पर्ने समयमा भारतको बाटो हुँदै सदरमुकाम खलंगा झर्छन् भने गर्मीयाम सुरु हुँदा फेरि कुम्लो बोकी गाउँ फर्किन्छन् । बेंसी झर्नु र गाउँ फर्किनु नियमित भए पनि आफ्नै भूमिबाट आवतजावत गर्न पाए सहज हुने आशामा त्यहाँका नागरिक छन् । अध्यक्ष धामीका अनुसार गुञ्जी, नाबी, कुटी लगायतका क्षेत्रमा बसोबास गर्ने नागरिक समेत आफूहरू नेपाली नभएको बताउँछन् । सबै सेवा भारतबाट पाउँदै आएका उनीहरू नेपाली भएर दुःख पाउनुभन्दा भारतीय भएर सुख पाउने सोचमा त्यहाँका नागरिक छन् । धामी यो विषयमा स्थानीय भन्दा केन्द्र सरकारका बढी जानकार भएकाले आफूहरूले यो विषयमा चासो नदेखाएको बताए । भारत र चीनले सुरु गर्न लागेको सीमा व्यापारको विषयमा सबै नेपाली एकजुट भएर आवाज उठाउनुपर्ने विज्ञहरू बताउँछन् । अहिले टुटेर भन्दा जुटेर आफ्नो सीमाको विषयमा बोल्नुपर्ने भएपनि सरकार चुप बसेको भन्दै केही विज्ञहरू आपत्ति जनाउँछन् । परराष्ट्रविद् टंक कार्की नेपालसँग सल्लाह नगरी नेपाली भूमि प्रयोग गरेर व्यापार सुरु गर्नु सोझै नेपाललाई हेपेको बताउँछन् । लिम्पियाधुरा सुगौली सन्धिदेखिको विवादित क्षेत्र भएपनि सानो देश यसले गर्न केही नसक्ने भन्दै ठूला दुई देशले नेपाललाई हेपेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो विवादित क्षेत्र हो । साना राष्ट्रको आवाज कम भएको होला । हामीले आवाजलाई एकीकृत ढंगले मुखरित पनि गर्न सकेनौं, जसले गर्दा ठूला राष्ट्रले विवाद रहँदै गर्छ, व्यापार गर्दै गरौं, आर्थिक कारोबार गर्दै गरौं भन्ने मनसायले यो निर्णय गरेको हो ।’ यस अगाडि मिलजुली सरकारले काम गर्न नसकेको अवस्थामा अब बहुमतको सरकारले यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।