विकासन्युज

एक दर्जन वाणिज्य बैंक मर्जरमा, कुन बैंक बन्ला बलियाे ?

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । मर्जरका लागि धमाधम सम्झौता गरिरहँदा बैंकहरुको संख्या पनि घटिरहेको छ । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरिसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । यता मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ । हिमालयन र सिभिल बैंक हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई गाभ्ने भएको छ । गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र बरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । प्रभु बैंक र सेञ्चुरी बैंक प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको हो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका हुन् । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।   कुमारी बैंक र एनसीसी बैंक एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको हो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।  

कुमारी र एनसीसीले राष्ट्र बैंकबाट ४ दिनमै पाए सैद्धान्तिक सहमति

काठमाडौं । कुमारी र एनसीसी बैंकले राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो । असोज ९ गते मर्जरको सम्झौता गरेका थिए । दुवै बैंकले मर्जरका लागि चार दिनमै स्वीकृति पाएका हुन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बैंकको सिईओ बन्ने बताइएको छ । कुमारीका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ । बैंकको यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बैंकहरुले मार्गदर्शन पालना नगरी कर्जा नवीकरण गरे शतप्रतिशत नोक्सानी व्यवस्था , कात्तिक १ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन पालना नगरी कर्जा प्रवाह गरेमा शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले एकीकृत निर्देशन ०७८ संशोधन गर्दै सो व्यवस्था गरेको हो । ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन ०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालु पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ, मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ,’ राष्ट्र बैंकको एकिकृत निर्देशनमा भनिएको छ । राष्ट्र बैंकले यो व्यवस्था बैंक तथा वित्तीय संस्थासँगै नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) का लागि पनि गरेको हो । बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले आफ्ना ग्राहकका लागि लगानी गर्ने परियोजना सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जा २०७९ कात्तिक १ देखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ बमोजिम प्रवाह गर्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले १ करोडभन्दा कम रकमको चालु पुँजी प्रकृतिका कर्जा प्रवाह/नवीकरण गर्नु अघि समेत अन्य इजाजतपत्रप्राप्त संस्थाबाट त्यस्तो कर्जा लिए नलिएको यकिन गरी लिएको भएमा कर्जा दिने संस्थाबाट अनिवार्य रुपले नो अब्जेक्सन लेटर लिएर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्थालाई यथावत राखेको छ भने नो अब्जेक्सन लेटर माग गरिएको संस्थाले सोसंग सम्बन्धित पत्र प्राप्त गरेको ५ कार्यदिनभित्र उपलब्ध गराउनु पर्ने व्यवस्था पनि सोही चालू पुँजी कर्जा मार्गनिर्देशनमा छ । नो अब्जेक्सन लेटर उपलब्ध नगराउने भएमा सो सम्बन्धी जानकारी पत्र माग गर्ने संस्थालाई उपरोक्त समयावधिभित्र नै उपलब्ध गराउनु पर्नेछ ।

दशैंमा काठमाडौंले खाँदैछ १ अर्ब बढीको मासु, केजीको १४ सयसम्म !

काठमाडौं । दशैंमा सबैभन्दा बढी खरिद बिक्री खसी बोका तथा च्याङ्ग्रा हुन्छन् । यो समयमा मासुको परिकार नै बढी उपभोग हुने हुन्छ । विशेष गरी फूलपातीको दिनदेखि खसी, बोका, कुखुरा, भेडा–च्यांग्रा, राँगा लगायतका जनावरहरुको बली दिन सुरु गरिन्छ । त्यसैले दशैंमा मासुको खपत अत्याधिक मात्रामा हुने गर्दछ । दशैंलाई नजै लक्षित गरेर अहिले हजारौं खसी बोका बजार खरिद बिक्री भइरहेका छन् । ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा पनि दशैंको रौनक बेग्लै छ । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका र च्याङ्ग्राको मासुको खरिद बिक्री निकै बढेको छ भने मासुको मूल्य पनि आकाशिएको छ । केही हप्ताअघिसम्म खसीको मासु प्रतिकिलो ९ सयदेखि एक हजार रुपैयाँ पर्ने खसी बोकाको मासुको मूल्य अहिले १४ सय रुपैयाँसम्म खरिद बिक्री भइरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ । त्यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् । यस्तै, चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको छ । खाद्य र चौपाया खरिद बिक्री सेवा संघले कम मूल्यमा बिक्री गरिरहेको भएपनि खुद्रा बजारमा भने त्यसको दोब्बर अर्थात १४ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । कम्पनी र संघले बिक्री गर्ने प्रतिकेजी ६ सय ८० र खुद्रा बजारमा बिक्री हुने १४ सय रुपैयाँको औसत १ हजार ४० रुपैयाँ पर्न जान्छ । पशु सेवा विभागले दशैँमा काठमाण्डू उपत्यकामा मात्रै करिब ५० हजारवटा खसीको खपत हुने अनुमान गरेको छ । विभागले एउटा खसीको औसत २० केजी भएपनि ५० हजार खसी बोकाको कुल १० लाख केजी मासु हुन्छ । यस पटकको दशैंमा काठमाडौं उपत्यकाले मात्रै १० लाख केजी मासु खाने देखिन्छ भने १० लाख केजी मासुको प्रतिकेजी औसित १ हजार ४० रुपैयाँ परे पनि कुल १ अर्ब ४ करोड रुपैयाँको मासु खरिद बिक्री हुने देखिन्छ । विभागका अनुसार नेपालमा वार्षिक एक करोड २८ लाखवटा खसी, बोका र बाख्रा तयार हुन्छन् । तीमध्ये प्रत्येक वर्ष करिब ३३ लाखवटा खसी मासुका लागि कटनीमा जान्छ । कुल ३३ लाखवटामा वार्षिक २७ लाख खसी काठमाण्डूबाहेक अन्य जिल्लामा खपत हुने सरकारी तथ्याङ्कले देखाउँछ । बाँकी छ लाखवटा खसीको राजधानीमा खपत हुन्छ । घटस्थापनाका दिनदेखि पूर्णिमासम्म दैनिक तीन लाख किलो कुखुराको मासु र दशैँमा १० हजार वटाजति च्याङ्ग्रा खपत हुने बताइएको छ ।

ऐतिहासिक सिन्धुलीगढीको २५५ औं विजय दिवसमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक

सिन्धुली । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ । समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरे । सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ कोअसोज १५ गते वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ । सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन् । इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन थालेको हो । कमलामाई नगरपालिकाकी उपप्रमुख देवकोटाले पहिले गलत मितिमा विजय दिवस मनाइँदै आए पनि अब असोज १५ मा अंग्रेजी सेनालाई परास्त गरेको इतिहास प्रमाणित भइसकेकाले सोही मितिमा विजय दिवस मनाउनु पर्ने बताइन् । उनले नगरपालिकाको बोर्डमा आफूले सही मितिमा विजय दिवस मनाउन प्रस्ताव गर्ने बताउँदै इतिहहासलाई कसैले पनि बंग्याउन नहुने उल्लेख गरिन् । कार्यक्रममा समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले अंग्रेजलाई परास्त गरेकै मितिमा मितिमा बिजय दिवस मनाउनु पर्ने बताउँदै बिजयोत्सव भने बर्षभरी मानाउन सक्ने बताए । उनले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कमलामाई नगरपालिकासँग मिलेर यसको विकासमा सहकार्य गर्न चाहेको बताए । अर्का अभियन्ता हरिकृष्ण श्रेष्ठले अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष गर्दै राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको जानकारी दिँदै कोभिड महामारीका कारण रोकिएको साइकल यात्रा आगामी फागुनमा साइकल यात्रा गर्ने योजना अभियानले बनाएको जानकारी दिए । साइकल यात्रामार्फत् ऐतिहासिक सिन्धुलीगढीको प्रवद्र्धन गर्न अभियानले व्यवसायिक यात्रा गराउन थालेको हो । अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी फोटो सिन्धुली आयोजना गरेको छ । यसैगरी सिन्धुलीका दुई वटा ऐतिहासिक गढीहरु हरिहरपुर गढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो । अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ । पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो । यस्तै काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारतडाँडैडाँडा पदमार्गको पनि अभियानले अध्ययन गरेको थियो ।

दशैंमा डुङ्गा व्यवसायीलाई भ्याइनभ्याई, मनग्य आम्दानी

कास्की । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् । कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताउनुभयो । पोखरा आएका पाहुना फेवाताल पुगेर डुङ्गा सयर गर्ने उनको भनाइ थियो । यसरी फेवातालमा डुङ्गा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए । ‘कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौधौ थियो’, उनले भने, ‘कोरोना घटेपछि पाहुना आएर डुङ्गा चढ्नुहुन्छ अलिअलि भए पनि कमाइएको छ ।’ पहिले दैनिक एक हजार पाँच सयसम्म आम्दानी गर्नुहुने गुरुङले अहिले दैनिक आठ सयसम्म कमाउँछन्। पोखरा आएपछि फेवातालमा डुङ्गा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आउनुभएका समिर मानन्धरले बताए । गएको दुई वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताउनुहुने उनी दसैँ बिदाको मेसोमा पोखरा आएका हुन्। पोखरा आएलगत्तै सिधै फेवाताल पुगेर डुङ्गा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उनले सुनाए । चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेको फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। पोखरा आएका पर्यटक फेवातालमा डुङ्गा चढ्न हुरुक्कै गर्ने कारण डुङ्गा चालक व्यस्त हुन थालेको उनको भनाइ छ । फेवातालका आठवटा घाटबाट डुङ्गा सञ्चालन हुने गर्छ । अहिले ती सबै घाटका डुङ्गा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिए । बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय २६ वटा डुङ्गा छन् । ती डुङ्गा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । त्यसमा पनि युवाहरूको सङ्ख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिए। पर्यटकले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुङ्गा व्यावसायी सङ्गठनले अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए। ‘बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको ६० भाडा हो तर, यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो’, कुँवरले भने, ‘यसका लागि हामी अनुगमनमा निस्कन्छौँ, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौँ ।’ दसैँको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको आगमन बढेकाले डुङ्गा व्यवसायी र चालक खुसी भएको कुँवरले बताए । पोखरा आएका आन्तरिक तथा केही बाह्य पर्यटकले डुङ्गा चढ्ने गरेको उनले जानकारी दिए। सोही कारण फेवातालका डुङ्गा व्यवसायी तथा चालकले आम्दानी बढ्ने आशा गरेका छन् ।

राउटे बस्तीमा दसैँको चटारो

दैलेख । दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाए। ‘दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला ।’ बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ । फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरी एक सय ४३ जना छन् । बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए । उनले राउटे जहाँ बस्ती सरे पनि भत्ता दिँदै आएको गुराँस गाउँपालिकालाई असोज महिनाको भत्ता वितरण छिटो गर्न भनीदिनुहोस् भनेर सताउने गरेको बताए। गुराँस गाउँपालिका–८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ । सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक चार हजार प्रदान गर्दै आएको छ । दसैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय बेस्तडा बजार हँुदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ । राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ । महामुखिया शाही छन् भने मुखिया दुई जना सूर्यनारायण र वीरबहादुर शाही छन् । उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दसैँलाई ‘असोजे दसैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन् । दसैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दसैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । देवी–देवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ । यिनीहरु अझक दैलेखमा बस्न धेरै रुचाउँछन् ।

‘मनीचेन्जर’को नयाँ इजाजत बन्द, अब नयाँ मनी चेन्जर खोल्न नपाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनीचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गने सम्बन्धी कार्य बन्द गरिएको जनाएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो ।