कहिले खुल्छ सेयर बजार ?
काठमाडौं । दशैं लागेसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द छ । नेपाल सरकारले नेपालीहरुको ठूलो चाड विजया दशमीको अवसरमा गत असोज १६ गतेदेखि नै सरकारी बिदा दिएको थियो । सरकारले सो दिन अर्थात फूलपातीको दिनदेखि असोज २१ गतेसम्म बिदा दिएको छ । सरकारी बिदा भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि पूर्ण रुपमा बन्द भएको छ । तर, उक्त बिदा भने असोज २१ गते अर्थात शुक्रबारदेखि सकिँदै छ । असोज २२ गते शनिबार । सेयर कारोबार खुल्दैन । यससँगै अब असार २३ गते अर्थात आइतबारदेखि मात्रै सेयर बजार खुल्ने छ । सो दिन भने दशैंको अन्तिम दिन अर्थात कोजाग्रात पूर्णिमा रहेको छ । नेप्सेको दशैं क्यालेन्डर अनुसार सेयर बजार लगातार रुपमा बन्द भएको ९ दिन पुरा भएको छ । यससँगै गत असोज १४ गतेदेखि नै पूर्ण रुपमा बन्द रहेको सेयर बजार आगामी असोज २३ गते आइतबारदेखि खुल्ने छ ।
हङकङले ५ लाख हवाई टिकट नि:शुल्क बाँड्ने
काठमाडौं । विश्वको लोकप्रिय गन्तव्यको रुपमा चिनिने हङकङले दुई वर्षभन्दा लामो महामारीपछि पर्यटक भित्र्याउन नयाँ कदम चालेको छ । कोभिड महामारी अघि एक वर्षमा करिब ५ करोड ६ लाख मानिसले भ्रमण गरेको हङकङले पर्यटन प्रवर्द्धन गर्नका लागि ५ लाख टिकट नि:शुल्क बाँड्ने भएको छ । ३३ अर्ब बढीको उक्त टिकट हङकङले विदेशी पर्यटक र हङकङका वासिन्दालाई बाँडने बताइएको छ । हङकङले दुई वर्षअघि नै उड्डयन उद्योगलाई समर्थन गर्न राहत प्याकेजको एक भागको रूपमा हङकङका वायुसेवा कम्पनीहरुसँग ५ लाख टिकट खरिद गरिसकेको यएरपोर्ट अथोरिटी हङकङका प्रवक्ताले पुष्टि गरिसकेको सिएनएनमा उल्लेख छ । यस विषयमा एयरलाइन्ससँग सबै व्यवस्था गरिसकेपछि थप विवरणहरू घोषणा गरिने यएरपोर्ट अथोरिटी हङकङले जनाएको छ । यसअघि हङकङले पहिलो चरणमा आफ्नै खर्चमा होटलमा २१ दिन क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम लगाएको थियो जुन पछि गएर ७ दिन पुर्याइएको थियो । तर गत सोमबारदेखि यसलाई अझै घटाएर ३ दिनमा पर्याइएको छ ।
डीभी खुल्यो, पासपोर्ट नचाहिने, आफैले यसरी भर्नुहोस्
काठमाडौं । आज (शुक्रबार) देखि अमेरिकाका लागि डाइभर्सिटी भिसा (डीभी) भर्न पाइने भएको छ । अमेरिकाले सन् २०२४ का लागि आवेदन खुला गरेसँगै डीभी भर्न पाइने भएको हो । अब कात्तिक २२ गतेसम्म् डीभी भर्न सकिने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । गत वर्ष डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरे पनि यो वर्ष भने अनिवार्य गरिएको छैन । जोसुकैले पनि निःशुल्क रुपमा डीभी पर्न सक्नेछन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नु पर्ने, विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नु पर्ने, स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क तिर्नु नपर्ने भएको छ । आवेदन दिनको लागि तपाईं https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ। सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ। डिभीका लागि छनोटमा परे/नपरेको थाहा पाउन कुनै फोन र इमेल नआउने भन्ने हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ।
जुत्ताचप्पल चोरी पैठारी गरेर ‘स्वदेशी ट्याग’ लगाउँदा नेपालका स्थापित ब्राण्ड धरासायी बने
देशको बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सरकारले बजेटमार्फत विभिन्न कार्यक्रमसहित प्रयत्न गरे पनि सफलता हात लागेको छैन । हरेक वर्ष आन्तरिक उद्योग प्रवद्र्धन गर्न बजेटमा उच्च प्राथमिकता दिइएपनि त्यो सार्थक हुन सकिरहेको छैन । निजी क्षेत्रले आन्तरिक खपत र निर्यातका लागि प्राथमिकता तोकेरै उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्छ भन्दै आएका छन्, तर त्यसले पनि मूर्त रुप लिन सकेको छैन । सरकार र निजी क्षेत्र दुवैले नेपालको व्यापार घाटा कम गर्न तथा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका निम्ति पहिचान गरेका क्षेत्रगत उद्योगहरु छन् । त्यसमध्ये अग्रपंक्तिमा जुत्ता-चप्पल उद्योग पर्दछ । नेपालमा औपचारिक-अनौपचारिक, कार्यस्थल, स्कुल, कलेज, बगैंचा, शौचालय, भान्छा, भोजभतेर, घुमफिरका लागि अलग-अलग जुत्ता-चप्पल लगाउने चलन छ । यसरी हेर्दा मुलुकभर वार्षिक करिब १५ करोड जोर जुत्ता-चप्पलको माग रहेको देखिन्छ । अहिले नेपालमा प्रतिव्यक्ति वार्षिक ३.५ जोर जुत्ता-चप्पल खपत भइरहेको छ । वार्षिक दस करोड जुत्ता-चप्पल स्वदेशमै उत्पादन हुन्छ । मुलुकभर एक हजार पाँच सयवटा जुत्ता-चप्पल उद्योग छन् । यी उद्योगमा सामान्यदेखि स्तरीय जुत्ता उत्पादन गर्नेहरू पनि पर्दछन् अर्थात् सडकको घुम्तीमा बसेर जुत्ता सिलाउनेदेखि निर्यात गर्नेसम्म यसमा पर्दछन् । सडकमै चल्ने साना उद्योगहरु एक हजार दुईसय वटा छन् । दैनिक सयदेखि एक हजार जोर जुत्ता उत्पादन गर्ने उद्योगको संख्या दुई सय ४० छ । पाँच हजारदेखि ७० हजार जोरसम्म दैनिक उत्पादन गर्ने उद्योग ६० वटा छ । यसरी जुत्ता-चप्पल उद्योग मुलुकभर छरिएका छन् । यी सबै उद्योगले वार्षिक कम्तीमा १६ करोड जोर जुत्ता-चप्पल उत्पादन गर्न सक्ने क्षमता राख्छन् । तर क्षमताअनुसार कुनै पनि उद्योग सञ्चलानमा छैनन् । पछिल्लो समय विगतको जस्तो जुत्ता-चप्पल उत्पादन नै छैन । अघिल्लो वर्षको अवस्था हेर्दा वर्षभरिमा ६ करोड जोर जुत्ता उत्पादन भएको छ । त्यो भनेको क्षमताको जम्मा ३५ प्रतिशत हो । स्वदेशी उद्योगले क्षमताअनुसार काम नगर्नु भनेको बजारमा विदेशी ब्रान्डका जुत्ता-चप्पल हाबी हुनु हो । खुला सिमानाका कारण भारतबाट जुत्ता-चप्पल चोरीपैठारी भइरहेको छ । भारतबाट साइकल, रिक्सालगायतका साधनमा बोराका बोरा जुत्ता-चप्पल भित्रिरहेको अवस्था छ । उनीहरूले न भन्सार महसुल तिर्छन् न त कर ! त्यही जुत्ता-चप्पल नेपाली बजारमा ल्याएर सस्तोमा बेच्छन् । अनि त्यही सामानसँग स्वदेशमा चलिरहेका स्थापित ब्रान्डले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । पछिल्लो समय सरकारी निकायमा दर्ता भएका उद्योगहरू नामका मात्र छन् । तिनले उद्योग दर्ता त गरेका छन्, तर भारतबाट सोल र अपर ल्याउने गरेका छन् । एउटा कोठामा पाँच/सात जना कामदार राखेर त्यही सोल र अपरलाई गम टाँसेर ‘मेड इन नेपाल’ भन्दै बेच्दै आएका छन् । तिनैका कारण आज नाम चलेका केहीबाहेक अन्य जुत्ता उद्योग धराशायी बन्न पुगेका छन् । कच्चा पदार्थ स्वदेशमै उत्पादन गरेर जुत्ता-चप्पल तयार गर्ने उद्योग औंलामा गन्न सकिने अवस्था छ । चोरीपैठारीले सकस गत आर्थिक वर्ष जुत्ता-चप्पल आयात ह्वात्तै घट्यो । विगतमा साढे ४ करोड जोर जुत्ता-चप्पल आयात हुन्थ्यो भने त्यो संख्या पौने तीन करोडमा ओर्लियो । उता आयात घट्यो यता उद्योगीहरुले उत्पादन बढाउन सकेनन् । कारण, जुत्ता-चप्पलको चोरीपैठारी बढ्यो । अवैध रूपमा भित्रिएका जुत्ता-चप्पलले बजारमा ठूलो हिस्सा ओगट्दा स्थापित ब्रान्ड नै धराशायी बन्दै गएका छन् । सरकारले आयात रोक्दा पनि अहिले ठूलो मात्रामा स्वदेशी उद्योगीले नै भन्सार छलेर जुत्ता-चप्पल ल्याइरहेका छन् । यस्ता जुत्ता–चप्पलको बजार हिस्सा ठूलो छ । यसले एकातिर राज्यको राजस्व गुमेको छ भने अर्कातिर ठूला उद्योगहरुले आफ्नो प्रतिस्पर्धी क्षमता गुमाउँदै गएका छन् । दैनिक एक लाख जोर जुत्ता-चप्पल उत्पादन गर्ने गोल्ड स्टार नै लोप हुने अवस्थामा पुग्न लागेको छ । कुनै समय गोल्ड स्टारले १७ वटा फ्याक्ट्री २४ सै घन्टा चलाउँथ्यो । पाँच हजार मानिसलाई रोजगारी दिएको थियो । तर अहिले तीनवटा फ्याक्ट्री सञ्चालनमा छ । तीन हजारबाट कर्मचारी संख्या घटेर डेढ हजारमा आइपुगेको छ । यसरी हेर्दा दुई हजार मूल्यसम्मको जुत्तामा नेपाल आत्मनिर्भर छ । तर पनि आयात भइरहेको अवस्था छ । देशमा नीति बलियो बनाइएको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले चुस्त ढंगमा अनुगमन बढाउनु जरूरी छ । अनुगमनमा क्रममा जुत्ता-चप्पल अवैध ल्याएको फेला परेमा कडा कारबाही गर्नुपर्छ । केही समय यसलाई निरन्तरता दिन सकेमा पक्कै पनि चोरीपैठारी रोक्न सकिन्छ । त्यसपछि स्वदेशी उत्पादनले नै बजार पाउँछ । उद्योगहरूले क्षमताअनुसार उत्पादन बढाउन थाल्छन् । यसबाट उद्योगलाई मात्र होइन, सरकारलाई पनि लाभ हुन्छ । जनशक्ति उत्पादनमा सरकारसँग हातेमालो हालसम्म नेपाली जुत्ता-चप्पल उद्योगमा ३० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । ५५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यो चानचुने कुरा होइन । पछिल्लो समय स्वदेशमै रोजागरीको अवसर बढेको छ । विशेषगरी कम पढेका र महिलाका लागि यस्तो उद्योग जीविकोपार्जनको माध्यम बनेको छ । त्यतिमात्र होइन, पढेलेखेका युवाको जमातले पनि स्टार्टअपमा चासो दिन थालेका छन् । अध्ययनपछि पाइने प्रमाणपत्र थन्काएर विदेशी भूमितिर पलायन हुनबाट जोगाउन जुत्ता उद्योगको ठूलो भूमिका छ । काम पनि सिक्छु र आफैं उद्योग खोल्छु भन्नेहरुका लागि जुत्ता-चप्पल उद्योग एउटा अवसर बनेको छ । अहिले नेपालको जुत्ता-चप्पल उद्योगमा ६० प्रतिशत भारतीय कामदार छन् । यी उद्योगमा स्वदेशी युवालाई परिचालन गर्नु आवश्यक छ, तर यसका लागि सीपमूलक तालिमको जरुरी पर्छ । हामीकहाँ दक्ष जनशक्तिको अभाव छ । तालिम दिनका लागि प्रशिक्षण केन्द्र खोलेर अघि बढ्न सकेमा आगामी दिनमा जुत्ता–चप्पल उद्योगमा युवाको चासो र सहभागिता निश्चय नै बढ्नेछ । यसका निम्ति सरकारले जुत्ता उद्योगसँग हातेमालो गर्नु आवश्यक छ । गोल्ड स्टार कम्पनीमा ९९ प्रतिशत कामदार नेपाली छन्, ६० प्रतिशत त महिला छन् । उद्योगमा काम गर्न आउने व्यक्तिलाई गोल्ड स्टारले तीन महिनासम्म तलबसहितको तालिम दिन्छ । तर विडम्बना के छ भने, हाम्रा उद्योग काम सिकाउने थलो मात्र बनिरहेको छ । सीप बोकेर कतिपय युवा खाडी मुलुक जान्छन् । यस्तो समस्याको दीर्घकालीन समाधान गर्न सरकारको सहयोग जरूरी छ । समस्या नै समस्या सरकारले हरेक वर्ष नारा बनाउँछ, ‘स्वदेशी वस्तु उत्पादन गरौं, समृद्धितर्फ अघि बढौं ।’ तर उद्योगलाई प्रवद्र्धन गर्नेतर्फ ध्यान गएको छैन । प्रवद्र्धन भन्नासाथ धेरै कुरा जोडिन्छ । पहिलो त, उद्योगको निर्यात क्षमता बुझ्न जरूरी छ । दक्ष जनशक्ति कसरी व्यवस्थापन गर्ने, मूल्य नियन्त्रणको संयन्त्र कसरी बनाउने, चोरीपैठारी कसरी रोक्ने, उद्योगीका निम्ति वित्तीय पहुँच सहज कसरी पार्ने भन्नेजस्ता कुराहरुमा ध्यान दिनुपर्छ । हामीले उल्लिखित समस्याहरू सरकारसमक्ष राखेका छौं । प्रतिक्रिया पनि सकरात्मक नै आएको छ । अहिले देखिएको थुप्रै समस्यामध्ये चोरीपैठारी मुख्य हो । यसले गर्दा स्वदेशी उद्योगहरूले क्षमता बढाउन सकेका छैनन् । बजारमा नक्कली ब्रान्डका जुत्ता छ्याछ्याप्ती हुँदा उद्योगीहरू मारमा परेका छन् । भन्सारमा कडाइ नहुनाले यस्ता गतिविधि बढिरहेका हुन् । सरकारले नीतिगत कुरामा व्यवसायीलाई साथ दिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा व्यवसायीहरु सधैं निराश हुनुपरेको अवस्था छ । साना-ठूला उद्योगी-व्यवसायी लगानी गर्न चाहन्छन्, तर त्यसका लागि उपयुक्त वातावरण छैन । किनभने आज सानो लगानीमा खुलेको जुत्ता-चप्पल उद्योगले भोलि कोसँग प्रतिस्पर्धा गर्ने ? स्वदेशी उत्पादनमा प्रतिस्पर्धा छैन । परम्परागत सीपलाई उद्योगको रूप दिएर आफ्नो उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्न निकै कठिन छ । भूकम्प, नाकाबन्दी, भारतमा गरिएको नोटबन्दी तथा जीएसटी प्रावधानले नेपाली जुत्ता उद्योगलाई ठूलो हानि भएको छ । मुख्यगरी नेपाली ब्रान्डको प्रतिस्पर्धा भनेकै भारतीय जुत्ता-चप्पलसँग हो । भारतजस्तो प्रतिस्पर्धात्मक बजारमा नेपाली जुत्ता जान सक्ने अवस्था भएन र त्यसको फाइदा उनीहरुले उठाए । विडम्बना त के छ भने, अहिले भारतका केही ठाउँमा हाम्रै ब्रान्डको नक्कली जुत्ता उत्पादन भइरहेको छ । खासगरी देशमा लगानीयोग्य वातावरण नहुनाले चौतर्फी घाटा भइरहेको छ । जमिन किनेर उद्योग सञ्चालन गर्नुपर्दा धेरै महँगो हुन्छ । बैंकले सहुलियतमा ऋण दिँदैन । चर्को ब्याजमा ऋण लिएर जोखिम लिन गाह्रै हुन्छ । जुत्ता उद्योगमा विदेशी लगानी भित्रिएको छैन । जति धेरै लगानी थपियो त्यति नै बजार प्रतिस्पर्धात्मक बन्छ । यो तथ्य सरकारले बुझ्नुपर्छ । निर्यातको सम्भावना उच्च पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढेको छ । कुनै समय राम्रै मात्रामा जुत्ता–चप्पल निर्यात गर्ने नेपालले पछिल्लो केही वर्षयता सोचेजस्तो निर्यात गर्न सकेको छैन । विगतमा वार्षिक तीन करोड जोर जुत्ता निर्यात हुन्थ्यो, अहिले त्यो संख्या ७० लाखमा अड्किएको छ । कच्चा पदार्थ अभाव, बैंकको महँगो ब्याजदर, जग्गाको मूल्य अधिकलगायतका कारण हाम्रो ‘कस्ट अफ प्रडक्सन’ बढेको छ । यसकारण निर्यातको व्यापक सम्भावना हुँदाहुँदै पनि बढ्न सकेको छैन । हाल नेपाली जुत्ता-चप्पल अस्ट्रेलिया, अमेरिका हुँदै विभिन्न १८ मुलुकमा निर्यात हुन्छ । जुत्ता बनाउन चाहिने प्रमुख कुरो सोल हो । सामान्यतः सोल पोलियुरिथ्रिन (पीयू), थर्मा पोलिरबर (टीपीआर), पोलिभिनाइल क्लोराइड (पीभीसी), रबर लगायतबाट बन्छ । रबर र पीभीसी सोल उत्पादन गर्ने धेरै उद्योग नेपालमै छन् । जुत्ता टाँस्ने रसायन विदेशबाट झिकाइन्छ । जुत्ता उत्पादन गर्न फेभिकोल, डेन्ड्राइट, बोस्टिकजस्ता रसायनको प्रयोग हुन्छ । यसबाहेक जुत्ता मोटो र नरम बनाउन प्रयोग गरिने फोम, सोल भाँचिन नदिन प्रयोग गरिने फलामे पाता, धागो, इलास्टिक, जालीलगायतमा अहिले पनि मुलुक विदेशमै निर्भर छ । गोल्ड स्टारले जुत्ताको दानादेखि लिएर सोल, नेपाली धागोबाट बन्ने अपर, लेस सबै यही बनाउँछ । जुन कुरा नेपालमा पाइँदैन त्यो मात्र आयात गर्छ । भन्सारमा तयारी जुत्ता र कच्चा पदार्थमा लाग्ने राजस्व उस्तै भएकाले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न मुस्किल छ । अहिले जुत्ता उत्पादनका लागि प्रयोग हुने कपडालगायत सम्पूर्ण कच्चा पदार्थ उद्योगको नाममा आयात गर्दा भन्सार महसुल १५ प्रतिशत छ । यसलाई घटाएर दुई प्रतिशत बनाउनुपर्छ । सबै कच्चा पदार्थ स्वदेशी नै प्रयोग गरेर सञ्चालनमा रहेको उद्योग अथवा अर्धतयारी कच्चा पदार्थ प्रयोग गरेर सञ्चालनमा रहेका उद्योगलाई फरक महसुल दर लगाउनुपर्छ । चीन र भारतबाट अपर र सोल ल्याइरहेको छ भने त्यहीँका स्थानीयले रोजगारी पाउँछन्, नेपालीले पाउँदैनन् । यसमा सरकार सचेत हुनुपर्छ । तयारी वस्तु, अर्धतयारी कच्चा पदार्थलगायतका सामग्री विशेषगरी भारत, सिंगापुर, मलेसिया, ताइवानबाट आयात हुन्छ । सरकारले के गर्नुपर्छ ? सरकारले बजेटमार्फत उद्योग र व्यापारका लागि छुट्टाछुट्टै ब्याजदर लागु गर्ने भनेको छ । नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत यसलाई कार्यान्वयमा ल्याउने जनाइसकेको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । चालू आर्थिक वर्षबाट यो नीति कार्यान्वयन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । सरकारको पहिलो जिम्मेवारी चोरीपैठारी रोक्नु नै हो । यसलाई नियन्त्रण गर्न नेपाल-भारत सीमा नाकाहरूमा कडा निगरानी गर्नुपर्छ । एलसी खोलेर मात्रै जुत्ता-चप्पल आयात गर्न अनिवार्य व्यवस्था हुनुपर्छ । नेपालका लागि जुत्ता-चप्पल आयात गर्दा ‘मेड फर नेपाल’ लेखिएको मात्र ल्याउने व्यवस्था गरेमा बजारमा नक्कली सामान कम हुँदै जानेछ । उद्योगले कच्चा पदार्थ आयात गर्दा लिइने भन्सार महसुल १५ प्रतिशतबाट घटाएर दुई प्रतिशत बनाउनुपर्छ । यसबाट उद्योगीलाई राहत मिल्नेछ । साथै, मेसिनरी तथा पार्टपुर्जा आयात गर्दा भन्सार महसुल पाँच प्रतिशत छ । यसलाई एक प्रतिशत बनाउनुपर्छ । जुत्ताको पूर्ण तयारी अप्पर प्रतिजोरको दुई सय ५० र सोल प्रतिजोर एक सय ५० रुपैयाँ भन्सार बनाउनुपर्छ । जुत्ता-चप्पल उद्योगलाई प्रोत्साहन दिन सहुलियतपूर्ण कर्जा आवश्यक छ । ठूलो संख्यामा जुत्ता उत्पादन र निर्यात गरिरहेका उद्योगलाई निश्चित अवधिका लागि विशेष अनुदानको व्यवस्था गरेमा थप प्रोत्साहन मिल्नेछ । अहिलेकै कुरा गर्दा, अमेरिकामा जुत्ता निर्यात गर्दा ३७.५ प्रतिशत भन्सार महसुल लाग्छ । शून्य महसुल दरमा निर्यात हुने व्यवस्था मिलाउन सके निर्यात अझ फस्टाउने छ । व्यापार र आयात गर्दा छुट्टै हार्मोनिक कोड (एचएस कोड) प्रयोग गर्नुपर्छ । व्यापार र उद्योग गर्नेलाई छुट्टाछुट्टै ब्याजमा ऋण दिँदा उद्योग फस्टाउँदै जान्छ । उद्योग पनि धेरैथरिका छन् । त्यसभित्र पनि जुत्ता-चप्पललाई छुट्टै राख्न सकेमा अझ राम्रो हुन्छ । त्यसपछि हामी हाम्रा उद्योगहरुलाई ऋण लिएर उत्पादन क्षमता बढाउन प्रोत्साहन गर्छौं ।सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेमा जुत्ताको मूल्य घटाउन सकिन्छ । अन्य मुलुकमा निर्यातमूलक कम्पनीलाई सरकारले थुप्रै सुविधा दिन्छ । विदेशी मुद्रा भित्राउने कम्पनीलाई प्रोत्साहन गर्छ । सस्तो ब्याजमा ऋण, सस्तोमा जग्गा दिन्छ । निर्यातको नगद आम्दानी ८ प्रतिशत भए पनि समयमा पाइँदैन । सामान भन्सारबाट बाहिर गएपछि बैंक खातामा तुरून्त पैसा आउने व्यवस्था गर्नुपर्छ । सरकारले अघिसारेका कतिपय नीतिमा उद्योगी सन्तुष्ट छन् । सरकारले यसलाई कार्यान्यवन गर्न सके अरू केही गर्न पर्दैन । अन्त्यमा, स्वदेशी जुत्ता उद्योगलाई बलियो बनाउन केही गर्नुपर्दैन, चोरीपैठारी रोकिदिए पुग्छ । त्यसका लागि सीमा नाकामा कडाइका साथ अनुगमन गर्नुपर्छ । यसरी चोरीपैठारीलाई १० प्रतिशतजति मात्रै रोक्न सके पनि स्वदेशी जुत्ता चप्पल फस्टाउँछन् । २० प्रतिशत रोक्ने हो भने अरू १० वटा जुत्ता उद्योग थपिन्छन् । ३० प्रतिशत रोक्दा निर्यात सुरू हुन्छ । ४० प्रतिशत रोक्दा विदेशी लगानी भित्रन थाल्छ । त्यसपछि जुत्ता उद्योग आफ्नै गतिमा दौडिहाल्छ । (नाफिजको अर्थचित्रबाट-विदुषी राणा गोल्ड स्टारकी निर्देशक हुन्)
बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो । संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो । यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै १० लाख रुपैयाँको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो । उक्त समस्या समाधान हुने बित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो । इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरुद्ध भएको हो । पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए । रासस
गर्भवती तथा सुत्केरी खानपानबारे सचेत बन्दै
टीकापुर । कैलालीको टीकापुर–१ की बन्दना जैसीको नौ महिनाको शिशु छ । बन्दनाको घरमा सुत्केरीका लागि विशेष खाना पाक्छ । घरका सदस्यले जस्तै खानपानले आमालाई पुग्दैन भन्दै उनका लागि थप खाना र पोषिलो खानाको जोहो गरिन्छ । ‘म परिवारका सदस्यभन्दा थप एक समय खाना खान्छु । खानामा अनिवार्य दूध, दही, अण्डा वा माछामासु खान्छु’, बन्दनाले भने, ‘यसका साथै फलफूल र हरियो सागपातमा समेत ध्यान दिन्छु । जसले मेरो शिशु पनि स्वस्थ छ ।’ महिलाका लागि गर्भावस्था र सुत्केरी अवस्था संवेदनशील अवस्था हो । यो समयमा महिलाले अन्य व्यक्तिभन्दा बढी खानेकुरा खान आवश्यक हुन्छ । आमाले खानपानमा ध्यान नदिएमा आमा र शिशुको स्वास्थ्यमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पर्न सक्छ । शिशु र आमालाई आवश्यक पौष्टिक आहार नपुग्न सक्छ त्यसतर्फ परिवारका सदस्य सचेत हुन आवश्यक छ । टीकापुरकी गौरी चौधरी घरमा जे पाक्यो त्यही खान्छिन् । उनको घरमा सुत्केरी भएकाले कहिलेकाहीँ माछामासु, हरियो सागपातसमेत पाक्छ । ‘अन्य सदस्यका लागि जे पाक्छ त्यही खान्छु, कहिलेकाहीँ माछामासु भने खान्छु,’ उनले भनिन्, ‘मेरो खानपानमा म आफैँ सचेत छु ।’ टीकापुर–२ की ललिता चौधरी पनि सुत्केरी छिन् । उनी पनि घरका सदस्यले पकाएको खानेकुरा खान्छिन् । त्योसँगै थप खानाका रुपमा माछा, मासु, अण्डा, हरियो सागपातसमेत खाने गरछिन् । ‘हरियो ताजा तरकारी धेरै खान्छु, माछा मासु पनि खाइरहन्छु’, उनले भनिन्, ‘मेरो र शिशुको स्वास्थ्यबारे घरका सदस्यसमेत सचेत छन् । मलाई आवश्यक पोषणयुक्त खानाको जोहो गरिदिन्छन् ।’ मनिता चौधरी पनि सुत्केरी भएकाले घरमा सबैले समान खानेकुरा खाने गरे पनि उनले भने माछामासु, अण्डालगायत खानेकुरा अनिवार्य खान्छिन् । मनितालाई शिशु र आफ्नो स्वास्थ्यका लागि थप खानेकुरा र पोषिलो खानेकुरा खानुपर्छ भन्ने राम्रो ज्ञान छ । ‘स्वास्थ्यकर्मीले हामीले खाने तरिका र शिशुलाई खुवाउने तरिका सिकाएकी छिन्’, उनले भनिन्, ‘स्वास्थ्यका मापदण्डअनुसार खानपान गर्न नसके पनि पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने बुझेका छौँ ।’ प्रतिमा चौधरीको परिवारमा भने शाकाहारी खाना चल्छ । उनी माछामासु नखाने भएकाले दूध, दही, सागपातमा बढी जोड दिन्छिन् । ‘म आफैँ पनि शाकाहारी हो । त्यसैले दूध तथा दुग्धपदार्थ बढी खान्छु, यसका साथै सागपात तथा फलफूल बढी खान्छु’, उनले भनिन्, ‘पहिले तीनपटक खाना खान्थे, आजभोलि पाँच पटकसम्म खाने गरेकी छु ।’ दुई महिनाकी सुत्केरी प्रतिमाको खानपानमा परिवारका सदस्य निकै सचेत छन् । प्रतिमालाई घरमा सबैका लागि पाकेको खानासँगै थप माछा, मासु, अण्डा र दूधको पनि जोहो हुन्छ । ‘शिशुलाई दूध पुग्दैन भनेर परिवारका सदस्य सचेत छन्’, उनले भनिन्, ‘मलाई खानेकुराको केही कमी छैन ।’ जानकी गाउँपालिका–१ की पूजा न्यौपाने ६ महिनाकी गर्भवती छिन् । उनको स्याहारमा पूरै परिवार लागेको छ । ‘म गर्भवती भएको थाहा पाएदेखि परिवारले विशेष ध्यान दिएका छन् । मलाई थप खाना खान लगाउने, पर्याप्त आराम र पोषिलो खानाको जोहो गरिदिन्छन्’, पूजाले भनिन्, ‘श्रीमान्ले किनेर ल्याउने, सासूआमाले मलाई मनपर्ने परिकार बनाएर खुवाउने गरछिन् । मलाई त माइतीमा बसिरहेको जस्तो महसुस हुन्छ ।’ समय पहिलेभन्दा धेरै फेरिएको छ । आजभोलि गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ । गर्भवती र सुत्केरीलाई सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थ खानपिनको जरुरी पर्ने भएकाले परिवाका सदस्यहरु सचेत बन्दै गएका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउँछन् । ‘हामीले आमा समूहका बैठक, गर्भजाँचमा आउने महिलालाई परिवारका सदस्य साथमा लिएर आउन भन्छौँ’, उनले भनिन्, ‘परिवारका सदस्यलाई गर्भवती, सुत्केरीको स्याहारबारे जानकारी दिन्छौँ, धेरै परिवार सचेत भएका छन्, बिस्तारै परिवार सचेत र जिम्मेवार बन्दैछन् ।’ गर्भ रहेदेखि शिशु जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ । यो अवधिमा शिशुको ८० प्रतिशत दिमागको विकास हुने भएकाले परिवारका सबै सदस्य जिम्मेवार बन्न आवश्यक रहेको खरेलको सुझाव छ । रासस
लोप हुँदै मखान खेती
जलेश्वर । तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ । कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही दिनदेखि मखान खेती गर्न छोडिएको छ । बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौैँ पोखरीमा माछापालन गर्न थालेपछि जिल्लाबाट मखान खेती लोप हुन थालेको जानकारहरु बताउँछन् । जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मनुष्य मात्रको मृत्यु र श्राद्ध कर्म समेतमा मिथिलामा मखानको नानाविधि प्रयोग हुँदै आएको छ । मखान जहाँ व्यवसायीहरुका लागि राम्रो आयआर्जन गर्ने माध्यम बनेको छ त्यही मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि रहेको सांस्कृतिविद् बताउँछन् । निकै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातीत हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसकारण जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखिया जानकारी दिए । केही वर्षअघि सम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए । तर किसानहरु बढ्दो आम्दानीका लागि पोखरीहरुमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरुको पेसा सङ्कटमा परेको मलाह जातिकै अर्का नेता तथा अगुवा विजय मुखियाले बताए । विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा सुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जातिहरु मखान खेतीतर्फ दिन प्रतिदिन आकर्षित भएका थिए । तर अहिले यस पेसाप्रति किसानहरु उदासीन देखिएका छन् । मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिन रुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भुटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलापहरु देखिन छोडिएको छ । मखान खेती जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, सिमरदही, धिरापुर, आवर, रामगोपालपुर, हरिहरपुर हरिनमरीलगायत दर्जनौँ गाउँमा करिब दुई सय ५० भन्दा बढी पोखरीमा गरिन्थ्यो भने अहिले कहीँ कहीँ धेरथोर रुपमा मात्रै हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए । सम्पूर्ण मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजाराँै किलो मखानको बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व र प्रयोग रहेकाले यस समयमा मखान अत्यधिक रुपमा बिक्री हुने गर्दछ । महोत्तरीमा पछिल्लो दिनमा मखान खेतीमा कमी आएपछि आउँदा दिनमा यस क्षेत्रमा मखानको अभाव हुने र यसबाट जिल्लाावासीमा नराम्रो असर पर्ने सर्वसाधारणको बुझाइ रहेको छ । यसैबीच संस्कृतिप्रेमीहरुले मखान खेतीको जगेर्ना गर्नुपर्ने, संरक्षण र संवद्र्धन गर्नुपर्ने तथा यस खेती गर्न चाहने पेसाकर्मीलाई सरकारी अनुदानको समेत व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । रासस
‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’
रेसुङ्गा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन् । उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरेर घाँस खेती गरेका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउँछन् । उनले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउँछन् । उनले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख रुपैयाँभन्दा बढी पु¥याउनु भएको छ । उनले गत जेठदेखि भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गरेका हुन् । उनीसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गरे । उनीसँग अहिले ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन् । उनले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन् । सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिएका छन् । बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गरेका छन् । उनले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताए । नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राखेका छन् । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गरेका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउँछन् । रोजगारी सिर्जना गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०/१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् । यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्छन् । ‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ’, गोकर्णले भने । उनले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गरे । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन् । गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउँछन् । पशुपालन धेरै ठाउँमा गरिरहेको देखेका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देखे । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उनको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले बताए । अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उनको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउँछन् । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनु भएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहे । उनी हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउनुहुन्छ । मोटरसाइकल बेचेर लगानी गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्थे । केही गर्ने हुटहुटीले उनले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरे । उनले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोपे । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भए । उनले यसलाई सफलताको रूपमा लिएका छन् । वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताए । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उनले बताए । ‘मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ’, गोकर्णले भने । घाँस खेती गरेर अन्य पालिकामा निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उनको भनाइ छ । पागलको उपनाम पाएँ ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । ‘सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन’, गोकर्णले भने । कर्मबाट प्रतिक्रिया दिने अठोट बोकेका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउँछन् । ‘सुरुआती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ’, उनले भने । गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताए । ‘वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्’, उनले भने, ‘दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ ।’ छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उनको भनाइ छ । परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्णले बताउँछन् । हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उनी अरूलाई सुझाउँछन् । सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उनको जोड छ । ‘सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ’, उनले भने, ‘आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।’ श्रम गर्न हिच्किचाअट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उनले बताए । खेस्रामा पनि अब्बल गोकर्ण गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा स्केच तयार पार्नेका रुपमा आफूलाई परिचित समेत गराएका छन् । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताए । उनले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टाई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गरेका छन् । उनले खासगरी आफलाई प्रेरणा मिल्ने व्यक्तिहरुको स्केच तयार गर्ने गरेको बताए । गोकर्णले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उनीहरुलाई उपलब्ध गराइसकेका छन् । रासस