टीकापुर । कैलालीको टीकापुर–१ की बन्दना जैसीको नौ महिनाको शिशु छ । बन्दनाको घरमा सुत्केरीका लागि विशेष खाना पाक्छ । घरका सदस्यले जस्तै खानपानले आमालाई पुग्दैन भन्दै उनका लागि थप खाना र पोषिलो खानाको जोहो गरिन्छ । ‘म परिवारका सदस्यभन्दा थप एक समय खाना खान्छु । खानामा अनिवार्य दूध, दही, अण्डा वा माछामासु खान्छु’, बन्दनाले भने, ‘यसका साथै फलफूल र हरियो सागपातमा समेत ध्यान दिन्छु । जसले मेरो शिशु पनि स्वस्थ छ ।’
महिलाका लागि गर्भावस्था र सुत्केरी अवस्था संवेदनशील अवस्था हो । यो समयमा महिलाले अन्य व्यक्तिभन्दा बढी खानेकुरा खान आवश्यक हुन्छ । आमाले खानपानमा ध्यान नदिएमा आमा र शिशुको स्वास्थ्यमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पर्न सक्छ । शिशु र आमालाई आवश्यक पौष्टिक आहार नपुग्न सक्छ त्यसतर्फ परिवारका सदस्य सचेत हुन आवश्यक छ ।
टीकापुरकी गौरी चौधरी घरमा जे पाक्यो त्यही खान्छिन् । उनको घरमा सुत्केरी भएकाले कहिलेकाहीँ माछामासु, हरियो सागपातसमेत पाक्छ । ‘अन्य सदस्यका लागि जे पाक्छ त्यही खान्छु, कहिलेकाहीँ माछामासु भने खान्छु,’ उनले भनिन्, ‘मेरो खानपानमा म आफैँ सचेत छु ।’
टीकापुर–२ की ललिता चौधरी पनि सुत्केरी छिन् । उनी पनि घरका सदस्यले पकाएको खानेकुरा खान्छिन् । त्योसँगै थप खानाका रुपमा माछा, मासु, अण्डा, हरियो सागपातसमेत खाने गरछिन् । ‘हरियो ताजा तरकारी धेरै खान्छु, माछा मासु पनि खाइरहन्छु’, उनले भनिन्, ‘मेरो र शिशुको स्वास्थ्यबारे घरका सदस्यसमेत सचेत छन् । मलाई आवश्यक पोषणयुक्त खानाको जोहो गरिदिन्छन् ।’
मनिता चौधरी पनि सुत्केरी भएकाले घरमा सबैले समान खानेकुरा खाने गरे पनि उनले भने माछामासु, अण्डालगायत खानेकुरा अनिवार्य खान्छिन् । मनितालाई शिशु र आफ्नो स्वास्थ्यका लागि थप खानेकुरा र पोषिलो खानेकुरा खानुपर्छ भन्ने राम्रो ज्ञान छ । ‘स्वास्थ्यकर्मीले हामीले खाने तरिका र शिशुलाई खुवाउने तरिका सिकाएकी छिन्’, उनले भनिन्, ‘स्वास्थ्यका मापदण्डअनुसार खानपान गर्न नसके पनि पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने बुझेका छौँ ।’
प्रतिमा चौधरीको परिवारमा भने शाकाहारी खाना चल्छ । उनी माछामासु नखाने भएकाले दूध, दही, सागपातमा बढी जोड दिन्छिन् । ‘म आफैँ पनि शाकाहारी हो । त्यसैले दूध तथा दुग्धपदार्थ बढी खान्छु, यसका साथै सागपात तथा फलफूल बढी खान्छु’, उनले भनिन्, ‘पहिले तीनपटक खाना खान्थे, आजभोलि पाँच पटकसम्म खाने गरेकी छु ।’
दुई महिनाकी सुत्केरी प्रतिमाको खानपानमा परिवारका सदस्य निकै सचेत छन् । प्रतिमालाई घरमा सबैका लागि पाकेको खानासँगै थप माछा, मासु, अण्डा र दूधको पनि जोहो हुन्छ । ‘शिशुलाई दूध पुग्दैन भनेर परिवारका सदस्य सचेत छन्’, उनले भनिन्, ‘मलाई खानेकुराको केही कमी छैन ।’
जानकी गाउँपालिका–१ की पूजा न्यौपाने ६ महिनाकी गर्भवती छिन् । उनको स्याहारमा पूरै परिवार लागेको छ । ‘म गर्भवती भएको थाहा पाएदेखि परिवारले विशेष ध्यान दिएका छन् । मलाई थप खाना खान लगाउने, पर्याप्त आराम र पोषिलो खानाको जोहो गरिदिन्छन्’, पूजाले भनिन्, ‘श्रीमान्ले किनेर ल्याउने, सासूआमाले मलाई मनपर्ने परिकार बनाएर खुवाउने गरछिन् । मलाई त माइतीमा बसिरहेको जस्तो महसुस हुन्छ ।’
समय पहिलेभन्दा धेरै फेरिएको छ । आजभोलि गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ । गर्भवती र सुत्केरीलाई सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थ खानपिनको जरुरी पर्ने भएकाले परिवाका सदस्यहरु सचेत बन्दै गएका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउँछन् ।
‘हामीले आमा समूहका बैठक, गर्भजाँचमा आउने महिलालाई परिवारका सदस्य साथमा लिएर आउन भन्छौँ’, उनले भनिन्, ‘परिवारका सदस्यलाई गर्भवती, सुत्केरीको स्याहारबारे जानकारी दिन्छौँ, धेरै परिवार सचेत भएका छन्, बिस्तारै परिवार सचेत र जिम्मेवार बन्दैछन् ।’
गर्भ रहेदेखि शिशु जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ । यो अवधिमा शिशुको ८० प्रतिशत दिमागको विकास हुने भएकाले परिवारका सबै सदस्य जिम्मेवार बन्न आवश्यक रहेको खरेलको सुझाव छ । रासस