विकासन्युज

चितवनकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ गरे । प्रदेश स्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा कोपिला अधिकारीले जानकारी दिए । उनका अनुसार अकुपञ्चर सेवा पूर्वी चितवनमै पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत प्रदान गर्न लागिएको छ । आयुर्वेद थेरापी, दुःखाइ व्यवस्थापन, बाथरोग, नशासम्बन्धी रोग, निद्रा नलाग्ने लगायतका रोगको उपचार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत भइरहेको अधिकारीले जानकारी दिए । केन्द्रमा प्रयोगशाला, भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रस्तावित ५० शय्याको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २५ शय्याको भवन निर्माण भइरहेको छ । केन्द्रले गतवर्ष मात्रै ४० हजार नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । आरोग्यता दिवस तथा आज धन्वन्तरि जयन्तीमा प्रभातफेरी प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको अवसरमा चितवनमा प्रभातफेरी निकालिएको छ । रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभातफेरी निकालिएको हो । केन्द्रको कार्यालय परिसरदेखि सुरु भएको प्रभातफेरी ईलाका प्रहरी कार्यालय हुँदै सौराहा चोक, बकुलहर चोक, हरिहर मन्दिर हुँदै पुनः कार्यालयमा आएर समापन भएको थियो । प्रभातफेरीमा सहभागीलाई विभिन्न जनचेतनामूलक सन्देश लेखिएका प्ले कार्ड समातेका थिए । दिवसकै अवसरमा कार्यालयमा धन्वन्तरि पूजन एवं धन्वन्तरि मूर्ति प्रतिस्थापन गरिएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा सो जयन्ती मनाउने गरिन्छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । रासस

निर्वाचन सम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्नेछ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।

कनेक्ट आइपिएस मार्फत तिहार र छठमा निःशुल्क फण्ड ट्रान्सफर

काठमाडौं । तिहार र छठमा मोबाइल बैंकिङ्गबाट कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ती बैंक वित्तीय संस्थासँगको समन्वयमा  एनसीएचएलले यो अफर लागू गरेको जनाएको छ । फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्नेछ । हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानका अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूल खेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूल खेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्नथरीका १४ करोड रुपैयाँ मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ । यस वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ । माला एकपटक प्रयोग हुने वस्तु हो । ‘किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन् । तर उपभोक्ताले प्लाष्टिकका माला प्रयोग गरेपछि आम किसान मर्कामा पर्ने भएकाले प्लाष्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौँ’, फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए । प्रायःतिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ । नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले ११ करोड रुपैयाँको फूल आयात गरेको थियो । गत वर्षको तिहारमा भारतबाट झन्डै तीन लाख वटा माला आयात भएको थियो । तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ । नेपालमा व्यावसायिक फूल खेती सुरुआत भएको २५ वर्ष पुगिसकेको छ । विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ४२ हजार रुपैयाँभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार लगानी बढ्न नसकेको बताउनुहुन्छ । नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना छ । ‘पुष्प क्षेत्रको लगानीबाट राम्रो प्रतिफूल लिन सकिन्छ । विश्वमा नेपाली फूल ‘हिमालयन फ्लावर’ का नाममा बिक्री हुनसक्छ । तर बृहत् लगानी हुन सकेका छैनन् । ठूला लगानी भित्र्याउन सरकारले नीतिगत सुधारमा ध्यान पुर्याउनुपर्छ’, अध्यक्ष गोल्छाले भने । धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा फूलको महत्व रहिआएको छ । फूलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने सम्भावना छ । सयपत्री फूलखेती गर्न उर्वर जमिनको आवश्यकता पर्दैन । भिरालो तथा खेतबारीका आली तथा कान्ला, आँगनका डिल, गमला एवं घरघरका कौशीमा फूलखेती गर्न सकिन्छ । नेदरल्याण्ड विश्मा धेरै फूल निर्यात गर्ने देशमा पर्छ । नेपालले फूल निर्यात गर्नसक्ने सम्भावना रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका पूर्वध्यक्ष कुमार कसजुले जानकारी दिए । फूल पवित्र वस्तु भएकाले नेपालमा जन्मदेखि मृत्युसम्म उपभोग हुँदै आएको छ । यसको आवश्यकता सबै जातजाति र धर्म, संस्कृतिमा बराबरी छ । कृषि विभागका उपमहानिर्देशक डा हरिबहादुर केसीले सरकारी लगानी खाद्यबालीमा केन्द्रित भएका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको जानकारी दिए । वनस्पति विभागका महानिर्देशक डा राधा काफ्लेले नेपालमा वर्षैभरि फूलिरहने गोदावरी फूलको विकास गरेको भन्दै यसको प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गर्दै आएको जानकारी दिए । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले सङ्घीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गरे । उनले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गरी लागू गर्नुपर्छ भने । पुष्प प्रवद्र्धन नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन । नीतिको समयसापेक्ष परिवर्तन आवश्यक छ । नेपालमा पुष्पखेतीका लागि हालसम्म ‘हाइब्रिड’ बीउ र ‘टिस्यू कल्चर’ बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसकेकाले बेलाबखतमा आयात गर्नुपरेको हो । रासस

त्रिशूली जलविद्युतको सेयर वापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर वापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयर वापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ संकलन भएको छ । साविकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले अन्तिम अगावै आवेदन दिन सेयरधनीहरुलाई आग्रह गरे । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रति कित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी ९२ अर्ब ४७ करोड० र ७० प्रतिशत ऋण ९५ अर्ब ७६ करोड०बाट लगानी जुटाइएको छ ।

नेपाल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षकाे मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समितिको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।  

सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोसन सेयर र ०.९८ प्रतिशत अर्थात् ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कूल १०.९८ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयधरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ५०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र चाँदी १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।