रुपन्देहीका पाँच स्टिल उद्योग अनिश्चितकालका लागि बन्द, २ हजार मजदुर बेरोजगार हुने
भैरहवा । रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ । पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् । सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगीरूरु लामो समयदेखि असन्तुष्ट रहेका थिए । उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि रुपन्देहीका पाँच स्टिल उद्योग बन्द भएका हुन् । भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्णरूपमा बन्द भएका छन् । एसआर स्टिल गत साउनदेखि बन्द भएको हो भने एभरेष्ट रोलिङ इन्डस्ट्रिज यही असोज पहिलो सातादेखि बन्द भएको हो । पञ्कन्याले पनि आफ्नो उत्पादन एक महिना अगाडिदेखि बन्द गरेको छ । एसआर गु्रपले सञ्चालन गर्दै आएको एसआर स्टिल इन्डस्ट्रिज साउनदेखि बन्द भएको छ । दैनिक दुई सय टन टिएमटी स्टिल उत्पादन गर्दै आएको यो उद्योग २०६८ सालमा स्थापना भएको हो । एसआर स्टिलका प्रबन्ध निर्देशक इन्जिनियर सुरज उप्रेतीले रहरले नभई बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए । एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार विन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आउँदा साउन महिनादेखि नै बन्द गरेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए । ‘सरकारको नीतिपछि स्पञ्ज तथा फलामका कबाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ भने प्रत्यक्षरूपमा हामी ब्लेड आयात गरी उद्योग चलाउनेहरु नोक्सानीमा प¥यौँ, जसकारण उद्योग बन्द गर्नुको विकल्प रहेन’, उप्रेतीले भने, ‘त्यस्तै आर्थिक मन्दी, ऋणमा कडाइ, पूर्वाधार विकासका काममा कमी, माग नभएको लगायतले पनि उद्योगहरू चल्न सकेनन् । सरकारले बजेटमा स्पञ्ज आइरन आयात गर्दा शून्य प्रतिशत तथा ब्लेडमा पाँच प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो भने एमएस ब्लेड आयातमा भन्सार विन्दुमै प्रतिकेजी तीन रुपैयाँ ५० पैसा अन्तःशुल्क कायम गरेको थियो । स्पञ्ज आइरनमा भने अन्तःशुल्क पूर्ण मिनाहा भएको उद्योगीहरू बताउँछन् । सरकारको यही विभेदकारी नीतिका कारण उद्योग बन्द हुने अवस्था आएको बताउँछन् रुपन्देहीको एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयन्का । ‘एकै प्रकृतिका सामानमा सरकारले फरक फरक दर कायम ग¥यो, स्पञ्ज आइरनमा आधारित उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिएन’, गोयन्काले भने, ‘त्यसैले घाटामा उद्योग सञ्चालन गर्नुको साटो बन्द गर्ने निर्णय लिनु प¥यो ।’ गोन्यकाले स्पञ्ज ल्याएर ब्लेड बनाउने उद्योगले भारतबाट आयात हुने ब्लेडभन्दा सस्तोमा दिन्छौँ भनेर दाबी गरेको तर दाबीअनुसारको सामान नदिएको बताए । एभरेष्ट रोलिङ उद्योगले दैनिक एक सय ५० टन टिएमटी स्टिल उत्पादन गर्दै आएको थियो भने सेक्सन आइटम पनि उत्पादन गरिरहेको थियो । नेपालको पहिलो स्टिल उद्योग हिमाल हो भने दोस्रो स्टिल उद्योग एभरेष्ट रोलिङ हो । उद्योगीको व्यापक विरोधपछि केही समयअघि सरकारले स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो भने एमएस ब्लेडको अन्तःशुल्क एक रुपैयाँ घटाई दुई रुपैयाँ ५० पैसा कायम गरेको थियो । सरकारको नीतिका कारण लागत बढ्न गएको, स्पञ्ज आइरनसँग सम्बन्धित उद्योगसँग बिक्री मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको र बजारमा स्टिलको माग पनि कम हुँदै गएपछि एक महिनादेखि स्टिल उत्पादन नै बन्द गर्नुपरेको पञ्चकन्या समूहअन्तर्गतका उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले बताए । ‘हाम्रो माग हो, भन्सार शुल्क बराबर गर्नु प¥यो र तयारी वस्तुमा लिइने अन्तःशुल्क भन्सार विन्दुमै कच्चा सामग्री ल्याउँदा लिने नीति खारेज गर्नु प¥यो’, महाप्रबन्धक साहुले भने । कोभिडका कारण सतहमा आएका उद्योगहरू बिस्तारै गति लिने क्रममा रहेकै अवस्थामा स्टिल उद्योगमा फरक नीतिका कारण उद्योगीहरूलाई व्यवसाय गर्न वञ्चित गरेको उद्योगीहरूको आरोप छ । दैनिक प्रयोजनमा प्रयोग हुने ह्यान्ड पम्प, ढकलगायत फलामे सामान र मेसिनरी पार्ट्सहरू रुपन्देहीमै बनाउँदै आएको रत्न आइरन इन्डष्ट्रिज पनि बन्द भएको छ । विसं २०४० मा भैरहवा पडसरीमा सञ्चालित काष्ट आइरनमा आधारित यो उद्योगबाट वार्षिक पाँच सय टन बराबरका सामान उत्पादन हुँदै आएको थियो । स्टिल उद्योगहरू धमाधम बन्द हुनुमा सरकारको नीति नै गलत रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपाने बताउँछन् । ‘जबसम्म उद्योग तथा औद्योगिक क्षेत्र मैत्री नीति आउँदैन अन्य उद्योगहरू पनि बन्द हुन्छन्’, उनले भने, ‘कोरोनाले धरासायी भएका उद्योगहरूलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै च्याप्दै जाँदा समस्या बढिरहेको छ ।’ भैरहवा क्षेत्रमा पञ्चकन्या, एभरेष्ट, एसआर, गोयन्का, रत्न, फेरो, काठमाडाँै स्टिललगायतका उद्योगले अन्तःशुल्क तथा भन्सार शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएका थिए । यस क्षेत्रमा श्री स्टिल सबैभन्दा ठूलो र बढी क्षमताको उद्योग रहेको छ । त्यसैगरी स्पञ्ज आइरनबाट सञ्चालित अम्बे स्टिल र लक्ष्मी स्टिलसमेत छन् । उद्योगहरू धमाधम बन्द हुन थालेपछि यहाँ काम गरिरहेका कामदारहरू चिन्तित भएका छन् । यी पाँचवटै उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब दुई हजार कामदार प्रभावित हुने एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक गोयन्का बताउँछन् । उनले उद्योग बन्द भएपछि केही कामदारलाई बिदा दिएर न्यूनतम कर्मचारीलाई मात्र उद्योगमा राखिएको बताए । यस्तै पञ्चकन्या समूहका महाप्रबन्धक साहुले पनि तिहारपछि उद्योगले ठूलो परिमाणमा कामदार कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । रासस
तीन महिनामा मेगा बैंकको वित्तीय अवस्था कस्तो छ ?
काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४४.३३ प्रतिशत घटेको छ । बैंकले तीन महिनामा ५० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.६० प्रतिशत बढेर १ अर्ब ७९ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशत बढेर २ अर्ब ३ करोड रुपैयाँ, सञ्चालन मुनाफा ४५.९९ प्रतिशत घटेर ७० करोड ५९ लाख रुपैयाँ र खुद फि कमिसन आम्दानी ३६.५६ प्रतिशत घटेर ११ करोड ५६ लाख रुपैयाँ रहेको छ । बैंकको असोज मसान्तसम्ममा मेगाको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा घटेर ११ रुपैयाँ ६३ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.२३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१.८८ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष ६.७९ प्रतिशत बढेर ६ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप १.१० प्रतिशत बढेर १ खर्ब ५५ अर्ब १६ करोड रुपैयाँ र कर्जा २.९९ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।
२ हप्तापछि विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने
काठमाडौं । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको छलाङ, सबै सूचक बढायो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३.४७ प्रतिशत बढेको छ । बैंकले तीन महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत बढेर २ अर्ब २१ करोड रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर ३३ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत बढेर १ अर्ब ७० करोड रुपैयाँ र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेर १ अर्ब ६२ करोड रुपैयाँ छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.६३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९२.३२ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ५.८६ प्रतिशत बढेर १६ अर्ब ९० करोड रुपैयाँ, निक्षेप ४.०६ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ३० करोड रुपैयाँ र कर्जा ७.०७ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
नक्कली नोटसहित गोकर्णेश्वरबाट ५ जना पक्राउ
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी ८४ हजार पाँच सयसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । रासस
नुवाकोटमा आगलागीबाट दुई करोडको क्षति
त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोडभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए । उनको अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फ्रेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् । ‘थापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक अनुमानमा दुई करोड २० लाख बरारबको क्षति देखिन्छ,’ प्रनाउ खड्काले भने, ‘पीडित परिवार र प्रहरी–प्रशासन घटना ९आगलागी० नियन्त्रणतर्फ केन्द्रित भएकाले सम्पत्ति क्षतिको यकिन तथ्याङ्कमा त्योभन्दा बढीसमेत हुनसक्छ ।’ रातको करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ । आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए । रासस
कुमारी बैंकको नाफा १ अर्बभन्दा बढी, अधिकांश सूचकमा अब्बल
काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले ३ महिनाको अवधिमा १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत बढेर १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत बढेर २६ करोड ५७ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत बढेर २ अर्ब ३८ करोड २२ लाख ३९ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेर १ अर्ब ४३ करोड १३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । कुमारी बैंकको वितरण योग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ६.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १५.४४ प्रतिशत बढेर ७ अर्ब २६ करोड २१ लख २० हजार रुपैयाँ, कर्जा २.१४ प्रतिशत बढेर १ खर्ब ५५ अर्ब ८२ करोड रुपैयाँ र निक्षेप १.५८ प्रतिशत घटेर १ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
एनआईसी एशिया बैंकको नाफा पौने २ अर्ब, ईपीएस ५९.६२ रुपैयाँ पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, बैंकको कर्जा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ र निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको स्वपूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ रहेको छ । स्वपूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकले पहिलो त्रैमासमा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक पुगेका छन् । बैंकका अनुसार कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।