विकासन्युज

तिहारमा राति ९ बजेपछि देउसी भैलो खेल्न र पटाका पड्काउन रोक

नेपालगञ्ज । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ’, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताए । उनले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गरे । तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ । रासस

चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनफिङ महासचिवमा निर्वाचित भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् । सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिने भएका छन् ।

युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सकाे इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । योसँगै युएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाका युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्नेछन् । यसका साथै इमिरेट्स इण्डिया मार्फत नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सक्नेछन् । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ ।  

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

चितवन । चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेतखेतमा पानी पुर्याउने भएको हो । माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी नगरपालिकाभित्र सात सय डिप र स्यालो बोरिङ जडान गरिएको उनले बताए । जसमा पाँच सय स्यालो, दुई मझौला र डिप बोरिङ जडान गरिएको छ । माडी नगरपालिकामा ६५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको उपाध्यायले जानकारी दिए । ‘जहाँ कुलो र ट्युबवेल छैनन् त्यहाँ मोटरका माध्यमबाट लिफ्ट सिचाइँको व्यवस्था गर्ने तयारीमा छौँ’, उनले भने, ‘वडा कार्यालयले पनि सिँचाइलाई नियमित कार्यक्रममा राखेका छन् ।’ यस्तै बोरिङ जोडेको ठाउँबाट किसानको खेतका गरागरामा पानी पुर्याउन पाइप जडानका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरेको छ । माडीमा चार हजार ५०० हेक्टर जमिनमा खेती भइरहेको छ । जसमा यस वर्ष चार हजार हेक्टर जमिनमा धानखेती गरिएको छ । तीन वर्षअघि सात सय बिघामा धानखेती हुँदै आएको माडीमा सिँचाइको सुविधा भएपछि अहिले २२ सय बिघामा धान लगाइएको माडी नगरपालिकाले जनाएको छ । सिँचाइका कारण पछिल्लो समय माडी नगरपालिकामा व्यावसायिकरुपमा तरकारीखेती गर्ने पनि बढेका छन् । माडीमा खोलाका किनार र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका जमिन भने अझै पनि बाँझो छन् । नगरपालिकाले पूर्ण सिञ्चित माडी अभियानका साथ सिँचाइका कार्यक्रम सञ्चालन गरिरहेको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । ठूला सिँचाइका कार्यक्रम सङ्घ र प्रदेशसँग समन्वय गरेर सञ्चालन भइरहेका छन् भने साना सिँचाइका कार्यक्रम नगरपालिका आफैँ गरिरहेको छ । किसानले दिएको निवेदनका आधारमा जग्गा क्षेत्रफल छुट्याएर सिँचाइका लागि बोरिङ उपलब्ध गराइएको प्रमुख महतोले बताए । ‘सिँचाइ गर्न कुलोबाट पानी ल्याउने परम्परा हराउँदै गएको छ’, उनले भने, ‘नागरिकलाई सहजता चाहिएको छ, आफ्नै खेतमा भनेको समयमा पानी पाइने भएका कारण बोरिङ जडानमा किसानको आकर्षण बढेको छ ।’ रासस

शैक्षिक गुणस्तर सुधार गर्नका लागि सामुदायिक विद्यालयमा कम्प्युटर वितरण

तनहुँ । जिल्लाको भीमाद नगरपालिका कार्यालयले अभियानकैरुपमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरिएकाले विद्यालयका कामकाजका लागि अरुको भर पर्नुपर्ने समस्या अन्त्य भएको छ । शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई आइसिटी तालिम प्रदान गरेर कम्प्युटर दिइएकाले प्रश्नपत्र बनाउन र अन्य कामकाजका लागि भीमादसम्म आउन नपरेको र कसैको सहारा लिन पनि नपरेको नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए । जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा स्थापित भएका छन् । उक्त दुई विद्यालयमा कम्प्युटर शिक्षासम्बन्धी पढाइसमेत हँुदै आएको छ । नगरपालिकाभित्रका दुई वटा आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे नयाँ भवन निर्माण गरिएको छ । सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न थप जिम्मेवार बनाइएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाइ वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ । विद्यालय तहदेखि खेलमा प्रतिभा प्रस्फुटनको वातावरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदमा प्रोत्साहन गर्नाका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको उनले बताए । अङ्ग्रेजी माध्यममा पढाइ तथा सूचना प्रविधि सम्बन्धमा शिक्षकको क्षमता विकास गर्नाका साथै कक्षाकोठामा आधारित पेशागत पद्धतिलाई सुदृढ बनाउने गरी काम अघि बढाइएको छ । विद्यालयको शिक्षालाई गुणस्तरीय, पहुँचयोग्य, प्रतिस्पर्धी र जीवनोपयोगी बनाउन नगरपालिका लागेको छ । नगर शिक्षा योजनालाई सरोकारवालाको सुझावअनुरुप परिमार्जन गरी कार्यान्वयनका लागि उचित व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले जानकारी दिए । रासस

बेनीमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालियो

म्याग्दी । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो । नगरप्रमुख सुरज केसीले बजारको सडक व्यवस्थित बनाउन सडकको क्षेत्राधिकारमा निर्माण भएका सामग्री र संरचना हटाउने अभियान थालेको बताए । संरचना र सामग्री हटाउन अनुरोध गर्दै नगरप्रमुख केसीसहित वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको टोलीले शनिबार बेनी बजारमा घरदैलो गरेका थिए । सडकपेटीमा राखिएका निर्माण र व्यापारिक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ । दुर्घटनाको जोखिम पनि बढाएकाले सडकपेटीमा सामग्री नराख्न र बनाएका संरचना हटाउन अनुरोध गरिएको नगरप्रमुख केसीले बताए । व्यापारी र सम्बन्धित घरधनीले सामान नहटाए नगरपालिकाले आफै हटाउने बताएको छ । यसैगरी सार्वजनिक जग्गामा सडकको क्षेत्राधिकारमा पर्ने ठाउँमा बनाइएका संरचना हटाउन पनि ताकेता गरिएको नगरपालिकाले जनाएको छ । बेनीका विभिन्न ठाउँमा पुल, सडक पुल, खोल्सा र सार्वजनिक पाखोमा व्यक्तिगत संरचना बनाएर अतिक्रमण गरेका छन् । बेनीमा यातायात ब्यवस्थापनका लागि एकतर्फी यातायात सञ्चालन, सवारी पार्किङ, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार वैकल्पिक सडक सञ्चालन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन गरिएको छ । साँघुरो सडकमा व्यापारीले सामान राख्ने र निर्माणाधिन घरका सामग्री थुपार्ने गर्दा आवत जावत र यातायात सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको छ । रासस

रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्रीे परीक्षण एवं नियमानुसार भन्सार शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र फलफूललगायत कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नैे कम्पाउण्डबाट छिटोछरितो परीक्षण भइरहेको छ । तिहारलाई केन्द्रित गरी गत असोज २५ देखि कात्तिक ५ गतेसम्म रसुवागढी नाकाबाट चिनियाँ ठूला टिपरमार्फत दाँतेओखर १९टिप, स्याउ ३०तीस टिप, स्याउपाती एवं किभी चार/ चार टिप आयात भएको सीमा क्षेत्रका सुरक्षाकर्मीले जनाएका छन् । प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्। रसुवागढी आइपुग्दा फुँजी स्याउको मूल्य प्रतिकेजीरू ७५ र अन्य जातका स्याउ प्रतिकेजी ५५ रुपैयाँ पर्ने भन्सार कर्मचारी बताउँछन् । स्याउजस्ता फलफूलको भन्सार दस्तुर प्रतिट्रकको हिसाबले मात्र शुल्क लिने गरिएको बताइएको छ । वर्षायाममा सडक मार्ग अवरूद्व हुने र हावा नपस्ने कन्टेनर डिब्बामा राखिएको स्याउ पाँच/ सात दिन सडकमै रोकिनुपर्ने अवस्था आए कुहिएर नोक्सान हुने विगतको समस्यालाई मनन गरी वर्षा रोकिए लगत्तै फलफूल आयात गर्न थालिएको हो । नेपाली बजारको मागका आधारमा व्यापारीले फलफूलका साथै महिला तथा पुरुष एवं बालबालिकाका लागि विविध तयारी पोसाक रसुवागढी नाकाबाटै आयात हुने गरेको भन्सार अधिकृत रेशम खड्का बताउँछन् । टिमुरेस्थित रसुवा भन्सार कार्यालयले दिएको विवरणअनुसार पुरूषका लागि ज्याकेट ,पञ्जा, टोपी, टाउजर, पाइन्ट सुरूवाल तथा महिलाका लागि ब्रा, पेन्टी, टिसर्ट ,सुइटर, बच्चाका लागि बेविसेटजस्ता दर्जनौँ विविध तयारी पोसाकसमेत आयात गर्ने गरिएकोे व्यवसायी धर्म पौडेल जानकारी दिन्छन् । उनका अनुसार उपभोक्ताको चाहना, खपतको आँकलन, मूल्यको अवस्थासमेतलाई मध्यनजर गर्दै आयात गर्नका लागि अनुमति प्राप्त नेपाली व्यवसायी फर्मले चिनियाँ उत्पादक कम्पनीसँग सामग्री माग गर्ने गरेका छन् । यस्तै चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म रसुवागढी नाकामा हालसम्मको मूल्याङ्कनअनुसार कूल पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको आयात भएको देखाएको छ । व्यापार व्यावसायीले मगाएको एक सय पचास भन्दाबढी विद्युतीय सवारीसाधन जाँसपास हुन बाँकी रहेको र ती सवारी साधनबाट प्राप्त हुने राजस्व भने जाँचपासपछि मात्र दाखिला हुने भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारी जानकारी दिन्छन् । राजस्व बुझाउन आयातकर्ता अनुपस्थित रहेका कारण डोजर, कार, स्कुलबसलगायत सवारीसाधन भन्सार हातामा थन्किएको छ । रासस गत साउनदेखि असोज मसान्तसम्म कूल रु एक अर्ब ४८ करोड ९९ लाख ८७ हजार राजस्व दाखिला भएको प्रमुख भन्सार अधिकृत भण्डारी उल्लेख गर्छन् । जाँचपास हुन नसकी टिमुरेदेखि रसुवागढीसम्म ठाउँ–ठाउँमा रोकिएका सबै सामग्री सिमा प्रहरी टिमुरेलगायत सुरक्षा अङ्गले रेखदेख सुरक्षा गरिरहेको सिमा प्रहरी प्रमुख गम्भीरजङ्ग थापा बताउँछन् । साउनदेखि हालसम्म आठ सय ४८ कन्टेनरबाट विविध सामग्री नेपाल भित्रिएको छ । विगतमा कोरोना सङ्क्रमणका कारण आर्थिक मन्दिमा परेका सबै ट्रक तथा कन्टेनर व्यवसायी अहिले चलायमान भइसकेका छन् । आयात भएका सामग्रीमा स्याउ, ओखर रेडिमेट कपडाका साथै हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा , मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको जनाइएको छ । रासस

बेकरी उद्योगबाट मासिक एक लाख आम्दानी गर्दै युवा

कैलाली । लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्षौदेखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् । भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणालगायत रोजगारीको लागि नेपालीको रोजाइँमा पर्ने सहर हुन । कलिलै उमेरका युवायुवतीदेखि ६०/६५ उमेर समूहका मानिससमेत भारतमा विभिन्न सहरका कम्पनीमा अफिसरदेखि चौकीदार तहसम्म कामदारका रुपमा काम गर्ने गरेका छन् । तर त्यसको ठीक विपरीत स्वदेशमै स्वरोजगार भई भारतीय नागरिकलाईसमेत रोजगारी दिइरहेका छन् धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका २७ वर्षीय युवा आशिषराज शर्मा । उनले अहिले बैयाबेहडीस्थित दक्षिण बेल्टमा एक ‘हेप्पी होम बेकरी एण्ड क्याफे’ नामक पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन् । जुन उद्योगमा उनले सात भारतीय नागरिकलाई रोजगारी दिएका छन् । ती कामदारलाई मासिक १६ देखि २८ हजार रुपैयाँ सम्म तलब दिएका छन् । सानै उमेरदेखि नै व्यापारमा रुचि राख्ने आशिषले आफूलाई एक सक्रिय युवाका रुपमा परिचित गराएका छन् । आशिषको परिवारमा बुबाआमा, दाइभाउजु, छोराछोरी भतिजा भतिजी गरी १२ जना छन् । उनले परिवारको लालनपालनमा पनि सहयोग गर्दै आएका छन् । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि सानै उमेरमा राजधानी काठमाडौं हानिएका आशिषले घरको आर्थिक स्थिति कमजोरीका कारण प्लस टु गर्दागर्दै बीचमै अध्ययन छोडी २०७२ सालमा कैलालीको धनगढी आएका थिए । उनले धनगढीस्थित एक टायर हाउस डिलरमा पाँच हजार रुपैयाँमा तलबमा काम सुरु गरी छ वर्ष काम गरेर छोडे । टायर हाउसमा काम छोडेपछि अछामको बयलपाटास्थित अस्पतालमा चमेना गृह सञ्चालन गरी व्यवसाय सुरु गरे । सो चमेना गृहमा पनि सोचे अनुसारको कमाइ नभएपछि उक्त व्यवसाय छोडी धनगढीमा पाउरोटी उद्योग सुरु गरे । आशिषका भिनाजु बेकरी उत्पादनसम्बन्धी राम्रो सिप भएका व्यक्ति छन् । भिनाजुको अभिप्रेरणाबाट प्रभावित भई सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग चलाउनुभयो । त्यहाँ काम गर्ने ठाउँको अभाव र महँगो भाडादर भएपछि डेढवर्ष उक्त स्थानमा व्यवसाय चलाई अहिले धनगढीको बैयाबेहडीमा उक्त उद्योग सञ्चालन गर्दै आएका छन् । पाउरोटी उद्योगबाट सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँ जति बचत हुने गरेको उनले बताए । उनले भने, ‘दिनमा पचास हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको र त्यसमध्ये छ/सात हजार रुपैयाँको हाराहारीमा बचत हुने गरको छ ।’ उक्त व्यवसायबाट आशिषले आफ्नो परिवारको लालनपालन साथै सम्पूर्ण खर्चसमेत व्यहोर्दै आएका छन् । रासस