भोजपुरका किसानमा पशु बीमा प्रभावकारी बन्दै
भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीका अनुसार पशु बीमाप्रति किसान आकर्षित भएको र किसानलाई राहत मिलेको समेत बताए । २०६० माघ १ गतेदेखि लागू हुने गरी बीमा ऐन, २०४९ को दफा ८घ२ अनुसार कृषि विकास मन्त्रालय र बीमा समितिको पहलमा बाली तथा पशुपंक्षी बीमा निर्देशन, २०६९ जारी भई बाली, तरकारी खेती, फलफूल खेती, आलु खेती, पशुधन, पंक्षी र माछालगायत बाली तथा पशु बीमा सुरु भएको हो । कृषकहरूले अभिकर्ताको सहयोगमा उल्लेखित बाली, पशुपंक्षी तथा माछापालन बीमालेखमा तोकिएको शर्त बमोजिम निर्धारित प्रस्ताव फारम भरी आफ्नो व्यवसायको बीमा गराउन सक्छन् । मासु, दुध तथा अण्डाको प्रयोजनका लागि पालिने गाईवस्तुको सुरक्षाको अनुभुति हुने भएकाले पशु बीमाप्रति कृषकहरुको आकर्षण बढेको छ । रोग, आगलागी, भूकम्प, बाढी, पहिरो जस्ता दैवी प्रकोपले कृषि पशुपालन व्यवसायमा लगानी डुब्ने खतराबाट सुरक्षित रहन सकिने भएपछि पछिल्लो समय बीमा गराउने किसानको संख्या दिन प्रतिदिन बढेको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए । बीमाले आफू जस्ता पशुपालक किसानका लागि पशु सुरक्षा र सुविधाको प्रत्याभुति गराएको भोजपुर नगरपालिकाकी राधा बिश्वकर्मा बताउँछन् । बाख्राको बीमा गराउनु भएकी बिश्वकर्माले पनि बाख्रा मरेपछि बीमा रकम लिनु भइको थियो । यस्तै किसान कुसुम खडकाले पनि पशु बीमा जिल्लामा प्रभावकारी भएको बताए । पशुको वास्तविक विवरण दक्ष प्राविधिकबाट पुष्टि भएपछि मात्र बीमा गर्न पाउने प्रावधान छ । पशु बीमा गराउन भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका वडामा कृषि र पशु प्राविधिकहरु सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए । रासस
बर्दिबास अस्पताललाई साढे तीन लाखका स्वास्थ्य सामग्री
महोत्तरी । महोत्तरीको बर्दिबास अस्पतालले धनतेरसका दिन साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्राप्त गरेको छ । पचासभन्दा बढी कोठाको चारतले भवनको अस्पतालले स्वास्थ्य जाँच र उपचारमा आवश्यक उपकरण प्राप्त गरेपछि साधन सम्पन्न बन्दै गएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा समाज विकास केन्द्र महोत्तरीले अस्पताललाई तीन लाख ४७ हजार छ सय ६२ रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । केन्द्रले अस्पताललाई बेबी वार्मर एक थान, इक्जामिनेसन बेड पाँच सेट, इन्स्ट्रयुमेण्ट ट्रली– दुई सेट, ड्रेसिङसेट पाँच, स्ट्रेचर पाँच सेट र ह्वीलचियर पाँच सेट प्रदान गरेको थियो । उपकरण प्राप्त भएपछि प्रसूतिकक्ष सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जनले बताए । केन्द्रले कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सामग्री अस्पताललाई प्रदान गरेको जनाएको छ । कोभिड–१९ सघन सङ्क्रमण बढेका बेला बर्दिबास अस्पतालले कोभिड–१९ जाँच ९पिसीआर र आरडिटी जाँच, क्वारेन्टिन र भेन्टिलेटरसहितको आइसोलेसन सञ्चालन गरी सेवा प्रवाह गरेकाले सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्माले अस्पताललाई युनिसेफ नेपालले पनि उपकरण दिन लागेको बताए । जिल्लाको सुदूरउत्तरवर्ती क्षेत्रअवस्थित यो अस्पतालबाट महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशालासहित छिमेकका सर्लाहीको ईश्वरपुर र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा पाउँदै आएका छन् । रासस
बिस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
जुम्ला । पहिराका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो । राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन् । बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो । सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी जनशक्ति खटिएको बताए । नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए । ‘अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौँ, यसले तिहारको समयमा कर्णालीवासीलाई राहत भएको छ’, प्रमुख श्रेष्ठले भने । कर्णालीवासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए । रासस
कैलालीका किसान धान भित्र्याउन व्यस्त
टीकापुर । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् । दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन् । तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन् । दसैँमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौँ, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौँ”, किसान पल्टु चौधरीले भने, ‘खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुपर्छ । अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ ।’ उनी भाइटीकाको एक दिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउँछन् । ‘चार बिघा खेत काटिसक्यौँ, अहिले धान दाउने थ्रेसिङ गर्ने र धान र पराल भण्डारणको काम चलिरहेको छ’, उनले भने, ‘बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ ।’ धान तयारी भएका बेला मौसम प्रतिकूलताले दर्शैंपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन् । दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताए । ‘धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला’, उनले भने, ‘अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ । अधिकांशको धानबाली बाढीले सक्यो, बचेका किसानहरु खेतमा छौँ ।’ गत वर्ष धान भित्र्याउने बेला आएको बाढीले किसानको धान बालीमा नोक्सानी गरेको हुनाले यस वर्ष किसानहरु दीपावली पर्व नमानेर खेतमा छन् । वर्षदिनका लागि आवश्यक अन्न भएकाले समयमा धान बाली भित्र्याउन नपाए खाद्यान्नको सङ्कट आउन सक्ने भएकाले दीपावलीमा पनि खेतमा काम गरिरहेको राजकुमारी चौधरीले बताए । ‘गत वर्ष बाढीले सबै धान बगायो, यस वर्ष पनि केही किसानको बाला छैन, हाम्रो जोगिएको धान स्याहार्न थालेका छौँ, यो मौसमको भर छैन’, उनले भने, ‘धान पनि काट्न ढिला भएकाले खेतमै झर्न थालेको छ ।’ चाडपर्व सबैका लागि रमाइलो र महत्वपूर्ण हुन्छ । वर्षदिनमा आउने पर्व र खेती उस्तै हुन्छ । तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ । भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान सीता चौधरीले बताए । ‘बल्लबल्ल बाढीबाट बच्यौं, धान नस्याहारे के खानु, अब तिहारभन्दा पनि धान स्याहारेमा वर्षभरि पेट भोको रहँदैन’, उनले भने, ‘सबै परिवार, हाम्रा छिमेकीहरु पनि खेतमै छौँ, तिहारमा देउसीभैलो खेल्नेहरु आउँछन् भनी एक/एकजना घरमा बस्ने अरू सबै खेतमा पस्ने गरेका छौँ ।’ गत असोजको अन्तिम बाढीले यहाँ धानबालीमा क्षति पुगाएको छ । बाढीले टीकापुरमा करिब २० प्रतिशत धानबाली नोक्सान भएको पालिकाले जनाएको छ । रासस
विद्यार्थीलाई सेलरोटी र टपरी बुन्न सिकाइँदै
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देखेकी उनलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उनको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,’ उनले भनिन् । विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले खुसी व्यक्त गरे । ‘पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुआत भएकाले केही समस्या भए पनि निरन्तर गरेपछि राम्रो टपरी बुन्छु’, उनले भनिन् । कक्षा १० मा अध्ययनरत सलिना भण्डारीलाई चाडपर्व, पूजाआजाका बेला टपरी देखे पनि कसरी बनाइन्छ भन्ने कौतुहलता थियो । ‘सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, अब घरमा पनि टपरी गाँस्न सिक्छु,’ उनले भनिन् । विद्यालयमा अध्ययनरत विद्यार्थीले टपरी गाँस्न सिक्नाका साथै सेलरोटी बनाउने तरिका पनि सिक्ने अवसर पाएका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई टपरी र सेलरोटी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीर्घ दरैले जानकारी दिए । ‘नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई सालको पातबाट दुना, टपरी र सेलरोटी बनाउने तरिका सिकाउने प्रयास गरेका हौँ’, उनले भने, ‘यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ नेपाली संस्कृतिअनुसार तिहारमा सेलरोटी पकाउने, सेलरोटीलाई टपरीमा राखेर खाने चलन छ । विद्यार्थीलाई संस्कृतिका बारेमा जानकारी दिँदै प्रयोगात्मक शिक्षा प्रदान गर्न यो कार्यक्रम गरिएको दरैले बताए । ‘टपरी बुन्ने र सेलरोटी बनाउने प्रयोगात्मक ज्ञान सिक्न विद्यार्थीहरु इच्छुक देखिए’, उनले भने । प्रयोगात्मक शिक्षा चिरस्थायी हुने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको दरै बताउँछन् । ‘घोकन्ते शिक्षा केही समयका लागि मात्रै हुने र प्रयोगात्मक शिक्षा दीर्घकालीनसम्म हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिँदै आएका छौँ’, उनले भने, ‘यसलाई निरन्तर रुपमा सञ्चालन गर्छौं ।’ विद्यालयमा अध्यापनरत बुद्धिमाया दरै, शान्ता पौडेल, भगवती पौडेल, अञ्जना दरै, इन्दिरा तिमिल्सिना लगायतले विद्यार्थीलाई टपरी बुन्ने र सेलरोटी बनाउने तरिकाबारे सहजीकरण गरेका थिए । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन । रासस
कञ्चनपुरका फूल व्यवसायीलाई भ्याइनभ्याइ
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ । सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेका छन् । मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गीताले बताइन् । ‘तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पुर्याउन सकिएको छैन’, उनले भनिन्, ‘सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।’ सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय गरेकी हुन् । फूल र गाँसेको माला बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘एउटा मालाको एक सय र प्रतिकिलो ग्राम फूल पाँच सयमा बिक्री भइरहेको छ’, उनले भने, ‘पानी परेर केही बिरुवा रोगले नष्ट भए, नभए अझै फूल उत्पादन बढी हुन्थ्यो ।’ भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ । बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन् । पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताए । ‘फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ’, उनले भने, ‘एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ ।’ चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरिएको उनको भनाइ छ । ‘एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ’, उनले भने, ‘अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ ।’ उनका अनुसार अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी छ । यस पटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने उनको भनाइ छ । रासस
नेवार समुदायमा म्हपूजा पर्व मनाइँदै
काठमाडौं । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना नयाँ वर्षको शुभकामना जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताए । म्हपूजाको अर्थ हो शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ । म्हपूजाको दिन नेवारहरु बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाइ गरी चोखो लुगा लगाई विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन् । म्हपूजा गर्न सुरुमा रातो माटोले लिप्छ । लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ । त्यसपछि तेलको मण्डला बनाइन्छ । त्यसको माथि चामलको पीठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरी त्यसमा पञ्चरङ्गिन बनाइन्छ । त्यसपछि मण्डलाको बीच भाग र चार कुनामा कालो काँचो भटमास, आख्य धानको बोक्रा निकालेर तयार गरेको कालो चामल राखिन्छ । त्यसको माथि खेलुइता टुप्पीदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडाको बत्ती राखिन्छ । घरका सदस्यहरु क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । घरको मूलीमाथि गणेश भगवान्को मण्डला तयार गरिन्छ । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाएको माला, सयपत्री फूलको माला र सयपत्री तथा गोडावरी फूल राख्छ । म्हपुजा गर्दा पहिले सुकुन्डा बालेर चामलको पीठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकीं मूली महिलाले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत् रुपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकामा तीनवटा मुटुमारी चामलको रोटी, पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आख्य आदि राखेर तीन पटकसम्म टाउकामा ढोगाएर मण्डलामा जाने गरी कुले काठको पाठीले खन्याई म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा विसर्जन गर्ने परम्परा छ । म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं अण्डा सगुन दिन्छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रुपमा गणेशलाई चढाएको बिमिरो काटेर भोज समापन गरिन्छ । म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हपूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ । इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगत्को कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताए । उनले भने, ‘म्हपूजा पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्नताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो ।’ प्राडा श्रेष्ठले भने, ‘म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छन । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने कुचो, नाङ्गलो, गाग्री, करुवा, सिलौटा र चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।’ यसै दिन पारेर नेवारले नयाँ संवत्समेत मनाउँछन् । म्हपूजाको दिन नेपाल संवत् सुरु हुन्छ । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधले नसताओस् र शरीर सधैँ तन्दुरुष्ट होस् भन्ने कामनाले पनि म्हपूजा गर्ने प्रचलन सुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् । म्हपूजा कहिलेदेखि सुरु भएको, कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउँछन् । म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन पाइन्छ । कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहूर्तमा विष्णुमती र भद्रमतीका बीचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोही अनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चखुंतीर्थमा बालुवा लिन पठाउँछ । ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनाका कारण खोज्न थाले । उनले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाएँ । भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ संवत् चलाएको मान्यता रहेको छ । रासस
७ बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?
काठमाडाैं । गत आर्थिक वर्षको नाफाबाट विभिन्न ६ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), ग्लोबल आइएमई बैंक र सानिमा बैंक रहेका छन् । हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा सबैभन्दा धेरै बैंक अफ काठमाण्डूकाे रहेकाे छ । बैंककाे असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा दाेस्राे धेरै लाभांश दिनेमा ग्लोबल आइएमई बैंक रहेकाे छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हाे । लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा तेस्राे धेरै लाभांश दिनेमा कुमारी बैंक रहेकाे छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले कात्तिक २१ गते साधारण सभा बोलाएको छ । यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो । सानिमा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे ।बैंकको गत शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, निफ्रा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजे बोलाएको छ। बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हालको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।