विकासन्युज

स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

काठमाडौं । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युतभार कटौतीका सूचना सार्वजनिक हुन्थ्याे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथे । समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिका कारण २०७३ सालको लक्षमी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट विद्युतभार कटौती अन्त्य भयो । सरकारले जनताका सामु गरेको वाचालाई पूरा गर्यो । त्यो वाचा पूरा गराउन हालका अर्थमन्त्री एवम् तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलकदमी पनि उत्तिकै महत्वपूर्ण थियो । प्राधिकरणको नेतृत्वमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाह गरेकाे भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । नेपालबाट अब विद्युत्भार कटौती इतिहास भएको छ । विद्युत्भार कटौती मात्रै इतिहास भएको छैन, तिहारमा भारतीय बजारबाट खरिद गरेर ल्याइने बिजुली पनि अब आयात हुन बन्द भएको छ । नेपाल र नेपाली क्रमशः ऊर्जामा आत्मनिर्भर बन्दैछन् भन्ने अवस्थामा पुगिएको छ । सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ । लक्ष्मी पूजा बत्ती बाल्ने दिन । लक्ष्मीको आराधना गर्ने दिन । त्यस दिन देशभर कूल एक हजार तीन सय पाँच मेगावाट बराबरको बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । देशभर बिजुलीको के कति माग छ भन्ने कुराको खास मापन गर्ने दिनका रुपमा यस यस दिनलाई लिइन्छ । आन्तरिक रुपमा क्रमशः बिजुलीको मागमा वृत्ति हुँदै गएको छ । गत वर्षको तिहारमा अधिकतम बिजुली खपत एक हजार दुई सय मेगावाट बराबर थियो । यस आधारमा गत वर्षभन्दा एक सय पाँच मेगावाट थप बिजुली खपत भएको छ, यस वर्ष । यस्तै, गत असार २८ गते अधिकतम बिजुली खपत अर्थात् पिक लोड एक हजार सात सय ४७ मेगावाट रहेको थियो । काठमाडौं उपत्यकामा तीन सय ४२ मेगावाटको हाराहारीमा अधिकतम माग देखिएको प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको दिनसमेत प्राधिकरणले तीन सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सोमबार निजी क्षेत्रका ऊर्जा उद्यमीका आयोजनाबाट प्रणालीमा सात सय ६७ दशमलव पाँच मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो । यस्तै प्राधिकरणका सहायक कम्पनीका आयोजनाबाट कूल चार सय ८२ दशमलव दुई मेगावाट उपलब्ध भएको थियो । प्राधिकरणका अर्धजलाशयुक्त आयोजनाबाट चार सय ३५ मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो । यस आधारमा भारतमा समेत निर्यात गरेको जोड्दा एक हजार छ सय ६८ मेगावाट बिजुली कूल खपत भएको देखिन्छ । लक्ष्मी पूजाको दिनसमेत कूल दुई सय मेगावाट बिजुली खेर गएको छ । विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यका र २०७५ साल वैशाख ३१ ग्तेदेखि देशभर नै विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पछिल्ला दिनमा गुणस्तरीय बिजुली उपलब्ध गराउने प्रयास गरिरहेको छ । बिजुलीको खपत बढाउने अभियान पनि निरन्तर जारी छ । यद्यपि अपेक्षित रुपमा बिजुलीको माग भने बढ्न नसकेको गुनासो पनि उत्तिकै आउने गरेको छ । सोमबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरि विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । विगतका वर्षहरुमा लक्ष्मी पूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मी पूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत् केन्द्रसमेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ । यस वर्षको लक्ष्मी पूजाको पिक समयमै तीन सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र दुई सय मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ । ‘विगतमा लोडसेडिङ हुँदा लक्ष्मी पूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरू बेला नै पिक डिमान्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन्, फेरि तराइमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकाले अहिले विद्युत् माग नआउने समयका रुपमा लिइन्छ । उहाँले आन्तरिक रुपमा विद्युत् खपत बढाउनु ठूलो चुनौती रहेको बताए । प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी रहेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमान्ड एक हजार छ सय ८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड तीन सय ४२ मेगावाट छ । गत वर्ष तीन सय २० मेगावाट थियो । प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । रासस

झिलिमिली विद्युत् चुहावट भई दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

दाङ । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर, दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिए । महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । घटना विवरणसहित क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उनले बताए । आगलागीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ । लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आगो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आगोले खरानी भयो । कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाखसहित सबै फर्निचर जलेको फर्निचर सञ्चालक रुपनारायण शर्माले बताए । रासस

पाल्पाको रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

रामपुर । हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ । रामपुमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्ँलिदै छ । नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले अस्तव्यस्त बनेको यहाँको बसपार्क हिउँदमा धुलो उड्ने, वर्षायाममा हिलाम्य भएर आवतजावतमा नै सास्ती खेप्नु परेको समस्या बताउनुहुदै यस क्षेत्रलाई व्यवस्थापन गर्न सुझाव दिएका छन् । ‘सहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा धेरै यात्रु आवतजावत गर्ने बसपार्कको अवस्था लाजमर्दो रहेको छ’, उनले भने, ‘यसलाई स्तरोन्नति गरेर व्यवस्थापन गर्नु जरुरी छ ।’ नगर बसपार्क परिसरमा नयाँ टिकट काउन्टर भवनबाट हालै काम सञ्चालन गरिएको छ । सो कार्य सुरुआतका अवसरमा सहभागी सरोकारवालाले विभिन्न ठाउँबाट यात्रु आउने क्रम बढेकाले गाडीबाट ओर्लने रामपुरको पहिलो मुख्य ठाउँ नै बसपार्क व्यवस्थित नहुदा सकारात्मक सन्देश बाहिर नजाने बताएका छन् । समितिलाई बसपार्कमा आवश्यक पूर्वाधारसहितको संरचना तयार पार्न पर्याप्त बजेट अभावमा चुनौती देखिएको छ । आर्थिक अभावमा बसपार्कले गति लिन नसकेको र यसै आर्थिक वर्षमा नगरपालिकाबाट परेको बजेटले स्तरोन्नतिका कार्यहरु हुने बताउँछन्, नगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ । यसभन्दा अघि नगरपालिकाबाट प्राप्त सानो रकमबाट ठूलो काम नदेखिने भए पनि यहाँ सामान्य संरचनाहरु तयार भएका छन् तर व्यवस्थित बनाउन भने नसकिरहेको अध्यक्ष श्रेष्ठ बताए । सुन्दर सहरको परिकल्पनासहित अगाडि बढेको रामपुर नगरपालिकामा व्यवस्थित बसपार्क नहुँदा आमनागरिकको चिन्ताको विषय बनेको हुँदा जतिसक्दो स्तरोन्नतिमा सम्बन्धित निकायको ध्यान जानुपर्ने नेकपा एमाले रामपुर–५ का वडा कमिटी अध्यक्ष मीनराज रेग्मीले बताए । सवारी साधन बिसौनी ठाउँ राम्रो नहुदा वर्षायाममा हिलाम्य भएर गाडी डोजर लगाएर तान्नुपर्ने अवस्थासमेत व्यवसायीले झेलिरहेका छन् । रामपुरमा यातायातका साधन थपिँदै गएको अवस्थामा बसपार्क स्तरोन्नति नहुँदा सवारी साधन पार्किङमा समस्या देखिएको बताउँछन्, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मौलिक सहरका रुपमा विकास गर्नका लागि सहरी विकास मन्त्रालयबाट २६ करोड ७१ लाख रुपैयाँ बजेट क्रमागत परेकोमध्ये चार करोड २६ लाख रुपैयाँ रकमबाट बसपार्क व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा काम हुने बताउँछन् । ‘बसपार्कलाई विनियोजन भएको रकम यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हुँदा अब जतिसक्दो चाँडो व्यवस्थित रुपमा यहाँ आवश्यक पर्ने संरचना तयार हुनेछन्’, नगरप्रमुख थापाले भने । बजार क्षेत्रमा यत्रतत्र पार्किङ गरेर राख्ने, तोकिएको ठाउँबाहेक गाडी मनपरी ठाउँबाट यात्रु चढाउने र ओराल्ने कार्य भइरहेको हुदा यस कार्यमा सम्बद्ध यातायात व्यवसायी जिम्मेवार बन्नुपर्ने नगरप्रमुख थापाको भनाइ छ । रामपुर बसपार्कबाट दैनिकजसो करिब दुई सय यात्रु अन्यत्र जाने गरेको पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी नारायण रेग्मी बताउँछन् । बिहान ५ः३० देखि ६ः०० बजेसम्म नम्बरअनुसार दैनिक सवारी साधन यहाँबाट लामो तथा छोटो दूरीका लागि छुट्ने गर्दछन् । बसपार्कमा बसको ६० रुपैयाँ र जिपको ४० रुपैयाँ पार्किङ शुल्क तोकिएको छ । बेझाड बजारको मुख्य चोकमा अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राखिन्थ्यो । जनघनत्व बढ्दै जाँदा यहाँ बसपार्कको अवधारणा ल्याएर सिमलीघारी क्षेत्रमा बसपार्क राख्ने सर्वपक्षीय निर्णय भएपश्चात् २०६९ सालदेखि यहाँबाट सवारी साधन पार्किङ गरी छुटाउन थालिएको हो । रामपुरमा बसपार्क सञ्चालन गर्नका लागि विसं २०६७ मा तत्कालीन नगर विकास समितिले एक लाख ५० हजार रुपैयाँ रकम उपलब्ध गराएपछि हालको रामपुर नगरपालिका–५ स्थित सिमलीघारी क्षेत्रमा काम थालनी गरी क्रमिक रुपमा बसपार्क निर्माणको काम थालनी गरियो । समितिले पहिलो चरणमा रु दुई लाख २० हजारको काम ग¥यो भने दोस्रो चरणमा तत्कालीन वडा नागरिक मञ्चको जिम्मेवारीमा ७५ हजार रुपैयाँ उपलब्ध भई काम गरियो । त्यसपश्चात् २०७४ को स्थानीय तहको निर्वाचन सकिएपछि नगरपालिकाबाट पाँच लाख रकम विनियोजन गरिए पनि उपभोक्ता समितिले काम नगरेपछि रकम फिर्ता भयो । ०७६ मा नगरपालिकाबाट प्राप्त आठ लाख रकमले बसपार्कको जग्गा वर्गीकरण, झाँडी फँडानी, रूखबिरुवा कटान तथा गिट्टी बिच्छाउने जस्ता काम गरियो । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाबाट प्राप्त रु पाँच लाख रकम र जनसहभागिता ९० हजार रकमले यात्रु बस्ने एकवटा ट्रस्टसहित टिकट काउन्टर भवन निर्माणको काम गरिएको छ । रामपुरबाट दैनिक रुपमा सदरमुकाम तानसेन, बुटवल, कावासोती, नारायणघाट, पोखरा, मुग्लिङ, काठमाण्डौँ लगायतका स्थानमा सवारी साधन छुट्ने गर्दछन् । पश्चिम नेपाल यातायात प्रालि, नमस्ते रामपुर यातायात प्रालि, श्रृङ्गा तथा स्थानीय यातायात कम्पनी, गण्डकी यातायात गल्याङ, लेकबेसी यातायात प्रालि र श्रीनगर यातायात कम्पनीका सवारी साधन यहाँ ओहोरदोहोर गर्दछन् । चार जिल्ला पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्व नवलपुर को मुटु भनेर चिनिने रामपुर बसपार्क व्यवस्थित नहुँदा यात्रु तथा व्यवसायीलाई सकस भएको छ । बसपार्क व्यवस्थित नभएपछि सवारीधनीले यहाँ गाडी खासै पार्किङ गरेर राख्दैनन् । चारैतिर खुल्ला रहेको हुदा बजारका छेउ, होटल तथा घरमा लगेर पार्किङ गर्न व्यवसायी बाध्य छन् । खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य ठाउँमा आवतजावतमा समस्या अर्कोतर्फ चारै दिशा खुल्ला रहँदा यहाँको बसपार्क असुरक्षित बनेको छ । रासस

पाल्पाको अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो । यस क्षेत्रमा चार/पाँच ठाउँमा ठूला–ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हँुदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडक खुलेपछि धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर सोतीले जानकारी दिएका छन् । करिब एक दशकअघि खुलेको सडक व्यवस्थित तरिकाले स्तरोन्नति नहँुदा पानी परेपछि निस्दी–१ बाकामलाङका वडावासीले गाउँपालिकाको कार्यालयमा पुग्न रामपुर नगरपालिकाको बाटो भएर जानुपर्ने समस्या बर्सेनि झेल्दै आइरहेको चेतन पुलामीको गुनासो छ । नमस्ते रामपुर यातायात प्रालिले बाकामलाङको छपाक्दीसम्म दैनिक जिप सञ्चालन गर्दै आए पनि पहिराका कारण आनन्दीभन्ज्याङसम्म मात्रै सवारी साधन सञ्चालन गर्दै आएको थियो । पहिरो हटाइएपछि गाउँमै सवारी साधनमा आवतजावत गर्न पाउँदा धेरै सहज भएको वडा सदस्य प्रताप सिं थापाले बताएका छन् । रासस

व्यवसायिक जीवनमा रुची राख्नेहरुले तिहार बिदामा कस्तो पुस्तक पढ्ने

काठमाडौं । नेपालीहरुको महान चाड ‘दिपावली’को अवसरमा १ हप्ताको लागि आजबाट सार्वजनिक विदा शुरु भएको छ । पर्व मनाउनका लागि सरकारले प्रदान गरेको विदाको प्रभाव व्यवसाय तथा उद्यमको क्षेत्रमा पनि झण्डै समान हिसाबले पर्न जान्छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा काम गरिरहेकाहरुले यो १ हप्ताको समयलाई आ–आफनो तरिकाले सदुपयोग गर्ने गर्दछन् । उद्यम तथा व्यवसायमा रुची हुने र भोलीको दिनमा व्यवसायिक तथा उद्यमी जीवन बिताउन चाहने व्यक्तिहरुको लागि विदाको समयमा पर्वसँगै पुस्तक अध्ययन पनि उचित हुनसक्छ । विश्वव्यापी रुपमा ख्याती कमाएका अर्थराजनीतिक, व्यवसायिक तथा उद्यमसँग सम्बन्धित विभिन्न पक्षपाटोको ज्ञान लिनको लागि निम्न पुस्तकहरु तिहारको विदामा पढ्न सान्दर्भिक हुन्छ । ‘दि इन्टेलिजेन्ट इन्भेस्टर’ ब्रिटिसमा जन्मिएका अर्थशास्त्री तथा प्राध्यापक एवं अमेरिकी लगानीकर्ता बेन्जामिन ग्राहमद्वारा लेखिएको पुस्तक हो ‘दि इन्टेलिजेन्ट इन्भेस्टर’ । १९४९ मा प्रकाशित भएको सो व्यवसायिक लगानीको क्षेत्रमा प्रख्यात पुस्तक हो । ग्राहमले लेखेको सो पुस्तकलाई वारेन बफेटले समेत आफ्नो व्यवसायिक पथ पदर्शकको रुपमा ग्रहण गर्ने गर्दछन् । सो पुस्तकले व्यक्तिगत रुपमा व्यवसायको विकास गर्न र पुँजी वृद्धि गर्न खोजिरहेका व्यक्तिहरुलाई वास्तविक वित्तीय सल्लाह गर्ने मानिन्छ । ‘स्टिभ जब्स’ वाल्टर आइज्यकसनले लेखेको ‘स्टभ जब्स’ अमेरिकी व्यसायी एवं एप्पलका सह–संस्थापक स्टिभ जब्सको जीवनीमा आधारित पुस्तक हो । बेन्जामिन फ्रान्कलिन र अल्बर्ट आइन्स्टाइनको सबैभन्दा धेरै बिक्री हुने जीवनीहरु लेख्ने सिएनएन र टाइमका पूर्व कार्यकारी वाल्टर इसाक्सनले सो पुस्तक लेखेका हुन् । लेखकले स्टिभ जब्सको परिवार, नातागोता, साथीभाई लगायत सयौं मानिसहरुसँग छलफल गरेर सो पुस्तक तयार गरेका हुन् । पुस्तकमा प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएका जब्सको विषयमा लेखिएको छ । ‘धनी बुवा गरिब बुवा’ ‘धनी बुवा गरिब बुवा’ (रिच ड्याड पुअर ड्याड) रोबर्ट कियोसाकी र स्यारोन लेक्टरद्वारा लिखित विश्वमा नै चर्चित अंग्रजी पुस्तक हो । वित्तीय स्वतन्त्राको विषयमा वकालत गर्ने सो पुस्तकमा कसरी लगानी गर्ने र व्यापारलाई कसरी प्रवद्र्धन गर्ने विषयहरु समेटिएका छन् । ‘क्रियटिभिटी इंक’ अंग्रेजी भाषामा लेखिएको सो पुस्तक एडविन कंटमुल र एमी वालेसले लेखेका हुन् । व्यवसाय तथा उद्यम क्षेत्रमा सिर्जनशिल व्यवस्थापनको विषयमा सो पुस्तका विभिन्न कोणबाट विषय प्रस्तुत गरिएको छ । पिक्चर एनिमेसनको सह–संस्थापक तथा अध्यक्षको रुपमा आफ्नो अनुभवलाई संगालेर एडविन कंटमुलले पुस्तकमा केही गहिरा प्रकृया र विश्वासको बारेमा उल्लेख गरेका छन्, जसले पिक्चर्सलाई सफल बनाएको थियो । उनको टिमको दर्शनलाई अन्य कुनै पनि व्यवसायमा रचनात्मक रुपमा प्रयोग गर्न सकिन्छ । ‘दि पावर अफ ह्याविट’ यो पुस्तक अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका रिपोर्टर चाल्र्स डुइगले लेखेका हुन् । यो पुस्तकले बानी व्यवसाय, समुदाय र हाम्रो व्यक्तिगत जीवनमा सफलताको मुख्य कारण भएको तर्क गरेको छ । विभिन्न व्यवसायी, राजनीतिक व्यक्ति, खेलाडीहरुको सफलताको उदाहरण प्रस्तुत गर्दै सो पुस्तकले सफलता हासिल गर्न बानीको महत्वपूर्ण भूमिका हुने दर्शाएको छ । पुँजी (दास क्यापिटल) १९औं शताब्दिका विश्वका चर्चित राजनीतिक तथा दार्शनिक व्यक्ति कार्ल माक्र्सद्वारा लिखित पुस्तक हो पुँजी । यो पुस्तकमा पुँजी र पुँजीवादको विश्लेषण गरिएको छ । माक्र्सले सन् १८६७ मा लेखेको यो पुस्तकले संसारमा रहेको अर्थराजनीतिक विचारधारालाई नै हल्लाइदिएर विश्वभरी नै शोषित वर्ग, किसान तथा मजदुरहरुको आन्दोलनको लागि प्रेरणा प्रदान गरेको थियो ।

विकास बैंकको नाफा ३० प्रतिशत घट्यो, सांग्रिलाको १३७ प्रतिशत बढेपनि मुक्तिनाथ अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको समग्रमा ३० प्रतिशत भन्दा बढी नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विकास बैंकहरुको खुद नाफा ३०.३७ प्रतिशत घटेर १ अर्ब ८ करोड ८२ लाख ७० हजार रुपैयाँ मात्रै आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी ११ बैंकले १ अर्ब ५६ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । असोज मसान्तसम्ममा विभिन्न ४ वटा विकास बैंकको नाफा भने बढेको छ । जसमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४२ प्रतिशत बढेर २० करोड ९१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, प्रतिशतका हिसावले सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १३७ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा बैंकले ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, गरिमा विकास बैंकको नाफा ४.८३ प्रतिशत बढेर १९ करोड ३३ लाख २८ हजार रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत बढेर २ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विभिन्न ७ वटा बैंकहरुको नाफा घटेको छ । जसमा २ वटा बैंक नोक्सानीमा छन् । लुम्बिनी विकास बैंकको ६६.६७ प्रतिशत घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकको नाफा पनि घटेको छ । बैंकले गत वर्षको तुलनामा ११ प्रतिशत घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकको नाफा घटेपनि सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस्तै, ज्योति विकास बैंकको ५४ प्रतिशत घटेर १० करोड ९९ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ४८ प्रतिशत घटेर ११ करोड ९३ लाख ३९ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ७६ प्रतिशत घटेर ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् । यस अवधिमा ग्रीन डेभलपमेन्ट बैंक १ करोड ७८ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा छन । गत वर्षको सोही अवधिमा बैंकले ६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको नोक्सानी बढेको छ । बैंक गत वर्ष ८ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा थियो भने बढेर १ करोड ६७ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

व्यवस्थित र पर्यटकीय पहिचान बोकेको बनेपा बनाउनुपर्छ भनेर काम गरेका छौं : मेयर शाक्य

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा शान्ति रत्न शाक्य बनेपा नगरपालिकाको प्रमुखमा निर्वाचित भए । निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि निरन्तर सक्रियताका साथ लाग्ने प्रयत्न शाक्यले गरिरहेका छन् । शाक्य शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतको क्षेत्रलाई व्यवस्थित गरी बनेपालाई व्यवस्थित सहर बनाउने योजनामा अगाडि बढेका छन् । बनेपामा कसरी काम गर्ने, कुन योजनालाई बढी प्राथमिकता दिने, नागरिकहरूका समस्या के कस्ता छन् लगायत विषयहरू उनलाई राम्रोसँग आँफूले बुझेको बताउँछन् । प्रस्तुत छ, उनै मेयर शाक्यसँग नगरको विकास, प्राथमिकताका विषय, उद्यमशीलता र व्यवसायिक क्षेत्रको विकासमा पालिकाको योजना र कार्यक्रमका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं निर्वाचित भएर आएको ५ महिना जति भयो, यो अवधिमा के–के काम गर्नसक्नुभयो ? सर्वसाधारणले अनुभुति गर्ने खालका काम पनि भए की ? हो, हामी निर्वाचित भएर आएको ५ महिना भयो । यो अवधिमा धेरै विकास निर्माण सम्बन्धी कामको शुरुवात भएका छन् । जनताले अनुभूति गर्ने कामहरू पनि हुँदैछन् । अहिले नगर क्षेत्रको कोर एरिया भित्र अपाङ्ग मैत्री फुटपाथलाई व्यवस्थित गर्ने काम गरिरहेका छौं । राजमार्ग छेउ–छेउमा वृक्षारोपण गर्ने काम गरेका छौं । राजमार्गलाई लक्षित गर्दै अहिले स्मार्ट लाइटको पनि जडान गरिरहेका छौं । सो लाइट प्रत्येक वडामा पनि जडान गर्ने लक्ष्य लिएका छौं । निर्वाचित भएर आइसकेपछि नगरका विभिन्न ठाउँमा लगभग ३ सय लाइटको जडान गरेका छौं । प्रत्येक वडामा स्मार्ट लाइटको जडान गर्ने नगरको उद्देश्य छ । डुबानको समस्यालाई धेरै हदसम्म समाधान गरेका छौं । वर्षौं देखि बनेपाबासीको आशाको रूपमा रहेको काभ्रेको एकीकृत खानेपानी योजना लामो समय देखि अलपत्र अवस्थामा थियो । निर्वाचनको दौरानमा जनता सामु ४ महिना भित्र पानी ल्याउँछौं भनेर प्रतिबद्धता पनि जनाएका थियौं । हामीले ३ महिना नहुँदै सो पानी ल्याएर नागरिकको घर आँगनमा पुर्याएका छौं । यस्ता सयौं योजनाहरुको काम अगाडि बढाएका छौं । सबै विकासका कामहरू एकै चोटि सम्पन्न हुने कुरा पनि भएन । क्रमिक रूपमा विकासका कामहरुलाई अगाडि बढाउँदै छौं । हाम्रो नगरपालिकामा पहिला फुटपाथमा नै ठेला गाडा राखेर व्यापार गर्ने समस्यालाई हटाइरहेका छौं । यसमा व्यवसायीहरुले पनि साथ दिएका छन् । नगर भित्रको हलसम्म हुइल चियर जान सक्ने व्यवस्था गरेका छौं भने अपाङ्ग मैत्री शौचालय पनि नगरपालिको कम्पाउन्ड भित्रै बनाइरहेका छौं । सर्वसाधारण भएर काम भएन भन्नु र पदमा गइसकेपछि काम गर्नुमा कतिको फरक पाउनु भयो ? बाहिर बसेर यो भएन, यस्तो गरेको भए राम्रो हुन्थ्यो भनेर आवाज निकाल्न सजिलो छ । नभएको कामलाई भएन भनेर आवाज निकाल्नु राम्रो पक्ष्। पनि हो । तर, काम गर्ने ठाउँमा बसी सकेपछि ऐन, नियम कानूनलाई नाघेर काम गर्न सकिँदैन । विधि अनुसार निर्णय प्रकृयाबाट काम गर्नुपर्ने हुन्छ । त्यसैले सर्वसाधारण भएर काम भएन भन्नु र जिम्मेवारीमा रहेर काम गर्नु भिन्नता हुन्छ । बनेपा नगरपालिकामा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने के–कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ? व्यवस्थित शहरको विकासका लागि आधारभूत सडक सञ्जाल लगायतका पूर्वाधारलाई लिइन्छ । सडक नभई सहरलाई व्यवस्थित गर्छौं भनेर लाग्यो भने त्यो व्यवस्थित सम्भव हुँदैन । अहिले नगरपालिकाले सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएको छ । यो वर्ष २ सय भन्दा बढी योजनाका कामहरू नगर भित्र गर्दै छौं । यसमा साना देखि ठुला सबै किसिमका योजनाहरू समावेश गरिएको छ । यो सँगसँगै प्रदेशका पनि सबै भन्दा बढी योजनाहरू हाम्रो नगर भित्र छ । यसले गर्दा पूर्वाधार निर्माणको काम हुनेवाला छ । बढ्दो सहरीकरणलाई व्यवस्थित गर्नको लागि ढल बिजुली, खानेपानी लगायतका विषयहरु पनि हुन्छन् । प्लटिङ भइरहेको क्षेत्रमा व्यवस्थित बसोबास व्यवस्थापन गर्न खोजिरहेका छौं । चालु आर्थिक वर्षको बजेट खर्च हुने प्रकृयाको शुरुवात भैसकेको छैन् । किनभने बजेट सार्वजनिक गरेपछि चाडपर्व आयो, संघीय र प्रदेश तहको निर्वाचन हुँदैछ । बजेट पास गरे पनि निर्वाचनको आचार संहिताले काम गर्न सक्दैनौं । चुनावको पछि नगरको विकास निर्माणको काम तिव्रतामा अगाडि बढ्छ । साँगादेखि २८ किलो भन्ने ठाउँसम्म करिब ६ किलोमिटर केन्द्रीय सरकारको बजेटमा ४ लेनको सडक बन्दै छ । बनेपाको चोकबाट नाला हुँदै भक्तपुर जाने बाटो पनि बन्दै छ । यी सडकहरु पनि विस्तार तथा स्तरोन्नती भयो भने थप सहज हुन्छ । अहिले पालिकाहरुमा फोहोर व्यवस्थापनको विषयलाई ठूलो चुनौतिको रुपमा लिएको पाइन्छ । तपाईंहरुले नगर भित्रको फोहोर व्यवस्थापनलाई कसरी कार्यान्वयन गर्नुएको छ ? हामीले फोहोर मैलाको व्यवस्थापन आफ्नै किसिमले गरिरहेका छौं । हिजोका दिनमा सबै पालिकाहरूको एकै ठाउँमा जम्मा गरे फोहोर विसर्जन गर्न लाने चलन थियो । अहिले हामी वडामा नै फोहोर व्यवस्थापन गर्ने तर्फ लागेका छौं । वडामा उत्पादन भएको फोहोर वडामा नै व्यवस्थापन गर्नको लागि योजनाहरू अगाडि सारेका छौं । निर्वाचित भएर आएको २ महिनापछि देखि नै नगर भित्र फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रशिक्षण चलाएका थियौं । सबै भन्दा बढी फोहोर भान्साबाट निस्कन्छ । जसले दुर्गन्ध पनि फैल्याउँछ । प्लास्टिक कागज आदिबाट दुर्गन्ध आउँदैन । घरबाट निस्किएको फोहोर घरमा नै व्यवस्थापन गर्नको लागि हामीले घर–घरमा कम्पोस्ट मल बनाउने प्रशिक्षण दियौं । बनेपाको कोर एरिया वडा नं. ७, ८, ९ बढी बसोबास छ । सबै भन्दा बढी फोहोर पनि सोही क्षेत्रमा उत्पादन हुन्छ । त्यसैले त्यो एरियामा सोही योजनाहरू अगाडी सार्यौं । हामीले नगर भित्रको फोहोरलाई नगर भित्र नै व्यवस्थापन गरी यहाँको फोहोरलाई बाहिर नपठाउने तरीकाले काम गरिरहेका छौं । भान्साको फोहोरलाई व्यवस्थापन गर्न सक्यौं भने बाँकीलाई कच्चा पदार्थको रूपमा बेच्न सक्छौं । खानेपानीको बोतलका कारण पनि सहर फोहोर भइ रहेको छ । किनभने पानी खायो, बोतल फाँक्यो । त्यसैले पानी उत्पादन गर्ने कम्पनीहरूले नै सोही बेतलाई पुनः प्रयोगका लागि लैजान भनेका छौं । एक वर्ष भित्रमा नगर भित्र व्यवस्थापन गर्न सक्ने जति फोहोरको व्यवस्थापन नगरमा नै गर्छौं । अहिले हाम्रो नगरको फोहोर पनि बन्चरे डाँडामा नै व्यवस्थापन हुँदै आएको छ । नगर क्षेत्र भित्र अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्री पनि भइरहेको देखिन्छ । यसलाई व्यवस्थित बनाउन नगरपालिकाले कसरी काम गरिरहेको छ ? नेपाल सरकारले पनि अहिले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । अहिले घर जग्गा व्यवसायीहरूले आफूखुसी जग्गाको प्लटिङ गरिरहेका छन् । नगरपालिकालाई जानकारी नगराई धेरै मानिसहरुले जग्गाको खरीद बिक्री गरिरहेका छन् । जग्गाको प्लटिङ गर्ने क्रममा डाँडा खारेर घडेरी बनाउँदा माटो बगेर खोलाको सतह माथि बढी रहेको छ । त्यसलाई नियन्त्रण गर्नको लागि नगरपालिकासँग स्वीकृति नलिइकन जग्गा प्लटिङ गर्न नदिनु भनेर प्रत्येक वडालाई भनेका छौं । प्लटिङ गरे पनि जग्गाको वरपर वाल लगाएर प्लटिङ गर्नु होस् भनेका छौं । नगरपालिकामा जग्गा वर्गीकरणको काम भइरहेको छ । तर पछिल्लो समयमा नगरभित्र प्लटिङको काम नगन्य मात्रामा भइरहेको छ । विभिन्न जगंल छेउछाउमा पनि प्लटिङ हुने कटान हुने काम भइरहेको देखिन्छ नी ! के त्यस्तो संवेदनशील ठाउँमा प्लटिङ रोक्नुपर्दैन ? हामी अब यस्ता ठाउँमा प्लटिङ गर्न दिदैनौं । नगरले प्लटिङ लागि स्वीकृत गरे पछि मात्र उनीहरूले सो काम गर्न पाउँछन् । हामी निर्वाचित भएर आउनु भन्दा अगाडि नै सुरु गरेका प्लटिङको काम रोक्ने कुरा आएन । तर, त्यसलाई आवश्यक पूर्वाधारहरू निर्माण भएपछि मात्र प्लटिङका जग्गा घडेरीको रूपमा बिक्री गर्न स्वीकृत दिने छौं । बनेपाले व्यवसायिक क्षेत्र विकासको पनि प्रवल सम्भावना बोकेको छ । सो विषयमा कसरी काम गर्नुभएको छ ? बनेपालाई धेरै पहिलादेखि नै यातायातको हब भनेर पनि चिनिन्छ । अर्को विषय बनेपा व्यापारिक हब पनि हो । काठमाडौंबाट यता आइ सकेपछि जति पूर्व तिर ठुला व्यापार हुन्छ, त्यो सबै बनेपासँग जोडिएको हुन्छ । अरनिको र बिपी राजमार्ग बनेपासँग जोडिएको छ । बनेपा व्यावसायिक क्षेत्रका रूपमा पनि अगाडि बढी रहेको छ । काठमाडौं पछि व्यवस्थित गर्न सकिने पालिका नै बनेपा हो । यहाँ प्रशस्त मात्रमा उद्योगहरू पनि खुलीसकेका छन्, धेरै उद्योगहरू विस्तार भइरहेका छन् । पुर्वधार विकासमा पनि नगर नै अगाडि छ । बनेपाको पूर्वाधार, शिक्षा, स्वास्थ्यको सुधार र पर्यटन विकासमा तपाईंको जोड कत्तिको छ ? कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ? हाम्रो नगरपालिकाले यी सबै क्षेत्रहरूलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ । शिक्षित समाजको विकास हुन सकेन भने हरेक क्षेत्रमा पछि परिन्छ । त्यसैले शिक्षाको गुणस्तर वृद्धिमा नगर लागेको छ । करिब १५ वटा सरकारी माध्यमिक विद्यालयहरू नगरपालिका भित्र छन् । ती बाहेक प्राइभेट विद्यालयहरू धेरै छन् । सरकारी विद्यालयको स्तर बढाउनको लागि पाइलट प्रोजेक्टको रूपमा ४ वटा स्कुललाई विशेष किसिमले अगाडि बढाउने हाम्रो सोँच छ । हाम्रो नजिकै काठमाडौं विश्वविद्यालय पनि छ । सो विश्वविद्यालयसँग सहकार्य गरेर अटो मोबाइल विषय पढाउने सन्दर्भमा पटकपटक छलफल भइरहेको छ । सोही योजना पनि केही समयपछि अगाडि बढाउने छौं । बनेपा नगरपालिकाको वडा नं. १४ मा २ सय बेडको अस्पताल बन्दै छ । त्यसको लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक काम गरिसकेको छ । ३ वर्ष भित्रमा सो अस्पतालको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं । प्रदेश सरकारको सहयोगमा ५० बेडको आर्युवेद अस्पताल पनि नगर भित्र बन्ने प्रक्रियामा छ । आफ्नै बजेटमा वडा नं. ४ मा १५ बेडको अस्पताल बनाउने सोँच पनि राखेका छौं । त्यसको लागि संघीय सरकारमा पहल गरिरहेका छौं । हाम्रो कार्यकालमा बनेपालाई व्यापारिक र यातायातको क्षेत्र मात्र नभई पर्यटकीय क्षेत्र रूपमा विकास गर्ने र्छौं । कार्यकाल सकिने बेलासम्म पालिकालाई पर्यटकीय हब बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने काम गर्छौं । बनेपादेखि नगरकोटसम्म जोन सडक नगरपालिकाको बजेटमा नै निर्माण हुँदै छ । सो सडक निर्माण भए पछि बनेपाबाट १० किलोमिटरमा दुरीमा नै नगरकोट पुग्न सकिन्छ । पालिकामा सार्वजनिक सम्पत्ति तथा जग्गाहरुमा मोहीको स्वामित्व रहेको र अतिक्रमण भएको अवस्था कस्तो छ ? सार्वजनिक जग्गा तथा अन्य सम्पत्तिहरूमा मोही देशैभरी भएको देखिन्छ । त्यसैले हाम्रो पनि छैन भन्न सकिन्न । गुठी, सार्वजनिक जमिन, जङ्गलका छेउका जग्गा अतिक्रमण नभएका हैनन् । तर, हामी आइसकेपछि यस्तो समस्या देखिएको छैन । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नगरपालिकाको उत्तरदायित्व हो । सार्वजनिक जग्गा हडपेर संरचना बनाउनेलाई कारबाहीको दायरा भित्र ल्याउँछौं । सार्वजनिक जग्गाको संरक्षण गरी पूर्वाधार बनाउने योजनामा पनि रहेका छौं । तपाईंको कार्यकालपछि अर्थात् अबको ५ वर्ष पछि बनेपा कस्तो बन्ला ? हाम्रो लक्ष्य भनेको नगरपालिकालाई व्यवस्थित सहरको रूपमा विकास गर्नु हो । मुख्य गरी देखिने राजमार्ग र भित्री सडकहरू व्यवस्थित हुने छन् । बस्न योग्य व्यवस्थित सहरको रुपमा बनेपालाई विकास गर्छौं । यस भित्र शिक्षा, स्वास्थ्य, बिजुली लगायत सबै विषयमा सम्पन्न अर्थात आधारभूत पूर्वाधारको विकास गर्छौं । साथै ५ वर्षपछि बनेपा पर्यटकीय नगर भनेर पनि परिचित हुनेछ । हेर्नुहोस मेयर शाक्यसँग गरिएको भिडियो अन्तर्वार्ता :

चितवनमा भारतीय माछा बिक्रीमा प्रतिबन्ध

चितवन । चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी संघ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए। मत्स्य व्यवसायी संघ केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतका सरोकारवालाको बसेको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो । ‘हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरिरहेका छौँ, भारतबाट आयात गर्नुपर्ने अवस्था छैन’, सुवेदीले भने, ‘भारतीय माछा बिक्री वितरणमा रोक लगाउन यहाँका सरोकारवाला पक्ष पनि सकारात्मक हुनुहुन्छ ।’ चितवनमा वार्षिक सात हजार मेट्रिकटन माछा उत्पादन भइरहेको तर माग भने वार्षिक चार हजार मेट्रिकटन मात्रै रहेको उनको भनाइ छ । चितवनमा उत्पादन भएको माछा काठमाडौं, पोखरा, गोरखा, लमजुङ, बागलुङलगायतका सहरसम्म जान्छ । माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन २ वर्षयता माछामा आत्मनिर्भर भएकाले भारतीय माछा बिक्रीमा रोक लगाइएको बताए । चितवनका माछा किसान गत भदौ १ गतेदेखि भारतबाट भन्सार छली ल्याइएका माछालाई रोक लगाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । माछा व्यापारीहरुले यसका लागि अर्थमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बु्झाएका थिए । हाल चितवनमा एक हजार पाँच सयभन्दा बढी किसानले सात हजार हेक्टर जलाशयमा माछा पालन गरिरहेका छन् । पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछापालन हुने गरेको छ । चितवनबाट सुरु भएको भारतीय माछा प्रतिबन्धलाई बिस्तारै अन्य जिल्लामा पनि बिस्तार गरिने किसानहरुको भनाइ छ