रकम जम्मा नगरी मोको वालेटबाट पेमेन्ट गर्न सकिन्छ : सरोज बस्नेत
फोकसवान पेमन्ट सोलुसन एक भुक्तानी प्रदायक कम्पनी हो । मोको वालेट वा एपबाट डिजिटल भुक्तानी गर्न सकिन्छ । माेकाेले मोबाइल भुक्तानी प्रणालीमार्फत् कार्डवाहकरुलाई विशेष सेवा प्रदान गर्दै आएको छ । मोको एप प्रयाेग गरेर मोबाइलबाटै भुक्तानी गर्न, टिकट बुक गर्न र मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । साथै, वालेटमा रकम बिना नै डेबिट तथा क्रेडिट कार्डहरू डिजिटल भुक्तानी गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी मोकोले प्रयोगकर्ताको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ । कुनै प्रचार-प्रसार बिना हजारौं ग्राहकलाई सेवा दिईरहेको यस कम्पनीको आगामी योजना र सेवा सुविधाका विषयमा मोको वालेटका हेड अफ बिजनेश अप्रेसन सरोज बस्नेतसँग विकासन्युजका लागि सीआर भण्डारी र राजिव न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत उक्त कुराकानीको सम्पादित अंश : फोकसवान पेमेन्ट सोलुसन्स् अर्थात् मोको वालेट कहिलेबाट सुरु भएको हो ? पहिला पेमेन्ट सिस्टममा पीएसपी तथा पीएसओ थिएन । सन् २०१९ बाट पीएसपी तथा पीएसओ आएको हो । सुरुमा फिन टेकमा एसएमएस जस्ता कामका लागि फोकसवान स्थापित भएको थियो । सन् २०१९ मा राष्ट्र बैंकले चिप बेस कार्डहरु लन्च गर्न निर्देशन दिएको थियो । त्यो बेलामा एससीटीसँग चिप बेस कार्ड थिएन । भिजासँग मात्रै चिप बेस कार्ड थियो । त्यसपछि हामीले एससीटीसँगको पार्टनरसिप छुट्टिएर भिजासँग पार्टनरसिप गरेका हौं । त्यसअघि सन् २०१४ देखि २०१९ सम्म एससीटी कार्ड एड गरेर विभिन्न पेमेन्ट गर्न मिल्थ्यो । माेकाेले सन् २०२० मा चाहिँ पीएसपीको लाइसेन्स पाएको थियो । सन् २०२१ को जुलाईबाट हामीले नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल) र हिमालयन बैंक (एचबिलएल) सँगको पार्टनरसिपमा भिजा कार्ड (डेबिट र क्रेडिट कार्ड) एड गरेको हो । अहिले त्यसैबाट एक्टिभिटिज पे गर्न मिल्छ । अहिले मोको वालेटबाट थुप्रै पेमेन्ट गर्न मिल्छ । जस्तो टप अप, खानेपानीको बिल, विजुलीको बिल, विद्यालयको शुल्क र टिभिको बिल तिर्न पनि मिल्छ । हामीले अब इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्न मिल्ने, ट्राफिक जरिवाना तिर्न मिल्ने गरी सेवा थप्ने तयारी गरेका छौं । क्यूआर पेमेन्ट पनि सहज रुपमा गर्न सकिन्छ । दरबारमार्ग र ठमेल क्षेत्रतिर क्यूआर मर्चेन्ट पनि छन् । एपबाट स्क्यान र पे गर्न मिल्छ । बजारमा थुप्रै वालेट कम्पनीहरु छन्, मोको वालेटले कसरी प्रतिस्पर्धा गरिरहेको छ ? अरु वालेट कम्पनी र मोको वालेटमा फरक छ । अरु वालेटमा रकम जम्मा गर्नुपर्ने हुन्छ । यदि रकम जम्मा नगरेमा बैंक लिंक गर्नुपर्छ । जसरी पनि वालेटमा रकम हुनैपर्छ । मोको भनेको नन् स्टोर भ्यालू वालेट हो । मोको वालेटमा रकम जम्मा गर्नु पर्दैन । यसमा भिजा कार्ड (डेबिट र क्रेडिट कार्ड) लाई एड गरेर रकम लोड नगरि पेमेन्ट गर्न सकिन्छ । अहिले भिजा कार्डबाट मात्रै कारोबार भइरहेको छ । पछि हामीले मास्टर कार्डबाट पनि कारोबार हुने व्यवस्था मिलाउनले छौं । कार्ड प्रयोग गरेपछि मात्रै काटिने भएकाले इन्ट्रेस्ट लस हुँदैन । बैंकमा जम्मा भएको रकम बैंकमा नै सुरक्षित हुन्छ । पेमेन्ट गरेको सयममा मात्रै रकम काटिन्छ । जति पनि वालेट छन्, तिनीहरुमा रकम जम्मा गरेको हुनुपर्छ । तर मोको वालेटमा रकम नहुँदा पनि क्रेडिट कार्डबाट पेमेन्ट गर्न सकिन्छ । क्रेडिट कार्डमा ४५ दिनसम्म पेमेन्ट गर्न लिमिट छ । जस्तो आज खर्च गर्नु भयो भने ४५ दिनसम्म फ्रि क्रेडिट पाउन सकिन्छ । अहिले क्रेडिट कार्ड ठूलाठूला पर्स मेसिनहरुमा मात्रै प्रयोग गरिन्छ । भाटभटेनी वा ठूलाठूला मर्चेन्टहरुमा मात्रै स्वाइप गर्न पाइन्छ । नेपालमा स्वाइप मेसिन १५/२० हजार भन्दा बढी छन् । त्यो बैंकलाई स्पाण्ड गर्न पनि गाह्रो छ । पर्स मेसिन भनेको फिक्स कस्ट हुन्छ । डिभाइसको कस्ट लाग्छ । नेट चाहिन्छ । रेगुलर अप्रेटिङ कस्ट पनि लाग्छ । मोको वालेटबाट अहिले बजारमा संचालनमा रहेका क्यूआर गर्न सकिन्छ । क्यूआरमा नेट पनि चाँहिदैन । पैसा छ भने डेबिट कार्डबाट तिर्दा भयो । डेबिट कार्डमा रकम नभए क्रेडिट कार्डको प्रयोग पनि गर्न मिल्ने भयो । यसले गर्दा बैंकलाई पनि सजिलो हुन्छ । कस्टमरलाई पनि पैसा नहुँदा पनि कारोबार गर्न सकिन्छ । सानो-सानो मर्चेन्टमा पनि आजकाल क्यूआर राखिएको हुन्छ । पसलमा क्यूआर कोड हुन्छ । उसलाई नेट चाहिएन पर्सको क्यूआर कोड रिप्लेसमेन्ट हुनसक्छ । क्यूआर स्टाण्डिङ राखेर पेमेन्ट रिसिभ गर्न मिल्छ । नयाँ स्वाइप स्वाइप मेशिनको ३० हजार रुपैयाँ पर्छ । त्यो ३० हजार बैंकको लागि कस्ट कम भयो । त्यसको सट्टा क्यूआर राख्यो भने क्रेडिट कार्ड र डेबिट कार्डबाट पनि लिन सकिन्छ । मोको एप डाउनलोड गरेर आफ्नो भिजा डेबिड क्रेडिट कार्ड एड गरेर पेमेन्ट गर्न मिल्छ । ९५ प्रतिशत कस्टमरले क्रेडिट कार्ड प्रयोग गर्नु भएको छ । पैसा भएर यसबाट पेमेन्ट गर्नेभन्दा पनि पैसा नहुँदाखेरि क्रेडिट कार्डको प्रयोगले रकम पे गर्न सक्नुहुन्छ । डेबिट कार्डभन्दा पनि क्रेडिट कार्ड बढी प्रयोग भइरहेको छ । अन्तर्राष्ट्रिय ग्राहकहरुले पनि भिजा कार्डबाट पेमेन्ट गर्न सक्नुहुन्छ । भारत, बङ्गलादेश, चाइनाबाट जहाँबाट पनि ग्राहकले मोबाइल एप्लिकेसनबाट पे गर्न सक्नुहुन्छ । सबै बैंकहरुको मोबाइल एपमा नेपाल पे इनएबल भइरहेको छ । मोकोको मर्चेन्टमा भिजा, नेपाल पे, यूनियन पे, आलि पे बाट पेमेन्ट गर्न मिल्छ । यस्तै, स्मार्ट क्यूआर सँग पनि छलफल भइरहेको छ । त्यहाँबाट पनि स्क्यान र पे गर्न सकिन्छ । हाम्रो क्यूआर सिंगल यूनिफाइड क्यूआर जस्तै भइरहेको छ । यसकाे प्रयाेग गर्दा मर्चेन्टहरुलाई ३/४ वटा क्यूआर राख्नुको सट्टा एउटा क्यूआर राखे पुग्ने सुविधा हुन्छ । हाम्रो ग्राहक भनेका बैंकका ग्राहकहरु हुन् । २ लाख बढी क्रेडिट कार्ड होल्डरहरु हुनुहुन्छ । बैंकसँग सहकार्य गरेर यसबाट आम्दानी गर्न सक्नुहुन्छ । सर्वसाधारणले मोको किन चलाउने ? ‘मेक योर एभ्रिडे मोर रिवार्डिङ’ अर्थात् दैनिक कारोबार गरेर थप पुरस्कार जित्नुस् भन्ने छ । मोकोले रिवार्डहरु धेरै दिन्छ । रिवार्ड रिटर्न गर्न मिल्छ । रिवार्डका लागि हामीले छुट्टै सिस्टम मिलाएका छौं । जस्तै, आफूसँग रकम नभएको बेला बत्तिको बिल तिर्न सकिन्छ, क्रेडिट कार्डबाटै सहज रुपमा तिर्न सकिन्छ । नेपाल विद्युत प्राधिकरणको बिल तिर्न स्वाइपको काम छैन । तर प्राधिकरणलाई तत्काल दिनुपर्ने हुन्छ । नगद बाट नै तिर्नुपर्ने हुन्छ वा वालेटबाट नै तिर्नुपर्ने हुन्छ । तर मोको वालेटमा रकम जम्मा गरेको छैन भनेपनि क्रेडिट कार्डबाट बिल तिर्न सकिन्छ । क्रेडिट कार्ड होल्डर भएका सेवाग्राहीलाई फाइदा भनेको रकम नभएको बेलामा पनि पेमेन्ट गर्न सकिन्छ । मोकोले कस्ता कस्ता सेवाहरु प्रदान गरिरहेको छ, स्किममा कसरी प्रतिस्पर्धा गरिरहनु भएको छ ? मोकोले ‘उडानमा उमङ्ग, लान्छौं हामी गोसाईकुण्ड’ अफर चलिरहेको छ । यो अफर सेप्टेम्बरदेखि नोभेम्बरसम्म मात्रै हो । हामीसँग २० वटा बैंक सदस्य छन् । २० वटा बैंकबाट कुनै पनि डेबिट वा क्रेडिट कार्डबाट एयरलाइन्सको टिकट काट्यो भने हरेक दिन एकजनाले शतप्रतिशत क्यास ब्याक पाउनुहुन्छ । यस्तै, ६३ दिनको क्याम्पेन छ । ६३ दिनमा यूनिक प्रयोगकर्ताले क्यास ब्याक पाउन सक्नुहुन्छ । साथै बम्परमा १० वटा हेलि राइड टू गोसाइकुण्ड छ । ६३ दनभित्र टिकट काट्नेहरुमध्ये १० जनालाई गोसाईकुण्ड हेलिकप्टरमा घुमाउने स्किम छ । माेकाेले अहिले ल्याएका स्किम यति नै हो । अब नयाँ वर्ष, विश्व कपमा केही नयाँ स्किम ल्याउने तयारी छ । नयाँ ग्राहकलाई पनि थप्नु पर्ने भएकाले बेलाबेलामा स्किम ल्याइरहेका हुन्छौं । हाल मोको वालेट ३५ हजार बढीले प्रयोग गरिहरनु भएको छ । उहाँहरु अर्गानिक ग्राहकहरु हुनुहुन्छ । आफ्नो व्यवसाय प्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? वालेटमा हामी नयाँ हो । हामीले अहिलेसम्म वालेटको मार्केटिङ गरेका छैनौं । हामीले मार्केटिङमा लगानी पनि गरेका छैनौं । सधैं बैंकको कार्ड हुन्छ भन्ने छैन । जस्तो एनआइबिएलमा मात्रै लाइभ गरेर मार्केटमा लाइभ भयाे भनेर पब्लिस नगर्नुको कारण अरु कुनै बैंकको कार्ड छ भने त्यो कस्टमरले एसेप्ट गर्दैन । त्यसैले हामी सबै बैंकसँग जोडिन खोज्दै छौं । त्यसपछि हामी मार्केटमा जाने छौं । अहिले एक जनासँग दुइतीन वटा खाता छन् । त्यसैले उहाँहरुले एउटा न एउटा बैंकको कार्ड लिंक गर्न सक्नुहुन्छ । अहिले २० वटा बैंक लाइभ भइसकेको छ । बाँकी रहेका बैंकसँग तिहारपछि काम हुन्छ । अब हामी मार्केटिङ गर्ने हिसाबले जाने तयारी गरिरहेका छौं । अहिलेसम्म एक वर्षको अवधिमा अर्गानिक ३५ हजार ग्राहक आउनु भनेको राम्रो नै हो । हामी सन्तुष्ट नै छौं । मोको वालेट कति सुरक्षित छ ? मोको पीसीआई डीएसएस सर्टिफाइड पहिलो पीएसपी कम्पनी हो । डाटा सुरक्षामा राम्रो गरेको सर्टिफिकेट हामीले पाएका छौं । हाम्रो डाटा सुरक्षित छ भन्ने सर्टिफिकेट हो । हामीले सबै ऐन नियमलाई नै मानिरहेकोले हाम्रो एप्स सुरक्षित छ । मोको एपमा एड गरेको कार्डको विवरण मात्रै देखाउँछ । मोबाइलमा कार्डको डिटेल्स बस्ने भएकाले अर्काे मोबाइलबाट लगइन गर्याे भने फेरि कार्ड एड गर्नुपर्ने हुन्छ । जस्तो एउटा मोबाइलमा कुनै बैंकको कार्ड एड गरियो । फेरि अर्काे डिभाइसमा लग इन गर्याे भने त्यसमा कार्डको डिटेल देखाउँदैन । त्यसैले ह्याकिङ गर्दा पनि ह्याकिरले सबै कस्टमरको एउटा एउटा ह्याक गर्नुपर्छ । मोबाइल चोरि भइहाल्यो भने अथवा पासवर्ड कसैले थाहा पायो भने पनि लग इन गरेर केही गर्न सक्दैन । सुरक्षाको हिसावमा धेरै राम्रो छ । बजारमा प्रतिस्पर्धी बन्न आगामी योजनाहरु के-के छन् ? नयाँ वर्ष र विश्व कपलाई टार्गेट गरेर अथवा पछि आउने दिनहरुमा ग्राहकलाई कुनै न कुनै फाइदा हुने किसिमको स्किम ल्याउने तयारी छ । अहिले पेमेन्ट गर्ने मात्रै धेरै एप्सहरु छन् । तर मोको एप पेमेन्ट मात्रै नभएर लाइफ स्टाइल एप पनि हो । मोको एपमा डिस्कोभर प्ल्याटफर्म छ । यसमा हाम्रो मर्चेन्ट को को हो, कुन मर्चेन्ट कुन स्थानमा छ भनरे खोज्न मिल्छ । त्यो मर्चेन्टले के–के सेवा दिन्छ, मर्चेन्टमा विशेष के रहेको छ भनेर हेर्न पनि सकिन्छ । मर्चेन्ट कति बजे खुल्छ, ग्राहकले एभरेजमा कति खर्च गर्ने रहेछ, यो पसल केको लागि फेमस छ भनेर यी सबै कुराहरु एड गरेका छौं । नयाँ रेष्टुरेन्ट, नयाँ पसल जानु भयो भने के छ भनेर थाहा हुँदैन । यी सबै कुरा हेरेर त्यहाँ जान सकिन्छ । यसैले नै मोको एप लाइफ स्टाइल एप बनेको हो । एउटा वालेटबाट अर्काे वालेटमा रकम ट्रान्सफर्मर गर्न किन मिल्दैन ? वालेटहरु छुट्टाछुट्टै संस्था भएको हुनालो एउटा संस्थाबाट अर्काे संस्थामा सजिलै पेमेन्ट गर्न सकिदैँन । मुख्य दुई वटा पीएसओ छन् । एनसिएचएलमा केही पीएसओ आवद्ध छन् भने फोन पेमा केही पीएसओ आबद्ध छन् । दुइवटै पीएसओ इन्टर अप्रबेवल भयो भने सम्भव छ । कोही एनसिएचलसँग आवद्ध भएका छन् भने कोही फोन पेमा आवद्ध भएका छन् । मुख्य भनेको दुइवटा पीएसओबीच इन्टर अप्रेटर छैन । त्यो भएर वालेटमा एउटा वालेटबाट अर्काे वालेटमा रकम ट्रान्सफर गर्न एउटा सुपर बडि हुनु पर्छ । कुनै डिस्पियुट आयो भने मिलाइदिन अथोरिटी आवश्यक हुन्छ । आगामी दिनमा राष्ट्र बैंकले त्यो व्यवस्था पनि गरिदिनुपर्छ । कारोबारको सीमा बढाउन आवश्यक छैन ? कारोबारको सीमा बढाउने भनेको सेवाग्राही अनुसार हुन्छ । ठूलाठूला मर्चेन्टमा पेमेन्ट गर्न, इन्स्योरेन्स कम्पनीको प्रिमियम पेमेन्ट गर्न वा लाखौंको पेमेन्ट गर्न मर्चेन्ट स्पेसिफिक बनाउन सकिन्छ । कसैको क्षमता हजार हुन्छ भने कसैको लाखौं हुन्छ । सबैलाई एउटैमा राख्नुभन्दा पनि क्याटागोरीवाइज जुन मर्चेन्टमा बढी पेमेन्ट हुन्छ त्यसको लागि मात्रै बढी कारोबार हुने सिस्टम बनाउन सकिन्छ । अहिले तोकिएको सीमा ओभरलमा ठिकै हो ।
यमपञ्चकको चौथो दिन आज गाई पूजा गरियो
काठमाडौं । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो । हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा प्राप्त गर्ने भएकाले दूध पोषिलो हुनाका साथै गहुँत र गोबरबाट पनि पनि शक्ति प्राप्त हुने भएकाले गाईको महत्वबारे आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैकारण गाईलाई राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षावन्धन डोरो गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधिएको हो । रासस
झिनियाँको माग थेग्नै मुस्किल
रामपुर । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउँनै नसकिँएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन् । रामपुर नगरपालिका– ५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आएकी पूर्वी पाल्पाका पहिलो व्यवसायी उनी माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउँछिन् । ‘एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौँ’ व्यवसायी श्रेष्ठले भनिन् ,’यस पटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्याउन कठिन परिरहेको हो’ । लामो समय झिनियाँ व्यावसायमा बिताएकी उनलाई यसको उत्पादनसम्बन्धी राम्रो ज्ञान छ । पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग यही आउने गर्दछ । घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मेहनत गरियो भने राम्रो सफलता हातपर्ने व्यवसायी श्रेष्ठको अनुभव छ । पहिला एक्लै उत्पादन गर्दै आएकी उनले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर थप उत्पादन गर्दै आएकी छिन् । यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ । यहाँ तिहारको समय मात्र नभइ अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ । उत्पादित झिनियाँ हाल प्रतिदर्जन १०० रुपैयाँ मा फुटकर र होलसेल ९० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ । अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिकरुपले उत्पादन गर्दा र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ’, । व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दशैं र तिहारमा गरेर झिनियाँबाट करिब छ लाख रुपैयाँ बराबरको व्यापार हुने अनुमान छ । उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उनकोे अनुभव छ । पहिला बजारमा झिनियाँ अहिलेजसो प्रर्याप्त मात्रामा पाइँदैनथ्यो । घर घरमा तिहारमा हातले घुमाउने सानो सोँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने काम गरिँदैन । त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् । रामपुर ४ बस्ने माया विक पहिला घरमा आफैले झिनियाँ बनाउने गरेपनि हिजोआज भने बजारबाटै किनेर प्रयोग गर्छिन् । समयमा बजारका पसल र उद्योगमा पनि सहजै पाइने भएपछि बनाउने झण्झट गर्नु नपरेको उनको भनाइ छ । निस्दी गाउँपालिका– ५ गल्धाका व्यापारी तिलक सारु गाउँमा झिनियाँ खोज्ने ग्राहक बढेपछि उद्योगबाट खरिद गरेर व्यापार गर्ने गरेको बताउँछन् । रामपुर– ४ स्थित सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठलाई पनि तिहारको रमझमसँगै झिनियाँ बनाउन भ्याइनभ्याइ छ । झिनियाँ बनाउँदै गर्दा दिन बितेको उन्लाई पत्तो छैन । ‘बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँदा पनि ग्राहकलाई पुर्याउँनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ’ लक्ष्मी भन्छिन्, । विगत छ वर्षदेखि यस व्यवसायमा आवद्ध उनी यस पटकको तिहारमा एक लाख रुपैयाँ बराबरको व्यापार हुने बताउँछन् । घरमै बसेर पनि राम्रो कमाइ गर्न सकिने, व्यापारमा सहजता र बिक्री पनि सजिलै हुने भएकाले व्यावसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको लक्ष्मी बताउँछिन् । झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायमा हिजोआज महिलाको आकर्षण बढ्न थालेको छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डार गरेर बजारमा पठाउन सकिन्छ । गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो भएको छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गर्दै आफ्नो जीविका धानेका छन् । यसले पनि महिलामा परनिर्भरता हट्दै गएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार बाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । चामलको पिठो पकाएर मेसिनको सहायताले झिनियाँ बनाइ सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ । रासस
भोजपुरका किसानमा पशु बीमा प्रभावकारी बन्दै
भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीका अनुसार पशु बीमाप्रति किसान आकर्षित भएको र किसानलाई राहत मिलेको समेत बताए । २०६० माघ १ गतेदेखि लागू हुने गरी बीमा ऐन, २०४९ को दफा ८घ२ अनुसार कृषि विकास मन्त्रालय र बीमा समितिको पहलमा बाली तथा पशुपंक्षी बीमा निर्देशन, २०६९ जारी भई बाली, तरकारी खेती, फलफूल खेती, आलु खेती, पशुधन, पंक्षी र माछालगायत बाली तथा पशु बीमा सुरु भएको हो । कृषकहरूले अभिकर्ताको सहयोगमा उल्लेखित बाली, पशुपंक्षी तथा माछापालन बीमालेखमा तोकिएको शर्त बमोजिम निर्धारित प्रस्ताव फारम भरी आफ्नो व्यवसायको बीमा गराउन सक्छन् । मासु, दुध तथा अण्डाको प्रयोजनका लागि पालिने गाईवस्तुको सुरक्षाको अनुभुति हुने भएकाले पशु बीमाप्रति कृषकहरुको आकर्षण बढेको छ । रोग, आगलागी, भूकम्प, बाढी, पहिरो जस्ता दैवी प्रकोपले कृषि पशुपालन व्यवसायमा लगानी डुब्ने खतराबाट सुरक्षित रहन सकिने भएपछि पछिल्लो समय बीमा गराउने किसानको संख्या दिन प्रतिदिन बढेको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए । बीमाले आफू जस्ता पशुपालक किसानका लागि पशु सुरक्षा र सुविधाको प्रत्याभुति गराएको भोजपुर नगरपालिकाकी राधा बिश्वकर्मा बताउँछन् । बाख्राको बीमा गराउनु भएकी बिश्वकर्माले पनि बाख्रा मरेपछि बीमा रकम लिनु भइको थियो । यस्तै किसान कुसुम खडकाले पनि पशु बीमा जिल्लामा प्रभावकारी भएको बताए । पशुको वास्तविक विवरण दक्ष प्राविधिकबाट पुष्टि भएपछि मात्र बीमा गर्न पाउने प्रावधान छ । पशु बीमा गराउन भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका वडामा कृषि र पशु प्राविधिकहरु सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए । रासस
बर्दिबास अस्पताललाई साढे तीन लाखका स्वास्थ्य सामग्री
महोत्तरी । महोत्तरीको बर्दिबास अस्पतालले धनतेरसका दिन साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्राप्त गरेको छ । पचासभन्दा बढी कोठाको चारतले भवनको अस्पतालले स्वास्थ्य जाँच र उपचारमा आवश्यक उपकरण प्राप्त गरेपछि साधन सम्पन्न बन्दै गएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा समाज विकास केन्द्र महोत्तरीले अस्पताललाई तीन लाख ४७ हजार छ सय ६२ रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । केन्द्रले अस्पताललाई बेबी वार्मर एक थान, इक्जामिनेसन बेड पाँच सेट, इन्स्ट्रयुमेण्ट ट्रली– दुई सेट, ड्रेसिङसेट पाँच, स्ट्रेचर पाँच सेट र ह्वीलचियर पाँच सेट प्रदान गरेको थियो । उपकरण प्राप्त भएपछि प्रसूतिकक्ष सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जनले बताए । केन्द्रले कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सामग्री अस्पताललाई प्रदान गरेको जनाएको छ । कोभिड–१९ सघन सङ्क्रमण बढेका बेला बर्दिबास अस्पतालले कोभिड–१९ जाँच ९पिसीआर र आरडिटी जाँच, क्वारेन्टिन र भेन्टिलेटरसहितको आइसोलेसन सञ्चालन गरी सेवा प्रवाह गरेकाले सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्माले अस्पताललाई युनिसेफ नेपालले पनि उपकरण दिन लागेको बताए । जिल्लाको सुदूरउत्तरवर्ती क्षेत्रअवस्थित यो अस्पतालबाट महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशालासहित छिमेकका सर्लाहीको ईश्वरपुर र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा पाउँदै आएका छन् । रासस
बिस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
जुम्ला । पहिराका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो । राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन् । बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो । सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी जनशक्ति खटिएको बताए । नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए । ‘अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौँ, यसले तिहारको समयमा कर्णालीवासीलाई राहत भएको छ’, प्रमुख श्रेष्ठले भने । कर्णालीवासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए । रासस
कैलालीका किसान धान भित्र्याउन व्यस्त
टीकापुर । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् । दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन् । तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन् । दसैँमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौँ, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौँ”, किसान पल्टु चौधरीले भने, ‘खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुपर्छ । अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ ।’ उनी भाइटीकाको एक दिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउँछन् । ‘चार बिघा खेत काटिसक्यौँ, अहिले धान दाउने थ्रेसिङ गर्ने र धान र पराल भण्डारणको काम चलिरहेको छ’, उनले भने, ‘बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ ।’ धान तयारी भएका बेला मौसम प्रतिकूलताले दर्शैंपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन् । दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताए । ‘धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला’, उनले भने, ‘अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ । अधिकांशको धानबाली बाढीले सक्यो, बचेका किसानहरु खेतमा छौँ ।’ गत वर्ष धान भित्र्याउने बेला आएको बाढीले किसानको धान बालीमा नोक्सानी गरेको हुनाले यस वर्ष किसानहरु दीपावली पर्व नमानेर खेतमा छन् । वर्षदिनका लागि आवश्यक अन्न भएकाले समयमा धान बाली भित्र्याउन नपाए खाद्यान्नको सङ्कट आउन सक्ने भएकाले दीपावलीमा पनि खेतमा काम गरिरहेको राजकुमारी चौधरीले बताए । ‘गत वर्ष बाढीले सबै धान बगायो, यस वर्ष पनि केही किसानको बाला छैन, हाम्रो जोगिएको धान स्याहार्न थालेका छौँ, यो मौसमको भर छैन’, उनले भने, ‘धान पनि काट्न ढिला भएकाले खेतमै झर्न थालेको छ ।’ चाडपर्व सबैका लागि रमाइलो र महत्वपूर्ण हुन्छ । वर्षदिनमा आउने पर्व र खेती उस्तै हुन्छ । तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ । भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान सीता चौधरीले बताए । ‘बल्लबल्ल बाढीबाट बच्यौं, धान नस्याहारे के खानु, अब तिहारभन्दा पनि धान स्याहारेमा वर्षभरि पेट भोको रहँदैन’, उनले भने, ‘सबै परिवार, हाम्रा छिमेकीहरु पनि खेतमै छौँ, तिहारमा देउसीभैलो खेल्नेहरु आउँछन् भनी एक/एकजना घरमा बस्ने अरू सबै खेतमा पस्ने गरेका छौँ ।’ गत असोजको अन्तिम बाढीले यहाँ धानबालीमा क्षति पुगाएको छ । बाढीले टीकापुरमा करिब २० प्रतिशत धानबाली नोक्सान भएको पालिकाले जनाएको छ । रासस
विद्यार्थीलाई सेलरोटी र टपरी बुन्न सिकाइँदै
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देखेकी उनलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उनको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,’ उनले भनिन् । विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले खुसी व्यक्त गरे । ‘पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुआत भएकाले केही समस्या भए पनि निरन्तर गरेपछि राम्रो टपरी बुन्छु’, उनले भनिन् । कक्षा १० मा अध्ययनरत सलिना भण्डारीलाई चाडपर्व, पूजाआजाका बेला टपरी देखे पनि कसरी बनाइन्छ भन्ने कौतुहलता थियो । ‘सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, अब घरमा पनि टपरी गाँस्न सिक्छु,’ उनले भनिन् । विद्यालयमा अध्ययनरत विद्यार्थीले टपरी गाँस्न सिक्नाका साथै सेलरोटी बनाउने तरिका पनि सिक्ने अवसर पाएका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई टपरी र सेलरोटी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीर्घ दरैले जानकारी दिए । ‘नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई सालको पातबाट दुना, टपरी र सेलरोटी बनाउने तरिका सिकाउने प्रयास गरेका हौँ’, उनले भने, ‘यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ नेपाली संस्कृतिअनुसार तिहारमा सेलरोटी पकाउने, सेलरोटीलाई टपरीमा राखेर खाने चलन छ । विद्यार्थीलाई संस्कृतिका बारेमा जानकारी दिँदै प्रयोगात्मक शिक्षा प्रदान गर्न यो कार्यक्रम गरिएको दरैले बताए । ‘टपरी बुन्ने र सेलरोटी बनाउने प्रयोगात्मक ज्ञान सिक्न विद्यार्थीहरु इच्छुक देखिए’, उनले भने । प्रयोगात्मक शिक्षा चिरस्थायी हुने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको दरै बताउँछन् । ‘घोकन्ते शिक्षा केही समयका लागि मात्रै हुने र प्रयोगात्मक शिक्षा दीर्घकालीनसम्म हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिँदै आएका छौँ’, उनले भने, ‘यसलाई निरन्तर रुपमा सञ्चालन गर्छौं ।’ विद्यालयमा अध्यापनरत बुद्धिमाया दरै, शान्ता पौडेल, भगवती पौडेल, अञ्जना दरै, इन्दिरा तिमिल्सिना लगायतले विद्यार्थीलाई टपरी बुन्ने र सेलरोटी बनाउने तरिकाबारे सहजीकरण गरेका थिए । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन । रासस