विकासन्युज

निर्वाचन आयोगले ५५० जनाको नाम हटायो बन्दसूचीबाट, ५२ जनाको उमेर पुगेन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक पद्धती तर्फका ५५० जनाको नाम हटाएको छ । निर्वाचन कानून तथा आचारसंहिता उल्लघंनमा परी जरिवाना नबुझाएका समानुपातिक तर्फका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हटाएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम हटाएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दावी विरोध उपर जाँचबुझवाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयवाट लाभको पदमा बहाल रहेका एक जना र कालो सुचीमा रहेका एक जना गरी कूल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।’ उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जना गरी ५२ जनाको नाम हटाएको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जना, सम्बन्धित प्रदेश भित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेश सभा तर्फका १२ जना र आवश्यक कागजात पेश नगरेका ६ जनाको नाम बन्दसूचीबाट हटाएको हो ।

तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार

काठमाडौं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए । ‘यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो’, तामाङले भने, ‘थोक मूल्यका आधारमा साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ ।’ यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उनको भनाइ छ । फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ । सबैभन्दा बढी सयपत्री मालाको माग छ । यसवर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ । त्यस्तै, यस वर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ । बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ । नेपालबाट मखमली माला निर्यात भएको छ । तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताए । ‘मखमली फूल विश्वका विभिन्न देशमा जान्छ । भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् । एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ’, उनले भने। यस वर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य ५५ रहेको छ । त्यस्तै, मखमली फूलको मालाका ४० मा कारोबार भइरहेको छ । यद्यपि खुद्रा मूल्य भने फरक छ । पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् । फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ । ‘उत्पादन, आयात र कारोबारको अवस्था हेरेर हामीले यस्तो अनुमान गरेका हौँ । यो वर्ष सयपत्रीको माला गत वर्षकै मूल्यमा कारोबार भएको छ । मखमलीको मालामा भने रु पाँच जति बढेको छ ।’ अध्यक्ष तामाङले भने। तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन् । ‘हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ । यस वर्षको उत्पादन पनि बढी नै हो’, तामाङले भने, ‘नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ । त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन् । यस वर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ । अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ ।

पाँच अर्ब पुँजीको ‘रियल एग्रा लिमिटेड’ कृषि प्रोजेक्ट बैंक स्थापना गरिने

काठमाडौं । कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा गरेको हो । बन्दीपुरमा आयोजित कार्यक्रममा सलामी र इलमी कार्यक्रमको घोषणा गरिएको छ । नेपालको कृषि क्षेत्रलाई औद्योगीकरण गर्ने उद्देश्यसहित कृषि क्षेत्रको कम्पनीको लगानीलाई जोखिममुक्त महसुस गराउने बृहत्तर योजना र कार्यक्रमसहित नेपालकै ठूलो पुँजी र प्रवद्र्धक हुने पहिलो कृषिमूलक पब्लिक कम्पनी ‘रियल एग्रा लिमिटेड’ स्थापना गर्न लागिएको समूहका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । कम्पनीको अधिकृत पुँजी पाँच अर्ब र चुक्ता एवं जारी पुँजी दुई अर्ब ४५ करोड रहनेछ । कम्पनीमा देशभरि र विदेशबाट गरी पाँच हजार एक सय नेपाली प्रवद्र्धक शेयरधनी रहनेछ । यसका लागि लागि देशभरि र विदेशमा समेत नेपाली प्रवद्र्धक बन्नका लागि प्रस्ताव गर्ने गरी ‘उद्यममध्ये महाभियान’ आयोजना गरिएको छ । कृषि क्षेत्रको लगानीमा अधिकतम जोखिम हुन्छ भन्ने आमधारणा रहिरहेका बेला त्यसलाई चुनौती दिँदै चार वर्षमा नै शतप्रतिशत लगानी बराबर बोनस सुनिश्चितता गर्ने गरी शेयर एवं जग्गा प्राप्ति गुरुयोजना पहल ‘सलामी’ कार्यक्रम प्रस्तुत गरिएको शर्माले बताए । यसमार्फत प्रवद्र्धक लगानीकर्तालाई कम्पनीमा कबुलअनुरुपको रकमको किस्ता भुक्तान गरिसकेपछि शेयरधनीले तोकेको समय अवधि दुई वा चार वर्षमध्ये एक र तोकेको ठाउँमा शेयर राशि बराबर नै हुने गरी बोनसको रुपमा जग्गा नामसारी गरिदिने र कृषि उद्यमको विकासका लागि ठोस सुरुआतको पहल लिइनेछ । प्रस्तावित कम्पनीले प्रोजेक्ट बैंक खडा गरी दश उद्देश्य कार्यान्वयन गर्ने लक्ष्य लिएको आरकेडी स्कूल तथा संस्कृति विभागका प्रमुख डा तुलसी प्रभासले जानकारी दिए। उनका अनुसार उत्पादनमूलक कृषि पर्यटन व्यवसायका लागि रियलस्टेट संरचना निर्माण गरी मानिसले अर्थोपार्जन गर्नसक्ने व्यवस्थासहित फरक–फरक उद्यम सञ्चालन गर्नसक्ने बनाउने लक्ष्य लिइएको छ । कृषि ब्लक एवं जोन परियोजना बैंक तयार गरी व्यक्तिलाई अवसर प्रदान गर्ने, कृषि रिसोर्ट एवं हाउजिङ ब्लक निर्माण गरी व्यवसायीलाई बिक्री वितरण गर्ने, कृषि पर्यटनका पूर्वाधार निर्माणका लागि फिल्ड सर्भिस एवं लगानी गर्ने, एकीकृत कृषि पार्कको डिजाइन र पूर्वाधार निर्माण गरी कृषि क्षेत्रको औद्योगिकीकरण गर्ने, कृषि एवं खाद्यान्न उद्योग नेपालभित्र खोल्ने र सञ्चालन गर्ने वातावरण बनाउने मुख्य लक्ष्य लिइएको छ । यो कम्पनी प्रवद्र्धनका लागि प्रवास र स्वदेशमा बस्ने मध्यमवर्गीय नेपालीको ४५ प्रतिशत शेयर रहने गण्डकी प्रदेश संयोजक धर्मराज भण्डारीले जानकारी दिए। आरकेडी समूहअन्तर्गतको टुरिजम इन्भेष्टमेण्ट फिण्ड लिमिटेड र अन्य कम्पनीको सहभागितामा ५५ प्रतिशत शेयर रहने जनाइएको छ ।

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मंगलबार गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएका हुन्। सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ । शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताएका हुन् । प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए । उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआइएन’ मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिएका थिए । बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गरे। राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बङ्गलादेशस्थित नेपाली राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयको स्तर वृद्धिका लागि म्याग्दीका पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी संघले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । संघका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाबाट एक करोड तीन लाख सहयोग जुटेको जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सांस्कृतिक कार्यक्रम गरेर आर्थिक सङ्कलन गरिएको हो । धारापानीकी सरु पुनले सबैभन्दा बढी सात लाख उपलब्ध गराएकी छन्। विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उनका भाइ पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुबा चन्द्रबहादुर थापा र आमा कुन्तादेवी थापाको नाममा सात रोपनी जग्गा उपलब्ध गराएका छन्। जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ । धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले पाँच लाख दुई सय १५, बेदबहादुर राना र गीता रानाले पाँच लाख एक सय ५५, तेजिन्द्र थापा र विष्णु थापाले तीन लाख एक सय २५, काठमाडौँमा बस्ने पदमजङ्ग थापाले एक लाख पाँच सय ५५, लालबहादुर राना र नरदेवी रानाले र एक लाख एक सय ११ सहयोग गरेका छन् । एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताए। कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय २८ जना विद्यार्थी छन् ।

महाकवि देवकोटाको ११४ औं जन्मजयन्ति मनाइयो

काठमाडौं । आज लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ति धुमधामका साथ मनाइएको छ । काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ति मनाइएको हो । त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविताहरु बाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त साहित्यकार भएको उल्लेख गरे । उनले देवकोटाले बनारस बसेर कष्टका साथ रचना गरेका साहित्यले ठूल्ठूला खण्डकाब्यको रुपमा लिएको पनि स्मरण गरे । कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेल र नाट्य सम्राट बालकृष्ण समको पनि पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । महाकवि देवकोटाको जन्म विक्रम संवत १९६६ साल कातिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौंको डिल्ली बजारमा भएको थियो । तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाको साँहिला छोराको रुपमा जन्मनु भएको महाकवि देवकोटा शिक्षामन्त्री समेत बनेका थिए । उनको २०१६ साल भदौं २९ गते सोमबार साँझ ६ बजेर १० मिनेटमा क्यान्सरको कारणले निधन भएको थियो ।

अर्थराजनीतिक अध्ययनमा रुची राख्नेहरुले तिहार बिदामा कस्तो पुस्तक पढ्ने ?

काठमाडौं । नेपालीहरुको महान चाड ‘दिपावली’को अवसरमा १ हप्ताको लागि सार्वजनिक विदा भएको छ । पर्व मनाउनका लागि सरकारले प्रदान गरेको विदाको प्रभाव व्यवसाय तथा उद्यमको क्षेत्रमा पनि झण्डै समान हिसाबले पर्न जान्छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा काम गरिरहेकाहरुले यो १ हप्ताको समयलाई आ–आफनो तरिकाले सदुपयोग गर्ने गर्दछन् । उद्यम तथा व्यवसायमा रुची हुने र भोलीको दिनमा व्यवसायिक तथा उद्यमी जीवन बिताउन चाहने व्यक्तिहरुको लागि विदाको समयमा पर्वसँगै पुस्तक अध्ययन पनि उचित हुनसक्छ । विश्वव्यापी रुपमा ख्याती कमाएका अर्थराजनीतिक, व्यवसायिक तथा उद्यमसँग सम्बन्धित विभिन्न पक्षपाटोको ज्ञान लिनको लागि निम्न पुस्तकहरु तिहारको विदामा पढ्न सान्दर्भिक हुन्छ । ‘दि इन्टेलिजेन्ट इन्भेस्टर’ ब्रिटिसमा जन्मिएका अर्थशास्त्री तथा प्राध्यापक एवं अमेरिकी लगानीकर्ता बेन्जामिन ग्राहमद्वारा लेखिएको पुस्तक हो ‘दि इन्टेलिजेन्ट इन्भेस्टर’ । १९४९ मा प्रकाशित भएको सो व्यवसायिक लगानीको क्षेत्रमा प्रख्यात पुस्तक हो । ग्राहमले लेखेको सो पुस्तकलाई वारेन बफेटले समेत आफ्नो व्यवसायिक पथ पदर्शकको रुपमा ग्रहण गर्ने गर्दछन् । सो पुस्तकले व्यक्तिगत रुपमा व्यवसायको विकास गर्न र पुँजी वृद्धि गर्न खोजिरहेका व्यक्तिहरुलाई वास्तविक वित्तीय सल्लाह गर्ने मानिन्छ ।   ‘स्टिभ जब्स’ वाल्टर आइज्यकसनले लेखेको ‘स्टभ जब्स’ अमेरिकी व्यसायी एवं एप्पलका सह–संस्थापक स्टिभ जब्सको जीवनीमा आधारित पुस्तक हो । बेन्जामिन फ्रान्कलिन र अल्बर्ट आइन्स्टाइनको सबैभन्दा धेरै बिक्री हुने जीवनीहरु लेख्ने सिएनएन र टाइमका पूर्व कार्यकारी वाल्टर इसाक्सनले सो पुस्तक लेखेका हुन् । लेखकले स्टिभ जब्सको परिवार, नातागोता, साथीभाई लगायत सयौं मानिसहरुसँग छलफल गरेर सो पुस्तक तयार गरेका हुन् । पुस्तकमा प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएका जब्सको विषयमा लेखिएको छ ।   ‘धनी बुवा गरिब बुवा’ ‘धनी बुवा गरिब बुवा’ (रिच ड्याड पुअर ड्याड) रोबर्ट कियोसाकी र स्यारोन लेक्टरद्वारा लिखित विश्वमा नै चर्चित अंग्रजी पुस्तक हो । वित्तीय स्वतन्त्राको विषयमा वकालत गर्ने सो पुस्तकमा कसरी लगानी गर्ने र व्यापारलाई कसरी प्रवद्र्धन गर्ने विषयहरु समेटिएका छन् ।   ‘क्रियटिभिटी इंक’ अंग्रेजी भाषामा लेखिएको सो पुस्तक एडविन कंटमुल र एमी वालेसले लेखेका हुन् । व्यवसाय तथा उद्यम क्षेत्रमा सिर्जनशिल व्यवस्थापनको विषयमा सो पुस्तका विभिन्न कोणबाट विषय प्रस्तुत गरिएको छ । पिक्चर एनिमेसनको सह–संस्थापक तथा अध्यक्षको रुपमा आफ्नो अनुभवलाई संगालेर एडविन कंटमुलले पुस्तकमा केही गहिरा प्रकृया र विश्वासको बारेमा उल्लेख गरेका छन्, जसले पिक्चर्सलाई सफल बनाएको थियो । उनको टिमको दर्शनलाई अन्य कुनै पनि व्यवसायमा रचनात्मक रुपमा प्रयोग गर्न सकिन्छ ।   ‘दि पावर अफ ह्याविट’ यो पुस्तक अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका रिपोर्टर चाल्र्स डुइगले लेखेका हुन् । यो पुस्तकले बानी व्यवसाय, समुदाय र हाम्रो व्यक्तिगत जीवनमा सफलताको मुख्य कारण भएको तर्क गरेको छ । विभिन्न व्यवसायी, राजनीतिक व्यक्ति, खेलाडीहरुको सफलताको उदाहरण प्रस्तुत गर्दै सो पुस्तकले सफलता हासिल गर्न बानीको महत्वपूर्ण भूमिका हुने दर्शाएको छ ।   ‘पुँजी (दास क्यापिटल)’ १९औं शताब्दिका विश्वका चर्चित राजनीतिक तथा दार्शनिक व्यक्ति कार्ल माक्र्सद्वारा लिखित पुस्तक हो पुँजी । यो पुस्तकमा पुँजी र पुँजीवादको विश्लेषण गरिएको छ । माक्र्सले सन् १८६७ मा लेखेको यो पुस्तकले संसारमा रहेको अर्थराजनीतिक विचारधारालाई नै हल्लाइदिएर विश्वभरी नै शोषित वर्ग, किसान तथा मजदुरहरुको आन्दोलनको लागि प्रेरणा प्रदान गरेको थियो ।   ‘द ग्रेट अपहिल’ अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक हो ‘द ग्रेट अपहिल’ । क्याम्ब्रिज प्रेसद्वारा प्रकाशित सो पुस्तक सन् २०२२ सेप्टेम्बरमा प्रकाशित भएको हो । लेखकले सो पुस्तकमा २१ औं शताब्दिमा एसियमा महादेशबाट १ अरब मानिसहरु गरिवीको रेखाबाट बाहिरीरहेको अवस्थामा कोभिड–१९ महामारीले सो प्रकृयालाई अवरुद्ध बनाएको विषयमा उल्लेख गरिएको छ । पुस्तकले महामारीपछि एसिया प्रशान्त क्षेत्रको क्षमता जाँच गर्नको लागि पुनः इन्जिनियरिङको आवश्यकतालाई औंल्याएको छ । सो पुस्तकले आर्थिक सक्षमता विकास गर्नको लागि नीति निर्माताहरुलाई कैंयौन विकल्पहरु प्रदान गरेको छ । यो पुस्तक युएनडिपीको वेवसाइट र स्वर्णिमवाग्ले डट कम डट एनपीमा गएर निःशुल्क रुपमा डाउनलोड गरी अध्ययन गर्न सकिन्छ । अर्थराजनीतिक र व्यवसायिक एवं उद्यमी चेतना तथा विचारहरुसँग सम्बन्धित पुस्तकहरुको अध्ययन गर्न चाहने पाठकहरुका लागि धेरै लेखकहरुले जीवनउपयोगी तथा जीवन्त पुस्तक लेखेका छन् । अहिलेको समयमा पुस्तकहरु मोवाइल, कम्पयुटर र हार्डकपी विभिन्न माध्यमबाट अध्ययन गर्न सकिन्छ । जसको लागि धेरै कम्पनीहरुले पुस्तक बिक्री गर्ने प्लेटफर्म निर्माण गरेका छन् ।

डेङ्गुको उच्च जोखिममा महोत्तरीकाे बर्दिबास

महोत्तरी । मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन् । साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिए। ‘साउनमा पहिलो पटक दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या १४० पुगेको छ’, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णा महर्जनले भनने । यो बर्दिबास अस्पतालमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या मात्रै हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालले पनि डेङ्गु परीक्षण गर्दै आएका छन् । अस्पतालमा मात्रै गत साउनमा २६ जना, भदौमा १२४ जना, असोजमा २३९ जना र कात्तिकको सात गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई जना, भदौमा २४ जना, असोजमा ९४ जना र जारी कात्तिक७ गतेसम्म २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालको भनाइ छ । चाडपर्वमा भिडभाड बढ्ने र सरसफाइमा उचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नामक लामखुट्टेको संख्या बढेकाले सङ्क्रमण फैलिएको अस्पतालको भनाइ छ । बर्दिबास विगत पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहेको क्षेत्र हो । पछिल्ला चार वर्ष न्यून संख्यामा मात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा डेङ्गुको आतङ्क नै फैलिएको थियो । २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको नगर कार्यपालिका कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ । नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको संख्या बढ्दै गएपछि बर्दिबास नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । नगरभित्रका सबै १४ वटा वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाई गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनासक औषधी छर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले बताए ।