काठमाडौं । निर्वाचन आयोगले समानुपातिक पद्धती तर्फका ५५० जनाको नाम हटाएको छ । निर्वाचन कानून तथा आचारसंहिता उल्लघंनमा परी जरिवाना नबुझाएका समानुपातिक तर्फका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हटाएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम हटाएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दावी विरोध उपर जाँचबुझवाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयवाट लाभको पदमा बहाल रहेका एक जना र कालो सुचीमा रहेका एक जना गरी कूल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।’
उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जना गरी ५२ जनाको नाम हटाएको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जना, सम्बन्धित प्रदेश भित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेश सभा तर्फका १२ जना र आवश्यक कागजात पेश नगरेका ६ जनाको नाम बन्दसूचीबाट हटाएको हो ।