किबी खेतीबाट मनग्य आम्दानी

<p>खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग [&hellip;]</p>

 

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ ।

भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएको छ । घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रुपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका छन्।

पहिलो वर्ष ३७५ बोट किबीको बिरुवा ल्याएर व्यवसायिक खेती शुरु गरेका उनका फार्ममा यस वर्ष करिब २५ लाख मूल्य बराबरको किबी उत्पादन भएका छन् । दुईजना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई बस्न र खानसँगै मासिक आठ÷आठ हजारका दरले रोजगारीसमेत गरेका उनले लगाएको किबीले रोपेको तीन वर्षदेखि नै उत्पादन दिन थालेको थियो ।

उहाँले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, काठमाडौं लगायतका ठाउँहरुमा बिक्री हुने गरेको छ । उनले भने, ‘यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि नै ग्राहकको माग धान्न गाह्रो भएको छ ।’

किबी खेती सम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरुबाट तालिमसमेत लिनुभएका उनले टेलिभिजनमा हेरेर किबीको व्यवसायिक खेती शुरु गरेको जानकारी दिए । ‘किबी खेतीलाई अन्य बाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन रहेछ, बगानभित्र आलु, सागसब्जी लगायतका नगदेबालीको खेतीसमेत हुन्छ’, उनले भने, ‘कम मेहनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा छु ।’

केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले यस वर्ष करिब चार हजार ५०० केजी किबीको फल तथा ६० हजारभन्दा बढी बिरुवा उत्पादन गरेका छन् । पहिलो वर्ष ४३३ केजी किबीको फल उत्पादन गर्नुभएका राई जिल्लामै पहिलो किबीको व्यवसायिक खेती शुरु गर्ने कृषक हुन् ।

रोपेको करिब चार÷पाँच वर्षमा फल दिने किबीले राईको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो । राईले उत्पादन गर्नुभएको किबी अहिले प्रति केजी २०० देखि २५० सम्ममा घरैबाट बिक्री भइरहेको छ ।

एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको बिरुवासमेत राई आफैले उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किबीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक १५ लाख बढी आम्दानी हुने गरेको राईले बताए।

राईले उत्पादन गरेको बिरुवा प्रतिगोटा ३०० मा घरबाटै बिक्री हुने गरेको जनाइएको छ । जिल्लामा किबीको व्यवसायिक खेती शुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको राईको भनाइ छ ।

वि.सं. २०६८ माघमा मयुङ कृषि फार्म दर्ता गरेर दश रोपनी जग्गामा १२५ बोट बिरुवाबाट व्यवसायिक खेती शुरु गर्नुभएको राईले त्यसलाई बढाएर ४० रोपनी क्षेत्रफलमा ४५० बोट बनाएका छन् । जागिर छाडेर व्यवसायिक किबी खेती शुरु गरेका उनले यस वर्ष मात्रै २१ लाख ६० हजार आम्दानी गरेका छन् ।

रहरै रहरमा किबी खेती शुरु गरेका राईका लागि अहिले किबीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । सामाज शास्त्रमा स्नातक गरेका उनको फार्ममा अहिले ६० हजारभन्दा बढी बिरुवा मौज्दात रहेको पाइएको छ ।

एउटा वयष्क किबीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको युवा राईले बताए। ‘बजार मूल्यमा अन्य फलफूलभन्दा किबी धेरै महङ्गो छ ।’ उनले भने, ‘आफूले उत्पादन गरेको किबी बजार पु¥याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।’

किबीको फल दिक्तेल, धरान, बिराटनगर, काठमाडौँ लगायत जिल्ला तथा बिरुवा खोटाङको विभिन्न स्थानीय र छिमेकी जिल्लाहरु सोलुखुम्बू, ओखलढुङ्गा, भोजपुर, इलाम, सङ्खुवासभा लगायतमा नियात हुने गरेको राईले बताए। धनकुमारसँगै फेदीका आधा दर्जन घरका स्थानीय बासिन्दाले व्यवसायिक रुपमा किबी खेती गरेको छन् ।

उता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका शुभचन्द्र राईले किबीको फल तथा बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन्। बिगत आठ वर्षदेखि किबीको निरन्तर नर्सरी उत्पादन गर्दै आउनुभएका राईको फार्ममा यस वर्ष करिब साढे छ क्विन्टल फल उत्पादन भएको अनुमान गरिएको छ ।

वि.सं. २०७१ सालमा शुभ कृषि फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गर्नुभएको राईले ३० रोपनी क्षेत्रफल जमिनमा किबी खेती गरेका छन् । कानूनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राई पूर्वगाविस अध्यक्षसमेत छन्।

वि.सं. २०५४ सालमा साविकको दोर्पाचिउरीडाँडा गाविसको अध्यक्ष भएका राईले अहिले किबी खेतीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय चारजना युवालाई रोजगारीसमेत दिनुभएका राईले पछिल्लो समय जुस उद्योगसमेत सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित गोगनेका राजेश थापामगरले ४२ रोपनी जग्गामा किबी खेती गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्केका थापामगरले वि.सं. २०७५ सालमा नमूना अर्गानिक किबी फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गरेका हुन् ।

आफूले उत्पादन गरेको किबी बोलेरो गाडीमार्फत काठमाडौं, धरान, बिराटनगर लगायतका विभिन्न शहर पु¥याएर बिक्री गर्ने गरेको थापामगरले बताएका छन्। ‘किबी महङ्गो खेती भएकाले सानो पुँजी हुनेले यसको खेती गर्न सक्ने अवस्छा छैन । तर, गरेको मेहनत खेर जाँदैन’ उनले भने, ‘बजारको समस्या छैन । बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ । वाइन, जुस र रक्सी उत्पादन गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसका लागि राज्यले कानूनी व्यवस्था गर्नुपर्यो ।’

वि.सं. २०६८ सालबाट किबीको व्यवसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती शुरु गरेका छन् । लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यवसायिक किबी खेती गर्नेको लहर नै चलेको छ ।

छदेखि आठ मीटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गर्दा पनि प्रयाप्त उत्पादन दिने र किबी खेती गरिएको क्षेत्रभित्र अन्य विभिन्न बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत सकिने कृषकहरुले बताएका छन् । समुद्री सतहबाट दुई हजार ५०० मीटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती गर्न उपयुक्त भूगोल मानिन्छ ।

ब्रुनो र मन्टी प्रजातिको किबीसमेत उत्पादन हुँदै आएको जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किबीको राम्रो उत्पादन रहेको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा प्रशस्त पानीको श्रोत र चिस्यान भएको खेतीयोग्य जमिन रहेकाले व्यवसायिक किबी खेती गर्न उपयुक्त भूगोल भएको कृषि विज्ञहरुले बताएका छन् ।

व्यवसायिक रुपमा किबी खेती गर्ने कृषकलाई पछिल्लो समय सङ्घ, प्रदेश र स्थानीय सरकारले समेत अनुदान दिँदै आएको छ । सरकारले दिने अनुदानमा पहुँचवालाको मात्र हालीमुहाली रहेको जिल्लाका वास्तविक कृषकहरुले गुनासो गर्दै आएका छन् ।

Share News