विकासन्युज

धमाधम बन्द हुन थाले कंक्रिट मिक्सर मेसिन उद्योग, उच्च भन्सारदरको समस्या

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इञ्जीनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ । वि सं २०५४ देखि सो उद्योगले कङ्क्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कङ्क्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ । एक समय वार्षिक एक हजार हाराहारीमा उक्त मेसिन उत्पादन गर्दै आइरहेको कम्पनीले गत वर्ष मुस्किलले एक सयवटा मेसिन निर्माण गरेर बिक्री गरेको थियो । यस वर्षदेखि भने उद्योग चल्ने अवस्थामा नरहेको कम्पनीका सञ्चालक ताराप्रसाद पौडेलले जानकारी दिए । गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उनले बताए । “सरकारले हामीलाई सहज वातावरण बनाइदिए यस्ता उद्योग अझै खुल्थे, अब त हामी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ”, उनले भने । उनको उद्योगले नयाँ मेसिनका लागि चाहिने पार्टस् उत्पादन बन्द गरिसकेको छ । बनेर बसेको १५–२० वटा मेसिन बिक्री भएपछि नयाँ उत्पादन नगर्ने निर्णयमा पुगेको सञ्चालक पौडेलले बताए । चितवन, रुपन्देहीलगायतका जिल्लामा १५ वटा यस्ता उद्योग सञ्चालनमा थिए । अहिले घटेर दुईवटा उद्योगमा खुम्चिएको छ । चितवन र रुपन्देहीमा एक–एक उद्योग सञ्चालनमा छन् । रुपन्देहीमा रहेको नेशनल इञ्जीनियरिङ मेटल प्रालि एक समय सर्वाधिक वार्षिक एक हजार पाँच सयसम्म मेसिन उत्पादन गर्दथ्यो । अहिले घटेर एक सय मात्रै मेसिन उत्पादन गर्ने गरेको छ । सरकारले यस उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १० देखि १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी पाँच रुपैयाँका दरले अन्तःशुल्कसमेत थप गरेको छ । तर यही सिङ्गो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र चार प्रतिशत र भ्याट नलाग्ने व्यस्था छ । यस नीतिलाई सच्याउन उद्योगीले सरकारसँग पटक–पटक माग गरिरहेका छन् । तर माग सुनुवाइ नहुँदा छिट्टै उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीको भनाइ छ । नेशनल इञ्जीनियरिङ मेटलका सञ्चालक रामप्रसाद खनालले सरकारले उद्योगीको संरक्षण गर्नुको साटो विस्थापित गर्ने अभियानमा लागेको बताए । “हामीले अहिले मात्र होइन, पटक–पटक कच्चा पदार्थको भन्सार दरबारे माग राखेका थियौँ, तर अहिलेसम्म सम्बोधन नहुँदा हामी पलायन हुने अवस्थामा पुगेका छौँ”, उनले भने । उद्योगीका साझा संस्था नेपाल उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले कच्चा पदार्थ आयातको भन्सार दर घटाउन माग गर्दै आइरहेका छन् । तर ती कुराको सुनुवाइ नहुँदा झन् समस्या बल्झिन थालेको चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए । “सरकार उद्योग व्यवसाय फस्टाउनमा जोड दिनुपर्ने हो तर विडम्बना उल्टै उद्योगधन्दा मास्ने खालका नीति निर्माण गर्दा समस्या देखिन थालेका छन्” उनले भने । पछिल्लो समय अन्य उद्योगधन्दा पनि खुल्ने क्रम जारी छ । तर सबैको डर कतै पछि बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्नेमा देखिन्छ । चितवन उद्योग सङ्घका उपाध्यक्ष युगराज वस्तीले युवा उद्यमी व्यवसायीलाई सरकारले प्रवद्र्धन गर्नुको साटो उल्टै पलायन हुने बाटो देखाउन थालेको आरोप लगाए। उनले कङ्क्रिट मिक्सर मेसिन निर्माण गर्ने उद्योग बन्द हुँदै गर्दा युवा रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था सिर्जना हुने बताए । उनले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । नेपालका कङ्क्रिट मिक्सर मेसिन उद्योगमा सुरुआती समयमा चार सय ५० भन्दा बढीले रोजगारी पाएका थिए । उद्योग बन्द हुँदै जाँदा अहिले घटेर एक सयमा झरेको छ । नेपालमा उद्योग बन्द हुँदै जाँदा बर्सेनि ११ हजार बढी कङ्क्रिट मिक्सर मेसिन विदेशबाट आयात हुँदै आइरहेको छ । यसबाट ७६ करोडभन्दा बढी रकम विदेशिने गरेको छ । रासस

दक्षिण कोरियाको सियोलमा भागदौड हुँदा १५१ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलमा भएको भागदौडमा कम्तीमा १५१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । दर्जनौंलाई हृदयघात पनि भएको बताइएको छ । समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । घटना के कारणले भयो भन्ने अझै खुल्न सकेको छैन ।राष्ट्रपति युन सुक-योलले योङसान-गुको इटेवनमा विपद् व्यवस्थापन टोलीलाई तत्काल तैनाथ गर्न आदेश दिएका छन्। सोही क्रममा सामाजिक सञ्जालमा आएको भिडियोमा इटोनका धेरै मानिसहरु सडकमा भुइँमा लडेर सिपिआर उपचार गराइएको देख्न सकिन्छ । दमकल विभागका अधिकारीहरूले भागदौडका कारण मानिसहरूले सास फेर्न गाह्रो भएको गुनासो गरेको बताएका छन्। यो घटना शनिबार साँझको हो । राजधानीको चर्चित रात्रि स्थलमा ह्यालोवीन मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए । भनिएको छ कि कोभिड महामारी पछि पहिलो पटक यस अवसरमा ठूलो संख्यामा मानिसहरू यहाँ आएका थिए । रिपोर्टका अनुसार यहाँ करिब एक लाख मानिस जम्मा भएका थिए । यी मानिसहरू नो मास्क हेलोवीनमा सहभागी हुन यहाँ आएका थिए । यसै क्रममा भागदौडका कारण ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । दुर्घटनास्थलबाट प्राप्त तस्बिरमा सडकमा शरीरका झोलाहरू (शव राख्न प्रयोग गरिने झोला) देख्न सकिन्छ । तर, चिकित्सकहरूले औपचारिक रूपमा मृत्युको पुष्टि नगरेसम्म देशका स्थानीय चिकित्सकहरूले उक्त व्यक्तिलाई ‘हृदयघात’ भएको कुरा गरिरहेका छन् । पहिले सामाजिक सञ्जाल पोष्टहरूमा, मानिसहरू साँझ हेलोवीनको समयमा भागदौड हुने डर थियाे। भीडका कारण इटेवन क्षेत्र असुरक्षित देखिएको केही व्यक्तिले बताएका  थिए ।

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

त्रिवेणी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी छन् । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उनलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । ‘पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ’, उनले भने, ‘यसले बेच्ने समस्या हटेको छ, हामी खुसी छौँ ।’ नवलपुरको बबक सुन्तला खेतीका लागि जिल्लाको प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरै–थोरै सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने कतिपयले फोनको भरमा सुन्तला माग गरेपछि किसानले टिपेर पठाइदिने गरेका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहजता भएको सुन्तला किसान गेसबहादुर रानाले बताए । व्यापारीको मागअनुसार स्थानीयरूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुर्याएमात्रै हुने उनले बताए । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तय गरी लैजाने गरेको उनको भनाइ छ । ‘व्यापारीले माग रामै गरिरहेका छन्, यही मूल्य तय गरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन’, उनले भने । किसान आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यक्तिले सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् । बबकका सुन्तला किसानले अहिले प्रतिकिलो ५५ रुपैयाँका दरले सुन्तला बगैँचाबाट बिक्री गर्दै आएका छन् । यो मूल्य राम्रो भएको सुन्तला किसान गेसबहादुर रानाले बताए । गत वर्षभन्दा राम्रो नै मूल्य किसानले प्राप्त गरेको उनको भनाइ छ । यस वर्ष गत वर्षभन्दा सुन्तलाको फलसमेत राम्रो लागेको किसानको भनाइ छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख विष्णु शर्माले बताए । यस वर्ष गत वर्ष एक हजार २० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष २० प्रतिशतले उत्पाद बढ्ने अनुमान गरिएको उनको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका पहाडी क्षेत्रका विभिन्न वडा समेटेर सुन्तला जोन कार्यक्रमसमेत सञ्चालन गरिएको छ । जसअन्तर्गत किसानलाई प्राविधिक सहयोग साथै विभिन्न अनुदान प्रदान गर्ने गरिएको छ । यसले पनि सुन्तला उत्पादन बढाउन सहयोग पुगेको उनको भनाइ छ । गत वर्षभन्दा सुन्तला उत्पादन हुने क्षेत्रसमेत क्रमशः वृद्धि हुँदै गएको कार्यालय प्रमुख शर्माले बताए । जिल्लाको बौदिकाली, बुलिङ्टार, गैँडाकोटको पहाडी क्षेत्रमा गरी करिब सात हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको उनको भनाइ छ । गत वर्ष किसानले एक हजार २० मेट्रिक टन सुन्तला बिक्रीबाट किसानल पाँच करोड १० लाख रुपैयाँ आम्दानी गरेकामा यस वर्ष किसानको आम्दानीसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । जोन कार्यक्रम सञ्चालन गरी किसानलाई सहयोग प्रदान गर्न थालेपछि सुन्तला खेतीतर्फ पहाडका किसानको आकर्षण बढ्दो छ । ‘जोन कार्यक्रमबाट निरन्तर सुन्तला किसानलाई आवश्यक प्राविधिक सहयोगसहित अनुदान उपलब्ध गराउँदै आएका छौँ, किसान यसतर्फ लाग्ने क्रम बढ्दो रहेको छ’, कार्यालय प्रमुख शर्माले भने, ‘पहाडका किसानले सुन्तलाबाट आम्दानीसमेत राम्रो लिन थालेका छन् ।’ रासस

देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख रुपैयाँ नाघेको छ । विसं २०७५ मा देउसी÷भैलो खेलेर जम्मा भएको ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो । तीन लाख ५० हजार रुपैयाँ मुलधन रहेको कोषमा यस वर्षको तिहारमा खेलिएको देउसी/भैलो कार्यक्रमबाट एक लाख ११ हजार ३२५ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ पुगेको वडाध्यक्ष एवम् कोष सञ्चालक समितिका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिएका छन् । ‘आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवम् मुटु, मिर्गौला, क्यान्सर जस्ता दीर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ’, उनले भने, ‘देउसीको दानबाट शुरु गरिएको कोषलाई बृद्धि गर्दै आगामी दिनमा कम्तिमा ५० लाख रुपैयाँ मुलधन पुर्याएर सो को ब्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।’ हालसम्म प्राकृतिक प्रकोपमा परेका सोल्माका अशक्त व्यक्ति तथा परिवारलाई रु एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ । दुबै मिर्गौला फेल काम नलाग्ने भएका स्थानीय राजकुमार राईलाई दश हजार रुपैयाँ, आगलागी पीडित कर्मबहादुर राईलाई पाँच हजार र मिर्गौला रोगी ध्रुबबहिनी राईलाई तीन हजार रुपैयाँ प्रदान गर्दै चार वर्षअघि विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो । यस वर्षको तिहारमा एक दिन खेलिएको देउसी/भैलो कार्यक्रमबाट कोषको मुलधन साढे चार लाख रुपैयाँ नाघेको जनाइएको छ । आगामी वर्षको तिहारमा कम्तिमा पनि दुई दिन देउसी/भैलो कार्यक्रम आयोजना गर्ने योजना बनाइएको वडाध्यक्ष राईले बताए । रासस

छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै

जनकपुर । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएका छन् । जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सिङ्गारिएका छन् । यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलका रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् । बजारमा छठीमैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घर–घरमा छठीमैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् । पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पनि एक मानिन्छ । यसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ, त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताए । यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रूपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् । सूर्य देवतालाई पहिलो दिनको अघ्र्य अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सझुका अरख’ भनिन्छ । सूर्य देवतालाई खासगरी उक्त दिन अघ्र्य दिइने गरिन्छ, जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसैअनुरुप उदयकालमा दिइने अघ्र्यका लागि समेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अघ्र्य’ दिइन्छ । छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रूपमा अघ्र्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अघ्र्य’ मा दिइने परम्परा रहेको छ । हुन त सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुअगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ । छठ व्रत गर्नेहरु सबै जना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अरबाअर्बाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरूपमा प्रारम्भ हुने गर्दछ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन गर्ने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने बर्तालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चूलोमा नयाँ माटोका भाडाँमा अरबा चामलको खीर बनाउने गरिन्छ । सख्खर हालेर बनाइएको खीर देवी–देवतालाई प्रसादका रूपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अघ्र्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिई उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौँसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिङ्गारा, फलफूल, पान, सुपारी, धूप, दीपलगायतले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने चलन छ । उक्त दिन छठ व्रत गर्नेहरूको घरका सबै सदस्य प्रायः रातिभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ, जुन कि सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता सृष्टि सम्पूर्ण जीवको रक्षिका देवी छिन् । प्रकृतिको छैटौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी रहेको छ । षष्ठी देवीको पूजनको प्रचार–प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतककालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठीमाता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । हुन त केहीले सूर्यको माता भनेरसमेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान् राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरेकाले छठ पर्वको आरम्भ यसै दिनदेखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रूपमा मानिएको छ । अर्को मान्यताका अनुसार छठ पर्व महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परमभक्त थिए । उनी हरेक दिन जलमा उभिई सूर्यलाई अघ्र्य दिने गर्दथे । सूर्यको कृपाले उहाँ महान् योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनहरूको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ । यसैबीच तराईमा धुमधामका साथ मनाइने महान् पर्व छठमा उपयोग गरिने वस्तुको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगाये सामानको मूल्य दोब्बरभन्दा बढी बढेको जनकपुरधामका स्थानीय सरोज साहले बताए । यसरी प्रसादलगायतका सामग्रीको मनपरी मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । रासस

कैलालीमा आगलागीबाट एक करोड बढी मूल्यका सामान नष्ट

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार रुपैयाँ, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख रुपैयाँ, पारस सापकोटाको मोबाइल पसलम १० लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् । यस्तै हिमाल पुनमगरको मोबाइल पसलम १२ लाख रुपैयाँ, छविलाल खनालको हार्डवेयर पसलम ४५ रुपैयाँ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० रुपैयाँ लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।

व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी

झापा । झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा ४० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको गिरीले बताए । एक करोड रुपैयाँका लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताए । ‘स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ’, व्यवसायी गिरीले सुनाए । बिबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएका थिए । तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए । कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए । फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ । अण्डा प्रतिगोटा ११ रुपैयाँमा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ । कुखुराको सुली मलबाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा तीन सय रुपैयाँमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ । कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरी अगाडि बढाएका छन् । उनले ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्याएर काम गर्दा नाफा हुन्छ’, उनी भन्छन् । कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेका उनले बताए । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए । ‘हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ’, उनले भने । रासस

तानसेनको तेल्घा सुनडाँडामा थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

पाल्पा । तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन् । तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन् । तेल्घाकी ४२ वर्षीया हेमा अस्लामी मगर गाउँमा काउली, बन्दा, सिमी, टमाटर खेती गरेर जीविका चलाउँदै आएका छन्। गाउँमा थोक बजार नहुँदा व्यापारीकै मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ । ‘सिद्धार्थ राजमार्गमा भेटिएका व्यापारीलाई तोकेकै मूल्यमा बेच्नुपर्छ’, उनी भन्छन्, ‘ थोक बजार सञ्चालन भएपछि बजार मूल्य पाउने आश छ ।’ दैनिक १० हजार मेट्रिक टन कृषि उपज बिक्री गर्ने लक्ष्यका साथ मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थाले कृषि थोक बजार सङ्कलन केन्द्रको निर्माण गरेको छ । यहाँ तरकारी, बाख्रा, गेडागुडी बिक्रीस्थल बनाइएको छ । कृषि उपज उत्पादनको ग्रेडिङ, प्याकेजिङ, तयारी र प्रोसेसिङ गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ । दुईवटा भवन र सात सटर निर्माण गरिएको छ । ‘प्रत्येक दिन बजार लगाउने तयारीमा छौँ’, सहकारीका अध्यक्ष कमला भण्डारी भन्छन्, ‘गाउँ–गाउँबाट सहकारीको सवारीसाधनमार्फत कृषि उपज आयात गर्ने व्यवस्था मिलाएका छौँ ।’ थोक बजार केन्द्र लुम्बिनी प्रदेश सरकारबाट रु ७० लाख, तानसेन कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाबाट ३४ लाख, हेफर इन्टरनेशनलबाट १० लाख र सहकारीको १० लाख गरी एक करोड २४ लाखको लागतमा निर्माण भएको हो । थोक बजार सञ्चालनका लागि बजार विकास समिति र निर्देशिका बनाइएको छ । प्रत्येक दिन कारोबार गर्ने गरी सञ्चालन गर्न थालिएको थोक बजार साताको एक दिन बजार लाग्ने सहयोगी संस्था ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए। तानसेन नगरपालिकामा दुई रोपनीभन्दा धेरैमा व्यावसायिक तरकारी खेती गर्नेहरू छ सय परिवार छन् । उनीहरूले वार्षिक रु ५० लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । यहाँ बाख्राको पकेट क्षेत्रसहित चारवटा स्रोत केन्द्र छन् । तानसेनबाट दुई करोड बढीको बाख्रा निर्यात हुँदै आएको छ । तानसेन बाख्राको मासुमा आत्मनिर्भर छ । तानसेन नगरपालिकाका ग्रामीण वडाबाट वार्षिक रु ३५ करोड बढीको कृषि तथा पशुजन्य उत्पादन निर्यात हुने गरेको नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीको भनाइ छ । ‘जिल्लामै थोकबजार सङ्कलन केन्द्र नहुँदा व्यापारीको मूल्यमा कृषि उपज बिक्री गर्नुपरेको थियो’, उनी भन्छन्, ‘थोकबजार केन्द्र सञ्चालनले कृषकले राम्रो मूल्य पाउनेछन् ।