विकासन्युज

छाेरालाई जन्मदिनमा १५ लाखकाे जीवन बीमा पाेलिसी उपहार

काठमाडौं । मर्स्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले आफ्ना १ वर्षीय छोरा अभिनव तामाङलाई जीवन बीमा पोलिसि दिएर जन्मदिन मनाएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको बेसीशहर शाखाबाट तामाङ्गले मेरो मुटु बाल जीवन बीमा योजना अन्तर्गत जारी भएको १५ लाख बराबर रकमको बीमा पोलिसी उपहार दिएर जन्मदिन मनाएका हुन् । आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि जन्मदिनमा जीवन बीमा पोलिसि उपहार दिएको उनले बताए । आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बीमा मार्फत सुरक्षित गर्ने जन्मदिनलाई अवसर पार्न थालिएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान गर्न मिल्ने व्यवस्था समेत गरेको छ ।

बैंकबाट कर्जा नपाएपछि घरजग्गाका व्यवसायी समस्यामा, कारोबार आधाले घट्यो

चितवन । चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो छ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो । गत वैशाखदेखि असोजसम्मको तथ्याङ्कअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए । बैंकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार सिथिल बनेको उनको भनाइ छ । उनका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री नभएको व्यवसायीले बताउँदै आएका छन् । घरजग्गा किन्न खोज्ने पनि सहजै बैंकिङ कर्जा नपाउँदा यो अवस्थामा लगानी गरिहाल्ने मुडमा छैनन् । यो अवस्थामा घरजग्गाको मूल्य घट्ने आँकलन व्यवसायीको छ । त्यसकारण पनि खरिदकर्ता पर्ख र हेरको अवस्थामा छन् । तरलता अभावसँगै सरकारले भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि जग्गा वर्गीकरणविना कारोबार गर्न पाइँदैन । सोही कारण घरजग्गा कारोबारको सङ्ख्या घटेको प्रमुख भण्डारीले बताए । भूमि व्यवस्था मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने गरी पत्राचार गरेको थियो । घरजग्गा व्यवसायी सङ्घ चितवनका अध्यक्ष बाबुराम अधिकारीले चितवनमा घरजग्गा व्यवसायी र किसान दुवै समस्यामा परेको बताए । उनले भने, ‘किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन् । अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन् ।’ उनले भने, ‘भरतपुर महानगरपालिकामा झण्डै पाँच सय लिखत निवेदन थन्किएर बसेका छन् । भित्रभित्र एउटा फाइलको ५० हजार रुपैयाँ लिएर सिफारिस गर्ने गरिएको छ ।’ वडाले सिफारिस गरेपछि फेरि महानगरको प्राविधिकले हेर्ने त्यसले माथि प्रतिवेदन दिएपछि प्रमुख तथा उपप्रमुख रहेको अर्को समितिले अध्ययन गर्ने भनेर प्रक्रियालाई झन्झटिलो बनाएर नागरिकलाई दुःख दिने काम भएको उनले बताए । चितवनका अर्का व्यवसायी दिनेशकुमार चुके कित्ताकाटको समस्या नसुल्झँदा समस्या आएको बताउँछन् । उनले भने, ‘घरजग्गामा धेरै लगानी गरेका चितवनका व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहको निगरानीमा किनबेच हुने व्यवस्था गर्नसकेमा राम्रो हुने थियो ।’ लिखत पारित घट्दाको प्रत्यक्ष असर राजस्व सङ्कलनमा पनि परेको छ । मालपोत कार्यालय चितवनको तथ्याङ्क हेर्दा मालपोत कार्यालय चितवनमा वैशाख महिनामा एक हजार एक सय ३५ वटा लिखत पास भएकामा असोज महिनासम्म आउँदा चार सय ९६ वटा लिखत पास भएका छन् । जेठ महिनामा एक हजार एक सय ७० पुगेको लिखतको सङ्ख्या असार, साउन र भदौमा निरन्तर ओरालो लागेको हो । जुन घटेको तथ्याङ्क ५६।३० ले कम हो । वैशाखमा एक सय २५ वटा पास भएको माडी मालपोतको लिखत घटेर असोजमा ५९ मा झरेको थियो भने चार सय ५३ रहेको चनौली मालपोतको लिखित असोजमा एक सय ३५ मा झरेको थियो । पूर्वी चितवनको खैरहनी मालपोतमा पनि वैशाखमा २२८ रहेको सङ्ख्या घटेर असोजमा एक सय ३० मा घटेको तथ्याङ्कले देखाउँछ । उक्त अवधिमा मालपोत कार्यालय चितवनमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा पनि झण्डै ५० प्रतिशत गिरावट आएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चितवनमा गत वैशाखमा १० करोड ४५ लाख ४४ हजार एक सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएकामा असोजमा घटेर छ करोड १९ लाख १३ हजार पाँच सय ८७ रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । यो सङ्ख्या ४० प्रतिशत बढीले कम हो । मालपोत कार्यालय चितवनले यो आर्थिक वर्षको पछिल्लो तीन महिनामा एक हजार पाँच सय ८६ वटा मात्र जग्गा खरिद बिक्री भएको जनाएको छ । यो अवधिमा कार्यालयले २४ करोड ९६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

सेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका शुक्रबारदेखि लागू हुने, मस्यौदामा के-के भयो परिवर्तन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका शुक्रबारदेखि लागू गर्ने भएको छ । बोर्डले यसअघि सल्लाह सुझावका लागि सार्वजनिक गरेको मस्यौदालाई अन्तिम रुप दिई सञ्चालक समितिबाट पास गराई लागू गराउने भएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पास भएर निर्देशिका लागू हुने बताए । मंगलरबार बसेको बोर्डको सञ्चालक समितिले मस्यौदामाथि छलफल गरेको थियो भने शुक्रबार पुुनः बसेर त्यसलाई अन्तिम रुप दिएर लागू गर्ने बोर्डको योजना छ । हमालका अनुसार मस्यौदामा उल्लेख गरिएका अधिकांश विषयहरु यथावत राखिएको छ । मस्यौदालाई धेरै परिवर्तन गरिएको छैन । सर्वसाधारण तथा लगानीकर्ताका सुझाव सल्लाहहरुलाई पनि निर्देशिकामा समेटिएको उनले बताए । बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नु पर्ने विषयलाई निरन्तरता दिएको थियो । मस्यौदामा मर्जर तथा एक्विजिसन गर्ने कम्पनीहरुको सेयर कारोबार १५ दिन मात्रै रोकिने मस्यौदा सार्वजनिक गरेको थियो । अब मर्जर तथा एक्विजिसन गर्ने कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ । ‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।’ यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था निर्देशिकामा छ । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था पनि गरेको छ । ‘संगठित सस्थाको गाभ्ने र गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ निर्देशिकामा लेखिएको छ । मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् । ‘गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइने छैन,’ उक्त निर्देशिकामा भनिएको छ ।

एक सातामै १७ अर्बले घट्यो बैंकहरुको निक्षेप, बढ्यो सीडी रेसियो

काठमाडौं । पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएशन (एनबीए) का अनुसार कार्त्तिकको पहिलो साताको तुलनामा दोश्रो सातामा १७ अर्बले निक्षेप घटेको हो । कार्त्तिक पहिलो साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको हो । यता कर्जा लगानी भने स्थीर अर्थात ४२ खर्ब २५ अर्ब रुपैयाँ छ । कार्त्तिक लागेसँगै बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटीसकेको छ । कर्जा लगानी भने ५ अर्ब रुपैयाँले बढेको छ । असोजको अन्तिम सातामा बैंकहरुमा ४५ खर्ब ४७ अर्ब निक्षेप संकलन भएको थियो भने ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । त्यस्तै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि बढ्दो छ । कार्त्तिकको पहिलो साता ८७.२३ प्रतिशत रहेको उक्त रेसियो दोश्रो सातामा बढेर ८७.५८ प्रतिशत पुगेको छ ।

हिरो एक्सप्लस २०० ‍मोटरसाईकल राइडरको लोमाङ्गथान यात्रा सुरु

काठमाडाैं । हिरो एक्सप्लस २०० ‍मोटरसाईकल खरिद गरेका ग्राहकहरुकाे लोमाङ्गथान यात्रा सुरु भएकाे छ । नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ्गले उक्त यात्रा आयाेजना गरेकाे हाे । उक्त यात्रामा ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता रहेकाे छ । सो यात्रा काठमाडाैं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुदै करिब ९०० कि.मि.को हुनेछ । नेपाल जनरल माकेटिङ्गका अध्यक्ष अभिक ज्योतिले टेकमा रहेको हिरोको शोरुमाबाट फ्ल्याग अफ गरेर यात्राको शुभारम्भ गरेका थिए । उनले सबैलाई अनुशासित चएर सतकर्ताका साथ बाईक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई हार्दिक शुभकामना दिएका थिए ।

प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनको विभिन्न सेवामा १० प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले कुश्माको हार्नेस् जिपलाइनको विभिन्न सेवाहरुमा छुट पाउने भएका छन्। बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइनका तर्फबाट अध्यक्ष विदुर पौड्यालले सम्झौतामा हस्ताक्षर गरेका छन्। बैंक र जिपलाइनबीच भएको सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबैले हार्नेस् जिपलाइनले संचालन गरिरहेको ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ। सम्झौता अन्तर्गत हार्नेस् जिपलाइनमा प्रभु बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ।

रिद्धि सिद्धि सिमेन्ट किन्दा हात खाली नजाने उपहार र लाखौं जित्ने मौका

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धि सिद्धिले हात खाली नजाने उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् । यस कुपनहरुमा ५०० रुपैयाँदेखि १० हजारसम्मको रकम उल्लेख गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, शून्य अंक उल्लेखित कुपन प्राप्त गर्ने ग्राहकले आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् । यद्यपि, कम्पनीको अनुसार ५० भन्दा धेरै संख्यामाको कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र ० – शून्य० लाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न सकिनेछ । यस्तै, ५ हजार वा सोभन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिम सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ । कम्पनीका अनुसार यो योजना कात्तिक १५ गते मंगलबारदेखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

अफगानिस्तान । अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ । विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ । उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ । विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ ।यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । रासस