विकासन्युज

हालोविनको रात सिकागोमा १४ जनाको हत्या

सिकागो । अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई सघाएको थियो भने अर्को समूहले गाडीबाटै गोली हानेको थियो । हालसम्म कसैलाई पक्राउ नगरिएको र घटनाको अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ । रासस

धनगढीमा सडक विस्तार गर्न सरकारी संरचना भत्काइयो

काठमाडौं । धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाएको छ । उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मेनरोडकोबीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्नेसरकारी संरचनामाथि डोजर चलाएको हो । सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले जानकारी दिएको छ । सडक विस्तार गर्नको लागि उपमहानगरपालिका मयेर गोपाल हमाल आफै सक्रिय भइ लागि परेका थिए ।    

सार्वजनिक पदमा भएका व्यक्तिले निर्वाचन प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमती अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको बताएका हुन् । बुधबार काठमाडौंस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहितामा व्यवस्था गरिए अनुसार कुनै पनि सरकारी स्रोत र साधनको दूरुपयोग नगर्न पनि बताए । त्यसैगरी प्रमुख निर्वाचन आयुक्त थपलियाले कोणसभा र आमसभामा समेत गरिएको खर्चको विवरण निर्वाचन सकिएको १५ दिन भित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयहरुमा बुझाउन पनि आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन दिइएको बताए ।

कोरोना बीमाको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप्नु पर्ने, मारमा नेपाल रि

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि सबै कम्पनीहरुले पैसा थप्नुपर्ने भएको छ । सरकारले दिएको रकममा थप रकम थप्नु पर्ने भन्दै बीमा समितिले कम्पनीहरुलाई पत्राचार गर्ने भएको हो । त्यसको लागि समितिले कात्तिक १६ गते बुधबार नै प्रत्येक निर्जीवन बीमा कम्पनीलाई पत्र काट्ने तयारी गरिरहेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘सरकारबाट कोरोना बीमाको एक अर्ब रुपैयाँ आएको छ, त्यसमा थपथाप गर्नुपर्यो भनेर कम्पनीहरुलाई आज पत्राचार गर्दैछौं,’ सिलवालले विकासन्युजसँग भने । सरकारले दशैं लगत्तै कोरोना बीमाको दावी भुक्तानीको लागि आफ्नो दायित्व वापतको एक अर्ब रुपैयाँ बीमा समितिमा पठाएको थियो । जुन पैसा हालसम्म पनि वितरण हुन सकेको छैन । सरकारबाट पूर्ण रुपमा रकम निकासा नभएको र पहिलो चरणमा दिएको एक अर्ब रुपैयाँ सबैलाई वितरण गर्न नपुग्ने भएकोले भुक्तानीमा ढिलाई भएको समितिले जनाएको छ । सोही कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्न समितिले थप गृहकार्य गरिरहेको छ । जसको लागि कम्पनीसँगै पुनर्बीमा कम्पनी र बीमा समितिले समेत रकम थप्न आवश्यक रहेको र रकम थपथाप गरेपछि भुक्तानी गर्न थालिने अध्यक्ष सिलवाल बताउँछन् । कसले कति थप्नुपर्छ ? भन्ने विकासन्युजको प्रश्नमा सिलवालले प्रत्येक कम्पनीहरुले २५ प्रतिशत रकम थप्नु पर्ने बताए । ‘सरकारले पठाएको पैसामा ५५ प्रतिशत मानेर कम्पनीहरुले २५ प्रतिशत रकम थप्नुपर्छ, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत हाल्नुपर्छ, ८ प्रतिशत पैसा हामी (समिति) हाल्दिन्छौं,’ प्रष्ट पार्दै उनले भने । यो अनुसार सबैले पैसा थप्दा सरकारले निकासा गरेको एक अर्बमा थप ८१ करोड रुपैयाँ थपिने समेत सिलवालले बताए । उक्त रकम ‘फष्ट कम फष्ट सर्भिस’ को नीतिअनुसार बीमितलाई वितरण गरिने उनको भनाई छ । सो अनुसार दावी पाउन बाँकी रहेका बीमितहरुमध्ये पहिला दावी गर्नेले भुक्तानी पनि शुरुमै पाउने भएका छन् । साथै, यो विषयलाई टुङ्गो लगाउनको लागि समितिले कात्तिक १७ गते बिहीबार सबै कम्पनीहरुसँग बैठक बस्ने तयारी गरिरहेको छ । समितिकाे प्रस्ताव अनुसार जाँदा कम्पनीहरूकाे नाफामा नकारात्मक असर पर्नेछ । सबैभन्दा बढी नेपाल पुर्नबीमा कम्पनीलाइ असर गर्नेछ । त्यस्तै, समितिले बाँकी रकम यथाशिघ्र निकासा गराउन समेत अर्थमन्त्रालयसँग निरन्तर लबिङ गरिरहेको अध्यक्ष सिलवालले बताए । कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी दिएका थिए । त्यसमध्ये ५१ हजार ६६९ जना बीमितले कूल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको दावी भुक्तानी भइसकेको छ । र, बाँकी रहेको एक लाख १३ हजार ३९० जना बीमितलाई १० अर्ब ८४ करोड रुपैयाँभन्दा बढी दावी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।

घरको छतमा ड्रागन खेती गरेर मनग्य आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागाएका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । ‘तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ’, उनले भने, ‘तीन/चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।’ यो खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको उनको भनाइ छ । ‘अहिले व्यवसाय राम्रै चलेको छ, यो फलको माग धेरै आउछ’, उनले भने, ‘यो सिजनमा मैले ६०/७० हजार रुपैयाँको फल बिक्री गरिसकेँ, यसैबाट परिवारको खर्च जोहो गरिरहेको छुँ ।’ सुरुमा भारतको गुजरातबाट ड्रागनको ३० वटा बिरुवा ल्याएर घरको छतमा लगाएको उनले बताए । छतमा उत्पादन भएको यसको फलको प्रत्येक बिरुवा पाँच सय रुपैयाँका दर बिक्री गर्ने गरेको उनले बताए। ‘ड्रागनको फल र बिरुवा दुवै बिक्री गर्ने गरेका छौँ, फलको प्रतिकेजी एक हजारको दरले बेच्छौँ’, धामीले भने, ‘अहिले बारीमा आठ सय ग्रामसम्मको फल लागेका छन् ।’ उनका अनुसार यसपटक कौसीको ड्रागन फलको बारीमा डेढ क्विन्टल फल उत्पादन भएको छ । भारतबाट भित्रिने फलभन्दा स्वदेशमै उत्पादन भएको फलको स्वाद राम्रो रहेको उनी बताउँछन् । ‘चिसो मौसममा उत्पादन हुँदैन, यो खेतीबाट फल र बिरुवा दुवै बिक्री गरेर आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘यो व्यवसायबाट सन्तुष्ट छुँ, जीविकोपार्जन गर्न सकिएको छ ।’ पछिल्लो समय ड्रागनको फल र बिरुवाको माग अत्यधिक भएकाले पुर्याउन मुस्किल पर्ने गरेको उनको भनाइ छ । अर्काको मुलुकमा श्रम बेच्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गरेर विदेशको जस्तै मनग्य आम्दानी गर्न सकिने धामी बताउँछन् । ‘त्यसका लागि सरकारले पनि युवालाई स्वदेशमै कृषिमा जोड्ने कार्यक्रम ल्याउनु आवश्यक छ’, उनले भने ।

लगातार तेस्राे दिन पनि बढ्याे नेप्से, शिवमको सर्वाधिक कारोबार

काठमाडौं । चाडवाडपछि कारोबार खुलेको तेस्रो दन पनि सेयर बजार बढेको छ । नेपाल स्टक एकस्चेन्जको अनुसार बुधबार सेयर बजार ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा बुधबार सबैभन्दा बढि कारोबार शिवम् सिमेन्टको भएको छ भने कर्पोर्ट डेभलपमेन्ट बैंकको सबैभन्दा बढी अंकले सेयर मूल्य बढेको छ । बढेको बजारमा नेप्सेको १३ सूचक मध्ये बैंकिङ, ट्रेडिङ र नन लाइफ इन्स्योरेन्सबाहेक सबै सूचक हरियो देखिएको छ । नेप्सेको अनुसार बुधबार४३ लाख ४६ हजार ७०८ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।

पाँच वर्षसम्म नपुगेको मुसहर बस्तीमा पुग्न थाले नेता

जलेश्वर । गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरुको बाक्लो उपस्थितिले उनीहरुलाई निर्वाचन आएको आभास हुन थालेको छ । ‘विसं २०७४ को निर्वाचनमा आफूले भोट दिएपछि पहिलो पटक नेताहरुलाई आफ्नो गाउँघरमा देख्दा नेताहरुलाई हाम्रो भोट चाहिने बेला भएछ भन्ने थाहा भयो’, बस्तीका अगुवा मुसहर अमृत सदा भन्छन्, ‘विगत पाँच वर्षमा एक पटक पनि नेता नपुगेको अहिले दिनरात नेता पुग्न थालेका छन् । हामी चाहिने भनेकै उहाँहरुलाई चुनावको बेला त हो नि ।’’ उनका अनुसार सधैँ बेलुका ७/८ बजे सुतिसक्ने मुसहरबस्ती अहिले प्रत्येक दिन राति १/२ बजेसम्म जाग्राम बस्छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको समय नजिकिँदै गएसँगै अहिले देशभरिका प्रत्येक गाउँघरमा नेता, कार्यकर्ताको दौडधुप सुरु भएको छ ।अघिल्लो निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरुले आफू जितेपछि मुसहर समुदायको लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जिते तर ती नेताहरु मुसहरबस्तीमा एकदिन पनि पुग्न सकेका छैनन् । अहिले मुसहरबस्तीका मतदाता नेताको ‘रङ फेरियो, बस्ती फेरिएन’ भनेर दुःख व्यक्त गर्दछन् । ‘सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएन्’’ अगुवा मुसहर अमृतले थपे । महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरु बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाजसमेत नगरिदिने गरेको उनीहरुको गुनासो छ । ‘मुसहरलाई आपतविपद पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पन्छिन्थे,’ बस्तीका ६० वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो सुनाए । निर्वाचन नजिकिएसँगै त्यही बस्तीमा अहिले नियमित नेताको भीड लाग्छ । ‘‘चुनावको मिति तय भएयता दिनहुँजसो नेता, कार्यकर्ता यसपटकको निर्वाचनमा मुसहरको मत पाएर आफूले जितेपछि यहाँ विकासको लहर ल्याउने आश्वासन बाँड्न सुरु गरेका छन् । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ’’ बस्तीका अर्का ७० वर्षीया महिला सिलिया सदाले बताइन् । जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ । उनीहरुका लागि न त शौचालयको व्यवस्था छ, न त खानेपानी पाइपकै सहजता छ । सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप (ह्याण्डपाइप) छ भने प्रत्येक ८/१० घरमा एउटा शौचालय रहेको स्थानीयवासी सुकमरिया सदाले भावुक हुँदै बताइन् । उनका अनुसार नेताहरुले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरु नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेका छन् । बस्तीमा खानेपानी, नाला र सडक बनाउनुपर्ने वर्षौंदेखिको माग अहिले पनि यथावत नै छ । ‘सबै चुनावमा घर बनाइदिन्छु, खानेपानी पाइप, स्कुल, नालालगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिन्छु,’ स्थानीय लड्डु सदाले बताए । भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबैभन्दा गहिरो ठाउँ हो । वर्षाको बेला घर–घरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । नब्बे घरधुरी रहेको यो बस्तीमा करिब एक सय ५० जनालाई नागरिकता समेत छैन भने उनीहरु पुस्तौंँदेखि यहीँ बस्दै आएको छ । बुबाको नागरिकता नभएकै कारण छोराछोरीकोसमेत जन्मदर्ता नबन्दा यस बस्तीका अधिकांश बालबालिका विद्यालयको मुखसमेत देख्न पाएका छैनन् । यस बस्तीका मुसहरले गत चुनावमा नागरिकता बनाइदिने, जन्मदर्ता बनाइदिने, वर्षाको पानी व्यवस्थापन गरिदिने, खानेपानी, सडक र सबै ऐलानी जमिनको लालपुर्जा बनाइदिनुपर्ने माग राखेका थिए । तर त्यस्ता वाचा, बन्धनको पनि पाँच वर्ष बितिसक्यो तर अहिलेसम्म पनि यो बस्तीमा केही हुनसकेको छैन । अझै पनि दर्जनाैँ व्यक्ति नागरिकताविहीन, दर्जनौँ बालबालिका जन्मदर्ताविहीन र बस्तीमा सडक, विद्यालय, खानेपानी, नाला निर्माणको काम पनि बाँकी नै रहेको छ । स्थानीय अर्जुन सदा भन्छन, ‘बस्तीमा मात्र एउटा चापाकल (खानेपानी पाइप) हुँदा गर्मीमा पानीको हाहाकार हुन्छ । नाला नबन्दा वर्षात्मा उनीहरूको घर डुब्छ । लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ । हरेक निर्वाचनमा उनीहरूले यी माग अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन् । उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन् ।’ खैरा गाउँभरि बिजुली बत्ती पुगे पनि गाउँमै रहेको मुसहरबस्ती वर्षौँंदेखि अँध्यारो रहेको छ । गरिबी र विपन्नताले गर्दा कतिले बिजुली बत्ती जडान नै गर्न सकेका छैनन् भने एक/दुई जनाले जडान गर्न चाहे पनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर नपाएको उनीहरुको गुनासो छ । गाउँमा बिजुली बत्ती त छ तर विद्युत् कार्यालयले लालपुर्जा नभएकालाई मिटर दिन मानेको छैन । स्थानीय सिरिया सदा भन्छिन्, ‘मुसहरबस्ती अझै उस्तै छ । यहाँका सबै सधैंँजना अभावमा बाँचिरहेका छन् । यो बस्तीमा नेता भोटको बेलामा मात्रै आउँछन् । मत पाएपछि नेताको रङ फेरिन्छ तर बस्तीको रङ फेरिँदैन ।’ निर्वाचनमा नेता परिवर्तन भए पनि आफूहरूको बस्तीमा परिवर्तन हुननसकेको उहाँको गुनासो छ । प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट लिने गरेको सिरियाले थपे । ‘नेपाल सरकारले बडो धुमधामका साथ देशलाई खुलादिशामुक्त घोषणासमेत गरिसकेको अवस्थामा यस बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको,’ स्थानीयवासी बिरु सदाको गुनासो छ । यहाँका अधिकांश बासिन्दा जमिन्दारको जमिन बटैया अर्थात अधियाँमा खेती गर्छन् । वर्षाको बेला खेत डुबानमा पर्छ भने वर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छन् । त्यसको व्यवस्थापन नेताले गरिदिँदैनन् । गरिबको भोको पेट भर्न कहिले कुनै पहल गरिँदैन । भोट माग्ने बेला त के के न गर्छु भन्दै आउने दर्जनौँं नेता फेरि जितेर गएपछि कता हराउँछन् ?’ स्थानीयवासी विमलेश सदा प्रश्न गर्छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मा पर्ने सो बस्ती जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नं ३ मा पर्दछ भने २०७४ को निर्वाचनमा यस क्षेत्रबाट सङ्घीय सांसदमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र मधेश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ३ ‘ख’ अन्तर्गतपर्ने यस क्षेत्रबाट मधेश प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित भएका थिए । वर्षौंदेखि मुसहरहरुको समस्याका आलो घाउ अझै आलै रहेको छ । उनीहरुको समस्या अझै जस्ताको तस्तै रहेका छन् । सधैँ गास, बास र कपासको समस्यामा जेलिएका सो बस्तीका मुसहर अझै पनि तिनै समस्यामा जेलिएका छन् । वर्षौदेखि गरिबी, विपन्नता र समस्यासँग जुझ्दै गरेका सो बस्तीका मुसहरका लागि न वडाध्यक्ष न नगरप्रमुख न प्रदेश सांसद र सङ्घीय सांसद समेतले अहिलेसम्म केही नगरिदिएको मुसहरहरुको सामूहिक गुनासो छ । अहिले भोट माग्न बिहान बेलुका र राति अबेरसम्म पनि थुप्रै नेता पुग्ने सो मुसहर बस्तीका ८५ जना बालबालिका जनप्रतिनिधकै कारण जन्मदर्ताविहीन रहेको स्थानीय मुसहरहरु आरोप लगाउँछन् । गरिबी र विपन्नताले जरो गाडेर बसेको सो गाउँको दलित मुसहरबस्तीमा बसोबास गर्ने अधिकांश परिवारका ८५ जना बालबालिका जन्मदर्ताविहीन रहेको सम्बन्धमा उनीहरुले पटक–पटक वडा कार्यालय नगरपालिकाको कार्यालय र आफ्ना प्रदेश तथा सङ्घीय सांसद समेतलाई जानकारी गराए पनि कतैबाट कुनै सहयोग नपाएको स्थानीय बिरजु सदाले दुःखेसो सुनाउँदै उनीहरुले वास्ता नदिएकै कारण अहिले आफ्नो बस्तीका बालबालिका जन्मदर्ताविहीन रहेको बताए । कस्तो बिडम्बना, जिल्लाको सदरमुकाममै पर्ने खैराको मुसहर बस्तीका दर्जनौँ बालबालिका जन्मदर्ताविहीन हुँदा विभिन्न अधिकार र सुविधाबाट वञ्चित हुनुपरेको उनीहरु बताउँछन् । जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिकाले नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्ता, बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाट समेत वञ्चित रहेको बस्तीका ५५ वर्षीया महिला जिबछी सदाले बताइन् । चरम गरीबीका कारण त्यस बस्तीका अभिभावक पनि बालबालिकालाई आवश्यक जन्मदर्ता बनाउनदेखि सरकारी सुविधा प्राप्त गर्नेसम्म पनि खासै मतलब नराखेको र बिहानबेलुका खानपानकै जोहोमा लाग्ने गरेको बस्तीकी वृद्ध महिला मरनी सदाले बताइन् । सोही बस्तीका बहादुर सदाले पनि बालबालिकाले के खाने, कसरी बाँच्ने कुराको व्यवस्थापनमै बस्तीका महिला, पुरुषहरुको दिनचर्या बित्ने गरेको कारण अरु कुनै कुरामा ध्यान पु¥याउन नसकिएको थपे । जिल्लाको सदरमुकाममै दर्जनाैँ बालबालिका जन्मदर्ताविहीन र अभिभावक नागरिकताविहीन हुनु स्थानीय सरकार र जनप्रतिनिधिको लागि लज्जास्पद कुरा रहेको जलेश्वरका बुद्धिजिवीको ठहर छ भने खैरा गाउँका मुसहर बालबालिका र तिनका अभिभावकलाई बस्तीमै गएर जन्मदर्ता र नागरिकता बनाइदिन सरोकारवालासँग जोडदार माग गरेका छन् । अहिले सो बस्तीका मुसहरुले त नेपाल सरकारले जनप्रतिनिधिका लागि आचारसंहिता लागू गरिदिएर उनीहरु केही गर्न नसक्ने भएका छन् । आधारभूत र जन्मसिद्ध अधिकारको कुराका लागि कुनै पनि बेला प्रशासनिक टोली पठाएर आफूहरुको समस्या समाधान गर्न/गराउने सक्ने भएकाले आफूहरुलाई तत्काल नागरिकता र बालबालिकालाई तत्कालै जन्मदर्ता बनाइदिन जोडदार माग गरेका छन् । मुसहर बस्तीमा पुगेका सञ्चारकर्मीलाई त उनीहरु यसपालि मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरु आफ्ना नागरिकता तथा बालबालिकाको जन्मदर्ता, बस्तीमा खानेपानी, शौचालय, पानी निकास, लालपुर्जा तथा रोजगारीको सुनिश्चित गर्ने तथा ती माग पूरा गर्न अहिले तत्कालै केही कदम चाल्ने उम्मेदवारलाई मात्रै आफूहरु भोट हाल्ने निधोसमेत गरिसकेको बताउँछन् । आफ्ना माग र समस्यालाई बेवास्ता गर्ने तथा आफूहरुलाई पुनः झूठो आश्वासन बाँड्ने वा ठग्न खोजिएमा कुनै पनि दल तथा उम्मेदवारलाई सो बस्तीका मुसहरले मतदान नगरी सम्पूर्ण बस्ती नै यसपालिको निर्वाचन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् । अशिक्षित र अबोध व्यक्तिको बाहुल्यता रहेको खैरा गाउँका मुसहर बस्ती सधैंँभरि निर्वाचनको बेला खास भोट बैंकको रुपमा चिनिँदै आएको छ । रासस

बाँके क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी

बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र्र मल्लले बताए । उनका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको छ । अस्पतालमा युरोलोजिस्ट भए पनि पिसावसम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ । अस्पताल विकास समिति अध्यक्ष मल्लले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा विस्तार गर्ने कार्यलाई आफ्नो प्रमुख जिम्मेवारीका रुपमा लिएर नयाँ योजनासहित काम गरिरहेको बताए । अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको उनको भनाइ छ । खजुरामा विशेषज्ञ सेवा नपाएपछि यस क्षेत्रका बिरामी भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिरामीलाई उपचारको लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तार गरिनुपर्ने अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा हाल वार्षिक रुपमा करिब एक हजार तीन सय बिरामी उपचार गराउन आउने गरेका छन् ।