नौ वर्ष विदेशपछि गाउँ फर्किएर कृषि, मासिक ९० हजार आम्दानी
बिहानदेखि बेलुकीसम्म गाईभैंसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोकका कुमार आचार्यको दैनिकी हो। बिहान ५ बजेदेखि साँझ नपरूञ्जेलसम्म उनी गाईभैंसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त हुन्छन्। नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारमा हन्डर खाएपछि उनी अहिले कृषि पशुपालनमा आकर्षित भएका हुन्। ‘मिश्रित कृषि पशुपालन तथा एग्रिकल्चर फार्म’ बाट आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरेका आचार्यको गोठमा चारवटा भैंसी र सातवटा गाई छन्। पशुपालनबाहेक उनले झन्डै ४० रोपनी जग्गामा गोलभेँडा खेती गरिरहेका छन्। पाँचवटा टनेलमा गोलभेँडा खेती गरिरहरेका आचार्यले १० रोपनी जग्गामा अदुवा र बेसार खेतीसमेत गरेका छन्। मलेसिया, कतार, साउदी, भारतको तातो घाममा आचार्यले पसिना बगाए। अहिले स्वदेशमै पसिना बगाइरहेका छन्। विदेशमा कमाएको केही पैसाले कृषिमा लागेका आचार्यले झन्डै ३० रोपनी जग्गामा फूल, कागती, आँप, लिची खेती पनि गरेका छन्। कृषिका विभिन्न आयामहरूसँग जुधिरहेका आचार्य अब बाँकी जीवन सुखसाथ कृषि पेसामै बिताउने बताउँछन्। ‘अब बाँकी जीवन स्वदेशमै बिताउँछु। आफ्नै गाउँको माटोमा पसिना बगाउँछु,’ उनले भने। कृषि सुकिलो मुकिलो नभए पनि आत्मनिर्भर पेसा रहेको उनी बताउँछन्। मान्छेले झट्ट कृषि पेसा नरोज्ने आचार्यको बुझाइ छ। ‘मान्छेले झट्ट कृषि पेसा रोज्दैनन्। प्रायः धेरै सुकिलो मुकिलो भएरै हिँड्न मन पराउँछन्। तर कृषिमा सधैंभरि सुकिलो मुकिलो भएर हिँड्ने छुट छैन। कृषिमा त गोबर, भकारो, माटोसँग रमाउन सक्नुपर्छ,’ उनले भने। उनी आफ्नै गाउँको चिसो हावा र माटोसँग खेल्दा जति आनन्द विदेशमा काम गर्दा नआएको बताउँछन्। संघर्ष गर्ने उमेरको आधाआधी जीवन विदेशमा बिताएका आचार्य नेपाली युवालाई खाडी मुलुक नजान सुझाउँछन्। ‘नेपालमै आयस्रोतका धेरै आयाम छन्। नेपाली युवा काम गर्ने वातावरण छैन भन्दै विदेश हुँइकिन्छन्। त्यहाँ पनि कामै गर्ने हो, पसिनै बगाउने हो। त्यो पसिना नेपालमै बगाए राम्रो हुन्थ्यो,’ उनले भने। आचार्य ११ वटा गाईभैंसीको झन्डै सय लिटर दूध मोटरसाइकलमा हालेर बजारसम्म पुर्याउँछन्। गाईवस्तुको खानपान र औषधिबाहेक पनि आचार्यको हातमा मासिक ९० हजार रूपैयाँ पर्छ। ‘गरे जे पनि हुने रहेछ। विदेशमा ३० हजार कमाउन रात दिन नभनी काम गर्नुपर्थ्यो। तर म अहिले घरै बसीबसी ९० हजार कमाउँछु,’ उनले भने, ‘विदेशमा ३० हजार कमाउन अठार–अठार घण्टा काम गरियो। आज ती दिन सम्झँदा आङै सिरिंग हुन्छ।’ युवालाई कृषिमा प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर बन्ने उनी बताउँछन्। ‘नेपालबाट दैनिक सयौं नेपाली विदेश जान्छन्। त्यसलाई रोकेर कृषिमा युवालाई प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन्छ,’ उनले भने। आचार्यले नेपालमै नयाँ र नौला प्रयोगमा रहेको सिताके च्याउको समेत व्यावसायिक खेती गरिरहेका छन्। २०७५ सालमा पाँच सय मुढाबाट व्यावसायिक च्याउखेती सुरू गरेका उनले अहिले १५ सय मुढामा गरिरहेका छन्। च्याउखेतीको बजार राम्रो रहेको तर उत्पादन ढिला भएको उनले बताए।’बजारमा सिताके च्याउको माग अत्यधिक छ। तर उत्पादन ढिला भइरहेको छ। यसले पनि हामीले बजार माग सम्बोधन गर्न सकिरहेका छैनौं,’ उनले भने। रासस
म्याग्दीमा भेटियो नयाँ वनस्पति
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गरेका थिए । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका कीर्तिमानी पर्वातारोही निर्मल पूर्जाले पर्वातारोहण र संरक्षणका लागि गरेको कामको मूल्याङ्कन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताए । रास्कोटीले हालै नयाँ प्रजातिको वनस्पतिका बारेमा ५७ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनसहितको लेख सार्वजनिक गरेका थिए । सन् २०११ को अगस्त २५ मा समुद्री सतहदेखि दुई हजार आठ सयदेखि दुई हजार नौ सय मिटरको उचाइमा रास्कोटीले फेला पारेका यो प्रजातिको वनस्पतिको नमूना सङ्कलन गरेर अध्ययनका लागि राष्ट्रिय हर्बेरियम प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको हर्बेरियम विभागमा अभिलेखका लागि राखेका थिए । ‘यो बिरुवाको विश्वमै पहिलोपटक अभिलेख भएकाले अन्य अवस्थाबारे विस्तृत अध्ययन भएको छैन’, रास्कोटीले भने, ‘मोलिक्युलर अध्ययन तथा अन्य विस्तृत विवरणसहितको अध्ययन गर्दा प्रजातिको अभिलेखमा धेरै वर्ष लाग्यो । यो प्रजाति इम्पेसियन्स हारी, इम्पेसियन्स रेडियटा, इम्पेटियन्स वालिचीसँग नजिक देखिए पनि भिन्न छ ।’ रास्कोटीले नेपालका लागि थप पाँच तिउरी प्रजातिको अभिलेख गर्नुभएको छ । यो सँगै नेपालमा तिउरीका अब ५७ प्रजाति नेपालमा अभिलेख भएका छन् । यस्तै तीमध्ये आठ प्रजाति नेपालमा मात्रै पाइने उक्त अनुसन्धानबाट खुलेको छ । इम्पेसियन्स ब्राचीसेन्ट्रा, एम्पेसियन्स इन्फन्डिबुलरिस, इम्पेसियन्स सिक्किमेन्सिस, इम्पेसियन्स काटकर्ठी, इम्पेसियन्स ज्ञामिई प्रजाति नेपालका लागि नयाँ अभिलेख भएका हुन् । नयाँ प्रजातिको तिउरीको डाँठबाट आउने फूलको सङ्ख्या तीनवटा मात्रै हुने, फराकिलो स्पर र फूलको पात पेटल रहेका जस्ता गुणबाट अन्यभन्दा फरक रहेको रास्कोटीले बताए । यस्तै यसको आनुवांशिक फाइलोजेनी अध्ययनमा न्यूक्लियर जिन र क्लोरोपास्टका दुईवटा जिनको विश्लेषण गर्दा फरक पाइएको थियो । अनुसन्धानकर्ताका अनुसार विज्ञानका लागि नयाँ प्रजाति हुनका लागि वनस्पतिको फूलको बनावटमा कम्तीमा दुई वा सोभन्दा बढी भिन्न र मोलुक्युलर विवरण पनि फरक हुनुपर्छ । फूल, डिएनए र बाहिरी आवरणलाई आधार मानेर वनस्पतिको वर्गीकरण र पहिचान गरिन्छ । विद्यावारिधि पूरा गरेका अनुसन्धानकर्ता रास्कोटी फ्लोरा अफ नेपाल लेखनको अर्किडेसी समूह लेखनको योगदानकर्ता पनि छन् । वनस्पति जगत्को बाल्सामिनेसी परिवारभित्र इम्पेसियन्स जेनस तिउरी पर्छ । यो परिवारका दुईवटा जेनस भए पनि नेपालमा तिउरी प्रजातिमात्रै पाइन्छन् । तिउरीलाई फूलको रूपमा रोप्ने तथा जडीबुटीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । नेपालको आठ सय मिटरदेखि माथि चार हजार पाँच सय मिटर उचाइसम्म यो प्रजातिको अभिलेख भएको छ । घाँसेमैदानको ओसिलो ठाउँमा पाइने तिउरीलाई स्थानीयवासीले बर्खामा हिलोले बनाएको घाउमा लगाउने गर्दछन् । रासस
भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण
भरतपुर । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताइन् । उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने बताइन् । प्रमुख दाहालले भरतपुर अस्पतालको समग्र विकासका लागि महानगर निरन्तर लागिरहेको भन्दै ढल निकास र बर्थिङ सेन्टरका लागि छलफल भइरहेको जानकारी दिइन् । उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सङ्घीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताए । सङ्घीय अस्पताल भएर पनि भरतपुर अस्पताल सङ्घ र स्थानीय पालिकाको समन्वयमा चलेको भन्दै उनले नवनिर्मित आकस्मिक भवनमा ६० शय्या पुर्याउनुपर्ने बताए । पचास शय्या सञ्चालनको तयारीमा रहेको आकस्मिक कक्षमा थप १० शय्या विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । अस्पतालमा एमआरआइका लागि आवश्यक प्रक्रिया मन्त्रालयले पूरा गरिसकेको उनले जानकारी दिए । अस्पतालको फोहर व्यवस्थापनका लागि दुई करोड ५० लाख रुपैयाँ निकासा गरिने पोखरेलको भनाइ छ । उनले भने, ‘भरतपुर अस्पतालको विकासका लागि आवश्यक काम गर्न हामी तयार छौँ ।’ कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बहिरङ्ग सेवा ओपिडीका विषयमा धेरै गुनासो आउने गरेको भन्दै जनशक्ति मुख्य समस्याका रूपमा रहेको बताए । उनले बिमाका कारणले बिरामीको चाप बढेको बताए । उनले दैनिक एक हजार सात सय हाराहारी बिरामीको चाप थेग्नुपरेको उल्लेख गर्दै बिहान १० बजेदेखि नै पेइङ क्लिनिक सञ्चालन गर्ने योजना रहेको बताए । विसं २०१३ मा बनेको अस्पतालमा नयाँ आकस्मिक भवन बनेको हो । नयाँ आकस्मिक भवनमा हाल ३५ शय्या सञ्चालनमा छन् । केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने भएको छ । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, शल्यक्रिया कक्षसहितको व्यवस्था छ ।
माझी बस्ती जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार
बागलुङ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् । विसं २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यही नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण गर्यो । धेरैले घरसहित लालपुर्जा पाए । तर अझै केही परिवारले पाउन सकेका छैनन् । माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन्, तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझी भन्छन्, ‘चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउछन्, चुनाव जितेपछि एकपटक पनि हाम्रो बस्तीमा आउदैनन्, काम पनि खासै केही गर्न सकेनन्, हाम्रो बस्तीमा धेरै समस्या छन् ।’ उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि बाचा पूरा गर्न नसकेको माझीको गुनासो छ । उनी वर्षौँ बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्णरूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउँछन् । ‘चुनावका बेला भोट माग्न आउने सबैले सडक, खानेपानीको कुरा गर्छन्, यहाँ पानी ल्याउने भनेको धेरै भयो अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्था हुनसकेको छैन’, उनले भने । विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरी चार वर्ष अगाडि हस्तान्तरण गरेको थियो । उनीहरूले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताइन् । उनले पटक–पटक आफूहरूले भोट दिए पनि माझी समुदायमा उम्मेदवार जितेपछि कमै आउने गुनासो गरिन् । ‘हाम्रा लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर फर्कि हेरेनन्, समस्या जस्ताकोतस्तै छन्’, उनले भनिन्, ‘भोट माग्न आउने बेलामा गर्छौँ भनेर भन्छन्, विश्वास लाग्छ तर काम गर्दैनन्, अहिले आएर हामीहरूलाई झुक्याउन खोजेको जस्तो लाग्न थाल्यो ।’ माझी समुदायको उम्मेदवारसँग ठूलो अपेक्षा छैन । रोजगार सिर्जना गरिदिए पुग्ने उनीहरु बताउँछन् । स्थानीय चन्द्रकला माझी भन्छिन्, ‘भएको घर सम्पत्ति सडकले खाइदियो, सरकारले यति घरमात्रै बनाइदिएको हो, घरमात्रै भएर नहुने, गरीखाने ठाउँ छैन, सरकारले कि गरिखाने ठाउँ, कि काम गर्ने ठाउँको व्यवस्था गरिदिए हुन्थ्यो ।’ उम्मेदवारको ध्यान माझी बस्तीमा पुग्न नसक्दा आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको उनीहरु बताउँछन् । ‘अहिले आउने उम्मेदवार अर्को चुनावमा मात्र फर्किन्छन्’, उनले भनिन्, ‘भ्रममात्रै छर्दा रैछन्, काम गर्दा रहेनछन् ।’ सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन् । अहिलेसम्म गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन् । विभिन्न प्रक्रिया नपुग्दा आफूहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको यमबहादुर माझीको भनाइ छ । रासस
शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’
रामपुर । गङ्गा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ । भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर र उज्ज्वल बन्छ । यहीँ भनाइको सुरुआत गङ्गा माविबाट भएको छ । बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका–८ स्थित गङ्गा माविमा सो अभ्यासको थालनी भएको छ । यहाँको शैक्षिक वातावरणले विद्यालयभित्र पुग्ने जो–कसैलाई पनि लोभ्याउँछ । बालबालिका खेल्दै, पढ्दै गरेको दृश्यले उनीहरूको सुन्दर भविष्यको रेखा कोरिएको छ । गाउँका शैक्षिक संस्थामा यस्तो व्यवस्था खासै पाइँदैन । त्यसमा पनि सामुदायिक विद्यालयमा निर्माण भएको बाल उद्यानले शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यहाँको विद्यालयमा बालविकासलाई प्राथमिकता दिँदै उनीहरूको खेल्ने र मनोरञ्जन गर्ने अधिकारलाई प्रत्याभूत गराउँदै बाल उद्यान अर्थात् बालसंसार निर्माण गरेपछि शैक्षिक क्षेत्रमा यसले नौलो आयाम थपेको छ । स्थानीयवासी तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक कर्मचारी कृष्णप्रसाद पौड्याल र गोविन्दप्रसाद पौड्यालद्वारा स्व पिता जयलाल एवं माता कौशल्यदेवीको सम्झनामा बाल उद्यान तयार पारिएको हो । करिब २० लाखको लगानी परेको बाल उद्यानमा पौड्याल परिवारको १३ लाख रुपैयाँ बराबरको सहयोग छ । बाँकी रकम आवश्यक खेलजन्य सामग्रीमा विद्यालयले खर्चेको छ । बाल उद्यानको संरचना सबै पौड्यालकै लगानीमा बनेको हो । यहाँ निर्माण गरिएको बाल उद्यानको गत असोज २३ गते जापानी नागरिक काजुमासा काकिमी ओकेबाजेले उद्घाटन गरेका हुन् । उद्यान विद्यालयलाई हस्तान्तरण गरिएको छ । सो उद्यानमा आठ पिङ, चिफ्लेटी, बिगप्ले स्टेशनलगायत विभिन्न खेलका सामग्री छन् । तल्ला कक्षाका बालबालिकालाई लक्षित गरेर उद्यान तयार पारिएको हो । एकैपटकमा ५० देखि ६० जनासम्म साना बालबालिका अट्ने क्षमता छ । यस उद्यानले खेल संस्कारको विकास भएको छ । समाज परिवर्तन गर्नका लागि बालबालिकाबाट सुरु गर्नुपर्छ भनेर समाजमा सकारात्मक सन्देश दिन र उनीहरूको सर्वाङ्गीण विकासका लागि बाल उद्यानमा लगानी गरेको पूर्व राष्ट्रसेवक कर्मचारी पौड्याल बताउँछन् । ‘बालबालिकालाई असल नागरिक बनाउने कुरा गर्छौँ तर हामीले राम्रो वातावरण दिन सक्दैनौँ, उनीहरूको शारीरिक, बौद्धिक र सकारात्मक भावनाको विकास जबसम्म हुँदैन तबसम्म असल नागरिक बनाउन धेरै कठिन हुने भएकाले बालबालिकामा लगानी गर्न कन्जुस्याइँ गर्नु हुँदैन’, उनले भने । विद्यालयबाट होस् या घरपरिवार, समाजबाट बालबालिकालाई महत्व दिएर काम गरियो भने विकासको सुरुआत त्यहीँबाट हुने उनको भनाइ छ । सानैदेखि नै बालबालिकालाई राम्रो वातावरण दिन सकियो भने भविष्यमा ठूलो मान्छे बनेर उनीहरूबाट हामीले धेरै फाइदा लिन सक्ने भएकाले लगानी गर्न पछि नहट्न सम्बन्धित निकाय, व्यक्तिसँग उनको आग्रह छ । महिला तथा बालबालिका विभागको महानिरीक्षक पदमा रहँदा नै बालबालिकामा लगानी गर्नुपर्छ भन्ने अवधारणाको सुरुआत गरेको र सो अवधारणालाई अहिले सेवा निवृत्त भएपछि सामाजिक, शैक्षिक क्षेत्रमा अगाडि बढाएको उनी बताउँछन् । ‘महिला उत्पीडनमा छन्, बालबालिका वितृष्णामा पर्छन्, यो सानैदेखि राम्रो शिक्षा दिन नसकेर भएको हो’, उनले भने, ‘हाम्रो समाजमा पछिल्लो समय महिला हिंसा, बालहिंसाका घटना बढिरहेका छन्, बालबालिकामा राम्रो वातावरण दिन नसक्दा समाजमा यस्ता क्रियाकलाप हुने गरेका छन्, त्यसकारण सानैदेखि उनीहरूलाई संस्कारसहितको वातावरण हामीले सिर्जना गरिदिनुपर्छ ।’ राम्रो वातावरण दिनका लागि महिला तथा बालबालिका विभागमा कार्यरत रहँदादेखि नै देशभर केही गर्नुपर्छ भनेर अभियान चलाएको पौडेल बताउँछन् । गङ्गा माविबाट सुरुआत गरेको अभियानलाई अब अतिक्रमणमा परेका सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नुपर्ने उनको भनाइ छ । बाल विकासका लागि उनी आफैँ सार्वजनिक जग्गा संरक्षण र बालहित संसार अभियानको संयोजक भएर लागेका छन् । सार्वजनिक जग्गाको सम्पत्ति संरक्षणका लागि बाल खेल संसार अभियान सुरुआत गरियो भने त्यसले जग्गाको संरक्षण र बालबालिका खेल्ने उद्यानको विकास हुनेछ । अतिक्रमण गरेका सार्वजनिक जग्गा पनि मुक्त गराउन रामपुरमा यस अभियानको थालनी गर्न समिति बनाइएको छ । व्यक्तिको लगानी हुँदा सामाजिक अपनत्व कम हुने भएकाले यस अभियानलाई स्थानीय सरकारले सहयोग गर्यो भने नगरपालिका तथा समाजको अपनत्व धेरै बढ्ने उनी बताउँछन् । सरकारी सेवामा करिब २८ वर्ष सेवारत उनी सात वर्षअघि महिला तथा बालबालिका विभागको महानिरीक्षक पदबाट निवृत्त भएपश्चात् सामाजिक अभियानमा लागेका छन् । आफूले सरकारी सेवामा रहँदा नै सुरु गरेको यो अभियानलाई देशव्यापीरूपमा अगाडि बढाउने उनको सोच छ । अहिलेको समयमा एकोहोरो कक्षाकोठाभित्रै पढाएर परिवर्तन गर्न गाह्रो स्थितिमा यस उद्यानले बालविकासको छिटो परिवर्तन हुने, पढाइमा विद्यार्थी आकर्षित बन्दै गएको बताउँछन्, गङ्गा माविका प्रधानाध्यापक देवराज देवकोटा । ‘बाल उद्यानले विद्यालयमा असाध्यै रौनकता ल्याएको छ, विद्यार्थीबाट उद्यान सञ्चालनवापतको विद्यालयले शुल्क लिएको छैन, खेल संस्कारको विकास भएको छ, बालबालिकाको रेखदेखका लागि चार शिक्षक खटाएका छौँ’, प्रअ देवकोटाले भने । असल नागरिक तयार पार्नलाई बालबालिकालाई खेलतर्फ आकर्षित गर्न अतिआवश्यक छ । सो बाल उद्यानमा अहिले बालबालिका रमाउँदै पढ्ने, खेल्ने गर्दा विद्यालयको शैक्षिक माहोल नै बदलिएको शिक्षक कृष्णप्रसाद घिमिरेले बताए । बाल उद्यानले विद्यालय आउन अप्ठ्यारो मान्ने, पढाइमा चासो नदिने बालबालिकाको पठनपाठनप्रति रुची बढाएको छ । रासस
हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा–टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति २ बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो । नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजा आजा एवं दर्शन गरेको उनले बताए । साढे सात बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ । बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । यो कार्यक्रम गत कात्तिक १५ गतेदेखि नै सुरु भएको जनाइएको छ । तुलसीको विशेष पूजासहित विवाह गरिँदै आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको पुजारी शिवप्रसाद पौडेलले बताए । जोरपाटीस्थित नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका विभिन्न नारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ । नेपालीले आजै घर–घरमा तुलसीको विशेष पूजा गर्दैछन् । आज विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ । हरिबोधिनी एकादशीका अवसरमा दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा मेला लाग्ने भएकाले आज स्थानीय पर्व बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी दीपकुमार केसीले जारी गरेकाे सूचनामा उल्लेख छ । यसैगरी बूढानीलकण्ठ नगरपालिकाले पनि आज स्थानीय पर्व बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ । रासस
तिहारमा मात्रै सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै आठ लाख रुपैयाँ बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो दुई सय ५० रुपैयाँ र कृषक तथा समूहले प्रतिकिलो तीन सय रुपैयाँका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । ‘किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे’, उनले भने, ‘तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला ८० रुपैयाँ देखि एक सय रुपैयाँका दरले बिक्री भयो ।’ यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो । स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भएको पौडेलले बताए । तिहारको अवधिमा सयपत्री फूलको माग विगतका वर्षका तुलनामा यसपाली बढेको थियो । व्यापारीले यहीँ आएर फूल खरिद गरेर लगेका थिए । ‘फूल पहिलो चरणको बिक्री भएर सकियो’, उनले भने, ‘दोस्रो चरणमा अहिले फेरि फूल उत्पादन भइसकेको छ, यो फूल विवाह, व्रतबन्धलगायतमा बिक्री गर्छौँ । साउनमा लगाइएको बोटबाट चैतसम्म उत्पादन लिन सकिन्छ ।’ फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिई आर्थिकलाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती गरेको थियो । यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरेको थियो । गाउँपालिकाले व्यावसायिकरूपमा फूलखेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिएको थियो । खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अुनदान उपलब्ध गराएको थियो । गत वर्ष गाउँपालिकाले परीक्षणका रूपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यस वर्षबाट कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराएको हो । पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास होमस्टे र १० कृषक गरी १४ समूह तथा व्यक्ति छनोट भएका हुन् । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनी जग्गामा व्यावसायिक फूलखेती गरेका छन् । गाउँपालिकाले यस वर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट चार सय वटासम्म फूलका थुङ्गा उत्पादन हुन्छन् । फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ । फूल उत्पादन हुने क्रम आगामी चैतसम्म हुने भएकाले बिक्री गरी थप आम्दानी लिन सकिन्छ । यहाँ व्यावसायिक फूलखेती थालेका किसानले तिहारको अवधिमा मात्रै न्यूनतम ३० हजार रुपैयाँदेखि अधिकृतम ७०–८० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । कालीगण्कडी गाउँपालिका–६ कुणादीका चिन्तामणि अधिकारीले तिहारमा मात्रै सयपत्री फूल बिक्रीबाट ६० हजार रुपैयाँ आम्दानी गरे । पहिलोपटक परीक्षणका रूपमा दुई रोपनीमा फूलखेती गरेका अधिकारीले तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरी मनग्य आम्दानी गरेका हुन्। ‘तिहारको अवधिमा मात्रै करिब दुई हजार मालाको माग थियो’, उनले भने, ‘मालाको माग अत्यधिक थियो तर पर्याप्त फूल थिएन र माग भएबमोजिम उपलब्ध गराउन सकेनौँ ।’ तिहारको समयमा सयपत्री माला तथा फूलको घरमै छोपाछोप भएको उनले बताए । उत्पादित फूलको ८० प्रतिशत माला बनाएर प्रतिमाला फुटकर एक सय रुपैयाँ र होलसेलमा ९० रुपैयाँमा बिक्री भएको उनी बताउँछन् । तिहारमा उत्पादन भएजति फूल फेरि पनि बोटमा उत्पादन भएकाले आम्दानी अझै वृद्धि हुने व्यवसायी अधिकारीले बताए । ‘विभिन्न जातका गेडागुडी लगाउने गरेको जमिनमा यस वर्ष गाउँपालिकाको सहयोगमा पहिलोपटक सयपत्री फूल लगाएँ’, उनले भने, ‘फूलबाट राम्रै आम्दानी भयो, बाँदरबाट पनि समस्या भएन, अबका दिन अझै क्षेत्र विस्तार गरी फूलखेतीलाई निरन्तरता दिने सोचमा छु ।’ रासस
प्रचण्ड र माधवको दबाबमा प्रधानमन्त्री बन्नुपर्यो : देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु दवावमा प्रधानमन्त्री बनेको बताएका छन् । गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएको चुनावीसभामा आज पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको बताए । ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेतताको सहयोगमा आफूले नेतृत्व लिएको उनको भनाइ थियो । जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गरे । ुत्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजागारीका साथै समृद्ध नेपाली नबनेसम्म रहिरहन आवश्यक छ, उनले भने । उनले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिए । अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उनले स्पष्ट गरे । प्राचीन धरोहर र मौलिकता ओगटेका कुरालाई जोगाएर राख्नका लागि जिल्लावासीलाई प्रधानमन्त्री देउवाले आग्रहसमेत गरे। स्थानीयस्तरमा बजार तथा गाउँका नाम परिवर्तन गर्दा मौलिकता हराउँदै गएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सङ्कोच नगर्नसमेत जिल्लावासीलाई अनुरोध गरे । आफूलगायत गठबन्धनका नेताले एक–अर्काको पार्टीलाई पटक–पटक भोट हालेको जनाउँदै जिल्लावासीलाई पनि कुनै द्विविधामा नरही गठबन्धनबाट उम्मेदवार बनेका नेतालाई जिताउन अपिलसमेत गरे । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी आरजु देउवा राणा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी पोलिटब्यूरो सदस्य खगराज भट्ट, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष नन्दराज भट्ट, जगत् पार्कीलगायतका नेताले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि जिल्लावासीलाई अनुरोध गरे । रासस