मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै
दोहा । शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो । खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि गोल गरेका थिए भने एन्जो फर्नान्डिजले दोस्रो गोल थपेका थिए । मेसीले विश्वकप खेलको पहिलो खेलमा भएको हारले कठिन भएको बताउँदै भने, ‘पहिलो खेलमा हामीलाई घाटा भयो । हामीलाई थाहा थियो कि हामीले आज जित्नै पर्छ, हाम्रो लागि अब बल्ल विश्वकप सुरु हुँदैछ ।’ मेक्सिकोले राम्रो खेलेको कारण गोल गर्न निकै कठिन भएको उनको भनाइ थियो । मेस्सीले गरेको गोलले उनले अर्जेन्टिनाका लागि विश्वकपमा आठ गोल र २१ खेलमा उपस्थिति जनाउँदैस्वर्गीय डिएगो म्याराडोनालाई बराबरी गरेका छन् । अर्जेन्टिनाले म्याराडोनाको मृत्युको दोस्रो वार्षिकी मनाएको एक दिनपछि यो जीत निकालेको हो । सात पटकका बालोन डी’ओर विजेता मेसीबाहेक सबैका लागि यो अवसर प्राप्त भएको जस्तो देखिने खराब र तनावपूर्ण भिडन्तमा यी गोलहरू गुणस्तरका दुई दुर्लभ क्षणहरू थिए । तर अर्जेन्टिनाले नकआउट चरणमा स्थान पक्का गर्न अझै पनि समूह चरणको अन्तिम खेल पोल्याण्डविरुद्ध जित्नैपर्ने हुन्छ । मेसीले भने, ‘हामी अहिले छोड्न सक्दैनौं । अब हरेक खेल फाइनल हो, हामी कुनै गल्ती नगरिकन खेल्नेछौँ ।’ रासस
आइतबार ३२.४३ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी कमाउनेमा लघुवित्त
काठमाडौं । आइतबार सेयर बजार ३२.४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आज सेयर बजार बढेर १९६५.९८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब बढीको कारोबार भएको छ । आज सार्वधिक कमाउने तीन कम्पनीमा सबै वित्तिय संस्थाहरु रहेको छन् जसमा क्रमशस् डिप्रोश लघुवित्त, जिवन विकास लघुवित्त र कुमारी बैंक लिमिटेड रहेको छ । यस्तै, सार्वधिक गुमाउनेमा अधिकांश म्युचल फण्ड रहेका छन् । यस्तै, आज बजारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको सेयर किनबेच भएको छ ।
श्री इन्भेष्टमेन्ट फाइनान्सका सञ्चालकको हस्ताक्षर अवैधानिक, राष्ट्र बैंकले रोक्यो लाभांश
काठमाडौं । नेपाल राष्ट्र बैंकले श्री इन्भेष्टमेन्ट फाइनान्सको सञ्चालक समितिले हस्ताक्षर गरेको वित्तीय विवरण अमान्य रहेको भन्दै फिर्ता पठाएको छ । कार्यकाल सकिएको सञ्चालक समितिले हस्ताक्षर गरेर एजीएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपछि राष्ट्र बैंकले नियम विपरित भएको भन्दै वित्तीय विवरण नै फिर्ता पठाएको हो । श्री इन्भेष्टमेन्ट फाइनान्सले एजीएम क्लियरेन्सका लागि राष्ट्र बैंक पठाएको गत आर्थिक वर्षको वित्तीय विवरणमा समय सकिसकेको सञ्चालकहरुको हस्ताक्षर भेटेपछि राष्ट्र बैंकले फिर्ता पठाएको हो । यस फाइनान्सले पठाएको वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृति नदिँदा नयाँ सञ्चालक समिति गठन गर्नु पर्ने भएको छ । फाइनान्स कम्पनीको हालको सञ्चालक समितिको समयावधि गत असारमा सकिएको थियो । आगामी वार्षिक साधारण सभाले नयाँ समिति गठन गर्ने भन्दै आफैं समय अवधि थपेको थियो । तर, राष्ट्र बैंकले सञ्चालक समितिको समयावधि आफै बढाउन वा थप गर्न नपाउने भन्दै वित्तीय विवरण नै रोकिदिएको हो । वित्तीय विवरण नै रोकिएपछि संस्थले वितरण गर्ने लाभांश वितरणको विषय पनि दुविधामा परेको छ । राष्ट्र बैंकले वित्तीय विवरण नै स्वीकृत नगरेपछि संस्थाले लाभांश वितरण गर्न पाउँदैन । श्री इन्भेष्टमेन्ट फाइनान्स सूचना अधिकारी दुर्गा लम्सालका अनुसार श्री इन्भेष्टमेन्ट फाइनान्सले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकले हालका सञ्चालकहरुले हस्ताक्षर गरेको वित्तीय विवरण स्वीकृत नगर्ने भएपछि नयाँ सञ्चालक समिति गठन गरेर पुनः वित्तीय विवरण राष्ट्र बैंकमा पठाउने तयारी भइरहेको उनले बताए । ‘सञ्चालक समितिको समयावधि गत असार २० गते नै समाप्त भएको थियो, वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति गठन गर्ने योजना थियो, सञ्चालक समितिको समय अवधि स्वेच्छाले थप गर्न पाउँदैन भनेर राष्ट्र बैंकले वित्तीय विवरण रोकिदियो,’ उनले भने । राष्ट्र बैंकले सञ्चालकहरुको समयावधि आफैं थप्न नपाउने भनेपछि फाइनान्सले विशेष साधारण बोलाएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते विशेष साधारण सभा बोलाएको हो । कम्पनीको सभाले ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने कम्पनीले बताएको छ । कम्पनीले निर्वाचन सम्बन्धि कार्यक्रमको तयारी गर्न निर्वाचन अधिकृत समेत तोकिएको सूचना अधिकारी लम्सालले बताए । ‘नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृति नदिएका कारण विशेष साधारण सभा बोलाउनु पर्ने बाध्यता आइपर्याे, नियामकबाट विशेष सभा गरेर नयाँ सञ्चालकले हस्ताक्षर गरेको आउनु भनेको छ,’ उनले भने, ‘अहिलेको सञ्चालक समिति काम चलाउ मात्रै थियो तर यो बीचमा जति पनि काम भएका छन् त्यसलाई साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।’ निर्वाचन गर्ने भनिए पनि विशेष साधारण सभामा सहमतिमा नै नयाँ सञ्चालक समिति गठन हुन सक्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिएको छैन, आन्तरिक प्रक्रिया पुरा गरेर पठाएको डकुमेन्टहरु अध्ययनको शिलशिलामा छन्, राष्ट्र बैंकले नयाँ सञ्चालक समितिले हस्ताक्षर गरेको वित्तीय विवरण पठाउन भनेको छ,’ उनले भने । एक महिनाको फरकमा पुनः वार्षिक साधारण सभा बोलाउने उनले बताए । शशि राज पाण्डेय अध्यक्ष रहेको सञ्चालक समितिमा दिनेशराज जोशी, महेश प्रसाद अधिकारी, उमेश भगत प्रधानाङ्ग, रामकृष्ण शर्मा वाग्ले र ममता अधिकारी सञ्चालक रहेका छन् । कम्पनीको चुक्ता पूँजी ९५ करोड ८६ लाख रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले समावधि सकिएको सञ्चालक समितिले मनोमानी रुपमा कार्यकाल बढाउन नपाउने बताए । उनका अनुसार अब नयाँ कार्य समितिले हस्ताक्षर गरेको वित्तीय विवरण आए मात्रै सो फाइनान्सको वित्तीय विवरण स्वीकृत हुन सक्नेछ । ‘अहिलेको सञ्चालक समितिको कार्यकाल सकिएकाेले नयाँ समिति आउनु पर्छ, पुरानै सञ्चालकहरुले मिलेर कार्यकाल थप्न पाउँदैनन्, सो समितिले विशेष साधारण सभा बोलाएर सभाले निवार्चित गरेका सञ्चालकहरुको हस्ताक्षरसहितको वित्तीय विवरण आएमात्रै प्रक्रिया अगाडि बढ्छ,’ उनले विकासन्युजसँग भने ।
म्याग्दीमा खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण
म्याग्दी । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ । परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गरेको हो । गाउँ भेलाले पास गरेको उक्त निर्णयविपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुने गरेको रघुगङ्गा–४ का अगुवा तबहादुर शेरपुञ्जाले बताए । ‘बिहीबार सम्पन्न गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ’, स्थानीय अगुवा धनबहादुर गर्बुजाले भने । गर्बुजाका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी एक सय ५० रुपैयाँ, कोदो र धान प्रतिपाथी दुई सय रुपैयाँ, जौ प्रतिपाथी एक सय ५० रुपैयाँ, गहुँ र उवा प्रतिपाथी दुई सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसैगरी भटमास प्रतिपाथी चार सय रुपैयाँ, फापर प्रतिपाथी एक सय ५० रुपैयााँ, सिमी प्रतिपाथी छ सय रुपैयाँ, आलु र पिँडालु प्रतिपाथी एक सय ५० रुपैयाँ, बेसार प्रतिमाना एक सय ५० रुपैयाँ र रक्सी जम्बो बोतललाई एक सय ३० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति सात सय रुपैयाँँ, हलगोरु ज्याला प्रतिदिनको एक हजार रुपैयाँ, साधारण खेताला ज्याला प्रतिदिनको पाँच सय रुपैयाँँ, इलेक्ट्रिसियन ज्याला प्रतिदिनको आठ सय रुपैयाँँ, सिकर्मी ज्याला प्रतिव्यक्ति आठ सय रुपैयाँँ, सिमेन्ट प्लाष्टर प्रतिव्यक्ति आठ सय रुपैयाँँ निर्धारण गरिएको छ । त्यस्तै राँगो शुल्क आठ सय रुपैयाँँ, गोरु र बोका समारेको एक सय रुपैयाँँ, लोकल मह र घिउ प्रतिमाना छ सय रुपैयाँँ र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको पाँच सय रुपैयाँँ निर्धारण गरिएको गर्बुजाले बताए । गाउँमा उत्पादन हुने र बाहिरबाट आयात गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको पूर्ववडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए । रासस
मौद्रिक नीतिको समीक्षा गर्न बैठक बस्दै राष्ट्र बैंकको बोर्ड
काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दै छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार उक्त बोर्ड बैठक आइतबार कार्यालय समय पश्चात बस्न लागेको हो । बैठकलगत्तै उक्त मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक हुने जनाइएको छ । राष्ट्र बैंकले ष्त साउन ६ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च
पाकिस्तान । ‘स्टेट बैंक अफ पाकिस्तान एसबीपी’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आँकलनमा आधारित भएर यो निर्णय गरिएको हो ।’ डनका अनुसार, यस परिवर्तनसँगै एसबीपी ब्याज दर यस वर्षको लागि कूल ६२५ आधार बिन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र सेप्टेम्बरमा अपरिवर्तित थियो । दक्षिण एशियाली मुलुक अहिले आर्थिक सङ्कटमा परेको र गम्भीर आर्थिक तथा राजनीतिक सङ्कटमा रहेको र वित्तीय नोक्सानीलाई नियन्त्रण गर्नु समयको माग भएको अवस्थामा यो निर्णय लिइएको हो । एसबीपीले मुद्रास्फीति, बढ्दो घरेलु र अन्तर्राष्ट्रिय आपूर्ति समस्याको कारण प्रेरित भइरहेको छ जसले लामो आर्थिक मन्दीको बीचमा मूल्यलाई बढावा दिइरहेको छ । एक्सप्रेस ट्रिब्यूनका अनुसार यी अभावहरूले व्यापक मूल्य र ज्यालामा असर पारिरहेको छ, जसले मध्यम अवधिको वृद्धिलाई क्षति पुर्याउन सक्छ र मुद्रास्फीतिको अनुमानलाई कमजोर पार्न सक्छ । भीषण बाढी र बजेट नियन्त्रण कायम गर्ने प्रयासका बावजुद, राष्ट्र निरन्तर उच्च मुद्रास्फीतिसँग जुधिरहेको छ । उपभोक्ता मूल्य सूचकाङ्क सीपीआईले अक्टोबरमा २६।६ प्रतिशत को वार्षिक वृद्धि रेकर्ड गरेको छ । गत अगष्टमा आएको विनाशकारी बाढीले एक हजार ७०० भन्दा बढी मानिसको ज्यान लिनुका साथै अर्बौं डलरको क्षति पुर्याएकाे थियो । द एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानले आर्थिक वर्ष २०२२ मा करिब ३० अर्ब अमेरिकी डलर रेमिटेन्स प्राप्त गरेको थियो, तर पनि उसले आफ्नो चालू खाता घाटालाई नियन्त्रणमा राख्न सकेन । पाकिस्तानलाई विदेशी दायित्वविरुद्ध भुक्तानी गर्न यस आर्थिक वर्षमा लगभग ३२ अर्ब अमेरिकी डलर आवश्यक छ । विदेशी दायित्वमात्र होइन, बढ्दो मुद्रास्फीतिले पनि स्थानीय जनताका लागि जीवनयापनको खर्च निकै कठिन बनाइरहेको छ ।
सामाजिक सुरक्षा कोषमा जानेलाई यस्ता छन् नयाँ सुविधा
काठमाडाैं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदान कर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् । आईतबार नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा बोल्र्दै कार्यकारी निर्देशकले यस्तो बताए । उनले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको बताए । ‘सामाजिक योगदानमा आधाररित सुरक्षा कोषमा श्रीमानले यागदान गर्दा श्रीमतीले पनि श्रीमान सरह उपचार खर्च पाउने व्यवस्था गरेका छाैं, औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको छ,’ उनले भने । उनले कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारी रहेको बताए । ‘मन्त्रालयले नीति स्वीकृत गरेपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने छन्, कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइरहेकाे छ ।’ काेषकाे अनुसार प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिकहरू सामाजिक सुरक्षा कोषमा जोडिन थालेका छन् । पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ । जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबी लगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।
रुकुमपूर्वमा पहिलो पटक शल्यक्रियामार्फत् शिशुको जन्म
रुकुम । जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशु जन्माएका छन् । शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा पूर्णबहादुर पुनले जानकारी दिए । उनी शल्यक्रियाको डा नारायण बरालको टोलीले गरेको हो । सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताए । ‘आमा र शिशुको स्वास्थ्य सामान्य छ’, उनले भने । विसं २०७४ पुस ७ गते रुकुमकोटस्थित स्वास्थ्य चौकीलाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो । आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा प्रवाह उल्लेख्य हुन नसकेपछि सांसद विकास कोष र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ असारमा शल्यक्रिया भवन निर्माण गरिएको थियो । सिस्ने गाउँपालिकाको ३५ लाख र तत्कालीन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद् विकास कोषको १४ लाख गरेर ४९ लाखको लगानीमा शल्यक्रिया भवन निर्माण गरिएको हो । रासस