विकासन्युज

लकडाउनमा ५० हजारमा सुरु गरेको अचार उद्योगबाट वार्षिक ५० लाख आम्दानी

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेकी छिन् काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी । आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा ५० लाखभन्दा बढी आम्दानी गरेकी छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुमा ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आएकी अधिकारीले कोरोना महामारीको समयमा सुरु गरेकाे अचार उद्योगबाट पर्याप्त आम्दानी गरेकी हुन् । तारकेश्वर उज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिममा सहभागिता भएकी अधिकारीले नगरपालिकाकै कारण अचार बनाउन थालेकी हुन् । अधिकारी अहिले सो महिला समूहको सल्लाहकार छिन् । ‘नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर ग¥यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन ग¥यौँ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,’ उनी भन्छिन् । तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौंको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को काम गर्दै आएको थिइन् । अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा व्यस्त छिन् । उनले अचार उद्योग सञ्चालन गर्न परिवारको समेत राम्रो साथ र सहयोग पाएकी छिन् । विसं २०७६ फागुनदेखि सञ्चालनमा आएको उक्त अचार उद्योगमा पछिल्लो समय छ जनाले रोजगार पाएका छन् । नियमित रुपमा छ जनाले काम गर्दै आए पनि धेरै उत्पादन हुने समयमा कामदारको सङ्ख्या थपघट हुने गरेको उनको भनाइ छ । सुरुको समयमा ५० हजार लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालित छ । मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारी बताउनुहुन्छ । हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन् । माई पिकल हाउसमा उत्पादित अचार हाल काठमाडौं, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ । नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्रि हुने गरेको छ । यस्तै, क्यानडा र अमेरिकामासमेत अचार निर्यात हुँदै आएको सञ्चालक अधिकारीले बताइन् । वैदेशिक रोजगार र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार लैजाने गरेको उनी बताउँछन् । रासस

७ कम्पनीले पाए लघुबीमाको लाइसेन्स, २४ कम्पनी आउट

काठमाडौं । लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि कूल ७ कम्पनीले लाइसेन्स पाएका छन् । नेपाल बीमा प्राधिकरणले आवेदन दिएका ३१ कम्पनीमध्ये ७ वटालाई लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि लाइसेन्स दिएको हो । बाँकी २४ वटा कम्पनीले गरेका आवेदनकाे अब औचित्य नभएको अधिकारीहरुले बताएका छन् । लाइसेन्स पाउनेमा ३ वटा जीवन तर्फका रहेका छन् भने बाँकी ४ वटा निर्जीवन तर्फका लघुबीमा कम्पनी रहेका छन् । आवेदन दिएका १५ वटा जीवन र १६ वटा निर्जीवन लघुबीमामध्ये प्राधिकरणले विभिन्न मूल्याङ्कनको आधारमा ७ वटा कम्पनीलाई छनोट गरेको हो । आवेदन दिएका १५ जीवन लघुबीमामध्ये ३ वटा छनौट भएका छन् । जसमध्ये गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सले जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न छनोट भएका प्राधिकरणले जनाएको छ । जसमध्ये गार्डियन माइक्रोको मुख्य कार्यालय मोरङको विराटनगर (प्रदेश १), क्रेष्टको सुर्खेत वीरेन्द्रनगर (कर्णाली प्रदेश) र लिवर्टीको पोखरा ८ कास्की (गण्डकी प्रदेश) हुने छ । त्यसैगरी निर्जीवन लघुबीमा सञ्चालनको लागि १६ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गरी कूल ४ वटालाई छनोट गरेको छ । त्यस्तै, ट्रष्ट माइक्रो इन्स्योरेन्सको मुख्य कार्यालय लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवल २ मा हुने छ । नेपाल माइक्रो इन्स्यारेन्सको बागमती प्रदेशको चितवनस्थित भरतपुर १ मा, स्टार माइक्रो इन्स्योरेन्सको मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको मूख्य कार्यालय सुदुरपश्चितम प्रदेशको कैलालीस्थित धनगढी ३मा हुने प्राधिकरणले जानकारी गराएको छ । २४ कम्पनी आउट लघुबीमाको लागि लाइसेन्स दिनमध्ये दुई दर्जन अर्थात २४ वटा कम्पनी आउट भएका छन् । जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि आवेदन दिएका स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीको आवेदन रद्ध भएको छ । त्यस्तै, निर्जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि आवेदन दिएका नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, कर्णाली माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रोइन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोजनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल र अभियान लघु बीमा कम्पनी प्राधिकरणको छनोटमा पर्न सकेनन् । सम्बन्धित समाचार लघु बीमाको लाइसेन्स माग गर्दै ३१ कम्पनीको निवेदन, जीवन र निर्जीवन कति ? (सूचीसहित)

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी

कीर्तिपुर । उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो । खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ दशमलव पाँच ओभरमा एक सय रनमा समेटियो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए । कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेङ्नीले १५ रन बनाए । सुदूरपश्चिमका लागि मिलन बोहोराले छ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव तीन ओभरमा अलआउट हुँदै दुई सय १३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुज सिंहले ३७ रन बनाए । नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा हेमन्त धामी र गजेन्द्र बोहोराले समान १९/१९ रन बनाए । दीपक बोहोरा ११ रनमा आउट भए । गण्डकीका लागि कप्तान सुवास भण्डारीले तीन विकेट लिए भने सुदिप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १/१ विकेट लिएका थिए । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ पाउने छन् ।

मन्त्रीलाई हराउने तीन युवा : डा तोसिमा कार्की, शिशिर खनाल र रवि लामिछाने

काठमाडौं । मतदाताको मन कुनबेला बदलिन्छ र त्यसले राजनीतिमा कस्तो फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुन्छ । निर्वाचन अघि सामान्य झलक नदेखिए पनि मतगणनापछि भने नसोचेको परिणाम हात लागेको छ । राजनीतिक दल र तिनका नेताहरुले आफ्नो ठानेका क्षेत्रमा पनि यस पटकको निर्वाचनको परिणाम फरक देखियो । यसकारण मतदाताको स्वभाव र चाहनाको ख्याल गर्ने उम्मेदवार सफल भए भने निर्वाचनलाई परम्परागत रुपमा लिएका उम्मेदवार पराजित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थानमा विजयी भएको छ । लामो समयदेखि नेपाली राजनीतिमा स्थापित कतिपय व्यक्तिलाई सो पार्टीका उम्मेदवारले पराजित गरेका छन् । यस्तो मेसोमा कतिपय बहालवाला मन्त्री पनि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा उम्मेदवार रहेका संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ बाट राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपाएमालेका उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरे । सोही क्षेत्रका अर्का उम्मेदवार नेपाली कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरे । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा जानुभएका विश्वनाथ पौडेल र पूर्वअर्थमन्त्री एमाले उम्मेदवार सुरेन्द्र पाण्डे चितवनको क्षेत्र नं १ बाट स्वतन्त्र पार्टीका हरि ढकालसँँग पराजित भए । काठमाडौं क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीकै गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी भए । यहाँ एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरे । काठमाडौं क्षेत्र नं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पर्यटनमन्त्री श्रेष्ठ पराजित भए । श्रेष्ठले १० हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार एक सय ७९ मत प्राप्त गरे । सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत प्राप्त गरे । मन्त्री श्रेष्ठले चार हजार आठ सय ८१ मत प्राप्त गरे । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिस्पर्धी, कांग्रेस उम्मेदवार राज्यमन्त्री श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे । स्वतन्त्र पार्टीकै सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भइन् । उनले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार पाँच सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार ओनसरी घर्तीले नौ हजार चार सय ५९ मत प्राप्त गरिन् । ललितपुर क्षेत्र नं ३ बाट सोही पार्टीकी तोसिमा कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गरी विजयी भइन् । सो क्षेत्रमा दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत र तेस्रो स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरे ।

विदेशमा रहेका नेपालीलाई आईपीओमा आवेदन दिन रेमिट्यान्स खाताको सीआरएन नम्बर लिन आग्रह

काठमाडौं । रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिनका लागि विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली सिआरएन नम्बर लिनु पर्ने भएको छ । विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि १० प्रतिशत आईपीओ पाउने व्यवस्था गरेसँगै रेमिट्यान्स बचत खाता खोली सिआरएन नम्बर लिन सिडिएस एण्ड क्लियरिङ्गले आग्रह गरेको हो । ‘धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा संगठित संस्थाद्वारा निष्कासित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था छ, नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९’ कात्तिक १७ गतेदेखि लागू भइसकेको छ, आश्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत रेमिट्यान्स बचत खाता खोली सि–आश्वा रजिष्ट्रेशन नम्बर लिन सकिन्छ,’ सिडिएस एण्ड क्लियरिङ्गले जारी गरेको सूचनामा उल्लेख छ । सम्पूर्ण सि–आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सि–आश्वा प्रणालीमा आफ्ना ग्राहकको रेमिट्यान्स बचत खाता तथा सो को लागि प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरि सकिएको बताएको छ । विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याईएको सेयरको खरिदका लागि रेमिट्यान्स बचत खाता उल्लेख गरि दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले यथाशीघ्र सिआरएन नम्बर लिनहुन सिडिएसले आग्रह गरेको हो ।

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

दोहा । शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो । खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि गोल गरेका थिए भने एन्जो फर्नान्डिजले दोस्रो गोल थपेका थिए । मेसीले विश्वकप खेलको पहिलो खेलमा भएको हारले कठिन भएको बताउँदै भने, ‘पहिलो खेलमा हामीलाई घाटा भयो । हामीलाई थाहा थियो कि हामीले आज जित्नै पर्छ, हाम्रो लागि अब बल्ल विश्वकप सुरु हुँदैछ ।’ मेक्सिकोले राम्रो खेलेको कारण गोल गर्न निकै कठिन भएको उनको भनाइ थियो । मेस्सीले गरेको गोलले उनले अर्जेन्टिनाका लागि विश्वकपमा आठ गोल र २१ खेलमा उपस्थिति जनाउँदैस्वर्गीय डिएगो म्याराडोनालाई बराबरी गरेका छन् । अर्जेन्टिनाले म्याराडोनाको मृत्युको दोस्रो वार्षिकी मनाएको एक दिनपछि यो जीत निकालेको हो । सात पटकका बालोन डी’ओर विजेता मेसीबाहेक सबैका लागि यो अवसर प्राप्त भएको जस्तो देखिने खराब र तनावपूर्ण भिडन्तमा यी गोलहरू गुणस्तरका दुई दुर्लभ क्षणहरू थिए । तर अर्जेन्टिनाले नकआउट चरणमा स्थान पक्का गर्न अझै पनि समूह चरणको अन्तिम खेल पोल्याण्डविरुद्ध जित्नैपर्ने हुन्छ । मेसीले भने, ‘हामी अहिले छोड्न सक्दैनौं । अब हरेक खेल फाइनल हो, हामी कुनै गल्ती नगरिकन खेल्नेछौँ ।’ रासस

आइतबार ३२.४३ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी कमाउनेमा लघुवित्त

काठमाडौं । आइतबार सेयर बजार ३२.४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आज सेयर बजार बढेर १९६५.९८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब बढीको कारोबार भएको छ । आज सार्वधिक कमाउने तीन कम्पनीमा सबै वित्तिय संस्थाहरु रहेको छन् जसमा क्रमशस् डिप्रोश लघुवित्त, जिवन विकास लघुवित्त र कुमारी बैंक लिमिटेड रहेको छ । यस्तै, सार्वधिक गुमाउनेमा अधिकांश म्युचल फण्ड रहेका छन् । यस्तै, आज बजारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको सेयर किनबेच भएको छ ।    

श्री इन्भेष्टमेन्ट फाइनान्सका सञ्चालकको हस्ताक्षर अवैधानिक, राष्ट्र बैंकले रोक्यो लाभांश

काठमाडौं । नेपाल राष्ट्र बैंकले श्री इन्भेष्टमेन्ट फाइनान्सको सञ्चालक समितिले हस्ताक्षर गरेको वित्तीय विवरण अमान्य रहेको भन्दै फिर्ता पठाएको छ । कार्यकाल सकिएको सञ्चालक समितिले हस्ताक्षर गरेर एजीएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपछि राष्ट्र बैंकले नियम विपरित भएको भन्दै वित्तीय विवरण नै फिर्ता पठाएको हो । श्री इन्भेष्टमेन्ट फाइनान्सले एजीएम क्लियरेन्सका लागि राष्ट्र बैंक पठाएको गत आर्थिक वर्षको वित्तीय विवरणमा समय सकिसकेको सञ्चालकहरुको हस्ताक्षर भेटेपछि राष्ट्र बैंकले फिर्ता पठाएको हो । यस फाइनान्सले पठाएको वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृति नदिँदा नयाँ सञ्चालक समिति गठन गर्नु पर्ने भएको छ । फाइनान्स कम्पनीको हालको सञ्चालक समितिको समयावधि गत असारमा सकिएको थियो । आगामी वार्षिक साधारण सभाले नयाँ समिति गठन गर्ने भन्दै आफैं समय अवधि थपेको थियो । तर, राष्ट्र बैंकले सञ्चालक समितिको समयावधि आफै बढाउन वा थप गर्न नपाउने भन्दै वित्तीय विवरण नै रोकिदिएको हो । वित्तीय विवरण नै रोकिएपछि संस्थले वितरण गर्ने लाभांश वितरणको विषय पनि दुविधामा परेको छ । राष्ट्र बैंकले वित्तीय विवरण नै स्वीकृत नगरेपछि संस्थाले लाभांश वितरण गर्न पाउँदैन । श्री इन्भेष्टमेन्ट फाइनान्स सूचना अधिकारी दुर्गा लम्सालका अनुसार श्री इन्भेष्टमेन्ट फाइनान्सले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकले हालका सञ्चालकहरुले हस्ताक्षर गरेको वित्तीय विवरण स्वीकृत नगर्ने भएपछि नयाँ सञ्चालक समिति गठन गरेर पुनः वित्तीय विवरण राष्ट्र बैंकमा पठाउने तयारी भइरहेको उनले बताए । ‘सञ्चालक समितिको समयावधि गत असार २० गते नै समाप्त भएको थियो, वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति गठन गर्ने योजना थियो, सञ्चालक समितिको समय अवधि स्वेच्छाले थप गर्न पाउँदैन भनेर राष्ट्र बैंकले वित्तीय विवरण रोकिदियो,’ उनले भने । राष्ट्र बैंकले सञ्चालकहरुको समयावधि आफैं थप्न नपाउने भनेपछि फाइनान्सले विशेष साधारण बोलाएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते विशेष साधारण सभा बोलाएको हो । कम्पनीको सभाले ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने कम्पनीले बताएको छ । कम्पनीले निर्वाचन सम्बन्धि कार्यक्रमको तयारी गर्न निर्वाचन अधिकृत समेत तोकिएको सूचना अधिकारी लम्सालले बताए । ‘नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृति नदिएका कारण विशेष साधारण सभा बोलाउनु पर्ने बाध्यता आइपर्याे, नियामकबाट विशेष सभा गरेर नयाँ सञ्चालकले हस्ताक्षर गरेको आउनु भनेको छ,’ उनले भने, ‘अहिलेको सञ्चालक समिति काम चलाउ मात्रै थियो तर यो बीचमा जति पनि काम भएका छन् त्यसलाई साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।’ निर्वाचन गर्ने भनिए पनि विशेष साधारण सभामा सहमतिमा नै नयाँ सञ्चालक समिति गठन हुन सक्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिएको छैन, आन्तरिक प्रक्रिया पुरा गरेर पठाएको डकुमेन्टहरु अध्ययनको शिलशिलामा छन्, राष्ट्र बैंकले नयाँ सञ्चालक समितिले हस्ताक्षर गरेको वित्तीय विवरण पठाउन भनेको छ,’ उनले भने । एक महिनाको फरकमा पुनः वार्षिक साधारण सभा बोलाउने उनले बताए । शशि राज पाण्डेय अध्यक्ष रहेको सञ्चालक समितिमा दिनेशराज जोशी, महेश प्रसाद अधिकारी, उमेश भगत प्रधानाङ्ग, रामकृष्ण शर्मा वाग्ले र ममता अधिकारी सञ्चालक रहेका छन् । कम्पनीको चुक्ता पूँजी ९५ करोड ८६ लाख रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले समावधि सकिएको सञ्चालक समितिले मनोमानी रुपमा कार्यकाल बढाउन नपाउने बताए । उनका अनुसार अब नयाँ कार्य समितिले हस्ताक्षर गरेको वित्तीय विवरण आए मात्रै सो फाइनान्सको वित्तीय विवरण स्वीकृत हुन सक्नेछ । ‘अहिलेको सञ्चालक समितिको कार्यकाल सकिएकाेले नयाँ समिति आउनु पर्छ, पुरानै सञ्चालकहरुले मिलेर कार्यकाल थप्न पाउँदैनन्, सो समितिले विशेष साधारण सभा बोलाएर सभाले निवार्चित गरेका सञ्चालकहरुको हस्ताक्षरसहितको वित्तीय विवरण आएमात्रै प्रक्रिया अगाडि बढ्छ,’ उनले विकासन्युजसँग भने ।