विकासन्युज

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन । आज भएको दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्र्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल गर्र्दै खेललाई बराबरीमा ल्याए । साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

दोलखामा सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले छ हजार सात सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। दोलखाको प्रदेशसभा (१) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले छ हजार चार सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले पाँच हजार तीन सय १९ मत ल्याएका छन्। प्रदेशसभा (२) मा १७ हजार चार सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले सात हजार नौ सय सात र कांग्रेसका बर्मा लामाले सात हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियोे । दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

मुसीकोटमा उत्पादित किवी कर्णाली वेभरेजले वाइन बनाउन खरिद गर्ने

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन् । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन्। बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् । किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो । उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको हो । आठबीसकोट नगरपालिका–१२ झिनचौरमा रहेको उक्त प्रालि र किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो रु एक सय २५ मा खरिद हुने नगर प्रमुख रवि केसी जानकारी दिएका छन् । उनका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा एक सय ४२ क्विन्टल किवी उत्पादन भएको छ । छ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन् । पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको सङ्ख्या धेरै पुगेको छ । सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा विरतरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए । नगरपालिकामा गत वर्ष मात्र दुई हजार एक सय वटा किवीका बिरुवा रोपिएका थिए । अहिले नगर भरमा करिब एक हजार पाँच सय किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ । ती बोटबाट करिब एक सय ४२ क्विन्टल किवी उत्पादन हुने अनुमानसहित नगरपालिकाको रोहवरमा उक्त प्रालि र किसानबीचमा सहमति भएको हो । त्यस्तै नगरपालिकाले ढुवानीका लागि अनुदान पनि दिने भएको छ । किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने नगर प्रमुख केसी बताउँछन् । अहिलेसम्म किसानले आ–आफैँ किवी बिक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट बिक्री हुन लागेको हो । नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ ।

हेलम्बु र इन्द्रावती गाउँपालिकाले दियो एकल पुरुषलाई भत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९र८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ । हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए। हेलम्बु गाउँपालिकाले एकजनालाई पाँच सय दिने व्यवस्था गरेको छ । विदेश जाने महिला बढे अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका–८ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडीमुलुक गएका छन् । यहाँका स्थानीय लक्ष्मण तामाङका अनुसार प्रायः यहाँका महिला लेवनान गएका छन् । यहाँका १४/१५ वर्षका किशोरी पनि पैसा कमाउन खाडीमुलुक गएका छन् । केही त आधारभूत तहको शिक्षा पूरा गरी विदेश गएको उनले बताए । स्थानीय रुक्मणी गुरुङका अनुसार यहाँका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ । गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ ।

स्याङ्जा–२ संघ र प्रदेश दुवैमा कांग्रेसको अग्रता

स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि छन् । बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार चार सय ८० मत प्राप्त गर्दा अर्यालले २० हजार दुई सय ६७ मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत ल्याएका छन् । हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका १०, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३४ वडाको मगतणना सकिएको छ । अहिले गल्याङ नगरपालिकाको ११ नं वडाको मतगणना जारी रहेको छ । चापाकोट नगरपालिकाका १० वटा वडाको गणना बाँकी रहेको छ । त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिनुभएको छ । गणना सुरु भएदेखि नै पछाडि परेका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिएका हुन्। गल्याङ नगरपालिकाको १० नं वडासम्मको गणना सकिँदा भट्टराई एक सय ४२ मतान्तरसहित अगाडि हुनुहुन्छ । भट्टराईले दश हजार दुई सय ६१ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले दश हजार एक सय १९ मत ल्याएका छन् ।

सरकार र निजी क्षेत्रको एकै स्वर : हामी कमजोर बन्यौं, बजेट कार्यान्वयनमा सहकार्य गरौं

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबारदेखि बजेटवाच कार्यक्रम सुरु गरेको छ । बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद कार्यक्रम भन्दै सिएनआईले ‘बजेट वाच’ संवाद कार्यक्रमको सुरुवात गरेको हो । सरकारले चालू आर्थिक वर्ष २०७९÷८० को बजेटमा गरिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि छलफल गरेर अगाडि बढाउने भन्दै सो कार्यक्रमको सुभारम्भ गरेको हो । बजेटमा उद्योग सम्वन्धि ५५ बुँदामा समावेश कार्यक्रमलाई अघि बढाउन दबाब दिने उद्धेश्यका साथ सिएनआईले सो कार्यक्रमको थालनी गरेको हो । बजेट उल्लेख गरिएका ५५ बुँदालाई ८ वटा क्षेत्रमा विभाजन गरी ६ महिनाभित्र संवाद गरी सक्ने रणनीतिका साथ आज पहिलो श्रृङ्खला सुरु गरेको हो । सिएनआईले ८ वटा क्षेत्र अन्तर्गत नव उद्यम तथा सूचना प्रविधि, पर्यटन, उद्योग, कर प्रणाली, लगानी, उद्योग, उर्जा, पूर्वाधार र कृषिको विषयमा छलफल गर्ने जनाएको छ । यो संवादले बजेट कार्यान्वयनमा सुधार, सरकारी खर्चमा सुधार र आर्थिक विकासलाई गति दिनका लागि कार्यदिशा प्रदान गर्न सकिने परिसंघले बताएको छ । जस अन्तर्गत शुक्रबार नवप्रवद्र्धन र सूचना प्रविधिको विषयमा संवाद भएको छ । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटमा गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले चालू आवको बजेटमा ८ प्रतिशतको निर्यातमा सहुलियत दिने विषयले सिमेन्ट र डण्डी निर्यात सुरु भइसकेकोले यो कार्यक्रमले यस्ता खालका व्यवस्था कार्यान्वयनमा सघाउ पुग्ने बताएका छन् । उनले बजेटमा मात्रै नीतिगत व्यवस्था हुनाले झन समस्या बढ्दै गएको बताउँदै अब यस्ता खालका कार्यक्रमहरुले एक किसिमको दबाब सिर्जना हुने र काम अगाडि बढ्न पनि मद्दत पुग्ने बताए । ‘हुन त बजेटमा प्रत्येक वर्ष नयाँ कार्यक्रमहरु आउँछन् तर त्यसको प्रभावकारी कार्यान्वयनमा खासै चासो देखाएको हामीले महसुसु गर्दैनौं, यसमा उद्योगी व्यवसायीका पनि केही कमि कमजोरी होलान्, सरकारी निकायले चासो नदेखाएको पनि हुन सक्छ, अब हामी सबैले मिलेर काम गर्न सक्नु पर्छ, त्यसैका लागि हामीले बजेट वाच संवादको सुरुवात गरेका छौं,’ उनले कार्यक्रममा भने । सचिवदेखि मुख्यसचिवले जनाए प्रतिबद्धता परिसंघले आयोजना गरेको कार्यक्रममा आधा दर्जन मन्त्रालयका सचिव, विभिन्न विभागका महानिर्देशक तथा सचिव÷उपसचिव र मुख्य सचिव शंकरदास बैरागीको पनि उपस्थिति थियो । उनीहरुले पनि सरकारी स्तरबाट पनि बजेटको प्रभावकारी कार्यान्वयनमा धेरै कमि कमजोरी भएको बताउँदै अब सबैले सहकार्य र समझादारी गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । पूर्व अर्थसचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुकुमार मरासिनीले बजेट कार्यान्वयनको पाटो एकदमै कमजोर रहेको धारणा राखे । उनले बजेट कार्यान्वयनको क्षमता कम भएको बताउँदै पूर्व तयारी नगरेर बजेटमा नीतिगत व्यवस्था गर्दा कार्यान्वयनमा समस्या हुने अनुभव सुनाए । उनले अब लामो बजेट लेखेर समयको बर्बाद गर्नुभन्दा पनि छोटो लेखेर प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने आवश्यकता रहेको सुनाए । ‘चालू आर्थिक वर्षको बजेट लेखनीमा म प्रत्यक्ष संलग्न छु, हामीले बजेट लेख्दा विभिन्न देशको अनुभव र अभ्यास पनि हेर्यौं तर अझै पनि त्यसको कार्यान्वयनमा भने समस्या नै छ,’ यसमा निजी क्षेत्रको पनि साथ आवश्यक छ, सरकारले एक्लै केही पनि गर्न सक्दैन,’ उनले भने । मरासिनीले निजी क्षेत्रले पनि विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । ‘निजी क्षेत्रले आएको मात्रै भाग खोज्नु हुँदैन, विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने । सूचना प्रविधिकोे विषयमा पनि छलफल भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले आफु ७ पटक बजेट लेखनमा संलग्न भएको अनुभव सुनाउँदै बजेटको प्रभावकारी कार्यान्वयनमा सबैको सहकार्य आवश्यक पर्ने बताए । उनका अनुसार सरकारी स्तरबाट पनि धेरै कमि कमजोरीहरु हुने गरेका छन् । ‘हुन त सरकारी तबरबाट पनि धेरै कमि कमजोरीहरु छन्, निजी क्षेत्रले पनि आफ्नो क्षमता बढाउनु पर्ने आवश्यकता छ, अब सबैको सहकार्यले मात्रै बजेटको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने । यस्तै, उनले स्टार्टअप पनि अहिलेको अपरिहार्यता भएको धारणा राखे । उनले सूचना प्रविधिको विकासमा उठेको सवालमा कुरा गर्दै अहिले सञ्चार मन्त्रालयको ९५ प्रतिशत काम डिजिटल्ली हुने गरेको र डिजिटल प्रयोगको कारणले नै कागजातमा हुने खर्चमा ३७ प्रतिशतको गिरावट आएको अनुभव सुनाए । यस्तै, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले बजेट एकदमै सुस्त कार्यान्वयन भइरहेको बताए । उनले अहिले ८ प्रतिशतको हाराहारीमा बजेट खर्च भइरहेको बताउँदै यो एकदमै न्युन रहेको बताए । उनले यस्ता कार्यक्रमहरुले बजेट कार्यान्वयनमा टेवा पुग्ने बताउँदै निजी क्षेत्रले पनि सहकार्य गरेरै अगाडि बढ्नु पर्ने आवश्यकता रहेको धारणा राखे । उनले विदेशी लगानीको विषय उठान गर्दै अन्य देशहरुमा कुल जीडीपीको १२ प्रतिशत विदेशी लगानी भित्रिने भएपनि नेपालमा कुल बजेटको ०.४ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको बताए । उनले विदेशी लगानी भित्र्याउनमा निजी क्षेत्रले पहल गर्नु पर्ने सुझाव दिए । हातेमालो गरेर अगाडि बढौं : मुख्य सचिव बैरागी कार्यक्रममा प्रमुख वक्ताको रुपमा मुख्य सचिव शंकरदास बैरागी रहेका थिए । उनले अब सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राखे । उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि यस्ता किसिमका कार्यक्रमहरुको आवश्यकता रहेको बताउँदै अब यस्ता कार्यधmमहरु समाधानमुखी हुनुपर्ने धारणा राखे । ‘बजेटमा भएका विषय कार्यान्वयन हुन नसक्नु क्षमताको विषय पनि हो, अब हामीले क्षमता बढाउनु पर्छ, सरकार र निजि क्षेत्र दुवैले आफ्नो क्षमता बढाउनु पर्छ, प्रतिवद्धताहरु पुरा गर्नतर्फ लाग्नु पर्छ,’ उनले भने, ‘मिलेर काम गरौं, हातेमालो गरौं ।’ उनले प्रत्येक वर्ष ६० प्रतिशतभन्दा बढी पुँजीगत खर्च नहुने प्रवृति रहेको बताउँदै अब फरक ढंगबाट काम गर्नु पर्ने आवश्यकता रहेको सुनाए । उनले कार्यक्रमा देशको अर्थतन्त्रको विषयमा उठेका सवालहरुको विषयमा पनि धारणा राखेका छन् । ‘अर्थतन्त्र सही ट्रयाकमा छ, नआत्तिऔं, अफ्ठ्यारो अवस्थामा छैन, सतर्क हुनु पर्ने अवस्था चाहिँ छ, उनले भने, ‘उद्योग क्षेत्रको विकास विना अर्थतन्त्र सबल हुन सक्दैन ।’ स्टार्टअप व्यवसायी भन्छन् : सरकारले सहयोग गरेन कार्यक्रममा बोल्ने अधिकांश स्टार्टअप व्यवसाय गर्ने व्यवसायीहरुले सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् स्टार्टअप व्यवसायीलाई परियोजनाका आधारमा ऋण उपलब्ध गराउने, युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेञ्ञज फण्ड स्थापना गरी सहुलियत कर्जा उपलब्ध गराउने, युवाहरुलाई उत्पादनमुलक उद्यममा आकर्षित गर्न तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्ताावको धितोमा सहुलियत ऋण उपलब्ध गराउने लगायतका व्यवस्था गरे पनि ती कुनै कार्यान्वयनमा चासो नदेखाएको गुनासो गरेका हुुन् । इन्फो डेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिव सुब्बाले नेपालमा सूचना प्रविधिमा काम गर्ने जनशक्तिको अभाव भएको बताउँदै यसमा सरकारले कुनै चासो नदेखाएको गुनासो गरे । उनले सूचना प्रविधिमा कोटा प्रणाली बन्द गर्नु पर्ने पनि धारणा राखे । यस्तै, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खनालले स्टार्टअपको विषयमा नीति बनाउनेभन्दा पनि यसको परिभाषाको विषयमा सरकारले स्पष्ट पार्नु पर्ने धारणा राखे । ‘नेपालमा अहिलेसम्म स्टार्टअपलाई राम्रोसँग व्याख्या नै गरिएको छैन, योसँग सम्बन्धित नीति बन्छ भने सर्वप्रथम यसको परिभाषको विषयमा स्पष्ट हुनु पर्छ, स्टार्टअपबारे व्याख्या भएपछि नीति र लगानीका कुरा आउँछन्, सुरुमा हामी यस विषयमा स्पष्ट हुन जरुरी छ,’ उनले भने । कार्यक्रममा खालीसीसीकी सीईओ आयुषी केसी र कोडिङ माउण्टेनका सीईओ श्रीजेश ज्ञवालीले पनि स्टार्टअप गर्ने चाहनेलाई सरकारले उचित वातावरणको सिर्जना नगरेको गुनासो गरे ।

सीईओ बज्राचार्यको व्यवसायीलाई व्यंग्य : प्राधिकरणले ८ अर्ब नाफा गर्दा पनि आन्दोलन गर्दैनन्

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले विद्युत प्राधिकरणले तीन महिनामा कमाएको नाफा देखाउँदै व्यवसायीहरुलाई व्यंग्य गरेका छन् । उनले विद्युत प्राधिकरणले ३ महिनामा साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गर्दा पनि व्यवसायीहरुले महसुल घटाउन आन्दोलन नगरेको भन्दै व्यंग्य गरेका हुन् । ‘बाफ रे, विद्युत् प्रधिकरणले ३ महिनामा साढे ८ अर्ब नाफा गरे, तैपनि ब्यवसायीहरु चुप ! महसुल घटाउ भनी आन्दोलन पनि छैन, गज्जब छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि उद्योगी तथा व्यवसायीहरु आन्दोलित छन् । अर्थतन्त्र संकट अवस्थामा रहेका बेलामा पनि बैंकहरुले ब्याजदर बढाएर नाफा आर्जन गरेको भन्दै व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । तर, नेपाल विद्युत् प्राधिकरणले तीन महिनामा नै अर्बाै रुपैयाँ नाफा कमाउँदा चुप लागेर बसेको भन्दै व्यवसायीहरुलाई व्यंग्य गरेका हुन् ।

भिम रावललाई बालेनको जवाफ : तपाईहरु जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन

काठमाडौं । एमालेका नेता भीम रावलले गरेको प्रश्नमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई अमेरिकी राजदूतले भेट्न आग्रह गरेकाले भेटेको बताएका छन् । एमालेका नेता रावलले गरेको प्रश्नलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको मेयर बालेनले बताएका हुन् । ‘अमेरिकी राजदूतले हामीसँग पटक–पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं,’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा जवाफ दिँदै भनेका छन् । उनले आफूहरु विदेशीसँग सहयोग माग्ने कुनै रहर नराखेको बताए । उनले महानगरलाई आर्थिक सहयोगका लागि आएको प्रस्ताव अस्वीकार गरेको समेत बताए । अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर बताएको उनको भनाई छ । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन, हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ,’ बालेनले भने, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता रावलले बालेनले बिहीबार अमेरिकी राजदूत थम्पसनसँग भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको हो कि होइन भनेर प्रश्न गरेका थिए ।