विकासन्युज

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

एजेन्सी । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताए अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिडडुल गर्दै थिए । त्यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन।

सुदुरपश्चिमेलीको पिडा : भोट हाल्न नेपाल, काम खोज्न भारत

सुदुरपश्चिम । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताए। ‘चुनाव सकिएपछि अहिले भारततर्फ जानेको सङ्ख्या बढी छ, आउने कम छन्’, उनले भने, ‘दैनिक चाररपाँच सय नेपाली नागरिक भारततर्फ गइरहेका छन् ।’ चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । ‘मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन’, अछामका नागेश्र टमाटाले भने, ‘जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ ।’ पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउँछन् । ‘चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे’, उनले भने, ‘चुनावको उत्सवमा मतदान ग¥यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन ।’ स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताए । ‘स्वदेशमै मजदूरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन’, उनले भने, ‘त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।’ संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ । ‘संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो’ उनले भने, ‘तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । ‘अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ’, बझाङका दुर्गा बोहराले भने, ‘नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् । रासस ।

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’ – डा. चापागाईँ

  काठमाडौं । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत त्यहाँका डा. घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन्। नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुगेका चापागाईँ अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत छन् । त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट (मेडिकल सुपरिटेण्डेण्ट) का रुपमा कार्यरत चापागाईँ भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन् । आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये तीन जना हाराहारी नेपाली हुने गरेको उहाँले बताउनुभयो । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् । उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने, ‘कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।’ त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेको उनको भनाइ छ । उनलले भने, ‘आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।’ १२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उनले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन उनले अनुरोध गरे । आफूको मा उपचारका लागि आउने एक तिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा.चापागाईँ बताउँछन् । उनले भने, ‘अभिभावकले बुझ्नुपर्यो, कलेजको शुल्क पनि तिर्नुपर्यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुपर्यो , ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।’ कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उहाँले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए। नेपालमा हुँदा परिवारको रेखदेखबाट समेत नसुध्रिएका बाहिर एक्लो जीवनमा सुध्रिन सम्भव नहुने भएकाले यस्तो गल्ती नगर्न उनले सुझाव दिए । उनीहरूमा निन्द्रा नलाग्ने समस्या बढेसँगै मदिरा र लागुऔषध प्रयोग गर्दा थप जटिलता देखिने गरेको उनी बताए । कतिपय पहिलेदेखि नै अष्ट्रेलिया रहेकामा पनि समस्या आउने गरेको उनले जानकारी दिए । छोराछोरी हुर्किएर परिवार छोडेर काममा लागेपछि बाबुआमामा एक्लोपनासँगै दिक्क लाग्नेजस्ता समस्या लिएर आउने गरेको उनी बताउँछन् । मनोरोगीमध्ये एक प्रतिशत कडाखालको समस्या लिएर आउने गरेको उनको भनाइ छ । पढ्न जाने विद्यार्थीले आफ्नो कलेजका बारेमा राम्ररी बुझेर पूर्वतयारीका साथ जानुपर्ने उनी बताउँछन् । यसरी समस्या देखिनेमा धेरै महिला हुने गरेका छन् । आत्महत्या गर्ने पुरुष बढी हुने भए पनि आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेको उनले जानकारी दिए । अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उनले सिङ्गो देश र अन्य यस्तै देशमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पठाउन सुझाव दिए । रासस ।

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आँफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको बताएका हुन् । प्रधानमन्त्री देउवाले सोहीअनुसार अपाङ्गता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराएका छन्। संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ । यस क्रममा यस वर्ष ३१औँ अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको छ । दिवसका अवसरमा उहाँले स्वदेश तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी संघसंस्था, नागरिक समाजलगायत सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकावालाप्रति शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले अपाङ्गताको गाम्भीर्यको आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सुविधामा क्रमशः वृद्धि गर्दै लगिएको अवगत गराउँदै अपाङ्गता भएका व्यक्तिलाई स्वावलम्बी बनाउन आत्मनिर्भर जीवन जिउन सक्ने परिस्थिति निर्माणका लागि सरकारले रोजगार तथा स्वरोजगारका लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । आगामी दिनमा यी कार्यक्रमलाई अझ विस्तार गर्दै जाने सरकारको नीति छ । ‘मर्यादित, स्वावलम्बी र आत्मनिर्भर जीवनयापनका लागि अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, कानुनी र सधारमा रहेका अवरोधलाई न्यूनीकरण गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि राज्यको सेवा सुविधामा सरल र सहज पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको समेत पक्ष राष्ट्र भइसकेको सन्दर्भमा उक्त महासन्धिमा उल्लेख भएका विषयलाई नेपालको संविधान, सम्बन्धित ऐन, कानुनमा समावेश गरी अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई सम्मानजनक ढङ्गबाट सम्बोधन गर्दै अघि बढिरहेको छ’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । सरकारको यो प्रयासमा निजी क्षेत्र, नागरिक समाज तथा सबै राष्ट्रिय तथा गैरसरकारी संघसंस्थाको सहयोग र सद्भाव आवश्यक रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले कोही पनि पछाडि नपरून् भन्ने दिगो विकासको लक्ष्यअनुसार सरकारले अपाङ्गता भएका व्यक्तिको सहज दैनिक जीवनयापन सुनिश्चित गर्न विकासका सबै आयामहरूलाई अपाङ्गमैत्री बनाउने कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरेका छन् । यस अवसरमा अपाङ्गता भएका व्यक्तिलगायत सबै सीमान्तकृत समुदायका नागरिकको समस्या र आवश्यकतालाई सम्बोधन गर्न सरकारले आफ्नो क्षमताले भ्याएसम्म विशेष पहल गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यस दिवसले अपाङ्गता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार प्रवद्र्धनको क्षेत्रमा अझ बढी एकीकृत र समन्वयात्मक तरिकाले उच्च समर्पणभावका साथ कार्य क्षेत्रमा उत्रन थप प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते

धनुषा । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए। मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरु शुरु हुँदैछन् । विश्वकप फुटबल मध्यपूर्वमा र यस समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो । यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरुको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्ुटराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन । यस पटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ । किनभने फुटबलका महारथी मानिने देशहरु कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् । जसकारण नकआउट चरणमा पुगेका देशहरुको समीकरण पनि हेर्न लायक बनिरहेको छ । आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भएपनि समर्थकहरु विश्वकपका हरेक खेलहरु हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला आजभोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन, विश्वकप हेर्नेहरुले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरु चुक्दैनन् । होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरुको जमात पनि बाक्लै छ । फोटो : न्युज एजेन्सी नेपाल ।

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन । आज भएको दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्र्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल गर्र्दै खेललाई बराबरीमा ल्याए । साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

दोलखामा सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले छ हजार सात सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। दोलखाको प्रदेशसभा (१) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले छ हजार चार सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले पाँच हजार तीन सय १९ मत ल्याएका छन्। प्रदेशसभा (२) मा १७ हजार चार सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले सात हजार नौ सय सात र कांग्रेसका बर्मा लामाले सात हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियोे । दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।