विकासन्युज

आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त, कम्पनी नयाँ उचाई पुग्ने

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रेग्मी नियुक्त भएका छन् । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ । पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् । काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङ्गमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आइएमई पेका अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । स्वागत कार्यक्रममा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलसहित ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

विदेशमा जेल परेका नेपालीलाई धमाधम स्वदेश फर्काउँदै दुर्गा प्रसाईँ

काठमाडौं । २० वर्षदेखि यूएईस्थित् जेलमा रहेका दार्चुलाका अमर बमको रिहाईको लागि समाजसेवी एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पहल थालेका छन् । प्रसाईंले आफूले बमको रिहाईको लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि स्पष्ट पारे । आज (मंगलबार) अमर बम फर्काउ अभियानले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रसाईंले बमको रिहाइको लागि आफूले पहलकदमी थालेको बताएका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएई पुगेका दार्चुलाका अमर बम २० वर्षदेखि बिना कसुर जेलमा बस्न बाध्य भएको अभियानको गुनासो छ । अभियानले सरकारको लापरवाही र लाचारीको कारण बमको स्वदेश फिर्तीमा ढिलाई भएको पनि आरोप लगाएको छ । नेकपा एमालेका नेतासमेत रहेका समाजसेवी प्रसाईंले जेलमा रहेका बमलाई फर्काउन आफुले यूएईका राजकुमारलाई पत्र पठाइसकेको उल्लेख गरे । उनले भने, ‘मैले केही महिनाअघि नै यूएईका राजकुमारलाई पत्र पठाइसकेको छु ।’ उनले आफूले विगत केही वर्षदेखि खाडी मुलुकमा आपत्विपत्मा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको बताउँदै भोलिका दिनमा पनि विदेशमा दुःखमा परेका नेपालीहरुको सहयोगका लागि तयार रहेको विश्वास दिलाए । उनले आफ्नो पहलमा १७ वटा शव नेपाल ल्याएको र दुवईस्थित् जेलमा रहेका ३७ जनाभन्दा बढि नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको पनि सुनाए । उनले नेपाली मिडियाहरुले आफूलाई सिध्याउने खेलमा लागेको गुनासो समेत पोखे । उनले भने, ‘मलाई शव ल्याउने बेला दुर्गा प्रसाईले शवमा सुन तस्करी गर्याे भन्ने आरोप पनि लगाए ।’ आफूले दुःखमा परेका नेपालीहरुको उद्धार सहृदय भावले गरिरहेको पनि पनि उनको भनाई छ । उनले आफ्नो व्यक्तिगत खर्चमा यस्तो कार्यमा वार्षिक १० लाख सहयोग गर्ने गरेको उल्लेख गरे । प्रसाईले आफू सधैं नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्व रहेको उल्लेख गरे । अमर बमको उद्वारलगत्तै ६४ जनाको शव नेपाल ल्याउन आफूहरु छलफलमा रहेको पनि उनले जानकारी दिए । दार्चुलाका अमर बम विवाह गरेको एक महिनामै परिवारको खुसी किन्नका लागि भारत पुगेका थिए । भारत पुगेका उनलाई भारतीय दुई नगारिकले जालझेलमा पारी यूएई पुर्याएका थिए । पीडित अमरले यूएईस्थित जेलबाट आफ्नो उद्वार गर्न सरकारले कुनै प्रकारको पहल नगरेको गुनासो पोखे । सो क्रममा उनले आफूलाई छिटो स्वदेश फर्काउन आग्रह गरे । पत्रकार सम्मेलनमा वैज्ञानिक कपिल पौडेलले पनि आफ्नो धारणा राखेका थिए । बमलाई पाँच वर्षअघि नै राष्ट्रपतिले नेपाल फर्काईएको भनेर भनिएको भएपनि अहिलेसम्म बम जेलमै रहेको कुरा थाहा पाउनु दुःखद् भएको सुनाए । उनले प्रसाईलाई आफूले राष्ट्रवादी व्यक्तित्वको रुपमा चिनेको सुनाए । विदेशमा रहेका नेपालीहरुको धेरै विलौना रहेको र दुःखमा रहेको सुनाए । उनले अब दुर्गा प्रसाईको काम आएको सुनाए । सो क्रममा समाजसेवी जेरी ताम्राकारले पनि बोलेका थिए । उनले आफूहरुले साउदी, मलसेयिालगायतका देशबाट नेपालीहरुको उद्धार गरेको सुनाए । उनले दुर्गा प्रसाईले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेको र विदेशमा निधन भएका नेपालीहरुको शव नेपाल ल्याउने काम गरेको भन्दै प्रशंसा गरे । उनले दुर्गा प्रसाईजस्तो व्यक्ति सरकारको नेतृत्व तहमा पुग्नुपर्ने बताए । पत्रकार सम्मेलन कार्यक्रम भने इशा खड्काले सञ्चालन गरेकी हुन् ।

संसद सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउन सक्दैनौं : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् । संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाई बाहिर आएको हो । संसद सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराए । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उनले आश्वासन थियो । अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए । उनले भने, ‘संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन । अतिरिक्त काम गरेकोमा भत्ता दिऊ, अलिकति बढाऔं भन्यो भने जनता के भएका छन भन्ने आईराखेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरु पनि पूरा हुने हुन । अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ । समितिको तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदहरुलाई सुविधा बढाउनुपर्ने अवस्था छ । यस्तो स्थितिमा हामी अहिले छौं । त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुारहरुलाई पनि जोड दिन सक्छौं ।’ अध्यक्ष तिमिल्सिनाले संसदको कामकारबाहीबारे वस्तुनिष्ठ समिक्षा गर्दैं अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याए । कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए । उनले संसद सचिवालयलाई स्वायत्त निकाय बनाएपनि त्यसले जनताको सार्वभौम निकायको रुपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गरे । पूर्वसभामुख रानाभाटले भने, ‘संसद जहिले पनि कार्यकारिणी र कर्मचारीतन्त्रबाट डोमिनेट हुनुपर्ने अवस्थाबाट प्रजातन्त्रले अग्रगामी स्वरुप लिन सक्दैन । र, आफ्नो उद्देश्य हासिल गर्न सक्दैन भनेर हामीले छलफल सुरु गर्यौं । तितो अनुभवहरु छन । समितिमा यसलाई स्वायत्त निकाय बनाउनु पर्यो भनेर छलफल गर्दा मन्त्रीहरुसँग भएका तिता बहसहरु भएको थियो । त्यसबाट यसलाई स्वायत्त निकायको रुपमा विकास गर्न सकियो । यसमा मेरो पनि योगदान भएकोले गौरवको अनुभूति गर्दछु । यदि संसद कमजोर भईदियो भने मुलुक कमजोर भएर जान्छ । मलाई अन्यथा नलिनुहोला । २०४८ सालदेखि अहिलेसम्मको अनुभव हेर्दा हामी अझै परिपक्व प्रजातन्त्र हुन सकेका छैनौं । संसद कमजोर छ ।’ पूर्वसभामुख रानाभाटले संसदलाई कमजोर हुन नदिए मात्रै मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराए ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको जानकारी दिए । ‘दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा केहीबेर अघि महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।’ प्रहरी निरीक्षक गिरीले भने, ‘प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन पुगेको खबर छ, अहिले शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।’ प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

निर्माण सुरु भएको छ वर्षपछि थली खण्डमा सडक कालोपत्र हुने

काठमाडौं । निर्माण सुरु भएको छ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरु खण्डमा सडक निर्माण भइसकेपछि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासी घर र पसलमा धुलो उडेर तथा बर्षामा सडक प्रयोगकर्ता बर्षामा खाल्डै खाल्डाका कारण हैरान भएका थिए । सो खण्डमा आवश्यक तयारीका काम भइसकेकाले अब कालोपत्र गरिने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । गतवर्ष त्यहाँका स्थानीयवासीले चौडाइ बढाएर मात्रै कालोपत्र गर्न भनेकाले त्यतिबेला नभएर अहिले गरिएको उनले बताए । उनले भने, ‘सडकको केही चौडाइ बढेपछि अहिले झण्डै १४ मिटर चौडा हुने गरी चार लेनको सडक निर्माण गरिएको छ ।’ चावहिल साँखु सडकमा अधिकांश सडक २२ मिटरभन्दा कम चौडाइमा कालोपत्र गरिएको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । जग्गा जति उपलब्ध भयो त्यसैका आधारमा कतै फराकिलो त कतै साँघुरोमै कालोपत्र गरिएको छ । झण्डै १२ किमी लम्बाइको सो सडकको चौडाइमा एकरुपता नभएको उनले बताए । उनले भने, ‘कतै २२ मिटर नै पुगेको पनि छ कतैकतै २०, कतै ११ मिटर चौडाइ छ ।’ पूरै सडकमा अधिकांश ठाउँमा छेउमा ढल राखिएको प्रवक्ता जोशीले बताए । चौडाइ पाँचसात मिटर भएका ठाउँमा दुईतिर ढल हाल्न नसकिने हुँदा एकातर्फबाट मात्रै ढल हालिएको छ भने अधिकांश स्थानमा दुबैतर्फबाट ढल हालिएको छ । तिवारी टोलमा मात्रै एकातिरबाट मात्रै ढल छ भने थलीमा अहिलेका लागि एकातर्फबाट मात्रै ढल हालिएको उनले बताए । उनले भने, ‘पछि दुबैतिरबाट हालिने गरी योजना बनाइएको छ ।’ जग्गा उपलब्ध नहुँदा लामो समयसम्म सम्पन्न हुन नसकेको सडक योजनाका रुपमा चावहिल–साँखु सडक रहेको छ । यहाँ पटक–पटक पहल गर्दा पनि जग्गा उपलब्ध भएको थिएन भने कतै प्राप्त जग्गामासमेत पछि स्थानीयवासीले काम गर्न नदिएको आयोजनाले जनाएको छ । सलम्बुटारमा सडक निर्माणका लागि तयारी गर्दा पूरै मापदण्डअनुसार चौडाइमा नै दुबैतर्फ ढल हालेर पर्खाल लगाइएको थियो । सर्वोच्चले अदालतको आदेशपछि व्यक्तिगत जग्गा लिन नसकिएकाले कम चौडाइमा कालोपत्र गरिएको उनले बताए । उनले भने, ‘बीचमा पुरानो सडकमा मात्रै कालोपत्र गरिएको छ । पर्खाल लगाइएको र ढल बनाइएको सडक बाहिर परेको छ ।’ यहाँ तीन खोलामा पुल निर्माण गरिने आयोजनाले जनाएको छ । पहिले दुई लेन रहेको सडकलाई चार लेन बनाउनका लागि हाल भइरहेको पुलभन्दा दायाँबायाँ बनाउन लागिएको हो । चावहिल–साँखु सडक कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण अवरुद्ध बनेको थियो । आयोजनाले सम्बन्धित नगरपालिका र वडासँगको समन्वयमा नै ती समस्या हल गरेर काम अघि बढाएको थियो । आयोजनाले पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायत संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता गरेपनि सोअनुसार काम हुनसकेको छैन । सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम सुरु भएको थियो । मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पुर्याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती संरचना हटाएर निर्माणस्थल खाली गराएर काम अघि बढाएको छ । सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए । सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक–पटक अनुगमन गरिसकेका छन् । पछिल्लो पटक नवनिर्वाचित सांसद सोबिता गौतमले पनि आयोजना र स्थानीयबासीसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेका छन् । १० सडक विस्तार सुरु भएकामा कतिपय सम्पन्न भएका छन् भने कति अन्तिम चरणमा छन् । काठमाडौँका कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर नगरपालिकासँगै सिन्धुपाल्चोकका विभिन्न पालिकाका नागरिक यही सडक हुँदै आवतजावत गर्दै आएका छन् । रासस

दमक अस्पतालको प्रयोगशाला अवरुद्ध

दमक । दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । प्रयोगशालामा उपलब्ध रगत परीक्षणमा प्रयोग हुने एउटा उपकरणमा खराबी आएपछि यही मङ्सिर २२ देखि अस्पतालबाट नियमित रुपमा उपलब्ध हुने प्रयोगशालाको काम अबरुद्ध हुँदै आएको हो । नियमित सेवा उपलब्ध गराउन नसक्दा रक्त परीक्षणका लागि सेवा लिने आउने दैनिक तीन सयदेखि चार सय बिरामी मर्कामा परेका छन् ।अस्पतालका ल्याव टेक्निसियन निरीक्षक लोकनाथ पौडेलले उपकरणमा समस्या देखिएपछि काठमाडौँबाट प्राविधिक इन्जिनियर बोलाएर मर्मत गरिए पनि पूर्णरुपमा तयार नहुँदा समस्या देखिएको बताए । ‘मर्मतको काम भइरहेकाले अब एक–दुई दिनभित्रमै सेवा उपलब्ध हुनेछ’, उनले भने । चाप थेग्न थप उपकरण आवश्यक पौडेलका अनुसार ल्यावमा दैनिक तीन सयदेखि चार सयसम्म रगतको नमुना परीक्षण गर्नुपर्छ । ल्यावमा एक पटकमा ४० नमुना परीक्षण गर्न सकिन्छ भने परीक्षणका लागि दुई घण्टा लाग्छ । उनले नमुना परीक्षण गर्नेको सङ्ख्या बढेकाले उपकरणको सङ्ख्या बढाएर तीनवटासम्म पुर्याउन सके मात्रै चाप व्यवस्थापन गर्न सकिने बताए । बनेन सञ्चालक समिति अस्पताल रेखदेख तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति नबन्दा काम गर्न समस्या भएको कार्यपालिकाका एक सदस्यले बताए । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना बित्नै लाग्दासमेत समिति गठन हुन नसकेको हो । कार्यपालिका बैठकमा नगरप्रमुखले प्रस्ताव ल्याउने अभ्यास रहे पनि नगरप्रमुखले हालसम्म अस्पताल सञ्चालक समिति गठनको प्रस्ताव नल्याएको ती सदस्यको दाबी छ । रासस

मेडिकल अन्डर राइटिंगका लागि रिलायन्स लाइफले गर्यो सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ । कम्पनीले धनगढीस्थित केजी अस्पताल, अत्तरियास्थित अत्तरिया अस्पताल, महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिंगको लागि सम्झौता गरिएको हो । कम्पनीका ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेक-अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ । उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल मेनेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मोरङमा ‘केज कल्चर’ले बढायो माछापालनको आम्दानी

मोरङ । मोरङ पथरी शनिश्चरे नगरपालिका हसन्दहका सूर्यबहादुर थापाको परिवारले माछापालनमा ‘केज कल्चर’ अपनाएपछि आम्दानी पनि बढाउन सफल भएका छन् । उमेरले ८२ वर्ष टेक्नुभएका थापाले माछापालनका लागि चार बिघा १० कठ्ठा जग्गामा ११ वटा पोखरी निर्माण गरेका छन् । विसं २०२८ मा ८२ बिघा क्षेत्रफलमा धानखेती सुरु गरी व्यावसायिक कृषिखेतीमा आबद्ध भएका थापाले माछापालनमा ‘आधुनिक प्रविधि’भित्रिएसँगै आम्दानी पनि बढेको सुनाए । पाँच दशकअघि धानखेतीमार्फत् व्यावसायिक कृषिखेतीमा लागेको उनको परिवार हाल सूर्य एग्रिकल्चर फार्म कम्पनी स्थापना गरी धानसँगै, मकै तथा तरकारी खेती गर्दै आएको छ । साथै बाख्रा, गाई र माछापालनमासमेत होमिएको छ । जसलाई हाल उनका छोरा नन्दन थापाले सम्हालिरहेका छन् । ‘कृषिमा प्रविधिको प्रयोग बढेपछि खेतीमा पनि विविधता ल्याएका हौँ’, नन्दनले भने, ‘यद्यपि रासायनिक मल र बिउ नपाउँदा भने बेलाबेलामा समस्या हुने गरेको छ ।’ यस क्षेत्रमा ‘केज कल्चर’ माछापालनको आधुनिक प्रविधि सुरुवात भएपछि माछापालनबाट हुने आम्दानी बढेको उनको भनाइ छ । ‘माछापालनमा केज कल्चर भित्रिएपछि यसबाट हुने आम्दानी बढेको छ’, उनले भने, ‘यो प्रविधि अपनाएपछि जति खेर पनि माछा उपलब्ध गराउन सकिन्छ ।’ केज कल्चर एउटै पोखरीमा फरक–फरक जातिको माछा हुर्काउन सकिने प्रविधि हो । माछाका सुकुटी बनाउन ‘सोलार ड्रायर’ समेत राखेका छन् भने थापाले माछापालनका लागि प्रदेश सरकारबाट दुई लाख रुपैयाँ अनुदान पाइसकेका छन् । कृषि आधुनिकिकरणको बाटोमा भए पनि चर्को विद्युत्को महशुल, रासायनिक मल र खेतीका लागि विउ अभावलका कारण किसानहरु मर्कामा पर्ने गरेको उनको भनाइ छ । ‘सिँचाइका लागि प्रयोग हुने विजुलीमा सहुलियत छैन’, उनले भने, ‘कृषिका लागि प्रयोग हुने विद्युत् महशुल, समयमै विउ र रासायनिक मल नपाउँदा किसानको लागत बढेको छ ।’ चार जना परिवारलाई जागिर दिएका थापाले कोरोना महामारीमा भएको लकडाउनमा एक लाख ५० हजार रुपैयाँको गोलभेडा बिक्री गरेका थिए ।