विकासन्युज

चारतारे होटलको ‘किचन’ सम्हाल्दै इटहरीकी भोजकुमारी शाह

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गरिरहेकी छिन् । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चोकमा जन्मिएकी कार्यकारी सेफ्स भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौंको किचनको नेतृत्व सम्हालेकी हुन् । उनी रमदाको कन्टिनेन्टल सेफ्स हुन् । विसं २०४३ मा बुबा विश्वनाथ शाह र आमा शान्तिदेवी शाहको ज्येष्ठ सुपुत्रीका रूपमा जन्मिएकी शाहले स्कूल शिक्षा सुनसरीस्थित पाथिभरा इङ्लिस बोर्डिङ स्कूलबाट पूरा गरिन् । आफ्नो परिवार व्यापार–व्यवसायमा आबद्ध भए पनि उनी भने सेफ्स पेशामा आबद्ध भइन् । गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कूल अफ बिजनेश म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेकी शाहले सन् २००६ देखि सेफ्स पेशा सुरु गरेकी हुन् । ‘मलाई बुबाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो’, उनले भनिन् । आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको सङ्ख्या एकदमै कम भएको उनको भनाइ छ । शाहले सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा सेफ्ससम्बन्धी इन्टर्नसीप गर्नुभएको हो । इन्टर्नसीपसँगै द पार्क होटल बिशाखापट्टनम भारत, नोभोटेल होटल हैदराबाद भारत, अमनबाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उनीसँग छ । सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने शाहले कार्यकारी सेफ्सको रूपमा नै काम गरेकी थिइन् । ‘अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्समात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेको हुँ, म मेरो पेशा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ्स हुँ भन्दा गर्वको अनुभूति हुन्छ’, उनले भनिन् । कोरोनाको समयसँगै काठमाडौं महानगरपालिका–१६ ठमेलमा दुई अर्ब ५० करोड लगानीमा स्थापना भएको रमदामा हाल ९० कोठा रहेका छन् । नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन् । होटलका महाप्रबन्धक महेश फुँयाल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउँछ्न् । “एउटा रेष्टुराँमार्फत स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेसियन र इण्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ”, उनी भन्छन् । नेपाली सेफ्सहरुको छाता संस्था सेफ्स एशोसियशन अफ नेपालमा हाल एक हजार पाँच सय सेफ्स आबद्ध छन् । विसं २०५३ मा स्थापना भएको एशोसियशनले नेपाली सेफ्सको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ । एशोसियशनका अध्यक्ष श्यामबहादुर लामा सेफ्समा आबद्ध एक हजार पाँच सय सेफ्समध्ये जम्मा १५ जनामात्र महिला सेफ्स आबद्ध भएको बताउँछन् । महिला सेफ्स एशोसियशनमा आवद्ध कुल सेफ्स सङ्ख्याको एक प्रतिशतमात्र हो । ‘एशोशियसनमा आबद्ध महिला सेफ्स नेपाली रेष्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ्स अहिलेसम्म कोही महिला सेफ्स भएका छैनन्’, उनी भन्छिन् । ग्लोबल नेप्लीज सेफ्स फेडेरेशनका अध्यक्ष एवं वरिष्ठ सेफ्स लक्ष्मणप्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ्स नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफ्सका लागि गर्वको कुरा भएको बताउँछन् । आगामी दिनमा महिलालाई सेफ्समा अगाडि बढाउन सेफ्ससम्बन्धी संस्थाले काम गर्नुपर्ने उनको भनाइ छ । होटल एशोसियशन अफ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफ्सको सङ्ख्या एकदमै न्यून रहेको बताउँछन् । ‘नेपाली होटलमा विदेशी महिला सेफ्सले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ्स बनेको पाइँदैन’, उनी भन्छिन् । रासस

नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई ब्रुमर प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले ब्रुमर प्रदान गरेका थिए । कार्यक्रममा प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एस.बी.आई. भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, नयाँ व्यवसाय सल्लाहकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्याल साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीहरुको उपस्थितीमा कोषलाई उक्त ब्रुमर हस्तान्तरण गरेको बैंकले जनाएको छ । साथै पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डांडामा बैंकका अध्यक्ष जयती बन्सलले बृक्षारोपण गरेकी थिइन् । यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

ललितपुर महानगरले हस्तकला क्षेत्रमा छलाङ मार्ने मेयर महर्जनकाे दाबी

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले हस्तकला क्षेत्रमा छलाङ मार्ने योजना राखेर अगाडि बढेको बताएका छन् । बुधबार नेपाल हस्तकला महासंघको स्वर्ण वर्षको समापन तथा १०औं हस्तकला दिवसको शुभारम्भ समारोह कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् । ललितपुर क्षेत्रमा उत्पादित हस्तकलाका सामानहरू राख्ने कोसेली घर पाटन ढोकामा स्थापना गरेको पनि महर्जनले बताए । महानगरपालिका विश्वको ३५ औं हस्तकला सहर हो । महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेकाे छ । सदस्यता प्राप्त गरेपछि हस्तकलामा राम्रो काम गर्ने सोचमा राखेको तर सदस्यता प्राप्त गरे पनि कोभिड–१९ का कारण राम्रो काम गर्न नसकेको महर्जनले बताए । अब भने हस्तकला क्षेत्रमा महानगरको छलाङ मार्ने याेजना रहेकाे महर्जन दाबीको छ । ‘हामीसँग हस्तकलाका सामान उत्पादन गर्न सक्ने अनुभव छैन, एकादुईसँग राम्रो अनुभव छ, तर त्यसले पुग्दैन, हामी हस्तकलाकाे कार्यलाई अझ चुस्तदुरुस्त बनाउन हस्तकला संघसँग सहकार्य गरेर अगाडी बढ्दैछौं,’ उनले भने । मेयर महर्जनका अनुसार माघको पहिलो हप्ता नै कोसेली घरकाे उद्घाटन गर्ने तयारी छ । महानगर भित्र पर्यटकको बसाइ छोटिएको कारण हस्तकलाका सामानले बजार नपाएकाे उनले बताए । पाटनमा भिजिट गर्न आउने पर्यटकहरूले हस्तकलाका सामान खरिद गर्न नपाइएको गुनासोहरू आइरहेको पनि महर्जनले बताए । सोही कुरालाई सम्बोधन गरेर महानगरले इभी बस सञ्चालन गर्ने  तयारी गरिरहेको छ । इभी बस महानगर भित्र सञ्चालन गर्ने योजना सफल भने भइसकेको छैन । तर, अब चाँडै नै इभी बस महानगर भित्र सञ्चालन गर्ने तयारी रहेको पनि महर्जनले बताए ।

नेपालको पर्यटनकाबारे अस्ट्रियाका उच्च पदाधिकारीसँग छलफल

काठमाडौं । अस्ट्रियन दूतावास, नयाँ दिल्ली भारतबाट नेपाल आएको राजदूत सहितको उच्च स्तरिय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ । सो अवसरमा दुवै पक्षबीच संकट व्यवस्थापनका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले अस्ट्रियन राजदूत श्रीमती विजर क्याथरिना सहित अस्ट्रियाका उच्चस्तरीय प्रतिनिधिहरूका सदस्यहरुलाई स्वागत गर्दै नेपालको पर्यटन र संकटकालीन अवस्थामा नेपालले अबलम्बन गरेका नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । ‘नेपाल आउने पर्यटकलाई कुनै पनि समस्या नपरोस र परेको खण्डमा त्यसलाई सजह ढंगले समाधान गर्ने सकियोस भनेर बोर्डले नेपाल सरकारका विभिन्न निकाय तथा पर्यटनसंग सम्बन्धित संस्थाहरुसंगको समन्वय र सहकार्यमा संकट व्यवस्थापनको कार्य गरिरहेको छ’, उनले भने । यस्तै उनले नेपाल र अस्ट्रियाको प्राकृतिक विविधतामा समानता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले गरेको असरका विषयमा साझा धारणा र वकालत आवश्यक रहेको समेत बताए । अस्ट्रियन राजदूत विजर क्याथरिनाले पर्यटनमा संकट व्यवस्थापन महत्वपूर्ण कार्य भएको बताउँदै यस्ता विषयमा दुवै देशले अबलम्बन गरेका अनुभवहरु आदान प्रदान गर्न आवश्यक रहको धारणा राखेकी थिइन् । पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाहले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको बताउँदै नेपाल आउने पर्यटकका लागि सूचना लिन र पाउन सहज होस भन्ने ढंगबाट बोर्डले विभिन्न कार्यहरु अगाडि बढाइरहको जानकारी दिए । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालको पर्यटन सम्भावना र संकट व्यवस्थापनका लागि नेपालले चालेका कदमका बारेमा जानकाररुी दिँदै नेपालले गरेका तीनै कार्यबाट बोर्डले अन्तरराष्ट्रिय वान्डरलस्ट अर्वाड तथा प्यासिफिक एशिया ट्रावल एशोसिएन (पाटा)बाट प्रतिष्ठित ‘पाटा गोल्ड अवार्ड’ प्राप्त गरेको बताए । निर्देशक थापाले संकट व्यवस्थापनका लागि बोर्डको कार्यालयमा टुरिजम क्राइसिस म्यानेजमेन्ट सेल नै रहको जानकारी दिँदै कोभिड १९ को समयमा पनि बोर्डले विभिन्न देशका नागरिकहरुको उद्धारमा उल्लेखनीय कार्य गरेको बताए । कार्यक्रममा राजदूत क्याथरिना सहित नेपालका लागि अष्ट्रियाका मानार्थ वाणिज्य दूत राजेश बाबु श्रेष्ठ, अस्ट्रियन सरकारका विभिन्न उच्चअधिकारी,बोर्डका वरिष्ठ निर्देशक,निर्देशक, पर्यटक प्रहरीहरुको सहभागिता रहेको थियो ।

बहुउपयोगी, बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक कार्गो भ्यान काठमाडौंमा

काठमाडौं । बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ । केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने घोषणा गरेको थियो । कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्याट्री क्षमता ५०.२३ किलोवाट रहेको छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म रहेको छ । यसको ८५ के इन्जिन क्षमता रहेको छ भने २९० एनएम टर्क रहेको छ । ७ क्युविक मिटर स्पेस रहेका यी भ्यानले ११५० केजी भार बहन क्षमता राख्छन्। डिपार्टमेन्ट स्टोर, इकमर्स, फार्मेसी, हार्डवेयर, एफएमसीजी कार्गो कुरियर, दुरसंचार प्रदायक जस्ता बिभिन्न व्यबसायलाइ बहुउपयोगी हुने कार्गो भ्यान काठमाडौं आएको कम्पनीले जनाएको छ। एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफूहरु सम्पूर्ण इलेक्ट्रिक हुने यात्रामा रहेको जनाएको छ । केहि दिन भित्रै फोटोनका प्यासेन्जर भ्यान पनि आइपुग्ने, जुन स्कुल, होटल, रुट, अफिस लगायतका लागि बहुउपयोगी हुने कम्पनीले जनाएको छ । लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरुभन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ । आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडी बाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोन को यात्रा बिजुली गाडीतिर बडी केन्द्रित हुनु सकारात्मक छ । फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याएको हो । वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकलप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गइरहेको छ । बिजुली आपूर्ति सहज हुँदा डिजेलभन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

एनआईबिएल एस क्यापिटलले माग्यो कर्मचारी

काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । क्यापिटलले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

राष्ट्रपति भण्डारीले अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगरेको आन्दोलन गर्ने चेतावनी दिइएको छ । बुधबार संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरेर नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्च र बहुजन शक्ति पार्टीले सो चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै बहुमत शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिसेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए । उनले सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको भन्दै राष्ट्रपति भण्डारीले जारी गर्नेपर्ने धारणा राखे । पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिमात्रै नपुग्ने भन्दै विना कारण जेल, कारागारमा राखिएकाहरुलाई क्षतिपूर्तीसहित आममाफी दिन माग समेत गरे । पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनु पर्ने अवस्था आउने चेतावनी समेत दिए । उनले भण्डारीलाई राष्ट्रपति बनाउन आफूहरुले सहयोग गरेको समेत दाबी गरे । त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैजुले जेलसजाय भोगिरहेकाहरुलाई जेलबाट रिहाइ गर्नुपर्ने भन्दै एउटा जेलमा रहेको व्यक्तिले गर्दा परिवार बर्बाद हुने अवस्थमा रहेको समेत बताए । सैजुले अध्यादेश रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे । खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले राष्ट्रपतिले अध्यादेश तुरुन्त जारी गर्नुपर्ने धारणा राखे । अध्यादेश रोक्न खोज्नु भनेको देशमा द्वन्द्व बढाउने कुरा भएको बताए । उनले कारागारमा रहेका रेशम चौधरीलाई जनताले अनुमोदन गरी सकेको बताउँदै अध्यादेश जारी गरेर रिहाई गरिनुपर्ने बताए । कार्यक्रममा बक्ताहरुले शान्तिपूर्ण राजनीतिमा आउन चाहने शक्तिहरुलाई मुलधारमा ल्याउनु पर्ने आजको आवश्यकता भएको बताउँदै अध्यादेश अविलम्व जारी गरिनुपर्ने बताएका थिए ।

चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना ७६।०४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सो प्रावधानबमोजिम प्रतिनिधिसभातर्फ एक हजार नौ सय ६१ जना तथा प्रदेशसभातर्फ दुई हजार तीन सय २४ जना गरी चार हजार दुई सय ८५ उम्मेदवारको धरौटी रकम जफत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गरेको हो । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । सो प्रावधानबमोजिम प्रतिनिधिसभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० दल र प्रदेशसभातर्फ प्रदेश नं १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ । केन्द्रमा सात दलले पाए राष्ट्रिय दलको मान्यता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्थाबमोजिम यस निर्वाचनबाट सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रदेश नं १ मा छ, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा छ राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ । आयोगले प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् । त्यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार पाँच सय ७९, पुरुष ९१ लाख ४० हजार आठ सय छ र अन्य एक सय ८५ गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए । देशभरिका सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार आठ सय ९२ मतदान स्थलका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । त्यसैगरी अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुरुप एक सय ४१ अस्थायी मतदान स्थलको समेत व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।