विकासन्युज

व्यवसायीहरुले ब्याज बढी दिए भने बैंकहरु जति पनि ऋण दिन तयार छन् : बैंकर न्यौपानेसँगको कुराकानी

विवेक बन्दु न्यौपाने मेगा बैंक प्रदेश १ का प्रमुख र नेपाल बैंकर्स संघका प्रदेश १ अध्यक्ष हुन् । वि.स २०६२ सालदेखि बैंकिङ्ग करियर सुरु गरेका न्यौपानेले बैंकिङ जबको सुरुवात नेपाल बैंकबाट गरेका हुन् । प्रदेश नम्बर १ उद्योगी व्यवसायीहरुको बाहुल्यता भएको प्रदेश हो । बैंकहरुको ध्यान पनि तिनै उद्योग व्यवसायीसँगै रहेर बिजनेस गर्नु पर्ने हुन्छ । प्रदेश प्रमुखको हैसियतमा काम गर्दा भोग्नु परेका समस्या र अनुभवहरु, प्रदेश १ मा बैंकिङ अभ्यास र दुरदराजमा काम गर्दाका चुनौतिहरु लगायतको विषयमा उनै न्यौपानेसँग विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् । लगानीयोग्य पुँजीको अभावका कारण अहिले बैंकिङ्ग इण्ड्रस्टी शिथिल छ, प्रदेश नम्बर १ मा के-कसरी काम गरिरहनु भएको छ ? प्रदेश नम्बर १ मा पनि लोनेबल फण्डको अभाव छ । प्रदेश १ मा पनि तरलताको प्रभाव परेको छ । विशेषगरी निक्षेपको ब्याजदर नघट्दा बजारमा उच्च प्रतिस्पर्धा छ । निक्षेपकर्ताको बार्गेनिङ पावर बढेको छ । निक्षेपको ब्याजदर बढेको हुँदा कर्जाको रेट घटाउन सकिएको छैन । प्रदेश १ मा कर्जाको माग कम छ । ‘एक्जिस्टिङ’ ग्राहकहरुलाई कर्जा चाहिने आफ्नो ठाउँमा छँदै छ । तर, नयाँ कर्जाको माग भने एकदमै न्यून छ । नयाँ ऋणीहरु जसलाई नयाँ ऋण र नयाँ काम गर्नेहरु थोरै छन् । बैंकहरु नयाँ ऋणी आए वा कर्जाको माग भयो भने ऋण दिन तयार छन् ? बैंकहरु कर्जा दिन तयार छन् । ब्याजदर मात्रै बढी हो । किनभने इण्डष्ट्रि एभरेज बेसरेट नै १० प्लसको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकको नियम अनुसार ३/४ प्रतिशत प्रिमियम जोड्दा पनि १४ प्रतिशतमा यदि भायबल प्राजेक्ट आउँछ र १४/१५ प्रतिशत ब्याजदर तिरेर विजनेशलाई सस्टेन गर्न सक्छ भन्ने बैंकलाई विश्वास लाग्यो भने आजको दिनमा कर्जा दिन तयार छन् । नयाँ ऋणीहरु र व्यवसायीहरुले त ऋण नै पाएनौं भनेर गुनासो गरिरहन्छन् नी ? ठूला ऋणीहरुलाई समस्या होला । तर, साना ऋणीहरु जसले २/४ करोड ऋण चहियो भन्छ भने उनीहरुलाई ऋण दिन कुनै समस्या छैन । ब्याजदर महँगो छ । महँगो ब्याजदरमा पैसा उठाउन नचाहेको हुँदा समस्या भएको हुन सक्छ । तर, तरलताको ठूलो समस्या भएर ऋण नै दिन नसक्ने अवस्था भने छैन । ग्राहकहरुलाई कर्जा दिएन भन्दा पनि माग नै कम छ । अधिकांश बैंकहरुले रिकोभरिमा जोड दिएकाले पनि समस्या आएको हुन सक्छ । कोभिडदेखिको असर अहिले देखिँदैछ । विशेषगरी रिकोभरिको प्रभाव परेको छ । ऋणलाई सही ढंगले विजनेशमा प्रयोग गरेर क्यास फ्लो जेनेरेट हुन सक्यो भने विजनेशले प्रोग्रेस गर्न सक्छ भन्ने विश्वास भयो भने आजको दिनमा पनि कर्जा दिन बैंकलाई समस्या छैन । यो समस्याका बीचमा काम गर्न कत्तिको चुनौति छ ?  जुन उद्देश्यको लागि पैसा लगिएको हुन्छ, त्यो उद्देश्यमा नै त्यो पैसा प्रयोग भयो भने चुनौति केही पनि छैन । त्यसले आकर्षित पनि हुन्छ । तर, उद्देश्य एउटा लिएर लगानी अर्कै ठाउँमा गर्याे भने चुनौति हुन्छ । एकचोटि क्यास फ्लो भएर त्यो पैसा बैंकमा नआइकन अन्त डाइभर्ट गर्ने व्यापारीहरुको प्रवृत्ति चाँहि धेरै ठाउँमा देखिन्छ । त्यसले गर्दा चुनौति छ । प्रदेश १ उद्योगी व्यवसायीहरु भएको क्षेत्र पनि हो, त्यहाँका उद्योगी व्यवसायीहरु पछिल्लो समय आन्दोलित छन्, उहाँहरुसँग कसरी सहकार्य गरिरहनु भएको छ ? ओभरल इण्डष्ट्रिमा निक्षेपको ब्याजदर घटायो भने कर्जाको ब्याजदर घट्ने हो । बेलाबेला व्यपारीहरुसँग छलफल, कुराकानी भइरहेको छ । उहाँहरुलाई वित्तीय साक्षरताको खाँचो छ । राष्ट्र बैंकले अर्थतन्त्र जोगाउन निर्देशन वा सर्कुलर जारी गर्छ । उद्योगी-व्यवसायीहरु त्यो डाइरेक्टिभ्सलाई आफ्नै पारामा ब्याख्या विश्लेषण गरिदिन्छन् । सबैले आ-आफ्नै ब्याख्या विश्लेषण गर्दा समस्या आउँछ । त्यसको वास्तविक प्रभाव के हुन्छ भन्ने कुरा ग्राहक (ब्यापारी/उद्योगी) हरुलाई सिकाउन सक्यौ भने सहज हुने थियो । चार्टर्ड एकाउण्टेट एशोसियसन र नेपाल बैंकर्स संघले विभिन्न कार्यक्रम वा विभिन्न फोरम सञ्चालन गरेर छलफल गरिरहेका छौं । प्रदेश १ का व्यवसायी उद्योगीहरुका माग सम्बोधन हुने खालका छन् ? ब्याजदर घटाउने सबैको माग हो । बैंकर्सहरु पनि ब्याजदर घटोस् भन्ने नै चाहन्छ । हामीलाई पनि बढी ब्याज लिने रहर छैन । ब्याजदर घटाउने माग जायज हो । जहिले पजि जायज हुन्छ । तर, त्यो मार्केटको आवश्यकता हुनु पर्याे । बजारले नै त्यो निर्धारण गर्नुपर्छ । ऋण माथि ऋण थप्ने की नथप्ने भन्ने कुरा हो । उहाँहरुले भनेजति ऋण दिने हो की बैंकले विश्लेषण गरेर यति ऋण ठिक छ, यो भन्दा बढी दिनु हुँदैन भन्ने हो । उसको प्रोजेक्टमा यो भन्दा बढी ऋण चाँहिदैन भन्ने कुराको एसुरेन्स उहाँहरुले गर्ने होइन, त्यो बैंकले गर्ने हो । किनभने उहाँहरुले दिनु भएको फाइनान्सियल रिपोर्ट र प्राजेक्ट रिपोर्ट अध्ययन गरेर बैंकले उहाँलाई यति कर्जा दिँदा ठिक हुन्छ भनेर मूल्याङ्कन गर्ने हो । पहुँचको आधारमा सर्वसाधारणलाई महँगो गरेर उद्योगी व्यवसायीलाई सस्तो वा कम गर्ने परिपाटी कस्तो छ ? पहुँचको आधारमा ब्याजदर निर्धारण गर्ने भन्ने अहिलेसम्म थाहा छैन । किनभने सबै ग्राहकलाई ब्याजदर दिनु पर्दैन वा पर्छ भन्ने बाध्यता कुनै पनि वाणिज्य बैंकलाई छैन । कुनै पनि संस्थालाई हुँदैन पनि । जसले रोजगारी श्रृजना गर्न सक्यो र म्यानुफ्याक्चरिङ काम गरेको छ भने उनीहरुको ब्याजदर कम हुन्छ । जसले ट्रेडिङ बेस नेचर र आयातलाई बढावा दिने व्यवसाय गरेको छ भने उनीहरुको ब्याजदर अटोमेटिक बढी हुन्छ । किनभने बैंकले सबैलाई एउटै रेटमा राखेर वा एउटै पुलमा राखेर ब्याजदर निर्धारण गर्दा बैंकको प्रोफिटाबिलिटी पनि हुन्छ । पहाडी जिल्लामा जाँदाखेरि पनि त्यसरी ब्याजदर घटबढ भएको वा कसैले बार्गेनिङ गरेर बढी र कम गरेको भन्ने छैन । प्रिमियम ग्राहकले चाहेर वा ग्राहकले हस्ताक्षर नगरिकन पहिला सम्झौता गरेको प्रिमियम बढाउन पाउँदैन भनेर राष्ट्र बैंकले स्पष्ट रुपमा भनेको छ । हामीले पनि त्यहि गरिरहेका छौं । त्यसैले यहाँनेर बार्गेनिङ हुन्छ जस्तो लाग्दैन । प्रदेश १ मा कुन क्षेत्रमा बढी कर्जा प्रवाह हुन्छ ? तराइतिरका जिल्लामा हेर्ने हो भने उद्योगधन्दामा नै बढी कर्जा जान्छ । धेरै उद्योगहरु छन् । यहाँको उद्योगहरुमा खर्बाै लगानी छ । पहाडी जिल्लाहरुमा सानासाना उद्योगहरु छन् । पहाडमा स-साना उद्योग र ट्रेडिङ नेचरमा बढी कर्जा जान्छ । धनकुटा, भोजपुर, झापा लगायत जिल्लाहरुमा पछिल्लो एक/डेढ वर्षदेखि कृषिमा लगानी बढेको छ । केन्द्रमा ठूल्ठूला कर्पाेरेट हाउसहरुमा कर्जा प्रवाह हुन्छ, प्रदेश वा जिल्लाहरुमा स-साना व्यवसायी भएकाले त्यहाँका अधिकांश मानिस वा ऋणीहरु त्यहाँका सहकारी, लघुवित्त, फाइनान्स वा विकास बैंकसँग आवद्ध छन्, यो अवस्थामा वाणिज्य बैंकलाई काम गर्न कति सहज वा चुनौति छ ? वाणिज्य बैंकहरुलाई चुनौति भन्दा पनि सहज छ । किनभने वाणिज्य बैंक लघुवित्त र विकास बैंकको भन्दा तुलनात्मक रुपमा कम ब्याजदरमा कर्जा दिन्छन् । ऋणीहरुलाई डकुमेन्टेसनमा समस्या हुन सक्छ । लघुवित्त वा अन्य संस्थाले कम डकुमेन्ट वा पर्पर एनालाइसिस कम गरेर लोन दिने भएकाले ऋणीहरुलाई सहज हुन सक्छ । अहिले वाणिज्य बैंकको प्रत्येक पालिकामा पहुँच पुगिसकेको छ । हामी त्यो ठाउँमा जाँदा थप अवसर (एडिसनल अपरच्युनिटि) श्रृजना भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत् पनि विभिन्न ठाउँमा वित्तीय साक्षरता दिइरहेको हुन्छ, शाखाको पहुँच पुर्याउन पनि जोड दिइरहेको हुन्छ, विभिन्न जिल्ला तथा पालिकाहरुमा शाखा विस्तार गर्न कत्तिको समस्या छ ? बैंकहरुले एउटा पालिका वा दूरदराजको पालिकामा काम गरिरहेका छन् । जब की सदरमुकामबाट पुग्नको लागि घण्टौ समय लाग्छ । त्यो ठाउँमा काम गर्दा सीमित बजार छन् । तर, त्यही सिमित बजारमा पनि काम गर्दा अझै रमाइलो र त्यहाँको मान्छेलाई शिक्षित गर्न पाउँदा बैंकरहरु अझै खुसी छन् । सहरी क्षेत्रका मान्छेहरुले हामीलाई बैंक भनेको यस्तो उस्तो हो भन्ने गरेका हुन्छन् । तर, हामी गाउँ-गाउँ वा घरघरमा गएर बचत किन गर्नु पर्छ, सानासाना लगानी किन लिनुपर्छ, बैंकबाट थोरै पैसा लिएर काम गर्दा विजनेशलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने कुरा सिकाउँदा गर्व लाग्छ । त्यस्ता पालिका वा साना गाउँमा पनि बैंकहरुले जीवन स्तरमा परिवर्तन ल्याउन सफल भएका छन् । परिवर्तन ल्याइरहेका पनि छन् । मेगा बैंकले ओखलढुंगाको खिज्दीमा शाखा विस्तार गरेको छ । जुन ओखलढुंगा सदरमुकामबाट गाडीमा मात्रै ५ घण्टाको यात्रा गर्नुपर्छ । यस्ता ठाउँमा बैंकको उपस्थिती भएपछि त्यो ठाउँको रहनसहनमा परिवर्तन आएको छ । गाउँका मान्छेहरुले हाम्रो ठाउँमा बैंक आयो, हामीले पनि विजनेश गर्न पाउने भयौं, विजनेश वृद्धि हुने भयो, थोरै थोरै ऋण लिएर साना पसल, चिया पसल, कृषिमा लगानी बढाउन पाउने भयौ भन्ने कुराहरु गर्नुहुन्छ । उहाँहरुले आफ्नो स्तर उकास्दै लैजाँदा खुसी र गर्व लाग्छ । ती ठाउँहरुमा कर्जा लगानीका केही नयाँ क्षेत्रहरु छन्, केही सम्भावनाहरु देखिन्छन् वा छैनन् ? अहिले बैंकहरुले सबै क्षेत्रलाई कभर गरिसकेको छ । प्रदेश १ मात्रै नभएर देशभरि नै सानो परिवारमा लगानी गर्नुपर्छ । सानो परिवारले कमाएर बैंकलाई पनि तिर्ने र आफ्नो पनि जीवनस्तर उकास्न सक्नुपर्छ । जीवनस्तर उकास्ने किसिमका कर्जामा बैंकहरुले जोड दिनुपर्छ । सहरी क्षेत्रमा रोजगारी श्रृजना गर्न सक्ने र आयातलाई सहज गर्ने ठूला इण्ड्रष्टी वा म्यानुफ्याक्चरिङ प्रडक्सन गरिराखेका कम्पनीलाई बढी कर्जा प्रवाह गर्नुपर्छ । नयाँ उद्योगी वा नयाँ स्टार्टअप जन्माउन बैंकले के कस्ता काम गरिरहेका छन् ? नयाँ उद्यमीहरु आइरहनु भएको छ । तर, अहिले आएका उद्यमीहरु पनि रोजगारी श्रृजना गर्ने भन्दा पनि डेभलप समुदायलाई मात्र सुहाउने खालका छन । जस्तो रेष्टुरेन्ट खोल्ने । नयाँ उद्यमी भनेको रेष्टुरेन्ट खोलेर हुँदैन । त्यो विराटनगर, काठमाडौं, पोखरा, नेपालगञ्जको बजारलाई फिट हुन्छ । त्यो उद्यमीले के गर्दैछ भन्ने कुरा हामीले हेर्नुपर्छ । नयाँ उद्यमीहरुलाई बैंकहरुले फाइनान्सिङ पनि गरिरहेको छ । राष्ट्र बैंकको निर्देशनभित्र रहेर राम्रो-राम्रो प्रोजेक्ट आउँछ भने नयाँ उद्यमीहरुको जन्म भइरहेको छ । उहाँहरु सुरुमा ठूलो आवश्यकता वा अवसर देखेर आउनु हुन्छ । आफ्नो पार्टको लगानी सुरक्षित गरेको हुन्छ । पछि त्यो लगानी गर्न नसक्दा समस्या उत्पन्न हुने हो की भन्ने हामीलाई महसुस हुन्छ । पूर्वमा जन्मिरहेका नयाँ उद्यमीहरुलाई बैंकहरुले सहयोग गरिरहेका छन् । वित्तीय साक्षरताको सवमालमा प्रदेश १ को स्थिति के छ ? वित्तीय साक्षरतामा अन्य प्रदेशको तुलनमा बागमति प्रदेशपछि प्रदेश १ नै हो । किनभने सबै ठाउँहरुमा सडक सञ्जाल, विद्युत पहुँच, इन्टरनेट पहुँच पुगेको छ । सबै गाउँपालिकाहरुमा सबै वाणिज्य बैंकहरुको विजनेश भइसकेको हुनाले बागमति प्रदेश पछि वित्तीय साक्षरता र वित्तीय पहुँचमा प्रदेश १ पर्छ । विजनेश साइजको हिसावमा हेर्ने हो भने बागमति प्रदेश र लुम्बिनी (प्रदेश ५) पछि प्रदेश १ हो । अहिले बैंकिङ प्रणालीमा देखिएको संकटको सुधार कहिलेसम्म होला ? अहिले संकटभन्दा पनि सर्टटर्म समस्या आएको हो । यो चाँडै नै सुधारोन्मुख देखिएको छ । चुनावपछि केही सुधारका संकेत देखिएका छन् । सुधार हुँदै गएकाले ६ महिनासम्म पूर्ण सुधार हुन सक्ने अनुमान छ । अबको सरकार कस्तो बन्छ र सरकारले ल्याउने नीतिमा भर पर्छ । सरकार परिवर्तनको समय पनि छ । चालू आर्थिक वर्षको ६ महिना पनि सकिन लागेको छ । स्थानीय तहको चुनाव, संघ र प्रदेशको चुनाव पनि भयो । यो बीचमा सक्रिय भएर काम हुन सकेको छैन । जसले गर्दा विकास निर्माणमा खासै खर्च हुन सकेको छैन । यी सबै विषयमा स्थिर भएपछि चालु आर्थिक वर्षको अन्तिमसम्म सुधारको अपेक्षा गरिएको छ । तपाईं सुविधा सम्पन्न बागमति प्रदेशमा जन्मिनु भएको व्यक्ति अहिले प्रदेश एक मा गएर काम गरिरहनु भएको छ, एउटा बैंकरको हिसावले कतिको चुनौति भोग्नु पर्छ ? यस्ता चुनौति धेरै भोग्नुपर्छ । सबैभन्दा ठूलो चुनौति मान्छेहरुलाई सिकाउनु हो । सिकाउन र सिकाएको मान्छेले बुझ्न सक्यो भने सहज हुन्छ । ३५ किलोमिटर यात्रा गर्न ५ घण्टा समय लाग्ने ठाउँ छ । यस्तो ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ । कुनै-कुनै गाउँपालिकामा विजुली मात्रै भर्खरै पुगेको छ । यस्तो ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ । कतिपय मान्छेहरुले बैंक आयो अब बैंकको ब्याज सस्तोमा पाइन्छ, बैंकले सस्तोमा कर्जा दिनुपर्छ भन्ने खालको बुझाइ छ । यस्तो बुझाइलाई हामीले स्पष्ट रुपमा सिकाउन पनि कठिन छ । काठमाडौंको तुलनामा दूरदराजको ठाउँमा समस्या छ । अझै गरिबीको रेखामुनी छन् । जीवनस्तर उकास्नको लागि सबै बैंकहरुले गाउँपालिकामा जानुपर्छ । यी सबै काम गर्न कठिन भएपनि मलाई अझै खुसी लाग्छ । म काठमाडौंमा बसेर केही ठूला ब्यापारीलाई खुसी बनाउनेभन्दा पनि एउटा गाउँपालिकामा पुगेर समग्र गाउँको मुहार फेर्न सक्यो भने अझ धेरै खुसी हुन्छु । नेपाल राष्ट्र बैंकले जारी गर्ने विभिन्न निर्देशिका वा सर्कुलरमा बैंकरहरुले अपडेट हुनु पर्छ तर बैंकका ग्राहकहरुलाई बुझाउन कति सकस छ ? हामीले कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई जानकारी गराइरहेका हुन्छौं । तर, जानकारी मुलक कार्यक्रममा उपस्थिती एकदमै न्यून हुन्छ । हामी एक हप्ता अघिदेखि नै तपाइँहरुलाई वित्तीय साक्षरता दिन्छौ भनेका हुन्छौ तर उपस्थिती कम हुन्छ । बैंकबाट पैसा लिइसकेपछि आफूले भनेको काम भन्दा अरु कुरामा लगानी गर्न पाए हुन्थ्यो भन्ने मनस्थिती छ । ब्यापार भनेर ऋण लैजाने तर एक टुक्रा जग्गा किन्ने पो हो की, वा छोराछोरीको विवाह गर्ने हो की भन्ने कतिपय ग्राहकहरुको मनस्थिती छ । यसलाई सच्याउन सकियो भने च्यालेन्जलाई लिएर अगाडि बढ्न सकिन्छ । हाम्रो काम भनेको उहाँहरुलाई सिकाउने हो जस्तो लाग्छ । अहिले बैंकरको सबैभन्दा ठूलो काम भनेको तपाइलाइ जुन उद्देश्यको लागि पैसा चाहिएको हो बैंकलाई नढाँटिकन भन्न लगाउनुपर्ने हुन्छ । त्यो उद्देश्यमा पैसा लिएपछि त्यसैमा खर्च गर्नुपर्छ भनेर सिकाउन सक्यो भने आफै लाइनमा आउँछ । एउटा उद्देश्यका लागि कर्जा लिने तर अर्कै ठाउँमा खर्च गर्ने परिपाटी प्रदेश एकमा कस्तो छ ? कहिँकतै यस्तो देखिन्छ । दुई/चार जनामा यस्तो देखिएर सबैलाई भन्न मिल्दैन । दुई/चार जनामा त्यो अवश्य नै हुन्छ । तर, सुरुमा लगानी गर्ने बेलामा नै त्यो डाइभर्ट हुन्छ भन्ने होइन । एकचोटी व्यवसायमा लगानी गर्छ । जस्तो होलसेलरबाट सामान किनेर ल्याएर बेच्यो भने त्यो पैसा बैंकमा आउनुपर्ने हो । तर, त्यो पैसा बैंकमा आउँदैन । त्यो पैसा उसले डाइभर्ट गरिदिन्छ । त्यो भनेको बैंकले डाइरेक्टली व्यवसायमा दिएको पैसा जग्गा वा सेयरमा लगानी गर्नुपर्छ भनेर दिएको होइन । उहाँहरुलाई विजनेश गर भनेर दिएको हो । तर, उहाँहरुको एकदुई चोटी पैसा टर्नओभर भइसकेपछि ब्यापार भनेको यस्तै रहेछ जग्गा किनेर ६ महिनापछि फाइदा हुन्छ भन्ने केही ग्राहकहरुमा देखिन्छ । तर, यस्तो प्रवृत्ति धेरै हुँदैन । बाँठा ग्राहकले यस्तो गर्ने गरेका छन् । बजारमा उनीहरुको स्वर ठूलो हुने भएकाले हँगामा मच्चिएको हो की जस्तो लाग्छ । जिल्ला तथा पालिकाहरुमा पहुँच भएकाहरुसँग बैंकहरुले बचेर बस्नु पर्छ भन्ने सुनिन्छ नी तपाईंले कत्तिको अनुभव गर्नु भएको छ ? यस्तो हुँदैन । एक जनाले गरेर बैंकहरुलाई त्रसित हुनुपर्ने अवस्था अहिलेसम्म छैन । हामीले सुनेको पनि छैन । कर्जा डिफल्टको समस्या कतिको छ ? डिफल्ट अवश्य हुन्छ । शतप्रतिशत रिकोभरि हुँदैन । एनपीएल वृद्धिदरले पनि यस्तो भएको देखाइ रहेको छ । सबै बैंकको आफ्नै एनपीएल रेट छ । तर, त्यो डिफल्ट दीर्घकाल उठिहाल्छ । अहिले पनि जग्गा धितो राखेर कर्जा दिने भएकाले उहाँहरुलाई आफ्नो सम्पत्तिको माया पनि लाग्छ । अन्तत्वतः उहाँहरुले त्यो सम्पत्ति बिक्री गरेर होस् वा अन्य काँहीबाट भएपनि लोन तिरिहाल्नु हुन्छ । डिफल्ट भएपनि धेरै छैन । मेगा बैंकले प्रदेश १ मा कसरी काम गरिरहेको छ ? मेगा बैंकले प्रदेश १ मा २५ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको छ । जसमा ६ वटा शाखा स्थानीय तहमा छन् । समग्र बैंकिङ्ग इण्डष्ट्रिले दिने सबै सेवा सुविधाहरु हामीले दिइरहेका छौं । चाँडै नै मर्जर पनि हुँदै छौ । मर्जरपश्चात् अझै ठूलो बैंक भएर काम गर्ने तयारी छ । अहिले २५ वटा शाखा छन् । मर्जरपश्चात् अरु शाखा थप हुँदा ४० वटा शाखा पुग्छन् । जसले गर्दा अझै प्रभावकारी सेवा दिन्छौं ।

म्याग्दीमा गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ। सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो। सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिइन् । पुस १ गतेदेखि तालिम सञ्चालन भएको थियो । पच्चीस जनाको कोटा भए पनि लक्ष्यभन्दा बढी सङ्ख्यामा सहभागी गराइएको उनले बताइन् । सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत दुई लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो । गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो । तालिमको सुआहार कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गरेका छन् । तालिम अनुगमनका क्रममा आइतबार घारमा पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाए । जङ्कफुडको आयात घटाउने, व्यावसायिकरुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिकरुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताए । सर्वोत्तम पिठो छ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ । स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाले मन पराउने सर्वोत्तम पिठो बजारबाट खरिद गर्दै आएका छन् । सीप भएपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने स्थानीय महिलाले बताएका छन् ।

बागलुङमा धान उत्पादन घट्यो

बागलुङ। लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पुर्याउँदा सात मुरी मात्रै स्यारेको बताउछन् । उनि भन्छन्, ‘यसपालि धान निकै राम्रो भएको थियो, पोहोर परार सालको भन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्यार्ने बेला एक्कासि एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरी भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो ।’ अहिलेको भन्दा अघिल्ला सालहरुमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाए । ‘पहिला–पहिला अहिलेको भन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानु पथ्र्यो, अहिले त झन, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो’, उनले भने । स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरे । उनले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताए । असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो गरे । उनले भने, ‘यो वर्ष बेमौसमको वर्षाले किसानलाई धेरै दुःखी बनायो, बर्खाभरी दुःख गरेर धान लगाइयो, भित्र्याउने बेला पानीले खेतबरी बनाइयो दियो, यसपालि धान धेरै फलेको थियो, पानी बेलामाथि पर्दा सिँचाइ पनि राम्रो भएको थियो, तर काट्ने बेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नुपर्यो ।’ कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताए । उनले यस वर्ष पाँच प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएको जानकारी दिए । अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उनको भनाइ छ । ‘यस वर्ष धान राम्रो हुन्छ भन्ने आँकलन हामीहरुले गरेका थियौँ, किनकी समयमै वर्षा भएको थियो, त्यसले गर्दा सिँचाइ पर्याप्त भएको थियो, अलि कति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो’, प्रमुख भट्टराईले भने, ‘जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षति पुगेको थियो ।’ गत वर्ष जिल्लाभर पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उनको भनाइ छ । अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको भट्टराईको भनाइ छ । तुलनात्मकरुपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो । तर त्यसो हुन सकेन । बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । सो मध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । रासस

धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

जनकपुरधाम ।  धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ। आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्। कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले कूल करदातामध्ये ६६ प्रतिशतभन्दा बढीले नियमितरुपमा कर दाखिला नगर्ने गरेको पुष्टि गरे। ‘यहाँ दर्ता भएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाताले तोकिएको समयमा कर विवरण दाखिला गरिरहेका छैनन्’, उनले भने, ‘यस तथ्याङ्कले हामी चिन्तित छौँ। नियमितरुपमा कर विवरण तथा कर रकम दाखिला गराउन पहल भइरहेको छ।’ प्रमुख कर अधिकृत बर्तौला आफ्नो क्षेत्रभित्र रहेका व्यावसायी तथा व्यावसायिक सङ्गठनका प्रतिनिधिसँग छलफल गरेर समस्याको पहिचान र त्यसको समाधानका लागि आफूहरु प्रयासरत रहेको जानकारी दिन्छन्। करदाता शिक्षामार्फत सचेतना अभिवृद्धि र कानुनअनुसार कारबाहीको प्रक्रिया सँगसँगै अगाडि बढाइरहेको उनले बताए। ‘पहिलो चरणमा मोबाइलमा कर विवरण दाखिलाका लागि सन्देश पठाउने र दोस्रो चरणमा हरेक करदातालाई चिठी पठाउने काम गर्छौं’, उनले भने, ‘यसरी पनि सम्पर्कमा नआए अन्तिम विकल्पको रुपमा सम्पत्ति, बैंक खाता रोक्का र आवश्यक रकम असुलउपरका लागि कानुनी बाटो अवलम्बन गर्छौं।’ नेपाल उद्योग वाणिज्य सङ्घ धनुषाका अध्यक्ष जितेन्द्रकुमार महासेठले कर शिक्षाको अभावमा धेरै व्यवसायीले समस्या भोगिरहेको बताए। सरकारी कार्यालयले स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करको प्रमाणपत्र जारी गर्दा नै कर शिक्षा दिएर सचेत गराउनुपर्ने महासेठको भनाइ छ। ‘जुन प्रयोजनका लागि करको दायरामा आएको हो, त्यही बेला भविष्यमा लापर्वाही गर्दा हुने क्षतिका विषयमा जानकारी दिन जरुरी छ’, कर अधिकृत बर्तौलाले भने, ‘असावधानी वा अनभिज्ञता जाहेर गरेर करबाट मुक्ति पाइँदैन। अहिले नतिरे पनि भविष्यमा सम्पत्ति बेचेर साखासन्तानबाट समेत कर असुली हुन्छ भनिदिनुपर्‍यो नि !’ व्यवसाय दर्ता गर्ने तर कुनै कारणले कारोबारै नगर्ने, व्यवसाय बन्द नगरेरै विदेशिने वा अन्य काममा लाग्ने कारणले अहिलेको समस्या आइरहेको भन्नुहुँदै महासेठले व्यावसायिक सङ्गठन र सरकार मिलेर यो समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए। नेपाल उद्योग परिसङ्घ धनुषाका अध्यक्ष विजय साहले करदातामैत्री वातावरण नभएकाले समस्या थप विकराल बन्दै गएको बताए। कर तिर्न अभिप्रेरित गर्ने भन्दा निरुत्साहित गर्ने खालको वातावरण रहिरहेसम्म यो समस्या पनि थप बढ्दै जाने उनको भनाइ छ। ‘कर तिर्न लालायित गर्ने वातावरण छैन, कर नतिर्दा हुने जोखिमको विषयमा पनि प्रयाप्त जानकारी छैन। त्यसै कारण बर्सेनि यो समस्या बढ्दै छ’, साहको भनाइ थियो, ‘सरकारले कर असुल्ने नियत मात्रै राख्नुभएन।’ उनले व्यावसायिक सङ्गठन पनि यस विषयमा गम्भीरताका साथ अगाडि बढ्न जरुरी रहेको बताए। करदाताले प्रत्येक महिना आफूले बुझाउनुपर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको २५ दिनभित्र विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ। यसो नगर्दा तोकिएको राजस्व लक्ष्य पूरा गर्न पनि समस्या हुने र बक्यौता बढ्दै जाने धनुषाका प्रमुख कर अधिकृत बर्तौलाले बताए। उनले राजस्व नउठेर तत्काल राज्यलाई समस्या भए पनि दीर्घकालमा करदातामाथि नै दायित्व थपिँदै गई जायजेथा बेचेर असुल गरिने सरकारी नीति रहेकाले करदाता सेवा कार्यालयमा आई वा अनलाइनमार्फत समयमै कर बुझाउन सबैलाई आग्रह गरे। जिल्लामा हाल ३४ हजार चारसय ६३ आयकरदाता छन्। त्यसमध्ये सात हजार चारसय ७७ मूल्य अभिवृद्धि कर र एक हजार चारसय ३५ अन्तःशुल्कमा दर्ता भएका आयकरदाता रहेका छन्। यहाँ व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ७१ हजार एकसय ९८ छ। आर्थिक वर्ष २०७७-७८ मा कर विवरण नबुझाउनेको सङ्ख्या १३ हजार पाँचसय २७ रहेकोमा २०७८-०७९ मा त्यो सङ्ख्या बढेर २४ हजार चारसय तीन पुगेको आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाको तथ्याङ्क छ। चालु आर्थिक वर्षमा पनि मूल्य अभिवृद्धि करदातामध्येकै चार हजार नौ सय ९८ फर्म सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। तोकिएको समयभित्र कर दाखिला नगरेकै कारण हालसम्म कार्यालयले आयकरतर्फ रु २८ करोड ७८ लाख ७२ हजार सातसय ८९ र मूल्य अभिवृद्धि करतर्फ रु २८ करोड ५९ लाख ५९ हजार आठ सय ९६ गरी कूल ५७ करोड ३८ लाख ३२ हजार छसय ८५ बक्यौता उठाउन बाँकी छ। ब्याज, थप दस्तुर, विलम्ब शुल्कसमेत गरेर सो बराबर बक्यौता उठाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ। यस कार्यालयको कार्यक्षेत्रमा सिन्धुली, सर्लाही र महोत्तरी जिल्लासमेत रहेका छन्।

फरवार्ड लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

बजार अभावले गोदाममै थन्किए नेपाली उत्पादनका अल्लोका कपडा

म्याग्दी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले गोदाममै थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे । उनले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्तालगायतका सामग्री बनाउनका लागि बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा बजारीकरण गर्दै आएका छन् । पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै पाँच सय मिटर बढी कपडा गोदाममै थन्किएको छ’, उनले भने । उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर बिक्री गर्दै आएका थापाले नौ जनालाई प्रत्यक्षरुपमा रोजगार दिएका छन् । यस गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङलगायतका जङ्गलमा खेर गइरहेको अल्लोलाई स्थानीयवासीबाट सङ्कलन गरी उद्योगमा प्रशोधन गरेर धागो बनाएर कपडा तयार गरिँदै आइएको छ । गत वर्ष स्थानीयवासीबाट तीन हजार किलो अल्लोको पुवा सङ्कलन गरेको उद्योगले यस वर्ष सात हजार किलोसम्म अल्लोको पुवा खरिद गर्ने जनाएको छ । उद्योगमा कपडा बुन्नेसँगै जङ्गलमा अल्लोको पुवा सङ्कलनबाट समेत स्थानीयवासीले अम्दानी गर्दैआएका छन् । उद्योगले अल्लोको पुवालाई प्रतिकिलो एक सय २० रुपैयाँँमा खरिद गर्दैआएको उद्यमी थापाले जानकारी दिए । ‘हामी गाउँपािलकाभित्रका स्थानीयले सङ्कलन गर्ने जति पनि अल्लोको पुवा खरिद गर्न सक्छौँ, उद्योगको क्षमताले उत्पादन बढ्दै गएकाले उत्पादिन सामग्रीको बजारीकरणमा समेत नयाँ ठाउँ र बजारको खोजी थालिएको छ’ उनले भने । उद्योगमा अहिलेसम्म करिब २५ लाख रुपैयाँँ लगानी भएको उनले बताए । उद्योग स्थापनामा डिभिजन वन कार्यालयले मेसिन खरिदमा अनुदान सहुलियत दिएको थियो । अल्लो कपडा उद्योगबाट उत्पादन भएका कपडामध्ये अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको आठ सय रुपैयाँँ र कटन मिसाएको पाँच सय ५० रुपैयाँँ, ऊन मिसाएको पाँच सयमा बिक्री हुनेगरेको उद्योगका व्यवस्थापक प्रभात अधिकारीले जानकारी दिए । ‘स्वास्थ्यको लागिसमेत लाभदायी हुने अल्लोको कपडाको प्रयोग नेपालमा धेरै हुन सकेको छैन । अझै पनि नेपालमा उत्पादन भएको कपडाको बजार विदेश नै हो, विदेशी पर्यटकको आगमन प्रभावित भएकाले पनि नेपालमा पछिल्लो समय अल्लो कपडाको बजारीकरणमा समस्या भएको देखिएको छ’ उनले भने ।  जङ्गलमा पुसदेखि वैशाखसम्म अल्लोको पुवा सङ्कलन गर्ने गरिन्छ । रासस

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ दुई संस्थाहरुसँग सम्झौता गरेको हाे । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले टेसला डाइगनोष्टिकमा अधिकतम १० प्रतिशत र द्रिष्टि आइ केयरमा अधिकतम २० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

स्याटेलाइटद्वारा पृथ्वीको पानीको मापन गरिँदै, भविष्यमा बाढी र आँधीबाट सतर्क रहन सहयोग पुग्ने

एजेन्सी । पृथ्वीमा रहेका सबै पानीका स्रोतहरूको सर्वेक्षण गर्न शुक्रबार पहिलो पटक उपग्रह प्रक्षेपण गरिएको छ । यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र फ्रान्सेली अन्तरिक्ष एजेन्सी नेशनल सेन्टर फर स्पेशल स्टडीजले संयुक्त रुपमा तयार पारेको हो । यस स्याटेलाइटको नाम इन्टरनेशनल सर्फेस वाटर एन्ड ओशन टोपोग्राफी (स्वाट) रहेको छ । यसलाई स्पेस एक्सको फाल्कन नाइन रकेट मार्फत अन्तरिक्षमा पठाइएको थियो । पानी सम्बन्धी प्रकोपमा मद्दत गर्ने मिसनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूका अनुसार स्वाटबाट प्राप्त जानकारीको सहयोगले भविश्यमा पानीजन्य विपद्बाट बच्न मद्दत पुग्नेछ । पछिल्लो समयमा बाढी र चक्रवात जस्ता घट्नाहरु बढेका छन्, जसका कारण विश्वभरका मानिसहरु प्रभावित भएका छन् । यो जलवायु परिवर्तन को एक भाग हो। महत्त्वपूर्ण कुरा वायुमण्डल र मौसममा परिवर्तन पानीको कारणले बढी हुने गर्छ । यस्तो अवस्थामा सो विषयमा अनुसन्धान गर्नु निकै जरुरी छ । स्वाट स्याटेलाइटसँग का–ब्यान्ड राडर इन्टरफोरमिटर (कारिन) नामक उपकरण रहेको छ, जुन नासाले वर्षौंदेखि निर्माण गर्दै आएको छ । यसले समुन्द्री भू–उपग्रहहरू भन्दा १० गुणा बढी नजिकबाट पानीका विशेषताहरू खिच्न सक्छ । यसबाट वैज्ञानिकहरूले पोखरी, नदी र समुद्रका गुणहरू विस्तृत रूपमा अध्ययन गर्न सक्नेछन् । उदाहरणका लागि– सामान्य स्याटेलाइटले विश्वका केही हजार पोखरीहरूको मात्रै डाटा संकलन गर्न सक्छ । स्वाटले १० लाखभन्दा बढी पोखरीहरूको जानकारी दिनेछ । रातको अँध्यारोमा पनि स्याटेलाइटले अनुसन्धान गर्नेछ नासाले केआरइनमा जडान गरिएका दुईवटा एन्टेनाले पानीको सतहमा राडार पल्स पठाउने र सिग्नल फिर्ता गर्ने बताएको छ। स्याटेलाइट रातको अँध्यारो र बादल हुँदा पनि डाटा सङ्कलन गर्न सक्षम रहेको छ । वैज्ञानिकहरूका अनुसार पहिलो पटक ३३० फिटभन्दा ठूला नदीहरू थ्रीडीमा देख्न सकिन्छ र समुद्रको १०० किलोमिटरभन्दा कम क्षेत्रफल नाप्न सकिन्छ ।