बुद्ध एयरका अध्यक्ष बस्नेतको मृत्यु, यसरी बनाए सफल एयर
काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका अध्यक्ष बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाएका थिए । उनले नेपाल बार एसोसिएसनको संस्थापक सदस्य भएर काम गरेका थिए । सर्वोच्च अदालतको न्यायाधीश र नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त समेत भएर उनले काम गरेका थिए । वि.सं. २०२४ मा कानुन, न्याय तथा शिक्षा मन्त्री र वि.सं. २०२५ मा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन् । उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर हवाई सेवा सुरु गरेका हुन् । हवाई उडानलाई सहज र सरल बनाई सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ । उनका २ छोरा र १ छोरी रहेका छन् । हाल बुद्ध एयरलाई जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन् । नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बन्न सफल भएको छ । जनजनको विश्वास जितिसकेको बुद्ध एयरले वार्षिक करिब ३० लाख स्वदेशी र विदेशी यात्रुलाई सेवा दिइरहेको छ । एउटा जहाज र ९९ जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरसँग १६ वटा जहाज र १५ सय कर्मचारी कार्यरत छन् । बुद्ध एयरलाई यो अवस्थासम्म ल्याउँदा विभिन्न कालखण्डमा धेरै उतारचढाब भोग्नु पर्याे । बस्नेत अप्ठेरा दिनमा कहिल्यै आत्तिएनन् । उल्टै निरन्तर सक्रिय रहँदै यात्रुको सेवा र धैर्यबाट सफलताको सिंढी चढिरहे । अध्यक्ष रहेका बस्नेतलाई कम्पनी स्थापना गर्दा नाम र लोगो राख्दा अलमल भएको थियो । सुरुमा हनुमान एयर राख्ने योजना बनाएका उनले घरपरिवार र साथीसँगीको सल्लाहमा ‘बद्ध एयर’ र लोगोमा बुद्धको मूर्ति राखे । तर, एक दिन एक जना श्रीलङ्कालीले ‘यो जहाजमा कोही चढ्दैनन्’ भन्दा उनी झसङ्ग भए । ‘टिकट र बोर्डिङ पासमा बुद्धको मूर्ति राखिएकाले बुद्ध अंकित टिकट च्यातिन्छ, कुल्चिन्छ, धार्मिक भावनामा ठेस पुग्छ भनेका थिए । तर, बस्नेत पछि हटेनन् । ‘वीच ९०’ नयाँ जहाज माउन्टेन फ्लाइटका लागि निकै राम्रो र १८ सिट भएको थियो । वीच ‘हकर्स’ कम्पनीको जहाज अमेरिकी कम्पनीले बेलायती कम्पनी किनेर बनाएको थियो । पाँच मिलियन डरसम्ममा जहाज खरिद गर्न सकिन्थ्यो । उनलाई जुन भए पनि जहाज ल्याउनु परेको थियो । बीचक्राफ्ट जहाजको मूल्य त्यतिखेर झण्डै ३२ करोड रुपैयाँ थियो । यत्रो ठूलो रकम जोहो गर्न उनलाई बडो कष्ट भयो । बिजनेस प्लान लिएर चारैतिर भौतारिए । अन्त्यमा नेपाल बैंक अफ सिलोन र कर्मचारी सञ्चय कोषको सहवित्तयकरणबाट ऋण स्वीकृत भयो । बस्नेतले अहिलेको केन्द्रीय कार्यालय जावलाखेलमा ८०० वर्गफिटको घरबाट नै कार्यालयको सुरुवात गरेका थिए । साँघुरो अफिसमा सबै जना कच्याककुचुक परेर बस्थ्थे । बुद्ध एयर स्थापनासँगै झण्डै ९९ जना कर्मचारी थिए । २५ वर्ष पछि पनि ४९ जना साथीहरु त सँगै नै छन् । अन्ततः पुच्छारमाथि बत्ती पिलिक्क–पिलिक्क बल्दै, बुद्ध एयरको लोगो टल्काउँदै गरेको जहाँज गौचरणमा ओर्लियो । दशैं टीकाको दिन परीक्षण उडान पोखरा गर्याे । ११ अक्टोबर १९९७ का दिन पहिलो व्यावसायिक उडान सुरू गरेको थियो । माउन्टेन फ्लाइट, पोखरा र विराटनगरको उडान गरेको थियो । नेपालको हवाई इतिहासमा पहिलो पटक काठमाडौं–विराटनगर १ घण्टा लाग्ने उडान त्यसको आधा समयमा पूरा गरी नयाँ इतिहास रचेको थियो । ऋणमा ल्याइएको जहाज, त्यसको अपरेसन खर्च, बैंकको किस्ता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा पैसा जोहो गर्न पनि धौधौ परेको सन् २००२ ताका । बुद्ध एयरकर्मीहरुले ‘तलबभन्दा पनि कम्पनी चल्नु पर्छ, पहिला कम्पनी हेरौं, त्यसपछि तलब हेरौंला’ भने । कोभिड कालबाहेक उडान गरेको पाँच वर्षपछि लगभग हरेक वर्ष कर्मचारीलाई बोनस बाड्न सफल भएको छ । ठूलो जहाजमा जानुपर्छ भन्ने आवज उठेपछि सन् २००८ मा अर्काे जहाज एटीआर–४२ भित्र्याएको थियो । सन् २००८ पछि कोसीको धार परिवर्तन हुँदा पूर्वको राजमार्ग निकै दिन अवरूद्ध भएको थियो । सर्वसाधारण राजधानीदेखि टाडिने अवस्था आएको थियो । यस्तो बेला सबै कर्मचारी मिलेर पूर्वको उडान तालिकालाई सहज बनायो । एकाबिहानैदेखि बेलुकासम्म निरन्तर उड़ान भरेपछि थप जहाज पनि भित्र्याउन सफल भयो । सन् २०११ सेप्टेम्बर २५ को दिन माउन्टेन फ्लाइट गरी फर्केको जहाज ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्याे । १६ जना यात्रु तथा ३ जना चालकदल गरी १९ जना गुमाएको पीडाले उडान र जनशक्तिलाई थप सशक्त बनायो । नयाँनयाँ सुरक्षाका प्रविधि भित्र्याएर एफडीएमको मद्दतले हरेक उडानलाई सूक्ष्म निगरानी गरिरहेको छ । देशैभरि पखेटा फिजाइसकेपछि, अन्तर्राष्ट्रिय उडानको सपना साकारः पार्नतिर सन् २०१० को अगस्टदेखि भुटानको पारो विमानस्थलमा उडान गर्याे । यो नै पहिलो अन्तर्राष्ट्रिय उडान थियो । अर्को वर्ष सन् २०११ को जनवरीबाट भारतको उत्तरप्रदेशको राजधानी लखनउलाई पनि काठमाडौसँग जोड्यो । यसैगरी सन् २०१२ को मार्चबाट साताको दुई दिन सोमबार र शुक्रबार वाराणसीको उडान भरिरहेको छ । सन् २०१९ को मे देखि भारतको वेष्ट बङ्गालको राजधानी कोलकोत्ताको पनि उडान सुरु गरेको भएपनि विभिन्न कारण र परिस्थितिवश वाराणसी बाहेक अन्य गन्तव्यका उडान बन्द गरेको छ । सस्तो भाडादर कायम गरी सबै नेपालीलाई हवाईजहाज चढ्ने अवसर दिई वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको छ ।
ग्लोबल आइएमई बैंकले जम्मा गर्याे १०.६ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश वितरण गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.६ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीको खातामा मंसिर २५ गतेदेखि आइपिएस मार्फत् जम्मा गरेको हो । आइपिएस मार्फत् नगद लाभांश जम्मा गर्दा सेयरधनीहरूको बैंक खाताको नाम र बैंक खाता नम्बर हुबहु मिलेको छ भने मात्रै जम्मा गरेको बैंकले बताएको छ । हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीहरुलाई बैंक खाता नम्बर र प्यान नम्बर अद्यावधिक गराउन बैंकले अनुरोध छ । उक्त नगद लाभांश नआएको सेयरधनीको विवरण ग्लोबल आइएमई क्यापीटल र बैंकको वेभसाइटमा राखिएको छ । साथै उक्त सेयर मंसिर ७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको हकमा भने नो अब्जेक्सन लेटर ल्याए पश्चात् मात्रै बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ । साथै आथिक वर्ष २०७३/७४ २०७५/७६, २०७६/७७ र २०७७/७८ को नगद लाभांश प्राप्त नगरेका सेयरधनीले समेत अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।
३० करोड अनुदान बाँडेर बाहिरिँदै पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन् । सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवर्द्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन । मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन्। मन्त्रालयका सचिव सुरेश अधिकारले ७० वटा संघसंस्थालाई अनुदान दिन अर्थमा प्रस्ताव पठाएको स्विकारे। ‘हामीले संस्था र अनुदान रकमसमेत तोकेर अर्थमा प्रस्ताव पठाएका छौं’, सचिव अधिकारीले भने, ‘अर्थले अझै सहमति दिएको छैन।’ अर्थले सहमति दिए विभिन्न ७० वटा संघसंस्थालाई अनुदानका रूपमा रकम उपलब्ध गराइने उनले बताए । मन्त्रालयले प्रतिष्ठान वा संघसंस्थालाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा कार्यविधि तयार पारेको छ। कार्यविधिमा अनुदानका लागि पाँचवटा मापदण्ड बनाइएको छ। मन्त्रालय स्रोतले भन्यो, ‘तर नाम छनोट गर्ने क्रममा मापदण्ड लागु भएको छैन । विशेषगरी मन्त्रीको स्वविवेक र इच्छामा अनुदान पाउने संघसंस्था छानिएका छन्।’ कार्यविधिको मस्यौदा तयार गर्नुअघि नै मन्त्री श्रेष्ठले अनुदान पाउने संघसंस्थाको सूची तयार गरेका थिए। मन्त्रालयका सचिव अधिकारीका अनुसार अनुदान पाउने संघसंस्थालाई पाँच वर्गमा बाँडिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्र केसीका अनुसार मन्त्रालयबाट अनुदान पाउन ५ सयभन्दा बढी संघसंस्थाले निवेदन दिएका थिए। प्राप्त निवेदनका आधारमा अनुदान पाउने संघसंस्थाको नाम छानिएको केसीले बताए। यो सममाचार आजको नागरिक दैनिकमा छ ।
मुक्तिनाथ विकास बैंकले तोक्यो साधारण सभा र बुक क्लोजको मिति, लाभांश र मर्जर मुख्य एजेण्डा
काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १६ औं वार्षिक साधारण सभा पुस ३० गते विहान १० बजे पोखरा कास्कीमा बोलाएको छ । बैंकको साधारण सभाले लाभांश सहित अन्य प्रस्ताव पनि पारित गर्नेछ । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित गत असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र वैकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । सभाले बैंकको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८२६.८४ रुपैयाँ बाट बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६ अर्ब ४२ करोड ९ लाख २७२.५१ रुपैयाँ पुर्याएर प्रबन्धपत्र संशोधन गर्नेछ । मुक्तिनाथ विकास बैंकसँग गाभिनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अक्तियारी दिने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दा निकायबाट फेरबदल गर्न निर्देशन आएमा सोही अनुसार थपघट, परिमार्जन, संशोधन तथा सच्याउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । यस्तै, काठमाण्डौको लाजिम्पाटमा निर्माणाधीन केन्द्रीय कार्यालय भवनको विषयलाई पनि साधारण सभामा एजेण्डा बनाइएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउ सक्नेछन् ।
पुस १५ देखि एमडिएमएस पूर्णरूपमा कार्यान्वयनमा आउने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गरिएको जनाएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले उक्त सूचनामार्फत अनुरोध गरेको छ । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट प्रज्ञापनपत्रसहित राहदानीरनागरिकतारराष्ट्रिय परिचयपत्रका आधारमा मात्र एमडिएमएसमा गई दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ । नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न प्राधिकरणले उक्त सूचनामा उल्लेख गरेको छ । रासस
मेगा बैंकबाट बाहिरिइन् कामु सीईओ रविना देशराज श्रेष्ठ
काठमाडौं । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ बैंकबाट बाहिरिएकी छिन् । उनले मेगा बैंकबाट बाहिरिएको जानकारी गराएकी हुन् । कामु सीईओ श्रेष्ठले आफ्नो बैंकिङ्ग करियरबाट नै राजीनामा दिएको समेत बताएकी छिन् । बैंकको प्रगतिमा हालसम्म पुर्याएको योगदानको प्रशंसा गर्दै बैंकले उनको केक काटेर बिदाई गरेको हो । मेगा बैंकले श्रेष्ठलाई २०७८ चैत ३० गते २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी कामु सीईओमा नियुक्त गरेको थियो । पूर्व सीईओ अनुपमा खुञ्जेलीको कार्यकाल सकिएपछि बैंकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । ३२ वर्ष बैंकिङ्ग क्षेत्रको अनभुव सँगालेकी श्रेष्ठले मेगा बैंकमा मात्रै १३ वर्ष काम गरेकी छन् । मेगा बैंकको स्थापनाकालदेखि कार्यरत उनले आफ्नो बैंकिङ्ग करियर टुङ्ग्याएको बताएकी छिन् । उनी नबिल बैंकबाट मेगा बैंक प्रवेश गरेकी थिइन् । श्रेष्ठले कलकत्तामा अध्ययन गरेकी हुन् । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट करिअर सुरु गरेकी उनले तत्कालिन ग्रिण्डलेज बैंक (स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा १३ बर्ष काम गरेकी थिइन् । श्रेष्ठ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ) बाट गत बैशाखमा विभूषित पनि भएकी थिइन् । श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत ४ वटा अन्तर्राष्ट्रिय अवार्ड र बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छिन् ।
साहित्यकार सागर बाबुको ‘जिन्दगीको रित’ गीतगजल संग्रह बिमोचन
स्याङ्जा । बुद्धीसागर लामिछाने साहित्यिक नाम ‘सागर बाबु’को गजल संग्रह ‘जिन्दगीको रित’ बिमोचन भएको छ । शनिबार स्याङ्जा सदरमुकाममा एक समारोहको आयोजना गरी सागर बाबुको गीतगजल संग्रह ‘जिन्दगीको रित’ बिमोचन गरिएको हो । गीतगजल संग्रहको स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारी र पुतलीबजार नगर कार्यवाहक प्रमुख मनोज पौडेलले संयुक्तरुपमा बिमोचन गरेका थिए । आफ्नो निजामती सेवाक्षेत्रमा नियमित कर्मका बाबजुद सागर बाबुले साहित्य, कला र संस्कृतिको क्षेत्रमा आफूलाई उभ्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रीप्रसाद जीटीले प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले पनि गीतगजल संग्रह र लेखकको साहित्यक योगदानको बारेमा चर्चा गरेका थिए । साथै कार्यक्रममा विभिन्न कवि तथा कवियत्रीहरुले आफ्नो कविता समेत वाचन गरेका थिए । गीतगजल संग्रहमा ४६ वटा गित र १७ वटा गजल समावेश गरिएका छन् । साहित्यकार सागर बाबुको यसअघि पनि गीतिसंग्रह ‘तृष्णा’ लोकार्पण भइसकेको छ ।
अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाण्डौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारण सभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा मनीष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुण कुमार चौधरी, द्धितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्बिरोध भएका हुन् । त्यसै गरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली निर्बिरोध भएका छन् । संघको सदस्यमा दिल बिक्रम श्रेष्ठ, भोला मान योञ्जन, ऋषि किशोर अग्रवाल, सम्यक मान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जू श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेक बहादुर कार्की निर्बिरोध भएका हुन् । निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप ३ जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पुर्णता दिनेछ । संघको साधारण सभालाई सम्बोधन गर्दै काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासोहरु आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिएकी थिइन् । कार्यक्रमका वक्ताहरुले उपमेयर डंगोललाई उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाईले फर्निचरका उत्पादन ओसारपोसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए । महानगरले अघि सारेका योजना राम्रा भए पनि व्यवसायीसँग छलफल नगर्दा व्यवस्थापकीय समस्या उत्पन्न भएको उनीहरुको भनाई थियो । संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेण्डरमा सहभागी हुनबाट बञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए । टेण्डरमा सहभागि हुनबाट बञ्चित गराइँदा कच्चा पदार्थको अभावमा फर्निचर उद्योगहरु समस्यामा पर्ने र अर्कोतर्फ वनजंगलमा काठ खेर जाने अवस्था बनेको बताए । संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च विन्दुमा पुगेको बैंक व्याजदरका कारण फर्निचर व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको बताए । विद्यमान कानुनहरु समयसापेक्ष रुपमा संसोधन नहुँदा फर्निचर व्यवसाय अघि बढाउन असहज हुनुका साथै वन पैदावारको उचित सदुपयोग हुन नसकेको उनको भनाई थियो । वैज्ञानिकीकरण बजारीकीकरण, आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको साधारण सभाका अन्य वक्ताहरुले राखेका थिए । अनौपचारिक रुपमा फर्निचर व्यवसाय गरिरहेकाहरुलाई दर्ता भएर काुनी रुपमा व्यवसाय सञ्चालन गर्न पनि उनीहरुले आग्रह गरेका थिए । कार्यक्रममा संघका पुर्वअध्यक्ष राजेश अग्रवाल सहित संघलाई स्थापित गर्न योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो । संघमा २०० आजीवन र ४०० साधारण सदस्य गरी ६०० फर्निचर व्यवसायी आबद्ध छन् । देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।