उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार
एजेन्सी । नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । स्थानीय समयअनुसार अपराह्न ४ः३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ ९जेसीएस०ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यसले दुईवटा मिसाइललाई पानीमा प्रक्षेपण गरेको पनि उल्लेख गरेको छ । सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान कोस्ट गार्डले आप्नो रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको विश्वास गरेको बताएको छ । नेता किम जोङ उनको नेतृत्वमा हाल उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाबका बाबजुद आक्रामकरूपमा मिसाइल परीक्षण बढाएको छ । सीएनएमले उल्लेख गरेअनुसार यस वर्षको शुरुमा स्याटेलाइट इमेजरीले यसको भूमिगत आणविक परीक्षण साइटमा विभिन्न गतिविधि देखाएको थियो । दक्षिण कोरियाली लडाकु विमानसँग संयुक्त प्रशिक्षणको लागि कोरियाली प्रायद्वीप नजिकै अमेरिकाले आणविक बमवर्षक र उन्नत स्टिल्थ जेट उडान गरेको तीन दिनपछ गरिएको प्रक्षेपणमा उत्तर कोरियाद्वारा कुनै प्रतिक्रिया आएको थिएन । उत्तर कोरियाले यस्तो सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासरूपमा बुझ्ने गरेको छ ।
विहारमा इँटाभट्टा विष्फोट हुँदा नौ जना मारिए
एजेन्सी । पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो । घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ । विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन् । विष्फोटको कारण सार्वजनिक गरिएको छैन । सम्बद्ध निकायले अनुसन्धान थालेको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु
सांकेतिक तस्विर एजेन्सी । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् । तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो चलाउँन क्रममा समस्या आउँदा उक्त आगलागि भएको हो । शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।
नेपाल टि-२० : काठमाडौं र लुम्बिनीको विजयी शुरुवात
पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि—२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित (१९) ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए । काठमाडौका लागि अविनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले । उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा पवेलियन फर्किए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २/२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे । त्यस्तै आज नै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ । लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे । उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, गुलशान झा, २५ र विपुल शर्माले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोर रन जोड्न सकेनन् । फार वेस्टर्नका लागि उमर अलि र करण केसीले समान ३/३ विकेट लिए । त्यस्तै बलिङतर्फ लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । उनले २.२ ओभरमा ६ रन मात्र खर्चिएर ३ विकेट लिन सफल भए । त्यस्तै सागर ढकाल २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले समान १/१ विकेट लिए । यता फर वेस्ट युनाइटेडले भने १६.२ ओभरमा मात्र ८५ रन बनाउन सक्यो । फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन् । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउनेछ । तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउनेछन् ।
पालिका खबर : बाग्लुङ नगरपालिकामा मङ्सिरभित्र ८३ प्रतिशत योजना सम्झौता
बाग्लुङ । आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मङ्सिर मसान्तभित्र ८२ दशमलव ७७ प्रतिशत योजना सम्झौता गर्न सफल भएको छ । कूल पाँच सय ६९ स्वीकृत योजनामध्ये चार सय ७१ सम्झौतापछि कार्यान्वयनको चरणमा छन् । यस्तै ३१ योजनाको भने काम सकिएर फरफराक भइसकेका छन् । बाँकी रहेका ९७ योजना पुस तेस्रोसातासम्म सम्झौता भइसक्ने नगरको योजना अनुगमन तथा सिफारिस समितिका सदस्यसचिव इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए। ‘योजना कार्यान्वयनलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्झौताका लागि सयमसीमा नै तोकेपछि यो वर्ष धेरै योजनाको काम बेलैमा अघि बढेको छ’, उनले भने, ‘यसले कामको गुणस्तरदेखि अनुगमन र भुक्तानी प्रणालीलाई पनि चुस्त बनाउँछ ।’ अन्तिम समयतिर काम हुँदा विगतमा सोचे जसरी योजनाको मूल्याङ्कन र नापजाँच गर्न पनि कठिनाइ हुने गरेको इन्जिनियर गिरीले बताए। जेठ–असार लागेपछि बल्ल योजनाका काम लिएर नगरपालिका धाउने प्रवृत्ति अब हट्ने उनको भनाइ छ । चैत–वैशाखभित्रै सबै योजनाको फरफराक गर्न नगरपालिकाले उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सचेत गराएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले तोकिएको समयभित्र सम्झौता नभएका र खरिद प्रक्रियामा नगएका ससर्त तर्फका योजना बाहेकको बजेट स्थानीय सञ्चित कोषमा जाने बताए । उनले चालू आवको स्वीकृत नीति, कार्यक्रम र बजेटमा सो प्रावधान राखिएको उल्लेख गरे । हिउँदे अधिवेशनबाट स्वीकृत भएका र ससर्ततर्फका योजना पनि फागुन मसान्त भित्रैमा सम्झौता गरिने सापकोटाले बताए । ‘योजना सम्झौता ढिलो हुने, आर्थिक वर्षको अन्त्यमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कार्यान्वयन प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो’, उनले भने, ‘यसबाट नगरपालिकाको सेवा प्रवाहमा पनि सकारात्मक टेवा पुग्छ ।’ योजना कार्यान्वयनलाई सहज बनाउन नगरपालिकाले गत साउनमा घुम्ती शिविर गरेर वडा तहबाटै योजना सम्झौता थालेको थियो । शिविर चलेपछि योजना सम्झौताका लागि नगरपालिका कार्यालय धाउनुपर्ने बाध्यता हटेको थियो । नगरपालिकाका उपप्रमुख राजु खड्काले सेवा प्रवाहलाई छरितो र चुस्त बनाउन आफूहरु लागिपरेको बताए । समयमै बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने र योजना अलपत्र पर्ने स्थिति आउन नदिइने उनको भनाइ छ । ‘नगरपालिकाको सत्प्रयासमा उपभोक्ताको पनि सहयोगको खाँचो छ’, उनले भने, ‘योजनाको काम समयमै र गुणस्तरीय ढङ्गले गर्न आवश्यक छ, हतारो र चापमा काम गर्दा समस्या निम्तने गरेको छ ।’ नगरपालिकामा वडास्तरीय तीन सय ६३, नगरस्तरीय एक सय ३३, सङ्घ र प्रदेशका २९, बोलपत्रमार्फत सञ्चालन हुने २९ र राष्ट्रपति शैक्षिक सुधारतर्फ विद्यालय पूर्वाधारका १५ योजना सञ्चालित छन् । निर्माण व्यवसायीबाट काम हुने योजनामध्ये १३ निर्माणाधीन अवस्थामा रहेको र पाँच योजनाको काम सुरु हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’ – स्वास्थ्य मन्त्रालय
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि हँुदै गएको र प्रारम्भिक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन जरुरी छ । इसाई धर्मावलम्बीको महान् पर्व क्रिस्मस तथा अङ्ग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई दृष्टिगत गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न/गराउन साथै कोभिड–१९ को अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन बाँकी रहेकाहरुले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयको सूचना
युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर हामी माथि पुग्दैनौँ : महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरु युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताए । उनले अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्नेकुराको बारेमा सोच्न आवश्यक रहेको बताए । उनले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताए । उनले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताउनु भयो । उनले युवाहरु आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए । उनले भने, ‘हामी कहिले काहीँ थाहा न नपाइकन क्रिटीकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरु थाहै नपाइकन सिनिकल हुन्छौँ । निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुन्छ । तर आलोचक बन्दा बन्दै थाहै नपाइकन हामी निन्दक बनिसकेका हुन्छौं । क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो । शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो । त्यो ठूलो स्ट्रेन्थ बन्छ । तर तपाई सिनिकल हुनुभयो भने तपाईको सबैभन्दा ठूलो विकनेस बन्छ । जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ ।’ महामन्त्री थापाले निन्दक बन्नु युवाहरुका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताए । उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरुको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
तनहुँको घिरिङ र पाल्पाको रामपुर जोड्ने पुल निर्माण हुँदै
तनहुँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो । हाल तनहुँतर्फको सफ्टफिट स्ल्याब ढलान कार्य सकिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए। ‘स्ल्याब ढलान सकिएपछि अब वालको ढलान कार्यको तयारी हुँदैछ’, उनले भने, ‘त्यसपछि डेक स्ल्याबको ढलान हुनेछ ।” उक्त कार्य सकिएपछि नदी डाइभर्सन गरी बाँकी रहेको एउटा पिल्लरको काम हुनेछ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । दुई लेन प्रविधिमा निर्माण हुने पुल २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रुपमा आवतजावत गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजाराँै सर्वसाधारण लाभान्वित हुनेछन् ।