विकासन्युज

भाट–भटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकहरूले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम एक सय रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा पुष १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ । डाइनामिक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्युआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । भाट–भटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुरू गरिएको हो। हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एशिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ। भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।

‘४ वर्षमै कृषि विकास बैंकको पोर्टफोलियो ५१ वर्षको भन्दा बढी बनाएँ, लाभांशमा अब्बल देखाएँ’

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायको पहिलो कार्यकाल सकिएको छ । २०७५ पुस १० गते बैंकको सीईओको रुपमा  नियुक्त भएका उपाध्यायको कार्यकाल सकिएको हो । उपाध्यायले बैंकमा आफ्नो ४ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको दावी गरेका छन् ।  सीईओका रुपमा नियुक्त भएको  एक/डेढ वर्षमै फैलिएको कोरोना महामारीबीच पनि कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उनी बताउँछन् । ‘थोरै कर्मचारीमा धेरै काम गर्न सफल भएको हुनाले आफ्नो कार्यकालमा पूर्ण सन्तुष्ट छु, सबैले देख्न लायकको काम गरेको छु, डिजिटल सिष्टममा छौं, ग्राहकको विश्वास जित्न सफल भएका छौं,’ उनले भने । पहिलो कार्यकाल सकेका उपाध्याय अर्को कार्यकाल पनि कृषि विकासमै गर्न इच्छुक छन् । बैंकको सञ्चालक समितिले कार्यकाल थप्यो भने सीईओ उपाध्याय दोहोरिने सम्भावना प्रवल छ । यस विषयमा सञ्चालक समितिले पुस ११ गतेभित्रमा निर्णय गरिसक्ने बैंकका एक सञ्चालकले बताए । सीईओ उपाध्यायले आफ्नो कार्यकालमा कृषि विकास बैंकलाई एक अब्बल सरकारी बैंकका रुपमा स्थापित गरेको दावी गरे । बैंकिङ क्षेत्रमा ठूलो योगदान दिएका उनको आगामी योजना पनि बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहनेछ । आफ्नो स्वास्थ्यले साथ दिएसम्म बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने बताउँदै उनले भने ‘बैंकको सञ्चालक समितिले दोहोर्याएन भने पनि ३४ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको छु, यो अनुभवलाई कतै न कतै सक्रिय बनाउने योजनामा छु,’ उनले भने । ४ वर्षमा कति परिवर्तन ? उपाध्याय बैंकको सीईओ हुनु अघि आर्थिक वर्ष २०७४/७५ मा बैंकको निक्षेप १ खर्ब ५ अर्ब रुपैयाँ थियो । चार वर्षको अवधिमा उक्त रकम ५८.५५ प्रतिशतले बढेर आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म १ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा ९६ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा आर्थिक वर्ष २०७८/७९ सम्म १ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, १३ अर्ब ९३ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी ३४ प्रतिशतले बढेर १८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । चार वर्षको अवधिमा जगेडा कोषको रकम ११ अर्ब ५४ करोड रुपैयाँबाट १२ अर्ब २१ करोड रुपैयाँ रहेको छ । तर, बैंकको नाफामा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ६७ करोड नाफा कमाएको बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा भने २ अर्ब ६९ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । विगतमा राम्रो नाफा गर्दै आएको भएपनि गत आर्थिक वर्ष पूँजी बजारको सुंकचनले गर्दा ठूलो मात्रामा (लस बुकिङ) घाटा व्यहोर्नु परेको सीईओ उपाध्याय बताउँछन् । ४ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ प्रतिशत बढेर ७ अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ । जबकी उनी बैंकको सीईओ बन्दा यस्तो आम्दानी ६ अर्ब ७७ करोड रुपैयाँ थियो । यस्तै, सञ्चालन खर्च २०.५२ प्रतिशत बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । उनको कार्यकालमा बैंकको खराब कर्जा भने स्वाट्टै घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा खराब कर्जा प्रवाह ३.१९ प्रतिशत थियो । जुन घटेर १.६८ प्रतिशतमा झरेको छ । ‘५१ वर्षमा गरेको पोर्टफोलियोभन्दा ४ वर्षको अवधिमा करिब ७५ प्रतिशत कर्जा ग्रोथ गरेका छौं, श्रोतमा पनि वृद्धि गरेका छौं, खराब कर्जाको मात्रा कम गर्न सफल भएका छाैं,’ उनले भने, ‘विगतमा राम्रो नाफा गरेको भए पनि गत वर्ष पूँजी बजारको सुंकचन वा गिरावटले घाटा व्यहोर्नु पर्यो, त्यो हामीले बेचेको भन्दा पनि बुक एकाउण्टलाई रियल प्राइज फेस भ्यालुमा गर्नुपर्ने भएकाले ठूलो लस बुक गर्नु पर्यो, हामीले जे छ त्यही कुरालाई चित्रण गरेको हो ।’ सीईओ उपाध्याय बैंकमा आउँदा कुल ११ लाख ग्राहक थिए भने अहिले बढेर १७ लाख पुगेका छन् । साथै, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ५ लाखभन्दा बढी पुगेको छ । बैंकको आफ्नै पहिचान बनाउन सफल भएको बताउँदै उनले मूल्यलाई बजार अनुकुलको प्राइसिङ, कर्जा, निक्षेपको प्राइस ल्याएको बताए । ‘म आउँदा हजारमा मात्रै रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताकाे संख्या ५ लाख पुगेका छन्, भिजा कार्ड, डेबिट कार्ड, क्यूआर, किसानहरुलाई किसान कार्ड सार्वजनिक वितरण गरेका छौं, अनलाइन बैंकिङ सुरु गर्यौं, देशभरिका शाखालाई अनलाइन प्रणालीमा लग्यौं,’ दावी गर्दै उनले भने, ‘बैंकिङ व्यवसायलाई सम्पूर्ण कारोबारमा विस्तार गरी अहिले विदेशमा रहेका नेपालीहरुले समेत खाता खोल्न सक्ने व्यवस्था ल्याएका छौं ।’  लाभांशमा पनि अब्बल  बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई हालसम्म लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । गत वर्षको नाफाबाट बैंकले झण्डै २१ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड रुपैयाँ र चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँको आधारमा बैंकले २०.९८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बैंकसँग रहेको छ । ‘ग्राहकको विश्वास जित्न सफल भएका छौं, सरकारी बैंक भएर पनि हामीले औषतमा २२ प्रतिशत बढी लाभांश दिन सफल भएका छौं, नियमित रुपमा वार्षिक साधारण सभा गर्न सफल भएका छौं, अहिले पनि हामीले राम्रो प्रतिफल दिने क्षमता राख्छौं,’ उनले भने । बैंकले आर्थिक वर्ष २०६९/७० मा सेयरधनीहरुलाई ३१.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने गरेको थियाे । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/७३ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७३/७४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद लाभांश गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८०५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो । मर्जरमा दबाव पछिल्लो समय बैंक तथा वित्तीय संस्था धमाधम मर्जमा गइरहेका छन् । निजी लगानी रहेका बैंकहरु मर्जर भइरहँदा सरकारको स्वामित्व रहेका बैंकलाई पनि मर्जरको एक किसिमको दबाव परेको छ । सरकारको बढी भार भएको हुनाले मर्जर गरेर पूँजी वृद्धि गर्ने की आफै क्यापिटल बढाउने भनेर सरकारको नीतिगत निर्णयमा भर पर्ने सीईओ उपाध्यायले बताए । ‘बैंकको पूँजी वृद्धि गर्नुपर्छ, कार्य क्षमता, सिस्टम बलियो बनाएर जानुपर्छ, विज्ञहरु राखेर प्रुडेन्ट बैंक बनाउनुपर्छ, सरकारले इन्जेक्ट गर्न आफै क्यापासिटी बढाउँछु वा सर्वसाधारणको हकप्रद सेयरबाट जाने भन्ने हुन सक्छ,’ उनले भने, ‘तीन वटा सरकारी बैंकलाई दुइटा बनाएर जान्छु भन्ने योजना पनि बनाउन सकिन्छ, बजारको टोटालिटी सिनारियो, सरकारी बैंक सक्षम छन् की छैनन् ?, निजी बैंकसँग प्रतिस्पर्धा गर्न सक्छन् की सक्दैनन् ? सरकारको निर्णय स्पष्ट आयो भने त्यहि अनुसार अघि बढ्ने हो ।’

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार आठ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९८ दशमलव ५८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ

काठमाडौंमा आज यस वर्षकै चिसो दिन

काठमाडौं । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौं सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ । यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिए । उनका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ ।

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन डा सञ्जयकुमार ठाकुरको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । छिमेकी मुलुकमा देखिएको बिएफ-७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन । मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । १५ लाख मात्रा खोप ल्याइँदै मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन थालिएको जानकारी गराए । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ । अब त्यही बाँकी रहेको मध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो । सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका क्रममा आगामी राष्ट्रपति र प्रधानमन्त्री दुबै पद नछाड्ने शन्देश माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आइतबार बिहान खुमलटार पुगेर नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले सो सन्देश प्रचण्डलाई दिएका हुन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसिमाको केही घण्टा मात्रै समय बाँकी रहँदा नेपाली कांग्रेसले राखेको अडानले नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न कठिन हुने देखिएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोकेकी छन् । आगामी सरकार निर्माणको क्रममा मुख्यतया गठबन्धनमा रहेका तीन ठूला राजनीतिक दल कांग्रेस, माओवादी र नेपाली कांग्रेसले आ-आफ्नो अडानलाई कायम राख्दै छलफल गर्दै आएका छन् । आइतबार साँझ ५ बजेसम्म नयाँ सरकारको प्रकृया अगाडि नबढेमा राष्ट्रपतिले नयाँ सरकार गठनको लागि संविधानअनुसार नयाँ प्रकृयाको थालनी गर्न सक्छिन् ।

मकवानपुरमा ६ महिनामा गोलभेँडा बिक्रीबाट तीन करोड आम्दानी

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ । उनीहरुले विगत छ महिनामा तीन लाखभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ । अहिले दैनिकरूपमा मकवानपुर गढीमा उत्पादन भएको गोलभेँडा हेटौँडालगायतका अन्य बजारमा ढुवानी भई बिक्री वितरण भइरहको छ । गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले सो गाउँपालिकामा एक सय जना किसानले एक सय हेक्टर जमिनमा गोलभेँडा खेती गरी उक्त आम्दानी लिएको जानकारी दिए । गाउँपालिकाले तरकारी खेतीका लागि अनुदानसमेत सञ्चालन गरेको बताइएको छ । उनले कृषि उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउन टनेल कृषि कार्यक्रमसमेत सञ्चालन गरेको बताए । अव्यवस्थित चुरे तथा पहाडी विशेषता बोकेको गाउँपालिकामा भौगौलिक बनावटका आधारमा कृषि कार्यक्रम सञ्चालन गरिरहेको कृषि अधिकृत चौधरीले बताए । गाउँपालिकामा चार सय ५० हेक्टर क्षेत्रफलमा हुने तरकारी खेतीबाट वार्षिक छ हजार पाँच सय मेट्रिक टन विभिन्न किसिमका तरकारी उत्पादन हुने गरेको बताइएको छ । मकवानपुरगढी–१ मा २० किसानले २७, वडा नं २ मा २० किसानले एक हजार नौ सय वर्गमिटर क्षेत्रफलमा एक सय १९, वडा नं ३ मा १७ किसानले ६०, वडा नं ४ मा २३ किसानले ३५, वडा नं ५ मा २८ किसानले ३१ टनेल निमार्ण गरी खेती गरिरहेको कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ । यस्तै वडा नं ६ मा २१ किसानले एक सय पाँच, वडा नं ७ मा ६६ किसानले एक सय र वडा नं ८ मा ८२ किसानले गरी जम्मा तीन सय ५३ वटा टनेल निर्माण गरी गोलभेँडाको तरकारी खेती गरिरहको बताइएको छ । किसानले अहिले दैनिक तीनदेखि पाँच लाखसम्मको गोलभेँडा बिक्रीका लागि हेटौँडा बजारलगायतको अन्य बजारमा समेत बिक्रीका लागि पठाउने गरेको उनले बताए । गाउँपालिकाले टनेल निर्माणका लागि किसानलाई निःशुल्क प्लाष्टिक, तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ । तरकारी खेतीका लागि यस वर्ष पनि पाँच लाख छुट्याएको सो कार्यालयले जनाएको छ ।

ज्योति लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत भएको छ । शुक्रबार मात्रै इन्स्योरेन्सको २ करोड ४२ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ ।