इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार
इलाम । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो । इलाम नगरपालिका –७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरे । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण मात्र हुँदैआएको थियो । उपचारका लागि इलाम बाहिर रेफर गर्नुपर्ने अवस्था थियो । पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधिमार्फत उपचार गरिने सङ्घका प्राविधिक लाक्पा लामाले जानकारी दिए । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन सङ्घ इलाम शाखाले उपचार शुरु गरेको सङ्घका प्रमुख कमल सुवेदीले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले मेसिन आएपछि इलामबाट उपचारका लागि अन्यत्र जानुपर्ने समस्या समाधान भएको बताए । यसअघि उपचारका लागि जिल्ला बाहिर जाँदा यहाँका बिरामीले आर्थिक भार व्यहोर्दै आएका थिए । रासस
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
काठमाडौं । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन विभिन्न रानजीतिक दलसँगको छलफललाई तीव्र पारेका छन् । उनले बुधबार एमाले अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल
काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए । नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।
डा नन्दबहादुर सिंहद्वारा एमयू ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ जग्गा हस्तान्तरण सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले पुस १३ गते ग्र्याजुएट स्कुलका लागि शैक्षिक तथा प्रशासनिक कृयाकलाप संचालन गर्ने उदेश्यका साथ तीन विधा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मिटिङ्ग हलमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडाधक्ष्य ऋषि गिरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरी र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष किशन बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पत्र अनुसार वीरेन्द्रनगर नगरपालिका, सुर्खेतस नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चाँदन चौकी, सुर्खेत र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिले सम्झौता मितिकै दिन देखि उक्त जग्गा र भौतिक संरचना मध्यपश्चिम विश्वविद्यालयलाई हस्तानान्तरण गर्ने सहमति भएको हो । कर्णाली प्रदेश सभाका सदस्यमा जानकी सिंह, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायण प्रसाद पौडेल, कर्णाली प्रदेश सरकारका पुर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, ग्र्याजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्र बहादुर विक लगायत सम्बन्धित व्यक्तित्वहरुले साक्षी तथा उक्त स्थानमा ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ पूर्ण सहयोग गर्ने प्रतिवद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षर कार्यक्रमको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन जेठ दोस्रो साता हुने
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) महासङ्घको महाधिवेशन आगामी जेठ दोस्रो साता हुने भएको छ । हिजो बसेको महासङ्घको कार्यसमिति बैठकले २०८० जेठ १२ देखि १४ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको हो । महाधिवेशनका लागि महासङ्घका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । सो समितिको सदस्यमा महासङ्घमा आबद्ध सबै पेशागत ट्रेड युनियन (सङ्घ) साथै महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिए । अहिले महासङ्घअन्तर्गत २७ वटा पेशागत सङ्गठन आबद्ध छन् । बैठकले महाधिवेशनको तयारीका लागि कार्ययोजनासमेत बनाएको छ । सोअनुसार फागुन मसान्तसम्म आबद्ध सबै ट्रेड युनियनका सदस्यता निर्धारण गर्ने र चैत मसान्तभित्र सङ्घको अधिवेशन गरिसक्ने योजना बनाइएको छ । त्यस्तै जिल्ला अधिवेशन वैशाख ९ गते र प्रदेश अधिवेशन वैशाख १८ गते गरिनेछ । यो कार्यमा सहजीकरणका लागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत गरिएको छ । यसअघि महासङ्घले फागुन अन्तिम साताका लागि महाधिवेशनको मिति तय गरेको थियो । तर, स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगायतका कारणले तयारी पूरा नभएकाले महाधिवेशन सार्नुपरेको महासचिव कुँवरको भनाइ छ । बैठकले सरकारको निर्णयअनुरूप आगामी वैशाखदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन स्थानीयस्तरमा श्रमिकको पञ्जीकरण गर्ने तथा उनीहरूका समस्या सम्बोधन गर्न श्रम सल्लाहकार समिति गठन गराउन पहल गर्ने निर्णयसमेत गरेको छ । बैठकले अनुशासनहीन काम गरेको भन्दै महासङ्घका दुई जना राष्ट्रिय सल्लाहकार रिता खनाल तथा कल्पना अधिकारीलाई पदमुक्त गर्ने तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशा सिंह राठौरलाई निलम्बन गर्दै थप कारबाहीका लागि अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
गुणस्तरलाई कायम राख्न बजार अनुगमन गर्ने
विराटनगर । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बुधबार बसेको बैठकले बजारमा कुनै पनि किसिमको अस्वाभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्तरूपमा बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतमा बसेको बैठकले खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक उपभोग्य मालवस्तुको सहज आपूर्ति हुन जम्माखोरी, कृत्रिम अभाव सिर्जना, अधिक मूल्य कारोबार जस्ता अवाञ्छित गतिविधि हुन नदिने र त्यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको छ । त्यस्तै कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्ने सम्भावना हुँदा सबै सरकारी, गैरसरकारी कार्यालय, सङ्घ संस्था, उद्योग, प्रतिष्ठान, यातायातलगायतका कर्मचारी, सेवाग्राही, मजदुर आदिका जम्मा, भीडभाड हुने स्थानमा आनिवार्य मास्कको प्रयोग, साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग, सामाजिक, व्यक्तिगत, भौतिक दूरी व्यवस्थापन कार्यलाई अनिवार्यरूपमा पालना गर्ने र गर्न लगाउने, भीडभाड हुन नदिने, सचेतना फैलाउने, फैलाउन लगाउने, आवश्यकताअनुसार स्थानीय तह र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न लगाउने र आवश्यकताअनुसार जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बैठक नियमितरूपमा बस्ने निर्णय भएको छ ।
कोरोनाको ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक
काठमाडाैं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए । उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । ‘चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ’, उनले भने, ‘भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।’ नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ । नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । पुस ११ गते एक जनालाई मात्र सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र रहेका छन् ।रासस