५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न अर्बाै रुपैयाँ बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बोलकबोलमार्फत् जारी हुने भएकाले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् । उक्त रिपो डेढ महिनाको लागि जारी गर्ने भएको हो । बिहीबार जारी गरेको रिपो माघ २९ गते परिपक्व हुनेछ ।
जनक मावि : विद्यार्थीलाई पढाउँदै, व्यवसायी बनाउँदै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा ५ महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गरेका हुन् । पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रापालनले आम्दानीसँगै अध्ययनलाई निन्तर अगाडि बढाउन सहयोग पुगेको उनले बताए । ‘पालेको बाख्राको पहिलो सन्तान विद्यालयलाई दिनुपर्ने र माउ बाख्रा भने विद्यार्थी आफैँले पाउने गरी हामीले पढाइसँगै प्रयोगात्मकको रुपमा पढ्दै कमाउँदै कार्य गर्दै आएका छौँ’, उनले भने, ‘दिउँसो बाख्रासम्बन्धी पढाइ हुन्छ, बेलुका घरमा पुगेर व्यवहारिक ज्ञान लिने गर्दा धेरै सजिलो पनि हुँदोरहेछ ।’ यसरी काम गर्दा परम्परागत र पढेर गरेको काममा भिन्नता देखिनुका साथै कम समय र कम खर्चमा धेरै उत्पादन हुने अवस्था रहेको उनले बताए । अर्का विद्यार्थी कक्षा १० मा अध्ययनरत पशु विज्ञान प्राविधिक धारमा अध्ययनरत अनमोल अधिकारीले पनि पढेर मात्रै नभई व्यवहारमा लागू गरेर देखाउन सक्ने हुनको लागि आवश्यक रहेकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बाख्रा पालन कार्यमा संलग्न भएर काम आएको बताए । उनीहरुसँगै अन्य २२ जना विद्यार्थीले त्यसरी नै अध्ययनसँगै प्रतिविद्यार्थी एउटा बाख्रापालन गर्दै आइरहेका छन् भने विद्यालयले फार्म सञ्चालन गरी बाख्रापालनको काम गरिरहेको छ । सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी सोदीक्षा मैनालीले भने विद्यालय हाताभित्रमा रहेको मौरीको घार रेखदेख गर्दै आएकी छिन् । विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई ५/५ जनाको समूह बनाएर मौरीको घार वितरण गरी मौरीपालन कार्यमा संगल्न गराएपछि उहाँ अध्ययनसँगै त्यसैमा केन्द्रित भएको छ । ‘हामीले विद्यालय हाताभित्र नै मौरीलाई चाहिने फूलका बोट बिरुवा रोप्ने गर्नुपर्छ ।’ उनले भनिन्, ‘त्यसबाट हुने आम्दानीको ५० प्रतिशत विद्यालयलाई र ५० प्रतिशत समूहमा रहने साथीहरुलाई बाँडेर लिन पाइने शिक्षकले बताएका छन् ।’ बाख्रापालन गर्नलाई घरमा गोठ नभएको र मौरीपालन गर्दा धेरै दुःख नहुने भएकाले यही काम रोजेको उनले बताइन् । कक्षाका ४२ जनामध्ये मौरीपालन कार्यमा संलग्न हुन चाहने २० जनाले करिब २ हप्ताबाट सो कार्य सुरु गरेका छन् । उनीहरु मात्रै नभएर विद्यालयका अन्य ७६ जना विद्यार्थी अदुवाखेतीमा संलग्न भएर काम गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीका अनुसार ६ रोपनी जग्गा भाडामा लिएर ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत अदुवा खेती सुरु गरेको छ । यसरी विद्यालयका विद्यार्थीमध्ये ११८ विद्यार्थी पूर्णरुपमा सहभागी भइरहेको उनले बताए । त्यति मात्रै होइन, विद्यालय भवनको पछाडि रहेको जग्गामा टनेलभरि पाकिरहेको गोलभेडा, काउली र मुला छन् । त्यसैको छेउमा फूल फुल्दै गरेको तोरी, अनि धेरै थरिका तरकारीको बेर्नादेखि टिप्न मिल्ने थरिथरिका तरकारी । विद्यार्थीको मेहिनतले यहाँका ४ रोपनी जग्गा हराभरा बनाएको छ । ‘एक विद्यालय, एक उद्यम कार्यक्रम’अन्तर्गत विषयसँग सम्बन्धित बाख्रापालन, तरकारीखेती, धानखेती र मौरीपालनको समेत काम भइरहेको छ । कार्यक्रमअन्तर्गत विद्यार्थीलाई थप सक्रिय बनाउनका लागि विद्यालयले ‘कृषि उद्यमी क्लब’ भनेर गठन गरेको छ । जसको नेतृत्व कक्षा १२ का विद्यार्थी विवेक पकवालले गरेका छन् । विद्यालयको नेतृत्वमा आवश्यक जग्गा उपलब्ध गराएर विद्यार्थीलाई सहज बनाएको छ । जहाँ उत्पादन भएको तरकारी र धान विद्यालयमा नै सञ्चालन भएको दिवा खाजाको लागि विद्यालयले नै खरिद गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीले बताए । उनका अनुसार अहिले विद्यालयले सञ्चालन गरेको बाख्रा फार्ममा १८ वटा बाख्रा छन् । यसअघि २ हजार वटा कुखुरा बिक्री गरिसकेकोमा अहिले ३० वटा लोकल कुखुरा पालन गरी मासु र अण्डा उत्पादनको काम भइरहेको छ । विशेष गरी अण्डा उत्पादनको कामलाई प्राथमिकता दिने गरी ५ सयसम्म पुर्याउने तयारीमा विद्यालय रहेको उनले बताए । यसको रेखदेख गर्नका लागि मोहन स्याङतान दम्पतीलाई राखिएको छ । सङ्घीय सरकारको १० लाख अनुदानमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको हो । विद्यालयको कक्षा ७ देखि नै सुरु भएको छ भने कक्षा ९ देखि १२ सम्म पशु विज्ञान प्राविधिक धारको पढाइसमेत सञ्चालन भइरहेको छ । रासस
पोखरा विमानस्थल : क्षमता अन्तर्राष्ट्रिय, उडान आन्तरिकमै सीमित
काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ अर्थात् पुस १७ गतेदेखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने भएको हो । क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनकै दिन आन्तरिक उडान मात्रै हुने भएका छन् । बुद्ध एयरले पहिलो उडान पोखरा–बनारसको तयारी गरेको भएपनि भारतले अनुमति नदिँदा उडान अन्यौल बनेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘बुद्धले भारतसँग पोखरा–बनारस उडानको अनुमति मागेको थियो तर, बुधबार साँझसम्म भारत सरकारले उडानको अनुमति नदिँदा उडान अन्यौल बनेको छ,’ उनले भने, ‘पहिलो उडान बनारसको तयारीमा थियौँ तर, हालसम्म भारत सरकारले अनुमति दिएको छैन, भारतले अनुमति नदिँदा आन्तरिक उडान मात्रै हुने भयो ।’ यससँगै क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको पोखरा विामानस्थल सुरुवाती चरणमा आन्तरिक उडानमा मात्रै सीमित हुने भएको हो । उनका अनुसार काठमाडौंबाट हुने आन्तरिक उडानका जहाज १ जनावरीदेखि नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । उनले जजिरा, बुद्ध, हिमालय र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा चासो देखाएका छन् । तर, अहिलेसम्म कुन एयरलाइन्सले कहाँ उडान गर्ने भन्ने टुंगो नगालेको उनले बताए । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ । विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ । प्राधिकरणका अनुसार यसअघि भएको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडानको प्रारम्भिक प्रतिवेदन आइसकेको छ ।
सोलुखुम्बुमा घरेलु कार्यालयलको राजस्व सङ्कलनमा कमी
सोलुखुम्बु । सोलुखुम्बुमा फार्म दर्ता गराउनेको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजश्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा उद्योग तथा वाणिज्यतर्फ फार्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय एक उद्योग र २४ वाणिज्य फार्र्म दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा ७४ उद्योग र २४ वाणिज्य फार्म मात्र दर्ता भएका छन् । कार्यालयमा फार्र्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएसँगै राजस्व सङ्कलनमा पनि ४८ प्रतिशतले कमी आएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिइन् । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा चार लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा चालु आवमा दुई लाख ४० हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । गत वर्ष कोभिड–१९ का कारण गाउँ फर्किएका नागरिकले अनुदानका लागि विभिन्न फार्म दर्ता गर्ने क्रम बढेको थियो । यस वर्ष अनुदान कार्यक्रम नहुँदा फार्म दर्ता गराउनेको सङ्ख्या घटेको उद्योग अधिकृत सङ्गीता थुलुङ राईले बताइन् ।
चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर
काठमाडौं । तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए । ‘चिसोले घरबाहिर निस्किन सकिएको छैन’, उनले भने । चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताए । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् । चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।
मधेस प्रदेशमा सरकार गठनको चहलपहल बढ्यो
धनुषा । सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ। नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन। प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ। जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ। सङ्घमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको भने प्रदेशमा प्रतिनिधित्व छैन। मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात प्रदेशसभा सदस्य छन्। सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। सङ्घीय सरकारमा सहभागी राजनीतिक दलको मधेस प्रदेशमा ६२ सिट पुग्छ। यसरी हेर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ। यता स्वतन्त्रबाट पनि छ जनाले जितेका छन्। अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्ट अधिकांशले स्वतन्त्रबाट जितेका हुन्। सरकारमा उनीहरू पनि सहभागी हुने अनुमान गरिएको छ। प्रदेशमा २२ सिटसहित दोस्रो दलको रुपमा रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा जाने देखिएको छ। यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ र नेकपा (एकीकृत समाजवादी) ले सात सिट प्राप्त गरेका छन् ।
काभ्रेपलाञ्चोकमा रैथाने बाली प्रवर्धन–संरक्षणलाई प्राथमिकता
काभ्रेपलाञ्चोक । परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दैआएको रैथाने बाली प्रवर्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न कार्यक्रम तय गरेको छ । रैथाने बाली मूल्य शृङ्खला प्रवर्धन कार्यक्रमअन्तर्गत यस वर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ४० हेक्टर जमिनमा रैथाने बाली प्रवर्धन गर्न थालिएको केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवद्र्धन कार्यक्रम गर्न कृषक समूह तथा कृषि सहकारीसँग प्रस्ताव आह्वान गरिएको छ । यस वर्ष प्रदेश सरकारले रैथाने बाली प्रवर्धनका लागि ४० लाख विनियोजन गरेको केन्द्रका बागबानी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिए । चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट ‘राष्ट्रिय खाद्य सुरक्षा मिसन रैथाने बाली प्रवर्धन’ कार्यक्रमअन्तर्गत तालिक, प्रचारप्रसार, अनुदानमा कृषि सामग्री वितरण, उन्नत जातका रैथाने बालीको बीउ वितरण तथा होटल, होमस्टे ब्यवसायीलाई रैथाने बालीका परिकारतर्फ आकर्षित गर्न तालिमलगायतका कार्यक्रम आएको छ । विशेषगरी गाउँमा सञ्चालित होमस्टेमा रैथाने बालीको परिकार दिन सकिने भएकाले उनीहरुलाई कार्यक्रममा समेटिने सापकोटाले बताए । चालु आवमा पाँचखाल नगरपालिकाले स्थानीयस्तरमा रैथाने बालीका परिकार खुवाउने होमस्टे सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरको १, ५, ८ र ११ नं वडामा रैथाने बालीको रुपमा रहेको कोदो, फापर, जौ, स्थानीय मकैलगायत बाली संरक्षण तथा रैथाने बालीको प्रयोग गर्ने गरी होमस्टे सञ्चालन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगर कृषि शाखाका अनुसार नगरका चार वडामा क्लस्टर बनाइ २० समूहमार्फत रैथाने बीउ, हाते ट्र्याक्टर, सामग्री जोख्ने मेसिन तथा अन्न राख्ने विशेष खालका (किरा नलाग्ने) बोरा वितरण गरिएको छ । अभियानअन्तर्यत प्रारम्भिक चरणमा २० समूहलाई भटमासको बीउ वितरण गरिएको छ । नगरको ५ नं वडास्थित खावा होमस्टेमा पाहुनालाई रैथाने बालीबाट बनेका परिकार खुवाइँदै छ । यसअघि रैथाने बाली प्रवर्धन एवं संरक्षण अभियानमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको केही स्थानीय तहका खेतबारीमा रैथाने बाली लगाइएको थियो । कृषि विभागमार्फत केन्द्रले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी रैथाने बाली विकास प्रवर्धन संरक्षण कार्यक्रम सञ्चालन गरेको थियो । दुवै जिल्लाको पकेट क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको रैथाने बाली जिल्ला संघका अध्यक्ष गोपाल तिमल्सिनाले बताए । पोषणको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमीलगायत पर्छन् । केन्द्रले रैथाने बालीको बीउ निःशुल्करुपमा कृषकलाई वितरण गर्दै रैथाने बाली अनुसार ८५ प्रतिशतसम्म अनुदानमा मेसिनरी औजार दिइएको सापकोटाले बताए । कमै प्रगोग हुने गरेकाले रैथाने बालीलाई प्रवद्र्धन एवं संरक्षण गर्न सो कार्यक्रम लागू गरिएको हो । अनुसन्धान र प्रसारमा कम जोड दिइएको यस्ता बालीलाई मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षाको आधार बनाइने लक्ष्य छ । जलवायु अनुकूलित बाली, पौष्टिकताले भरिपूर्ण, उच्च प्रतिस्पर्धी क्षमता, मूल्य अभिवृद्धि तथा विविधिकरणको सम्भावना, बेजोड स्वाद, गुणस्तर उच्च, कृषि पर्यटन, कम लगानी, सिमान्त जमिनमा गर्न सकिने तथा ‘क्लाइमेट स्मार्ट भिलेज’ बन्ने भएकाले यसको प्रवर्धन –संरक्षण गर्नुपर्ने उद्देश्य हो । रैथाने बालीमा धान र गहुँको तुलनामा प्रोटिन र फलामतत्व बढी हुने भएकाले यसप्रति कृषकलाई आकर्षण गर्नुपर्ने आवश्यकता छ । केन्द्रको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा मात्रै वार्षिक मकै ४० हजार आठ सय आठ मेट्रिक टन, धान १८ हजार छ सय ८३ मेट्रिक टन, गहुँ १६ हजार पाँच सय ६८ मेट्रिक टन, कोदो दुई हजार छ सय ७३ मेट्रिक टन र फापर पाँच सय ४६ मेट्रिक टन उत्पादन हुन्छ । रासस
कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का
काठमाडौं । कुमारी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुने भएपछि १५ दिन सेयर कारोबार रोक्का हुने भएको हो । दुवै बैंकबीच पुस १७ गते एकीकृत कारोबार हुने भएका छन् । सोही दिनदेखि १५ दिनसम्म सेयर कारोबार रोक्का हुने भएको हो । दुवै बैंकबीच मर्जर गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भइसकेको हुँदा पुस १७ गतेदेखि कुमारी बैंकको नाममा एकीकृत कारोबार हुने भएको हो । नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को निर्देशनको निर्देशन नम्बर ९ (२) बमोजिम लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका सेयर कारोबार रोक्का हुने भएको हो । एकीकृत वित्तीय कारोबार सुरु भएको दिनदेखि १५ दिन बैंकको सेयर कारोबार रोक्का गर्न संचालक समितिको पुस १३ गते बसेको बैठकको सेयर कारोबार रोक्का निवेदन दिएको हो ।